Saturday, July 2, 2011

पर्यटक आगमन बढ्दो


image

पर्यटन वर्षको ६ महिना

काठमाडौं, १७ असार : पर्यटन वर्षका रूपमा घोषणा गरिएको सन् २०११ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा हवाईमार्गबाट आउने पर्यटक अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढेका छन् ।

यो अवधिमा २ लाख ४५ हजार ३ सय ६३ विदेशी पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१० को पहिलो ६ महिनामा यो संख्या १ लाख ९६ हजार ३ सय १९ थियो । यो वर्षको संख्या गत वर्षको भन्दा करिब ५० हजारले बढी हो ।

पर्यटन वर्ष २०११ भरिमा सात लाख पर्यटक हवाईमार्गबाट भित्र्याउने लक्ष्य राखिएकोमा ६ महिना बितिसक्दा करिब एक तिहाई पर्यटक मात्र नेपाल आएका छन् । लक्ष्य पूरा हुन अझै ४ लाख ५४ हजार ६ सय ३७ पर्यटक हवाईमार्गबाट नेपाल आउनुपर्नेछ ।

पर्यटन वर्षमा मुख्य बजार भारतबाट २ लाख ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा ६ महिनाको अवधिमा ७५ हजार ३ सय ७३ पर्यटक आएका छन् । लक्ष्य पूरा हुन भारतबाट अझै १ लाख ७५ हजार पर्यटक आउनुपर्ने देखिन्छ । त्यस्तै चीनबाट ५४ हजार पर्यटक हवाईमार्गबाट भित्र्याउने लक्ष्य लिइएकोमा हालसम्म १७ हजार मात्र आएका छन् । यद्यपि चिनियाँ पर्यटकको संख्या महिनैपिच्छे बढ्दो क्रममा छ ।

६ महिनाको पर्यटक आगमनलाई सकारात्मक भन्दै व्यवसायीहरूले सिजन सुरु नभएकाले पर्यटन वर्षको लक्ष्यनजिक पुगिने बताएका छन् । नेपालको पर्यटकीय सिजन सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बर हो । पर्यटन वर्षमा ७ लाख हवाईमार्गबाट र ३ लाख स्थलमार्गबाट पर्यटक भित्र्याउने सरकारी अभियानको लक्ष्य छ । स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक भने हरेक महिना उपलब्ध हुँदैन । हरेक महिना तथ्यांक उपलब्ध गराउने प्रयास भइरहेको भए पनि भौगोलिक विकटता तथा स्रोतसाधनको अभावका कारण नसकिएको पर्यटन मन्त्रालयको भनाइ छ ।

पर्यटन वर्ष सचिवालयले सरकारी प्रक्रियाका कारण पर्यटन वर्षका कार्यक्रम प्रभावित भएकाले पहिलो ६ महिनामा अपेक्षाकृत रूपमा काम हुन नसकेको बताएको छ । हालसम्मका उपलब्धिलाई 'सन्तोषजनक' भन्दै सचिवालयले सरकार-निजी क्षेत्र सहकार्य भए अभियान सफल हुने दाबी गरेको छ ।

पर्यटन वर्षको अवसरमा ६ महिनाको अवधिमा नेपालमा केही ठूला अन्तर्राष्ट्रियस्तरका कार्यक्रम भएका छन् । ब्रायन एडम्सको कन्सर्ट, अन्तर्राष्ट्रिय क्यानोनिङ प्रतियोगिता, कैलाश खेरको कन्सर्ट, तेन्जिङ हिलारी म्याराथन, अन्नपूर्ण म्याराथन आदि यो अवधिमा भएका केही महत्त्वपूर्ण कार्यक्रम हुन् ।

बजेट ६ महिना ढिलो आएको र खर्च गर्ने प्रक्रिया निर्धारण गर्न नै ढिलो भएका कारण अपेक्षाकृत रूपमा काम गर्न नसकिएको अधिकारीहरू बताउँछन् । पर्यटन वर्षका लागि चालू आर्थिक वर्षमा २३ करोड रुपैयाँ छुट्याइएकोमा १० करोड निकासा भएको र त्यसमध्ये ७ करोड खर्च भइसकेको सचिवालयले जनाएको छ । सरकारले अक्टोबर २००८ मा २०११ लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । यसको औपचारिक उद्घाटन भने १४ जनवरीमा राष्ट्रपति रामवरण यादवले गरेका हुन् ।

जुनमा ४० प्रतिशत बढे

यस वर्षको जनवरीदेखि नै बढिरहेको पर्यटक आगमन छैटौँ महिना जुनमा पनि जारी रहेको छ । अन्तर्राष्ट्रिय पर्यटक आगमन जुन महिनामा पनि उल्लेख्य बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार जुन महिनामा ३७ हजार २ सय २६ विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको जुन महिनाको तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत वर्षको जुनमा २६ हजार ९ सय ९७ पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिएका थिए ।

जुन महिनामा सबै क्षेत्रका पर्यटक बढेका छन् । दक्षिण एसियाली मुलुकबाट आउने पर्यटक यो महिना ५२.४ प्रतिशतले बढेका छन् । मुख्य बजार भारतबाट आउने पर्यटक गत वर्षको जुन महिनाको तुलनामाा ५९.३ प्रतिशतले बढेका छन् । सो महिनामा १२ हजार ९ सय ८९ भारतीय पर्यटक हवाईमार्ग हँुदै नेपाल आएकोमा यस वर्षको जुन महिनामा यो संख्या २० हजार ६ सय ९७ पुगेको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकको गणना गरिँदैन ।

अन्य दक्षिण एसियाली मुलुकहरू पाकिस्तान र श्रीलंकाबाट आउने पर्यटक क्रमशः २३ र ४६.५ प्रतिशतले बढेका छन् । बंगलादेशबाट आउने पर्यटक भने गत वर्षको जुन महिनाको तुलनामा केही घटेका छन् ।

दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकको वृद्धिदर पनि सकारात्मक छ । समग्रमा एसियाली मुलुकबाट आउने पर्यटक जुन महिनामा ३२ प्रतिशतले बढेका छन् ।

चिनियाँ पर्यटक दोब्बर बढेका छन् । गत वर्षको जुन महिनामा ८ सय ४० चिनियाँ पर्यटक नेपाल आएकोमा यो वर्षको जुनमा यो संख्या १७ सय २५ पुगेको छ । त्यस्तै जापान, मलेसिया, दक्षिण कोरिया र थाइल्यान्डबाट आउने पर्यटक पनि जुन महिनामा बढेका छन् । यद्यपि सिंगापुरबाट आउने पर्यटक भने यो महिना केही घटेका छन् ।

युरोपियन बजारतर्फ समग्रमा ११ प्रतिशतको वृद्धि देखिएको छ । युरोपको मुख्य बजार बेलायत, प|mान्स, जर्मनी, इटली, स्विट्जरल्यान्ड र रसियाबाट आउने पर्यटक क्रमशः १२, ११, २८.६, ३५, १८, ३५ र ४७ प्रतिशतले बढेका छन् । नेदरल्यान्ड, स्पेन, स्विडेन र पोल्यान्डका पर्यटक भने केही घटेका छन् ।

अस्टे्रलिया र न्युजिल्यान्डबाट आउने पर्यटक क्रमशः ३९ र १७० प्रतिशतले बढेका छन् । त्यस्तै अमेरिकी पर्यटक २४.३ प्रतिशतले बढेका छन् । क्यानाडेली पर्यटक भने ४ प्रतिशतले घटेका छन् ।

जुन महिनामा ४४ हजार ६ सय ३५ विदेशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका छन् भने ६७ हजार ९ सय ८ नेपाली स्वदेश भित्रिएका छन् । त्यस्तै ५० हजार ६ सय ७१ नेपाली विदेश गएका छन्

