Sunday, August 7, 2011

किन घट्दै छ पर्यटनको आम्दानी ?

image

लक्ष्मीप्रसाद खतिवडा

khatiwadalp@gmail.com

नेपालमा कम खर्च गर्ने पर्यटकको संख्या बढिरहेको छ । यस्ता पर्यटक 'एफआइटी’ अर्थात् 'फ्रिइन्डिभिजुअल ट्राभलर’ हुन् जसले एजेन्सीसँग प्याकेज किन्दैनन् । नेपाल आउने पर्यटकमध्ये करिब १५ प्रतिशतले मात्र प्याकेज बुक गरेर आउँछन् । बाँकीले यहीँ आएर मोलमोलाइ गरी प्याकेज किन्ने गर्छन् ।

नेपाल आउने पर्यटक बढिरहे पनि पर्यटन क्षेत्रबाट हुने आम्दानी भने घटेका विभिन्न तथ्यांक बाहिर आइरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक तथा आर्थिक सर्वेक्षणले पर्यटन क्षेत्रबाट हुने आम्दानी घटिरहेको देखाएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २००९ मा ३७ करोड ७१ लाख ७२ हजार अमेरिकी डलर पर्यटन क्षेत्रबाट आम्दानी भएकोमा सन् २०१० मा ३२ करोड ९९ लाख ८२ हजार डलरमा झरेको छ ।

त्यस्तै, आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष ०६६/६७ को तुलनामा ०६७/६८ मा पर्यटकबाट हुने आम्दानी झन्डै १० प्रतिशतले घटेको छ । पर्यटकबाट प्राप्त आम्दानीका आधारमा ०६७ पुस मसान्तसम्मको आय २४ करोड ९८ लाख ८८ हजार रुपैयाँ छ । जब कि ०६६ पुससम्म २७ करोड ९६ लाख रुपैयाँ आम्दानी भएको थियो ।

खर्च गर्न कन्जुस्याइँ गर्ने पर्यटकको संख्यामा वृद्धि तथा पर्यटन क्षेत्रमा बढेको अस्वस्थ प्रतिस्पर्धा आम्दानी घट्नुको मुख्य कारण हो । पछिल्लो केही समयमा ट्राभल व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । खुलाबजार भएकाले मूल्यमा चर्को प्रतिस्पर्धा छ र सस्तोको होडबाजीले गर्दा सेवाको गुणस्तर खस्केको छ । सीमित पर्यटकीय गतिविधि र अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालप्रति स्तरीय पर्यटकको आकर्षण घट्दै गएको छ । एउटै कम्पनीमार्फत विभिन्न कारोबार गर्ने तर करको दायरामा नआउने प्रवृत्तिका कारण पनि पर्यटन व्यवसायबाट हुने आम्दानी राज्यको ढुकुटीमा आउन सकेको छैन । यसका लागि राज्यको अनुगमन प्रभावकारी हुनुपर्छ र यस्ता व्यवसायीलाई अनुमतिअनुसारको व्यवसाय मात्र गर्न दिनुपर्छ ।

ट्राभल एजेन्सीको काम अनलाइनबाट हुने भएकाले राजस्व ठगी र अपारदर्शिताको बढी सम्भावना हुन्छ । पर्यटन मन्त्रालयमा दर्ता भएका ट्राभल एजेन्सीको संख्या १८ सय नाघेको छ, तर राष्ट्र बैंकको तथ्यांकअनुसार धेरै कारोबार गर्ने कम्पनीको संख्या ३ दर्जन मात्र छ । यसको अर्थ अझै थुपै्र ट्राभल एजेन्सी करको दायराभन्दा बाहिर छन् । कतिपय ठूला होटल तथा ट्राभल एजेन्सीको बैंक खाता विदेशमा भएको र क्रेडिट कार्डमार्फत विदेशमै कारोबार हुने गरेको बताइन्छ । नेपाली कम्पनीका विदेशस्थित एजेन्टबाट प्याकेज किनबेच हुँदा यो कारोबार राष्ट्र बैंकको दायरामा आउन सकेको छैन । केही समयअघि राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले 'सिस्टम' मा केही त्रुटि भएको र राष्ट्र बैंकले त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रिय ध्वजाबाहकको आम्दानी बर्सेनि घट्दै जानु पर्यटन क्षेत्रको आम्दानी कम देखिनुको अर्को महत्त्वपूर्ण कारण हो । नेपालले सन् १९९८ देखि उदार हवाई नीति लिएपछि विदेशी विमान कम्पनीको नेपाल आउने क्रम ह्वात्तै बढ्यो । अहिले २७ वटा विदेशी विमान कम्पनीले नेपालमा उडान गरिरहेका छन् र तिनको वाषिर्क हवाई सिट क्षमता करिब २५ लाख छ । १२ वर्षअघि सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाउँदा १४ विदेशी विमान कम्पनीले नेपालमा उडान भरिरहेको स्थिति थियो भने सिट संख्या १० लाख थियो । त्यतिखेर राष्ट्रिय ध्वजाबाहकले ठूलो बजार हिस्सा ओगट्ने हुनाले पर्यटन क्षेत्रको आम्दानी स्वदेशमै रहन्थ्यो ।

अहिले नेपालमा करिब ८० अर्बको हवाई बजार छ र त्यसमा नेपाल वायुसेवा निगमको हिस्सा करिब ५ अर्बको मात्र छ । हवाई बजारमा हुने ठूलो आम्दानी विदेशी विमान कम्पनीमार्फत बिदेसिइरहेको छ । नागरिक उड्डयन प्राधिकरणले लिने 'ल्यान्डिङ पार्किङ' तथा 'नेभिगेसन चार्ज', नेपाल वायुसेवाले लिने 'ग्राउन्ड ह्यान्डलिङ' चार्ज तथा पर्यटन बोर्डले प्रतियात्रु पाउने पाँच सय रुपैयाँबाहेक नेपाली पर्यटनमा विदेशी विमान कम्पनीको खासै योगदान छैन । यस्तो अवस्थामा कसरी पर्यटन क्षेत्रको आम्दानी बढ्न सक्छ ?

सन् २०१० को तथ्यांकअनुसार नेपाल वायुसेवा निगमले वर्षभरिमा करिब २२ हजार पर्यटक नेपाल भित्र्याएको थियो । विदेशी पर्यटक नेपाल भित्र्याउने मुख्य ५ विमान कम्पनी विदेशी छन् । कुनै वेला एकै गन्तव्यबाट २२ हजारभन्दा बढी पर्यटक भित्र्याउने निगम अहिले २७ वटा विमान कम्पनीमा छैटौँ स्थानमा पुगेको छ ।

नेपालमा कम खर्च गर्ने पर्यटकको संख्या बढिरहेको व्यवसायीको ठहर छ । यस्ता पर्यटक 'एफआइटी' अर्थात् 'प|mी इन्डिभिजुअल ट्राभलर' हुन् जो एजेन्सीसँग प्याकेज किन्दैनन् । नेपाल आउने पर्यटकमध्ये करिब १५ प्रतिशतले मात्र प्याकेज बुक गरेर आउँछन् । बाँकीले यहीँ आएर मोलमोलाइ गरी प्याकेज किन्ने गर्छन् । यस्ता पर्यटकले एकमुष्ठ प्याकेज नकिन्ने भएकाले सस्तो खोज्दै विभिन्न एजेन्सी धाउँछन् । गुणस्तरीय पर्यटकमा भन्दा संख्यामा जोड दिन थालिएपछि आम्दानी बढ्ने कुरा भएन ।

२०१० को तथ्यांकअनुसार पर्यटकको सरदर बसाइ अवधि २००९ को तुलनामा १ दिन बढेर १२ दिन पुगेको छ । तर, बसाइ अवधि बढे पनि दैनिक खर्च ६५ डलरबाट घटेर ४३ डलरमा झरेको छ । पाँचतारे होटलको कारोबार १० प्रतिशतले घटेको देखिनुले पनि कम खर्च गर्ने पर्यटक बढेको संकेत हो ।

तथ्यांकअनुसार २०१० मा नेपाल आउने धार्मिक पर्यटकको संख्या उल्लेख्य बढेको छ, जसले सामान्यतया कम खर्च गर्छन् । सन् २००९ मा ५१ हजार ५ सय धार्मिक पर्यटक आएकोमा २०१० मा यो संख्या झन्डै दोब्बर भएको छ । तुलनात्मक रूपमा बढी खर्च गर्ने ट्रेकिङ तथा पर्वतारोहणका सोखिन पर्यटक भने आधा घटेका छन् ।

विश्व पर्यटन संगठन र अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकअनुसार विश्वको कुल अन्तर्राष्ट्रिय व्यापारको करिब ६ प्रतिशत पर्यटन सेवाले ओगटेको छ । सन् २०१० मा विश्वव्यापी रूपमा पर्यटन क्षेत्रबाट हुने कुल गार्हस्थ उत्पादन अर्थात् जिडिपी ४.६ प्रतिशत पुगेको छ । नेपालमा भने जिडिपीमा पर्यटनको योगदानबारे यकिन तथ्यांक छैन । सरकारी तथ्यांकअनुसार यो प्रतिशत ३ छ भने पर्यटन व्यवसायीले २५ प्रतिशतसम्मको दाबी गर्दै आएका छन् ।

जिडिपीमा पर्यटन क्षेत्रको योगदानको मूल्यांकन गर्ने स्याटेलाइट लेखा प्रणाली लागू गर्ने घोषणा भएको वर्षौं बितिसक्दा पनि यसको कार्यान्वयन हुन सकेको छैन । पर्यटन मन्त्रालयले केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर यो प्रणाली लागू गर्ने प्रयास गरेको छ, तर अपेक्षाकृत काम भइरहेको छैन । यो प्रणाली लागू गर्न पर्यटनबाहेक सम्बद्ध अन्य क्षेत्रको पनि तथ्यांक लिनुपर्ने हुन्छ ।

मुलुकको विद्यमान राष्ट्रिय लेखा प्रणालीले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान हेर्दैन । यसले कुल गार्हस्थ उत्पादनमा कुन क्षेत्रको कति योगदान छ भनेर बृहत् रूपमा मात्र हेर्छ । यसमा पर्यटन क्षेत्रको सारांश मात्र हुने भएकाले पर्यटनको विस्तृत तथ्यांकका लागि स्याटलाइट लेखा प्रणाली आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले कृषि, यातायात, उत्पादनमूलक क्षेत्रलगायत आर्थिक गतिविधि हुने १७ वटा मानव क्रियाकलापका क्षेत्र छुट्याएको छ । स्याटलाइट लेखा प्रणालीको प्रयोगबाट ती सबै क्षेत्रको छुट्टाछुट्टै तथ्यांक संकलन गरेर पर्यटन क्षेत्रको विस्तृत र छुट्टै तथ्यांक निकालिन्छ । यसका लागि नियमित रूपमा तथ्यांक संकलन गरिरहनुपर्ने हुन्छ ।

राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको वास्तविक योगदान पत्ता लगाउन होटल, रेस्टुरेन्ट, वनलगायत पर्यटनसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सम्बन्धित सबै क्षेत्रकोे तथ्यांक संकलन गरी एकीकृत तथ्यांक तयार गरिन्छ । अहिलेको लेखा प्रणालीमा पर्यटकले कुन-कुन क्षेत्रमा कति-कति खर्च गर्छन् भन्ने स्पष्ट तथ्यांक आउँदैन । पर्यटकले खर्च गर्ने 'पकेट मनी' राष्ट्र बैंकको तथ्यांकमा नआउने भएकाले पनि आम्दानी कम देखिएको हुन सक्छ ।

स्याटलाइट लेखा प्रणाली भनेको आर्थिक तथा सामाजिक विषयलाई अलग्गै विशेष रूपमा केन्दि्रत गरी आर्थिक विश्लेषण गरेर तयार गरिने लेखा प्रणाली हो । भारत, सिंगापुर, थाइल्यान्डलगायत मुलुकमा यो प्रणाली सफलतापूर्वक लागू भइसकेको छ । यो एउटा सूक्ष्म लेखा प्रणाली हो जसबाट पर्यटन उद्योगको आकार र पर्यटनको आर्थिक योगदान थाहा हुन्छ । सन् १९८३ मा विश्व पर्यटन समाजले ल्याएको पर्यटन स्याटलाइट लेखा प्रणालीलाई सन् २००० मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको थियो ।

नेपालको पर्यटन क्षेत्रमा स्याटलाइट लेखा प्रणाली लागू गर्न त्रिवषर्ीय अन्तरिम योजना तथा पर्यटन नीति ०६५ मा प्राथमिकतासाथ उल्लेख भएको छ । तथ्यांकशास्त्रीका अनुसार पर्यटन क्षेत्रमा भएको पुँजीगत लगानीको स्थिति, पर्यटन उद्योगबाट प्राप्त राजस्व, पर्यटन उपभोगको स्थिति र राष्ट्रिय शोधानान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलनमा पर्यटनको प्रभाव मूल्यांकन गर्न पनि यो प्रणाली उपयुक्त हुन्छ । स्याटलाइट लेखा प्रणालीका लागि जनगणना, विभिन्न सर्वेक्षण, अध्ययन तथा प्रशासनिक अभिलेखबाट प्राप्त तथ्यांक मुख्य स्रोत हुन् ।

समग्रमा भन्नुपर्दा नेपालमा पर्यटन क्षेत्रबाट हुने गरेको आम्दानी क्रमशः ओरालोतिर लम्किरहेको छ । यसका कारण पहिल्याएर समयमै उपचारको उपाय अवलम्बन गर्न सकिएन भने यसले समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्ने निश्चित छ ।

Saturday, August 6, 2011

पर्यटक सेवा शुल्कबाट २८ करोड


लक्ष्मीप्रसाद खतिवडा\नयाँ पत्रिका
काठमाडौं, २० साउन

आर्थिक बर्ष २०६७\६८ मा नेपाल घुम्न आएका पर्यटकबाट २८ करोड २२ लाख ५८ हजार रुपैया सेवा शुल्क संकलन भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटक सेवा शुल्क वापत सो रकम संकलन गरेको हो । यो रकम गत आर्थिक बर्षको भन्दा ५ करोड रुपैयाले बढि हो । गत आव मा बोर्डले बोर्डले पर्यटन सेवा शुल्कबाट २३ करोड ११ लाख २३ हजार रुपैया आम्दानी गरेको थियो ।
सरकारले पर्यटकका लागि जारी गरेको शेवा शुल्क बुझाउने प्रक्रिया परिवर्तन गरि हवाई टिकटमै सेवा सुल्क वापतको रकम उठाउने निर्णय गरेपछि बोर्डले विमान कम्पनिबाटै यो शुल्क उठाउछ । यसअघि पर्यटक स्वयंले बोर्डलाई सेवा सुल्क बुझाउनु पर्ने व्यवस्था थियो ।
गत आवको भन्दा करिव १० करोड रुपैया बढि आम्दानी भएको बोर्डले जनाएको छ । नेपाल आउने तथा टेकिङमा जाने पर्यटक बढेका कारण बोर्डको आम्दानी बढेको हो । त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट बाहिरिने हरेक विदेशी पर्यटकबाट बोर्डले प्रतिव्यक्ति ५ सय रुपैया सेवा शुल्क उठाउछ । त्यस्तै टेकिङमा जाने पर्यटकले पनि पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिन बोर्डलाइ निश्चित शुल्क बुझाउनु पर्छ । पर्यटन व्यवसायीले व्यवसाय प्रवद्र्धनका बोर्डबाट सदस्यता लिन चाहेमा विदेशीले बार्षिक १ हजार डलर र स्वदेशीले ३० हजार रुपैया शुल्क तिर्नुर्ने प्रावधान छ ।
पर्यटक सेवा शुल्क बाहेक बोर्डले गत आवमा टिम्स कार्ड विक्री तथा हल भाडाबाट करिव १० करोड रुपैया संकलन गरेको छ । टिम्स कार्डको विक्रीबाट ८ करोड ७० लाख ७२ हजार तथा हलभाडा बाट ९० लाख रुपैया संकलन भएको बोर्डले जनाएको छ । यसबाट बोर्डको कुल आम्दानी ३४ करोड पुग्ने देखिएको छ । गत आवमा बोर्डले पर्यटक सेवा शुल्क २३ करोड ११ लाख, टिम्स कार्ड विक्रीबाट १ करोड ९१ लाख तथा हलभाडाबाट.८५ लाख रुपैया आम्दानी गरेको थियो । चालु आवमा बोर्डले ३८ करोड रुपैया आम्दानी गर्ने लक्ष्य राखेको छ ।
टिम्सकार्ड विक्रीबाट उठेको रकममध्ये एक तिहाइ मात्र बोर्डले उपयोग गर्न पाउछ । बाकी दुई तिहाइ मध्ये आधा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले प्राप्त गर्छ भने आधा पदयात्रा क्षेत्रको सुधार कार्यमा खर्च गर्नुपर्ने प्रावधान छ ।
पर्यटन बोर्डको आम्दानी
आर्थिक बर्ष आम्दानी
२०६३\६४ १८ करोड २६ लाख ५५ हजार ५ सय
२०६४\६५ २० करोड ६ लाख ४५ हजार
२०६५\६६ १९ करोड
२०६६\६७ २३ करोड २४ लाख ८५ हजार
२०६७\६८ ३४ करोड
२०६८\६९ ३८ करोड (लक्ष्य)
श्रोत नेपाल पर्यटन बोड

कुल बजेटमध्ये बोर्डले पर्यटकीय उत्पादनमा १४ प्रतिशत, मार्केटिङमा २२ प्रतिशत, जनसम्पर्क तथा पब्लिसिटीमा १६ प्रतिशत, अध्ययन अनुन्धान तथा योजनामा ३ प्रतिशत, संस्थागत कार्यक्रमका लागी ५ प्रतिशत र प्रशासनिक कामका लागी १५ प्रतिशत खर्च गर्छ । त्यस्तै पोखरा क्षेत्रिय कार्यालयका लागी २ प्रतिशत बजेट छुट्याने गरेको छ भने १० प्रतिशत रकम सञ्चित कोषमा राख्ने गर्छ ।
पर्यटन बर्ष सचिवालय अन्तर्गत बोर्डले गत आवमा पर्यटन बर्ष २०११ उद्घाटन कार्यक्रममा २ करोड ७५ लाख, क्षमता अभिवृद्धिमा २ करोड, पर्यटकीय उत्पादनको प्याकेजिङ तथा प्रमोसनमा ४ करोड २५ लाख र प्रशासकिय कार्यमा १ करोड रुपैया खर्च गरेको छ । त्यस्तै आव २०६६\६७ मा पर्यटन बर्षको औपचारिक घोषणा, आन्तरिक प्रवद्र्धन, अन्तराष्ट्रिय प्रवद्र्धन लगायतका शिर्षकमा १ करोड ९७ लाख रुपैया खर्च भएको बोर्डले जनाएको छ । बोर्डले पर्यटन बर्षको सचिवालयको रुपमा पनि काम गरिरहेको छ । कुल आम्दानीको ७५ प्रतिशत रकम पर्यटन प्रवद्र्धनका लागि खर्च गरिदै आएको बोर्डको दावी छ । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले तत्कालिन हवाइ विभाग विघटन गरेर बोर्डको स्थापना भएको हो ।

Friday, August 5, 2011

अर्काको नाममा टिकट काट्नेलाई ४७ हजार जरिवाना

नयाँ पत्रिका

काठमाडौं, १९ साउन

राजस्व अनुसन्धान विभागले नक्कली हवाई टिकट बिक्री गर्ने ट्राभल लाइट प्राइभेट लिमिटेडबाट ४७ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ । गत पुसमा भएको तारा दुर्घटनामा मृत्यु भएका भुटानी नागरिकको टिकट जारी गर्ने कम्पनीबाट सो रकम असुल गर्न विभागले सम्बन्धित आन्तरिक राजस्व कार्यालयलाई निर्देशन दिएको हो ।

सो ट्राभल एजेन्सीले नक्कली नाममा टिकट काटेर राजस्वमा हानी पुर्‍याएको ठहर गर्दै जरिवानास्वरूप रकम असुल गराउने निर्णय भएको विभागले जनाएको छ ।

