Monday, January 31, 2011

बैना फिर्ता माग्न मन्त्रीले मानेनन्

नयाँ पत्रिका

काठमाडौं, १६ माघ

पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले नेपाल वायुसेवा निगमले जहाज निर्माता कम्पनी एयरबसलाई नयाँ जहाज खरिदका लागि पठाएको लकअप मनी फिर्ता माग्न अस्वीकार गरेका छन् । नेपाल सरकारले औपचारिक आग्रह गरे लकअप मनी फिर्ता गर्नेबारेमा सोच्न सकिने एयरबसले बताए पनि मन्त्री भण्डारीले भने त्यसमा असहमति जनाएका हुन् । लकअप मनी फिर्ता माग्ने काम निगमकै भएको उनको भनाइ छ ।

निगम अधिकारीहरू भने सरकारले नै यसको पहल गर्नुपर्ने बताउँछन् । 'एयरबस पैसा फिर्ता गर्न सकारात्मक हुँदाहुँदै पनि मन्त्रालयले असहयोग गर्‍यो,' निगमका एक अधिकारीले बताए । जहाज खरिदका लागि मन्त्रालय आफैँले पटकपटक लेखा समिति र अर्थ मन्त्रालयमा 'लविङ' गरेको भए पनि हाल आएर गैरजिम्मेवार भएको आरोप उनीहरूको छ ।

स्रोतका अनुसार गत महिना पर्यटनमन्त्री, सचिव र निगमका उच्च अधिकारीबीच जहाज आउन नसक्ने अवस्थामा मन्त्रीस्तरीय निर्णय गरेर एयरबससँग लकअप मनी फिर्ता माग्ने सहमति भएको थियो । निगमका निलम्बित एक अधिकारीले 'मन्त्रीले सहमति तोडेको र आफूहरूलाई मात्र फसाउन खोजेको' आरोप लगाए ।

निगमले एयरबससँग लकअप मनी फिर्ता माग्ने विषयमा पहल गरिदिन पर्यटन मन्त्रालयलाई केही समयअघि पत्र लेखेको थियो । सुरुमा मन्त्री सकारात्मक भए पनि पछि चासो नदेखाएको निगम अधिकारीले बताए । लकअप मनी मन्त्रीलाई सोधेर पठाएको हुँदा उनले पनि चासो देखाउनुपर्ने ती अधिकारी बताउँछन् । निगमका निलम्बित अधिकारीहरूले गत साता मन्त्री भण्डारीलाई भेटेर सो रकम फिर्ता माग्ने प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेका थिए ।

मन्त्रालयले सार्वजनिक लेखा समिति र अर्थ मन्त्रालयले जहाज खरिदका विषयमा दिएका निर्देशन अहिलेसम्म निगममा पठाएको छैन । जहाज खरिदमा प्रत्यक्ष संलग्न मन्त्रालय अहिले उदासीन देखिनु दुःखलाग्दो कुरा भएको निगमको भनाइ छ । जहाज नआउने पक्का भइसकेको अवस्थामा बैना रकम फिर्ता माग्न मन्त्रालय सकारात्मक हुनुपर्ने उनीहरूको भनाइ छ । सम्झौताअनुसार निगमले एयरबससँग किन्न खोजेको दुई ठूला जहाजमध्ये पहिलो डेलिभरी आउने महिना गत सेप्टेम्बर हो ।

लकअप मनी फिर्ता गरेर अर्को 'डिल' गर्न एयरबस तयार रहेको र मन्त्रीले न्यारोबडी खरिद गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराइदिन्छु समेत भनेको निगमको दाबी छ । एयरबससँग निगमले गरेको सम्झौताको अवधि आगामी मार्चमा सकिँदैछ । सम्झौता अवधि थप्न निगमले अझसम्म पनि कुनै पहल गरेको छैन ।

पर्यटन मन्त्रालयका सचिव किशोर थापाले लकअप मनी फिर्ता माग्नेसम्बन्धमा छलफल भइरहेको बताए । एयरबसले मौखिक रूपमा सो रकम फिर्ता दिन सकिने आशय व्यक्त गरेको बताउँदै उनले कहिले र कसरी आग्रह गर्ने भन्ने टुंगो लागी नसकेको जानकारी दिए । 'मुलुक र निगमकोे हितमा हुने गरी मन्त्रालयले निर्णय गर्छ,' उनले भने ।

निगम र एयरबसबीच भएको सम्झौतामा भने जहाज खरिद प्रक्रिया रद्द गरे बैना फिर्ता नहुने उल्लेख छ । निगमले २०६६ कार्त्तिक १९ मा एयरबसँग दुई जहाज किन्ने सर्तसहित समझदारीपत्रमा हस्ताक्षर गरी बैनास्वरूप ७ लाख ५० हजार अमेरिकी डलर (५ करोड ७३ लाख रुपैयाँ) पठाएको थियो ।

जहाज निर्माता कम्पनीको नियमअनुसार बैना नलिई उसले जहाजको मूल्य पठाउँदैन । एयरबससँग भएको समझदारीमै बैना प्राप्त हुनुपर्ने उल्लेख छ । निगमको आर्थिक विनियावलीमा सञ्चालक समितिले जहाज खरिद गर्ने निण्र्ाय गरेपछि व्यवस्थापनले बैना पठाउन सक्ने व्यवस्था छ ।

Sunday, January 30, 2011

पर्यटन उद्योगमा लगानी विस्तार


Friday, January 28, 2011

अवसर आर्थिक क्रान्तिको


image

अन्तराष्टिय जगतमा मुलुकको छवि विगि्रएको र मुलुकभित्र पनि राजनितीक अस्थिरताले गाजेको बेला सरकारले घोषणा गरेको महत्वाकांक्षी राष्टिय अभियान पर्यटन बर्षको निकै तामझामका साथ शुक्रवार उद्घाटन हुदैछ ।

nepaltourismyear-bisesराजनीतिक अन्योल हटे र सरकार/ व्यवसायीबीचको सहकार्य राम्रो भए जनवरी १४ नेपालको पर्यटन इतिहासमा महत्वपूर्ण दिन हुनेछ । संयोगवश नेपालको शान्ति प्रक्रियाको अनुगमन गरिरहेको राष्ट्रसंघीय मिसन अनमिनको म्याद पनि शुक्रवार नै सकिएको छ । माओवदी लडाकु समायोजन भएर शान्ति प्रक्रिया निष्कर्षमा नपुगिसकेको भएपनि राजनीतिक दलहरु विच सहकार्य भएमा जनवरी १४ सँगै पर्यटनमार्फत नेपालको अर्थतन्त्रले कोल्टे फेर्न सक्ने विश्वास गरिएको छ ।

पर्यटन वर्षको माध्यमबाट यस क्षेत्रलाइ अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा स्थापित गराउने सरकारको योजना छ । अब पालो आर्थिक क्रान्तिको हो पर्यटनका लागी संगसंगै अगाडी बढौं भन्ने नारासहित घोषणा भएको नेपाल पर्यटन वर्ष अभियान साँच्चिकै आर्थिक क्रान्तिको सुरुबिन्दु हुनसक्ने पर्यटन व्यवसायी दाबी गर्छन् । सिमित भौतिक पूर्वाधार, पर्यटक मैत्री वातावरण तथा पर्यटकका लागी खर्च गर्ने ठाउको पर्याप्तताका कारण पर्यटनलाइ ग्रामिण तहसम्म पुयाएर आमजनताको आयको माध्यम बनाउने सरकारी लक्ष्य आफैंमा चुनौतिपूर्ण छ । यद्यपी लामो समयसम्म गति लिन नसकेको र काठमाडौं, पोखरा, चितवन लगायत केही गन्तब्यमा खुम्चिएको पर्यटनको बजारलाइ विस्तार गर्न केहि हदसम्म भए पनि गति दिन पर्यटन बर्ष अभियानले सहयोग पुग्ने निश्चित छ ।

nepaltourismyear

सरकारले पर्यटन वर्षमार्फत पर्यटन क्षेत्रको मोडल परिवर्तन गर्ने प्रयास गरेको छ । काठमाडौं, पोखरा तथा चितवनजस्ता सीमित क्षेत्रमा खुम्चिएको पर्यटन व्यवसायलाई अन्य क्षेत्रमा विस्तार गर्ने प्रयास अभियानमार्फत गरिने सरकारको भनाइ छ । यसका लागि पर्यटन वर्षमा आउने १० लाख पर्यटकमध्ये ४० प्रतिशतलाई वैकल्पिक गन्तव्यमा पुर्‍याउने सरकारी योजना छ । कृषिप्रधान मुलुकमा एकैपटक पर्यटनले तल्लो तहका जनतासम्म आर्थिक क्रान्ति ल्याउने कुराको आधार भने पर्याप्त छैनन् । ८० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको मुलुकमा पर्यटनलाई कृषि जीवनसँग नजोडी ग्रामीण क्षेत्रसम्म यसको लाभ पुग्दैन । किसानको उत्पादन होटल, रेष्टुराँले किन्दैमा तिनको जीवनमा आर्थिक क्रान्ति भइहाल्दैन । यसका लागि त वास्तविक क्षेत्रसम्म पर्यटनको प्रभाव विस्तार हुनु जरुरी छ ।

पर्यटक आगमनले देशको अर्थतन्त्रमा पर्ने प्रभावबारे जनतालाई बुझाउने र त्यसबाट हुने आम्दानीको हिस्सा उनीहरूमा पुर्‍याउने सबैभन्दा उपयुक्त माध्यमका रूपमा सरकारले होमस्टेलाई लिएको छ । अव्यवस्थित रूपमा सञ्चालित होमस्टे व्यवस्थित र नियमित बनाउने होमस्टे कार्यविधि ल्याइएको छ । होमस्टेका पनि आफ्नै चुनौती छन् । स्थानीय बासिन्दालाई विश्वासमा लिन सकिएन भने होमस्टेको अवधारणा सफल नहुने र संस्कृतिमा समेत अतिक्रमण हुन सक्ने खतरा रहेको समाजशास्त्रीहरूको भनाइ छ । होमस्टेमा बस्ने पर्यटकका लागि आचारसंहितामा उनीहरूको जोड छ ।

पर्यटन वर्षका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारलगायतका केही काम भएका छन् । मुलुकका अन्य विमानस्थल सुधारका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक अर्ब रुपैयाँ छुट्टयाएको छ । मन्त्रालयअन्तर्गतको पर्यटन पूर्वाधार विकास आयोजनाले उपत्यकावरपर टे्रकिङ टेल बनाउने, ब्युटिफिकेसनलगायतका काम गरिरहेको छ ।

विमानस्थल अगाडि पर्यटन वर्ष ल्यान्डमार्क बनाउने योजना छ । पूर्वाधार विस्तारका लागि आयोजनालाई १६ करोड रुपैयाँ बजेट छुट्टयाइएको छ । निजी क्षेत्रले पूर्वाधार विस्तारमा करिब एक अर्ब लगानी गरेको अनुमान छ । कमजोर राष्ट्रिय ध्वजावाहक तथा युरोप तथा अमेरिकासम्म सिधा हवाई सम्पर्क अभावका कारण २०११ मा १० लाख पर्यटक नेपाल भित्रिने कुरामा स्वयं अभियानकर्ताहरू नै निश्चिन्त छैनन् । तर, पर्यटन वर्ष आगामी वर्षहरूका लागि आधार वर्ष बन्न सक्छ । नेपाल भ्रमण वर्षको क्रममा सन् १९९८ मा भएको प्रचारका कारण १९९९ मा १९९८ मा भन्दा बढी पर्यटक आएका थिए । २०११ को प्रचार-प्रसारले २०१२ मा १० लाखभन्दा बढी पर्यटक आउने दाबी सरकारी अधिकारी र व्यवसायीको छ । अन्तर्राष्ट्रिय प्रवर्द्धनमा ढिलाइ, सुस्त गतिको पूर्वाधार निर्माण तथा पर्यटनमैत्री वातावरण निर्माण हुन नसक्नु जस्ता कारणले यही वर्ष ठूलो उपलब्धि नदेखिए पनि आगामी वर्षहरूका लागि अधार तयार हुने निश्चित छ ।

पर्यटन वर्षभरि बन्द-हडताल नगर्ने राजनीतिक दलको लिखित प्रतिबद्धता अभियानका लागि सकारात्मक कुरा हो । १२ माघ २०६५ मा एनेकपा माओवादी नेतृत्वको सरकारले घोषण्ाा गरेको पर्यटन वर्षको सफलताका लागि १९ दलले १४ फागुन २०६६ मा टुँडिखेलमा शान्तिदीप बालेर सन् २०११ भर बन्द-हडताल नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए । राजनीतिक दलको भूमिका अहिलेसम्म प्रस्ट भइसकेको छैन, तर अभियान सामाजिक रूपमा स्वीकृति भइसकेपछि दलहरूलाई पनि नैतिक दबाब भने पर्ने छ । त्यसो त राजनीतिक कुराले पर्यटकलाई त्यति धेरै असर गर्दैन भन्ने तर्क गर्नेहरू पनि छन् । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको समय सन् २००३ मा पनि दुई लाख ५० हजार पर्यटक नेपाल आएका थिए । द्वन्द्वको समयमा पनि पर्यटकलाई ठूलो असर परेको थिएन ।

हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन, जंगल सफारी आदिका लागि नेपाल सबैभन्दा उपयुक्त हो भन्ने विश्वव्यापी प्रचार गर्ने काम भइरहेको छ । पर्यटन वर्षमा नयाँ उत्पादन तथा गन्तव्यको पहिचान गर्नु आवश्यक छ । माउन्टेन बाइक, बन्जी जम्प, रक-क्लाइम्बिङ, र्‍याफ्टिङ, एभिएसन स्पोर्टस्, कायाकिङ, चरा अवलोकन आदिलाई फोकस गरेर पर्यटक आकर्षण गर्न सकिन्छ । नेपालमा पछिल्लो समयमा भएको क्रिकेटको विकासलाई पर्यटक ल्याउने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ । २०११ म्ाा तीनवटा ठूला क्रिकेटका इभेन्ट हुँदै छन् । २०१५ मा सरकारले विश्वकप आयोजना गर्ने तयारी गरेको छ । विशेष गरी भारतमा यसको प्रचार गर्न सके पर्यटक आकर्षण गर्न सकिन्छ । भारतमा क्रिकेट सबैभन्दा बढी हेरिने खेल हो ।

सन् २०१० को पर्यटक आगमनको तथ्यांकले केही उत्साहित बनाए पनि गुणस्तरीय पर्यटक आगमनमा कमी भएकाले पर्यटन क्षेत्रले खासै उपलब्धि हासिल नगरेको व्यवसायीहरू बताउँछन् । भारत, बंगलादेश र चिनियाँ पर्यटकको संख्यात्मक वृद्धिले नेपाली पर्यटनमा ठूलो असर नपर्ने दाबी केही व्यवसायीको छ । यसको अर्थ युरोप, अस्ट्रेलिया तथा अमेरिकी पर्यटकको नेपालतर्फ आकर्षण बढाउनु जरुरी छ, तर त्यसका लागि नेपालबाट सम्बन्धित राष्ट्रसम्म सिधा हवाई सम्र्पक नहुनु प्रमुख समस्या बनेको छ ।

