Friday, July 1, 2011

अख्तियारले रनवे बिग्रेको छानबिन गर्ने


नयाँ पत्रिका
काठमाडौं, १६ असार

व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेलिप्याड तथा रनवे भत्किएको सम्बन्धमा छानबिन तथा अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ । विमानस्थल धावनमार्ग ओभरले तथा हेलिप्याड निर्माण्मा अनियमितता भएको ठहर गर्दै समितिको बिहीबार बसेको बैठकले लामो छलफलपछि यस्तो निर्णय गरेको हो ।
बैठकले त्रुटिपूर्ण, अनियमित र गलत निर्माणकार्य गर्ने ठेकेदार, सम्बन्धित कर्मचारी एवं पदाधिकारी र परामर्शदातालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न/गराउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलजस्तो महत्त्वपूर्ण र संवेदनशील ठाउँमा पनि गलत, अनियमित र कम गुणस्तरको काम हुँदा विमानस्थललाई मात्र असर नपरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठामा समेत आँच आएको हुनाले संलग्न सबैलाई छानबिन गरी कारबाही गर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ ।
बिग्रेको कामको मर्मत तत्काल गर्न/गराउन लगाई यसको जानकारी मन्त्रिपरिषद्लाई गराउन पनि समितिले पर्यटन मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छ । समितिले हेलिप्याड तथा रनवे निर्माणका बारेमा जानकारी लिन पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थल महाप्रबन्धक, परामर्शदाता, योजना प्रमुख ठेकेदारलाई बोलाएको थियो ।
समितिमा उपस्थित महाप्रबन्धक रतिशचन्द्रलाल सुमन, पूर्वमहाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठ, सिभिल मर्मत शाखाका तत्कालीन प्रमुख, हालका प्रमुख, परामर्शदाता तथा अन्य अधिकारी एक-अर्कालाई देखाउँदै पन्छिएका थिए ।
पर्यटन सचिव गणेशराज जोशीले भने स्वतन्त्र छानबिन समिति गठन गरिएको बताउँदै छानबिनमा सहयोग गर्ने बताए । विमानस्थल सुधार आयोजनाका प्रमुख ध्रुवदास भोछियाले छिटो सक्नुपर्ने प्रेसर भएकाले त्रुटि भएको बताए । 'पर्यटन वर्षका कारण २०१० डिसेम्बरसम्ममा सक्नुपर्ने बाध्यता थियो,' उनले भने । ठेकेदारलाई कुनै पनि समस्या आए आधा-घन्टाभित्र समाधान गर्न निर्देशन दिइएकाले सेवा प्रभावित नहुने दाबी उनले गरे । ठेकेदारको काम 'मनिटर' गर्ने हो ।
धावनमार्ग ओभरले गर्ने कम्पनीका प्रतिनिधि सुमन सुवेदीले रातभरि काम गरेर बिहान जहाज ल्यान्ड गर्नुपर्ने हुँदा पहिलो वषर्ामै समस्या आएको भन्दै शतप्रतिशत काम राम्रो नभएको स्विकारे । जहाज ल्यान्ड गर्दा र ब्रेक लाउँदा ओभरले बिगि्रएको दाबी उनको छ । ३ लाख स्क्वायर किलोमिटर ओभरले गरिएकोमा केही मिटरमा मात्र समस्या आउनु सामान्य भएको उनले दाबी गरे । 'अरू निर्माण कार्यमा पनि यस्तो हुन्छ,' उनले भने । ओभरले गर्न प्रयोग हुने बिटुमिन सडक विभागको ल्याबबाट टेस्ट गरेर प्रमाणित गरिएको उनले बताए ।
