Thursday, June 9, 2011

आन्तरिक पर्यटकका लागि पनि प्याकेज


नया पत्रिका
काठमाडौं, २४ जेठ
पर्यटन वर्ष सफल बनाउने उद्देश्यले आन्तरिक पर्यटनलाई प्राथमिकता दिन टुर तथा ट्राभल एजेन्सीले आन्तरिक पर्यटकका लागि प्याकेज ल्याउन थालेका छन् । आन्तरिक पर्यटनमा सम्भावना देखेपछि एजेन्सीले प्याकेज बनाउन थालेका हुन् ।
आन्तरिक पर्यटकका लागि प्याकेज बनाउने एजेन्सी निकै कम छन् । नेपालीमा घुम्ने प्रवृत्ति बढे पनि धेरै खर्च गर्न सक्ने क्षमताका आन्तरिक पर्यटक नभएको ट्राभल एजेन्सी सञ्चालक बताउछन् । इमेरी ट्राभल्सका प्रबन्ध–निर्देशक प्रमोद श्रेष्ठले आन्तरिक पर्यटकले पनि खर्च गर्दै आएको बताए । ‘धेरै नेपाली वर्षमा एक–दुईपल्ट विदेश घुम्न जान्छन्, स्वदेशमा घुम्न नसक्ने भन्ने नै हुदैन,’ श्रेष्ठ भन्छन् ।
पर्यटन वर्षलाई लक्षित गरी इमेरीले नेपालका सबै पर्यटकीय गन्तव्यका लागि ३ सय ९९ रुपैया“को प्याकेज ल्याएको छ । प्याकेजमा एक रात बस्न, खान र बिहानको ब्रेकफास्ट समावेश हुनेछ । विद्यार्थी र युवा समूहलाई लक्षित गरी जनवरी १ देखि २२ वटा आन्तरिक गन्तव्यका लागि प्याकेज ल्याइएको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । प्याकेजमा पोखरा, चितवन, इलाम, धरान, नगरकोट, जिरी, जोमसोमलगायत पर्यटकीय गन्तव्य समावेश छन् । प्याकेजका लागि न्यूनतम १५ जनाभन्दा बढीकोे समूह हुनुपर्नेछ । त्यस्तै, कम्पनीले राराका लागि एक साताको प्याकेज ल्याएको छ । १२ हजार रुपैया“को प्याकेज हालसम्मकै सबैभन्दा सस्तो भएको दाबी कम्पनीको छ ।
सन् १९९८ देखि इमेरीले आन्तरिक पर्यटक प्रवद्र्धनका लागि नेपालका कुनै पनि पर्यटकीय गन्तव्यमा प्रतिव्यक्ति ५ सय ९९ रुपैयामै प्याकेज उपलब्ध गराउ“दै आएको छ । आन्तरिक पर्यटनलाई संस्थागत गर्न सकिए नेपालमा आन्तरिक पर्यटक संख्या उल्लेख्य बढ्ने विश्वास श्रेष्ठको छ ।
पर्यटन वर्ष सुरु भएलगत्तै मुलुकभर हुने महोत्सवमा पनि प्याकेज बन्न थालेका छन् । महोत्सव प्रवद्र्धन गर्ने नेपाल पर्यटन बोर्डले आयोजकलाई पर्यटन वर्षभरि स्थान परिचय समेटिएको ब्रोसरसहित प्याकेज बनाउन आग्रह गरेको छ । बोर्डले सहयोग गर्ने भएपछि प्याकेज बनाउने क्रम बढेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजकले सम्बन्धित क्षेत्रका टुर तथा ट्राभल व्यवसायीको सहकार्यमा २ रात ३ दिनदेखि स्थानअनुसार तीन सातासम्मका प्याकेज बनाउन थालेका छन् ।
प्याकेज व्यवस्थाबाट स्थानीयस्तरमा आर्थिक लाभ हुने बोर्डको भनाइ छ । ‘प्याकेजले स्थानीय गन्तव्यकोे प्रवद्र्धनमा पनि सहयोग पुग्छ र व्यवस्थित घुमाइ सुरु हुन्छ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले भने । स्थानीय स्रोत–साधन परिचालनका साथै स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्न आन्तरिक पर्यटन महŒवपूर्ण हुने श्रेष्ठको तर्क छ ।
महोत्सवबाट ग्रामीण क्षेत्रमा आय वृद्धि हुनुका साथै गन्तव्य पहिचान गर्न सहयोग पुग्ने भन्दै बोर्डले प्रवद्र्धनात्मक सहयोग गर्दै आएको छ । बोर्डले महोत्सवको प्रकृति हेरी २० हजारदेखि ४ लाख रुपैया“सम्मको प्रवद्र्धनात्मक सहयोग गर्दै आएको छ । बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि चालू आवमा ८८ लाख रुपैया छुट्याएको छ । यो वर्ष मात्र २ सयभन्दा बढी महोत्सव भएको बोर्डले जनाएको छ ।
राजधानीबाहिरका केही होटलले समेत आन्तरिक पर्यटकका लागि प्याकेज सञ्चालन गरेका छन् । होटलले विदेशी पर्यटक कम आउने अफ सिजनलाई लक्षित गरी प्याकेज ल्याउने गरेका हुन् । त्यस्ता प्याकेज सञ्चालन गर्नेमा पोखरा, नगरकोट र धुलिखेलका होटल बढी छन् । उनीहरूले राजधानीमा कर्पोरेट कार्यालय स्थापना गरी प्याकेज बेच्दै आएका छन् ।
होटलले सञ्चालन गर्ने प्याकेजलाई लिएर ट्राभल एजेन्सी र होटलबीच विवाद हु“दै आएको छ । ट्राभल एजेन्सीले प्याकेज सञ्चालन गर्ने अधिकार होटललाई नभएको बताउ“दै आएका छन् भने एजेन्सीले प्याकेज नल्याएपछि सक्रिय हुनुपरेको होटल सञ्चालकको भनाइ छ ।
ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाटा) ले हालसम्म आन्तरिक पर्यटकका लागि प्याकेज तयार गर्ने योजना बनाएको छैन । टुर प्याकेज बनाउने काममा नाटाको योगदान नहुने अध्यक्ष अर्जुन शर्माले बताए । ‘व्यवसायीले प्याकेज बनाएर बेच्छन्, तर बजार बिग्रिने र कपी हुने कारणले सार्वजनिक गर्दैनन्,’ शर्माले भने । पर्यटकीय उत्पादन बेच्ने र किन्नेबीच समन्वय नभएकाले आन्तरिक पर्यटन फस्टाउन नसकेको उनको भनाइ छ । प्याकेज बनाउन सम्भाव्यता अध्ययन गर्नुपर्ने र कतिपय अवस्थामा महगो हुने भएकाले व्यवसायीले जोखिम लिन नचाहने उनको तर्क छ ।
महोत्सव आयोजकले व्यवसायीसग समन्वय नगर्ने भएकाले प्याकेजमा ध्यान नगएको भन्दै महोत्सवसगै आन्तरिक पर्यटकका लागि प्याकेज बनाउन आग्रह गरिएको नाटाले जनाएको छ । आयोजकले प्याकेजका लागि नाटासग हालसम्म प्याकेज बनाउन समन्वय गरेका छैनन् । नया गन्तव्य स्थापित गर्न स्थानीय समुदाय तथा सरकारको सहभागिता महŒवपूर्ण हुने भएकाले पूर्वाधारमा लगानी नगरेसम्म प्याकेज बनाउन नसकिने व्यवसायीको भनाइ छ ।
पर्यटन नीति २०६५ मा आन्तरिक पर्यटकलाई भ्रमणमा प्रोत्साहित गरिने र निजी क्षेत्रको समन्वयमा पर्यटकीय प्याकेज विकास गरिने उल्लेख छ । त्यस्तै, नीतिले पहिलोपटक मुलुकको एक ठाउबाट अर्को ठाउमा यात्रा गर्ने नेपाली नागरिकलाई पनि आन्तरिक पर्यटकका रूपमा मान्यता दिनुका साथै आन्तरिक पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रका रूपमा अघि बढाइने उल्लेख छ ।

Wednesday, June 8, 2011

एयर एसियाको जिएसए विवादमा






नयाँ पत्रिका

काठमाडौं, २४ जेठ

जुन पहिलो सातादेखि नेपालमा उडान भर्ने घोषणा गरेको मलेसियाको बजेट एयरलाइन्स एयर एसियाको नेपालका लागि जनरल सेल्स एजेन्ट -जिएसए) नियुक्ति विवादमा परेको छ । दुई कम्पनीले जिएसएको दाबी गरेपछि विवाद उत्पन्न भएको हो ।

आफूले प्रयोग गर्दै आएको जिएसए अधिकार विनासूचना अर्को कम्पनीलाई दिइएको भन्दै मल्टिनेसनल बिज कम्पनी नेपालले पर्यटन मन्त्रालयमा उजुरी दिएपछि विवाद बाहिर आएको हो ।

यसअघि कम्पनीले अफ लाइन एयरलाइन्सका रूपमा एयर एसियाको टिकट बेच्दै आएको थियो । सन् २००६ देखि नै जिएसएका रूपमा काम गरिरहेको भन्दै कम्पनीले अधिकार आफूले नै पाउनुपर्ने माग मन्त्रालयसमक्ष राखेको छ । अर्को कम्पनीलाई जिएसए नियुक्त गरिए त्यसको क्षतिपूर्ति पाउनुपर्ने माग कम्पनीको छ ।

मल्टिनेसनल बिजका प्रबन्ध निर्देशक डिआर सुवेदीले इन्सेन्टिभ ट्राभल्सले गलत प्रचार गरेको दाबी गर्दै एयर एसियाले कुनै कम्पनीलाई जिएसए नतोकेको जानकारी दिए । इन्सेन्टिभले गलत प्रचार गरेको दाबी गर्दै उनले एयर एसिया तत्काल नेपाल आउने सम्भावना नरहेको बताए । चार्टर्ड फ्लाइटका लागि पहल गरिरहेको उनको भनाइ छ ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले मल्टिनेसनल बिज कम्पनीको उजुरी प्राप्त भएकाले त्यसबारे मलेसियाको नागरिक उड्डयन विभागसँग जानकारी मागिने बताए । 'यथार्थ के हो, सम्बन्धित निकायसँग जानकारी माग्छौँ,' उनले भने । नयाँ नियुक्त गरिएको भनिएको कम्पनीसँग जिएसए अनुमतिपत्र मागिने उनले बताए । जिएसएका रूपमा काम गरिरहेको एजेन्सीलाई हटाएर नयाँ आउन चाहे नयाँले पुरानोको क्षतिपूर्ति दिनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

इन्सेन्टिभ ट्राभल्स एन्ड टुर्सले एयर एसियाले १ वर्षअघि नै जिएसए नियुक्त गरिसकेको दाबी गरेको छ । कम्पनीले यसअघि जुन पहिलो साता एयर एसियाका प्रतिनिधि नेपाल आउने र जिएसएको सम्झौता हुने बताएको थियो । इन्सेन्टिभ ट्राभल्सका प्रबन्ध निर्देशक विजय नेपालले आगामी साता एयर एसियासँग जिएसए सम्झौता हुने जानकारी दिए । एयर एसियाले सर्तसहितको सम्झौताको मस्यौदा पठाएको र कम्पनीले त्यसको अध्ययन गरिरहेको उनले बताए । 'जुनभरमा प्रक्रिया पूरा भई जुलाईदेखि उडान सुरु हुन्छ,' उनले भने । त्यसका लागि कम्पनीका कार्यकारी प्रमुख हरिमान लामा मलेसियामा रहेको जानकारी उनले दिए ।

कुनै पनि नेपाली ट्राभल एजेन्सीले विदेशी विमान कम्पनीको जिएसएका रूपमा काम गर्न परराष्ट्र मन्त्रालयमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणमा व्यापारिक योजना तथा सम्झौतासहित प्रस्ताव बुझाउनुपर्छ । तर, इन्सेन्टिभले हालसम्म त्यस्तो प्रस्ताव नबुझाएको प्राधिकरणले जनाएको छ । विदेशी एयरलाइन्सको जिएसए लिन चाहने एजेन्ट प्राधिकरणमा दर्ता भएको हुनुपर्ने प्रावधान छ ।

जिएसए विवादकै कारण जुन पहिलो सातादेखि हुने भनिएको एयर एसियाको नेपाल उडान पछि सर्दै आएको छ । एयर एसियाले जुन पहिलो सातादेखि उडान गर्ने घोषणा इन्सेन्टिभले गरेको थियो । सबै प्रक्रिया पूरा गरी जुलाई पहिलो सातादेखि उडान सुरु हुने महाप्रबन्धक नेपालले दाबी गरेका छन् ।