सोहीसम्बन्धमा छानबिन गर्न गठित समितिले भने कानुन स्पष्ट नभएको भन्दै टिकट बिक्रेता र तारा एयरलाई उन्मुक्ति दिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण्ा अर्यालको संयोजकत्वमा गठित समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन तत्काल कानुन परिमार्जन गर्न सरकारलाई सुझाब दिएको छ ।

सुरक्षाको हिसाबले पनि अर्काको नाममा यात्रा गर्नु संवेदनशील हुने भएकोले ऐन संशोधन गर्न सिफारिस गरिएको समितिका सदस्य बुद्धिसागर लामिछानेले बताए । समितिले पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मालाई प्रतिवेदन बुझाइसके पनि सार्वजनिक भएको छैन ।

गैरसैनिक हवाई उडान ऐन ०१५ मा अर्कैको नाममा टिकट जारी गर्ने एजेन्सी तथा विमान कम्पनीलाई के कारबाही गर्ने सम्बन्धमा कुनै उल्लेख नभएकोले कारबाही सिफारिस गर्न नसकिएको उनको भनाइ छ । 'एजेन्सी र तारा एयरलाई कारबाही गर्न कानुन स्पष्ट नभएको समितिले ठहर गरेको छ,' उनले भने ।

समितिलाई १५ दिनको कार्यअवधि दिइए पनि बिमा प्रक्रिया विवादित बनेपछि लामो समय लागेको थियो । समितिका सदस्यमा नागरिक उड्डयन प्राधिकरण्ाका भरतराज ढकाल, गृह मन्त्रालयका एकमण्ाि नेपाल, त्रिभुवन विमानस्थलका एसपी सुरेश बस्नेत र सदस्य-सचिव प्राधिकरण्ाका बुद्धिसागर लामिछाने छन् ।

यात्रु बिमासम्बन्धी प्रक्रिया जारी रहेकाले मृतकले बिमा पाउने वा नपाउने विषयसमेत अन्यौलमा छ । टिकटमा नक्कली नाम प्रयोग गरेकै कारण्ा मृतक भुटानी नागरिकले बिमा रकम पाउन सकेका छैनन् । तारा एयरले बिमा गरेको लन्डनस्थित बिमा कम्पनीले यसका लागि नेपालमा कन्सल्ट्यान्टसमेत पठाएको छ ।

अहिले पनि दैनिक सयौँ व्यक्तिले अर्काको नाममा हवाई यात्रा गरिरहेको बताइन्छ । तर, तारा एयरमा विदेशीले नेपालीको नाममा यात्रा गरेको खुलेपछि सो विषय बाहिर आएको थियो । जहाजको टिकट काट्दा नेपाली नाममा काटेका कारण्ा उनीहरूलाई पहिचान गर्न सुरुमा अप्ठ्यारो भएको थियो ।

विदेशीका लागि बढी पैसा लाग्ने भएपछि यी यात्रुले नेपाली नाम लेखाएको बताइएको छ ।

खोटाङको हलेसीमा तिर्थ यात्रा गरेर आएका भुटानी नागरिकहरूको तारा एयरको दुर्घटनामा परेर मृत्यु भएको थियो ।

उनीहरू मध्ये १८ जना भुटानी र एक जना अमेरिकी पासपोर्ट लिएका तिब्बती शरण्ाार्थी हुन् । तारा एयरको ९ एन एएफएक्स नम्बरको जहाज खोटाङको लामीडाँडाबाट काठमाडौं आउने क्रममा ओखलढुंगामा दुर्घटनाग्रस्त भएको थियो ।

आफ्ना नागरिक दुर्घटनामा परेपछि भुटानबाट ९ जनाको एक उच्चस्तरीय टोली काठमाडौं आएको थियो । ट्राभल लाइटबाट उनीहरूले नेपालीमूलको नामबाट टिकट रुजु गराए पनि उनीहरू बस्दै आएको ठमेलस्थित पोतला गेस्ट हाउसको रेकर्डमा भुटानी नाम र थर देखिएपछि उनीहरूले नाम छलेर यात्रा गरेको खुलासा भएको थियो ।