Tuesday, November 15, 2011

पर्यटन वर्षको बजेट खर्च गर्न स्वीकृति

लक्ष्मीप्रसाद खतिवडा
image
यो निर्णयसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी र सिएनएनसहित सबै अन्तर्राष्ट्रिय प्रचार-प्रसारका कामले निरन्तरता पाउने भएका छन् ।

नयाँ पत्रिका
काठमाडौं, २८ कात्तिक
सरकारले पर्यटन वर्ष २०११ का लागि छुट्याएको बजेट खर्च गर्न स्वीकृति दिएको छ । पर्यटन वर्ष मूल आयोजक समितिका अध्यक्ष पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्रविष्ट मगरको अध्यक्षतामा सोमबार बसेको बैठकले पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचार-प्रसारका कार्यक्रमअगाडि बढाउने निर्णय गरेको हो । 
यो निर्णयसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी र सिएनएनसहित सबै अन्तर्राष्ट्रिय प्रचार-प्रसारका कामले निरन्तरता पाउने भएका छन् । त्यस्तै, बैठकले पर्यटन वर्षको समापन कार्यक्रम लुम्बिनीमा गर्ने निर्णय गरेको छ । 
संस्कृति मन्त्रालयसँग समन्वय गरेर लुम्बिनी भ्रमण वर्षको घोषणा तथा पर्यटन वर्षको समापन कार्यक्रम एकैसाथ गर्ने योजना पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिको छ । सरकारले हालै मात्र सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने निर्णय गरेको थियो । 
सो अवसरमा पर्यटन भिजन २०२० को पनि घोषणा गरिनेछ । सन् २०२० सम्ममा वाषिर्क २० लाख पर्यटक ल्याउने लक्ष्यसहित माओवादी नेतृ हिसिला यमी पर्यटनमन्त्री हुँदा भिजन २०२० तयार भएको थियो । लुम्बिनीमा हुने कार्यक्रमका लागि संयुक्त राष्ट्र संघका महासचिव बान की मुनलाई ल्याउन पहल गर्ने निर्णयसमेत समितिले गरेको छ । हालै अमेरिका भ्रमणमा गएका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग महासचिव मुनले लुम्बिनी विकासका लागि गठन भएको उच्चस्तरीय समितिको नेतृत्व गर्न सहमति जनाएका थिए । 
पर्यटन मन्त्रालयका प्रवक्ता हरिप्रसाद बस्यालका अनुसार मूल समितिको बैठकले सिएनएन तथा बिबिसीसँग वार्ता गरी प्रचार-प्रसार गर्न कार्यक्रम कार्यान्वयन समितिअन्तर्गत रहेको प्रचार-प्रसार उपसमितिलाई स्वीकृति दिएको छ । उपसमितिले नै भारत तथा चीनमा गर्ने प्रचार-प्रसारको प्रक्रिया पनि टुंगो लगाउनेछ । 'पुरानोलाई निरन्तरता दिने वा नयाँ सुरु गर्ने भन्ने निर्णय उपसमितिले नै गर्नेछ,' बस्यालले भने । २०११ मा हुनुपर्ने सबै काम अब २०१२ मा मात्र हुने उनले बताए । 
प्रचार-प्रसार उपसमितिले बिबिसी र सिएनएनसँग पटकपटक वार्ता गरी व्यावसायिक 'डिल' गरिसकेको भए पनि मन्त्री नभएका कारण प्रक्रिया रोकिएको थियो । त्यस्तै, भारत र चीनमा टेन्डर गरी प्रक्रिया अगाडि बढाइएकोमा नेपाल तथा भारतका ११ कम्पनीले प्रस्ताव हालेका थिए । तर, पर्यटन वर्ष अभियानलाई विदेशमा प्रचार-प्रसार र प्रवर्द्धन गर्न छनोट गरेका विदेशी कम्पनी सोचेजस्तो सक्षम नभएको भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिले बैठकले गत साउन दोस्रो साता अन्तर्राष्ट्रिय प्रवर्द्धनका सबै काम रोकेको थियो । कानुनी हिसाबमा पनि केही कमी-कमजोरी देखिएको र मौमसअनुसार प्रवर्द्धन कार्यक्रम गर्ने तालिका पनि नमिलेका कारण प्रक्रिया रोकिएको थियो । भारतमा मेदेखि जुलाईभित्र प्रचार-प्रसार गर्नु उपयुक्त मानिन्छ । भारत र चीनका लागि पुनः टेन्डर गरिए पनि राम्रो प्रस्ताव नआएको उपसमितिले जनाएको छ । 
बिबिसीले ४ करोड ५० लाख र सिएनएनले ३ करोड ५० लाख रुपैयाँको विज्ञापन प्याकेजको प्रस्ताव पेस गरेका थिए । बिबिसीले टेलिभिजन, रेडियो, पत्रिका, म्यागाजिन तथा वेबसाइटमा चार महिनासम्म पर्यटन वर्षको प्रचार-प्रसार गर्ने प्रस्ताव गरेको थियो । सिएनएनलाई भने टेलिभिजनमार्फत अमेरिकामा प्रचार गर्न महँगो हुने भएका कारण्ा डिजिटल मिडिया र इन्टरनेट प्रवर्द्धनको प्याकेज मागिएको थियो । अगस्ट अन्तिमदेखि बिबिसी र सिएनएनबाट प्रचार-प्रसार गर्ने समितिको योजना भए पनि यसका लागि २०१२ कुर्नुपर्ने भएको छ । चीनमा भने नोभेम्बरदेखि प्रचार-प्रसार गरेर डिसेम्बर र फेबु्रअरीमा पर्यटक तान्ने लक्ष्य थियो । चीनमा अब २०१२ जनवरी र भारतमा मार्चदेखि अपि्रलभित्र प्रचार-प्रसार सुरु हुने समितिले जनाएको छ । भारत र चीनमा टेलिभिजन, रेडियो, पत्रिका, होर्डिङ बोर्ड, डिजिटल मिडिया, वेबसाइटलगायतबाट तीन महिनासम्म प्रचार-प्रसार गर्ने कार्यक्रम थियो । यसका लागि भारतका इन्डिया टुडे, जागरण्ा, ट्राइटन, सुरिज, ओम टुरिज्मलगायत र नेपालका की एड्भर्टाइजिङ, त्रिकोण्ा, डिजिटेन्मेन्ट, माइस एडलगायत कम्पनीले प्रस्ताव हालेका थिए ।
पर्यटन वर्ष अवधि करिब डेढ महिना मात्र बाँकी छ । यो वर्षभित्र हवाई मार्गबाट ७ लाख र स्थलबाट ३ लाख गरी १० लाख पर्यटक ल्याउने लक्ष्य छ । हालसम्म हवाई मार्गबाट ४ लाख ४३ हजार पर्यटक आएका छन् भने स्थलमार्गबाट आउने पर्यटकको यकिन तथ्यांक आइसकेको छैन । 
गत आर्थिक वर्ष ०६७/६८ मा पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सरकारले विनियोजन गरेको १३ करोड रुपैयाँ खर्च नभए पनि उक्त रकमलाई पुनः चालू आर्थिक वर्ष ०६८/६९ मा रकमान्तर गरिएको थियो । यसपालि थप १२ करोड पनि विनियोजन गरिएको छ । कार्यक्रम कार्यान्वयन समितिले भारत र चीनमा प्रचार-प्रसार गर्न ९ करोड र त्यसबाहेकका देशका लागि ४ करोड रुपैयाँ छुट्याएको छ । पर्यटन वर्षमा हवाई मार्गबाट ७ लाख र स्थलमार्गबाट ३ लाख पर्यटक ल्याउने लक्ष्य छ ।

Thursday, November 10, 2011

सन्तुलित विकासका लागी विकेन्द्रित योजना

नयाँ पत्रिका
काठमाडौं, २३ कात्तिक
सरकारले चालू आर्थिक वर्ष ०६८/६९ मा मुलुकभर पर्यटन विस्तारका लागि पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ । लामो समयसम्म पर्यटन पूर्वाधार केन्दि्रकृत भएको भन्दै पर्यटन मन्त्रालयले ग्रामीण क्षेत्रमा समेत पूर्वाधार विस्तार गर्ने योजना ल्याएको हो । 
पूर्वाधार निर्माणका लागि मन्त्रालयले ७५ वटै जिल्ला समेटेर १७ पर्यटकीय क्षेत्र पहिचान गरेको छ । 'सन्तुलित पर्यटन विकासका लागि पूर्वाधार निर्माणको आवश्यकता महसुस गरेर नयाँ अवधारणा ल्याइएको हो, ७५ वटै .जिल्लामा पर्यटनका लागि कुनै न कुनै पूर्वाधार विकास गर्ने लक्ष्य राखिएको छ,' मन्त्रालयको योजना महाशाखाका सहसचिव लोकबहादुर खत्रीले भने ।
पर्यटन क्षेत्रको विकास मन्त्रालयको चालू आवको मुख्य कार्यक्रम भएको र त्यसका लागि स्थानीय निकायसँग सहकार्य तथा समन्वय गरिने उनले बताए । 
पूर्वाधार निर्माणका लागि पर्यटन गुरुयोजना बनाउने काम भइरहेको उनले जानकारी दिए । मन्त्रालयले पहिचान गरेका पर्यटकीय क्षेत्रमा खप्तड-रामारोसन, रारा-कणर्ाली, चिसापानी-ठाकुरद्वार, जलजला-ढोरपाटन पोखरा, अन्नपूर्ण-मनास्लु लुम्बिनी, रुरु-रेसुंगा, काठमाडौं, लाङटाङ-गौरीशंकर, सिम्रौन सगरमाथा, अरुण, मेची पहाडी, विदेह-मिथिला जनकपुर, सहलेस र विराट पर्यटकीय क्षेत्र छन् । 
१७ मध्ये १० वटा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको जिम्मा सम्बन्धित क्षेत्रका पर्यटन विकास समितिलाई दिइएको मन्त्रालयले जनाएको छ । जलजला-ढोरपाटन पर्यटकीय क्षेत्रको विकासको जिम्मा भने पर्यटन कार्यालय भैरहवालाई दिइएको छ । त्यस्तै, पोखरा पर्यटकीय क्षेत्रको विकास पर्यटन कार्यालय पोखराले गर्नेछ ।
काठमाडांंैं, ललितपुर, भक्तपुर र काभे्रपलाञ्चोकको पर्यटन पूर्वाधार विकासको जिम्मा पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन पूर्वाधार तथा विकास आयोजनाले लिएको छ । लाङटाङ-गौरीशंकर र सगरमाथा पर्यटकीय क्षेत्र विकासको जिम्मा मन्त्रालयले पर्यटन कार्यालय जनकपुरलाई दिएको छ । अरुण पर्यटकीय क्षेत्रको विकासको जिम्मा पर्यटन कार्यालय काँकडभिट्टाले पाएको छ । यस क्षेत्रमा संखुवासभा, भोजपुर धनकुटा र तेह्रथुम जिल्ला पर्छन् । 
लामो समयसम्म सन्तुलित पर्यटन विकास हुन नसकेका कारण पर्यटकलाई पोखरा, चितवन र लम्बिनीको 'गोल्डेन ट्रांगल'बाट बाहिर लैजान नसकिएको निष्कर्ष मन्त्रालयको छ । 'पूर्वाधारविना ग्रामीण क्षेत्रमा पर्यटक लैजान सकिँदैन,' सहसचिव खत्रीले भने । पर्यटन वर्ष २०११ मा नेपाल आउने पर्यटकमध्ये ४० प्रतिशतलाई ग्रामीण क्षेत्रमा पुर्‍याउने सरकारी लक्ष्य भए पनि त्यसका लागि पर्याप्त पूर्वाधार नभएको पर्यटन व्यवसायीले बताउँदै आएका छन् । 
पूर्वाधार विकासअन्तर्गत नै काठमाडौं उपत्यका वरपर तथा मकवानपुर-टिस्टुङमा टे्रकिङ टे्रल विस्तार गरिने मन्त्रालयले जनाएको छ । हनुमानढोका, पाटन तथा भक्तपुर दरबार स्क्वायरमा पर्यटकका लागि शौचालय निर्माण गर्न मन्त्रालयले बजेट छुट्याएको छ ।
त्यस्तै, मुलुकका विभिन्न स्थानमा स्थापना गरिने एकीकृत पर्यटकीय सेवा केन्द्रका लागि ३ करोड ६० लाख रुपैयाँ छुट्याइएको मन्त्रालयले जनाएको छ । चालू आवमा मुगुको रारा, अछाम, रोल्पा, गुल्मीको तम्घास, जनकपुर र भोजपुरमा पर्यटक सेवा केन्द्र स्थापना गर्न पूर्वाधार निर्माण गर्ने योजना मन्त्रालयको छ । चालू आवमै धरान-भेडेटार, कालीकोटको कोटवाडा-चाल्ना, खप्तड र धुलिखेल-पलाञ्चोक भगवतीमा केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याइएको छ ।
यसअघि आधा दर्जन स्थानमा केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन भइसके पनि कुनै स्थानमा निर्माण भएको छैन । यसै वर्ष कणर्ाली क्षेत्र पर्यटन विकास समितिमार्फत रारामा सरकारी रिसोर्ट बनाउन ८० लाख रुपैयाँ छुट्याइएको छ । 
यसै आवमा राम्दीघाटदेखि देवघाटसम्म 'ट्रेकिङ ट्रेल' निर्माण्ा गर्ने, एसियाकै सबैभन्दा लामो दोधारा-चाँदनी झोलुंगेपुल मर्मत गर्ने तथा ऐतिहासिक नमुनागाउँ निर्माण्ा गर्ने योजना मन्त्रालयको छ । त्यस्तै, रोल्पाको थवाङ गाउँ, रकुमको छकाम तथा मैकोट, जाजरकोटको जुनी, कालीकोटको सल्लाहरूख गाउँलाई नमुनागाउँ बनाउन बजेट छुट्याइएको छ ।