ओभरलेका लागि सन् २००७ मा टेन्डर गरिएको थियो भने २००९ मा प्राधिकरणसँग कम्पनीको सम्झौता भएको थियो । चीनको चाइना रेलवे इन्जिनियरिङ कर्पोरेसन र नेपालको टुन्डी कन्स्ट्रक्सन प्रालीले संयुक्त रूपमा रनवे ओभरले गरेका हुन् । हेलिप्याडमा भने बिरुवा, आजाद तथा उमा एन्ड प्रतिमा ठेकेदार कम्पनीले कालोपत्रे गरेको बताइएको छ ।
बैठकमा सभासद्हरूले निर्माणकार्यमा स्पष्ट रूपमा अनियमितता देखिएको भन्दै कारबाही हुनुपर्ने माग गरेका थिए । रनवे ओभरले कार्यको लागत २० करोडबाट बढेर २९ करोड ६८ लाख तथा हेलिप्याड निर्माण २ करोड ३५ लाखबाट बढेर २ करोड ७० लाख पुगेकोमा उनीहरूले प्रश्न उठाएका थिए ।
कांग्रेसका धनराज गुरुङले कमजोरी स्विकार्नुको सट्टा वक्तव्यबाजी गरेर मिडियालाई गाली गरेको भन्दै निरीक्षणबाट स्पष्ट रूपमा अनियमितता देखिएको बताए । 'अन्तर्राष्ट्रियस्तर कागजमा भनेर हुँदैन व्यवहारमा हुनुपर्‍यो,' उनले भने । २ करोड ७० लाख भनेर ७० लाखको मात्र काम भएको दाबी उनले गरे । ठेकेदारलाई देखाएर प्राधिकरणका अधिकारीहरू पन्छिन खोजेको भन्दै गुरुङले कसैले पनि मुक्ति पाउन नसक्ने बताए । विमानस्थल सुधार अयोजनाले विज्ञप्ति निकालेर निर्माण सामग्री, उपकरण र जनशक्तिका कारण त्रुटि भएको पुष्टि भएमा ठेकेदारले पुनः निर्माण गर्ने उल्लेख गरेको छ ।
सभासद् केशव नेपालले प्राधिकरणका अधिकारीहरूलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने बताए । तमलोपाका हृदयेश त्रिपाठीले पर्याप्त रकम हँुदाहुँदै पनि त्रुटिपूर्ण काम भएको भन्दै पर्यटन वर्ष एउटा बहाना मात्र भएको बताए । एमालेका लालबाबु पण्डितले इन्जिनियरिङ कम्पनीको प्रमाणपत्रमै शंका व्यक्त गर्दै सुधार आयोजनाबाट कारबाही सुरु गर्नुपर्ने बताए ।
राजपाका डा. प्रकाशचन्द्र लोहनीले समयावधि ५ सय १० बाट बढाएर ६ सय ९० दिन बनाइएकोमा प्रश्न गर्दै समय कम भएर काम राम्रो भएन भन्नु गैरजिम्मेवार तर्क भएको बताए । सन् २००९ मा सुरु भएको ओभरले २०११ फेब्रुअरीमा सकिएको थियो ।
धावन मार्ग भत्किएर पटक-पटक विमान सेवा अवरुद्ध हुन थालेपछि सभासद्को टोलीले बुधबार विमानस्थलमा भएका निर्माण कार्यको निरीक्षण गरेको थियो । दुवै गुणस्तरहीन भएका कारण सम्पन्न भएको ६ महिनामै मर्मत गर्नुपर्ने स्थिति आएको निष्कर्ष टोलीले निकालेको थियो ।
प्राधिकरण्ाद्वारा गठित समितिले बुझाएको प्रतिवेदनमा हेलिप्याड निर्माण्ामा प्राविधिक त्रुटि भएको उल्लेख छ । चार एमआई र नौ साना हेलिकोप्टर पार्क गर्न मिल्ने गरी २ करोड ७० लाख रुपैयाँमा हेलिप्याड बनाइएको थियो ।
मापदण्ड पूरा नगरी बनाइएको हेलिप्याडमा इन्धन बोकेका ट्यांकरसमेत जाने भएकाले भार थेग्न नसकी पिच फुटेको प्रतिवेदनमा छ । विमानस्थल धावनमार्ग भत्किएको विषयमा अध्ययन गर्न सुरक्षा र मापदण्ड हेर्ने सिभिल इन्जिनियर पुण्यराज शाक्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete