Saturday, July 2, 2011

नेपाल वायुसेवाका चुनौती र सम्भावना


लक्ष्मीप्रसाद खतिवडा
khatiwadalp@gmail.com
image

राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय सेवा विस्तार नगरेसम्म पर्यटक संख्यामा उल्लेखनीय वृद्धि हुँदैन, निगमले मुलुकलाई पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु चिनाए पनि अहिले विदेशी विमान कम्पनीले फाइदा लिएका छन्

स्थापनाको ५३औँ वाषिर्कोत्सव मनाइरहँदा मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम धरमराउँदो अवस्थामा छ । सरकारलेे दस लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाइरहेको छ, तर पर्यटक ओसार्ने मुख्य माध्यम भने बिरामी हालतमा छ ।

२०१५ साल असार १७ गते स्थापित तत्कालीन शाही नेपाल वायुसेवा निगमसँगैको थाई एयरवेजका सयौँ जहाज विश्वका कुनाकुनामा उडिरहेका छन् तर निगम भने दुईवटा बोइङ र केही टि्वनअटर उडाएर अस्तित्व जोगाइरहेको छ । अनेकन काण्ड र चरम राजनीतिक हस्तक्षेपका कारण कमजोर हुन पुगेकोेे निगमका अगाडि थुप्रै चुनौती छन् । राजनीतिक हस्तक्षेप अहिले पनि निगममा उत्तिकै छ । राजनीतिक नेताको भर्तिकेन्द्र बन्ने गरेको छ निगम बारम्बार । काण्डै -काण्डको फेहरिस्तका कारण निगमको साख गुमेको अवस्था छ ।

राजनीतिक हस्तक्षेपकोे चपेटामा परेर निगमले एउटा जहाज किन्ने क्षमतासमेत राख्न सकेको छैन । निगम संसारकै एकमात्र यस्तो वायुसेवा कम्पनी होला जसले दुई दशकदेखि एउटै जहाज किनेको छैन । कुनै पनि वायुसेवा कम्पनी पर्याप्त जहाज नभएसम्म नाफामा जानै सक्दैन ।

कुनैवेला पर्यटक भित्र्याउने एक्लो खेलाडीका रूपमा रहेको निगमले आज नेपाल आउने २७ वटा विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धा गर्नु परिरहेको छ । सरकारी स्वामित्वमा रहेका तीन दर्जन संस्थानमध्ये निगम एक मात्र त्यस्तो संस्था हो जसले प्रत्यक्ष रूपमा 'मल्टिनेसनल' कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल आइरहेका अधिकांश कम्पनी स्थापनाको हिसाबले निगमभन्दा कान्छा भए पनि व्यवस्थापन दक्षता, जहाज संख्या, गन्तव्य र सम्पत्तिको हिसाबले सबैले निगमलाई पछाडि पारिसकेका छन् ।

कमजोर व्यवस्थापन र कर्मचारीको व्यवहार निगमको अर्को चुनौती हो । दक्ष र इमानदार व्यक्ति व्यवस्थापनमा हुनु निगम हितका लागि पहिलो शर्त हो । 'भिजन' लिएर आएको दक्ष व्यक्तिले निश्चित समय काम गर्न पाउनुपर्छ । तर, सत्ता परिवर्तनसँगै निगमको अध्यक्ष र व्यवस्थापनमा हेरफेर हुने परिपाटीका कारण निगमको काम प्रभावकारी हुन सकेको छैन ।

निगमका कर्मचारीको व्यवहार र कार्यशैली व्यवसायिक नभएको गुनासो यात्रुहरूको रहँदै आएको छ । प्रतिस्पर्धी वातावरणमा सेवाको गुणस्तर राम्रो नभए बजारमा टिक्न नसकिने भएकोले कर्मचारीले परम्परागत सरकारी कार्यशैली त्यागेर व्यवसायिक बन्न सक्नुपर्छ । निगमको मार्केटिङ अहिले पनि कमजोर र परम्परागत किसिमको छ । प्रतिस्पर्धी वातावरणमा चुस्त मार्केटिङ आवश्यक छ ।

अन्तर्राष्ट्रिय बजारमा बिग्रेको छवि निगमको अर्को चुनौती हो । विगत केही वर्षमा निगमको छवि नराम्ररी बिग्रेको छ । समयमा उडान नहुने तथा कर्मचारीको व्यवहारका कारण निगम यात्रुको पहिलो प्राथमिकतामा पर्न सकेको छैन । यसलाई सुधार गरेर सेवालाई प्रभावकारी बनाउनु निगमको चुनौती हो ।

चुनौतीसँगै सम्भावनाहरू पनि छन् । यो त्यही निगम हो जसले कुनैवेला चारवटा बोइङ जर्मनी र प|mान्ससम्म उडाएको थियो । अहिले पनि निगमसँग आफ्ना जहाज आफैँ मर्मत गर्नसक्ने सीप भएका इन्जिनियर छन् । दक्ष पाइलट छन् । दुई दशकअघि निगमले आफ्नै बलबुतामा त्यसवेलाको उच्चतम प्रविधिको अत्याधुनिक बोइङ ७५७ विमान खरिद गरेेर धेरैलाई चकित पारेको थियो ।

अन्तर्राष्ट्रिय हवाई बजार बर्सेनि बढ्दो छ । दैनिक १५ सयदेखि दुई हजार नेपाली रोजगारका लागि विदेश उडिरहेका छन् । झन्डै २० लाख नेपाली विदेशमा छन् । औसतमा दुई वर्षमा एकपटक यी नेपाली नेपाल ओहोरदोहोर गर्छन् । दैनिक करिब एक हजार नेपाली विदेशबाट घर फर्किरहेका छन् । नेपाली यात्रुकै ओसारपसारले मात्र पनि वर्षभरि निगमलाई पर्याप्त मात्रामा व्यापार उपलब्ध हुने देखिन्छ । यति ठूलो बजार र सम्भावना हुँदा पनि राष्ट्रिय ध्वजावाहक खुम्चिरहेको छ । विदेशी एयरलाइन्सले यसको फाइदा लिइरहेका छन् । पैसा विदेशिइरहेको छ । देशको प्रतिनिधित्व गर्दै विदेश पुग्ने वायुसेवाप्रति देशवासीले गर्व गर्ने स्थिति बनाउनुपर्छ ।

वर्षौदेखि निगमले आफ्नो उत्पादन क्षमता बढाउन सकेको छैन । निगम व्यापार गर्ने संस्था हो । हवाई सिट उसको उत्पादन हो जसलाई बेचेर नाफा कमाइन्छ । निगमले मध्यम आकारका जहाज थपेर सेवा विस्तार गर्दर्ै ठूला जहाज खरिद गर्ने योजना बनाउनु उपयुक्त हुन्छ । राष्ट्रिय ध्वजावाहकको साख बचाउन मात्र होइन, अन्तर्राष्ट्रिय हवाई बजारमा टिकिरहन पनि निगमले उत्पादन क्षमता बढाउनुपर्छ ।

पर्यटन वर्ष मनाइरहेको मुलुकमा हवाई सञ्जाल कमजोर छ । हवाई यात्रा गर्नेका लागि नयाँ जहाज र गुणस्तरीय सेवा महत्त्वपूर्ण हुन्छ । निगमसँग थुप्रै देशमा उडान गर्ने अनुमति भएका कारण सेवा विस्तार गर्न सक्ने हो भने कूटनीतिक सम्बन्ध विस्तारमा पनि सहयोग पुग्छ । निगमलाई सबल बनाउने हो भने एकातिर स्वदेशमै रोजागारी सिर्जना हुन्छ भने अर्कोतिर विदेश जाने अर्बौं रुपैयाँ देशभित्र बस्छ ।

कुनै वेला तत्कालीन शाही नेपाल वायुसेवा निगम स्तरीय विमान कम्पनीका रूपमा परिचित थियो । उसले जर्मनी, जापान तथा प|mान्ससम्म सीधा उडान गथ्र्यो । शानेवानीको विमान चढ्न हत्ते गर्ने जमाना पनि थियो । इन्डियन एयरलाइन्स जस्ता कम्पनी शानेवानी जस्तो हुने कल्पना गर्थे ।

बिग्रेको छवि सुधार्न र उत्पादन क्षमता बढाउन निजीकरणको प्रयास नभएको पनि होइन । बलियो रणनीतिक साझेदार आए कसैसँग ऋण माग्नु पर्दैन । निजीकरणका धेरै कुरा भए तर काम भएन । निगम निजीकरणका लागि आधा दर्जन प्रतिवेदन तयार भए पनि कुनैको कार्यान्वयन भएन । निजीकरण भएपछि हस्तक्षेप गर्न नपाइने डरले सरकारी अधिकारीहरू नै निजीकरणको विपक्षमा हुन्छन् ।

राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय सेवा विस्तार नगरेसम्म पर्यटक संख्यामा उल्लेखनीय वृद्धि हुन सक्दैन । निगमको पहुँच युरोप र जापानसम्म हुँदा पर्यटक वृद्धि भई निजी लगानीकर्ताले होटलमा ठूलो लगानी गरेको तथ्य हामीसामु छ । निगमले मुलुकलाई पर्यटकीय गन्तव्यको रूपमा विश्व सामु चिनाएर खेलेको महत्त्वपूर्ण भूमिकाको फाइदा अहिले विदेशी विमान कम्पनीले लिइरहेका छन् ।

अहिले अस्ट्रेलिया, युरोप, जापान र अमेरिकाजस्ता मुलुकबाट नेपाल आउने पर्यटकले महँगो मूल्यमा हवाई टिकट खरिद गर्नुपर्ने बाध्यता छ । सीधा हवाई सम्पर्कको अभावमा नेपाल महँगो गन्तव्य भएपछि साहसिक गन्तव्यका पारखी युरोप अमेरिकाका पर्यटक अन्य विकल्प खोजिरहेका छन् । उद्गमस्थलसम्म राष्ट्रिय ध्वजावाहकको पहुँच नहुँदा उनीहरू घन्टौँको ट्रान्जिट भएर आउनुपर्ने बाध्यता छ । पर्यटक आकर्षर्ित गर्न सस्तो र सजिलो हवाई यात्रा आवश्यक हुन्छ ।

अहिले नेपाल आउने विदेशी एयरलाइन्स प्रायः खाडी मुलुक भएर आउँछन् । युरोपबाट सीधा उडान गर्ने एयरलाइन्स छैनन् । यस्तो अवस्थामा निगमले सीधा युरोप उडान गर्नसक्ने हो भने फाइदा सुनिश्चित छ । प्रत्यक्ष हवाई सम्पर्क नभएको मुलुकबाट आउने पर्यटकको संख्या अन्य मुलुकको तुलनामा कम भएको तथ्यांकले पनि देखाउँछ ।

निगमले सीधा लन्डनदेखि जर्मन र जापानसम्म उडान गर्दा ति मुलुकबाट नेपाल आउने पर्यटको संख्या अहिलेको भन्दा निकै बढी थियो । निगमले जर्मनीको प|mयांकर्फट सीधा उडान गर्दा जर्मनीबाट नेपाल आउने पर्यटकको संख्या वाषिर्क ४९ हजार थियो जब कि यो संख्या सन् २०१० मा २३ हजारमा सिमित भएको छ । त्यस्तै निगमले प|mान्ससम्म सेवा सञ्चालन गर्दा प|mान्सेली पर्यटकको संख्या वाषिर्क ३३ हजार थियो अहिले त्यो संख्या २३ हजारको हाराहारीमा छ ।

निगम लन्डन जाँदा बेलायती पर्यटकको संख्या वाषिर्क ४३ हजार थियो भने अहिले यो संख्या ३५ हजारमा झरेको छ । निगम जापान जाँदा वाषिर्क ४५ हजार जापानी पर्यटक नेपाल आउँथे । अहिले यो संख्या २३ हजारमा झरेको छ । यसबाट पनि सीधा हवाई सम्पर्कको असर पर्यटक आगमनमा प्रत्यक्ष रूपमा पर्ने देखिन्छ । टुर अपरेटरहरूले राष्ट्रिय ध्वजावाहकलाई बढी विश्वास गर्ने भएकोले पनि पर्यटक आगमनमा असर परेको हो ।

आन्तरिक हवाई सेवामा पनि निगमको भूमिका महत्त्वपूर्ण छ । नेपालजस्तो विकट भौगोलिक अवस्था भएको र सडकको सञ्जाल विस्तार नभइसकेको मुलुकमा राष्ट्रिय ध्वजापाहकले सेवामुखी भएर काम गर्नुपर्छ । निजी विमान कम्पनी नाफामुखी हुने भएकोले नाफा नहुने दुर्गम सेक्टरमा जान चाहँदैनन् । सेवाभन्दा व्यापार उनीहरूका लागि महत्त्वपूर्ण हुन्छ । अहिले पनि कणर्ालीजस्तो दुर्गम भेगका जनता हवाई सेवाको अभावमा पीडित छन् । यस्तो अवस्थामा राष्ट्रिय ध्वजावाहकप्रति जनताले आशा राख्नु स्वभाविक हो । जहाज थपेर चुस्त-दुरुस्त सेवा दिन सक्ने हो भने आन्तरिक सेवामा पनि नाफा कमाउने सम्भावना छ ।

विदेशी र मुलुककै निजी विमान कम्पनीको उद्देश्य नाफा कमाउनु भएकोले राष्ट्रिय ध्वजावाहकले मात्र राष्ट्रिय हितका लागि सेवा पुर्‍याउनसक्छ । पर्यटन विकासको सम्भावनालाई आर्थिक विकासमा प्रयोग गर्ने हो भने राष्ट्रिय ध्वजावाहकको सेवा विस्तार गर्नैपर्छ । देशलाई प्रतिनिधित्व गर्ने राष्ट्रिय ध्वजावाहक भएकाले यसको अन्तर्राष्ट्रिय मर्यादा पनि हुन्छ । धराशायी हुन थालेको संस्थालाइ माथि उठाउन निगमका सामु थुप्रै चुनौती छन् । तर सँगसँगै सम्भावनाहरू पनि छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete