Monday, July 30, 2012

बिक्री भएनन् पुराना जहाज

सौर्य दैनिक

काठमाडौं, १५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि ग्राउन्डेड अवस्थामा रहेका पुराना जहाज व्यवस्थापनले लिलामी गरे पनि बिक्री भएका छैनन् । गत आर्थिक वर्षभित्रै सबै पुराना जहाज बिक्री गरी बाँकी बक्यौता उठाउने योजना व्यवस्थापनले बनाएको थियो ।
विमानस्थल परिसरमा विभिन्न् कम्पनिका ग्राउन्डेड जहाज

विमानस्थल परिसरमा थन्किएका विभिन्न वायुसेवा कम्पनीका करिब दर्जन जहाज लिलामीका लागी सूचना सार्वजनिक गरिए पनि एउटा मात्र जहाज बिक्री भएको विमानस्थल व्यवस्थापनले जनाएको छ । लिलामीबाट यती एयरलाइन्सको एउटा वाई १२ जहाज बिक्री भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीशचन्द्र लाल सुमनले जानकारी दिए ।
यतीका दुईवटा, कस्मिक एयरका पाँचवटा, नेपाल एयरवेजका दुईवटा र नेपाल वायुसेवा निगम तथा नेकोन एयरको एक/एक गरी ११ वटा साना ठूला ग्राउन्डेड जहाज अझै पनि विमानस्थल परिसरमा अलपत्र अवस्थामा छन् । विमानस्थल परिसरमा चारवटा डोर्नियर, दुईवटा वाई, १२ वटा फोकर जहाज र एउटा हेलिकोप्टर थन्किएका छन् । जहाजबाहेक विभिन्न कम्पनीले छोडेर गएका मिनीबस, हाइड्रोलिक ज्याक, भर्‍याङ, ब्यागेज ट्रलीलगायतका पुराना सामान तथा उपकरण समेत अव्यवस्थित रूपमा छरिएर रहेका छन्।
व्यवस्थापनका अनुसार कस्मिक एयरका नाइन एन एजिवाई, नाइन एन एइपी, नाइन एन एसिई र नाइन एन एसिजी जहाज लिलामीमा छन्। यसमध्ये एउटा जहाज कस्मिकको स्वामित्वमा छ भने जहाज निर्माता जर्मनी कम्पनी डोर्नियरकै स्वामित्वमा छन्। नेपाल एयरवेजको नाइन एन एडिजे एएस ३५० बी जहाज पनि हटाउनुपर्ने सूचीमा परेको छ । कस्मिक र नेपाल एयरवेज दुवै कम्पनी बन्द भइसकेका छन्। नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपाल एयरवेजको एयर अपरेसन एओसी नम्बर ००६/९६ हो । उसको एओसी रद्द भइसकेको छ । त्यस्तै कस्मिक एयरको एओसी नम्बर ०१८/३ हो । यसले २००३ मा एओसी पाएर केही वर्ष सेवा सञ्चालन गरेको थियो ।
पहिलो लिलामीबाट पुराना जहाज बिक्री नभएपछि व्यवस्थापनले लिलामीको अर्को सूचना निकालेको छ । दोश्रो लिलामीबाट सबै जहाज बिक्री हुने व्यवस्थापनको विश्वास छ । विमानस्थल महाप्रबन्धक सुमनले जहाज बिक्रीका लागि गत साता सार्वजनिक सूचना जारि गरिएको जानकारी दिंदै तीन साताभित्र इच्छुक खरिदकर्ताले दरखास्त दिइसक्नुपर्ने बताए । उनका अनुसार जहाजहरू काम नलाग्ने अवस्थामा रहेकाले बिक्रीबाट विमानस्थलको सबै बक्यौता चुक्ता हुने स्थिति छैन ।
कम्पनी बन्द भएपछि अन्तर्राष्ट्रिय तथा आन्तरिक जहाज कम्पनीका ग्राउन्डेड जहाज विगत एक दशकदेखि बेवारिसे अवस्थामा छन्। जहाज ग्राउन्डेड भएमध्ये यती एयरलाइन्स मात्र सञ्चालनमा छ । उसका तीनवटा जहाज ग्राउन्डेड भएर विमानस्थलमा थन्किएका छन्।
यसअघि विमानस्थल व्यवस्थापनले गत चैतमा नै अन्तिमपटक भन्दै पुराना जहाज हटाउन सम्बन्धित कम्पनीलाई १५ दिनको समय दिएको थियो । तिर्नुपर्ने सबै बक्यौतासमेत तिर्न व्यवस्थापनले सम्बन्धित कम्पनीलाई भनेको भए पनि कसैले रकम तिरेका छैनन् ।
‘कवाडी’ अवस्थामा पुगिसकेका जहाज विमानस्थल रनवेको पूर्वपट्टि आगो निभाउने मेसिन नजिक राखिएको छ । यसका कारण सुरक्षा बढेको जहाजस्थल प्रहरीले बताउँदै आएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि थोत्रा जहाजले विमानस्थलको सुन्दरतामा असर पारेको भन्दै जहाज हटाउन निर्देशन दिएको छ ।
व्यवस्थापनका अनुसार कुनै पनि कम्पनीले जहाजको पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क तिरेका छैनन् । सबै कम्पनीको गरी एक करोड ५० लाख रुपियाँ बक्यौता नाघिसकेको र यो रकम दिनदिनै बढिरेको व्यवस्थापनले जनाएको छ । जहाजको तौल र आकारको आधारमा पार्किङ शुल्क लिने गरिन्छ ।

Tuesday, July 24, 2012

नेवानिको उडान रोक्ने प्राधिकरणको चेतावनी

सौर्य दैनिक
काठमाडौं, ९ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको उडान रोकिदिने चेतावनी दिएको छ । निगमले तिर्नुपर्ने पुरानो बक्यौता नतिरेको भन्दै प्राधिकरणले उडान रोकिदिने चेतावनी दिएको हो ।
गत २५ असारमा नै प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले चेतावनीस्वरूप निगमको आन्तरिक उडान दुई घन्टा रोकेको थियो । विमानस्थल महाप्रबन्धक रतीश चन्द्रलाल सुमनको निर्देशनमा उडान रोकिएको बताइएको छ । विमानस्थल सेवा शुल्क नियमावली ०६७ अनुसार विमानस्थल महाप्रबन्धकलाई कुनै पनि कम्पनीको उडान रोक्का गर्ने अधिकार हुन्छ । रकम नतिरे अन्तर्राष्ट्रिय उडान पनि रोक्ने चेतावनी प्राधिकरणले दिएको छ ।
निगमले जहाज ल्यान्डिङ, पार्किङ, नेभिगेसनल भाडा, जरिबाना, ब्याजलगायत गरी करिब ३५ करोड रुपियाँ तिर्न बाँकी रहेको प्राधिकरणको दाबी छ । तर, निगमले भने यति ठूलो रकम तिर्न बाँकी नरहेको बताउँदै आएको छ । ‘हिसाब नमिलेको केही रकम मात्र बाँकी छ, कतिपय तिरिसकिएको पनि छ,’ निगमका लेखा अधिकृत तारिणिराज दाहालले भने । पुरानो ब्याज मिनाह गर्न आग्रह गरे पनि मिनाहा गर्न नमानेको उनले बताए । निगम प्रवक्ता सरोजकुमार कसजुले पनि प्राधिकरणलाई तिर्न बाँकी रकमबारे अध्ययन भइरहेको जानकारी दिंदै तिर्नुपर्ने रकम तिर्न निगम तयार रहेको बताए ।
निगमले अहिलेको रकम नियमित रूपमा तिरिरहेको भए पनि पुरानो रकम तिर्न बाँकी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ । प्राधिकरणले रकम तिर्न निगमलाई दुईपटक पत्राचार गरेको छ तर निगम व्यवस्थापनले भने हिसाब नै ‘क्लियर’ नभएको भन्दै रकम तिर्न आनाकानी गर्दै आएको छ । प्राधिकरणलाई कति रकम तिर्न बाँकी छ भन्ने यकिन तथ्यांक निगमसँग पनि छैन ।
सरकारलाई तिरिसकेको रकम पनि प्राधिकरणले तिर्नुपर्ने रकमका रूपमा जोडेको निगमको दाबी छ । पर्यटन मन्त्रालयसमेत प्राधिकरणको पक्षमा लागेर निगम डुबाउने खेलमा लागेको आरोप निगम अधिकारीको छ । अन्य मुलुकमा राष्ट्रिय ध्वजावाहकले विभिन्न छुट पाउने गरेको भए पनि नेपालमा भने निगम सरकारी निकायबाट नै पीडित हुनुपरेको गुनासो उनीहरूको छ । नियमित उडान हँदा निगमले प्राधिकरणलाई मासिक पाँच करोड रुपियाँसम्म तिर्नुपर्ने हुन्छ । निगमले प्रदान गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्न अनेक मुद्दा उठाइरहेको निगमको आरोप छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक रतीशचन्द्र लालसुमनले निगमले बारम्बार आग्रह गर्दा पनि अहिलेसम्म कुनै रकम नतिरेको बताए । कति रकम तिर्न बाँकी छ भनेर पत्ता लगाउन एक समिति गठन गरिएको जानकारी दिंदै उनले समितिले रकम स्पष्ट गरेपछि तिर्ने विश्वास व्यक्त गरे । कतिपय रकम सरकारमार्फत् तिरिएको भए पनि प्राधिकरणसम्म आइनपुगेको उनले स्विकारे । निगमले तिर्नुपर्ने रकम नतिरेको खण्डमा आफ्नो अधिकार प्रयोग गरेर कदम चाल्ने चेतावनी उनले दिए ।

Sunday, July 22, 2012

पोखरा विमानस्थल नबन्ने संकेत

सौर्य दैनिक
काठमाडौं, ७ साउन । पोखरामा निर्माण गर्ने भनिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने संकेत देखिएको छ । विमानस्थल निर्माणका लागि टेन्डर बुझाएका चिनियाँ कम्पनीले प्रस्ताव गरेको रकम सरकारी अनुमानभन्दा करिब ११ अर्ब रुपियाँ बढी भएपछि विमानस्थल निर्माण अन्योलमा परेको हो ।
सरकारले गरेको प्रारम्भिक अध्ययनमा विमानस्थल बनाउन १८ करोड अमेरिकी डलर अर्थात् करिब १५ अर्ब ८४ करोड रुपियाँ लाग्ने अनुमान गरिएको थियो । तर, सबैभन्दा कम रकम प्रस्ताव गरेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले ३० करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब २६ अर्ब ८४ करोड रुपियाँमा विमानस्थल निर्माण गर्ने प्रस्ताव गरेको छ । अन्य कम्पनीको प्रस्ताव योभन्दा पनि बढी छ । यो कम्पनीबाहेक सिनो हाइड्रो र चाइना इन्टरनेसनल वाटर एन्ड इलेट्रिक कर्पोरेसनले पनि विमानस्थल निर्माणका लागि वित्तीय प्रस्ताव हालेका थिए ।
प्रस्ताव मूल्यांकन समितिले सबै कम्पनीको वित्तीय प्रस्ताव खोलेर आफ्नो राय नागरिक उड्ययन प्राधिकरणलाई बुझाइसकेको छ । प्राधिकरण सञ्चालक समितिले टेन्डर परेका तीन कम्पनीको प्राविधिक प्रस्ताव मूल्यांकन गरेर कम वित्तीय प्रस्ताव हुनेलाई छनोट गर्ने निर्णय गरेको छ । तर टेन्डर रकम अनुमानभन्दा निकै बढी देखिएकाले थप छलफल भइरहेको प्राधिकरण सञ्चालक समिति सदस्य ज्योति अधिकारीले बताए ।
चीनको एक्जिम बैंकबाट ऋण लिएर बनाउने भनिएको विमानस्थल इन्जिनियरिङ, प्रोकुरमेन्ट र कन्सट्रक्सन (इपिसी) मोडलबाट बनाउनुपर्ने छ । ०३१ सालमा नै पोखराको छिनेडाँडामा तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थलका लागि अधिग्रहण गरिएको थियो । तर, सरकारी बजेट अभाव र दातृ निकाय फेला नपर्दा विमानस्थल निर्माण अलपत्र पर्दै आएको छ । प्राधिकरणले यसअघि जापानी दातृ निकाय जाइकाको सहयोगमा १२ अर्ब ७७ करोड ५० लाख रुपियाँमा फोर डी स्तरको विमानस्थल निर्माणको प्रस्ताव हाले पनि त्यो पास हुन सकेन ।
पछि चीन सरकारले त्यहाँको एक्जिम बैंकमार्फत सहुलियत ऋणमा विमानस्थल बनाउने भएपछि नागरिक उड्डयन प्राधिकरणले निर्माण कम्पनी छनोटका लागि टेन्डर आह्वान गरेको थियो । चीनले इपिसी अवधारणाअन्तर्गत चिनियाँ सरकारले निर्माणमा चासो देखाएको हो । यो अवधारणाअनुसार डिजाइनदेखि निर्माणसम्मको काम उनीहरूले नै गर्ने छन् । आफूले लगानी गर्ने विमानस्थल निर्माणको काम चिनियाँ कम्पनीले नै पाउनुपर्ने सर्त चीनको छ ।
आर्थिक सर्वेक्षण ०६८/६९ का अनुसार विमानस्थलका लागि अधिग्रहण गरिएको तीन हजार एक सय ६ रोपनी जग्गामा गतवर्ष आली तथा कान्लालाई सम्याई ग्रेडिङ गरिएको र पर्खाल लगाउने कार्य सम्पन्न भएको छ । चालु आव ०६९/७० मा रनवे स्टिपको लागि आंशिक रूपमा माटोको कार्यको लागि ठेकेदार छनोट प्रक्रियामा रहेको र विमानस्थल निर्माणका लागि थप चार सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको सर्वेक्षणमा उल्लेख छ ।
सरकारले ल्याएको एक तृतीयांश बजेटमा पोखरा विमानस्थल निर्माणलाई समेत राष्ट्रिय गौरवका आयोजनाका रूपमा प्राथमिकताका साथ सञ्चालन गर्ने उल्लेख छ ।
कर्मचारी विरोधमा
काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना प्राधिकरणले धान्न नसक्ने भन्दै कर्मचारीले विरोध गरेका छन् । संस्था डुब्ने गरी विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन नहुने प्राधिकरणमा कार्यरत कर्मचारी संगठनको भनाइ छ ।
प्राधिकरणमा सक्रिय राष्ट्रिय कर्मचारी संगठन, नेपाल कर्मचारी संगठन र तराई मधेश कर्मचारी युनियनले संयुक्त विज्ञप्ति निकालेर सरकारले प्राधिकरणको भविष्य नै अन्धकार हुने गरी पोखरा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाएकामा आपत्ति जनाएका छन् ।
प्राधिकरण स्वायत्त निकाय हुनाले यस संस्थाले आफ्नो विषयमा आफैं निर्णय गर्न पाउने कानुनी र मौलिक अधिकारमा कुण्ठित हुने गरी र संस्थाका करिब एक हजार कर्मचारीलाई आघात पुग्ने गरी काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघले प्रस्तावक कम्पनीलाई प्राधिकरणको लागत इस्टिमेटको परिधिभित्र रही निर्माण सञ्चालन हस्तान्तरण (बुट) मोडलमा विमानस्थल निर्माण तथा सञ्चालनको जिम्मेवारी दिनुपर्ने माग गरेको छ । प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल असर नपर्ने गरी सार्वजनिक निजी साझेदारीलगायत उपयुक्त विकल्प अवलम्बन गर्नुपर्ने सुझाव उसले दिएको छ । कुल पुँजी नौ अर्ब चार करोड वार्षिक आय तीन अर्ब रुपियाँ भएको प्राधिकरण विमानस्थल निर्माण गर्न र ऋण तथा त्यसको व्याज तिर्न सक्षम नरहेको संघको भनाइ छ ।
प्राधिकरणको आम्दानी सरकारबाट लिएको ऋणको ब्याज तिर्न, विमानस्थल सञ्चालन र निर्माण गर्न तथा तलबभत्तामै ठिक हुने गरेकाले प्राधिकरणको कुल पुँजीभन्दा तीन गुणा ठूलो परियोजना सञ्चालन गर्नै नहुने कर्मचारीको माग छ । सरकारले चीनबाट अन्य प्रयोजनको लागि लिएको ऋणसमेत पोखरा विमानस्थल निर्माणका नाममा प्राधिकरणलाई महँगो ब्याजमा थोपर्ने प्रयास गरेको आरोप कर्मचारीको छ । प्राधिकरण उच्च अधिकारीहरू पनि यो कुरामा सहमत छन् तर राजनीतिक निर्णय भए रोक्न नसकिने उनीहरू बताउँछन् ।

कमजोर बन्दै नेपाल टेलिकम

काठमाडौं : लामो समयसम्म दुरसञ्चार बजारमा अधिपत्य जमाएको सरकारी कम्पनि नेपाल टेलिकमको बजार हिस्सा क्रमशः घट्दो क्रममा छ । बजारमा प्रतिस्पर्धा बढेगै कम्पनिले आफ्नो पकड गुमाउन थालेको हो ।
सरकारीसग प्रतिस्पर्धामा उत्रिएको निजी कम्पनि एनसेलको तुलनामा टेलिकमको सेवा विस्तार निकै सुस्त छ । टेलिकम अधिकारीहरु भने सरकारी निती नियम र प्रक्रियागत झन्झटका कारण चाडो निर्णय गर्न नसक्दा सेवा विस्तार द्रुत रुपमा हुने नसकेको बताउछन् ।
नियामक निकाय दुरसञ्चार प्राधिकरणले हालै जारी गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार वैशाख मसान्तसम्ममा टेलिकमको ग्राहक संख्या ७६ लाख ३३ हजार छ भने एनसेलको ग्राहक संख्या ७८ लाख ८८ हजार छ । टेलिकमका ६ लाख २६ हजार साधारण टेलिफोन, एक लाख ४५ हजार ताररहित, ६० लाख जिएसएम मोबाइल, आठ लाख ५१ हजार सिडिएमए टेलिफोनका ग्राहक छन् । टेलिकमले आर्थिक बर्ष २०६९/७० मा २० लाख जिएसएम ग्राहक थप्ने लक्ष्य राखेको छ । एनसेलका सबै ग्राहक जिएसएम मोबाइलका हुन् ।
टेलिफोन सेवामा मात्र नभएर एनसेलले इन्टरनेट ग्राहक संख्यामा पनि टेलिकमलाई पछि पारेको छ । टेलिकमका १९ लाख ४० हजार इन्टरनेट प्रयोगकर्ता छन् भने एनसेलका २७ लाख ९३ हजार ग्राहकले इन्टरनेट प्रयोग गर्छन् ।
ग्राहक संख्याको आधारमा बजार हिस्सा टेलिकमको ४६ प्रतिशत छ एनसेलको ४७ प्रतिशत छ । इन्टरनेट प्रयोगकर्ताको बजार हिस्सा पनि क्रमश ४० र ५७ प्रतिशत छ । एनसेलले ३ महिना अघि नै टेलिकमलाई उछिनेको थियो । यस्तै अवस्था रहे ९० प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहेको ३६ बर्ष पुरानो टेलिकमलाई सात बर्षअघि मात्रै सञ्चालनमा आएको निजी कम्पनी एनसेलले जित्ने विज्ञहरु बताउछन् ।
निजि कम्पनि सबल भएपछि सरकारी कम्पनि कमजोर हुन थालेको थालेको जानकारहरुको भनाई छ । टेलिकममा महाप्रवन्धक भएर काम गरिसकेका सुगतरत्न कंसाकार निजी कम्पनि ठूलो लगानी र आक्रामक बजार विस्तारको रणनितिका साथ आएपछि टेलिकम कमजोर हुनु स्वभाविक भएको. बताउछन् । संसारमै नाम कमाएको मल्टिनेसनल कम्पनिसग सरकारी ढाचामा चलिरहेको सरकारी स्वामित्वको कम्पनिले प्रतिस्पर्धा गर्नु कम चुनौतिपूर्ण नहुने उनको भनाइ छ । ‘निर्णय प्रक्रिया ढिलो हु“दा टेलिकमको सेवा प्रभावकारी हुन सकेको छैन । एनसेलले एक घण्टामा गर्न सक्ने निर्णय गर्न टेलिकमलाइ कहिलेकाहि ६ महिना लाग्छ ।’ कंसाकार भन्छन् । 
टेलिकमले गत आर्थिक बर्ष २०६८/६९ मा ४.१७ प्रतिशतले आम्दानी बढाउने लक्ष्य राखेको थियो । उसको वित्तिय विवरण आइसकेको छैन । एनसेलको लगानीकर्ता कम्पनी टेलियासोनेराले भने युरो–एशियामा गरेको लगानीमध्ये नेपालमा सबैभन्दा बढी फलदायी भएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार एनसेलले सन् २०१२ को जनवरी देखि मार्च सम्मको तिन महिनाको अवधिमा ७ अर्ब ८८ करोड रुपैयाको कारोबार गरेको छ । टेलिकमको तिन महिनाको कारोबार भने आठ अर्ब ८९ करोड रुपैया छ ।
आर्थिक बर्ष २०६७/६८ मा टेलिकमले सरकारलाई १६ अर्ब २७ करोड रुपैया राजस्व बुझाएको थियो । गत आवको विवरण आइसकेको छैन । त्यस्तै टेलिकमले माथिल्लो तामाकोसी जलविद्युत् अयोजनालाई ६ अर्ब रुपैया“ ऋण दिएको छ । यही आयोजनामा ६० करोड रुपिया सेयर लगानी गरेको छ । टेलिकमले माथिल्लो त्रिशूली तेश्रो–बी मा नेपाल विद्युत् प्राधिकरण सरह आधा लगानी गरेर बनाउने सहमति गरेको छ ।
निजी क्षेत्रसग प्रतिस्पर्धा गर्नुपर्ने सेवा प्रदायक निकाय भएकाले सुधारका लागि खरिद ऐनमा संशोधन गरेर महगो भए पनि गुणस्तरीय सामान किन्न पाउने अधिकार दिनुपर्ने र रणनितिक साझेदार भित्र्याउने प्रक्रिया तत्काल अगाडी बढाउनु पर्ने सुझाव विज्ञहरुको छ ।

Thursday, July 19, 2012

बुद्ध एयरलाई हवाई सम्पर्क बढाउन ऋण

काठमाडौं, ४ साउन । विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा हवाई यात्राको स्थिति सुधारका लागि बुद्ध एयरलाई ऋण प्रदान गरेको बताएको छ । आइएफसीको नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै बुद्ध एयरलाई प्रदान गरिएको ऋणले नेपालमा हवाई यातायातको सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
‘आइएफसीको ऋणले कम्पनीलाई दोस्रो एटिआर ७२ जहाज खरिद गर्न र कम्पनी सञ्चालनमा सहयोग पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ । हवाई सेवाको सुधारसँगै पर्यटकका लागि बढी विकल्प प्राप्त हुने र नेपाली जनताका लागि हवाई सम्पर्क विस्तार हुने आइएफसीले दाबी गरेको छ । बुद्ध एयरले सुगम क्षेत्रका १० वटा गन्तव्यमा उाडन गरिरहेको छ ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आइएफसीको दोस्रो लगानीले कम्पनीलाई यस क्षेत्रमा आफ्नो सेवा एकीकृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालजस्तो पहाडी भूगोल भएको मुलुकका लागि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा राम्रो बनाउनु अत्यावश्यक रहेको उनको भनाइ छ । आइएफसीले हालै बुद्ध एयरलाई ६१ करोड ४१ लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ । थप नयाँ एटिआर ७२ जहाज खरिदका लागि बुद्ध एयर र आइएफसीबीच ऋण सम्झौता भइसकेको छ । आगामी महिना जहाज आइपुग्ने बुद्ध एयरले जनाएको छ । फ्रेन्च–इटालियन उत्पादनको एटिआर ७२–५०० मोडलको जहाज डबल इन्जिन टर्बोप्रोप हो । हाल बुद्ध एयरले सोही मोडलका दुईवटा एटिआर ७२ र तीनवटा एटिआर ४२–३२० तथा दुईवटा डी १९०० बिचक्राफ्ट मोडलका जहाज सञ्चालन गरिरहेको छ । यसअघि सन् २००८ मा आइएफसीले दुईवटा एटिआर ७२ जहाज किन्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द ढोका ह्यांगर निर्माण गर्न १० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । हाल कम्पनीका दुवै एटिआर सञ्चालनमा छन् भने अत्याधुनिक सुविधासहितको ह्यांगरसमेत सञ्चालनमा आइसकेको छ ।
आइएफसीका पूर्वाधार र प्राकृतिक स्रोत साधनका लागि एसियाका निर्देशक अनिता जर्जले आइएफसीका लागि नेपालमा बढिरहेको पूर्वाधारको माग सम्बोधन गर्नु रणनीतिक प्राथमिकता रहेको बताएकी छिन् । ‘हामीले बुद्ध एयरमा गरिरहेको लगातारको लगानीले कम्पनीलाई हवाई यात्राका लागि बढी विकल्प दिन र नेपालीका लागि यात्राको समय घटाउन मद्दत पुग्नेछ,’ जर्जले भनेकी छन् । आइएफसी निजी क्षेत्रमा लगानी गर्ने विश्व बैंकअन्तर्गतको सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था हो ।
कम्पनीले चार दशमलव १५ देखि चार दशमलव २५ सम्म ब्याजदरमा आइएफसीसँग ऋणसम्झौता गरेको हो । गत बर्ष बुद्ध एयर, यती एयरलाइन्स अग्नि एयर, गुण एयर र सिम्रिक एयरको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनका लागि प्रक्रियाअगाडि बढ्दा आइएफसीले आफ्नो ऋण चुक्ता नगरी यसमा लगानी नगर्न सुझाब दिएपछि बुद्ध एयर यसबाट पछि हटेको थियो

Tuesday, July 17, 2012

पर्यटकको बसाइ अवधि बढ्यो

सौर्य दैनिक
काठमाडौं, २ साउन । आर्थिक वर्ष ०६८/६९ को आठ महिनामा नेपाल आउने पर्यटकको बसाइ अवधि बढेको छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणले यो अवधिमा पर्यटकको औसत नेपाल बसाइ अवधि अघिल्लो आवको सोही अवधिका तुलनामा बढेको देखाएको हो ।
सर्वेक्षण प्रतिवेदनअनुसार विदेशी पर्यटकको बसाइ अवधि १२.६७ दिनबाट बढेर १३.१२ दिन पुगेको छ । पर्यटन वर्ष ०११ मा सरकारले पर्यटकको बसाइ अवधि १३ दिन पुर्‍याउने लक्ष्य थियो । गत आवमा पर्यटकबाट हुने आम्दानी पनि बढेको सर्वेक्षणले देखाएको छ । प्रतिपर्यटक आम्दानी तीन हजार ६७ रुपियाँ र पर्यटकले नोलमा प्रतिदिन गर्ने खर्च तीन हजार एक सय १२ रुपियाँ पुगेको सर्वेक्षणमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार ५३.७ प्रतिशत पर्यटक सामान्य भ्रमणका लागि नेपाल आएका छन् । त्यस्तै ११.७ प्रतिशत ट्रेकिङ तथा पर्वतारोहणका लागि र ८.७ प्रतिशत धार्मिक उद्देश्यका लागि नेपाल आएको तथ्यांकले देखाएको छ । ४.१ प्रतिशत पर्यटक मनोरन्जनका लागि, २.४ प्रतिशत व्यापारिक प्रयोजनका लागि, ३.३ प्रतिशत अफिसियल कामका लागि, १.५ प्रतिशत सभा–सम्मेलनका लागि, ०.३ प्रतिशत र्‍याºिटङका लागि र ४.१ प्रतिशत अन्य प्रयोजनका लागि नेपाल आएका छन् । ९.५ प्रतिशतले भने नोपल आउनुको उद्देश्य खुलाएका छैनन् ।
गत आवमा नेपाल आउने पर्यटक २२.१ प्रतिशतले बढेको सरकारी तथ्यांक छ । अन्तर्राष्ट्रिय स्तरमा भएको नेपालको प्रचारप्रसार र पर्यटन वर्ष राष्ट्रिय अभियानका कारण यो संख्यामा पर्यटक बढेका हुन् ।
अन्तर्राष्ट्रि्रय बजारमा नेपाल पर्यटकीय गन्तव्यका रूपमा पुनस्र्थापित हुन सफल भएको सरकारको दाबी छ । पर्यटन वर्ष अभियानसँगै नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थुप्रै अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यक्रम भएका थिए । यो अवधिमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएन र बिबिसीमा विज्ञापन गरिएको थियो । 
कन्जुमर मार्केटलाई लक्षित गरेर नेपाली पर्यटनको प्रवद्र्धन गरिएको यो पहिलो पटक हो । गत आवमा नेपाल पर्यटन बोर्ड तथा निजी पर्यटन व्यवसायीले थुप्रै पर्यटन मेला तथा बिटुबी कार्यक्रममा भाग लिए भने नेपालमा करिब एक दर्जन अन्तर्राष्ट्रिय स्तरमा सम्मेलनहरू भए । पर्यटन वर्ष ०११ मा सरकारले दश लाख पर्यटकको लक्ष्य राखेको भए पनि करिब सात लाख पर्यटक नेपाल भित्रिएका थिए । बढी पर्यटक नेपाल आउने प्रमुख पाँच मुलुकको सूचीमा भारत २० प्रतिशत, चीन ८.४ प्रतिशत, श्रीलंका ८.१ प्रतिशत, अमेरिका ५.७ प्रतिशत र बेलायत ५ प्रतिशत छन् । सर्वेक्षणअनुसार पर्यटन पूर्वाधारमा भने उल्लेख्य प्रगति देखिएको छैन । सरकारले पर्यटन वर्षसँगै पर्यटन पूर्वाधारमा पनि विस्तार गर्ने घोषणा गरेको थियो । गत आवमा नै सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरे पनि होटल क्षेत्रमा लगानी बढ्न सकेको छैन ।
सर्वेक्षणअनुसार अहिले देशभरका एक सय ६ तारे होटलले नौ हजार तीन सय २३ बेड उपलब्ध गराइरहेका छन् । गैरतारे होटल भने गत आवको पहिलो आठ महिनामा ३५ वटा थपिएको उल्लेख छ । पर्यटकीय गतिविधि र पर्यटन क्षेत्रको आम्दानी बढे पनि कुल गार्हस्थ उत्पादन (जिडिपी) मा भने पर्यटन क्षेत्रको योगदान बढ्न नसकेको सर्वेक्षणले देखाएको छ । जिडिपीमा पर्यटनको योगदान तीन प्रतिशत पुर्‍याउने सरकारी लक्ष्य भए पनि यो प्रतिशत १.८ प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ ।

Tuesday, July 10, 2012

गुपचुपमा सेयर किनबेच

सौर्य दैनिक
काठमाडौं, २६ असार । निजी क्षेत्रका दुईवटा दूरसञ्चार कम्पनीले नियामक निकायलाई जानकारी नै नगराई सेयर किनबेच गरेका छन् । एनसेल र नेपाल स्याटलाइट टेलिकम (हेल्लो नेपाल) ले दूरसञ्चार प्राधिकरणलाई जानकारी नगराई सेयर किनबेच गरेका हुन् ।
गत चैत अन्तिम साता फिनल्यान्डको दूरसञ्चार प्रदायक कम्पनी टेलियासोनेराले हेलो नेपालको सेयर किनेको थियो । तर, यसको औपचारिक जानकारी अहिलेसम्म सम्बन्धित कम्पनीले प्राधिकरणलाई गराएका छैनन् । ‘सेयर किनबेचको औपचारिक जानकारी प्राधिकरणलाई छैन,’ प्राधिकरण सञ्चालक समिति सदस्य गिरेन्द्र अधिकारीले भने । यसबारे कम्पनी रजिस्ट्रारको कार्यालयसँग पनि जानकारी मागिएको तर कुनै जानकारी प्राप्त नभएको उनले बताए ।
सेवाप्रदायकको सेयर कारोबार पारदर्शी हुनुपर्छ भन्नेमा प्राधिकरणको जोड रहेको अधिकारीको भनाइ छ । ‘सबै कारोबार पारदर्शी हुनुपर्छ, मोनोपोली नहोस् भन्नेमा पनि हामी सचेत छौँ,’ उनले भने । विदेशमा सेयर कारोबार हुनु आपत्तिजनक भएको उनको भनाइ छ । एनसेल र हेलो नेपालको सेयर कारोबार विदेशमा भएको बताइएको छ । ‘ऐनमा भएका छिद्र समातेर विभिन्न कारोबार भइरहेका छन्, ऐनमा नै संशोधन गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।
टेलियासोनेराले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार उसले हेलो नेपालको विदेशी साझेदार साइप्रसको होल्डिङ कम्पनी एअरबेल सर्भिस लिमिटेडको ५१ प्रतिशत सेयर किनेको छ । हेलो नेपालमा एअरबेलको ५० प्रतिशत सेयर छ । कम्पनीमा बाँकी सेयर एकीकृत नेकपा (माओवादी) निकट व्यापारी अजय सुमार्गीको रहेको बताइएको छ ।
एनसेलले आधा सेयर किनेसँगै हेल्लो नेपालले आफ्ना सबैजसो कर्मचारीलाई अनिवार्य अवकाश दिएको छ । स्रोतका अनुसार एनसेलले आफ्नो ५० प्रतिशत सेयर भएको नेपाल स्याटलाइट कम्पनीको सम्पूर्ण जिम्मा लिइसकेको छ । नेपाल स्याटलाइटको सबै काम अहिले एनसेलकै हेडक्वार्टर रहेको कृष्णटावरबाट हुने गरेको बताइएको छ । नेपाल स्याटलाइटमा अहिले कार्यकारी प्रमुखका रूपमा एकजना मात्रै कर्मचारी कार्यरत छन् । अरू सबै कर्मचारीलाई दुई महिनाअघि नै घर पठाइएको थियो । कम्पनी घाटामा गएको भन्दै व्यवस्थापनले कर्मचारीलाई ‘गोल्डेन ह्यान्डसेक’ को अफर गरेको बताएको छ ।
टेलियासोनेराको प्रतिवेदनअनुसार नेपाल स्याटलाइटमा अब उसको १७ करोड ४० लाख स्विडिस क्रोनर लगानी हुनेछ । यो करिब दुई अर्ब १२ करोड १० लाख नेपाली रुपियाँ हो । सेयर किनबेचबारे कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत जानकारी नभएको बताइएको छ । कुनै पनि कम्पनीले सेयर किनबेच गर्दा कम्पनी रजिस्ट्रार कार्यालयमा आवेदन दिएर स्विकृति लिनुपर्छ ।
नेपाल स्याटलाइटले एकीकृत माओवादीका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा सन् २००८ मा ग्रामीण दूरसञ्चार सेवा प्रदायक कम्पनीका रूपमा अनुमति पाएको थियो । यसले मध्यपश्चिमका सबै जिल्लामा दूरसञ्चार सेवा प्रदान गरिरहेको छ । मध्यमश्चिमाञ्चल क्षेत्रमा हेलो नेपाल दूरसञ्चार सेवा विस्तार गरेको नेपाल स्याटलाइट टेलिकम सुरुमा मेरो मोबाइल कम्पनीको सिम बिक्रीका लागि स्थापित आधिकारिक कम्पनी थियो । तत्कालीन समयमा स्पाइस सेल नेपालका प्रबन्ध निर्देशक रहेका अजय सुमार्गीले पत्नी सम्झना अर्याल अर्थात् अस्मिता सुमार्गीका नाममा नेपाल स्याटलाइट टेलिकम स्थापना गरेर देशभर मेरो मोबाइलको सिम वितरणको जिम्मा दिएका थिए । पछि स्पाइस सेलबाट अलग भएका सुमार्गीले यही कम्पनीमार्फत पश्चिम नेपालमा हेलो नेपाल ब्रान्डको सेवा सुरु गर्न अनुमति लिएका हुन् ।
दूरसञ्चार कम्पनीहरूको स्वामित्व अपारदर्शी भएको भन्दै गत वर्ष साउनमा व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको फ्रिक्वेन्सी छानबिन उपसमितिले दूरसञ्चार सेवाप्रदायकको स्वामित्व प्रस्ट पार्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सेवाप्रदायक कम्पनीका लगानीकर्ता को–को हुन्, कसको कति सेयर छ, कति सदस्य छन् लगायतका सम्पूर्ण विवरण दिन उपसमितिले भनेको थियो ।

Saturday, July 7, 2012

मनसुनले हवाई सेवा प्रभावित

सौर्य दैनिक
काठमाडौं, २२ असार । मनसुन सुरु भएपछि मुलुकभरका दुर्गम स्थानमा सञ्चालित विमानस्थलको हवाई सेवा प्रभावित भएका छन् । खराब मौसमका कारण दुर्गम गन्तव्यका आधाजसो उडान रद्द हुने गरेका छन् ।
मौसमकै कारण सुगम गन्तव्यमा समेत शतप्रतिशत उडान हुन सकेको छैन । विशेषगरी पूर्वका लुक्ला, फाप्लु, स्याङ्बोचे, लामीडाँडा, भोजपुर, तुम्लिङ्टार, रुम्जाटारलगायतका दुर्गम गन्तव्यमा उडान हुनसकेको छैन । त्यस्तै पश्चिमका हुम्ला, जुम्ला, डोल्पा र मुगुमा पनि हवाई सेवा प्रभावित भएको छ । जुम्लाको खलंगा, डोल्पाको दुने र मुगुको ताल्चा विमानस्थलमा दुई साता अघिदेखि नै हवाई सेवा प्रभावित भएको बताइएको छ । यो क्षेत्रमा खलंगाबाहेक सबै विमानस्थल कच्ची छन् ।
सधैँजसो व्यस्त रहने लुक्ला विमानस्थलमा दैनिक सरदर पाँच उडान मात्र भइरहेको छ । सीता एयरका बजार प्रमुख दीपेन्द्र शाहीका अनुसार लुक्लामा विगत करिब एक महिनादेखि नियमत उडान हुन सकेको छैन । बुधबार चारवटा उडानको सेड्युल भए पनि दुइटा मात्र हुन सकेको उनले बताए । ‘कहिले ३–४ दिनसम्म हुँदैन, कहिले एक दुइटा हुन्छ,’ शाहिले भने । काठमाडौंभन्दा पनि लुक्लाको मौसमका कारण नियमित उडान हुन नसकेको उनले जानकारी दिए । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार दैनिक हुने वर्षाले आन्तरिक उडान प्रभावित भइरहेको छ । सरदरमा दैनिक ४० प्रतिशत उडान रद्द भइरहेको कार्यालयले जनाएको छ । मौसम राम्रो हुँदा विमानस्थलबाट दैनिक दुई सय पचास उडान हुन्छन् ।
काठमाडौंबाट पोखरा तथा लुक्लाको उडान प्रभावित हुँदा पर्यटक आवातजावतमा समस्या परेको छ । नेपाल वायुसेवा निगम, तारा एयर र अग्नि एयरले काठमाडौं–लुक्ला गन्तव्यमा दैनिक उडान भर्ने गर्छन् । त्यस्तै पोखरामा बुद्ध एयर, यती एयरलाइन्स र गुण एयरलाइन्सले उडान गर्छन् । काठमाडांै–लुक्लाका नियमित उडान रद्द हुँदा ट्ेरकिङका लागि सगरमाथा बेस क्याम्प गएका पर्यटकलाई राजधानी फर्किन समस्या परेको छ । उता जोमसोममा समेत खराब मौसमका कारण आंशिक मात्र उडान भइरहेको छ । पोखराबाट दैनिक एक दर्जन बढी उडान जोमसोमका लागि हुने गरेका छन् । नेपाल वायुसेवा निगम, अग्नि र तारा एयरले जोमसोममा उडान गर्छन् ।
काठमाडौंबाट सबैभन्दा नजिकको सिमरा विमानस्थलमा समेत पूर्णरूपमा उडान हुन नसकेको विमान कम्पनीहरूले जनाएका छन् । सिमरामा गुण र बुद्ध एयरले दैनिक एक दर्जन उडान गर्छन् । त्यस्तै बिहान हुने माउन्टेन फ्लाइट पनि मौसमका कारण प्रभावित भएका छन् ।
वायुसेवा सञ्चालक संघ (आयोन) ले मनसुनको सुरुवातसँगै हवाई दुर्घटना बढ्नसक्ने भन्दै पूर्वसचेतना अपनाइने बताएको छ । आयोनका प्रवक्ता सागरकुमार आचार्यले मनसुन सुरु हुनुअघि पाइलटलाई मौसम सचेतनासम्बन्धी कार्यक्रम गरिएको बताए । नागरिक उड्डयन प्राधिकरणले पनि सबै विमान कम्पनीलाई सुरक्षासम्बन्धी पूर्वसचेतनाका लागि सर्कुलर गरिएको उनले जानकारी दिए । नेपालमा अधिकांश हवाई दुर्घटना मनसुनको समयमा र दुर्गममा हुने गरेका छन् ।

