Wednesday, October 31, 2012

टेलिफोन र इन्टरनेटमा वार्षिक ४६ अर्ब

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १४ कात्तिक । उपभोक्ताले टेलिफोन तथा इन्टरनेटमा बढी खर्च गर्न थालेका छन् । सेवाप्रदायक कम्पनीको बजार विस्तार तथा घट्दो शुल्कका कारण उपभोक्ताले गर्ने खर्च बढेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०६८/६९ मा ल्यान्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेटका लागि ४६ अर्ब रुपियाँ खर्च गरेका छन् । अघिल्लो आवको तुलनामा यो करिब १० अर्ब रुपियाँले बढी हो । आव ०६७/६८ मा उपभोक्ताले दूरसञ्चार सेवामा ३६ अर्ब रुपियाँ खर्च गरेका थिए । चालु आव ०६९/७० को अन्त्यसम्म उपभोक्ताले ५० अर्ब रुपियाँभन्दा बढी दूरसञ्चार सेवाको उपभोग गर्ने प्राधिरकणको अनुमान छ । अहिले मुलुकभर मोबाइल तथा टेलिफोनका ग्राहक एक करोड ७२ लाख पुगेका छन् । मासिक करिब पाँच लाखका दरले दूरसञ्चार उपभोक्ता बढिरहेको तथ्यांक छ ।
गत आवमा सरकारी सेवाप्रदायक नेपाल टेलिकमको नेटवर्कमा उपभोक्ताले २६ अर्ब ४० करोड ९५ लाख रुपियाँको सेवा उपभोग गरेको तथ्यांक छ । त्यस्तै एनसेलमा १७ अर्ब ५३ करोड ४९ लाख रुपियाँको कारोबार भएको छ । उपभोक्ताले युटिएलमा एक अर्ब १६ करोड ४० लाख र नेपाल स्याटेलाइटमा १३ करोड नौ लाख रुपियाँ खर्चिएका छन् । इन्टरनेट सेवा प्रदायक (आइएसपी) र नेटवर्क सेवाप्रदायकले ७६ करोड ४० लाख रुपियाँको कारोबार गरेको प्राधिकरणको तथ्यांक छ । कुल कारोबार रकममध्ये ८० प्रतिशत मोबाइलको हिस्सा भएको सेवाप्रदायक कम्पनीको भनाइ छ । कुल दूरसञ्चार उपभोक्तामध्ये ५८ प्रतिशत मोबाइलका छन् । पछिल्लो समय मोबाइल र जिपिआरएस इन्टरनेटमा बढेको आकर्षणका कारण उपभोक्ताले गर्ने खर्च बढेको छ ।
हालसम्म नेपाल टेलिकम, एनसेल, युटिएल, एसटिएम, स्मार्ट र नेपाल स्याटेलाइट (हेलो नेपाल) गरी ६ वटा भ्वाइस सेवा प्रदायक र ४१ वटा इन्टरटेनट सेवाप्रदायक कम्पनीले लाइसेन्स लिएका छन् । अघिल्लो आवको अन्त्यसम्म ४६ प्रतिशत जनसंख्यामा दूरसञ्चार सेवाको पहुँच पुगेकामा एक वर्षको अवधिमा १२ प्रतिशतले बढेको छ । गत वर्षको जनगणनाअनुसार मुलुकको कुल जनसंख्या दुई करोड ६६ लाख २० हजार आठ सय नौ छ ।

कोषमा साढे ५ अर्ब
काठमाडौ : ग्रामीण दूरसञ्चार कोषमा गत आवमा ९२ करोड रुपियाँ थपिएको छ । दूरसञ्चार सेवाप्रदायकले आम्दानीको २ प्रतिशत रकम यो कोषमा जम्मा गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । गत वर्ष चार कम्पनी नेपाल टेलिकम, एनसेल, युटिएल र हेलो नेपाल तथा इन्टरनेट/नेटवर्क सेवाप्रदायकले कोषमा रकम जम्मा गरेका थिए । प्राधिकरणका अनुसार हालसम्म कोषमा पाँच अर्ब ६६ करोड रुपियाँ जम्मा भइसकेको छ ।
कोषबाट प्राधिकरणले मुलुकका सरकारी तथा सामुदायिक विद्यालयलाई इन्टरनेट सञ्जालमा जोड्ने योजना बनाएको छ । यसका लागि शिक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरिसकेको प्राधिकरणले बताएको छ । योजनाअनुसार काम भए चालु आवको अन्त्यसम्म मुलुकभरका दुई सयभन्दा बढी विद्यालयमा इन्टरनेट पुग्नेछ । कोषको रकम परिचालन गर्न प्राधिकरणले सूचना तथा सञ्चार मन्त्रालयबाट नीतिगत स्विकृति लिनुपर्छ । लामो समयदेखि कोषको रकम निष्क्रिय बसेको छ । दूरसञ्चार नीतिमा कोषको रकम ग्रामीण भेगमा टेलिफोन विस्तारका लागि मात्र खर्च गर्न पाउने उल्लेख छ । (सौस)

साढे ४ अर्बको दूरसञ्चार उपकरण आयात

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १५ कात्तिक । वार्षिक साढे चार अर्ब रुपियाँभन्दा बढीको दूरसञ्चार उपकरण आयात हुने गरेको छ । दूरसञ्चार सेवाको विस्तार र मर्मतका लागि विभिन्न कम्पनीले यो परिमाणको उपकरण आयात गरेका हुन् ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन ०६९ अनुसार गत आर्थिक वर्ष ०६८/६९ मा दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीले चार अर्ब ५५ करोड ७५ लाख ६६ हजार चार सय ३२ रुपियाँ बराबरका उपकरण आयात गरेका छन् । चारवटा दूरसञ्चार सेवाप्रदायक र चारवटा इन्टरनेट सेवा प्रदायक कम्पनीले गरी सो रकमको सामान आयात गरेको प्राधिकरणको तथ्यांक छ । यो तथ्यांक प्राधिकरणले सामान आयात गर्न प्रदान गरेको सिफारिसका आधारमा निकालिएको हो । सेवाप्रदायकले कुनै पनि सामान आयात गर्न प्राधिकरणको सिफारिस लिनुपर्छ ।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी सामान सरकारी सेवाप्रदायक नेपाल टेलिकमले गरेको छ । गत आवमा टेलिकमले दुई अर्ब ४० करोड ८७ लाख १२ हजार रुपियाँको उपकरण आयातका लागि प्राधिकरणबाट सिफारिस लिएको थियो । त्यस्तै एनसेलले एक वर्षमा दुई अर्ब पाँच करोड रुपियाँको सामान आयात गरेको देखिएको छ ।
नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) ले गत आवमा ६० लाख २९ हजार रुपियाँको उपकरण आयात गरेको छ । त्यस्तै स्मार्ट टेलिकमले पाँच करोड ८३ लाख रुपियाँको दूरसञ्चार उपकरण आयात गरेको देखिएको छ । अन्य दूरसञ्चार सेवाप्रदायकमा युटिएल र एसटिएम सञ्चार प्रालिले कति रकमको उपकरण आयात गरे भन्ने तथ्यांक प्राधिकरणको प्रतिवेदनमा छैन । सम्भवत: यी दुई कम्पनीले गत वर्ष कुनै पनि दूरसञ्चार उपकरण भित्र्याएनन् ।
गत वर्ष केही आइएसपी कम्पनीले पनि उपकरण आयातको अनुमति लिएका थिए । प्राधिकरणका अनुसार गत वर्ष मर्कन्टाइल कम्युनिकेसनले ६३ लाख ८० हजार रुपियाँको उपकरण आयात गरेको थियो भने आई फोर टेक्नोलोजीले तीन लाख ७१ हजार रुपियाँको उपकरण आयातका लागि अनुमति लिएको थियो । वेब सर्फर नेपालले एक करोड ७४ लाख दुई हजार र कन्स्टलेसन प्रालिले ३९ लाख नौ हजार रुपियाँको उपकरण आयात गरेको प्राधिकरणको तथ्यांक छ । हालसम्म ४० वटा इन्टरनेट सेवाप्रदायकले लाइसेन्स पाएको भए पनि अन्य कम्पनीले प्राधिकरणबाट उपकरण आयातका लागि सिफारिस लिएका थिएनन् ।
दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढेका कारण सेवा विस्तारमा जोड दिनुपर्ने भएकाले यस्ता उपकरणको आयात बर्सेनि बढिरहेको छ । प्राधिकरणले कम्पनीबीच पूर्वाधार साझेदारीको प्रयास गरेको लामो समय भइसके पनि यो प्रयास सफल हुन सकेको छैन । दूरसञ्चार सेवामा बिटिएस टावर, अप्टिकल फाइबरजस्ता केही उपकरणको साझा प्रयोग गर्न मिल्छ । पूर्वाधार साझेदारीका लागि नीतिगत आधार तयार भइनसकेको सेवाप्रदायकको भनाइ छ ।

साढे दुई अर्बको विदेशी मुद्रा कारोबार
काठमाडौं : गत आवमा दूरसञ्चार कम्पनीहरूले ब्यान्डविथ र अन्य सेवाका लागि दुई अर्ब ५८ करोड २७ लाख ५९ हजार रुपियाँ बराबरका विदेशी मुद्रा सटही गरेका छन् । नेपाल टेलिकमले १२ करोड ९९ लाख रुपियाँको सटही सुविधा लिएको छ । त्यस्तै युटिएलले तीन करोड २२ लाख, एसटिएमले दुई करोड ६७ लाख, नेपाल स्याटलाइटले तीन करोड २८ लाख र स्मार्ट टेलिकमले चार करोड दुई लाख रुपियाँ बराबरका विदेशी मुद्रा सटहीका लागि सिफारिस लिएका थिए । इन्टरनेट सेवाप्रदायकतर्फ कम्युनिकेसन एन्ड कम्युनिकेट प्रालिले तीन करोड ७७ लाख, बल्र्ड लिंक कम्युनिकेसनले तीन करोड ९८ लाख, मर्कन्टाइल कम्युनिकेसनले ६ करोड ५८ लाख, आई फोर टेक्नोलोजीले चार लाख र कन्स्टलेसन प्रालिले ३५ लाख रुपियाँ बराबर विदेशी मुद्राको सटही सुविधा लिएको प्राधिकरणको तथ्यांक छ । गत वर्ष ११ वटा कम्पनीले विदेशी मुद्रा सटहीका लागि सिफारिस लिएका थिए ।

टेलिकमले तिर्‍यो ३५ करोड

काठमाडौं, १३ कात्तिक । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ३५ करोड ३६ लाख रुपियाँ फ्रिक्वेन्सी शुल्क तिरेको छ । लामो समयदेखि फ्रिक्वेन्सी शुल्क नतिरेको टेलिकमले गत आर्थिक वर्ष ०६८/६९ मा यो रकम तिरेको हो ।
सरकारी कम्पनी भएकाले टेलिकमले आव ०५६/५७ देखि नै फ्रिक्वेन्सी शुल्क तिरेको थिएन । टेलिकमले ०५६ सालमा मोबाइलको लाइसेन्स पाएको हो । फ्रिक्वेन्सी शुल्कबारे विभिन्न निकायले आवाज उठाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई शुल्क तिर्न निर्देशन दिएको थियो । टेलिकमले पाँच वर्षदेखि प्रयोग गर्दै आइरहेको १० मेगाहर्ज थ्रिजी फ्रिक्वेन्सी शुल्क भने निर्धारण भएको छैन । थ्रिजी शुल्क तोकिने हो भने फ्रिक्वेन्सीबाट मात्र वार्षिक ५० करोड रुपियाँभन्दा बढी उठ्ने प्राधिकरणको अनुमान छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिमा थ्रिजीको टेन्डर गर्नुपर्ने उल्लेख छ । टेन्डरपछि नयाँ कम्पनीले तिर्न प्रतिबद्धता जनाएको शुल्क हाल थ्रिजी प्रयोग गरिरहेका टेलिकम र एनसेलले पनि तिर्नुपर्ने छ ।
गत आवमा एनसेलले ११ करोड ६५ लाख रुपियाँ तिरेको प्राधिकरणको तथ्यांक छ । एनसेलले जिएसएम र थ्रिजी १० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ । गत आवमा भारतीय लगानीको युटिएलले ८४ लाख रुपियाँ फ्रिक्वेन्सी शुल्क बुझाएको छ । युटिएलभन्दा बढी फ्रिक्वेन्सी लिएको हेलो नेपालले भने ४८ लाख रुपियाँ मात्र तिरेको देखिएको छ । हेलो नेपालले १३.४ मेगाहर्ज जिएसएम फ्रिक्वेन्सी पाएको छ । यो कम्पनीलाई सञ्चालनमा नआउँदै फ्रिक्वेन्सी दिइएको विषयमा आलोचना हँुदै आएको छ । एकीकृत नेकपा माओवादी नेता कृष्णबहादुर महरा सञ्चार मन्त्री हुँदा हेलो नेपालले लाइसेन्स पाएको थियो । प्रशस्त फ्रिक्वेन्सी भएकै कारण युरोपको टेलियासोनेराले हेलो नेपालको ७५ प्रतिशत सेयर किनेको छ ।
ग्रामीण दूरसञ्चार सेवा प्रदायकका रूपमा लाइसेन्स पाएका स्मार्ट टेलिकम र एसटिएम टेलिकमले क्रमश: १३ लाख १० हजार र ६६ हजार रुपियाँ फ्रिक्वेन्सी शुल्क तिरेको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले सबै सेवाप्रदायकहरूबाट गत आवमा ५० करोड १८ लाख रुपियाँ फ्रिक्वेन्सी शुल्कबापत संकलन गरेको छ । अघिल्लो आवको तुलनामा यो रकम करिब दोब्बर हो । आव ६७/६८ मा फ्रिक्वेन्सी शुल्कबाट २२ करोड २२ लाख रुपियाँ उठेको थियो ।
बहुमूल्य स्रोत मोबाइल फ्रिक्वेन्सी कौडीको भाउमा कम्पनीहरूलाई प्रयोग गर्न दिएको भन्दै तत्कालीन सार्वजनिक लेखा समितिले अध्ययनका लागि एक उपसमिति गठन गरेको थियो । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित उपसमितिले फ्रिक्वेन्सीबाट उठ्नुपर्ने राजश्व चुहावट भएको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो । लेखा समितिबाहेक महालेखा परीक्षकको कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयले पनि फ्रिक्वेन्सीबाट उठ्ने राजश्व वृद्धि गर्न पहल गरेका थिए । सबैको सक्रियताले फ्रिक्वेन्सी शुल्क दोब्बर उठ्न सकेको ठहर प्राधिकरणको छ ।

पाँच केबुलकार सञ्चालन गरिँदै

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १३ कात्तिक । सरकारले देशका पाँच ठाउँमा केबुलकार सञ्चालन गर्ने योजना बनाएको छ । सरकारी योजना पूरा हुने हो भने पूर्वदेखि पश्चिमसम्मका जनताले केबुलकारको सुविधा लिन पाउने छन् ।
सरकारी अध्ययनअनुसार केबुलकार सञ्चालनका लागि मुलुकभर पाँच स्थान उपयुक्त देखिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनअनुसार सुनसरी, धनकुटा, कालिकोट, डोटी र काभ्रे जिल्लामा केबुलकार सञ्चालनको सम्भाव्यता देखिएको छ । प्राविधिक रूपले धरानदेखि भेडेटारसम्म, धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म, कालिकोटदेखि चाल्नासम्म र डोटीदेखि खप्तडसम्म केबुलकारको सम्भावना छ । मन्त्रालयअन्तर्गतको पर्यटन पूर्वाधार विकास आयोजनाका अनुसार यी ठाउँमा केबुलकार सञ्चालन गर्न डेढ अर्ब रुपियाँभन्दा बढी खर्च लाग्छ ।
मन्त्रालयले यसअघि काठमाडौँको चन्द्रागिरि, शिवपुरी, ललितपुरको फूलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुङ्गामा केबुलकार सञ्चालनका सम्भाव्यता अध्ययन गरेको थियो । यसमध्ये थानकोटदेखि चन्द्रागिरिसम्म केबुलकार सञ्चालनका लागि तत्काल काम सुरु गर्ने मन्त्रालयको योजना छ ।
मुलुकभर केबुलकार निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने गरी सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयले बताएको छ । मनकामनामा सञ्चालित केबुलकारको सफल अनुभवले निजी लगानीकर्ता उत्साहित हुने विश्वास लिइएको छ । सम्भाव्यता अध्ययनका लागि मात्र २५ लाख रुपियाँ खर्च भइसकेको छ । मन्त्रालयले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी वातावरणीय प्रभाव मूल्यांकनका लागि वातावरण मन्त्रालयमा पठाएको पनि मन्त्रालय स्रोतले बतायो ।
मन्त्रालयले विभिन्न स्थानमा केबुलकार सञ्चालन गर्न लाग्ने खर्च र प्रतिफलसमेत प्रक्षेपण गरेको छ । यसअनुसार धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म ११ किलोमिटर लामो केबुलकार निर्माण गर्न सकिने छ । यसका लागि ५३ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । अध्ययनअनुसार यहाँ केबुलकार निर्माण गर्न चार वर्ष लाग्छ । प्रतिघन्टा एक सय ८० जना यात्रु आवतजावत गर्न सक्ने पलाञ्चोक केबुलकारले नौ वर्षमै लगानी उठाउने सम्भावना देखिएको छ ।
त्यस्तै कालिकोटमा केबुलकार निर्माणका लागि १२ करोड २६ रुपियाँ लाग्ने देखिएको छ । यसको दूरी दुई किलोमिटर र समय आठ मिनेट रहने अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिघन्टा एक सय २० जनाले आवतजावत गर्नसक्ने सो केबुलकार निर्माण गर्न तीन वर्ष लाग्ने देखिएको छ । यसको लगानी तीन वर्षमै उठ्ने अनुमान छ ।
धरान र भेडेटारबीचमा २.८ किलोमिटर लामो केबुलकार बनाउन सकिने अध्ययनमा देखिएको छ । यसका लागि ३८ करोड रुपियाँ लाग्ने अनुमान छ । तीन वर्षमा निर्माण सम्पन्न हुने सो केबुलकार सञ्चालनमा आएको साढे चार वर्षमा लगानी फिर्ता हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी डोटीमा अध्ययन भएको तीन किलोमिटर लामो दूरीको केबुलकारको अनुमानित लागत ३९ करोड रुपियाँ छ । निर्माणका लागि करिब तीन वर्ष लाग्ने र सञ्चालनमा आएको पाँच वर्षमा लगानी उठ्नसक्ने अध्ययनले देखाएको छ । सरकारले हालसम्म १५ ठाउमा केबुलकार सञ्चालनका लागि अध्ययन गरे पनि कुनै पनि स्थानमा काम अगाडि बढेको छैन । निजी लगानीकर्ताले हालसम्म कुनै पनि परियोजनामा चासो देखाएका छैनन् । मनकामना केबुलकार प्रालिले चितवनको चेरेसदेखि गोर्खाको मनकामना मन्दिरसम्म सञ्चालन गरेको केबुलकार सफल भएपछि सरकारले अन्य ठाउँमा यो सेवा विस्तार गर्ने प्रयास गरिरहेको छ ।

उद्योगी–व्यवसायीको पारिवारिक दसैँ

काठमाडौं, ५ कात्तिक । अधिकांश उद्योगी व्यवसायीले नजिकिँदै गरैको दसैँ परिवारसँग बसेर मनाउने भएका छन् ।
सधँैभरि व्यस्त रहने यस्ता व्यवसायीले व्यापार व्यवसायलाई बिर्सेर दसैँको समयभर परिवारजनसँग मनाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले गत वर्ष काठामडौंबाहिर गएर दसैँ मनाएको बताए पनि यो वर्ष यस वर्ष काठमाडौं मनाउने बताए । साथीकोमा जाने र उनीहरूलाई बोलाएर रमाइलो गरी मनाउने उनको योजना छ । ‘वर्षको तीन सय ५८ दिन व्यवसायमा पनि व्यस्त भइन्छ । तर, दसैँंको सात दिन भने परिवारका लागि हो । सात दिनको अधिकांश समय परिवारसँगै बित्छ,’ उनले भने ।
दसैँंका लागि यति नै बजेट भन्ने हुँदैन तर योबेला खुलेरै खर्च गरिन्छ । दसैँकै लागि भनेर किनमेल नगरेको उनी बताउँछन् । शाकाहारी र मदिरा सेवन नगर्ने भएकाले सामान्य खानपिनमा बिताउने उनको योजना छ । मुलुकमा शान्ति आएको भनिए पनि उद्योग क्षेत्रमा अशान्ति नै छ । औद्योगिक सुरक्षा छैन । उनले औद्योगिक वातावरण बन्ने कामना समेत गरे ।
यातायात व्यवासयी योगेन्द्रनाथ कर्माचार्य भने दसैँमा अलि बढी व्यस्त रहने बताउँछन् । दसैँको मुखसम्मै यातायात व्यवस्थापनमा दौडिनुपर्ने उनको भनाइ छ । यो पटकको दसैँ घरमै मनाउने उनको योजना छ । अरूबेला फुर्सद नहुने भएकाले साथीभाइसँग भेटघाट गर्ने उपयुक्त समय नै दसैँ भएको उनको बुझाइ छ । अर्का तेल व्यवसायी एवं नेपाल पेट्रोलियम डिलर्सका निर्वतमान अध्यक्ष सरोज पाण्डे भने अधिकांश समय पूजापाठमै दसैँ बित्ने बताउँछन् । नवरात्रभर अधिकांश समय पूजा गरेरे बित्ने बताउँदै उनले भने, ‘बाँकीको समय साथीभाइसँग भेटघाट गर्ने योजना छ ।’
त्यसैगरी पर्यटन व्यवासयी मोहन लम्साल यो वर्षको दसैँ काठमाडांैमै मनाउने सोचमा छन् । उनले भने, ‘हाम्रा लागि यो पर्यटकीय सिजन हो । कहिले टिकाकै दिन ग्रुप आइपुग्छ, कहिले रेस्क्यु पर्छ । त्यसैले २४ सै घन्टा अलर्ट हुनुपर्छ ।’ उनका अनुसार केही व्यवसायीले दसैँकै लागि भनेर छुट्टै प्याकेज पनि बनाउने गरे पनि यो वर्ष आफूले कुैनै नयाँ कार्यक्रम नराखेको बताए ।
वैदेशिक रोजगार व्यवसायी सुवर्ण श्रेष्ठ भने दसैँको एक साता तनाव भुलेर रिफ्रेस हुने बताउँछिन् । पहिले घुम्न गइन्थ्यो, यसपालि चाहिँ घरमै परिवारसँग मनाउने योजना छ । सामान्य पूजापाठ हुन्छ । नेवार समुदायमा खानाको भेराइटी निकै हुने भएकाले खानामा पनि निकै समय बित्ने उनको बुझाइ छ । दसैँमा पारिवारिक माहोल हुने भएकाले बढी मनपर्नेमा उनले जोड दिए 

दसैँले सडकपेटीमा मौसमी व्यापार

काठमाडौ, ३ कात्तिक । दसैँ सुरुवातसँगै मौसमी व्यापारका लागि काँठ तथा सीमावर्ती जिल्लाबाट राजधानी झर्ने व्यक्तिका कारण काठमाडौंका साँघुरा सडकमा चाप बढेको छ । राजधानीको फुटपाथ मौसमी व्यापारीले भरिएको छ ।
विशेषगरी खासाबाट रेडिमेड कपडा ल्याएर बेच्ने त्यस्ता मौसमी व्यापारीका कारण रत्नपार्क, सुन्धारा, न्युरोड, असन तथा पुरानो बसपार्क क्षेत्र अस्तव्यस्त छन् । दसैँ आगमनको सूचक मौसमी सडक व्यापारले गर्दा ट्राफिक व्यवस्थासमेत प्रभावित भएको छ ।
मौसमी व्यापारबाट हुने फाइदाबाट रमाइलोसँग दसैँ मनाउन राजधानी छिरेका पनौतीका अनिल तामाङ बताउँछन् । ‘सिलाइको दाममा सर्ट’ भन्दै रत्नपार्कमा उनी सामान बिक्री गर्छन् । ‘राम्रै फाइदा हुन्छ, कम्तीमा दसैँ त राम्ररी टर्छ,’ कराउँदा कराउँदै उनले भने । उनीजस्ता थुप्रै युवा राजधानी छिरेर फुटपाथमा जमेका छन, जो दसैँको समयमा १०/१५ दिन व्यापार गरेर ४०/५० हजार रुपियाँ कमाउँछन् । मौसमी व्यापार कपडाले मात्र धानेको छैन, गाउँमा वर्षभरि सगालेको घ्यू, महदेखि हाँस, कुखुरा तथा दैनिक उपभोग्य वस्तु र क्यामेरा, टेप रेकर्डरसमेत अहिले फुटपाथमा पाइन्छन् ।
फुटपाथबाहेक सानातिना खाली ठाउँमा अस्थायी प्रकृतिका मेला सञ्चालन गर्ने चलन समेत बढ्दो छ । भृकुटीमण्डपस्थित एक्जिबिसन हलमा लाइफस्टाइल एक्सपो केही दिनअघि मात्रै सकिएको छ । यो मेला दसैँलाई नै लक्षित गरिएको उपभोक्तामुखी मेला हो । केही उपभोक्ताको भने यस्ता मेलाले डबल मूल्य राखेर छुटको आडम्बर देखाउने गरेको गुनासो छ । दसैँ बजार पर्खेर सस्तो मूल्यमा सामान किन्ने बानी परेका उपभोक्ता यस मामलामा ठगिन्छन् पनि । तर, सडक व्यापार र यस्ता अस्थायी मेला फस्टाएकै छन् । मध्यम वर्गका उपभोक्ताको यही बानीका कारण आकर्षक सोकेसयुक्त सपिङ कम्प्लेक्सका पसलेसमेत सडकमा ओर्लिन बाध्य छन् ।
पशुपति प्लाजास्थित एक पसलले त थप १० जना बिक्रेता नियुक्त गरी राजधानीका विभिन्न चोकमा सडकस्टल राखेका छन् । यो काम अरू सपिङ कम्प्लेक्सका पसलले पनि गरेका छन् । दसैँजस्ता चाडपर्वमा देखापर्ने मौसमी व्यापारीले आम उपभोक्तालाई सस्तो मूल्यमा सामान उपलब्ध गराएका मात्र छैनन्, ठूला पसलको व्यापारलाई समेत प्रभावित पारेका छन् ।
दसैँका अधिकांश उपभोक्ता ग्रामीण क्षेत्रबाट झरेका हुन् र उनीहरू स्तरीय पसलमा महँगो हुने विश्वासका कारण ठूला सपिङ कम्प्लेक्स र डिपार्टमेन्ट स्टोरमा छिर्दैनन् । छिरिहाले भने पनि किन्दैनन् । मौसमी व्यापारीको उत्साहले विशाल बजार, पशुपति प्लाजा, काठमाडांै मल जस्ता व्यापारिक केन्द्रसमेत प्रभावित भएको व्यापारी बताउँछन् ।
यो वर्ष काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारमा कडाइ गरेको छ । फुटपाथ व्यापारले ट्राफिक तथा मानिसको आवतजावतमा प्रभावित हुने भन्दै खुलामञ्चमा व्यापार गर्न छुट दिएको छ । अरूबेला राजनीतिक दलका सभासम्मेलनले भरिभराउ हुने राजधानीको खुलामञ्च अहिले व्यापारी र उपभोक्ताले खचाखच भएको छ । महानगरपालिकाले फुटपाथको सट्टा खुलामञ्चमा व्यापार गर्न व्यापारीलाई निर्देशन दिइसकेको छ ।

Wednesday, October 17, 2012

जहाज दुर्घटना छानबिनका लागि स्थायी आयोग


लक्ष्मीप्रसाद खतिवडा

काठमाडौं, १ कात्तिक । सरकारले जहाज दुर्घटना छानबिनका लागि उच्चस्तरीय स्थायी आयोग गठन गर्ने प्रक्रिया थालेको छ । हवाई दुर्घटना बढ्न थालेपछि सरकारले स्थायी आयोगको आवश्यकता महसुस गरेको हो । हाल जहाज दुर्घटना भएपछि सरकारले निश्चित समयावधि तोकेर छानबिन आयोग गठन गर्ने गरेको छ ।
उड्डयनविज्ञ तथा सरोकारवालाले स्थायी आयोग गठनका लागि लामो समयदेखि माग गर्दै आएका छन् । सम्बन्धित क्षेत्रको मागअनुसार आयोग गठन गर्न मन्त्रालय सकारात्मक रहेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोस्टबहादुर बोगटीले बताएका छन् । अस्थायी दुर्घटना आयोगले छोटो समयमा काम गरी औपचारिकता मात्र पूरा गर्ने गरेकाले मन्त्रालयले स्थायी आयोग गठनको आवश्यकता महसुस गरेको बोगटीको भनाइ छ । आयोगमा उड्डयनविज्ञ तथा कानुनविद् रहनेछन् । आयोगको संरचना र जनशक्तिबारे छलफल भइरहेको मन्त्रालयले बताएको छ ।
आधा दर्जन हवाई दुर्घटना छानबिन आयोगमा संयोजक भइसकेका नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक मेदिनीप्रसाद शर्मा छानबिन आयोगले औँल्याएका कुरा कार्यान्वयन भए/नभएको हेर्ने छुट्टै निकाय चाहिने बताउँछन् । ‘हवाई सुरक्षाका लागि विज्ञहरू सम्मिलित छुट्टै स्थायी संरचना निर्माण गर्नुपर्छ । यसले दुर्घटनाको छानबिन गर्नुका साथै सरकारलाई सुरक्षासम्बन्धी सुझाव पनि दिन्छ,’ शर्माले भने । प्रतिवेदन कार्यान्वयनका लागि यस्तो आयोगले काम गर्ने शर्माको भनाइ छ । प्रभावकारी अनुगमनको अभावमा बेलाबेलामा जहाजमा प्राविधिक समस्या आइरहेको
उनले बताए ।
पर्यटन मन्त्रालय छानबिन आयोगका प्रतिवेदन सार्वजनिक गर्नसमेत सकारात्मक रहेको बताइएको छ । यसका लागि विद्यमान नीतिमा परिमार्जन गर्नुपर्ने अवस्था छ । प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरोकारवालाले गर्दै आएका छन् । अहिले विमान कम्पनीले समेत छानबिन प्रतिवेदन अध्ययन गर्न पाउँदैनन् । वायुसेवा सञ्चालक संघ नेपालले विगतदेखि नै दुर्घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको छ । प्रतिवेदन अध्ययन गर्न नपाउने भएपछि के सुधार गर्ने भन्ने जानकारी नहुने संघको भनाइ छ ।
विमानस्थल कालोपत्रे गर्न एक अर्ब
चालू आर्थिक वर्षमा नागरिक उड्डयन प्राधिकरणले दसवटा विमानस्थल कालोपत्रे गर्न एक अर्ब रुपियाँ बजेट छुट्याएको छ । यो वर्ष फाप्लु, खानीडाँडा, रुम्जाटार, डोल्पा, रुकुम, दाङ, चौरजहारी, ताल्चा र बाजुरा विमानस्थल कालोपत्रे गर्ने योजना प्राधिकरणको छ । उड्डयन सुरक्षालाई ध्यानमा राखेर भौतिक पूर्वाधार विस्तारमा खर्च गर्न लागिएको प्राधिकरणले बताएको छ । गत आवमा प्राधिकरणले तुम्लिङटार र सिमिकोटको धावनमार्ग कालोपत्रे गरेको थियो । सामान्यतया एउटा विमानस्थल कालोपत्रे गर्न कम्तीमा १० करोड रुपियाँ खर्च लाग्छ ।
यसै आवभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्डअनुसार १० करोड रुपियाँ लगानीमा अत्याधुनिक प्रविधिसहितको सञ्चार उपकरण जडान गरिने प्राधिकरणले जनाएको छ । त्यस्तै, १० करोड रुपियाँकै लागतमा त्रिभुवन विमानस्थलको आन्तरिक विमानस्थल टर्मिनल भवन विस्तार गर्ने प्राधिकरणको योजना छ ।
त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको भौतिक पूर्वाधार विस्तारका लागि प्राधिकरणले एसियाली विकास बैंकको ७० मिलियन डलर ऋण लगानीमा ‘मास्टर प्लान २०२८’ सुरु गरिसकेको छ । अन्य ऋण तथा आन्तरिक स्रोतबाट ३० मिलियन डलर खर्च गरी त्रिभुवन विमानस्थलमा कम्युनिकेसन नेभिगेसन तथा एटिसी एटोमेसन सुधार गर्ने प्राधिकरणको योजना छ । एडिबीको ऋण लगानीमा धावनमार्ग, ट्याक्सी वे तथा जहाज पार्किङस्थल विस्तार गरिनेछ ।

