Tuesday, March 22, 2011

हजारौं नेपाली जुवा खेल्न सिंगापुर जाँदा रहेछन्


काठमाडौं
७ चैत
यता क्यासिनोमा नेपालीलाई प्रवेश दिने कि नदिने भन्ने बहस चलिरहेको छ, उता क्यासिनोमा जुवा खेल्नकै लागि हजारौं नेपाली विदेश जाने गरेको खुलासा भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा कानुन तथा न्याय तथा न्याय मन्त्रालयको टोलीले सिंगापुर तथा मलेसियाका क्यासिनोको भ्रमण गरी यो तथ्य फेला परेको हो ।
सिगापुरको एउटा क्यासिनोमा मात्र सन् २०१० मा १४ हजार ३ सय ३ नेपालीले जुवा खेलेका छन् । सिंगापुरको मेरिना बे सेन्ड क्यासिनोमा नेपालीहरु नियमति रुपमा जुवा खेल्ने गरेको भ्रमण टोलीको निष्कर्ष छ ।
सन् २०१० को जनवरीमा मात्र१ हजार ६ सय १९ जना नेपालीले से बेन्ड क्यासिनोमा जुवा खेलेका थिए । अन्य महिनामा यो संख्या १ हजारको हाराहारीमा छ ।
नेपालमा क्यासिनो सञ्चालनका सम्बन्धममा कार्यविधि बनाउन अन्य देशको अध्ययन गर्ने उद्धेश्यले टोली भ्रमणमा गएको थियो । पर्यटन मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराइको नेतृत्वमा गएको टोलीमा काुनन तथा न्याय मन्त्रालयका उपसचिव वासुदेव ओझा तथा पर्यटनकै अधिकृत निराजन घिमिरे टोलीमा थिए ।
स्वचालित रुपमा सञ्चालित हुने सिंगापुरका क्यासिनोमा स्वेदेशीलाइ परिचय पत्र र विदेशीलाइ पासपोर्ट अनिवार्य छ । त्यस्तै स्वदेशी र विदेशी भित्र छिर्ने बाटो पनि अलग अलग हुन्छ । नेपालमा पनि व्यवस्थित गर्न सक्ने हो भने नेपालीलाइ प्रवेश दिन सकिने टोलीको निष्कर्ष छ । टोलीले त्यहाको सरकारसंग समन्वय गरेर क्यासिनोको भ्रमण गरेको थियो । अर्थ मन्त्रालय अन्तर्गत सिगापुरका क्यासिनो सञ्चालित छन् ।
सिंगापुर बाहेक मलेसिया तथा भारतको गोवा र सिक्किमका क्यासिनोमा पनि ठूलो संख्यामा नेपालीहरु जुवा खेल्न जाने गरेको बताइन्छ तर यसको आधिकारिक तथ्यांक भने कसैसंग छैन । यो संख्या सिगापुर जाने नेपालीकै हाराहारीमा छ । सिक्किममा गाडी रिजर्भ गरेरै नेपालीहरु जुवा खेल्न जाने गरेको टाभल एजेन्सी सञ्चालकहरु बताउछन् । जुवा खेल्न जाने नेपालीको तथ्यांक हेर्दा ‘खाने मुखलाइ जुगाले छेक्दैन’ भन्ने प्रमाणित भएको सरकारी अधिकारीहरु बताउछन् ।
विदेशमा गएर जुवा खेल्ने नेपाली उच्च वर्गका हुन् । उद्योगपति, राजनितीक दलका उच्च तहका नेता तथा उच्च सरकारी अधिकारी जुवा खेल्न विदेश जाने गरेको बताइन्छ । यसबाहेक गैरआवासिय नेपाली (एनआरएन) मलेसिया तथा सिगापुरका क्यासिनोका नियमित ग्राहक हुन् ।
क्यासिनोमा नेपालीलाई प्रवेश दिने कि नदिने भन्ने सम्बन्धमा सरोकारवाला बीच सहमति हुन सकेको छैन । पर्यटन मन्त्रालयले तयार गरेको क्यासिनो तथा इलेक्टोनिक गेमिङसम्बन्धि निर्देशिकामा ५ हजार रुपैया प्रवेश शुल्क लिएर क्यासिनोमा नेपालीलाइ प्रवेश गर्न दिने प्रस्ताव गरिएको छ । यो आधारमा प्रवेश शुल्कबाट मात्र क्यासिनोले तिर्ने रोयल्टी भन्दा बढि रकम उठ्ने दावी अधिकारीहरुको छ ।
निर्देशिकामा स्थायी लेखा नम्बर अर्थात् प्यान कार्ड भएका ठूला करदातालाई क्यासिनोमा प्रवेश खुला गर्ने प्रावधान राखिएको छ । यसबारे सम्बन्धित निकायसग छलफल गरिरहेको पर्यटन मन्त्रालयले सहमति जुटाउन भने सकेको छैन ।
धेरै कर तिर्ने धनाढ्य नेपालीलाई क्यासिनोमा प्रवेश दिने प्रावधानबारे पर्यटनले अर्थ, गृह र उद्योग मन्त्रालयका अधिकारीस“ग छलफल गरिसकेको छ । अन्य मन्त्रालयका प्रतिनिधिले यसमा सहमति जनाए पनि अर्थका प्रतिनिधि सहमत भएका छैनन् । क्यासिनोमा नेपाली प्रवेशका लागि २१ वा २५ लाई मान्यता दिनेबारे छलफल भएपनि टुंगो लागेको छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार १६ पुगेकाले क्यासिनोमा गएर जुवा खेल्न सक्छन् ।
निर्देशिकामा नेपाली प्रवेशको प्रावधान राखिए पनि संसद्को सार्वजनिक लेखा समितिले कुनै पनि हालतमा क्यासिनोमा नेपाली प्रवेश स्विकार्य नहुने बताएको छ । पर्यटन मन्त्रालयका सचिव तथा अन्य अधिकारीसगको छलफलमा सभासदले नेपालीलाई प्रवेश दिने हो भने क्यासिनो तत्काल बन्द गर्नुपर्ने बताएका थिए । नेपालीविना नचल्ने हो भने क्यासिनो बन्द गर्नुपर्ने माग सभासदको छ । क्यासिनो सञ्चालन भइरहेका पाच तारे होटलका सञ्चालकहरु भने नेपालीले नै क्यासिनो चलेको बताउदै नेपाली नहुने हो भने क्यासिनो नै बन्द हुने दावी गर्छन् ।