Wednesday, July 4, 2012

एयर एसियाको काठमाडौं उडान सुरु


सौर्य समाचार

काठमाडौं, २० असार । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियाको सस्तो सेवा दिने ‘बजेट’ एयरलाइन्स एयर एसिया एक्सले मंगलबारदेखि क्वालालम्पुर–काठमाडौं सिधा उडान सुरु गरेको छ । यससँगै यो सेक्टरमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको एकाधिकार पनि तोडिएको छ ।

तत्कालका लागि साताको मंगलबार र बिहीबार दुई उडान गरिने पहिलो उडानमा काठमाडौं आएका कम्पनीका अधिकारीहरूले बताएका छन् । सरकारसँग भने एयर एसियाले प्रतिदिन एउटा उडान गर्ने अनुमति लिएको छ । नागरिक उड्डयन प्राधिकरणबाट उसले अपराह्न २ बजे अवतरण र साढे ३ बजे उडानको सेड्युल पाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो अत्यधिक व्यस्त समय हो ।
पहिलो उडानबाट काठमाडौं आएका कम्पनीका उच्च अधिकारी तथा यात्रुलाई स्वागत गर्न विमानस्थलमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशराज जोशी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धर तथा त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमन विमानस्थल पुगेका थिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा एअर एसियाका फ्लाइट अपरेसन डाइरेक्टर क्याप्टेन अजानुदिनले कम्पनीका लागि नेपाल साहसिक गन्तव्य भएको बताए ।
एअर एसियाको नेपालस्थित आधिकारिक प्रतिनिधि इन्सेन्टिभ टुर्स एन्ड ट्राभलका कार्यकारी अध्यक्ष हरिमान लामाले एयर एसियाको उडानले मलेसिया–नेपाल आवतजावत गर्ने नेपाली श्रमिक तथा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने बताए । उडान सुरुवातसँगै मलेसिया तथा आसिएन क्षेत्रबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुने लामाले दाबी गरे । उनका अनुसार काठमाडौं–क्वालालम्पुरको सुरुवाती भाडादर ११ देखि १७ हजार रुपियाँ तोकिएको छ । यसमा कर समावेश गरिएको छैन । यो दर यात्रु चापअनुसार घटबढ हुनसक्ने उनले बताए ।
एयर एसिया एक्स सस्तो तर लामो दूरीमा उडान गर्ने बजेट एयरलाइन्स हो । बजेट एयरलाइन्स भए पनि उडानमा खाना र पानी उपलब्ध गराइने कम्पनीले दाबी गरेको छ ।
नेपाल वायुसेवाको काठमाडौं–क्वालालम्पुर एकतर्फी भाडा २३ हजार ८ सय रुपियाँ छ । निगम काठमाडौंबाट सिधै क्वालालम्पुर जाने एकमात्र विमान सेवा हो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजाबाहक एयर अरेवियाले फिÏथ फ्रिडम राइटको प्रयोग गरी काठमाडौं–क्वाललम्पुर सिधा उडान गर्ने अनुमति पाएको भए पनि विवादका कारण उाडन सुरु गर्न सकेको छैन । काठमाडौंबाट क्वालालम्पुर एकतर्फी चार घन्टा १५ मिनेटदेखि साढे चार घन्टा उडान दूरीमा पर्छ ।
एयर एसियाले तीन सय ७७ यात्रु क्षमताको एयरबस ए ३३०–३०० जहाजबाट उडान सुरु गरेपछि निगमलाई प्रतिस्पर्धा गर्न गाह्रो हुने देखिएको छ । निगमले अहिले क्वालालम्पुरमा साताको तीन उडान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा जाने र मलेसियाली पर्यटक तथा मलेसिया हुँदै आउने विदेशी पर्यटकलाई लक्षित गरेर उडान सुरु गरेको कम्पनीले जनाएको छ । जुलाईभरिका लागि म्यानपावर कम्पनीबाट टिकट बुक भइसकेको बताइएको छ । मलेसियामा हाल साढे चार लाखभन्दा बढी नेपाली रोजगारीका लागि गएका छन् । दैनिक करिब चार सय नेपाली रोजगारीका लागि मलेसिया गइरहेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।