Friday, July 1, 2011

राकेश वाधवाको सम्पत्ति लिलामीमा



नया पत्रिका
काठमाडौं, १६ असार
सरकारले क्यासिनो सञ्चालन गरि रोयल्टी नतिर्ने नेपाल रिक्रिएसन सेन्टरको नाममा रहेको अचल सम्पत्ति लिलाम गरेको छ । राजश्व अनुसन्धान विभागले कम्पनिको नाममा रहेको जग्गा तथा भवन लिलामीको प्रक्रिया शुरु गरेको हो ।
विभागले सम्पत्ति लिलामको ३५ दिने सूचना शुक्रवार नै प्रकाशन गर्ने बताइएको छ । ‘बारम्बार ताकेता गर्दा पनि रोयल्टी नतिरेपछि सम्पत्ति लिलाम गरिएको हो ।’ विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले भने । आर्थिक ऐन अनुसार कानुनी प्रक्रिया पु¥याएर सम्पत्ति लिलाम गरिएको श्रेष्ठले बताए ।
विभागले सेन्टरको नाममा कालिमाटीमा ४ रोपनी जग्गा र भवन फेला पारेको छ । सो सम्पत्ति अर्थ मन्त्रालयले रोक्का गरेको छ । घर जग्गाको मुल्य घटेकोले सबै रोयल्टी असुल हुने सम्भावना भने कम रहेको महानिर्देशक श्रेष्ठले बताए । सेन्टरको सम्पत्ति लिलाम गर्नुपर्ने माग गर्दै आएको होटल सोल्टि व्यवस्थापनले लिलामीबाट उठेको रकमले नपुगे आफैंले तिर्ने प्रतिवद्धता व्यक्त गरेको छ । ‘२०६७ सालको आर्थिक ऐनपछि रोयल्टी तिर्ने जिम्मा होटलको हो भने त्यसअघिको सम्पूर्ण रोयल्टी इजाजत वालाले नै तिर्नुपर्छ ।’ श्रेष्ठले भने ।
होटल परिसरसंगै जोडिएको जग्गा र घर लिलामी गरेर रोयल्टी असुल्न संसदको सार्वजनिक लेखा समितिले पनि विभागलाइ निर्देशन दिएको थियो । समितिको निर्देशनका कारण सम्पत्ति लिलाम गर्न विभागलाइ सहज भएको महानिर्देशक श्रेष्ठले बताए । ‘रोयल्टीको कुरा मात्र हैन यो विषय सार्वजनिक चासोको कुरा भइसक्यो । जुवा खेलेको पैसा पनि उठाउन नसक्ने भनेर लज्जित हुने अवस्था आयो ।’ श्रेष्ठले भने ।
क्यासिनोको बक्यौता असुलीका लागि विभागले सुरु गरेको सम्पति लिलामी प्रक्रिया स्थगित गराउन सञ्चालक राकेश बाधवाले विभिन्न शक्ति केन्द्र मार्फत दबाब दिइरहेको बताइएको छ । ‘लामो समय भए पछि लिलामी ग¥यौं ।’ श्रेष्ठले भने । विभागले सम्पति लिलामको सार्वजनिक सूचना जारी गर्ने बेहोराको चिठी सेन्टरलाइ बुझाइसकेको छ ।
आन्तरिक राजश्व विभागका अनुसार वैशाख मसान्तसम्ममा क्यासिनोहरुले तिर्नुपर्ने रोयल्टी, व्याज तथा जरिवाना गरि ३४ करोड रुपैया छ । विभागले रोयल्टी उठाउन नसकेपछि अनुसन्धान विभागलाइ गुहारेको थियो ।
रिक्रिएसन सेन्टर आबद्ध क्यासिनो नेपालले १३ करोड तथा क्यासिनो अन्नाले १० करोड रुपैया“भन्दा बढी तिर्न बाकी छ । सेन्टर व्यवस्थापनका थप दुई क्यासिनो तारा र क्यासिनो एभरेस्ट ले भने सबै बक्यौता तिरिसकेका छन् ।
क्यासिनो नेपालका कर्मचारीहरुले सम्पति लिलाम गरेर रोयल्टी असुल गरि सञ्चालनको वातावरण्ँ बनाइदिन आग्रह गर्दै आएका थिए । क्यासिनो नेपालका सात सयभन्दा बढी कर्मचारीले सात महिनादेखि तलब नपाएको बताइएको छ ।
इजाजत खारेज भइसक्योः मन्त्रालय
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार ४ गते रोयल्टी नतिर्ने क्यासिनोको इजाजत पत्र सात दिन भित्र खारेज हुने सार्वजनिक सूचना निकालेको थियो । बक्यौता तिर्न एक साताको अन्तिम म्याद दिएको मन्त्रालयले रोयल्टी नतिरे पछि इजाजत स्वत खारेज भएको दावी गरेको छ । ‘रोयल्टी नतिरेपछि इजाजत खारेज भइसक्यो । अव कुनै निर्देशन दिनु पर्दैन ।’ मन्त्रालयको कानुन महाशाखाका सहसचिव रन्जनकृष्ण अर्यालले भने । अनुमति रद्ध भई सञ्चालन गर्न नपाउने निणर्य कार्यान्वयन गर्न मन्त्रालयले बिहीबार सूचना जारी गर्ने बताएपनि सूचना जारी गरेन ।
चार क्यासिनो रिक्रिएसन सेन्टरमा आबद्ध रहेकामा अहिले दुईमा व्यवस्थापन परिवर्तन भइसकेको छ । होटल ह्यातस्थित क्यासिनो ताराको व्यवस्थापन सिंगापुरको एसियन रिसोर्ट एन्ड क्यासिनोले लिएको छ भने व्यवस्थापन परिवर्तनका लागि आइतबारदेखि बन्द क्यासिनो तारा बुधबारदेखि नया“ व्यवस्थापनले चलाएको छ । यसअघि क्यासिनो अन्नाको व्यवस्थापन भारतीय नागरिक अशोक वासन र अरुण् सिंह ठाकुरको शिवम् इम्पेक्सले लिइसकेको छ । रिक्रिएसन सेन्टरको स्वामित्वमा रहेको एभरेस्ट क्यासिनो पनि हस्तान्तरण् को अन्तिम चरण्मा रहेको बताइएको छ । ‘व्यवहारिक रुपमा पनि क्यासिनोहरु वाधवाको हातबाट फुत्किसके ।’ मन्त्रालयका एक अधिकारीले भने ।

