Sunday, September 30, 2012

लहडका भरमा एयरलाइन्स

मेदिनीप्रसाद शर्मा, पूर्वमहानिर्देशक नेपाल, नागरिक उड्डयन प्राधिकरण

सीता एयरको शुक्रवार भएको दुर्घटनासँगै नेपालमा यस वर्ष दुईवटा हवाई दुर्घटना भइसकेका छन् । सन् १९४९ मा नेपाली आकाश उडानको लागि खुल्ला भएपछि भएका ७० भन्दा बढी विमान दुर्घटनामा परी सात सय भन्दा बढीको ज्यान गइसकेको छ । विमान दुर्घटनाको दुखद श्रृंखला हरेक वर्ष दोहोरिरहेको छ । बारम्बार जहाज दुर्घटना हुन थालेपछि नेपाली आकाश असुरक्षित भएको महशुस हुन थालेको छ । दुर्घटना पछि छानविन आयोग गठन हुने अनि आयोगले केही महिनापछि सुझावसहितको प्रतिवेदन दिने यो नियमितता जस्तै भएको छ । प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन भए/नभएको हेर्ने न कुनै निकाय छ न त दक्ष जनशक्ति नै । किन असुरक्षित हुदैछ त नेपाली आकाश ? यसमा को कति जिम्मेवार छ ? हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउन कसले के गर्नुपर्छ ? यिनै विषयलाई लिएर विभिन्न हवाई दुर्घटना छानविन आयोगको संयोजक भइसकेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक मेदिनिप्रसाद शर्मासँग सौर्य दैनिकका लक्ष्मीप्रसाद खतिवडाले गरेको कुराकानी । 

नेपालको हवाई उड्डयन सुरक्षालाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
नेपाली आकाश असुरक्षित बन्दै गईरहेको कुरा सत्य हो । यहाँ केही न केही कमी कमजोरी पक्कै छन् । बारम्बार भईरहेका दुर्घटनाले हवाई सुरक्षामा चुनौति थपिएको छ । सडक दुर्घटना बढिरहेका बेला आमजनता हवाई यातायात प्रति आकर्षित हुदँै गइरहेका छन् । तर, पछिल्ला केही समयमा भएका ठूला हवाई दुर्घटनाले आम मानिसको मनमा चिसो पसेको छ । उड्डयन सुरक्षामा के कस्ता कमजोरी छन् भन्ने बारेमा विभिन्न समयमा गठन भएका आयोगले थुप्रै प्रतिवेदन दिएका छन् । ती प्रतिवेदनले सरकार, नियामक निकायको रूपमा रहेको नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायक वायुसेवा कम्पनीहरूलाई सुरक्षा सुझावहरू पनि दिने गरेका छन् । तर, तिनको कार्यान्वयन प्रभावकारी नहुँदा हवाई यातायात पूर्णरूपमा सुरक्षित हुन सकेको छैन ।

छानविन आयोगले दिने प्रतिवेदन किन कार्यान्वयन हुँदैनन् त ?
दुई बर्ष अघि सरकारले हवाई दुर्घटना प्रतिवेदनको कार्यान्वयन अवस्थाबारे अध्ययन गर्न एउटा समिति गठन गरेको थियो । यसको संयोजक पनि म नै थिएँ । प्रतिवेदनले नेपाली आकाशमा प्रति एक लाख घन्टा उडानमा दुईदेखि तीनवटासम्म दुर्घटना भएको देखाएको थियो । प्रतिवेदन अनुसार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन आयोगको प्रतिवेदनले दिएका सुझाव मध्ये ३५ प्रतिशत मात्र पालना गर्ने गरेको देखियो । प्राधिकरण र सेवा प्रदायकले पनि पूर्णरूपमा सुझाव कार्यान्वयन गरेका छैनन् । यसबाट के देखिन्छ भने हवाई सुरक्षा प्रति सरोकारवालाहरू गम्भीर छैनन् ।

प्रतिवेदन कार्यान्वयनमा के समस्या छन् त ?
मुख्य समस्या पूर्वाधारको हो । हामीकहाँ पर्याप्त पूर्वाधार छैन । भौतिक पूर्वाधारको पनि कमी छ र जनशक्तिको पनि । स–साना कुरामा समेत प्राधिकरणले ध्यान दिएको देखिदैँन । विमानस्थल प्रशासनले वरिपरि उड्ने चरा समेत नियन्त्रण गर्न सकेको छैन । कमसेकम ‘बेसिक’ पूर्वाधार त हुनुपर्‍यो । यसबाहेक नियामक निकायसँग पर्याप्त रूपमा दक्ष जनशक्ति छैन । कर्मचारीलाई तालिम दिएर क्षमतावान बनाउनुपर्‍यो । प्राविधिक ज्ञान भएका जनशक्ति तयार गर्नुपर्‍यो । प्राधिकरण सबल नभएसम्म प्रतिवेदन पूर्णरूपमा कार्यान्वयन हुँदैनन् । किनकि, बाध्यात्मक रूपमा सुरक्षा सुझाव कार्यान्वयन गराउने निकाय प्राधिकरण नै हो । उड्डयन सुरक्षामा प्राधिकरणको भूमिका प्रभावकारी भएको भए प्रतिवेदन कार्यान्वयन हुन्थे । प्राधिकरण जति सबल र सक्षम हुनुपर्ने हो छैन । नीति नियमहरू पुराना छन् । अनुगमनका लागी आधुनिक प्रविधि छैन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले तोकेका न्यूनतम मापदण्ड पूरा गर्नका लागी लगानी गर्नुपर्छ ।

सेवा प्रदायकसँग चाहिँ पर्याप्त पूर्वाधार छ ?
उनीहरूको अवस्था त झन नाजुक छ । विना कुनै पर्याप्त लगानी र पूर्वाधार सेवा सञ्चालन सुरु गर्दा प्रभावकारी हुने कुरा भएन । वायुसेवा सञ्चालन गर्न ठूलो लगानी चाहिन्छ । तर, हामीकहाँ ठूला लगानीकर्ता नै छैनन् । कागज मात्र देखाएर एयरलाइन्स चलाउने प्रवृत्ति छ । यस्तो भएपछि उड्डयन सुरक्षाको ग्यारेन्टी हुँदैन । यसलाई सरकारले कडाइका साथ रोक्नुपर्छ । विमान कम्पनीलाई स्विकृति दिनुपूर्व नै कडाई गर्नुपर्छ । विना पूर्वाधार सेवा सञ्चालन गर्न दिनु हुँदैन । हरेक बर्ष जहाज नविकरण गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । कुनै पूर्वाधार नहेरी कागजको भरमा लाइसेन्स दिने काम रोक्नुपर्छ । पूर्वाधारको कुरामा कडा सर्त राखिनुपर्छ ।

वायुसेवा कम्पनी कत्तिको जिम्मेवार छन् ?
विमान कम्पनीहरू सुरक्षा सुझावहरू कार्यान्वयन गरेको दावी गर्छन् । तर, वास्तविकतामा त्यस्तो हुँदैन । पछिल्लो समय सेवाप्रदायकमा पनि गम्भीरता बढेको छ । उड्डयन सुरक्षा कमजोर हुँदा कम्पनीको विश्वसनियता घट्ने र त्यसको असर आर्थिक कारोबारमा पर्ने भएपछि विमान कम्पनीहरूले गम्भीर बनेको हुनुपर्छ । प्रतिस्पर्धा बढेका कारण बजारमा टिक्न पनि सुरक्षित सेवा दिनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ विमान कम्पनीहरूले । नाफा मात्र हेर्नु भएन, सुरक्षामा पनि गम्भीर हुनुपर्‍यो किनकि अन्तत यसको असर कम्पनीलाई नै पुग्छ । सानो लगानी गरेर लहडका भरमा एयरलाइन्स चलाउन खोज्नु गलत हो ।

अधिकांश दुर्घटनामा पाइलटलाई दोषी देखाइने कारण के हो ?
हवाई उडानमा पाइलटको निर्णय महत्त्वपूर्ण हुन्छ । अझ नेपालजस्तो भौगोलिक अवस्था भएको ठाउँमा त अझ बढि । पाइलटले तत्काल निर्णय गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कहिलेकाहिँ गलत निर्णय हुनजान्छ र दुर्घटना हुन्छ । धेरै केसमा यस्तो देखिएको छ । यसबाहेक विमानस्थलको भौतिक पूर्वाधार, रनवेको अवस्था, सञ्चार उपकरण आदि पनि कारक तत्व हुन्छन् । पाइलटलाई दिइने तालिममा पनि कमजोरी छ । विदेशमा हुने तालिममा नेपालका दुर्गम क्षेत्रका विमानस्थललाई आधार बनाइदैन । हरेक विमानस्थलको छुट्टाछुट्टै तालिम दिइनुपर्छ ।

समग्रमा हवाई सुरक्षा मजबुत बनाउन कसले के गर्नुपर्छ ?
उड्डयन सुरक्षा मजबुत बनाउन सरकार, प्राधिकरण र सेवाप्रदायक सबैको भूमिका महत्त्वपूर्ण हुन्छ । सरकारले नियम कानुन समयसापेक्ष बनाउनुपर्छ । प्राधिकरणले अनुगमन प्रभावकारी बनाउनुपर्छ र सेवा प्रदायक जिम्मेवार हुनुपर्छ ।
प्राधिकरणको अनुगमन निकै कमजोर छ । छानविन आयोगले औँल्याएका कुरा कार्यान्वयन भए/नभएको हेर्ने छुट्टै निकाय चाहिन्छ । विमानस्थल सुदृढिकरण गर्ने हो सुरक्षामा सुधार आउँछ । धेरै विमानस्थलमा न्यूनतम पूर्वाधार पनि छैन । यस्तो अवस्थामा पनि कम्पनीहरूले उडान गरिरहेका छन् ।
दक्ष जनशक्ति निर्माणका लागी पनि प्राधिकरणले लगानी गर्नुपर्छ । सेवाप्रदायकले तोकिएका मापदण्ड पुरा गरे/नगरेको हेर्ने जनशक्ति नै छैन । नेपाली आकाशमा विभिन्न कम्पनी र मोडलका जहाज उडिरहेका छन् तर तिनका विज्ञ छैनन् ।
हवाई सुरक्षाका लागी विज्ञहरू सम्मिलित छुट्टै स्थायी संरचना निर्माण गर्नुपर्छ । यसले दुर्घटनाको छानविन गर्नुका साथै सरकारलाई सुरक्षासम्बन्धि सुझाव पनि दिन्छ । प्रतिवेदन कार्यान्वयन भए/नभएको पनि यसले हेर्छ । प्रभावकारी अनुगमनको अभावमा जहाजमा प्राविधिक समस्या आइरहेका छन् बेलाबेलामा । तोकिएको समयमा पार्टपुर्जा तथा इन्जिन परिवर्तन भए नभएको अनुगमन छैन । जहाजमा प्रयोग भएका पार्टपुर्जा सक्कली छन् कि छैनन् हेर्नुपर्‍यो । नक्कली सामान प्रयोग भएपनि त्यो हेर्ने संयन्त्र नै छैन ।
सरकारले नीति नियममा समयसापेक्ष परिवर्तन गर्नुपर्छ । हचुवाको भरमा लाइसेन्स दिनु हुँदैन । सेवा सञ्चालनका लागी भौतिक पूर्वाधार लगायतका पर्याप्त आधार खोजिनुपर्छ । प्राधिकरणले नियमन प्रभावकारी बनाउनुपर्छ । यसका लागी पनि पूर्वाधार र दक्ष जनशक्ति आवश्यक पर्छ । छानविन प्रतिवेदनले दिएका सुझावहरू कडाइका साथ लागु गराउन पनि प्राधिकरणको भूमिका महत्त्वपूर्ण हुन्छ । दुर्गम क्षेत्रका विमानस्थलमा पूर्वाधार विस्तारका लागि सरकारले लगानी गर्नुपर्छ ।

Saturday, September 29, 2012

बस्तीबीचमा खस्यो जहाज

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १३  असोज । भक्तपुरको लोकन्थलीस्थित मनहरा खोलाकिनार दिनदिनै केटाकेटीले फुटबल खेल्ने ठाउँ हो । शुक्रबार एकाबिहानै यही ठाउँमा सीता एयरको जहाज ढुन्मुनिँदै खस्यो, जसमा रहेका सबै १९ यात्रुको मृत्यु भएको छ ।
यो नेपाली आकाशमा यस वर्षको दोस्रो ठूलो हवाई दुर्घटना हो । पाँच महिनाअघि मात्र मुस्ताङको जोमसोममा अग्नि एयरको जहाज दुर्घटना भएको थियो । दुई घनाबस्तीको बीचमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा सातजना नेपाली र १२ जना विदेशी नागरिक छन् । पर्यटक बोकेर लुक्लाका लागि ६ बजेर १७ मिनेटमा उडेको सो जहाज ६ बजेर २० मिनेटमै दुर्घटनामा परेको दुर्घटनास्थलमा रहेका त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा ठोक्किएकाले जहाज दुर्घटना भएको बताएको छ । दुर्घटनापछि तीन टुक्रा भएको चिल दुर्घटनास्थलनजिकै भेटिएको थियो । तथापि चरा ठोक्किएकै कारण दुर्घटना भएको पुष्टि भने भइनसकेको महाप्रबन्धक सुमनले बताए । ‘दुर्घटनास्थलमा मरेको चरा भेटिएकाले यो अनुमान गरिएको हो । बाँकी कुरा अनुसन्धानले देखाउँछ,’ उनले भने ।

विमानस्थल कार्यालयका अनुसार पाइलट विजय तन्डुकारले विमानस्थलको कन्ट्रोल टावरसँग चरा जहाजसँग ठोक्किएर अनियन्त्रित भएको जानकारी दिन भ्याएका थिए । चालकको एयर ट्राफिक कन्ट्रोलर
जहाजमा ठोक्किएको भनिएको चिल ।
(एटिसी) सँग भएको यही संवादका आधारमा पनि दुर्घटनाको कारण चरा भएको हुनसक्ने अनुमान गरिएको हो । महाप्रबन्धक सुमनले घटनाबारे जारी गरेको विज्ञप्तिमा चरासँग जहाज ठोक्किएको उल्लेख छ ।

उनका अनुसार यो लुक्लाका लागि शुक्रबारको दोस्रो उडान थियो भने सीता एयरको पहिलो । जहाजमा चरा ठोक्किएपछि आगो लाग्न सुरु भएको बताइएको छ । दुर्घटना भएको जहाजको पोजिसन हेर्दा आपत्कालीन अवतरणका लागि फर्किंदै गर्दा दुर्घटना भएको देखिन्छ । चालकले पानीमा ‘फोर्स ल्यान्ड’ गर्न खाजेको अनुमान विज्ञले गरेका छन् । पाइलटलाई तालिमका क्रममा आपत्कालीन अवतरण गर्नुपर्ने अवस्था आए जमिनको सट्टा पानीमा ‘ल्यान्ड’ गर्न सिकाइएको हुन्छ ।

‘यो केसमा पनि पाइलटले पानीमा ल्यान्ड गर्न खोजेको देखिन्छ,’ दुर्घटनास्थलमा भेटिएका प्राधिकरणका एक अधिकारीले भने । दुर्घटनास्थल विमानस्थलबाट ५ सय मिटरको दूरीमा पर्छ । त्रिभुवन विमानस्थलनजिकै जहाज दुर्घटना भएको यो तेस्रोपटक हो । यसअघि गत वर्ष असोजमा बुद्ध एयरको जहाज ललितपुरमा दुर्घटना भएको थियो भने दश वर्षअघि नेपाल वायुसेवाको जहाज स्वयम्भूनजिक दुर्घटनामा परेको थियो ।
विमानस्थल स्रोतका अनुसार जहाज उड्ने क्रममै केही असामान्य लक्षण देखिएको थियो । त्यसपछि एटिसीले चालकसँग जानकारी माग गर्दा चालक तन्डुकारले जहाज चरासँग ठोक्किएको जानकारी गराएका हुन् । टावर र चालकबीचको यो कुराकानीको केही मिनेटमै जहाज दुर्घटना भयो । सबै मृतकको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
के भन्छन् प्रत्यक्षदर्शी ?
गोरखापत्रका समाचारदाता लक्ष्मीप्रसाद उपाध्याय घरको छतमा बसेर छोरीलाई दूध खुवाउँदै थिए । जहाज उडेको देखाउँदै दूध खुवाइरहेका बेला अचानक एउटा जहाज मोडिएको उनले देखे । ‘उड्नेबित्तकै अर्को दिशातिर मोडिएको देखेर छक्क पर्दापर्दै जहाज बिस्तारै तल खस्यो,’ उनले भने ।
प्रत्यक्षदर्शीका अनुसार जहाज उड्दै गर्दा पुच्छरमा धुवाँ देखिएको थियो । मनोहरा खोलाकिनारको बगरमा खसेको ३/४ मिनेटपछि बल्ल आगो लागेको प्रत्यक्षदर्शीको भनाइ छ । ‘पुच्छरबाट धुवाँ निस्कँदै थियो, ढुन्मुनाउँदै यहाँ आएर खस्यो ।’ प्रत्यक्षदर्शी तुलसा पोखरेलले भनिन् । यात्रुहरू चिच्याएको आवाजसमेत सुनेको केहीले दाबी गरे । दुर्घटना हुनेबित्तिकै स्थानीय भेला भए पनि पड्किने डरले आगो निभाउन डराएका थिए । सामान्यतया दुर्घटनामा जहाज टुक्राटुक्रा हुने भए पनि यो दुर्घटनामा भने टुक्राटुक्रा भएको थिएन ।
सुरक्षा निकायका तीनै अंग सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त प्रयासले ४० मिनेटमा आगो निभाइएको थियो । आगो निभिसक्दा जहाजको पुच्छरबाहेक सबै भाग जलेको अवस्थामा थियो । सामान्यतया जहाज दुर्घटनामा पछाडिको भाग जलेको हुँदैन । जहाजभित्र रहेका शव पनि जलेर नचिनिने अवस्थामा थिए ।
को–को थिए जहाजमा ?
जहाजमा क्याप्टेन विजय तन्डुकार थिए भने को–पाइलट ताकेसी थापा थिए । त्यस्तै, एयर होस्टेज रुजा शाक्य थिइन् । थापाले सीता एयर प्रवेश गरेको दुई वर्ष भएको थियो भने शाक्य पाँच महिनादेखि त्यहाँ काम गरिरहेकी थिइन् । सीता एयरले सेवा सुरु गरेदेखि नै तन्डुकार यसमा थिए । ६ वर्ष जहाज उडाएपछि उनी क्याप्टेन भएका हुन् । उनले लुक्लामा विमान उडाउन थालेको भने साढे तीन वर्ष भएको थियो ।
मृत्यु हुनेमा ७ बेलायती छन् भने ५ चिनियाँ नागरिक परेका छन् । मृत्यु हुने विदेशीमा बेलायती नागरिकहरू आर इगल, सी डाभे, भी केल्ली, डी, टी ओकास, एस होल्डिङ, वी ओग्डेन तथा चिनियाँ नागरिकहरू निगम कियान, लिन उ, झिहाउ वाङ, चेन योङ, हुई उ छन् । चालक दलबाहेक मृत्यु हुने अन्य नेपालीहरूमा एलएन शेर्पा, श्रीमती एनके तामाङ, डी राई र कुमार मस्र्याङ्दी मगर रहेको सीता एयरले जनाएको छ । नेपाली सेनामा कार्यरत मगर टिकट नलिई सोझै विमानमा चढेको बताइएको छ ।
विमानमा लोडसिट भारबाहेक एक सय २० केजी वजन रहेको थियो । दुर्घटनाग्रस्त डोर्नियर जहाजको कलसाइन ‘९ एन–एएचए डी २२८’ हो । यसअघि जोमसोममा दुर्घटना भएको अग्नि एयरको जहाज पनि यही सिरिजको थियो । डोर्नियर जहाज नेपालमा दुर्घटना भएको यो छैटौँपटक हो ।
सीता एयरको तेस्रो दुर्घटना
एउटा डोर्नियर जहाजबाट नौ वर्षअघि सेवा सुरु गरेको सीता एयरको इतिहासमा यो तेस्रो दुर्घटना हो । उडान सुरु गरेको पहिलो वर्षमै सीताको जहाज लुक्लामा दुर्घटना भएको थियो । त्यसैगरी, दुई वर्षअघि पनि असोज महिनामै लुक्ला विमानस्थलमा सीताको जहाज दुर्घटनामा परेको थियो । सीतासँग तीनवटा डोर्नियर रहेकोमा शुक्रबारको दुर्घटनामा एउटा नष्ट भएपछि अब दुईवटा डोर्नियर बाँकी छन् ।
कस्तो जहाज हो डोर्नियर ?
दुईवटा इन्जिन हुने डोर्नियर आधुनिक प्रविधियुक्त जहाज हो । दुवै इन्जिन बन्द भए पनि यो जहाज हावामा तैरिँदै ‘ल्यान्ड’ हुनसक्ने विज्ञहरू दाबी गर्छन् । संसारका थुप्रै धनाढयले व्यक्तिगत जहाजका रूपमा जर्मनीमा बनेका डोर्नियर जहाज प्रयोग गरिरहेका छन् । सुरक्षा दृष्टिले यो जहाजलाई मजबुत नै मानिन्छ । नेपालजस्तो भौगोलिक विशेषता भएको मुलुकमा यो जहाज उपयुक्त हुने विज्ञहरू बताउँछन् । नेपालमा उडिरहेका डोर्नियर जहाज भने २० वर्षभन्दा पुराना छन् तर जहाजको इन्जिन तथा अन्य पार्टपुर्जा भने समय समयमा फेरिने गरिन्छ ।
कसरी ठोक्किन्छ चरा ?
जहाजमा चरा ठोक्किएको यो पहिलो घटना होइन । यसअघि गत असारमा भोजपुरबाट काठमाडौं आइरहेको नेपाल वायुसेवाको ट्विनअटरमा चरा ठोक्किएको थियो । त्यस्तै, विमान बंगलादेशको जहाजमा पनि चरा ठोक्किएको थियो । विमानस्थल वरपर बढेको फोहोरका कारण चराको संख्या बढेको छ । विशेषगरी बिहान तथा साँझ चराको संख्या बढी देखिन्छ आकाशमा । विमानस्थल वरपर फस्टाएका बधशाला र मासुजन्य पदार्थको गन्धका कारण चराको गतिविधि बढेपछि सुरक्षा खतरा बढेको प्राधिकरण अधिकारी स्वयंले समेत बताउँदै आएका थिए । विमानस्थल नजिकका सेकुवा क्याफेहरूले पनि समस्या सिर्जना गरेको बताइन्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार विमानस्थलको १३ किलोमिटर वरपर बधशाला र डम्पिङ साइट राख्न पाइँदैन । नेपालकै नागरिक उड्ययन नियमावली २०५८ मा पनि विमानस्थल वरपर तीन किलोमिटर क्षेत्रभित्र बधशाला राख्न र वातावरण दूषित गर्न नपाइने उल्लेख छ । तर, विमानस्थलको चारैतिर खोला किनारमा दर्जनौँ वधशाला छन् ।
विशेषगरी कालो चिल सुरक्षाका लागि खतरनाक मानिन्छ । गह्रौँ र बलियो भएकाले यो विमान छेउमा आइपुग्दा पनि भाग्न सक्दैन । विमानको इन्जिनको तीव्र हावाले समेत चरालाई विमानतिरै तान्छ । विशेषगरी विमान टेक अफ गर्ने र ल्यान्डिङ क्रममा पाँच सय फिट उचाइसम्म घुमिरहेका चराले अवरोध गर्ने गरेका छन् । विमानस्थलमा प्रशासनले चरा नियन्त्रणका लागि सिकारीको समेत व्यवस्था गरेको बताइएको छ । विमानस्थलदेखि तीन किलोमिटर वरपरका बाग्मती, मनहरा, हनुमन्ते र विष्ण्मती नदी किनारामा सयौँको संख्यामा बधशाला छन् ।
छानबिन आयोग गठन
दुर्घटनाको वास्तविकता पत्ता लगाउन सरकारले शुक्रबार नै छानबिन आयोग गठन गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन भएको हो । आयोगका सदस्यमा अग्नि एयरका डेपुटी इन्जिनियरिङ डाइरेक्टर एमके श्रेष्ठलगायत छन् । त्यस्तै, सदस्य–सचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य तोकिएका छन् । आयोगलाई प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।

