Wednesday, January 4, 2012

पर्यटन बोर्ड सदस्यमा ५ नियुक्त

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १९ पुस
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिमा निजी क्षेत्रका ५ जना नियुक्त भएका छन् । पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले मंगलबार मन्त्रिस्तरीय निर्णयबाट नया सदस्य नियुक्त गरेका हुन् ।
पर्यटन बोर्ड सदस्य नियुक्त हुनेहरूमा अमर बहादुर शाही, पम्फा धमला, फुर ग्याल्जेन शेर्पा, टीकाराम सापकोटा र श्यामसुन्दर कक्षपति छन् । रैका ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक शाही सुदूरपश्चिमका पर्यटन व्यवसायी हुन् । डोटीका शाहीले ‘ग्रिन रारा क्लिन रारा’ नाराका साथ रारा र बर्दिया, कैलाली, खप्तडलगायत गन्तव्यको प्रवद्र्धन गरिरहेका छन् । त्यस्तै, यति एयरलाइन्ससगको सहकार्यमा ग्रिन फारवेस्ट नारासहित सुदूरपश्चिम क्षेत्रमा वृक्षारोपण गरिरहेका छन् । कम्पनीको एक वर्षमा १ लाख रूख रोप्ने लक्ष्य छ । रैका ट्राभल्स यति एयरलाइन्सको जिएसए हो ।
त्यस्तै, पम्फा धमला धादिङकी पर्यटन व्यवसायी हुन् । पर्वतारोहण क्षेत्रबाट नियुक्त भएका सोलुखुम्बुका शेर्पा ट्रेकिङ व्यवसायी हुन् । सापकोटा पोखरा पर्यटन परिषद्का अध्यक्ष हुन् भने होटल एसोसिएसनका महासचिव कक्षपति चेन रेस्टुरेन्ट नाङ्लो तथा कुरिनटारस्थित रिभरसाइड स्प्रिङ रिसोर्टका सञ्चालक हुन् ।
सबै सदस्य ३ वर्षका लागि नियुक्त भएका हुन् । पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्याल संयोजक रहेको सिफारिस समितिले सोट्टो नेपालकी पूर्वअध्यक्ष श्वेता आचार्य, कास्कीका पर्यटन व्यवसायी डम्बरबहादुर केसी र मुगुका पर्यटन व्यवसायी राजु कार्कीसहित ८ व्यवसायीको नाम सिफारिस गरेको थियो । यसमध्ये मन्त्री विष्टले ५ जना नियुक्त गरेका हुन् । सबै क्षेत्र र तह मिलाएर समावेशी आधारमा सदस्य छनोट गरिएको समिति संयोजक अर्यालले बताए । उनीहरूले पेस गरेको योजना तथा पर्यटन क्षेत्रमा पु¥याएको योगदानका आधारमा सदस्य सिफारिस गरिएको उनले जानकारी दिए ।
सदस्य सिफारिसका लागि सहसचिव अर्यालको संयोजकत्वमा पुस पहिलो साता तीन सदस्यीय समिति गठन भएको थियो । समिति सदस्यहरूमा पर्यटन व्यवसायीहरू बोधराज भण्डारी र तिलक लामा छन् । समितिमा सरकारका एक प्रतिनिधि र २ पर्यटन विज्ञ रहने प्रावधान पर्यटन बोर्ड ऐनमा छ ।
पर्यटन बोर्डका तीनजना सञ्चालक समिति सदस्यहरू गणेश सिम्खडा, निमी शेर्पिनी र अग्नि क“डेलको पदावधि गत मंसिर १५ मा सकिएको थियो । उनीहरू तिनैजनाको शैक्षिक योग्यताबारे प्रश्न उठ्दै आएको थियो । पर्यटन बोर्ड सञ्चालक समितिमा ११ सदस्य रहन्छन् । पर्यटन मन्त्रालयका सचिव अध्यक्ष रहने समिति सदस्यमा अध्यागमन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा अर्थ मन्त्रालयका प्रतिनिधि रहन्छन् । बाकी ५ सदस्य निजी क्षेत्रबाट नियुक्त हुन्छन् । सिइओ भने सञ्चालक समितिको सदस्यसचिव हुने प्रावधान छ ।
पर्यटनमन्त्री विष्टले कार्यकाल नसकिए पनि बोर्ड सदस्यहरू ध्रुवनारायण श्रेष्ठ र रेवतबहादुर थापालाई हटाएका छन् । उनीहरूको समयावधि २ बर्ष बाकी थियो । श्रेष्ठ र थापालाई माधवकुमार नेपाल सरकारका पर्यटनमन्त्री शरतसिंह भण्डारीले नियुक्त गरेका थिए ।
सञ्चालक समिति पूर्ण भएपछि लामो समयदेखि रिक्त बोर्ड कार्यकारी प्रमुख (सिइओ) छनोट प्रक्रिया पनि अघि बढ्ने भएको छ । कात्तिक दोस्रो सातादेखि रिक्त बोर्ड सिइओ छनोट प्रक्रिया तीन महिनाअघि नै सुरु भए पनि छनोट समितिकै संयोजक र सदस्यको म्याद सकिएपछि अन्योलमा परेको थियो । समितिलाई बोर्ड सञ्चालक समितिले १५ दिनभित्र तीनजनाको नाम सिफारिस गर्ने जिम्मेवारी दिएको थियो । भदौ अन्तिम साता गठित समितिले असोज २ मा ३५ दिने सूचना जारी गरी दरखास्त मागेको थियो । १८ जनाको दरखास्त परेकामा पहिलो चरणमा १२ जना छानिएका छन् ।
मंसिर पहिलो साताभित्र नया सिइओ छनोट गर्ने समितिको दाबी थियो । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल प्रवद्र्धनका लागि रणनीति तथा कार्यक्रम बनाउने, नया पर्यटन गन्तव्य पहिचान र विकास गर्ने, सरकार र अन्य निकायसग समन्वय गर्ने, बार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्नेलगायत जिम्मेवारी नया सिइओको हुनेछ ।
सिइओका लागि आवेदन दिनेमा बोर्डकै वरिष्ठ निर्देशकदेखि मन्त्रालयका सहसचिव, पर्यटन व्यवसायी तथा पर्यटन विद् छन् । बोर्ड सिइओका लागि कुनै पनि विषयमा स्नातकोत्तर गरी पर्यटन क्षेत्रमा दश वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ । बोर्डको सिइओ पदाअवधि ४ बर्षको हुने र तलब तथा सुविधा वार्ताबाट तय गरिने पर्यटन बोर्ड नियमावलीमा उल्लेख छ ।