एयर एसियाले काठमाडांै-क्वालालम्पुर उडान १६ हजार रुपैयाँमा गर्ने बताएको छ । हाल नेपाल वायुसेवा निगमले सो सेक्टरमा १८ हजार रुपैयाँ भाडा लिँदै आएको छ । मलेसियाको यातायात व्यवस्था मन्त्रालय र नागरिक उड्डयन विभागले नेपालमा साताको चारपटक उडान गर्ने अनुमति दिइसकेको दाबी कम्पनीको छ । तत्कालका लागि सातामा दुई उडान भर्ने तयारी भइरहेको इन्सेन्टिभको भनाइ छ । मलेसियाबाट अनुमति लिइसके पनि कम्पनीले नेपाल सरकारको स्वीकृति लिएको छैन । विदेशी एयरलाइन्सको जिएसए विवाद मन्त्रालयसम्म पुगेको यो पहिलो घटना हो । यसअघि त्यस्तो विवाद मन्त्रालयसम्म आइपुगेको थिएन ।

यसैबीच नेपालका लागि मलेसियन राजदूत इलान कोभान कोलान्डाभेलुले एयर एसिया नेपालमा उडान गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री झलनाथ खनालसँगको बिदाई भेटमा उनले एयर एसियाको विशेष चासो लुम्बिनीमा रहेको जानकारी दिए । आगामी शनिबार आफ्नो कार्यकाल सकेर मलेसिया जाने तयारीमा रहेका कोलान्डाभेलुले एयर एसियालाई नेपाल भित्र्याउने प्रयास गरिरहेको बताएका थिए ।

Monday, June 6, 2011

विमानस्थलमा दुई उपचार केन्द्र


नयाँ पत्रिका
काठमाडौं, २२ जेठ
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक तथा वाह्य पर्यटकका लागी दुइ छुट्टाछुट्टै प्राथमिक उपचार कक्ष सञ्चालनमा आएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तराष्ट्रिय टर्मिनल भवनमा र काठमाडौं मेडिकल कलेजले आन्तरिक टर्मिनल भवनमा उपचार कक्षको शुरुवात गरेका हुन् ।

हवाइ यात्रा गर्ने पर्यटकका लागि आवश्यक प्राथमिक तथा आकस्मिक स्वास्थ्य उपचार सेवा प्रदान गर्न उपचार कक्ष सञ्चालनमा ल्याइएको हो । दुवै उपचार कक्षको आइतवार पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्गबहादुर विश्वकर्माले उद्घाटन गरे । उपचार कक्ष सञ्चालन गर्ने सम्बन्धमा अस्पताल र नागरिक उड्डयन प्राधिकरणविच हालै सम्झौता भएको थियो । सम्झौता अनुसार प्राधिकरणले अस्पताललाइ विमानस्थल भित्र स्थान उपलब्ध गराएको छ भने अस्पतालले यसवापत यात्रुलाइ निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।

उपचार कक्ष उद्घाटन गर्दै मन्त्री विश्वकर्माले अस्पतालको तत्परताबाट हवाइ यात्रुलाइ ठूलो राहत पुग्ने भन्दै सेवाको गुणस्तरमा कमी आउन नदिन आग्रह गरे । विमानस्थलमा अन्तरराष्ट्रिय स्तरका पर्यटकीय सेवा सुविधा थप्न सरकार प्रयासरत भएको उनले बताए ।
उपचार कक्षमार्फत् पर्यटकका लागि आवश्यक प्राथमिक तथा आकस्मिक स्वास्थ्य उपचार सेवा प्रदान गरिने अस्तिाल प्रशासनले जनाएको छ । प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवाका अतिरिक्त निःशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध हुनेछ । क्लिनिकमा एक चिकित्सक र एक नर्सिङ्ग स्टाफ रहनेछन् भने बुथ बिहान ७ बजेदेखि रात्रि ११ बजेसम्म चालु रहनेछ ।
नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपचार कक्ष खोलिएको बताउदै पर्यटन बर्षको पर्यटनका लागि सँगसँगै नारामा अस्पचताल पनि सहभागि भएको बताए ।