Thursday, September 27, 2012

पर्वतीय पर्यटनमा साढे दुई अर्ब आम्दानी

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, ११ असोज । नेपालले सन् ०१२ को वसन्त ऋतुमा पर्वतीय पर्यटनसँग सम्बन्धित गतिविधिबाट साढे दुई अर्ब रुपियाँभन्दा बढी आम्दानी गरेको छ । हिमाल आरोहण रोयल्टी तथा यससँग सम्बन्धित विभिन्न आर्थिक क्रियाकलापबाट यो कारोबार भएको हो ।

पर्वतारोहणका क्षेत्रमा क्रियाशील निजी क्षेत्रका विभिन्न एजेन्सी तथा सरकारी अधिकारीका अनुसार नेपालको पर्वतीय पर्यटनमा यो वर्षको वसन्त ऋतुमा दुई अर्ब ३३ करोड २० लाख रुपियाँको कारोबार भएको छ । सगरमाथा र आसपासका क्षेत्रका होटलले गर्ने आम्दानी तथा विभिन्न एअरलायन्सले गर्ने कारोबार भने यसमा समावेस छैन । लुक्ला, नाम्चे, खुम्जुङलगायत क्षेत्रमा पाँच सयभन्दा बढी होटल छन् । सिजनका बेला यी सबै होटल भरिएका हुन्छन् । त्यस्तै सगरमाथा आरोहणका लागि पदयात्रा सुरु हुने लुक्ला विमानस्थलमा आधा दर्जन विमान कम्पनीले नियमित उडान गर्छन् । सिजनका बेला लुक्ला विमानस्थलमा दैनिक ६० वटासम्म उडान हुन्छ । अप्रिल र मे महिना हिमाल आरोहणका लागि मुख्य सिजन हो ।

एसियन ट्ेरकिङ प्रालिका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार यो वर्ष पर्वतीय पर्यटनका लागि सकारात्क रह्यो । यद्यपि तेस्रो मुलुकका पर्यटक बढ्न नसकेका कारण हिमाल आरोहणमा उल्लेख्य वृद्धि भने हुन सकेन । प्रत्यक्ष हवाई सम्पर्क अभावमा नेपालमा युरोप अमेरिकालगायत तेस्रो मुलुकका पर्यटकको संख्या बढ्न सकेको छैन । नेपालमा खासगरी अमेरिका, युरोप तथा मध्यएसियाका नागरिक पर्वतारोहणका लागि आउने गरेका छन् ।
व्यवसायीका अनुसार राज्यले सबैभन्दा बढी आम्दानी सगरमाथा आरोहणबाट गर्छ । सगरमाथा आरोहणका लागि सरकारले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर आरोहण शुल्क तोकेको छ भने अन्य हिमालको तुलनामा सगरमाथा आरोहणको खर्चसमेत धेरै गुणा बढी छ । शेर्पाका अनुसार सगरमाथा आरोहणमा लाग्ने अधिकांश खर्च विदेशीले नै व्यहोर्ने गरेका छन् । सगरमाथा आरोहणका क्रममा एक आरोहीले ३५ हजार डलरसम्म खर्च गर्नुपर्छ भने ८ हजार मिटरभन्दा अग्ला अन्य हिमाल आरोहण गर्दा पनि प्रतिव्यक्ति २१ हजार डलरसम्म खर्च लाग्ने गर्छ । विश्वमा रहेका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आठवटा नेपालमा छन् ।
यो सिजनमा सगरमाथा आरोहण रोयल्टीबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २६ करोड ४६ लाख ५० हजार रुपियाँ संकलन गरेको छ । त्यस्तै सगरमाथा आरोहणबाट यो सिजनमा करिब एक अर्ब २० करोड रुपियाँ नेपाली अर्थतन्त्रमा योगदान पुगेको छ । यसमा आरोहण रोयल्टी, लुक्लादेखि बेसक्याम्प पुग्न र बेसक्याम्पदेखि लुक्ला ओर्लिन पोर्टरलाई दिइएको ज्याला, शेर्पा गाइडका लागि आवश्यक सामग्री, ज्याला, बोनस, इन्सुरेन्स, हवाई भाडा, लगेज, हेलिकोप्टर चार्टर, पोर्टरको इन्सुरेन्स, टेन्टलगायत सामग्री, अक्सिजन बोत्तल, मास्क आदिको खर्च समावेश छ ।
ट्रेकिङ व्यवसायीका अनुसार आरोहीहरू लुक्लादेखि सगरमाथा बेसक्याम्पसम्म पुग्दा १० हजार र फर्किंदा ७ हजार पोर्टरले रोजगारी पाउँछन् । त्यस्तै पाँच सयभन्दा बढी कुक र गाइडले पनि प्रत्यक्ष रोजगारी पाउँछन् । एक अनौपचारिक तथ्यांकअनुसार सगरमाथा आरोहणमा जाने एक विदेशीले २५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्छ । एउटा टिम सगरमाथा चढ्दा कम्तीमा ३० जना पोर्टर र त्यसको आधा गाइड तथा कुक लैजानुपर्छ । गाइडलाई एक सिजनको तीन लाख रुपियाँ र भरियालाई दैनिक नौ सय रुपियाँ पारिश्रमिक दिनुपर्छ । सगरमाथालगायत अग्ला हिमाल आरोहण गर्दा टेन्ट, डोरी, अक्सिजन सिलिन्डर, खानेकुरा, औषधि तथा बन्दोबस्तीका अन्य सामान पुर्‍याउन धेरै पोर्टर आवश्यक पर्छ ।
यो सिजनमा तीन हजारभन्दा बढी विदेशी आरोही नेपाल आएका थिए । यसमध्ये दुई हजार दुई सय २५ ले नेपाल पर्वतारोहण संघले अनुमति प्रदान गर्ने हिमाल चढे भने सात सय ८० ले ६ हजार पाँच सय मिटरभन्दा अग्ला हिमाल आरोहण गरे जसका लागि सरकारी निकायबाट अनुमति लिनुपर्छ । यस वर्ष चार सयभन्दा बढीले नेपालतर्फबाट सगरमाथा आरोहण गरेको तथ्यांक छ जसमध्ये दुई सय आठ नयाँ आरोही छन् । त्यस्तै तिब्बततर्फबाट एक सय ६५ ले आरोहण गरे । तुलनात्मक रूपमा सगरमाथा आरोहण नेपाल तर्फबाट सजिलो हुने आरोही बताउँछन् ।
यो वर्ष ३० वटा विदेशी टिमले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यसमा तीन सय ३५ आराही र तीन सय ५८ हाई अल्टिच्युड क्लाइम्बिङ गाइड शेर्पा थिए । त्यस्तै बेसक्याम्प र क्याम्प २ का लागि दुई सय ३० किचेन स्टाफले अनुमति पाएका थिए । अनुमति लिएका तीन सय २५ विदेशीमध्ये एक सय ७८ ले मात्र आरोहण गर्न सके । यो संख्या अनुमति लिएका कुल आरोहीको ५५ प्रतिशत मात्र हो ।
सरकारले हिमाललाई व्यावसायीकरण गरी आर्थिक लाभ उठाउने उद्देश्यले तीन सय २६ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । खुला गरिएका हिमालमध्ये सगरमाथा आरोहण गर्ने टोलीले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । त्यस्तै, ७ हजारदेखि ८ हजार मिटरसम्मका हिमालका लागि एउटा टोलीले तीन हजारदेखि चार हजार अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ ।
पर्वतीय पर्यटन विकासका लागि सरकारले पर्याप्त ध्यान नपुर्‍याएको व्यवसायीले बताउँदै आएका छन् । पर्वतारोहण क्षेत्रमा सरकारले गनुपर्ने कामबारे पर्यटन वर्ष सुरु हुनु ६ महिनाअघि नै लिखित सुझाव दिए पनि कार्यान्वयन नभएका कारण पर्यटन वर्षमा पनि ट्ेरकिङ र पर्वतारोहणको क्षेत्रमा उल्लेख्य सुधार नभएको उनीहरूको गुनासो छ ।

ट्रेकिङ रुट सफाइमा भ्रष्टाचार

सौर्य समाचार
काठमाडौं, ९ असोज । नेपाल पर्यटन श्रमिक संघले ट्रेकिङ रुट सफाइ कार्यक्रमका नाममा भ्रष्टाचार भएको दाबी गरेको छ । ट्रेकिङ व्यवसायीको साझा संस्था टानले गत जुन ५ मा विश्व वातावरण दिवसको अवसरमा गरेको सफाइ कार्यक्रममा भ्रष्टाचार भएको दाबी संघले गरेको हो । टानले विश्व वातावरण दिवसका अवसरमा लाङटाङ क्षेत्रमा सरसफाइ गरेको थियो ।
सफाइ कार्यक्रममा करिब पाँच लाख रुपियाँ खर्च भएको प्रतिवेदन टानको साधारणसभाले हालै पारित गरेको छ । मजदुरले भने खर्च अपारदर्शी र आवश्यकभन्दा बढी भएको आरोप लगाएका छन् । सफाइ कार्यक्रममा पर्यटन श्रमिकको सेवासुविधा तथा सुरक्षाका लागि स्थापना गरिएको टिम्स कोषबाट खर्च भएकामा समेत मजदुर संगठनहरूले आपत्ति जनाएका छन् । ‘स्वयंसेवीका रूपमा आफैँ जिम्मेवार भएर गर्नुपर्ने यस्तो कार्यक्रममा टिम्स कोषको रकम खर्च गर्नु आपत्तिजनक छ,’ नेपाल पर्यटन श्रमिक संघका सचिव भागवतश्री न्यौपानेले भने ।
तीन दिनको कार्यक्रम भनेर एक सातासम्म लम्ब्याइएकामा पनि उनको आपत्ति छ । सफाइ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा वातावरण विषय पढ्ने विद्यार्थी तथा टानअन्तर्गतको टिम्स हेर्ने कर्मचारी सहभागी थिए । टानका जिम्मेवार अधिकारी भने धुन्चेमा पत्रकार सम्मेलन गरी त्यहीँबाट फर्केका थिए ।
टानको साधारणसभाले पारित गरेको प्रतिवेदनमा सफाइ कार्यक्रममा ट्ेरड युनियनहरूको पनि उत्साहजनक सहभागिता रहेको उल्लेख भए पनि आधिकारिक रूपमा कुनै पनि युनियनलाई खबर नगरिएको सचिव न्यौपानेले बताए । कार्यक्रम टानले गरेको भए पनि रसुवा नुवाकोट पर्यटन विकास समितिले गरेको भनेर गलत प्रचार गरिएको उनको आरोप छ ।
टानले तयार गरेको खर्च विवरणअनुसार सफाइ कार्यक्रममा चार लाख ७९ हजार ६ सय रुपियाँ खर्च भएको छ । यसअनुसार सबैभन्दा बढी खर्च यातायातमा ९३ हजार रुपियाँ भएको छ । भ्रमण भत्ताबापत मात्र ६३ हजार रुपियाँ खर्च भएको देखाइएको छ । त्यस्तै टिसर्टमा ५३ हजार पाँच सय, स्याटेलाइट फोनमा १९ हजार सात सय, लजिङ फुडिङमा एक लाख ८५ हजार, खादामा १८ हजार तथा फोटोग्राफीमा १४ हजार रुपियाँ खर्च भएको छ । टानका पदाधिकारी चुनावबाट नभई राजनीतिक सहमतिबाट आएकाले जिम्मेवार नभएको मजदुर संगठनहरूको आरोप छ ।
टानले पर्यटकीय क्षेत्रमा फोहोर बढेको भन्दै जेठ तेस्रो साता ४० औँ विश्व वातावरण दिवसको अवसर पारेर लाङटाङ क्षेत्रमा सफाइ कार्यक्रम गरेको थियो । सांकेतिक कार्यक्रम भनिएको अभियानबाट कति फोहोर संकलन भयो भन्ने जानकारी कसैलाई गराइएकै छैन । अभियानको क्रममा रुटको दायाँबायाँ दुवैतिर ५ मिटर क्षेत्रको फोहोर संकलन गरिने बताइएको थियो । यस क्षेत्रमा रहेको नन डिस्पोजिबल (प्लास्टिकजन्य) फोहर संकलन गरी काठमाडौंस्थित फोहोरमैला व्यवस्थापन केन्द्रलाई बुझाइने भनिए पनि भनेअनुसार काम नभएको मजदुर संगठनले बताएका छन् ।

Monday, September 24, 2012

हिमपहिरोमा ७ जनाको मृत्यु

काठमाडौं, ८ असोज । उत्तरी गोर्खामा अवस्थित मनास्लु हिमालमा आइतबार हिमपहिरो जाँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक नेपाली र अन्य विदेशी नागरिक छन् ।
हिमपहिरोमा परी मृत्यु तथा घाइते भएका पर्यटकमध्ये १८ जनालाई उद्धार गरिएको छ । सिम्रिक एयरका दुईवटा हेलिकोप्टरले उनीहरूलाई घटनास्थलबाट उद्धार गरेको हो । ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको करिब ७ हजार ३ सय मिटरमा पहिरो गएको थियो ।
हिमपहिरोबाट उद्धार गरिएका एक जर्मन र एक नेपालीको शव राजधानी ल्याइएको छ । आइतबार साँझ सिम्रिकले जर्मन नागरिक क्रिस्चियन मिटरमेयर र एक शेर्पा गाइडको शव राजधानी ल्याएको हो । यसबाहेक अन्य पाँचजना पर्यटकको शव घटनास्थलबाट बेसक्याम्प ल्याइएको छ । उनीहरूको शव सोमबार राजधानी ल्याइने सिम्रिक एयरले जनाएको छ ।
घाइतेमध्ये पाँचजनालाई सिम्रिक र माउन्टेन हेलिकोप्टर्सले काठमाडौं ल्याएका छन् । उनीहरूको उपचार थापाथलीस्थित नर्भिक र सिभिक अस्पताल लाजिम्पाटमा भइरहेको छ । हिमपहिरोमा परेकामध्ये ११ जना अझै पनि बेसक्याम्पमा छन् । उनीहरूको उद्धारकार्य सोमबार बिहानैदेखि सुरु गरिने सिम्रिक एयरका महाप्रबन्धक योगराज कँडेलले जानकारी दिए । कँडेलका अनुसार उनीहरूको स्थिति सामान्य छ तर मानसिक तनावमा छन् ।
‘बेसक्याम्पमा रहेकाहरूको स्वास्थ्यस्थिति गम्भीर छैन तर साथीहरूको मृत्यु र प्रत्यक्ष दुर्घटना देखेका कारण मानसिक रूपमा तनावमा छन्,’ कँडेलले भने ।
घटनास्थलबाट सामागाउँ नजिकको बेसक्याम्पसम्मको उद्धारको सबै काम सिम्रिक एयरले गरेको थियो भने राजधानी ल्याउन माउन्टेन हेलिकोप्टरले सहयोग गरेको थियो । उद्धारका लागि फिस्टेल एयर घटनास्थल पुगेको भए पनि उद्धार गर्न सकेन । हिमपहिरोमा परेका १२ जनाको जीवितै उद्धार गरिएको गोरखाका डिएसपी वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट करिब ५५ कोस टाढा पर्छ ।
सिम्रिक एयरका अनुसार उद्धार गरिएका घाइतेमध्ये १५ जनाको नाम खुलेको छ तर राष्ट्रियता खुल्न सकेको छैन । घाइते हुनेमा राल्फ, एन्डी, मार्टिन नेम्बौर, अलेक्जेन्डर बोडीमान्कु, युर्व, जर्ज, फ्रिटी, बोउस, क्रपोल्ड फेन्स, मयेर, इज फिचर, रोवर्ट, क्लाड बेल्हास, थोमस र मनेल छन् । उनीहरू जर्मन, फ्रेन्च र अमेरिकन नागरिक भएको बताइएको छ । नेपाली शेर्पामध्ये कर्मालाई जीवितै उद्धार गरिएको छ ।
घटनामा परेका विदेशी पर्यटक तथा नेपाली गाइडको उद्धारका लागि निजी क्षेत्रका हेलिकोप्टर तथा स्थानीय स्तरमा सुरक्षा संयन्त्र प्रयोग गरिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण घिमिरेले तीनजनाको मृत्यु भएको खबर आएको र यसमध्ये दुईजना विदेशी तथा एक नेपाली रहेको बताए । घिमिरेका अनुसार आठजना अझै हराइरहेका छन् । ‘खोजीका लागि रातिसम्मै काम भइरहेको छ तर मौसमको खराबीका कारण समस्या भइरहेको छ,’ घिमिरेले भने । उद्धारका लागि हिमालयन उद्धार संघ तथा सम्बन्धित ट्ेरकिङ एजेन्सीले पनि सक्रियता देखाएका छन् ।
दुई साताअघि नै मनास्लु आधारशिविर पुगेका आरोही आरोहणको अन्तिम तयारीमा थिए । मौसमले साथ दिएको भए उनीहरूले आइतबार साँझ चौथो शिविरमा पुगेर राति आरोहण गर्न सक्थे । तर, क्याम्प ३ मै उनीहरू हिमपहिरोमा परे ।
उक्त हिमाल आरोहणका लागि गएको करिब २५ जनाको पर्यटक टोलीमा अधिकांश जर्मनी नागरिक र नेपाली गाइड थिए । सात हजार उचाइमा रहेको हिमाल बेसक्याम्पमा बिहानको खाजा खाने बेलामा पर्यटक हिमपहिरोमा परेका हुन् । ती पर्यटक राजधानीस्थित एमिकल ट्ेरकिङ, चोयु ट्ेरकिङ र सेभेन समिट ट्रेकिङ एजेन्सीबाट मनास्लु आरोहणमा गएका थिए । खराब मौसमका कारण उनीहरू गत सातादेखि नै मनास्लुमा अलपत्र थिए । हिमपातका कारण पालहरूसमेत पुरिएका थिए ।