हिन्दू र बौद्ध धर्मको उद्गमस्थलका रूपमा रहेको नेपालले धार्मिक पर्यटनमा जोड दिनु आवश्यक देखिन्छ । हिन्दूका लागि पशुपतिनाथ र बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी आकर्षक गन्तव्य बन्न सक्छन् । विश्वका एक अर्ब हिन्दूमध्ये केही प्रतिशतलाई मात्र नेपाल ल्याउन सके पनि पर्याप्त हुन्छ । त्यस्तै लुम्बिनीमा आउने पर्यटकलाई एक रात बसाउन सक्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ ।

पर्यटन सचिव किशोर थापा धार्मिक पर्यटनलाई सरकारले प्राथमिकता दिएको बताउँछन् । तेस्रो देशका पर्यटकलाई लुम्बिनीमा सोझै उतार्न गौतम बुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नतति गर्ने काम भइरहेको उनले जानकारी दिए । यसका लागि एसियाली विकास बैंकले ऋण तथा अनुदान सहयोग गरेको छ ।

पर्यटन वर्ष राष्ट्रिय अभियान हो । यसका लागि राष्ट्रिय संकल्प जरुरी छ । देशकै अर्थतन्त्रलाई उठाउने उद्देश्यसाथ घोषणा भएकाले सरकारका सबै निकायले यसलाई आ-आफ्नो योजनामा पारी कार्यसम्पादन गर्नुपर्छ । काठमाडौं महानगरपालिकाले नियमित फोहोर नउठाउँदा बढेको दुर्गन्धित वातावरण देखेर न्युजविकले गुडबाई सांगि्रला लेख्यो । अहिले पनि फोहोरको समस्या उस्तै छ । यो अभियान २६ वटै मन्त्रालय, निजी क्षेत्र र आमजनताकोआफ्नै अभियान भएकाले सबै जुर्मुराउनुपर्ने आवश्यकता छ ।

दस वैकल्पिक पर्यटकीय गन्तव्य

image

नेपाल पर्यटन वर्ष २०११ विषेश

रारा

nepaltourismyearबदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । मुगु जिल्लास्थित रारा नेपालकै सबैभन्दा ठूलो ताल हो । १० हजार फिटको उचाइमा १० वर्ग फिटमा फैलिएको यो ताल हेर्दा पानीको निकास देखिँदैन । तालवरिपरि फन्को लगाउन गोरेटो बाटो छ । राराको सफा पानीमा स्नो ट्राउट माछादेखि हाँस, जलेवा, कर्‍याङकुरुङजस्ता चराहरू जलक्रिडामा मस्त हुन्छन् ।

nepaltourismyear-bisesरारा ताल पुग्न नेपालगन्ज तथा सुर्खेतबाट करिब आधा घन्टाको हवाई यात्रामा ताल्चा विमानस्थल उत्रिएपछि दुई घन्टा हिँड्नुपर्छ । ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । १८०० मिटरदेखि ४०४८ मिटरसम्मको उचाइमा रहेको रारा राष्ट्रिय निकुञ्जमा कस्तूरी, मृग, भालु, बँदेल आदि पाइन्छन् 

डोल्पा

dolpa-nepal

से फोक्सुन्डो ताललाई गन्तव्य बनाएर डोल्पाको यात्रा गर्न सकिन्छ । कणाली अञ्चलका पाँच जिल्लामध्ये एक हो डोल्पा । यो जिल्लाको मुख्य आकर्षण्ा से फोक्सुन्डो ताल हो । यो ताल ४ दशमलव ८ किलोमिटर लाम्चो, १ दशमलव ८ किलोमिटर चौडा र ६ सय ५० मिटर गहिरो छ । यो ताललाई हरियो र नीलो रंगको अनुपम मिश्रणले रंगाएको छ । आकाशमा सूर्यको स्थानसँगै रंग फेर्ने फोक्सुन्डोको सफा पानीलाई नांगा हिमालले पहरा दिएका छन् । एउटा प्रचलित किम्बदन्तीअनुसार यो तालभित्र प्राचीन गाउँको अवशेष अझै देखिन्छ । से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा एक सय ९६ प्रजातिका चरा, ३२ प्रजातिका स्तनधारी जन्तु र चार सय सात प्रजातिका जडिबुटी पाइन्छन् । यहाँ पुग्ने मुख्य नाका जुफाल विमानस्थल हो । यहाँबाट तीन घन्टाको पैदल यात्रामा डोल्पाको सदरमुकाम दुनै पुगिन्छ । जहाँबाट वास्तविक पदयात्राको आनन्दसहित से फोक्सुन्डोको यात्रा सुरु हुन्छ 

जिरी

jiri-ne-pal

जिरीलाई नेपालको स्विट्जरल्यान्डको उपमा दिइएको छ । मनोरम प्राकृतिक भूबनोटका कारण जिरीले आगन्तुकको मन सजिलै लोभ्याउन सक्छ । तामाकोसीको गडगडाहट हरियाली झरना र ग्रामीण परिवेशले जिरीलाई सुन्दर बनाएको छ । जिरीलाई सगरमाथाको प्रवेशद्धार पनि मानिन्छ । स्विट्जरल्यान्ड सरकारले जिरीको भूबनोट आफ्नोजस्तै लागेर यसको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ 

जिरेल तथा शेर्पा जातिको बसोबास रहेको जिरीमा राम्रा होटल तथा लज छन् । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस-माघमा भने हिउँले पुरिन्छ । काठमाडौंबाट ६ घन्टाको बस यात्राबाट जिरी पुग्न सकिन्छ 

मनाङ

manang-nepal

मनाङमा भौगोलिक, जातीय र सांस्कृतिक विविधता छ । विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षणले अन्नपूण पदयात्रा मार्गलाई जीवनमा एकपटक पुग्नैपर्ने विश्वका उत्कृष्ट १० गन्तव्यमा राखेका छन् । यो अन्नपूण पदयात्रा मार्गको महत्त्वपूण हिस्सा हो । पर्यटकीय दृष्टिले यहाँका पिसाङ, भ्राखा खाडसागर, नार र फु, थोन्चे, तिलिचो ताल आदि महत्त्वपूण मानिन्छन् । अन्नपूण पदयात्रा मार्गमा रहेका कतिपय घरमा होमस्टेको सुविधा पनि छ 

नुवाकोट

पृथ्वीनारायण शाहले निर्माण गरेको नौतले दरबार नुवाकोटको आकर्षणको केन्द्र हो । विसं. १९९० को भुँइचालोले यो दरबारको दुई तला नष्ट भएको थियो । यो दरबार काष्ठकलाको उत्कृष्ट नमुना हो । काठमाडौंबाट ७२ किलोमिटरको दूरीमा रहेको नुवाकोटको यात्राबाट यो दरबार हेर्ने मौका मिल्छ । नुवाकोटमा बसोबासका लागि सामान्य व्यवस्था छ । यहाँ करिब दुई दर्जन होटल तथा लज छन् ।

दोलखा

dolakha-nepal

काठमाडौंबाट नजिक रहेको दोलखा पुग्नैपर्ने पर्यटकीयस्थल हो । भीमसेनस्थान महादेवको मन्दिर र प्राचीन शैलीको दरबार यहाँका मुख्य आकर्षण हुन् । गौरीशंकरको पृष्ठभूमिमा अवस्थित चरिकोट बजार पनि निकै सुन्दर लाग्छ । चरिकोटबाट चार किलोमिटर टाढा भीमसेन महादेवको मन्दिर छ । धार्मिक रूपमा निकै प्रसिद्ध यो मन्दिर कलात्मक पनि छ । यातायात तथा खानपानका हिसाबले दोलखा सुगम पर्यटकीयस्थल हो ।

इलाम

इलामलाई सात 'अ' को पर्याय मानिन्छ । यो जिल्ला नगदेबाली उत्पादनमा निकै अग्रणी मानिन्छ । थुम्काथुम्कामा लगाइएको चिया बगान र नागबेली सडकले पनि यहाँको प्राकृतिक सुन्दरताको झल्को दिन्छ । सूर्योदय दृश्यावलोकनका लागि नेपालमै प्रख्यात श्रीअन्तुदेखि जैविक विविधताले सम्पन्न माइपोखरी र सन्दकपुरसम्मको यात्राले इलाम भ्रमण सार्थक बनाउँछ । कन्याम चिया बगान, माइपोखरी, सन्दकपुर तथा श्रीअन्तु पर्यटकका लागि चर्चित स्थान हुन् । काठमाडौंबाट १६ घन्टाको बस यात्रा भए पनि काठमाडौं-भद्रपुर हवाई यात्राले इलामलाई केही सुगम बनाएको छ 

पाथिभरा

pathivara

पाथिभरा देवीलाई मनोकांक्षा पूरा गर्ने देवीका रूपमा लिइन्छ । ३७९४ मिटरको उचाइमा अवस्थित यो स्थानबाट कञ्चनजंघा हिमालको मनोरम दृश्य देख्न सकिन्छ । जनजाति संस्कृति, रातोपान्डा, गुराँस यहाँका हेर्न लायक चीज हुन् । काठमाडौंबाट ताप्लेजुङसम्म बसमा त्यसपछि एक दिन पैदल हिँडेर पाथिभरा पुग्न सकिन्छ 

खप्तड

सुदूरपश्चिमको अत्यन्तै मनोरम स्थान हो खप्तड । ३२०० मिटरमा अवस्थित खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो । प्रख्यात त्रिवेणी मन्दिरका साथै भालु, हिमचितुवा, हरिण, डाँफे, ठूला पाटन यहाँका हेर्न लायक चीज हुन् । काठमाडौंबाट डोटीको सिलगढीसम्म बसमा र त्यहाँबाट पैदल हिँडेर खप्तड पुग्न सकिन्छ 

जनकपुर

janakpur

सीताको माइती जनकपुर तराईको महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल हो । प्राचीन पञ्जावी शैलीको जानकीमन्दिर, राममन्दिर, हनुमानमन्दिर तथा यादव, तेली ब्राह्मण र थारू संस्कृति यहाँका आकर्षण हुन् । काठमाडौंबाट बसमा चार सय किलोमिटर वा ४० मिनेटको हवाई उडानबाट जनकपुर पुग्न सकिन्छ 

प्रस्तुतिः लक्ष्मीप्रसाद

नेवानि सञ्चालक समिति पुनर्गठनको तयारी

image

पर्यटन क्षेत्रसँग असम्बन्धित ३ सदस्य हटाएर ट्राभल, होटल तथा उद्योगी व्यवसायीका संगठन प्रमुखलाई ल्याइने

नयाँ पत्रिका

काठमाडौं, १३ माघ

पर्यटन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य पुनर्गठन गर्ने भएको छ । मन्त्रालयले निगम सञ्चालक समितिका नागेश्वर राय, सुखचन्द्र झा र सन्ध्या मानन्धरलाई हटाई पर्यटन तथा आर्थिक क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेको हो ।

स्रोतका अनुसार पर्यटनमन्त्री शरतसिंह भण्डारीले हटाउने तयारी गरेका निगम सञ्चालकमध्ये राय निगमकै पूर्वनिर्देशक हुन् । सुखचन्द्र झा राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् भने हाल फाइनान्स कम्पनी चलाएर बसेका छन् । त्यस्तै, सन्ध्या मानन्धर मधेसी जनअधिकार फोरम गच्छदार पक्षका महासचिव जितेन्द्र देवकी पत्नी हुन् । फोरमनिकट तीनैजनालाई मन्त्री भण्डारीले नै नियुक्त गरेका थिए ।

पर्यटन क्षेत्रसँग असम्बन्धित ३ सदस्य हटाएर ट्राभल, होटल तथा उद्योगी व्यवसायीका संगठन प्रमुखलाई ल्याउने तयारी भएको छ । नयाँ नियुक्त गरिने सञ्चालक समितिका सदस्यमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स नाटाका अध्यक्ष अर्जुनप्रसाद शर्मा, होटल एसोसिएसन अफ नेपाल हानका अध्यक्ष प्रसिद्धबहादुर पाण्डे र नेपाल उद्योग वाणिज्य महासंघ एफएनसिसिआईका अध्यक्ष कुशकुमार जोशी रहेका छन् । नाटा ट्राभल तथा टुर व्यवसायीको छाता संगठन हो भने हान होटल व्यवसायीको संगठन हो । त्यस्तै, एफएनसिसिआई उद्योगी व्यवसायीको छाता संगठन हो । पर्यटन तथा अन्य व्यवसायीले जहाज खरिदका लागि दबाब दिँदै आएका छन् । दबाब अभियानमा नाटा, हान र महासंघ सहभागी छन् ।

सञ्चालक समितिमा सम्बन्धित क्षेत्रका सदस्य आउने भएपछि निगमको हितमा काम हुने विश्वास मन्त्रालयको छ । स्रोतका अनुसार निगमका कर्मचारी संगठनले पर्यटनसचिव किशोर थापालाई सञ्चालक समितिमा बस्न आग्रह गरेका छन् । तर, विवादमा मुछिएको निगममा जान सचिव थापा इच्छुक नभएको बताइएको छ । सञ्चालक समितिमा नयाँ सदस्य थपिएपछि थापा अध्यक्ष हुने स्रोतको दाबी छ । निगममा अध्यक्ष, महाप्रबन्धक, पर्यटन मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालयका प्रतिनिधि र पर्यटनमन्त्रीबाट नियुक्त हुने ३ गरी ७ जनाको सञ्चालक समिति हुने गरेको छ ।

पर्यटन मन्त्रालयका सचिव किशोर थापाले सञ्चालक समिति परिवर्तर्न गर्ने गृहकार्य भइरहेको बताए । एक साताभित्र समिति पुनर्गठन हुने जानकारी दिँदै उनले समिति अध्यक्षमा आफू नियुक्त हुने सम्भावना रहेको जानकारी दिए । निगम सञ्चालक समिति अध्यक्षको नियुक्ति मन्त्रिपरिषद्ले गर्नुपर्छ । सञ्चालक समितिमा व्यावसायिक व्यक्ति आएपछि संस्थाको हितमा काम हुने उनको विश्वास छ । 'प्रतिष्ठित र व्यावसायिक व्यक्ति सञ्चालक नियुक्त भए संस्थाप्रति इमानदार हुन्छन्,' थापाले भने ।

पर्यटन मन्त्रालयका कानुन महाशाखा प्रमुख रञ्जनकृष्ण अर्यालले सम्बन्धित क्षेत्रका अनुभवी व्यक्ति सञ्चालक समिति व्यावसायिक र जिम्मेवार हुने बताए । समितिमा नियुक्त गर्ने सदस्य सम्बन्धमा सबै अधिकार सरकारको भएको उनको भनाइ छ ।

निगम सञ्चालक समिति ०१९ अनुसार मन्त्रीस्तरीय निर्णयबाट निगमको अध्यक्ष र सञ्चालक समिति नियुक्त हुन्छन् । संस्थाको व्यक्ति तोकेर नियुक्त गरिने भएकाले संस्थागत प्रतिनिधित्व नहुने भन्दै उनले अर्को व्यक्ति अध्यक्ष भएपछि नियुक्ति स्वतः बदर हुने जानकारी दिए ।

नाटा अध्यक्ष अर्जुनप्रसाद शर्माले सरकारले आग्रह गरे निगम सञ्चालक समितिमा बस्न तयार रहे पनि औपचारिक तबरमा मन्त्रालयले कुनै जानकारी नदिएको बताए । 'ट्राभल व्यवसायीको निगमसँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले बोर्डमा प्रतिनिधित्व गर्न पाउनु सकारात्मक हो,' शर्माले भने ।