Wednesday, February 29, 2012

असुरक्षाको असर पर्यटनमा


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १६ फागुन


काठमाडौं, १६ फागुन । कमजोर शान्ति सुरक्षाको असर पर्यटन क्षेत्रमा पनि देखिएको छ । काठमाडौको मुटु सिंहदरवार नजिकै बम विष्फोट भएकै दिन वेलायतले आफ्ना नागरिकलाइ नेपाल भ्रमणमा सचेत रहन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । मंगलवार वेलायतले डब्लुडब्लुडब्लु डट एफसिओ डट जिओभी डट युकेमा सूचना जारी गरेको हो । ‘सुरक्षालाइ मध्यनजर गरेर संशोधन सहित यो सूचना जारी गरिएको छ ।’ फरेन एण्ड कमनवेल्थ अफिसले जारी गरेको सूचनामा उल्लेख छ । विशेष गरि काठमाडौंमा यात्रा गर्दा आफ्ना नागरिकलाइ बढि चनाखो हुन वेलायतले आग्रह गरेको छ । 
नेपाल भ्रमण गर्ने नागरिकलाइ वेलायती दुतावास स्थित कन्सुलर सेक्सनमा दर्ता हुन र आफ्नो टाभल आइटिनरीका बारेमा आफ्ना परिवारलाइ जानकारी गराउन वेलायतले अनुरोध गरेको छ । 
नेपालको राजनितिक अवस्था अस्थिर भएको र बारम्बार बन्द हड्ताल, विरोध ¥याली तथा प्रदर्शन हुने गरेको भन्दै वेलायतले नेपाल भ्रमणमा बढि चनाखो हुन आफ्ना नागरिकलाइ सचेत गराएको छ । ‘सरकारी कार्यालय नजिकका स्थानमा जाँदा विशेष सावधानी अपनाउन आग्रह गरिन्छ ।’ सरकारी वेबसाइटमा उल्लेख छ । राजनितिक प्रदर्शनबाट टाढा रहन र आफ्नो टुर अपरेटरसँग नियमित सम्पर्कमा रहन उसले अनुरोध गरेको छ । यसअघि वेलायतले नेपाललाइ सुरक्षित गन्तव्यको रुपमा राख्दै आएको थियो । अप्रिल २०१० देखि मार्च २०११ सम्ममा २८ जना वेलायती नागरिकले नेपालस्थित कन्सुलर कार्यालयको सहयोग लिनुपरेको उसले जनाएको छ । 
वेलायती पर्यटक खर्च गर्ने पर्यटकको रुपमा चिनिन्छन् । सन् २०११ मा ३४ हजार ५ सय वेलायती पर्यटक नेपाल आएको तथ्यांक छ । २०१२ को पहिलो महिना जनवरीमा १ हजार ७ सय ६ वेलायती पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका छन् । यो संख्या गत बर्षको जनवरीको तुलानमा ५ प्रतिशतले बढि हो ।  
यसअघि २२ नोभेम्बर २०११ मा अष्ट्रेलिया सरकारले पनि ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणको क्रममा उच्च स्तरको सावधानी अपनाउन आफ्ना नागरिकलाइ आग्रह गरेको छ । संविधान निर्माणमा भइरहेको अन्यौल र बन्दको श्रंखला बढेको भन्दै अष्ट्रेलियाले नेपाल भ्रमणमा सचेत रहन आग्रह गरेको थियो । उसले अहिलेसम्म यो एडभाइजरी अपडेट गरेको छैन । 
विदेशी पर्यटक सुरक्षाको मामलामा बढि सम्वेदनशिल हुने भएकोले ट्राभल एडभाइजरीको असर पर्यटक आगमनमा देखिन सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् । एउटा मुलुकले जारी गरेको एडभाइजरीले अर्को मुलुकका पर्यटक समेत प्रभावित हुने अनुभव व्यवसायीहरुको छ । ‘असुरक्षाको स्थिति पर्यटन व्यवसायमा तत्काल पर्ने देखिएको छ । नेपाल आउने तयारी गरिरहेको पर्यटकले यसबारे पुनर्विचार गर्छ ।’ टुरिष्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष हरेरराम बरालले भने । टुर अपरेटरहरुका अनुसार सोमबारको विष्फोटका कारण पर्यटकहरु उपत्यका वरपरको दृष्यावलोकन तथा सास्कृतिक प्रदर्शनीमा सहभागी हुन पाएनन् । इन्धन अभावका कारण सवारी साधन चल्न सक्ने स्थिति समेत नभएको वेला शान्ति सुरक्षाको प्रत्याभूति नहुँदा व्यवसाय संकटमा परेको व्यवसायीहरुको भनाइ छ । ‘असुरक्षा भयो भने पर्यटकले बसाइ अवधि छोट्याउन सक्छन् ।’ बरालले भने । 
कडा ट्राभल एडभाइजरी जारी गर्दै आएको अमेरिकाले भने गत मंसिरमा आफ्ना नागरिकलाइ निश्चिन्त भएर नेपालको भ्रमण गर्न आग्रह गरेको छ । यसअघि पर्यटन बर्षको शुरुमा उसले नेपाल भ्रमण गर्दा सावधानी अपनाउन आग्रह गरेको थियो । करिव १६ बर्षअघि माओवादीले सशस्त्र युद्ध थालेदेखि नै अमेरिकाले नेपाल भ्रमण खतरापूर्ण हुने बताउदै आएको छ ।

थाइल्याण्ड र कोरियामा नेपाल प्रवद्र्धन 

नेपाल पर्यटन बोर्ड सहित ३ वटा वटा टाभल तथा टुर कम्पनिले थाल्याण्डमा सम्पन्न थाइ इन्टरनेसनल टाभल फेयरमा नेपालको पर्यटन प्रवद्र्धन गरेका छन् । २३ देखि २६ फेब्रुअरीसम्म बैंककमा भएको फेयरमा नेपालका पर्यटकीय उत्पादनहरुको प्रवद्र्धन गरिएको बोर्डले जनाएको छ । थाइ टुर अपरेटरहरुले काठमाडौं, पोखरा, चितवन र लुम्बिनिका भ्रमण प्याकेज बेचिरहेका छन् । फेयरमा लुम्बिनि तथा अन्य सांस्कृतिक क्षेत्रको प्याकेजका बारेमा बढि जिज्ञासा आएको बोर्डको भनाइ छ । निजि क्षेत्रबाट सहभागी कम्पनिहरुले लुम्बिनि भ्रमण बर्ष २०१२ लाइ लक्षित गरेर प्याकेज बुक गराएका थिए । थाइ एयरवेजले बैंकक काठमाडौं दैनिक र नेपाल एयरलाइन्सले काठमाडौंबाट साताको दुइ उडान गर्दै आएका छन् । 
यसैविच दक्षिण कोरिया स्थित नेपाली दुतावासले ‘संस्कृित र  प्रकृतिको मुलुक नेपाल विषयक सेमिनारको आयोजना गरेको छ । कोरियामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको दुतावासले जनाएको छ । कार्यक्रममा टाभल टुर अपरेटर, विमान कम्पनि तथा पर्यटन व्यवसायीहरु सहभागि थिए ।

Tuesday, February 28, 2012

व्यवसायमा नयाँ प्रयोग


उद्यम त्यस्तो क्षेत्र हो, जसमा विभिन्न समूहका मान्छेसँग संगत गर्नुपर्छ । फरक फरक किसिमका मान्छेसँग ‘डिल’ गर्नुपर्छ । भनिन्छ, व्यापार गर्न सबै कुरा जान्नुपर्दैन । मात्र केही गर्छु भन्ने इच्छाशक्ति र आँट चाहिन्छ । मनभित्र एउटा ‘जुनुन’ चाहिन्छ । त्यही ‘जुनुन’ र इच्छाशक्तिले उसलाइ व्यापारको बाटोमा हिडाउँछ, दौडाउँछ, लडाउँछ र उठाउँछ पनि । 
यसैगरि लड्दै उठ्दै हिडेका उद्यमी हुन् श्यामसुन्दर लाल कक्षपति । सानेपा हाइटको ‘पाल्पाली छें’ उनको उद्यमको केन्द्र हो । नेवारीमा छेंको अर्थ घर हुन्छ । यही घरबाट उनले आफ्ना सबै बिजनेस सञ्चालन गरेका छन् नाङलो बेकरीका दर्जन बढि आउटलेट, कुरिनटारस्थित रिभरसाइड स्प्रिङस रिसोर्ट र अज्जवको आइसक्रिम । 
रोजगारीको खडेरी परेको मुलुकमा कक्षपतिले १ हजारभन्दा बढीलाइ रोजगारी दिएका छन् । नाङलो बेकरीले मात्र ३ सय २५ जनाको परिवार पालेको छ । आफ्नो लागि शुरु गरेको व्यापारबाट यति धेरैले रोजगारी पाउलान् भनेर उनी आफैंले पनि सोचेका थिएनन् । 
पुख्र्यौली थलो पाल्पामा श्यामका बुबा कपडा व्यापार गर्थे । तर, श्यामलाई भने त्योभन्दा फरक केही गरौं भन्ने लाग्यो । बुबाले सुरु गरेकोे कपडा पसलमा उनको मन अडिएन । पढ्न भनेर काठमाडौं आएका श्यामले १९ बर्षको उमेरमा आफ्नो छुट्टै व्यवसाय सुरु गरे । सुरुमा भाइबहिनी पाल्न ग्रोसरी खोले । अझ नयाँ र च्यालेन्जिङ केही गरौं भन्ने रहर लाग्यो । यही अभिलासाले उनी रेष्टुरेन्ट व्यवसायतिर हान्निए । यो व्यवसायमा रुची भएका कारण दिल्ली गएर कुक, काँटाचम्चा र कफी बनाउने मेसिन ल्याए । कुकिङ पनि सिके । 
सन् १९७३ मा रत्नपार्कमा ‘क्याफे द पार्क’ खोले । नयाँ काम चुनौतीपूर्ण हुन्छ नै । उनले पनि निकै चुनौती र हन्डरको सामना गर्नुप¥यो । रेष्टुरेन्ट कल्चर नै शुरु भएको थिएन काठमाडौंमा । फास्ट फुड त परको कुरा । रेष्टुरेन्ट जाने निकै थोरै थिए । रेष्टुरेन्टमा गएर खानुलाई राम्रो पनि मानिदैनथ्यो त्यतिखेर ।   
रत्नपार्कको क्याफे विस्तार गरेर सन् १९७६ मा अर्को रेष्टुरेन्ट खोले । सानो नाङलोमा खानेकुरा सजाएर बर्गर, स्यान्डविच सर्भिस हुन्थ्यो उनको रेष्टुरेन्टमा । नयाँ खानेकुरा र सेवामा नयाँपन भएकाले उनको रेष्टुरेन्टमा मानिस जान थाले । पछि त्यहि नाङलो क्याफेको नाम बन्यो र विस्तारै ‘ब्रान्डनेम’ बन्यो । 
सुरुमा विभिन्न किसिमका प्रतिक्रिया आए । पिज्जा, वर्गर र हट डग खाने मान्छे निकै थोरै थिए । अहिले जस्तो परिवारै गएर रेस्टुरेन्टमा खाने चलन थिएन । केही थाहा नभएको व्यवसाय सुरु गर्दा धेरैले असफल हुन्छ भने । तर उनको रेष्टुरेन्ट नयाँ भएकोले मान्छे त्यतातिर तानिए । उनको रेष्टुरेन्टले शहरियाहरुलाइ ह्याम्बर्गर, पिज्जा, हट डग, आइस क्रिम जस्ता पश्चिमी आइटम खान सिकायो । केही खर्च गर्ने वर्ग पनि तयार भइसकेको थियो । खाली खर्च गर्ने पर्याप्त ठाउँ थिएन । 
विस्तारै नाङलो बेकरी एउटा ब्रान्ड बन्यो । रेस्टुरेन्ट तथा फाष्टफुड चेनको रुपमा स्थापित नाङलोका हाल १३ आउटलेट छन् । सन् १९९८ तिर नयाँ सोच आयो, सुन्न नसक्नेलाई जागिर दिने । उनीहरु इमान्दार हुन्छन् भन्ने लाग्यो उनलाई । यस्ताले पनि रेष्टुरेन्टमा काम गर्न सक्छन् भनी धेरैले उनलाई उडाए पनि । तर कार्यक्रममा टिकट चेक गर्न कान सुन्न नसक्ने लाइ राख्दा प्रभावकारी भएको देखेका थिए उनले । त्यसैले राम्रै हुन्छ भन्ने थियो । सुरुमा १२ जनालाई तालिम दिए । तिनले राम्रो काम गरेपछि अरुलाई पनि लगाउँदै गए । अहिले नाङलोका ६ वटा आउटलेटमा ६० जना कान सुन्न नसक्नेले रोजगारी पाएका छन् । 
शुरुमा त उनी आफैंलाई पनि शंका थियो ग्राहकको कस्तो प्रतिक्रिया आउला भन्नेमा । तर अहिले वाहीवाही पाएका छन् । ग्राहकले पनि उनको आइडियालाई मन पराएका छन् । अहिले त उनको व्यापारलाई समाजसेवा पनि भन्दा रहेछन् कतिले । कान सुन्न नसक्नेसँगै होचा पुड्कालाई पनि रोजगारी दिन थालेका छन् । उनकै रेष्टुरेन्टको बच्चा खेल्ने ठाउँमा होचा पुड्काको काम प्रभावकारी भएको छ । 
हरेक बर्ष एउटा रेष्टुरेन्ट थप्ने उनको योजना भए पनि त्यसले मूर्तरुप भने पाउन सकेको छैन । श्रम समस्या, व्यावसायिक असुरक्षा आदिले आँट गर्न नसकिरहेको उनी बताउँछन् । ३९ वर्ष व्यापार गरिसकेको बताउने श्याम आफैं ३९ वर्षका जति देखिन्छन् । निकै लामो सलक्क परेको कपाल । जेल लगाएर पछाडि फर्काएको, हाइटी शरीर । उमेरभन्दा निकै जवान देखिन्छन् उनी । सकारात्मक सोचाइ, चिन्तामुक्त जीवन अनि थोरै व्यायाम उनको जवानीको राज हो रे । 
नाङलो ग्रुप अफ कम्पनिजका अध्यक्ष कक्षपती हालै होटल व्यवसायीहरुको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) को ४१ औं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि अध्यक्ष चुनिएका छन् । यसअघि उनी संघका महासचिव थिए । आफ्नो कार्यकालमा होटल व्यवसायीले भोग्नु परिरहेका समस्या समाधान गर्न सहकार्य गरेर अगाडी बढ्ने उनको योजना छ ।

Sunday, February 26, 2012

४० दिन हिड्दा जे देखियो

लक्ष्मीप्रसाद खतिवडा
सिन्धुपाल्चोक, १३ फागुन


पूर्वको ताप्लेजुङबाट ४० दिन हिडेर सिन्धुपाल्चोक आइपुगेका ‘ग्रेट हिमालयन टेल’ का पदयात्रीहरु सञ्चारकर्मीसँग अनुभव सेयर गर्न उत्सुक थिए । बोर्डरल्याण्ड रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले जलवायु परिवर्तनका असर र नयाँ पुराना पर्यटकीय गन्तव्यका बारेमा आफ्नो अनुभव सुनाए ।

किर्तिमानी सगरमाथा आरोहि आप्पा शेर्पाले सगरमाथा आरोहण भन्दा हिड्नु केहि सहज भएको बताए । पर्यटनले गाउँ गाउँमा सरसफाइको चेतना ल्याएको र सभ्यता पनि सिकाएको अनुभव उनले सुनाए । ‘पर्यटक पुग्ने ठाउँका मानिसको व्यवहार राम्रो छ । राम्रोसँग कुरा गर्छन् ।’ उनले भने । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा थुपै्र परिवर्तन देखिएको जानकारी दिदै शेर्पाले कतिपय ठाउँमा यसअघि हिडेको बाटो मेटिइसकेको बताए । कञ्चनजंघा क्षेत्रमा फोहोर बढेकोमा पर्यटकले गुनासो गरेको उनले सुनाए । प्रवद्र्धन कम भएका कारण दोलखाको रोल्वालिङ क्षेत्रमा पर्यटन व्यवसाय संकटमा पर्न थालेको उनको भनाइ छ ।
सञ्चारकर्मी सौरभ ढकालले आफूहरुले ७ वटा जिल्ला पार गरिसकेको र सबै जिल्लामा पर्यटनका फरकफरक सम्भावना देखिएको बताए । सोलार र ‘माइक्रो हाइड्रो’ ले गाउँमा उर्जा क्रान्ति नै ल्याएको अनुभव उनले सुनाए । पर्यटन व्यवसायी दावा स्टेभन शेर्पाले पहिले स्थापित भइसकेका ट्रेकिङ रुट द्धन्द्धकालमा बन्द भएकाले तिनलाइ पुन सुचारु गर्न सकिने सम्भावना देखिएको बताए । पर्यटनका लागी गाउँ गाउँ सम्म पनि पूर्वाधार विस्तार हुन थालेको जानकारी उनले दिए । मोबाइल तथा इन्टरनेटका कारण पनि पर्यटकका लागी ट्रेकिङ सहज भएको उनका भनाइ छ ।
‘क्लाइमेट स्मार्ट सेलिव्रेटी ट्रेक’ नाम दिइएको १ सय २० दिने पदयात्राको आयोजना नेपाल सरकार तथा विभिन्न दातृ निकायको आर्थिक सहयोगमा यात्रा हिमालयन क्लाइमेट इनिसियटिभ नामक संस्थाले गरेको हो । संस्थाका प्रमुख कार्यकारी प्रशान्त सिंहले पर्यटनको माध्यमबाट जलवायु परिवर्तनको असर कम गर्न सकिने बताए । ‘यो पुरै नेपाल चिनाउन सक्ने ट्रेकिङ ट्रेल भएकाले विश्वभरिका पदयात्रीलाई यसतर्फ आकिर्षत गर्ने मुख्य उद्धेश्य हो ।’ उनले भने ।  यात्राबाट ट्रेलको विश्वव्यापि प्रचार हुने विश्वास आयोजकको छ । ‘यसबाट हिमालय क्षेत्रमा दिगो विकास र पर्यटकीय सम्भावनाको ढोका खुल्ने सम्भावना छ ।’ सिंहले भने ।
प्रधानमन्त्री अध्यक्ष रहने जलवायु परिवर्तन परिषद्ले पारित गरेको करिव १ करोड रुपैयाँको यो परियोजनालाइ वातावरण तथा पर्यटन मन्त्रालय, युकेएड, व्रिटिश काउन्सिल, एसएनभी, नेपाल पर्यटन बोर्ड, टान, एनएमए लगायतका संघसंथाको सहयोग गरेका छन् । त्यस्तै कर्पोरेट पार्टनरमा एसियन टेकिङ, नर्थफेस र डेल कम्प्युटर छन् ।
गत १ माघमा पूर्वको ताप्लेजुङबाट शुरु भएको पदयात्रा २०६९ वैशाख ३१ मा पश्चिमको दार्चुला पुगेर सकिने आयोजकले जनाएको छ । उनीहरुले २० वटा हिमाली जिल्ला पार गर्नेछन् । राजधानीबाट उनीहरुलाइ राष्ट्रपति रामवरण यादवले राष्टिय झन्डा दिएर बिदाइ गरेका थिए । शुरुका आठ दिन जर्मन राजदूत भेरेना ग्राफिन भोन रोडर्न पनि आठ दिन पदयात्री सँगै हिडेको आयोजकले जनाएको छ ।
यो टे«ल पर्यटन बर्षमा पहिचान भएको पर्यटकीय उत्पादन हो । पर्यटन बर्षको औपचारिक उद्घाटनसँगै गत पुसमा यसको उद्घाटन भएको थियो । ग्रेट हिमालयन टे«लले नेपाल बाहेक पाकिस्तान, चीनको तिब्बत, भारत, भुटान र म्यानमार समेत छुन्छ । यसको पुरा लम्बाइ हिमालय शृखंलाको ४ हजार ५ सय किलोमिटर हो । यसमध्ये १७ सय किलोमिटर नेपालभित्र पर्छ । यो रुट पुरा गर्नेले विश्वका ८ हजार मिटर अग्ला सबै हिमाल हेर्न पाउछन् । अहिले नेपालभित्रका लागि मात्र खुला गरिएको छ । सन् १९९० देखि अन्तराष्टिय ट्रेकिङ ट्रेलका रुपमा विकास गर्ने अवधारणा अनुसार सन् २००३ देखि यसको सम्भावना खोजी भएको थियो ।
सन् २००४ मा मा नै एसियाली विकास बैंकको सहयोगमा दक्षिण एसियाली उपक्षेत्रिय आर्थिक संगठनले पर्यटन योजनामा ग्रेट हिमालयन ट्रेललाई महत्वपूर्ण स्थान दिएको थियो । पछि सन् २००६ मा नेदरल्यान्डको संस्था एसएनभी र इसिमोडले पनि यो योजनालाई सघाएका थिए ।
हाल टेकिङका लागी नेपाल आउने पर्यटक मध्ये करिव ९० प्रतिशत अन्नपूर्ण, लाङटाङ, सगरमाथा जस्ता स्थापित रुटमा जाने गरेको टेकिङ व्यवसायीहरु बताउछन् । गत भदौमा लोन्ली प्लानेट टाभल गाइडले सन् २०११ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट लामो दुरीका पदयात्रा मार्गको सूचीमा यो टेल पारेको थियो । यात्रा पूरा गर्न १ सय ६० दिन लाग्ने उसले उल्लेख गरेको थियो ।

Saturday, February 25, 2012

कमजोर हुँदै सरकारी कम्पनि


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १२ फागुन

लामो समयसम्म दुरसञ्चार बजारमा अधिपत्य जमाएको नेपाल टेलिकमको बजार हिस्सा क्रमश घट्दो क्रममा छ । बजारमा प्रतिस्पर्धा बढेसँगै कम्पनिले आफ्नो पकड गुमाउन थालेको हो । 
निजि कम्पनि सबल भएपछि सरकारी कम्पनि कमजोर हुन थालेको थालेको जानकारहरु बताउछन् । प्रतिस्पर्धि बलियो भएपछि टेलिकम कमजोर हुन थालेको टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारको निष्कर्ष छ । ‘एनसेल आक्रामक बजार विस्तारको रणनिति लिएर ठूलो लगानीका साथ आएपछि टेलिकम कमजोर हुनु स्वभाविक हो ।’ कंसाकार भन्छन् । संसारमै नाम कमाएको मल्टिनेसनल कम्पनिसँग सरकारी ढाँचामा चलिरहेको सरकारी स्वामित्वको कम्पनिले प्रतिस्पर्धा गर्नु कम चुनौतिपूर्ण नहुने उनको भनाइ छ । ‘निर्णय प्रक्रिया ढिलो हुदा टेलिकमको सेवा प्रभावकारी हुन सकेको छैन । एनसेलले एक घण्टामा गर्न सक्ने निर्णय गर्न टेलिकमलाइ कहिलेकाहि ६ महिना लाग्छ ।’ कंसाकार भन्छन् ।  
समयमा टेन्डर प्रक्रिया पुरा हुन नसक्दा ग्राहकले चाहेर पनि सेवा सहजै लिन पाइरहेका छैनन् । टेलिकमसँग ग्राहकलाइ दिन पर्याप्त सिमकार्ड समेत छैन । मोबाइल सेवा निर्देशनालयका अनुसार अहिले टेलिकमसँग करिव दुइ लाख मात्र सिमकार्ड मौज्दात छ । 
बैंकमा ठूलो रकम मौज्दात भएपनि कम्पनिले नया परियोजनामा लगानी गर्न सकेको छैन । सरकारी निति नियमका कारण कम्पनिले पर्याप्त लगानी गर्न र वजार विस्तार गर्न नसकेको टेलिकम अधिकारीहरु बताउँछन् । ‘टेलिकम विभिन्न नियम कानुनले बाँधिएको छ । कम्पनि वास्तविक रुपमा कम्पनि छैन ।’ टेलिकम सञ्चालक समिति टंकलाल श्रेष्ठ भन्छन् । सार्वजनिक खरिद ऐन र कम्पनिकै कर्मचारी नियमावलीका कारण टेलिकम प्रतिस्पर्धि हुन नसकेको उनको भनाइ छ । 
सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि टेलिकमका बाधक सावित भएका छन् । अख्तियार र समितिमा आउने बेनामे उजुरीले टेलिकमका थुप्रै प्रोजेक्ट रोकिएका छन् । दुइ बर्षयता टेलिकम प्लान होलिडेमा छ र उसले कुनै ठूला परियोजना कार्यान्वयन गर्न सकेको छैन । टेलिकमले खरिद गर्न लागेको नेक्स्ट जेनेरेसन नेटवर्क, व्रिजिग प्रोजेक्ट, सोलार प्यानल खरिद, वाइम्याक्स तथा एक करोड जिएसएम मोबाइलसम्मका प्रोजेक्ट रोकिएका छन् । 
अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखाका सहसचिव खेमराज पुञ्जाली टेलिकमको बजार हिस्सा बारे तथ्यांक विश्लेषण नभएको बताँछन् । पहेंलो कितावका लागी टेलिकमसँग विवरण मागिएको र त्यसपछि अध्ययन गरिने उनले बताए । कम्पनिको बजार हिस्सा घट्नुमा सरकारी हस्तक्षेप कारक नभएको उनको दावी छ । 
रणनितिक साझेदार ल्याउने हो भने टेलिकम सबल हुने तर्क धेरैको छ तर यो बहस चलेको लामो समय भइसकेको छ । शुसासन कार्ययोजना २०६८ मा ६ महिना भित्र रणनितिक साझेदार ल्याउने उल्लेख छ । रणनितिक साझेदार बारे लेखा समिति सदस्य हरि रोकाको संयोजकत्वमा समिति बनेको छ । 
नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार दुरसञ्चार बजारमा नेपाल टेलिकमको बजार हिस्सा ४८ प्रतिशत छ । एनसेलको हिस्सा भने ४६ प्रतिशत छ । कार्र्तिक मसान्तमा यो प्रतिशत क्रमश ४९ र ४५ प्रतिशत थियो । यूटिएलको बजार हिस्सा ४ प्रतिशत छ भने बा“की २ प्रतिशत हिस्सा ग्रामिण दुरसञ्चार कम्पनिहरुको छ । 
भदौ मसान्तमा टेलिकमको बजार हिस्सा ५० प्रतिशत हुँदा एनसेलको हिस्सा ४४ प्रतिशत थियो । साउन मसान्तसम्ममा यो प्रतिशत क्रमश ५१ प्रतिशत र ४३ प्रतिशत थियो । गत बर्षको मंसिरमा दुरसञ्चार बजारमा नेपाल टेलिकमको हिस्सा ५५ प्रतिशत थियो भने एनसेलको ३८ प्रतिशत थियो । 
प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा नेपाल टेलिकमका कुल ग्राहक ७२ लाख ६९ हजार १ सय ५ छन् भने एनसेलका ६८ लाख ५१ हजार ५ सय ६१ पुगेका छन् । एक बर्षअघि टेलिकमका ग्राहक ५८ लाख ७५ हजार रहेकोमा एनसेलका ४० लाख ८४ हजार थिए । एनसेलले जिएसएम प्रविधिमा मोबाइल सेवा मात्र सञ्चालन गरिरहेको छ भने टेलिकमले फिक्स्ड लाइन, जिएसएम र सिडिएम प्रविधिमा सेवा सञ्चालन गरिरहेको छ । 
३६ बर्ष पुरानो र ९२ प्रतिशत सरकारी स्वामित्वको कम्पनि टेलिकमलाइ निजि क्षेत्रको पहिलो कम्पनि एनसेलसँग प्रतिस्पर्धा गर्न धौधौ पर्न थालेको छ । सँगसँगै दुइ कम्पनि विच पहिलो कुन बन्ने भन्ने होडवाजी पनि चलिरहेको छ । यसबाट अन्तत ग्राहकलाइ नै फाइदा पुगेको छ ।

Wednesday, February 22, 2012

ट्रली प्रयोगमा शुल्क लाग्ने


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, ९ फागुन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निःशुल्क प्रयोगका लागी उपलब्ध गराइएका ट्रलीमा व्यवस्थापनले शुल्क लगाउने तयारी गरेको छ । ट्रली सेवामा यात्रुले सास्ती पाएको गुनासो गर्न थालेपछि सहज व्यवस्थापनका लागी शुल्क लगाउने तयारी भएको हो । 
आधुनिक प्रणालीको प्रयोग गरि सस्तो शुल्कमा सेवा दिने दावी व्यवस्थापनको छ । यसका लागी क्वाइन सिस्टम लागु हुने छ र निश्चित शुल्क तिरेपछि मात्र ट्रली निस्किन्छ । ट्रली प्रयोगका लागी २० रुपैया शुल्क लिने योजना व्यवस्थापनले बनाएको छ । यसबाट उठेको रकम ट्रली व्यवस्थापनकै लागी खर्च गरिने छ । व्यवस्थापनले ट्रली प्रयोगमा शुल्क लगाउन गैरआवासीय नेपाली संघ (एनआरएन) सँग छलफल गरिसकेको छ । विमानस्थलका ट्रली मध्ये अधिकांश एनआरएन ले सहयोग स्वरुप प्रदान गरेको हो । केहि ट्रली भने विमानस्थल आफै र विभिन्न संघ संस्थाबाट प्राप्त भएका हुन् ।
विमानस्थल प्रशासन र विमानस्थल सुरक्षाको जिम्मेवारी पाएको प्रहरी युनिटले ध्यान नदिदा यात्रुले ट्रली सेवा सहजै पाउन सकिरहेका छैनन् । विमानस्थल क्षेत्रमा सक्रिय गिरोहले ट्रली प्रयोगका लागी ‘अवैध’ शुल्क समेत लिने गरेका छन् । खासगरि आन्तरिक विमानस्थलमा संचालित ट्रली धेरैका लागी ‘ठगि खाने भाडो’ बनेको व्यवस्थापनको भनाइ छ । विमानस्थल परिसर बाहिर सेवा दिने उद्देश्यले संचालित निःशुल्क ट्रली सेवा सहज बनाउन विगतदेखि प्रयास गरेको भएपनि असफल भएको स्वयम् विमानस्थल अधिकारीहरु स्वीकार्छन् । प्रहरी गुहार्दा पनि ट्रली गुण्डागर्दी रोक्न नसकिएको व्यवस्थापनको गुनासो छ । 
राजनीतिक पार्टीको संरक्षणमा विमानस्थलमा क्रियाशिल मजदुरहरुले नै ट्रली दलाली मार्फत रकम उठाउँदै आएका छन् । विमानस्थल परिसर बाहिर ट्रली कब्जामा लिई सामान इच्छा विपरित टर्मिनल भवनभित्र पु¥याउने र टर्मिनल भवनबाट ट्याक्सीसम्म सामान ओसारेर पैसा असुल्ने गरेको यात्रुहरुको गुनासो छ । ट्रली बाट शुल्क उठाउन त्रिभुवन अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल बाहिर करिव ३० जनाको गिरोह सक्रिय रहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ । प्रहरीले बारम्बार त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरि गौशाला प्रहरी वृतलाई बुझाए पनि समस्या सुल्झिन सकेको छैन । 
विमानस्थल प्रशासनले आन्तरिक रुपमा ट्रली कलेक्टरको रुपमा ज्यालादारी मजदुर समेत राखेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा गरि करिव सय जना ट्रली कलेक्टर परिचालित छन् । तर यात्रुले भने ट्रली सहजै नपाउने र पाए पनि अनावश्यक शुल्क तिर्नुपर्ने बाध्यता छ । विमानस्थलमा करिव ४ सय ट्रली रहेपनि खोजेको समयमा पाउन नसकिने गुनासो यात्रुहरुको छ । कतिपय यात्रुले ट्रली प्रयोग गरेवापत टिप्सका रुपमा रकम दिने गरे पनि जबरजस्ती बढि रकम असुल्ने गरिएको छ । विदेशी पर्यटक यसबाट बढि हैरान हुने गरेका छन् । पर्यटकबाट २० डलरसम्म पैसा असुलिने गरेको ट्राभल एजेन्सी सञ्चालकहरुको गुनासो छ । 
विमानस्थलमा ट्वाइलेट, टेलिफोन, ट्याक्सी र ट्रली गरि ४ वटा ‘टी’ समस्याको रुपमा रहदै आएका छन् । ट्रली सेवालाइ सशुल्क गरि समस्या समाधान गर्ने प्रशासनको योजना छ । ट्वाइलेट र टेलिफोनको समस्या समाधान भइसकेको र आगामी वैशाखसम्ममा सबै पुराना ट्याक्सीलाइ नयाँले विस्थापन गर्ने प्रशासनको दावी छ ।

Monday, February 20, 2012

दश महिनामा २२ लाख हवाइ यात्रु


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, ७ फागुन । नेपाल उडान गर्ने अन्तराष्ट्रिय विमान कम्पनिहरुले सन् २०११ को पहिलो १० महिनामा २२ लाख भन्दा बढि यात्रु ओसारपसार गरेका छन्  । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको तथ्यांक अनुसार यो अवधिमा २२ लाख २१ हजार १ सय ९७ यात्रुले विभिन्न विमान कम्पनि मार्फत् यात्रा गरेका हुन् । 
नेपाल उडान गर्ने अन्तराष्ट्रिय विमान कम्पनि मध्ये भारतको जेट एयरवेजले सबै भन्दा बढि २ लाख ३० हजार ६ सय ८८ यात्रु बोकेको छ । जेट पछि दोश्रो नम्बरमा कतार एयरवेज छ । उसले २ लाख २४ हजार ५ सय ८ यात्रु बोकेको छ । दुवै कम्पनिले काठमाडौंमा साताको २१ उडान गर्छन् । 
तेश्रो नम्बरमा भने नेपाल वायुसेवा निगम रहेको छ । निगमले दश महिनामा १ लाख ६७ हजार २ सय ४ यात्रु बोकेको छ । निगमले आधा दर्जन अन्तराष्ट्रिय गन्तव्यमा साताको २२ वटा उडान गर्छ । त्यसपछि बढि यात्रु ओसार पसार गर्नेमा एयर अरेविया, फ्लाइ दुवइ, स्पाइसजेट, थाइ एयरवेज, गल्फ एयर र इथियाड एयरवेज छन् । यि कम्पनिहरुले डेढ लाखको हाराहारीमा यात्रु बोकेको तथ्यांक छ । 
गत बर्ष १ लाख ७५ हजार यात्रु बोकेको भारतिय सरकारी विमान कम्पनि एयर इन्डियाले भने यात्रु तथ्यांक उपलब्ध गराएको छैन । कम्पनिले भारतका विभिन्न गन्तव्यबाट साताको २२ वटा उडान काठमाडौमा गर्छ । अन्तराष्ट्रिय उडान गर्ने मुलुकको एकमात्र निजि कम्पनि बुद्ध एयरले भने यो अवधिमा ६ हजार ३ सय ५७ यात्रु बोकेको छ । बुद्धले भुटानको पारो तथा भारतको लखनउ उडान गर्छ । एयर अरेविया, फ्लाइ दुवइ र स्पाइस जेटले साताको १४ उडान गर्छन् । गल्फले साताको १२ र इथियाडले ७ वटा उडान गर्छन् । विमान वंगलादेश, एयर चाइना, जिएमजी, बहराइन एयर, किङफिसर, थाइ एयरवेज, जेटलाइट र युनाइटेड एयरवेजले साताको ७ वटा उाडन गर्छन् । नेपाल आउने विमान कम्पनिले साताको २ सय २६ उडान गर्ने विमानस्थलले जनाएको छ । 
दश महिनाको अवधिमा कुल १८ हजार ६ सय २८ अन्तराष्ट्रिय उडान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएका छन् । सबैभन्दा बढि २ हजार १ सय ६२ उडान अक्टोबरमा भएका छन् । यो नेपालका लागी मुख्य पर्यटकीय सिजन हो । अन्य महिनामा १८ सयको हाराहारीमा उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । 
२८ वटा अन्तराष्ट्रिय विमान कम्पनिले नेपालमा उडान गरिरहेका छन् । यसमध्ये नेदरल्याण्डको आर्केफ्लाइ र भुटानको डु«क एयरले हाल आफ्नो उडान स्थगित गरेका छन् । अन्य कतिपय विमान कम्पनिले पनि सिजनमा मात्र नेपाल उडान गर्ने गरेका छन् । ५ वटा विमान कम्पनि २०१० मा थपिएका छन् भने इन्डिगोले गत अक्टोबर देखि मात्र नेपाल उडान शुरु गरेको हो । इन्डिगोले दिल्ली काठमाडौं दैनिक एउटा उडान गर्छ । 

विमान कम्पनि उडान प्रतिसाता यात्रु (जनवरी–अक्टोबर)
नेपाल वायुसेवा         २२ १६७२०४
जेट एयरवेज २१ २३०६८८
कतार एयरवेज २१ २२४५०८
एयर अरेविया १४ १५७८०१
फ्लाइ दुवइ १४ १५०७३०
स्पाइसजेट १४ १४५१८०
थाइ एयरवेज १२४४१५
गल्फ एयर १२ ११७१६१
इथियाड एयरवेज         १०१३३५
जेटलाइट ९०२०४
स्रोत : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

सामाजिक सञ्जालमा सरकारी चासो


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौँ, ७ फागुन । सरकारले सामाजिक सञ्जाल व्यवस्थित गर्न ‘गाइडलाइन’ बनाउने प्रक्रिया सुरु गरेको छ । फेसबुक, ट्विटर, गुगल प्लस जस्ता बेवसाइटको दुरुपयोग रोक्न गाइडलाइन बनाउन लागिएको हो ।
सामाजिक सञ्जालमा समस्या देखिएको र सरकारले यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखेपछि सम्बद्ध अधिकारीहरू गाइडलाइनको तयारीमा जुटेका हुन् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयले गाइडलाइन बनाउन सम्बद्ध निकायसँग छलफल थालेको छ । ‘प्रधानमन्त्री आपैले चासो व्यक्त गरेकाले गाइडलाइन बनाउन लागिपरेका छौँ ।’ कार्यालयका प्रमुख प्रमाणीकरण नियन्त्रक राजनराज पन्तले भने । गत महिना प्रधानमन्त्री डा बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट सामाजिक सद्भाव खल्बलिने गरेको भन्दै यसलाई व्यवस्थित बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
विज्ञान मन्त्रालयले मातहतको कार्यालयलाई सामाजिक सञ्जाल प्रयोगको गाइडलाइन बनाउन निर्देशन दिइसकेको छ । गाइडलाइनले विद्युतीय कारोबार ऐन २०६३ अनुसार इन्टरनेटबाट प्रसारण हुने सामग्रीलाई पनि समेट्नेछ । कार्यालयले नेपालमा सबैभन्दा बढी हेरिने साइट फेसबुक मुख्यालयलाई पत्राचार गरी नेपाल हेर्ने आधिकारिक व्यक्तिका बारेमा जानकारी मागेको छ । ‘नेपालमा फेसबुकको कार्यालय तथा सम्बद्ध आधिकारिक प्रतिनिधि नभएकाले समस्या देखिएको छ,’ प्रमुख पन्तले भने । फेसबुकले जवाफ पठाएपछि नेपाल हेर्ने सम्बद्ध प्रतिनिधिसँग फेसबुक प्रयोग व्यवस्थित गर्नेबारे सरकारी स्तरमा नै छलफल गरिने उनले बताए । साइबर अपराध बढ्दै गएपछि गृहमन्त्रालय र नेपाल प्रहरीले विज्ञान प्रविधि मन्त्रालयलाई सामाजिक सञ्जाल व्यवस्थित गर्ने गाइडलाइन बनाउन आग्रह गर्दै आएका छन् । अर्काको फेसबुक एकाउन्टमा अश्लील सामग्री पोस्ट गरी चरित्रहत्या गरेको गुनासो प्रहरी र मन्त्रालयमा पनि आउने गरेको छ ।
गाइडलाइनको प्रयोगबाट सामाजिक सञ्जालको प्रयोग व्यवस्थित हुने विश्वास सरकारको छ । सरकारले हालै डिजिटल सिग्नेचर प्रणाली तयार गरेको छ । साइबर अपराधमा सबैभन्दा महत्वपूर्ण प्रमाणका रूपमा लिइने यो प्रणाली निर्माणको जिम्मा सरकारले प्रमाणीकरण नियन्त्रकको कार्यालयलाई सुम्पेको थियो ।
विश्वव्यापी रूपमै सामाजिक सञ्जालमार्पmत अश्लीलता तथा सामाजिक सद्भावमा नकारात्मक असर पर्ने सामग्री प्रवाहित हुन थालेपछि विभिन्न मुलुकले यससम्बन्धी नीतिनियम बनाइसकेका छन् । छिमेकी राष्ट्र चीनले केही समयअघि नै फेसबुक, गुगल, याहु र ट्विटर जस्ता सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरिसकेको छ भने भारतले पनि सामाजिक सञ्जालमार्पmत नकारात्मक सामग्री प्रसारण भएको भन्दै तिनका सञ्चालकलाई त्यस्ता सामग्रीमाथि प्रतिबन्ध लगाउन पत्राचार गरेको थियो । सामाजिक सञ्जालका सञ्चालकले भारतको कुरालाई गम्भीर रूपमा नलिए त्यस्ता साइटमाथि कडाइ गरिने भारतले बताएको थियो । तर, गत सातामात्र भारतीय सञ्चार तथा सूचना प्रविधिमन्त्री कपिल सिब्बलले सामाजिक सञ्जालमा सेन्सरसिप लगाउने भारतको योजना नरहेको प्रतिक्रिया दिएका छन् ।
फेसबुक प्रयोगकर्ताबारे जानकारी दिने आधिकारिक बेवसाइट फेसब्याकर डट कमका अनुसार विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकमा नेपाली प्रयोगकर्ताको सङ्ख्या शनिबारसम्म १३ लाख ८० हजार आठ सय ६० पुगेको छ । प्रोफाइलमा आफ्नो देशको नाम राख्ने प्रयोगकर्ताको आधारमा यो संख्या पुगेको हो । नेपाल धेरै फेसबुक प्रयोगकर्ताको सूचीमा ६८औँ स्थानमा छ ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा समस्या देखिएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमाथि नियन्त्रणको प्रयास सुरु भएको छ तर करिब तीन वर्षअघि अर्थमन्त्री हुँदा उनले फेसबुकमार्फत अन्तत्र्रिmया गर्ने गरेका थिए