Sunday, September 23, 2012

ट्रेकिङ व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा

काठमाडौं, ७ असोज । ट्रेकिङ व्यवसायमा पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा बढेको छ । विदेशी नागरिकले एनजिओ/आइएनजिओका आवरणमा ट्रेकिङ व्यवसाय सञ्चालन गर्न थालेपछि यो व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको हो ।
व्यवसायीका अनुसार करको दायरामा नआएका यस्ता संस्थाहरूले ट्रेकिङ कम्पनीले दिनेभन्दा निकै सस्तोमा प्याकेज बेचिरहेका छन् । एउटै पदयात्रा क्षेत्रमा व्यवसायीले दिने सेवा–सुविधा उस्तै तर शुल्क महँगो भएपछि पर्यटक ती संस्थाले दिने प्याकेजप्रति आकर्षित हुनु स्वाभाविक भएको व्यवसायी बताउँछन् ।
स्रोतका अनुसार यस्ता संस्थाहरू स्वयं यो व्यवसायमा संलग्न नभएर नेपाली एजेन्ट नियुक्त गरी अवैधानिक तरिकाले ट्रेकिङ व्यवसाय सञ्चालन गरिरहेका छन् । सरकारले तोकेको राजस्व तिरेरव्यवसाय सञ्चालन गरेका व्यवसायी भने ती संस्थाको गलत कामका मारमा परेका छन् । यसबारे सरकारलाई पटकपटक जानकारी दिँदा पनि मौनता साँधेर बसेको उनीहरूको आरोप छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव मोहन लम्साल अहिले ट्रेकिङ व्यवसाय समस्यै समस्याको चेपमा परेको बताउँछन् । व्यक्तिगत रूपमा ट्रेकिङसम्बन्धी वेबसाइट सञ्चालन गरी व्यवसाय सञ्चालन गर्ने समूह सक्रिय रहेको उनले बताए । लम्सालका अनुसार यी समूहले पर्यटकलाई विभिन्न आकर्षक प्याकेजको प्रलोभनमा पार्ने गरेका छन् । व्यावसायिक रूपमा सञ्चालित वेबसाइटमा राखिएको प्याकेजभन्दा निकै सस्तोमा व्यक्तिगत रूपमा सञ्चालित वेबसाइटको प्याकेजले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।
अवैधानिक रूपमा वेबसाइट सञ्चालन गर्ने व्यक्तिले पर्यटक नेपाल आउनुभन्दा अगाडि नै आफ्नो व्यक्तिगत खातामा पैसा पठाउन आग्रह गर्ने गरेको लम्सालले बताए । यसै आधारमा पर्यटकले पैसा पठाउने तर एयरपोर्टमा कोही लिन नजाँदा अलपत्र पर्ने गरेको उनले जानकारी दिए । गत वर्ष बेलायतबाट नेपालमा पदयात्रा गर्न आएका आठजनाको टोलीलाई व्यक्तिगत वेबसाइट सञ्चालन गर्ने दामोदर भनिने व्यक्तिले आठ हजार अमेरिकी डलर अग्रिम लिएको उजुरी टानमा परेको थियो । ‘ठगी धन्दामा पल्केका ठगहरूले अर्को व्यक्तिको नाममा समेत खाता खोल्ने गरेका छन् । ट्रेकिङ व्यवसायमा यस्ता गैरकानुनी क्रियाकलाप दिनहुँ बढिरहेको छ,’ लम्सालले भने । यसप्रकारका घटनाले एकातिर पर्यटकले व्यवसायीलाई विश्वास गर्न छोड्ने अवस्था सिर्जना भएको र अर्कोतिर अन्तर्राष्ट्रियस्तरमा मुलुकको प्रतिष्ठामा प्रतिकूल असर परिरहेको पर्यटन व्यवसायीको भनाइ छ ।
ट्रेकिङ व्यवसायमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न सरकारले पदयात्री पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) लागू गरेको भए पनि पनि यो अपेक्षाकृत प्रभावकारी हुन सकेको छैन । सरकारले यसको पूर्ण कार्यान्वयनको जिम्मा टानलाई नदिएका कारण पर्यटक ठग्ने धन्दामा संलग्न व्यक्ति कारबाहीको दायरमा आउन नसकेको टान अधिकारी दाबी गर्छन् ।
व्यक्तिगत रूपमा पदयात्रामा जाने पर्यटकलाई पर्यटन बोर्डले टिम्स कार्ड दिने गरेको छ । तर, बोर्डले कुन व्यक्तिगत हो वा कुन गैरकानुनी रूपमा सञ्चालित ट्रेकिङ व्यवसायी हो, छुटयाउने काम गर्दैन । बोर्डले दिने व्यक्तिगत टिम्स कार्ड गैरकानुनी रूपमा प्याकेज बेच्नेका लागि सजिलो माध्यम बनेको व्यसायीको आरोप छ ।
ट्रेकिङ जाने पर्यटकमध्ये अधिकांश व्यक्तिगत रूपमा जाने गरेको तथ्यांक छ । गत वर्ष अन्नपूर्ण सर्किटमा एक लाख १४ हजार पर्यटकले पदयात्रा गरेकामा १४ हजार मात्र ट्ेरकिङ कम्पनीमार्फत गएका थिए । वैधानिक कम्पनीमार्फत पदयात्रा गराउँदा सरकारको ढुकुटीमा राजस्व जम्मा हुन्छ । तर, व्यक्तिगत रूपमा जाँदा राजस्व निकै कम मात्र उठ्छ । सरकारी उदासीनताका कारण मुलुकले ठूलो राजस्व गुमाइरहेको ट्रेकिङ व्यवसायी दाबी गर्छन् । ठूलो राजस्व गुम्दा पनि अहिलेसम्म संस्थागत रूपमा पर्यटक पदयात्रामा जाने नीतिगत व्यवस्था गर्न सरकारले आनाकानी गरिरहेको टान महासचिव लम्सालले गुनासो गरे ।
गत वर्ष लाङटाङ र सगरमाथा आधार शिविरमा व्यक्तिगत तवरबाट पदयात्रा गर्ने पाँचजना पर्यटक हराएका थिए । यसको मुख्य कारण व्यक्तिगत रूपमा पदयात्रामा निस्कनु नै रहेको व्यवसायीको ठम्याइ छ । लाङटाङ क्षेत्रमा एक पदयात्रीको हत्या भएको सार्वजनिक भएपछि रसुवा जिल्ला प्रशासन कार्यालयले पर्यटकको सुरक्षाका लागि नेपाली कर्मचारी अनिवार्य पठाउन अनुरोधपत्र गृह मन्त्रालयलाई पठाएको थियो । यसैबमोजिम गृह मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सो क्षेत्रमा जाने पर्यटकका लागि अनिवार्य नेपाली कर्मचारीको व्यवस्था गर्न अनुरोधसहितको पत्र पठायो ।
यसैबमोजिम पर्यटन मन्त्रालयले लाङटाङ क्षेत्रमा जाने पर्यटकका साथमा गाइड वा भरिया अनिवार्य हुनुपर्ने नीतिगत व्यवस्था गरिएको भनी टानलाई परिपत्र जारी गरेपछि सोहीअनुरूप टानले पनि आफ्ना सदस्य व्यवसायी र नेपालस्थित विभिन्न देशका दूतावासमा पत्राचार गर्‍यो । ‘राजदूतावासहरूले पनि मन्त्रालयको सो निर्णयलाई स्वागत नै गरे । तर, नयाँ पर्यटन सचिवले पदभार ग्रहण गरेपछि यस्तो निर्णय नभएको जिकिर गर्दे वक्तव्य जारी गरे,’ महासचिव लम्सालले भने, ‘व्यवसायी सरकारको काममा सहयोग गर्न तयार छन् तर सरकार हामीलाई सताउने काममा मात्रै उद्यत छ,’ उनले भने । ट्रेकिङ व्यवसायलाई व्यवस्थित बनाउन सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।
हाल ट्रेकिङ व्यवसायमा करिब नौ सय हाराहारीमा कम्पनी रहेका छन् । तर, टानमा जम्मा आठ सय १२ कम्पनी मात्र आबद्ध छन् । यो व्यवसायमा एक अर्ब रुपियाँभन्दा बढी लगानी भएको अनुमान छ । नेपाल घुम्न आउने पर्यटकमध्ये करिब ६० प्रतिशत पदयात्रामा जाने गरेका छन् । पर्यटन व्यवसायका अन्य क्षेत्र होटेल तथा एयरलायन्सको आयको मुख्य स्रोत पनि ट्रेकिङ बन्न पुगेको छ ।

दूरसञ्चारको अध्यक्षका लागि दौडधुप

काठमाडौं, ४ असोज । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष हुन विभिन्न व्यक्तिले दौडधुप सुरु गरेका छन् । अध्यक्षका लागि आवेदन दिने म्याद सकिएसँगै यसका लागि दौडधुप सुरु भएको हो ।

अध्यक्षका लागि दौडधुप गर्नेमा सबैभन्दा अगाडि नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक दिगम्बर झा छन् । झालाई ०६३ सालमा तत्कालीन आपूर्ति मन्त्री राजेन्द्र महतोले आयल निगमको कार्यकारी निर्देशक बनाएका थिए । पछि एकीकृत नेकपा माओवादीका तर्फबाट आपूर्ति मन्त्री भएका लेखराज भट्टले निगममा पारदर्शी रूपमा काम नगरेको भन्दै झालाई हटाएका थिए । झा जुनसुकै सार्वजनिक संस्थानमा पनि पदका लागि आवेदन दिने गर्छन् । यसअघि उनले नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण तथा जलविद्युत् लगानी तथा विकास कम्पनीमा पनि प्रमुख पदका लागि आवदेन दिएका थिए ।

सञ्चारमन्त्री मधेसीमूलको भएका मौकामा प्राधिकरणको अध्यक्ष हुन उनले दौडधुप सुरु गरेको बताइन्छ । अध्यक्ष हुनका लागि उनले भारतीय लगानीको युटिएललाई समेत प्रभावमा पार्न खाजेको स्रोतले बताएको छ । उनले युटिएललाई गत असार मसान्तसम्मको एक अर्ब ५५ करोड रुपियाँ रोयल्टी मिनाहा गरिदिने प्रस्तावसमेत गरेको स्रोतले बतायो । यसकै कारण युटिएलका उच्च अधिकारी झालाई अध्यक्ष बनाउन लागिपरेको बताइएको छ । युटिएलले मन्त्रीलाई यसका लागि मोटो रकम अफर गरेको स्रोतको दाबी छ । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवसमेत युटिएलको पक्षमा रहेको बताइन्छ । हालै दूरसञ्चार क्षेत्रको अध्ययन गर्न एउटा कार्यदल गठन भएको छ । यसको संयोजक मन्त्री यादव आफैँ छन् ।
अध्यक्षका लागि दौडधुप गर्नेमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक विश्वनाथ गोयल पनि छन् । गोयलले गत फागुनमा टेलिकमबाट अवकाश पाएका थिए तर उनको नाममा अहिले पनि टेलिकममा सेयर छ । दूरसञ्चार ऐनअनुसार कुनै पनि दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीमा सेयर भएको व्यक्ति प्राधिकरणको अध्यक्ष बन्न पाउँदैन । अध्यक्ष पदका लागि गोयलले विभिन्न शक्तिकेन्द्र धाइरहेको बताइन्छ । यसका लागि उनले पटक–पटक सञ्चार मन्त्रीलाई पनि भेटेका छन् ।
प्राधिकरण अध्यक्षका लागि टेलिकमका अर्का पूर्वप्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले पनि आवदेन दिएका छन् । कंसाकारले चार वर्ष अगाडि टेलिकमबाट अवकाश पाएका हुन् । उनले टेलिकममा रहेको आफ्नो सेयरसमेत बेचिसकेका छन् । कंसाकार टेलिकम क्षेत्रका विज्ञ मानिन्छन् । टेलिकमपछि नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाइएका कंसाकारले त्यहाँ पनि जहाज खरिद प्रक्रिया सुरु गर्नुका साथै अन्य सुधारका काम थालेका थिए ।
अध्यक्षका लागि आवेदन दिने अन्य व्यक्ति भने यो क्षेत्रमा पर्याप्त ज्ञान नभएका छन् । निजी दूरसञ्चार कम्पनी एनसेलका कर्मचारीले समेत अध्यक्षका लागि आवदेन दिएका छन् । उनी चिठी पुर्‍याउन विभिन्न ठाउँमा जाने कर्मचारी भएको स्रोतले बतायो । यस्ता व्यक्तिको आवेदनले अध्यक्ष पद नै हल्का भएको प्राधिकरणका कर्मचारी बताउँछन् । दूरसञ्चार ऐन ०५३ को दफा ५ (१) ले प्राधिकरणको अध्यक्षका लागि योग्यता तोकेको छ । यसअनुसार लेखा, प्राविधिक, कानुनमा स्नातक गरेर कम्तीमा १० वर्षको अनुभव भएकाले अध्यक्ष पदमा आवेदन दिनसक्छन् । अध्यक्षका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा कन्हैयालाल गुप्ता, केदारजंग थापा, सोहनबहादुर न्याछो, कमल खनाललगायत छन् । गुप्ता ६ महिनाअघि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशकबाट अवकाश पाएका व्यक्ति हुन् ।
प्राधिकरणमा रिक्त भएको एकजना सदस्यका लागि भने १० जनाले आवदेन दिएका छन् । आवदेन दिनेमा रञ्जनकृष्ण अर्याल, धनराज ज्ञवाली, मणिराम ओझा, राजीव रौनियारलगायत छन् । यसमध्ये अर्याल र ओझा कानुन तर्फबाट सहसचिव हुन् भने ज्ञवाली सञ्चार मन्त्रालयमै उपसचिव छन् । हाल राष्ट्रपति कार्यालयमा कार्यरत ओझा यसअघि एक कार्यकाल (५ वर्ष) प्राधिकरण सदस्य भइसकेका व्यक्ति हुन् । उनको कार्यकालमा युटिएलका पक्षमा विभिन्न निर्णय भएका थिए । युटिएललाई १८ करोड ३४ लाख रुपियाँ रोयल्टी मिनाहाको निर्णय गराएका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सचेतसमेत गराएको थियो । शाहीकालमा सेवा बन्द हँुदा घाटा भएको भन्दै युटिएलले रोयल्टी मिनाहा मागेको थियो । किर्ते मार्कसिट पेस गरेको अभियोगमा समेत उनीमाथि अख्तियारले छानबिन गरेको थियो र कारबाहीस्वरूप सहसचिवबाट उपसचिवमा घटुवा गरेको थियो । पछि फेरि उनी सहसचिव भएका थिए । ओझा सदस्यका लागि इच्छुक नभए पनि प्राधिकरणकै केही कर्मचारीले उक्साएको बताइन्छ ।
सञ्चार मन्त्रालयका सचिव सूर्य सिलवालको अध्यक्षतामा गठन भएको सिफारिस समितिले आवदेन दिएका व्यक्तिको छानबिन गरिरहेको छ । सदस्यका लागि परेका आवेदनको मंगलबारदेखि छानबिन थालिएको मन्त्रालयले जनाएको छ । आवदेन दिने म्याद आइतबार सकिएको थियो । छनोट समितिले परेका आवेदकमध्येबाट तीनजनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्छ । प्राधिकरणका तत्कालीन अध्यक्ष भेषराज कँणेलले १४ साउनमा राजीनामा दिएपछि पद खाली भएको हो । त्यस्तै सदस्य तुलसी भट्टको पदावधि असार अन्तिमबाट सकिएको थियो ।