Friday, October 12, 2012

डिजिटल टेलिभिजन प्रसारणमा रोक

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, २६  असोज । सरकारले आफ्नै नीतिविपरीत डिजिटल प्रविधिबाट सेवा सञ्चालन गरिरहेका केबुल टेलिभिजन अपरेटरको सेवा बन्द गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले विनाअनुमति डिजिटल प्रविधिबाट सेवा सञ्चालन गरेको भन्दै ६ वटा अपरेटरलाई सेवा बन्द गर्न निर्देशन दिएको हो । डिजिटल प्रविधिको प्रयोग गर्ने कानुनी आधार तयार भइनसकेको मन्त्रालयको भनाइ छ ।
राजधानीबाट सेवा सञ्चालन गरिरहेका सुबिसु केबुल, स्काइ केबुल, डिजी प्लस, केबुल टेक्नोलोजी, जावलाखेल केबुल र रियल डिजिटललाई मन्त्रालयले पत्र लेखेर तुरुन्त डिजिटल सेवा बन्द गर्न भनेको छ । ‘सबै अपरेटरलाई स्वैच्छिक रूपमा सेवा बन्द गर्न निर्देशन दिइएको छ । आफैँ सेवा बन्द नगरे मन्त्रालय कारबाही गर्न बाध्य हुनेछ,’ सञ्चार मन्त्रालयको उच्च स्रोतले बतायो । सबै अपरेटर ‘एनालग’ प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदान गर्न अनुमति पाएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार यी सबै अपरेटरको लाइसेन्ससमेत रद्द गर्ने निर्णय भएको छ । डिजिटल ट्रान्समिसन सुरु गर्नुअघि सरकारको स्वीकृति लिनुपर्ने प्रावधान उल्लंघन गरेको भन्दै मन्त्रालयले लाइसेन्स रद्द गर्ने निर्णय गरेको बताइएको छ ।
राष्ट्रिय प्रसारण नियमावली २०५२ मा उल्लेख नै नगरिएको प्रविधि प्रयोग गर्नु गैरकानुनी भएको मन्त्रालयको भनाइ छ । सरकार डिजिटल प्रविधिकै पक्षमा भए पनि यसको प्रयोग प्रक्रियागत रूपबाट हुनुपर्छ भन्ने पक्षमा सरकार रहेको मन्त्रालयका प्रवक्ता सुशीलकुमार ओझाले बताए । एनालग प्रविधिको अनुमति लिएर डिजिटल प्रविधिमा केबल नेटवर्क सञ्चालन गरिरहेको उजुरी मन्त्रालयमा आउने क्रम बढेको उनले जानकारी दिए । केबुल टिभी अपरेटरले २५ हजार रुपियाँ शुल्क तिरेर लाइसेन्स लिनसक्ने प्रावधान छ तर डिजिटल टिभी अपरेटरको लाइसेन्सका लागि प्रतिच्यानल एक लाख रुपियाँ लाइसेन्स शुल्क तोकिएको छ ।
सेवा प्रदायकले पटकपटक माग्दा पनि ग्राहकको विवरण नदिएको मन्त्रालयले बताएको छ । त्यस्तै, अपरेटरले ग्राहकलाई वितरण गरेको ‘सेट अप बक्स’ समेत गैरकानुनी भएको मन्त्रालयको दाबी छ । टेलिभिजन स्पेयर पार्टसका नाममा सेट अप बक्स खरिद गरेको मन्त्रालयको भनाइ छ । सञ्चार मन्त्रालयको अनुमतिपछि मात्र अपरेटरले सेट अप बक्स आयात गर्नसक्ने प्रावधान छ । यसरी अवैध रूपमा ल्याइएको सेट अप बक्स जफत गर्नसकिने मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार मन्त्रालयले यसको प्रक्रिया सुरु गरिसकेको छ । सेट अप बक्सले एनालग सिग्नललाई डिजिटलमा रूपान्तर गर्छ ।
डिजिटल केबुल टिभीका लागि प्रसारण नियमावली संशोधन गर्ने र छुट्टै निर्देशिका बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । नियमावली संशोधन भएर निर्देशिका आएपछि केबुल टिभीहरू डिजिटल प्रविधिमा जान सक्नेछन् ।
आफ्नै नीतिविपरीत सरकारले डिजिटल टिभी प्रसारणमा रोक लगाएको अपरेटरहरूले बताएका छन् । सरकारले सन् २०१६ सम्म सबै टेलिभिजन च्यानललाई डिजिटलमा लगिसक्ने घोषणा गरिसकेको छ । यसैबमोजिम सञ्चार मन्त्रालयले डिजिटल टिभीका उपकरण आयात र जडान गर्न अनुमति दिँदै आएको थियो । नेपालमा डिजिटल केबुल सञ्चालनको लाइसेन्स अहिलेसम्म कुनै पनि कम्पनीले नपाएको मन्त्रालयले स्पष्ट पारेको छ । डिटिएच कम्पनीले भने डिजिटल प्रविधिबाट टिभी च्यानल वितरण गरिरहेका छन् ।
डिजिटलमा जान सरकार आपैँmले प्रोत्साहन गर्नुपर्नेमा व्यवसायीले गरेको पहललाई समेत रोक्ने काम गरेको गुनासो अपरेटरको छ । डिजिटल प्रविधिको परीक्षण प्रसारण सुरु गरेको लामो समय भइसकेपछि यसमा रोक लगाउने निर्णय व्यवसायी तथा उपभोक्ता हितविपरीत भएको दाबी उनीहरूको छ । ‘प्रविधिलाई रोक्नुभन्दा कानुन संशोधन गरेर त्यसलाई वैधानिकता दिनु राम्रो हो ।’ सुबिसु केबुलका प्रमुख कार्यकारी सुधीर पराजुलीले भने । राष्ट्रिय प्रसारण नियमावलीमा डिजिटल प्रविधिबाट सिग्नल पठाउने स्पष्ट व्यवस्था नभएकाले केबल टेलिभिजन अपरेटरहरूले डिजिटल प्रविधिको प्रयोग गरेको उनको भनाइ छ । ‘केबल सञ्चालकले डिजिटल प्रविधिमा जान आवश्यक पर्ने डिजिटल बक्स आयात गर्न अढाई वर्षअघि नै मन्त्रालयसँग अनुमति लिएका हुन्,’ पराजुलीले भने ।
विकसित मुलुकमा डिजिटल प्रविधिमै टेलिभिजन च्यानल प्रसारण हुन्छन् । छिमेकी मुलुक भारतमा गत जुलाईदेखि डिजिटल टेलिभिजन अनिवार्य गरिएको छ । एनालगको तुलनामा डिजिटल प्रविधिका टिभीमा आउने दृश्य र आवाज निकै गुणस्तरीय हुन्छ । नेपालमा डिटिएचको थालनी भएपछि पाँच लाखभन्दा बढी दर्शकलाई सेवा पुर्‍याउँदै आएका चार सयको हाराहारीमा रहेका केबल टेलिभिजन प्रदायक कम्पनीलाई चुनौती थपिएको छ ।

क्यानोनिङका नायक

साहस धेरैसँग हुन्छ तर त्यो साहसलाई व्यावसायिक प्रयोजनमा रूपान्तर गर्ने सिर्जनशीलता कमैसँग मात्र हुन्छ । तिनै कम व्यक्तिमध्ये पर्छन् युवा हुन् कवीन्द्र लामा, जसले पानीका अग्ला छहरामा डोरी समातेर झर्दै खेलिने साहसिक खेल क्यानोनिङ नेपाल भित्र्याए । उनी अहिले पनि क्यानोनिङको विकासका लागी युवाहरूलाई प्रशिक्षण दिने र यसका लागि उपयुक्त झरनाको खोजी गर्ने काम गरिरहेका छन् ।
३३ बर्षअघि काभ्रेमा जन्मिएका लामा स्कुल पढ्दापढ्दै गाउँका युवाहरूसँग पर्यटकको भारी बोक्न हिँडे । पर्यटनबारे केही थाहा पाए । ट्रेकिङ गाइडको तालिम पनि लिए । गाइड बनेर पर्यटकसँग हिड्ने क्रममा लामाको थुपै्र विदेशीसँग हिमचिम भयो । यसमध्येका एक थिए, फ्रेन्च नागरिक मोरसी दुसेन । फ्रान्सका क्यानोनिङ अग्रणी दुसेनले लामालाई त्यहाँ लगेर गाइड बनाए । उनले फ्रान्सको इएफसी क्यानोनिङ स्कुलबाट उच्चस्तरको रक क्लाइम्बिङ तालिम लिने अवसर पनि पाए ।
तीनमहिने युरोप बसाइपछि लामाले नेपाल फर्किएर झरना खोज्न थाले । अन्नपूर्ण सर्किटमा ट्ेरकिङ गर्न जाँदा देखिने झरना हेर्दै क्यानोनिङका लागि उपयुक्त छ/छैन भनेर जाँच्न थाले । दुई वर्षको अध्ययनपछि ०६१ सालमा पहिलोपटक लमजुङको १ सय २० मिटर अग्लो बुलबुले झरनामा क्यानोनिङ गरे । क्यानोनिङका लागि उपयुक्त मानिएकामध्ये यो निकै कठिन झरना मानिन्छ । त्यसै साल लामाको नेतृत्वमा पाँच फ्रेन्च नागरिकसमेत मिलेर लमजुङमा क्यानोनिङका लागि ६ वटा झरना पत्ता लगाए ।
उनको सम्मानस्वरूप फ्रेन्चहरूले मस्र्याङ्दी उपत्यकाको एउटा झरनालाई ‘कवीन्द्र झरना’ नामकरण गरिदिए । उनको पहलमा लमजुङको बुलबुले र चाम्चे खोला, मनाङको ताल तथा नार र फू, सिन्धुपाल्चोकको जम्बु तथा भोटेकोशी, काभ्रेको सुनकोशी, नुवाकोटको ककनी, ओखलढुंगाको पोकलीलगायत झरनामा खोज–अनुसन्धान भई क्यानोनिङ साइट खुलिसकेको छ ।
व्यक्तिगत पहलमा लामाले क्यानोनिङका लागी झरना पत्ता लगाए पनि व्यावसायिक विकासका लागि गाइड थिएनन् । त्यसैले उनले केही युवालाई तालिम दिए । ‘युवा पनि डराउँथे । मानिसहरूमा हामीप्रति विश्वास नै थिएन,’ लामा सम्झन्छन् । तर, अहिले यो एडभेन्चर भईकन पनि सुरक्षित खेल हो भन्नेमा धेरैलाई विश्वास लाग्न थालिसकेकोमा उनी सन्तुष्ट छन् । क्यानोनिङप्रति युवाको आकर्षण बढ्दो छ ।
क्यानोनिङ खेललाई संंस्थागत विकास गर्न पाँच वर्षअघि नेपाल क्यानोनिङ एसोसिएसनको स्थापना भयो । एसोसिएसनले गाइडलाई तालिम दिनुका साथै यसको व्यावसायिक विकासका लागि काम गरिरहेको छ । क्यानोनिङमा पर्यटकको आकर्षण बढ्न थालेपछि गाइडको संख्या पनि बढेको छ । लामा सबैका गुरु हुन् ।
लामा अहिले नेपाल, फ्रान्स र अमेरिकामा क्यानोनिङको विकासका लागी प्रचारप्रसार गरिरहेका छन् । नेपाल पर्यटन बर्षको अवसरमा गत बर्ष नेपालमा भएको अन्तर्राष्ट्रिय क्यानोनिङ सम्मेलनमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए । नेपाली झरना धेरैजसो ठाडो भएकोले यहाँको क्यानोनिङ बढी साहसिक मानिन्छ । क्यानोनिङ अहिले दक्षिण एसियामै लोकप्रिय भइसकेको छ । नेपाल पहिलो नम्बरमा आउँछ ।
पोखराको ९० फिट लामो सेती खोँचमा तीन वर्षअघि साढे दुई वर्षे बालिका आराधना प्रधान खस्दा पनि लामाकै नेतृत्वको टोलीले उद्धार गरेको थियो । उनी नेपाल पर्वतारोहण संघको उद्धार समिति सदस्य समेत हुन् ।

Friday, October 5, 2012

पोखरा विमानस्थल निर्माण पुरानै प्रक्रियाबाट

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १९ असोज । पोखरामा निर्माण गर्ने भनिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टेन्डर प्रक्रिया विवादित भएका कारण अर्को टेन्डर गर्नुपर्ने सरोकारवालाको मागविपरीत नागरिक उड्डयन प्राधिकरण पुरानै प्रक्रियाबाट अघि बढ्ने भएको छ । विमानस्थल निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउने दातृनिकाय र निर्माण कम्पनी पुरानै प्रक्रियाबाट अघि बढ्न सहमत भएको भन्दै प्राधिकरणले पुरानै प्रक्रिया अगाडि बढाउन लागेको हो ।
विमानस्थल निर्माणको टेन्डरका विषयमा तीव्र विवाद उत्पन्न भएपछि गत साता पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा एक टोली चीन गएको थियो । टोलीमा सहभागी एक सदस्यका अनुसार विमानस्थल निर्माणका लागि लगानी गर्न चिनियाँ एक्जिम बैंक अहिले पनि तयार छ । टेन्डरमा अनुमानित बजेटभन्दा दोब्बर बढी बजेट लगानी दाबी गरेको कम्पनीले समेत टेन्डर बजेटमै काम गर्न तयार रहेको पत्र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ ।
एक्जिम बैंकको सहुलियत ऋण पाउनका लागि २० अक्टोबरसम्म सहमति गरिसक्नुपर्ने कुनै सर्त नरहेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । यसअघि एक्जिम बैंकले २० अक्टोबरसम्म लगानीका लागि दुई देशबीच सहमति भइसक्नुपर्ने सर्त राखेको थियो । वार्ताका क्रममा एक्जिम बैंकले पोखरा विमानस्थलमा लगानी गर्न आफू जुनसुकै बेला तयार रहेको जानकारी दिएको उनको भनाइ छ । टेन्डर प्रक्रिया विवादित भए पनि ऋण दिने बैंक र लगानी गर्ने कम्पनीले लचकता देखाएका छन् ।
चिनियाँ सिएएमसी कम्पनीले विमानस्थल निर्माणका लागि प्राधिकरणले गरेको टेन्डर बजेटकै आधारमा काम गर्न पत्र पठाएको बताएको छ । प्राधिकरणले गरेको टेन्डरको वित्तीय बजेट एक सय ७० मिलियन भए पनि प्रतिस्पर्धी तीनवटा कम्पनीमध्ये सिएएमसीले सबैभन्दा कम तीन सय पाँच मिलियन डलर प्रस्ताव गरेको थियो । त्यस्तै प्रतिस्पर्धामा उत्रेका अन्य दुई कम्पनी सिनो हाइड्रो र चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले योभन्दा बढी रकम प्रस्ताव गरेका थिए । टेन्डरमा चिनियाँ कम्पनीले मात्र भाग लिन पाउने सर्त एक्जिम बैंकको छ । अनुमानितभन्दा दोब्बर बजेट प्रस्ताव भएपछि विमानस्थल निर्माण प्रक्रिया अन्यौलमा परेको थियो ।
एक्जिम बैंक र सिएएमसी इच्छुक भएमा पुरानै प्रक्रियाबाट अगाडि बढ्न सकिने प्राधिकरणको निष्कर्ष छ । ‘यति ठूलो निर्णय प्राधिकरण एक्लैले गर्न सक्दैन । यसका लागि राजनीतिक सहमतिका आधारमा निर्णय हुनुपर्छ ।’ प्राधिकरणका एक अधिकारीले भने । पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोस्टबहादुर बोगटी पनि विवाद नआउने गरी पारदर्शी रूपमा काम हुनुपर्ने पक्षमा रहेको उनको भनाइ छ ।
विमानस्थल इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्सट्रक्सन (इपिसी) मोडलबाट बनाउनुपर्ने व्यवस्था प्राधिकरणको छ । ०३१ सालमा नै पोखराको छिन्नेडाँडामा तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको थियो । तर, सरकारी बजेट अभाव र दातृनिकाय फेला नपर्दा विमानस्थल निर्माण अलपत्र पर्दै आएको छ । प्राधिकरणले यसअघि जापानी दातृनिकाय जाइकाको सहयोगमा १२ अर्ब ७७ करोड ५० लाख रुपियाँमा फोर डी स्तरको विमानस्थल निर्माणको प्रस्ताव हाले पनि त्यो पास हुन सकेन ।
पछि चीन सरकारले त्यहाँको एक्जिम बैंकमार्फत सहुलियत ऋणमा विमानस्थल बनाउने भएपछि नागरिक उड्डयन प्राधिकरणले निर्माण कम्पनी छनोटका लागि टेन्डर आह्वान गरेको थियो । विमानस्थलका लागि जग्गा अधिग्रहण गरेको लामो समय भइसक्दा पनि उल्लेख्य रूपमा काम हुन सकेको छैन । आर्थिक सर्वेक्षण ०६८/६९ का अनुसार विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गामा गतवर्ष आली तथा कान्ला सम्याई ग्रेडिङ गर्ने र पर्खाल लगाउने काम मात्र भएको छ । चालू आव ०६९/७० मा रनवे स्ट्रिपका लागि आंशिक रूपमा माटोको काम गर्न ठेकेदार छनोट गर्नेे र विमानस्थल निर्माणका लागि थप चार सय रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको योजना छ । सरकारले ल्याएको एक तृतीयांश बजेटमा पनि पोखरा विमानस्थल निर्माणलाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा प्राथमिकताका साथ सञ्चालन गर्ने उल्लेख छ ।

Tuesday, October 2, 2012

पर्यटन श्रमिकद्वारा टानमा तालाबन्दी

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १६ असोज । ट्रेकिङ क्षेत्रमा मजदुर समस्या बढेर गएको छ । तीन ठूला राजनीतिक दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस र एमाओवादी सम्बद्ध ट्रेड युनियन महासंघअन्तर्गतका पर्यटन श्रमिकले ट्रेकिङ एजेन्सीको छाता संगठन टानमा तालाबन्दी गरेपछि समस्या बढेर गएको हो ।
आफूहरूले विगत लामो समयदेखि राख्दै आएका माग पूरा नभएको भन्दै नेपाल पर्यटन श्रमिक संघ, युनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले सोमबार टानको केन्द्रीय कार्यालय र पोखरा च्याप्टरमा तालाबन्दी गरेका छन् । अक्टोबर १ देखि लागू हुनेगरी टानसँग ज्याला वृद्धिको सम्झौता गरिएको भए पनि त्यसको पालना नभएकाले तालाबन्दी गरिएको मजदुर संगठनहरूको भनाइ छ । गत २६ भदौमा मजदुर संगठन र टानबीच ट्रेकिङ मजदुरको ज्याला दुई सय रुपियाँले बढाउने सहमति भएको थियो । सहमतिपत्रमा टानका अध्यक्ष महेन्द्रसिंह थापा, महासचिव मोहन लम्साल र प्रमुख कार्यकारी गंगासागर पन्त र मजदुरका तर्फबाट १० वटा पर्यटन सम्बद्ध मजदुर संगठनका पदाधिकारीले हस्ताक्षर गरेका छन् । ज्याला वृद्धिको निर्णय पुन: सरकारी प्रतिनिधि र सरोकारवालाको रोहवरमा हस्ताक्षर गर्ने सहमति दुई पक्षबीच भएको थियो ।
मजदुर संगठनले भने ज्याला वृद्धिको सहमति लागू गर्ने कुरामा टानले सक्रियता नदेखाएको आरोप लगाएका छन् । ‘भएको सम्झौता पालना गर्नुपर्नेमा टानले सक्रियता देखाएन,’ नेपाल पर्यटन श्रमिक संघका सचिव भागवतश्री न्यौपानेले भने । सरकारी प्रतिनिधिसँगको बैठक बोलाउन पनि टानले पहल नगरेको आरोप उनको छ । आफ्ना सदस्य संस्थालाई समेत टानले ज्याला वृद्धिबारे सर्कुलर नगरेको उनले बताए ।
टान महासचिव मोहन लम्सालले भने सर्वपक्षीय बैठकका लागि ३ असोजमै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखामा पत्र पठाइएको बताए । तर, मन्त्रालयले अहिलेसम्म बैठक आह्वान गरेको छैन । ‘सरकारी निकायले तत्परता नदेखाएका कारण विवाद सिर्जना भएको हो । यसमा मन्त्रालय जिम्मेवार छ ।’ लम्सालले भने । सर्वदलीय बैठकले निर्णय गरेपछि मात्र टानले सदस्य संस्थाहरूलाई सर्कुलर जारी गर्ने उनले बताए ।
तालाबन्दी गर्ने क्रममा सोमबार बिहान मजदुर संगठनबीच झडपको स्थिति उत्पन्न भएको थियो । सम्झौतामा आफूहरू पनि सहभागी भएको तर तालाबन्दी गर्ने क्रममा तीनवटा संगठन मात्र अगाडि आएको भन्दै नेकपा–माओवादी सम्बद्ध मजदुर संगठनले विवाद गरेको थियो । विवादकै क्रममा नेकपा–माओवादी समर्थित मजदुरले अन्य दल समर्थित मजदुरलाई आक्रमण गरे । आक्रमणबाट अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव रामचन्द्र ढुंगाना घाइते भएका छन् । ढुंगानाले आक्रमणकारीविरुद्ध हनुमानढोका प्रहरीमा उजुरी दिएका छन् । उजुरीमा टान तथा यसका अध्यक्ष र महासचिवलाई पनि विपक्षी बनाइएको छ । टान पदाधिकारीले नै मजदुर भिडाउन आक्रमण गराएको आरोप उनको छ ।
टान महासचिव लम्साल भने मजदुर भिडन्तलाई जुँगाको लडाइँ मात्र बताउँछन् । सहमति पालना गर्न टान प्रतिबद्ध रहेको बताउँदै उनले अनावश्यक विवाद नगरी वार्तामा आउन मजदुर संगठनहरूलाई आग्रह गरे । प्रक्रिया पूरा भएपछि सम्झौता लागू हुने उनले बताए । ‘श्रमको मूल्य निर्धारण गर्ने आधिकारिक निकाय टान होइन । यसका लागि सरकारी पक्षको पनि सहमति चाहिन्छ,’ उनले भने । पर्यटन मन्त्रालय, ट्रेड युनियन प्रतिनिधि, टान र श्रम विभागको सहमतिपछि मात्र ज्याला वृद्धिको सहमति लागू हुने उनले बताए । यसअघि पनि यही प्रक्रियाबाट ज्याला वृद्धि भएको उनले जानकारी दिए ।
मुख्य कार्यालयमा तालाबन्दी भएपछि टान पदाधिकारीले मजदुर संगठनलाई वार्तामा बोलाए पनि उनीहरू वार्तामा गएनन् । युनिट्राभका महासचिव सुमन पराजुलीले आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने बताए । वार्ताको वातावरण बनाउन आक्रमणकारीलाई कारबाही गर्नुपर्ने माग मजदुर संगठनको छ । पर्यटकीय सिजनमा भएको तालाबन्दीका कारण पर्यटकलाई असर परेको टान महासचिव लम्सालले बताए । तालाबन्दीका कारण सोमबार ट्रेकिङ एजेन्सीहरुले टिम्स कार्ड लिन पाएनन् । सिजनमा टानबाट दैनिक दुई हजारसम्म टिम्स कार्ड वितरण हुन्छ ।