अख्तियारले रनवे बिग्रेको छानबिन गर्ने


नयाँ पत्रिका
काठमाडौं, १६ असार

व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेलिप्याड तथा रनवे भत्किएको सम्बन्धमा छानबिन तथा अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ । विमानस्थल धावनमार्ग ओभरले तथा हेलिप्याड निर्माण्मा अनियमितता भएको ठहर गर्दै समितिको बिहीबार बसेको बैठकले लामो छलफलपछि यस्तो निर्णय गरेको हो ।
बैठकले त्रुटिपूर्ण, अनियमित र गलत निर्माणकार्य गर्ने ठेकेदार, सम्बन्धित कर्मचारी एवं पदाधिकारी र परामर्शदातालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न/गराउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलजस्तो महत्त्वपूर्ण र संवेदनशील ठाउँमा पनि गलत, अनियमित र कम गुणस्तरको काम हुँदा विमानस्थललाई मात्र असर नपरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठामा समेत आँच आएको हुनाले संलग्न सबैलाई छानबिन गरी कारबाही गर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ ।
बिग्रेको कामको मर्मत तत्काल गर्न/गराउन लगाई यसको जानकारी मन्त्रिपरिषद्लाई गराउन पनि समितिले पर्यटन मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छ । समितिले हेलिप्याड तथा रनवे निर्माणका बारेमा जानकारी लिन पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थल महाप्रबन्धक, परामर्शदाता, योजना प्रमुख ठेकेदारलाई बोलाएको थियो ।
समितिमा उपस्थित महाप्रबन्धक रतिशचन्द्रलाल सुमन, पूर्वमहाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठ, सिभिल मर्मत शाखाका तत्कालीन प्रमुख, हालका प्रमुख, परामर्शदाता तथा अन्य अधिकारी एक-अर्कालाई देखाउँदै पन्छिएका थिए ।
पर्यटन सचिव गणेशराज जोशीले भने स्वतन्त्र छानबिन समिति गठन गरिएको बताउँदै छानबिनमा सहयोग गर्ने बताए । विमानस्थल सुधार आयोजनाका प्रमुख ध्रुवदास भोछियाले छिटो सक्नुपर्ने प्रेसर भएकाले त्रुटि भएको बताए । 'पर्यटन वर्षका कारण २०१० डिसेम्बरसम्ममा सक्नुपर्ने बाध्यता थियो,' उनले भने । ठेकेदारलाई कुनै पनि समस्या आए आधा-घन्टाभित्र समाधान गर्न निर्देशन दिइएकाले सेवा प्रभावित नहुने दाबी उनले गरे । ठेकेदारको काम 'मनिटर' गर्ने हो ।
धावनमार्ग ओभरले गर्ने कम्पनीका प्रतिनिधि सुमन सुवेदीले रातभरि काम गरेर बिहान जहाज ल्यान्ड गर्नुपर्ने हुँदा पहिलो वषर्ामै समस्या आएको भन्दै शतप्रतिशत काम राम्रो नभएको स्विकारे । जहाज ल्यान्ड गर्दा र ब्रेक लाउँदा ओभरले बिगि्रएको दाबी उनको छ । ३ लाख स्क्वायर किलोमिटर ओभरले गरिएकोमा केही मिटरमा मात्र समस्या आउनु सामान्य भएको उनले दाबी गरे । 'अरू निर्माण कार्यमा पनि यस्तो हुन्छ,' उनले भने । ओभरले गर्न प्रयोग हुने बिटुमिन सडक विभागको ल्याबबाट टेस्ट गरेर प्रमाणित गरिएको उनले बताए ।