Wednesday, September 12, 2012

विश्वसनीयता गुमाउँदै नेवानि

काठमाडौं, २७ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज मंगलबार क्वालालम्पुर यरपोर्टमा बिग्रँदा एक सय ९० यात्रु अलपत्र परे । उडान १२ घन्टा ढिलो हुन पुग्यो । निगमको उडानमा बारम्बार आइरहने यस्ता समस्याले यसको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परिरहेको छ ।
निगम प्रवक्ता सरोजकुमार कसजूका अनुसार जहाज मंगलबार बिहान क्वालालम्पुरको स्थानीय समयअनुसार ४ बजेर ४५ मिनेट जाँदा उड्नु पर्ने थियो । तर, अचानक इन्जिनमा खराबी देखियो । ‘समस्या समाधान भइसक्यो । मंगलबार राति जहाज काठमाडौं आइपुग्छ,’ कसजूले भने । तर, यात्रु भने जहाज उड्नेमा पूर्णरूपमा विश्वस्त छैनन् । जहाजमा घर फर्कने क्रममा रहेका करिब एक सय ५० कामदार थिए ।
निगमले आकाश छोएको ५५ वर्ष नाघिसकेको छ तर अहिले यो जम्मा दुई पुराना जहाजको भरमा चलिरहेको छ । भएका दुईवटा जहाजमध्ये एउटा हाल मर्मतका क्रममा इजरायलमा छ । सो जहाज सेप्टेम्बर अन्तिम सातासम्म नेपाल आइपुग्ने निगमले जनाएको छ ।
साढे पाँच दशक लामो अवधिमा निगमले गन्तव्य पनि कटौती गर्दै लगेको छ । अहिले निगमले चारवटा मात्र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्छ । यसै महिना निगमले दुबई गन्तव्यमा उडान बन्द गरेको छ । दुबई–काठमाडौं उडान गर्ने बजेट तथा सुविधा सम्पन्न एयरलायन्सका कारण यो गन्तव्यमा निगमको बजार खस्किँदै गएको थियो । युएइका एयर अरेबिया, फ्लाई दुबई, इमिरेट्स एयरलाइन्स, इत्तिहाद र र्‍याक एयरवेजले काठमाडौं उडान गरिरहेका छन् ।
निगमको दुई जहाजमा अधिकांश समय एउटाले मात्र उडान गर्दा भनेको समयमा टिकट नपाउने, पाए पनि कुनबेला रद्द हुन्छ अनिश्चित भएकाले यात्रु घटेको बताइएको छ । जहाज पुराना भएकै कारण मर्मत खर्च पनि ठूलो छ । निगम स्रोतका अनुसार कुल आम्दानीको २३ प्रतिशत मर्मतका लागि खर्च हुन्छ । सामान्यतया एकपटक जहाज सिचेक गर्दा करिब २२ लाख अमेरिकी डलर खर्च लाग्छ । पुराना जहाज बारम्बार बिगिँ्रदा निगमको छवि बिग्रेको पर्यटन व्यवसायी बताउँछन् । ‘प्रतिस्पर्धात्मक बजारमा विश्वसनीय सेवा दिन नसक्दा निगमको बजार घट्दो छ ।’ नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा) का अध्यक्ष पवित्रकुमार कार्कीले भने । नयाँ जहाज खरिद गरेर सञ्चालनमा नल्याएसम्म पर्यटकलाई नेवानिको जहाज चढ भन्न नसकिने उनको भनाइ छ ।
निगमको सबैभन्दा नाफामुखी सेक्टर क्वालालम्पुरमा प्रतिस्पर्धा बढेकाले सेवास्तरीय बनाउनु पर्ने पर्यटन व्यवसायी बताउँछन् । लामो समय निगमको एकाधिकार रहेको काठमाडौं–सेक्टरमा अहिले मलेसिया एयरलाइन्स र एयर एसियाले उडान सुरु गरिसकेका छन् । असोज अन्तिम सातादेखि बिबी एयरवेजले सुरु गर्दैछ । निगमको दिल्ली उडानसमेत पुन: सुचारु हुन सकेको छैन । अत्यधिक रूपमा उडान रद्द भएपछि निगमले दिल्ली उडान स्थगित गरेको थियो । अहिले काठमाडौं दिल्लीमा ६ वटा कम्पनीले उडान गर्छन् । अहिले निगमले क्वालालम्पुर, हङकङ, दोहा र बैंककमा उडान गरिरहेको छ । यी गन्तव्यमा समेत पूर्णरूपमा उडान हुन सकेको छैन ।

पूर्वाधार साझेदारी प्रयास असफल

काठमाडौं, २६ भदौ । दूरसञ्चार सेवा प्रदायक कम्पनीबीच पूर्वाधार साझेदारीको प्रयास भएको लामो समय बितिसके पनि सफल हुनसकेको छैन । स्पष्ट नीति/नियमको अभावमा पूर्वाधार साझेदारी हुन नसकेको हो ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीबीच पूर्वाधार साझेदारी गर्नका लागि बाटो खोलिदिन गाइडलाइन तयार गर्दैछ । पूर्वाधार साझेदारीसम्बन्धमा अध्ययन भइरहेको र छिट्टै गाइडलाइन तयार हुने प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले बताए । स्वस्थ प्रतिस्र्धाका लागि गाइडलाइन आवश्यक भएको उनको भनाइ छ ।
सरकारले नीति निर्माणमा गरेको ढिलाइले दूरसञ्चार क्षेत्रमा आवश्यकताभन्दा धेरै रकम पूर्वाधारका लागि खर्च भएको विज्ञ बताउँछन् । पूर्वाधारमा धेरै खर्च भएकै कारण फोन र इन्टरनेट अपेक्षाकृत सस्तो हुन नसकेको उनीहरूको भनाइ छ । प्राधिकरणले गाइडलाइन तयार गरिनसकेको भए पनि युरोपेली लगानीकर्ता टेलियासोनेराले नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) सँग पूर्वाधार साझेदारी गर्दै नेपालको ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्ने बताएको छ । टेलियासोनेराले हेलो नेपालसँग पूर्वाधार साझेदारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिने बताएको छ । टेलियासोनेराले हालै हेलो नेपालको ७५ प्रतिशत सेयर किनेको थियो ।
गत महिना नेपाल आएका युरोएसियाका अध्यक्ष टेरो काभिसारीले पूर्वाधार साझेदारी गर्न कम्पनी तयार भए पनि यसका लागि स्पष्ट नीति–नियम नभएको बताएका थिए । स्वेच्छिक रूपमा पूर्वाधार साझेदार गर्न भने आफूहरू तयार रहेको उनको भनाइ थियो । सरकारी सेवा प्रदायक नेपाल टेलिकमले भने पूर्वाधार साझेदारीका विषयमा स्पष्ट रूपमा केही बताएको छैन । पूर्वाधारका हिसाबले टेलिकम सबैभन्दा सबल दूरसञ्चार कम्पनी हो ।
केहि समयअघि एनसेलले हेलो नेपालसँग फ्रिक्वेन्सीलगायत सबै पूर्वाधार उपयोग गर्न प्राधिकरणमा आवेदन दिएको थियो । तर, प्राधिकरणका तत्कालीन अध्यक्ष भेषराज कँडेलले सबै किसिमका पूर्वाधार साझेदारी गर्न दिन नहुने अडान लिएका थिए । यसैकारण उनले राजीनामा दिनुपरेको बताइन्छ ।
नेपाल स्याटलाइटसँग पर्याप्त फ्रिक्वेन्सी भएका कारण एनसेलले यसमा लगानी गरेको बताइएको छ । स्याटेलाइटको फ्रिक्वेन्सी आफूले प्रयोग गर्न पाउनुपर्ने माग उसको छ । हेलो नेपाल ब्रान्डमा मध्यपश्चिाञ्चलमा सेवा दिइरहेको नेपाल स्याटेलाइटले पनि एनसेलसँग पूर्वाधारको साझा प्रयोग गर्न प्राधिकरणबाट अनुमति मागेको थियो । तर, प्राधिकरणले पूरै सेयरिङ गर्न नमिल्ने भन्दै टावर र ऊर्जामात्र गर्न मिल्ने जानकारी दिएको छ । एनसेलको मुख्य लगानीकर्ता टेलियासोनाराले नेपाल स्याटेलाइटको विदेशी साझेदार कम्पनीमा ठूलो अंश सेयर किनेपछि साझा पूर्वाधार प्रयोग गर्ने तयारी भएको थियो ।
दुई वर्षअघि दूरसञ्चार क्षेत्रमा पूर्वाधार निर्माण गरी भाडामा दिन भिन्दै कम्पनीलाई लाइसेन्स दिने सरकारले योजना बनाएको थियो तर यो प्रस्ताव कानुन मन्त्रालयमै अड्किएको थियो । इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) ले भने भौतिक पूर्वाधार साझेदारी गरी सेवा विस्तार गर्ने तयारी सुरु गरिसकेका छन् । सबै सेवाप्रदायक कम्पनीले एउटै पूर्वाधारको प्रयोग गरी सेवा विस्तार गर्दा हालभन्दा ३५ प्रतिशत सस्तो लगानीमा सबैले सेवा दिनसक्ने इन्टरनेट सेवा प्रदायक संघ (आइएसप्यान) को अनुमान छ । पूर्वाधार साझेदारीमा जान छलफल भइरहेको आइएसप्यानले जनाएको छ ।
आइएसप्यान अध्यक्ष विनय बोहराले समयमा नियामक निकायले गाइडलाइन तयार नगर्दा कम्पनीले आ–आफ्नै पूर्वाधार खडा गर्नुपरेकाले लगानी धेरै भएको बताए । पूर्वाधार साझेदारीमा जान सकिए दूरसञ्चारमा पहुँच बढ्ने दाबी उनको छ । ‘ग्रामीण तथा दुर्गम क्षेत्रमा पूर्वाधार खडा गर्ननसक्दा इन्टनेट विस्तार गर्न आइएसपी कम्पनीले सकिरहेका छैनन्,’ उनले भने ।

Friday, September 7, 2012

बढ्यो हवाई भाडा

काठमाडौं । नेपालीहरुको ठूलो चाड दशैं नजिकिन लागेको बेला वायुसेवा कम्पनिहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य बढाएको भन्दै  उनीहरुले हवाई भाडा वृद्धि गरेका हुन् ।
हवाई इन्धनको मूल्य वृद्धि भएका कारण हवाई भाडा पनि बढाउने निर्णय भएको वायुसेवा संचालक संघ नेपाल (आओन) ले जनाएको छ । हवाई भाडा अन्तर्गत इन्धन शुल्क (फ्युल सरचार्ज) वृद्धि भएको आओनले बताएको छ । इन्धन शुल्क भाडामा जोडिने भएकाले हवाई भाडा महगिन पुगेको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको भन्दै निगमले गत साता पेटोल, डिजेल, एलपी ग्यास लगायत हवाई इन्धनको पनि मुल्य बढाएको थियो । हवाई इन्धनको मुल्य प्रतिलिटर ११ रुपैयाले बढेको छ । यसअघि हवाई इन्धनको मूल्य प्रति लिटर १ सय ९.६९ रुपैया रहेकोमा बढेर १ सय २०.६९ रुपैया पुगेको छ । हवाई इन्धनमा प्रति लिटर ४ रुपैया भन्दा बढी वृद्धि भएमा भाडा बढाउने सहमति वायुसेवा संचालक संघको सरकारसग भएको छ । 
विमान कम्पनिहरुका अनुसार सबैभन्दा लामो काठमाडौ–धनगढी रुटमा ४ सय २५ रुपैया भाडा बढेको छ भने सबैभन्दा छोटो रुट काठमाडौं–सिमरामा १ सय ३० रुपैया बढेको छ । धनगढी १ घण्टा १५ मिनेट दूरीमा पर्छ भने सिमरा २० मिनेटको दूरीमा छ । माउन्टेन फ्लाइटमा ४ सय १० रुपैयाले वृद्धि भएको छ । 
अन्य गन्तव्यमा नेपालगञ्ज ३ सय २०, विराटनगर २ सय ५५, भैरहवा २ सय २५, पोखरा १ सय ८५, तुम्लिङटार १ सय ८०, जनकपुर १ सय ६५ र भरतपुर १ सय ४५ रुपैयाले भाडा बढेको छ । बढेको भाडादर गत बुधवारदेखि नै लागु भइसकेको छ ।
कहाको भाडा कति भयो ? 
माउन्टेन ८९९०
सिमरा २७००
भरतपुर २८३०
पोखरा ४०३५
विराटनगर ५७०५
जनकपुर ३४५५
तुम्लिङटार ४७०५
भैरहवा ५०१५
धनगढी ९८०५
नेपालगन्ज ७१६०
भद्रपुर ६५३५

Sunday, September 2, 2012

काठमाडौं–क्वालालम्पुर उडानमा तीव्र प्रतिस्पर्धा

काठमाडौं, १७ भदौ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियामा चारवटा विमान कम्पनीको प्रतिस्पर्धा सुरु भएको छ । नेपाल वायुसेवा निगमको लामो समयदेखिको एकाधिकार तोड्दै अन्य तीन कम्पनी काठमाडौं–क्वालालम्पुर सेक्टरमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
निगमलाई चुनौती दिँदै गत असारदेखि मलेसियाको बजेट एयरलायन्स एयर एसिया एक्सले यो सेक्टरमा सेवा सुरु गरिसकेको छ । मलेसियाको राष्ट्रिय ध्वजाबाहक मलेसिया एयरलायन्सले शनिबारदेखि उडान सुरु गरेको छ भने भदौ अन्तिम सातादेखि नेपाली विमान कम्पनी बिबी (भगवान् बुद्ध) एयरवेजले पनि यो रुटमा सेवा सुरु गर्दैछ ।
एउटै गन्तव्यमा चारवटा अन्तर्राष्ट्रिय एयरलायन्सले प्रतिस्पर्धा गर्ने भएपछि सस्तो र गुणस्तरीय सेवा पाउने यात्रुले आशा गरेका छन् । मलेसिया नेपाली कामदारको मुख्य गन्तव्य हो ।
काठमाडौंबाट करिब साढे चार घन्टाको उडान दूरीमा रहेको क्वालालम्पुर गन्तव्यमा अहिले निगमले करसहित एकतर्फी २१ हजार दुई सय ३७ रुपियाँ र दुईतर्फी ४१ हजार पाँच सय ४४ रुपियाँ भाडा लिने गरेको छ । सोही गन्तव्यमा एयर एसियाले करसहित एकतर्फी १८ हजार सात सय ७० रुपियाँ र दुईतर्फी करिब ३५ हजार रुपियाँ लिँदै आएको एयर एसियाको काठमाडौंस्थित जनरल सेल्स एजेन्ट (जिएसए) इन्सेन्टिभ ट्राभल्सले जनाएको छ । मलेसिया एयरलायन्सको जनरल सेल्स एजेन्ट मार्कोपोलो ट्राभल्सले काठमाडौं–क्वालालम्पुरको भाडा करसहित एकतर्फी २२ हजार ६० रुपियाँ र दुईतर्फी ४४ हजार आठ सय ३१ रुपियाँ मूल्य निर्धारण गरेको छ । बिबी एयरवेजले भने अहिलेसम्म हवाई भाडा सार्वजनिक गरिसकेको छैन ।
चारवटा एयरलाइन्समध्ये निगमले शनिबारबाहेक सातामा ६ दिन उडान गर्दै आएको छ भने एयर एसियाले मंगलबार र बिहीबार गरी सातामा दुई दिन उडान गर्दै आएको छ । एयर एसियाले सातामा सातै दिन उडान भर्न पाउने अनुमति नागरिक उड्डयन प्राधिकरणबाट पाइसकेको छ । त्यस्तै मलेसिया एयरलाइन्स र बिबी एयरवेजले सातामा ३/३ दिन उडान गर्ने अनुमति पाएका छन् । नेपाल र मलेसिया सरकारबीच सातामा ४२ सय सिटसम्म उडान गर्न पाउने हवाई सम्झौता भएको छ । क्वालालम्पुर जापान, कोरिया र अस्ट्ेरलियाका ट्रान्जिट बिन्दु पनि हो ।
यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजाबाहक एयर अरेबियाले समेत फिफ्थ फ्रिडम राइट प्रयोग गरी क्वालालम्पुर–काठमाडौं उडान गर्ने अनुमति पाएको थियो । तर, राष्ट्रिय ध्वजाबाहकको मुख्य नाफामूलक गन्तव्य भन्दै तत्कालीन संसद्को सार्वजनिक लेखासमितिले उडान गर्न नदिन सरकारलाई निर्देशन दिएपछि एयर अरेबियाको उडान सुरु हुन सकेको छैन । एयर अरेबियाको मुद्दा अहिले विचाराधीन छ । फैसला एयर अरेबियाको पक्षमा भए यो कम्पनी पनि क्वालालम्पुर गन्तव्यमा थपिने छ ।
केन्द्रीय अध्यागमन विभागका अनुसार हाल दैनिक करिब चार सय कामदार मलेसिया गइरहेका छन् । क्वालालम्पुर उडानमा करिब ८० प्रतिशत सिट नेपाली कामदरले भरिने गरेको बताइन्छ ।\
मलेसिया एयरलायन्सको उडान सुरु
काठमाडौं : मलेसियाको राष्ट्रिय ध्वजावाहक मलेसिया एयरलायन्स (मास) ले शनिबारदेखि क्वालालम्पुर–काठमाडांै उडान सुरु गरेको छ । कम्पनीले यो सेक्टरमा साताको तीन दिन व्यापारिक उडान सुरु गरेको हो ।
बोइङ ७३७ जहाजबाट उडान गरिने कम्पनीले जनाएको छ । यसमा एक सय ४४ इकोनोमी र १६ विजनेस क्लास सिट हुनेछन् । पहिलो उडानका क्रममा शनिबार मलेसियाका यातायात उपमन्त्री अब्दुल रहिम बक्री, मलेसिया एयरलायन्सका व्यवसायिक निर्देशक हुग नोएल डनलेभी तथा टुरिजम मलेसियाका महानिर्देशक मिर्जा मोहम्मद तैयब काठमाडौं आएका थिए । उनीहरूलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतम, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धर तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमन विमानस्थल पुगेका थिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मलेसियाली उपमन्त्री तथा नेपालका सरकारी अधिकारीले कम्पनीको उडान सेवाबाट यो सेक्टरको हवाई यात्रा सहज हुनका साथै दुई देशबीचको सम्बन्धमा पनि सुधार हुने बताए ।
मलेसिया एयरलाइन्सले काठमाडौं क्वालालम्पुरको दुईतर्फी भाडा ४३ हजार दुई सय ९० रुपियाँ तोकेको छ । लक्जरी एयरलायन्सभित्र पर्ने यो कम्पनीले अस्ट्रेलियाको सिड्नी, मेलबर्न, जापानको टोकियो, दक्षिण कोरियाको सियोल, चिनको सांघाई, बेइजिङ, सिंगापुरलगायत गन्तव्यमा कनेक्टिङ उडान गर्ने जनाएको छ । मास कनेक्टिङ फ्लाइट गर्ने कम्पनी भएकाले अन्य गन्तव्यमा जाने नेपाली यात्रुलाई फाइदा हुने कम्पनीको दाबी छ ।

Saturday, September 1, 2012

बैंकिङ सेवा रियलबाट भर्चुअल तिर

सौर्य दैनिक
बैंकबाट पैसा झिक्न टोकन लिएर घन्टौँ लाइन लाग्नु बाध्यता नै थियो । आफ्नो खातामा कति रकम छ भनेर थाहा पाउन बैंकमै गएर खुसामत गर्नुपथ्र्यो । तर, अब ती सबै कार्यशैली इतिहासका विषय बन्ने तरखरमा छन् । अझ केही अवशेषहरू भने कायम नै छ  । त्यो अझ केही हदसम्म सरकारी बैंकहरूमा देख्नसम्म सकिन्छ । प्रविधिको विकास तथा बैंकिङ क्षेत्रमा बढेको प्रतिस्पर्धाले गर्दा बैंकिङ सेवा सहज र व्यावसायिक हुँदै गएको छ । सूचना प्रविधिमा भएको तीव्र विकासले बैंकिङ कारोबारलाई ‘रियल’ बाट ‘भर्चुअल’तिर लैजाँदै छ ।

प्रविधिको प्रयोगले व्यावसायिकता बढेको छ । समयअनुसार आधुनिक सेवा दिन नसक्ने बैंक तथा वित्तीय संस्था टिक्न नसक्ने अवस्था आएको छ । आफ्नो कारोबारमा आकर्षण गर्न  नयाँ सेवा सुविधा दिने होड  नै चलेको छ । त्यसैले पहिले र अहिलेको बैंकिङ सेवामा आकाश–जमिनको अन्तर आइसकेको छ । ग्राहकको सुविधाका लागि अहिले चोकचोकमा एटिएम छन् । घरमामा नै बसेर इन्टरनेटमार्फत कारोबार गर्ने विषयले समेत प्रवेश पाइसकेको छ । परम्परागत किसिमले नचल्ने देखेपछि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकले पनि आधुनिक प्रविधि र छिटो–छरितो सेवा दिने बाटो रोज्न बाध्य भइसकेको छ  । मोबाइल रिचार्ज, टेलिफोन बिलभुक्तानी, इन्टरनेट बिलभुक्तानी, स्कुलकलेजको बिलभुक्तानी आदि वाणिज्य बैंकहरूले दिने आधारभूत सुविधामा पर्न थालिसकेका छन् ।