Thursday, November 3, 2011

पर्यटक आगमनमा नया रेकर्ड



नया पत्रिका
काठमाडौं, १७ कात्तिक

सन् २०११ को १०औ महिना अक्टोबरमा नेपाल आउने विदेशी पर्यटकको संख्याले नया  रेकर्ड कायम गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार अक्टोबर महिनामा ७३ हजार २ सय ६४ पर्यटक हवाई मार्ग हुदै नेपाल भित्रिएका छन् । यो संख्या नेपालको पर्यटन इतिहासमै सबैभन्दा बढी हो । यसअघि सबैभन्दा बढी ७० हजार पर्यटक एक महिनामा नेपाल आएको तथ्यांक छ ।
गत महिनाको पर्यटक आगमन सन् २०१० को अक्टोबर महिनाको तुलनामा भने १६.८ प्रतिशतले बढी हो । सो महिना ६२ हजार ७ सय १२ विदेशी पर्यटक हवाई मार्ग हुदै नेपाल आएका थिए । अक्टोबर महिनामा सार्क मुलुकबाट आउने हवाई पर्यटक १९.४ प्रतिशतले बढेको तथ्यांक छ । अक्टोबर महिनामा सार्क मुलुकबाट कुल ११ हजार ६ सय २२ पर्यटक हवाई मार्ग हु“दै नेपाल भित्रिएका छन् । गत वर्षको अक्टोबरमा यो संख्या ९ हजार ७ सय ३० थियो ।
मुख्य बजार भारतबाट आउने पर्यटक २६.२ प्रतिशतले बढेका छन् । अक्टोबरमा ७ हजार ७ सय ८ भारतीय पर्यटक हवाई मार्गबाट नेपाल आएको अध्यागमन कार्यालयको तथ्यांक छ । त्यस्तै, पाकिस्तानी पर्यटक ११.३ प्रतिशतले बढेका छन् । बंगलादेश र श्रीलंकाबाट आउने पर्यटक भने यो महिना केही घटेका छन् । पर्यटन वर्ष २०११ को पहिलो दश महिनामा सार्क मुलुकबाट आउने पर्यटक गत वर्षको सोही अवधिको तुलनामा ३३.७ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
सार्कबाहेक अन्य एसियाली मुलुकको पर्यटक आगमन पनि सकारात्मक छ । समग्रमा यो क्षेत्रबाट आउने पर्यटक अक्टोबरमा ४० प्रतिशतले बढेका छन् । एसियाली मुलुकबाट अक्टोबर महिनामा कुल १२ हजार १ सय ६३ पर्यटक हवाई मार्ग हुदै नेपाल आएका छन् । गत वर्षको अक्टोबरमा यो संख्या ८ हजार ६ सय ९० थियो ।
दोस्रो ठूलो बजार चीनबाट आउने पर्यटक दोब्बरभन्दा बढीले बढेको तथ्यांक छ । गत वर्षको अक्टोबरमा २ हजार ६ सय २० चिनिया पर्यटक हवाई मार्ग हुदै नेपाल भित्रिएकोमा यस वर्षको अक्टोबरमा यो संख्या ५ हजार ३ सय ९४ पुगेको छ । वर्षको सुरुवातदेखि नै चिनिया पर्यटकको संख्या बढ्दो क्रममा छ । त्यस्तै, जापानी, सिंगापुरे, दक्षिण कोरियाली र थाई पर्यटक अक्टोबर महिनामा क्रमशः ७.३, ५.७, २९.४ र २३.६ प्रतिशतले बढेका छन् ।
‘लङ हल’ बजारतर्फ युरोपेली पर्यटकको सरदर आगमन वृद्धिदर १५.२ प्रतिशत छ । गत वर्षको अक्टोबरमा २९ हजार ६ सय ८१ युरोपेली पर्यटक हवाई मार्ग हुदै नेपाल भित्रिएकोमा यस वर्षको अक्टोबरमा यो संख्या ३४ हजार १ सय ६६ पुगेको छ । बेल्जियम, डेनमार्क, जर्मनी, इटाली, इजरायल, स्पेन, स्विट्जरल्यान्ड र बेलायतबाट आउने पर्यटक क्रमशः १८.२, ४८.८, १९.३, २५.५, ८८.३, २०.७, १५.८ र ७.३ प्रतिशतले बढेको अध्यागमनको तथ्यांक छ । फ्रान्स र नेदरल्यान्डबाट आउने पर्यटक भने कही घटेका छन् । त्यस्तै अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानाडाबाट आउने पर्यटक पनि गत वर्षको तुलनामा केही घटेका छन् । अमेरिकी पर्यटक भने ५.४ प्रतिशतले बढेका छन् ।
सन् २०११ को जनवरीदेखि अक्टोबरसम्मको १० महिनामा भारतीय पर्यटकको वृद्धिदर ४२.४ प्रतिशत रहेको पर्यटन बोर्डले जनाएको छ । त्यस्तै, चिनिया पर्यटक ६६.७ प्रतिशतले बढेका छन् । जर्मन पर्यटक ११.२ प्रतिशतले बढेका छन् भने फ्रान्सेली, बेलायती र अमेरिकी पर्यटक आगमन वृद्धिदर क्रमशः ३.८, ६.६ र १४.३ प्रतिशत छ । अक्टोबरमा सबैभन्दा बढी ७३ हजार २ सय ६४ पर्यटक आएका छन् । यसअघि अप्रिलमा ५१ हजार ९ सय ६९, मार्चमा ४६ हजार ४ सय ९१, सेप्टेम्बरमा ४५ हजार ७ सय ८२ र मेमा ३९ हजार १ सय ७९ पर्यटक नेपाल आएको तथ्यांक छ । वर्षको पहिलो दश महिनामा कुल ४ लाख ४३ हजार १ सय ८ विदेशी पर्यटक हवाई मार्ग हुदै नेपाल आएको तथ्यांक छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २१.७ प्रतिशतले बढी हो । पर्यटन वर्ष २०११ मा सरकारले हवाई मार्गबाट ७ लाख पर्यटक भियाउने लक्ष्य राखेको छ ।