विमानस्थल भिआइपी कक्ष प्रवेशमा कडाइ

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १९ पुस

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट (भिआइपी) कक्ष प्रवेशमा कडाइ गरेको छ । भिआइपी कक्षमा अनावश्यक व्यक्ति प्रवेश गर्दा भीडभाड बढेको भन्दै प्राधिकरणले कडाइ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले मंगलबार सूचना जारी गरी भिआइपी कक्ष प्रयोग गर्न पाउनेको सूची प्रकाशन गर्नुका साथै मापदण्डसमेत तोकेको छ । प्रवेश पासका लागि विमानस्थल महाप्रबन्धकसमक्ष निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । नेपाल प्रहरी मुख्यालयले सिफारिस गरेपछि मात्रै पास उपलब्ध हुनेछ । यसअघि विमानस्थलको टिडिओ अफिसले पास उपलब्ध गराउदै आएको थियो ।
विमानस्थल कार्यालयका अनुसार नेपाल सरकारका सचिवसरह र सोभन्दा माथिका पदाधिकारीलाई विदेश प्रस्थान गर्दा र आउदा सम्बन्धित कार्यालयको पत्रको आधारमा भिआइपी कक्ष प्रयोग गर्न दिइन्छ । विदेशी भिआइपीको हकमा भने भने परराष्ट्र मन्त्रालयको पत्रको आधारमा कक्ष प्रयोग गर्न दिइने कार्यालयले जनाएको छ ।
भिआइपीलाई स्वागत तथा बिदाइ गर्न आउने श्रीमान् वा श्रीमती र छोराछोरी, भिआइपी कार्यालयका एकजना वरिष्ठ अधिकारी, भिआइपीका एकजना निजी सचिव र परराष्ट्र मन्त्रालयको प्रोटोकल शाखाका एकजना कर्मचारीले भिआइपी कक्षमा प्रवेश पाउनेछन् । भिआइपीलाई स्वागत र बिदाइ गर्न आउने अन्य सबैले टर्मिनल भवनको भुइतलामा रहेको मूल प्रवेशद्वारभन्दा भित्र प्रवेश गर्न नपाउने कार्यालयले स्पष्ट पारेको छ ।
भिआइपीलाई स्वागत र बिदाइ गर्न जाने व्यक्ति विमान पार्किङ क्षेत्र अर्थात एप्रोनसम्म जाने प्रचलन निरुत्साहित गर्न नया“ व्यवस्था लागू गरिएको प्राधिकरण अधिकारीहरूको भनाइ छ । एप्रोनसम्म गई स्वागत तथा बिदाइ गर्नुपर्ने भएमा त्यसको औचित्य स्पष्ट पारी सम्बन्धित कार्यालयबाट लिखित अनुरोध भई आएमा बढीमा दुईजनासम्मलाई मात्र प्रवेश दिन सकिने विमानस्थल उड्डयन कार्यालयले जनाएको छ । विदेशी भिआइपीको हकमा भने एप्रोनसम्म पुग्न परराष्ट मन्त्रालयको सिफारिस अनिवार्य गरिएको छ ।
गैरसैनिक हवाई उडान ऐन, २०१५ को दफा १० उपदफा २ को प्रतिबन्धात्मक वाक्यांशअनुसार विमानस्थल कार्यालयका प्रमुख अधिकारीले मात्र प्रवेश अनुमति दिन सक्छन् । प्राधिकरणमा एघारौ तहभन्दा माथिको अधिकारी त्रिभुवन विमानस्थलको प्रमुख व्यक्ति अर्थात महाप्रबन्धक हुन्छ ।
विमानस्थल व्यवस्थापनले यात्रुलाई यात्रा कागजात र उडान कागजातका आधारमा मात्र विमानस्थलमा प्रवेश गर्न दिइने जनाएको छ । अन्य व्यक्ति विमानस्थल कार्यालय प्रमुखले जारी गरेको पत्रको आधारमा मात्र विमानस्थल प्रवेश गर्न सक्ने बताइएको छ । प्राधिकरण महानिर्देशक रामप्रसाद न्यौपानेले भिआइपी कक्षमा अनावश्यक भीडभाड हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न सूचना जारी गरिएको बताए । भिआइपी कक्ष प्रवेशका लागि नया व्यवस्था लागू गरिएको नभई साबिककै व्यवस्था कडाइपूर्वक लागू गर्न खोजिएको उनले जानकारी दिए ।
‘एकजना भिआइपी जादा–आउदा पनि अनावश्यक रूपमा थुप्रै मानिस भिआइपी कक्ष र एप्रोनसम्मै पुग्ने गरेका कारण समस्या हुने गरेको छ,’ न्यौपानेले भने । पुस पहिलो साता बसेको उड्डयन सुरक्षा समितिको बैठकले विमानस्थल सुरक्षामा सुधार गर्न विमानस्थल प्रवेशको व्यवस्था परिवर्तन गर्ने निर्णय गरेको थियो । विमानस्थल व्यवस्थापनले वितरण गर्ने प्रवेश पासले सुरक्षामा खतरा उत्पन्न गरेको सुरक्षा निकायको भनाइ छ । एक स्थानको पास लिएको व्यक्ति विमानस्थलको जुनसुकै स्थानमा पुग्ने अवस्था अहिले पनि छ । पास वितरण पारदर्शी र निष्प नरहेको सुरक्षा निकायको दाबी छ ।
यसअघि साउन अन्तिम साता बसेको समितिको बैठकले विमानस्थलको अवस्था सुधार्न पा“च सम्माननीयबाहेक सबैलाई शरीर जाचपछि मात्र छिर्न दिने निर्णय गरेको थियो । पाच सम्माननीयमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश पर्छन् । तर, गृह मन्त्रालयले सहमति नदिएका कारण यो निर्णय अहिलेसम्म लागू हुन सकेको छैन । अहिले पनि मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, सचिव, सभासद् तथा महŒवपूण नियोगका प्रमुख विमानस्थलमा भिआइपी कक्ष हुदै शरीर जाचै नगरी प्रवेश गर्ने गरेका छन् । विमानस्थलभित्र उच्च ओहोदाका मानिसलाई खुला आवतजावत गर्न दिदा त्यसको दुरुपयोग भएको विमानस्थल व्यवस्थापनले गुनासो गर्दै आएको छ ।