वाणिज्य बैंकहरूले दिन थालेको यो सेवा सुविधा विकास बैंक हुँदै फाइनान्स कम्पनीसम्म पुगिसकेको छ । विकास बैंक संघका पूर्वअध्यक्ष झपट बोहोरा प्रविधिको प्रयोगका कारण बैंकिङ क्षेत्रमा व्यावसायिकता बढेको बताउँछन् । प्रतिस्पर्धात्मक बजारमा उत्कृष्ट हुन पनि प्रविधिमा आधारित ‘भ्यालु एडेड सर्भिस’मा जोड दिनुपर्ने उनको निष्कर्ष छ ।
प्रविधिको प्रयोग गरेर बैंकहरूले पछिल्लो समय विस्तार गरेको सेवा हो मोबाइल र अनलाइन बैंकिङ । निश्चित सेक्युरिटी कोड राखेर कुनै खास नम्बरमा एसएमएस गरेपछि प्राप्त हुने मोबाइल सेवा उपयोग गरेर स्मार्ट फोन हुनेले एउटा खाताबाट अर्को खातामा पैसा पठाउन, पछिल्ला कारोबारको स्टेटमेन्ट हेर्न, युटिलिटी (मोबाइल, इन्टरनेट, टेलिफोनलगायत) बिल भुक्तानी गर्न तथा एयरलाइन्स र सिनेमाको टिकट खरिद गर्न सक्छन् । नेपाली बैंकहरूले इन्टरनेटमार्फत अनलाइन बैकिङ पनि सुरु गरिसकेका छन्, जसबाट एउटा खाताबाट सोही बैंकको अर्को खातामा पैसा पठाउन, युटिलिटी बिल तिर्न तथा स्टेटमेन्ट चेक गर्न सकिन्छ । प्रौढपुस्ता यी सेवासँग त्यति घुलमिल हुन नसके पनि युवा पुस्ता निकै आकर्षित छ ।
इन्टरनेट र एसएमएस बैंकिङले कारोबार सहज भएको छ । इन्टरनेट बैंकिङको माध्यमबाट सबै कारोबार अनलाइनबाटै गर्न सकिने भएकाले बैंकले खातावालालाई खातासम्बन्धी सबै जानकारी अनलाइनमै दिन सक्छन् । मोबाइल र ई–बैंकिङको माध्यमबाट ग्राहकले आफ्नो हातको मोबाइल फोन तथा ब्यागको ल्यापटपबाट बैंकिङ कारोबार गर्न सक्छन् ।
पहिले–पहिले बैंक धाउन अलग समय निकाल्नुपथ्र्यो । कामकाजीलाई बैंक जानुपर्दा अफिस छुट्ने डर हुन्थ्यो । कुनै समस्या परे बैंकको कार्यालय नै पुग्नुपथ्र्यो । तर, अहिले बैंकिङ कारोबारसँग जोडिएका सबै समस्यालाई घर वा कार्यालयमै बसेर सुल्झाउन सकिन्छ । बैंकमा जाने, टोकन लिने, लाइन बस्ने र घन्टौँ समय खर्चने आवश्यकता छैन । बैंकमा खर्च हुने समयलाई अन्य सिर्जनात्मक काममा लगाउन सकिन्छ । घरमै बसेर पनि किनमेल गर्न सकिन्छ । ई–बंैकिङका कारण यी सबै काम सम्भव भएका छन् । अहिले नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंंक, एभरेस्ट बैंक, एनएमबी बैंक, सानिमा बैंकलगायतका बैंकले ई–बैंकिङ सेवा दिइरहेका छन् । बैंकिङ क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिले नगद कारोबार गर्दा वा पैसा साथमा लिएर हिँड्दा आइपर्ने जोखिम घटाएको छ ।
बैंकरहरूले शाखारहित बैंकको कल्पनासमेत गर्न थालेका छन् । केही बैंकले यो सेवा सुरु गरिसकेका छन् । यो सेवामा आफ्नै घरआँगनमा बसेर ग्राहकले रकम झिक्न र जम्मा गर्न सक्छन् । राष्ट्र बैंकको अनुमतिमा स्थानीय व्यक्तिलाई व्यावसायिक प्रतिनिधिनियुक्त गरी यो सेवा सञ्चालन गर्न सकिन्छ ।
ग्राहककै सेवाका लागि किस्ट र सनराइज बैंकले घुम्ती बैंकिङ सेवा सुरु गरेका छन् । यसअन्तर्गत घुम्ती भ्यानबाट खाता खोल्न, रकम राख्न, रेमिट्यान्सबाट आएको रकम झिक्न, चेक बुक लिन र सीमित कर्जा लिन सेवा दिने गरेका छन्  ।
प्रविधिले सघाउने हो भने आगामी केही वर्षमै बैंक ल्यापटप र मोबाइलमा सीमित हुनेछ । सन् १९९४ सालमा नेपाल बैंकको स्थापनापछि सुरु भएको नेपालको बैंकिङ कारोबार प्रविधिका कारण अन्तर्राष्ट्रिय स्तर ‘मेन्टेन’गर्ने अवस्थामा पुगेको छ ।
प्रविधिको प्रयोग गरी ‘भ्यालु एडेड सर्भिस’ दिनेमा नेपाल इन्भेस्टमेन्ट बैंक सबैभन्दा अगाडि रहेको दाबी गर्ने गरेको छ । उसले इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) को शुल्क, एलिको इन्स्योरेन्सको प्रिमियम, रातो बंगला, युलेन्स, लिटिल एन्जल्स, त्रियोग, मारिया मन्टेस्वरी, शुभतारा, ओलम्पिया वल्र्डलगायतका स्कुलको शुल्क, सस्तो डिल, मेरो डिलजस्ता ग्राहकका लागि मोलमोलाई (बार्गेनिङ) गरिदिने वेबसाइट, हरिलो डटकम, मुन्चा डटकम, गिरुटमान्डु डटकमजस्ता अनलाइन सपिङमा भुक्तानी दिन मिल्ने सुविधा दिएको छ ।
त्यस्तै नेपाल डेरिभेटिभ एक्स्चेन्ज (एन्डेक्स) को भुक्तानी, क्युएफएक्स सिनेमाहलका टिकट, माइ ट्रिप टु नेपालमार्फत स्वदेशी तथा विदेशी एयरलाइन्सको टिकट, होटल बुकिङ गर्न पैसा अनलाइनबाटै तिर्न सकिने सुविधासमेत इन्भेस्टमेन्ट बैंकमा छ । अधिकांश बैंकले नेपाल टेलिकमका पोस्टपेड, प्रिपेड, सिडिएमए, आधारभूत र एडिएसएलको बिल तिर्ने सुविधा उपलब्ध गराएका छन् । यस्तै एनसेलको मोबाइलमा रिचार्ज गर्ने सुविधासमेत बैंकहरूले दिएका छन् ।

कार्गो दलालीले दुर्घटना जोखिम

सौर्य दैनिक
काठमाडौं, १४ भदौ । हवाई यात्राका क्रममा तोकिएभन्दा बढी सामान लिनखोज्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा हवाई यात्रा गर्ने प्रत्येक यात्रुले सामान बढी लिनेगरेका कारण दुर्घटनाको जोखिम बढेको हो ।

विशेषगरी विदेश यात्राका क्रममा स्वदेशबाट सस्तो सामान विदेश पुर्‍याई खर्च जोगाउने लोभले यात्रुले बढी सामान लिने गरेका छन् । आन्तरिकतर्फ पनि दुई/चार केजी बढी सामानका लागि यात्रुले कर गर्ने गरेको कर्मचारीहरू बताउँछन् । ‘बढी सामान लिनखोज्नु जोखिमपूर्ण भए पनि कतिपय यात्रुलाई यो कुरा बुझाउन गाह्रो पर्छ,’ तारा एयरको त्रिभुवन विमानस्थलस्थित काउन्टरका एक कर्मचारीले भने । सुरक्षा संवेदनशीलताका कारण बढी सामानका लागि कर नगर्न यात्रुलाई उनको आग्रह छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिएभन्दा बढी सामान मिलाइदिने दलालहरूको गिरोह नै सक्रिय छ । उनीहरूले केही पैसा लिएर बढी सामान लैजान सहयोग गर्छन् । काठमाडौंबाट सोमबार बैंकक हुँदै लन्डन जान लागेका यात्रु पुष्प दाहालले पाँच हजार रुपियाँ दलाललाई दिएर केही बढी सामान लैजान लागेको बताए । कतिपयले पर्यटकीय सिजनमा सामान बढी लिन विमानस्थल तथा एयरलाइन्सका उच्च अधिकारीलाई फोन गर्न लगाउने गरेका छन् ।
दलालले समान मिलाउन प्रतिकेजी दुई सयदेखि एक हजार रुपियाँसम्म लिनेगरेको यात्रुको भनाइ छ । त्रिभुवन विमानस्थलमा बोर्डिङ पासका लागि काउन्टरमा रहेका अपरेसन प्रमुखको आँखा छलेरसमेत दलालहरूले बढी सामान मिलाउने गरेको विमानस्थल कर्मचारी बताउँछन् ।
हवाई यात्रामा बढी सामान लिन प्रयत्न गर्नु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) तथा श्रम कानुनविरुद्ध मानिन्छ । हवाई सुरक्षाका लागि तौलको संयोजन महत्त्वपूर्ण हुने भएकाले यसमा लापरवाही गर्न नहुने विज्ञ बताउँछन् । दुई वर्षअघि तारा एयरको ट्विनअटर जहाज बढी तौलका कारण दुर्घटना भएको थियो । ट्विनअटर जहाजले उडान गर्दा पाँच हजार ६ सय ७० केजी मात्र बोक्न पाउने भए पनि योभन्दा बढी तौल लिएको छानबिन प्रतिवेदनको निष्कर्ष थियो । प्रतिवेदनका अनुसार तौल बढी हँुदा जहाजको गति र उचाइ लिने क्षमतामा ह्रास आउँछ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने विमान कम्पनीले गन्तव्यअनुसार फरक–फरक तौलसम्म सामान बोक्न पाउने व्यवस्था गरेका छन् । यात्रु चाप व्यवस्थापन गर्न गन्तव्यअनुसार सामानको तौल मिलाउने गरेको विमान कम्पनीले बताएका छन् । आन्तरिक उडानमा प्रतियात्रु १५ केजी र अन्तर्राष्ट्रिय उडानमा २० केजी बराबरको सामान लिन पाउने व्यवस्था छ । तर, चाडबाड तथा हवाई यात्रुको चाप बढ्ने सिजनमा सामानको तौल घटाउने गरेको पाइन्छ ।
सामान हराउने तथा टुटफुट हुने गरेको विमानस्थल व्यवस्थापनको भनाइ छ । विमानस्थल प्रशासन तथा विमान कम्पनीमा दैनिकजसो सामान हराएको उजुरी पर्ने गरेका छन् । विमानस्थल अधिकारी भने यात्रुकै लापरबाहीका कारण सामान चोरी हुने बताउँछन् । विमानस्थल सुरक्षा अधिकारीका अनुसार मासिक २० भन्दा बढी यात्रुको सामान हराउने गरेको छ ।