ओभरलेका लागि सन् २००७ मा टेन्डर गरिएको थियो भने २००९ मा प्राधिकरणसँग कम्पनीको सम्झौता भएको थियो । चीनको चाइना रेलवे इन्जिनियरिङ कर्पोरेसन र नेपालको टुन्डी कन्स्ट्रक्सन प्रालीले संयुक्त रूपमा रनवे ओभरले गरेका हुन् । हेलिप्याडमा भने बिरुवा, आजाद तथा उमा एन्ड प्रतिमा ठेकेदार कम्पनीले कालोपत्रे गरेको बताइएको छ ।
बैठकमा सभासद्हरूले निर्माणकार्यमा स्पष्ट रूपमा अनियमितता देखिएको भन्दै कारबाही हुनुपर्ने माग गरेका थिए । रनवे ओभरले कार्यको लागत २० करोडबाट बढेर २९ करोड ६८ लाख तथा हेलिप्याड निर्माण २ करोड ३५ लाखबाट बढेर २ करोड ७० लाख पुगेकोमा उनीहरूले प्रश्न उठाएका थिए ।
कांग्रेसका धनराज गुरुङले कमजोरी स्विकार्नुको सट्टा वक्तव्यबाजी गरेर मिडियालाई गाली गरेको भन्दै निरीक्षणबाट स्पष्ट रूपमा अनियमितता देखिएको बताए । 'अन्तर्राष्ट्रियस्तर कागजमा भनेर हुँदैन व्यवहारमा हुनुपर्‍यो,' उनले भने । २ करोड ७० लाख भनेर ७० लाखको मात्र काम भएको दाबी उनले गरे । ठेकेदारलाई देखाएर प्राधिकरणका अधिकारीहरू पन्छिन खोजेको भन्दै गुरुङले कसैले पनि मुक्ति पाउन नसक्ने बताए । विमानस्थल सुधार अयोजनाले विज्ञप्ति निकालेर निर्माण सामग्री, उपकरण र जनशक्तिका कारण त्रुटि भएको पुष्टि भएमा ठेकेदारले पुनः निर्माण गर्ने उल्लेख गरेको छ ।
सभासद् केशव नेपालले प्राधिकरणका अधिकारीहरूलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने बताए । तमलोपाका हृदयेश त्रिपाठीले पर्याप्त रकम हँुदाहुँदै पनि त्रुटिपूर्ण काम भएको भन्दै पर्यटन वर्ष एउटा बहाना मात्र भएको बताए । एमालेका लालबाबु पण्डितले इन्जिनियरिङ कम्पनीको प्रमाणपत्रमै शंका व्यक्त गर्दै सुधार आयोजनाबाट कारबाही सुरु गर्नुपर्ने बताए ।
राजपाका डा. प्रकाशचन्द्र लोहनीले समयावधि ५ सय १० बाट बढाएर ६ सय ९० दिन बनाइएकोमा प्रश्न गर्दै समय कम भएर काम राम्रो भएन भन्नु गैरजिम्मेवार तर्क भएको बताए । सन् २००९ मा सुरु भएको ओभरले २०११ फेब्रुअरीमा सकिएको थियो ।
धावन मार्ग भत्किएर पटक-पटक विमान सेवा अवरुद्ध हुन थालेपछि सभासद्को टोलीले बुधबार विमानस्थलमा भएका निर्माण कार्यको निरीक्षण गरेको थियो । दुवै गुणस्तरहीन भएका कारण सम्पन्न भएको ६ महिनामै मर्मत गर्नुपर्ने स्थिति आएको निष्कर्ष टोलीले निकालेको थियो ।
प्राधिकरण्ाद्वारा गठित समितिले बुझाएको प्रतिवेदनमा हेलिप्याड निर्माण्ामा प्राविधिक त्रुटि भएको उल्लेख छ । चार एमआई र नौ साना हेलिकोप्टर पार्क गर्न मिल्ने गरी २ करोड ७० लाख रुपैयाँमा हेलिप्याड बनाइएको थियो ।
मापदण्ड पूरा नगरी बनाइएको हेलिप्याडमा इन्धन बोकेका ट्यांकरसमेत जाने भएकाले भार थेग्न नसकी पिच फुटेको प्रतिवेदनमा छ । विमानस्थल धावनमार्ग भत्किएको विषयमा अध्ययन गर्न सुरक्षा र मापदण्ड हेर्ने सिभिल इन्जिनियर पुण्यराज शाक्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनेको छ ।