रकम अभावले छानबिनमा ढिलाइ


नयाँ पत्रिका

काठमाडौं, ६ चैत

जाँचबुझ आयोग गठन भएको तीन महिना बितिसक्दा पनि तारा एयर दुर्घटनाका सम्बन्धमा अनुसन्धान अगाडि बढ्न सकेको छैन । आयोगलाई आवश्यक पर्ने खर्च सम्बन्धित विमान कम्पनीले उपलब्ध नगराएका कारण छानबिनको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

गत २९ मंसिरमा भएको तारा एयरको विमान दुर्घटनाका सम्बन्धमा छानबिन गर्न ९० दिनको म्याद दिएर एक उच्चस्तरीय आयोग गठन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक मेदिनीप्रसाद शर्माको अध्यक्षतामा गठन भएको पाँच सदस्यीय दुर्घटना जाँच आयोग सदस्यमा नेपाल वायुसेवा निगमका वरिष्ठ चालक क्या. रवीन्द्रकुमार शेरचन, निगमका उपनिर्देशक उपेन्द्रलाल श्रेेष्ठ र एभिएसन मेडिकल बोर्डका सहसंयोजक डा. रन्जितसिंह बराल छन् । आयोगका सदस्य-सचिवका रूपमा भने पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई तोकिएको छ । आयोगलाई दिइएको ९० दिनको समय सकिइसकेको छ, तर हालसम्म आयोगको एउटा पनि औपचारिक बैठक बसेको छैन ।

आयोगका एक सदस्यका अनुसार, रकम अभावमा आयोगको औपचारिक बैठकसमेत बस्न नसकेको हो । राजनीतिक हस्तक्षेपले समेत यस्ता आयोग प्रभावित हुने गरेको ती सदस्य बताउँछन् । 'राजनीतिक प्रभाव र निजी क्षेत्र हावी भएकाले काम गर्न सहज छैन,' ती सदस्यले भने । यात्रुको रिपोर्ट र अन्य केही कागजपत्रको अध्ययन गर्नेबाहेक आयोगले केही गरेको छ्रैन ।

आयोगले जहाजको ब्ल्याक बक्स बेलायत पठाउने निर्णय गत १२ माघमै गरे पनि अहिलेसम्म पठाएको छैन । ककपिट भ्वाइस रेकर्डर अर्थात् सिभिआर भनिने ब्ल्याक बक्समा पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीचको संवाद रेकर्ड भएको हुन्छ । कम्पनीले ब्ल्याक बक्स आफूले चाहेको ल्याबमा पठाउन खोज्ने गरेको आयोग सदस्यको भनाइ छ । कतिपय दुर्घटनामा व्यवस्थापनको कमजोरी लुकाउन विमान कम्पनीले नै ब्ल्याक बक्स नै गायब गरिदिने गरेको उनको अनुभव छ ।

सरकारमातहत गठन हुने दुर्घटना जाँचबुझ आयोग काम गर्न स्वायत्त हुन्छन् । यस्ता आयोगलाई कार्यविधि र बजेट बनाउने अधिकार हुन्छ । विमान कम्पनी भने आफँै समस्यामा परेका वेला जाँचबुझ आयोगको खर्च व्यहोर्नुपर्दा थप समस्यामा पर्ने गरेको बताउँछन् । दुर्घटनासम्बन्धी जाँचबुझ तथा अनुसन्धानका लागि सरकारले गठन गर्ने आयोगको खर्च अपारदर्शी हुने गरेको उनीहरूको गुनासो छ ।

दुर्घटना जाँचबुझ तथा अनुसन्धानका लागि लाग्ने सम्पूर्ण खर्च सम्बन्धित विमान कम्पनीले नै व्यहोर्दै आएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन -आइकाओ कन्भेन्सन), गैरसैनिक हवाई उडान ऐन ०१५ र गैरसैनिक हवाई उडान -दुर्घटना जाँच) नियम २०२८ मा भने छानबिनमा लाग्ने सबै खर्च सरकारले व्यहोर्नुपर्ने व्यवस्था छ ।

यसअघि एक/एक महिनाको अन्तरालमा दुर्घटनामा परेका अग्नि र फिस्टेल एयरबारे छानबिनका लागि मन्त्रालयले आयोग गठन गरेको थियो । हवाई उड्डयनविद् कुमार चालिसेको संयोजकत्वमा गठित अग्नि एयर दुर्घटना जाँचबुझ आयोगलाई कम्पनीले साढे ९ लाख रुपैयाँ दिएको थियो भने फिस्टेल एयर दुर्घटना जाँचबुझका लागि करिब ८ लाख रुपैयाँ छुट्याइएको थियो । अग्निले सबै रकम आयोगलाई बुझाए पनि फिस्टेलले अहिलेसम्म बुझाएको छैन ।

अनुसन्धानका धेरै क्षेत्रका विज्ञको प्रत्यक्ष संलग्नता हुने भएकाले खर्च धेरै हुने गरेको आयोग सदस्य बताउँछन् । छानबिनका लागि विमानका डाटा रेकर्डलगायत अन्य पार्टपुर्जा विदेश पठाउनुपर्ने र विमान चार्टर गरेर दुर्घटनास्थल पुग्नुपर्ने भएका कारण पनि खर्च बढ्ने गरेको छ । तारा एयर दुर्घटनाकै सम्बन्धमा अध्ययन गर्न गठन भएको अर्को एक आयोगले पनि प्रतिवेदन तयार गरेको छैन । एक यात्रुको नाममा टिकट जारी गरी अर्को यात्रुलाई उडाउने, आफूखुसी भाडा असुल गर्ने, यात्रु-चेक-इन गर्दा परिचय खुल्ने कागजात रुजु नगर्ने र राजस्व ठगी गर्ने वायुसेवा कम्पनीका कर्मचारी र ट्राभल एजेन्टले गरेको कार्य तथा ज्यान गुमाएका विदेशी नागरिकको अध्यागमन प्रक्रियासमेतको छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन गरिएको थियो । समितिलाई १५ दिनको म्याद दिइएको थियो ।

दुर्घटनामा भुटानी नागरिकसमेत परेको सार्वजनिक भएपछि भुटानको मन्त्रिपरिषद्का सचिवको नेतृत्वमा नौ सदस्यीय सरकारी टोली काठमाडौं आएको थियो भने प्रधानमन्त्री थिन्लेले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई टेलिफोन गरी घटनाबारे जानकारी लिएका थिए । तारा एयरको १९ सिट क्षमताको सो टि्वनअटर ९एन-एएफएक्स जहाज खोटाङको लामिडाँडाबाट काठमाडौं आउने क्रममा ओखलढुंगामा दुर्घटनाग्रस्त हुँदा चालकदलसहित २२ जनाको निधन भएको थियो ।

Wednesday, February 2, 2011

२०१० मा लक्ष्यभन्दा डेढ लाख कम पर्यटक


नयाँ पत्रिका

काठमाडौं, १८ माघ

सरकारले राखेको लक्ष्यभन्दा करिब डेढ लाख कम पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१० मा ७ लाख ४५ हजार ७ सय ८० विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने लक्ष्य राखेकोमा ६ लाख २ हजार ८ सय ५५ ले मात्र भ्रमण गरेका छन् ।

लक्ष्यको तुलनामा यो १ लाख ४२ हजार ९ सय २५ कम हो । २००९ को तुलनामा २०१० मा पर्यटक संख्या ४६ दशमलव ३ प्रतिशतले बढाउने लक्ष्य सरकारले निर्धारण गरेकोमा १८.२ प्रतिशत बढी पर्यटक आएका छन् । सरकारले २०१० मा सबैभन्दा बढी १ लाख ६४ हजार १ सय १८ भारतीय पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । यो संख्या २००९ को तुलनामा ५० प्रतिशतले बढी हो । भारतीय पर्यटक ५० प्रतिशत बढ्ने लक्ष्य राखिएकोमा २४ प्रतिशतले मात्र बढेका छन् ।

भारतबाट २०१० मा १ लाख १६ हजार ३ सय २१ पर्यटक नेपाल आएका छन् । २००९ मा यो संख्या ९३ हजार ८ सय ८४ थियो । पर्यटन वर्ष २०११ मा भारतीय पर्यटकको संख्या २ लाख ६२ हजार ५ सय ८८ र बजार हिस्सा २६.२६ प्रतिशत पुर्‍याउने लक्ष्य सरकारको छ ।

दोस्रो बजारको रूपमा रहेको चिनबाट पनि लक्ष्यभन्दा १७ हजार कम पर्यटक आएका छन् । २०१० मा ६० हजार ८ सय ५५ चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्ने लक्ष्य राखेकोमा ४३ हजार १ सय १९ जना मात्र आएका छन् । यो संख्या २००९ को तुलनामा ३३.६ प्रतिशतले बढी हो ।

त्यतिखेर ३२ हजार २ सय ७२ चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका थिए । सरकारले भने चिनियाँ पर्यटक ६० प्रतिशतले बढाउने लक्ष्य राखेको थियो । सरकारले २०१० मा भारत र चिनबाट गरी २ लाख २४ हजार ९ सय ७३ पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा १ लाख ५९ हजार ४ सय ४० जना भित्रिएका छन् । यो संख्या २०११ म्ाा ३ लाख ६३ हजार ९ सय १२ पुग्ने अनुमान छ ।

२०११ को लक्ष्य

मुलुक हवाई मार्गबाट स्थलमार्गबाट जम्मा वृद्धि हिस्सा

भारत २६२५८८ २६२५८८ ६० प्रतिशत २६.६

चिन ५४६५१ ४६६७३ १०१३२४ ६६.५ १०.१३

सार्क मुलुक ४३८३४ ७८०५६ १२१८९० २७.५ १२.९

एसिया सार्कबाहेक ७०८४९ ३६५८२ १०७४३१ १७.४ १०७४

युरोप २१६२९७ ३२३६६ २४८६६३ २८.८ २४.८७

ओसेनिया २२६८० २९३७ २५६१७ १९.७ २.५६

उत्तर अमेरिका ५९११७ ५९३४ ६५१११ २२.९ ६.५१

अन्य ४५१५५ २२२२१ ६७३७६ १.७ ६.७४

जम्मा ७७५२३१ २२४७६९ १०००००० ३४.१ १००

जनवरीमा ३३ हजार पर्यटक आए

काठमाडौं/ १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु भएको नेपाल पर्यटन वर्ष २०११ को जनवरीमा ३२ हजार ९ सय १४ पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् । यो संख्या २०१० को जनवरीमा २६ हजार ७१ थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार जनवरीमा हवाई मार्गबाट आउने विदेशी पर्यटक अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.२ प्रतिशतले बढेका छन् । भारतबाट जनवरीमा ७ हजार ९ सय ५ पर्यटक नेपाल आएका छन् । यो ३५.५ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही महिनामा यो संख्या ५ हजार ८ सय ३६ थियो ।

अन्य मुलुकतर्फ बंगलादेशी र पाकिस्तानी पर्यटक बढेका छन् । पाकिस्तानी पर्यटक १३.३ प्रतिशत र बंगलादेशी १० प्रतिशतले बढेका छन् । यद्यपि श्रीलंकाली पर्यटक भने ४७.५ प्रतिशतले घटेका छन् । समग्रमा सार्क क्षेत्रका पर्यटक २८.८ प्रतिशतले बढेको छ । सार्कबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटक जनवरीमा ३६.६ प्रतिशतले बढेका छन् । एसियाली मुलुकतर्फ चिनियाँ पर्यटकको वृद्धि उत्साहजनक छ ।

चिनियाँ पर्यटक यो महिनामा ८० प्रतिशतले बढेका छन् । २०१० को जनवरीमा १ हजार ७ सय ८३ चिनियाँ पर्यटक नेपाल आएकोमा यो संख्या २०१० को जनवरीमा ३ हजार २ सय ३ पुगेको छ । जापान, मलेसिया, सिंगापुर, थाइल्यान्ड र दक्षिण कोरियाका पर्यटक क्रमशः ८.२, ५१.९, २९.१ र २०.३ प्रतिशतले बढेका छन् ।

इुरोपियन बजारतर्फ समग्र पर्यटक आगमन वृद्धिदर १४.६ प्रतिशत छ । बेलायत, जर्मनी, नेदरल्यान्ड र रसियाका पर्यटक क्रमशः ७.५, ३५.३, ४८.९ र ४०.३ प्रतिशतले बढेका छन् । पान्स, इटली र स्विट्जरल्यान्डका पर्यटक भने केही घटेका छन् । अस्टे्रलिया, न्युजिल्यान्ड, क्यानडा र अमेरिकाका पर्यटक पनि यो महिनामा बढेका छन् ।