Tuesday, January 3, 2012

लक्ष्यभन्दा डेढ लाख कम पर्यटक

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १७ पुस

पर्यटन वर्ष २०११ मा सरकारले राखेको लक्ष्यभन्दा डेढ लाख कम पर्यटक नेपाल भित्रिएका छन् । सरकारले २०११ मा हवाइ मार्गबाट ७ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा ५ लाख ४४ हजार ९ सय ८५ पर्यटक भित्रिएका हुन् ।
यो संख्या गत बर्षभन्दा ९६ हजार २ सय १६ ले बढी हो । त्रिभुवन अन्तराष्टिय विमानस्थल अध्यागमन कार्यालयलाइ उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार सन् २०११ को जनवरीदेखि डिसेम्बरसम्ममा गत बर्षको सोहि अवधिको तुलनामा हवाइ मार्गबाट २१.४ प्रतिशत बढि पर्यटक नेपाल आएका छन् । सन् २०१० मा हवाइ मार्गबाट ४ लाख ४८ हजार ७ सय ६९ पर्यटक नेपाल आएका थिए ।
स्थलमार्गबाट भने नोभेम्बरसम्ममा १ लाख ७४ हजार ६ सय १२ पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । तथ्यांकसहित नेपाल आउने पर्यटक संख्या ७ लाख १९ हजार ५ सय ४७ पुगेको बोर्डले जनाएको छ । त्यसमा डिसेम्बरमा स्थलमार्गबाट आएका पर्यटक तथ्यांक समावेश छैन । पर्यटन बर्षमा स्थल र हवाइ मार्गबाट १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो ।
२०११ मा भारतबाट २ लाख ६२ हजार ५ सय ८८ पर्यटक ल्याउने लक्ष्य राखिएकोमा १ लाख ४५ हजार ३ सय ३८ आएका छन् । त्यस्तै, चीनबाट ५४ हजार ६ सय ५१ को लक्ष्य राखिएकामा ४५ हजार ४ सय आएका छन् । श्रीलंकाबाट १० हजार ९ सय १४ को लक्ष्य  रहेकामा १९ सय २६ मात्र आएका छन् । 
२०११ मा दक्षिण एसियाली पर्यटक ३०.१ प्रतिशत बढेका छन् भने एसियाली पर्यटक ३२.२ प्रतिशतले बढेका छन् । यूरोपेली पर्यटक भने गत वर्षको तुलनामा ११.२ प्रतिशत बढी आएका छन् । २०११ को पर्यटक आगमन उत्सहजनक भन्दै सरकारी अधिकारी तथा पर्यटन व्यवसायीले पर्यटन बर्ष सफल भएको दाबी गरेका छन् । संख्यात्मक लक्ष्य पूर्णरुपमा हासिल हुन नसके पनि अभियानले नेपाली पर्यटन विकासका लागी महत्वपूर्ण भूमिका खेलेको भनाइ उनीहरुको छ । 
मुलुक    लक्ष्य    आगमन

भारत        २६२५८८    १४५३३८
चिन        ५४६५१       ४५४००
श्रीलंका    १०९१४        १९२६
वेलायत    ५५३४९     ३४५०२
अमेरिका    ४८०८८    ३७८३२
कोरिया    २०९६२    १७४९५
जापान   ३०१८३    २२००८
फ्रान्स    ३८०१८    २३४९५
जर्मनी    ३१४५८ २१९८०
इटली    १२४४७ १०२६७
स्पेन        १८१२७ १२४१६
अष्टेलिया    १९५९९ १६१०५
क्यानाडा ११०८९     १००६०

वर्षको अन्तिम महिना डिसेम्बरमा भने स्थलमार्गबाट ४३ हजार ७ सय २१ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको डिसेम्बरको तुलनामा २०.४ प्रतिशत बढी हो । गत वर्षको डिसेम्बरमा ३६ हजार ३ सय २३  पर्यटक आएका थिए ।
डिसेम्बरमा चिनिया“ १०७.७, जापानी ८.१ तथा दक्षिण कोरियाली पर्यटक १७.८ प्रतिशतले बढेको तथ्यांक छ । दक्षिण एसियाली मुलुकतर्फ भारतीय पर्यटक डिसेम्बरमा २६.१ प्रतिशत बढेका छन् । तर पाकिस्तानी, वंगलादेशी र श्रीलंकाली पर्यटक भने केहि घटेका छन् । समग्रमा दक्ष्णि एसियाली पर्यटक १३.३ प्रतिशत बढेको तथ्यांक छ ।