Tuesday, March 6, 2012

‘आफू गइजान्या, हामीलाई छोडीजान्या’


गत मङ्सिरको पहिलो साता कर्णाली क्षेत्रको पर्यटकीय सम्भावनाबारे अध्ययन गर्न पर्यटन पत्रकारको एउटा टोली मुगुको रारा जाने तयारी भयो । राजधानीबाट नेपालगन्ज, जुम्ला तथा सिंजा उपत्यका हुँदै चुच्चेमाराको लेक काटेर दुई दिनमा हामी रारा पुग्यौँ ।

रारामा रहेका सेनाको गुल्म, त्यहाँका होटल व्यवसायी तथा रारा राष्ट्रिय निकुञ्जका कर्मचारीसँगको भलाकुसारीपछि हामी ताल्चा विमानस्थल झ¥यौँ । ताल्चा मुगु जिल्लाको एकमात्र विमानस्थल हो । संयोगवश हामी पुगेकै दिन मकालु एयरको सिङ्गल इन्जिन जहाज अवतरणका क्रममा दुर्घटनामा प¥यो । अवतरणका लागि जोखिमपूर्ण मानिने ताल्चामा दुर्घटनापछि अनिश्चितकालका लागि सिङ्गल इन्जिन जहाजले उडान नभर्ने अनौपचारिक सूचना प्राप्त भयो । अब हामीसँग दुई मात्र विकल्प थिए । पहिलो विकल्प, दुई दिन हिँडेर जहाजका लागि जुम्ला फर्किने र दोस्रो डबल इन्जिन जहाजको ‘सेड्युल’ उडान पर्खिने ।
मुगुको विकट ठाउँबाट चार पाँच दिन बोकेर ल्याइएका बिरामी विमानस्थलमा अलपत्र थिए । दुर्गम क्षेत्रका सबैजसो विमानस्थलमा यस्तै अवस्था देख्न सकिन्छ । केही दिनका लागि बोकेको औषधि सकिएर कतिपय बिरामीको ज्यान जाने अवस्था आइसकेको थियो । पत्रकार भएको थाहा पाएपछि बिरामीका आफन्त हामी बसेको होटलमा आउन थाले । हामीबाट उनीहरूले निकै आशा राखेका थिए । निश्चित समयको बिदामा गएका हामी आफै अलपत्र थियौँ । तर, उनीहरूका अगाडि त हाम्रो समस्या सामान्य रहेछ ।
हामीले जहाजका लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सचिव तथा नेपाल एयरलाइन्सका हाकिमलाई अनुरोध गरायौँ । अन्ततः तीन दिनपछि राष्ट्रिय ध्वजावाहक नेपालगन्जबाट एउटा ‘चार्टड फ्लाइट’ गर्न तयार भयो । हामी बिरामी तथा कुरुवाको लिस्ट बनाएर जहाजको प्रतीक्षा गर्न थाल्यौँ । तर, जहाज आइनपुग्दै एउटा समूह जहाज आपूmहरूले ‘चार्टर्ड’ गरेको भन्दै टावरमा आइपुग्यो । ताल्चा टावरका प्रमुख भीमदत्त पन्तले सञ्चारकर्मी र बिरामीले जहाज चार्टर्ड गरेको जानकारी गराए तर उनीहरू मान्न तयार भएनन् । उनीहरूले यात्रुको छुट्टै लिस्ट बनाएका रहेछन् ।
वास्तवमा भएको के रहेछ भने काठमाडौँबाट मन्त्रीले ‘बिरामी र पत्रकार ल्याउनू’ भनेर पठाएको जहाज बीचैमा अर्को पक्षले चार्टर्ड गरेछ । बढी पैसा पाइने लोभमा निगमको नेपालगन्ज स्टेसनले युनिसेफको नाममा ८० हजार रुपियाँ अग्रिम लिएर जहाज चार्टर्ड गरिदिएछ । हामीसँग ताल्चामा वादविवाद गर्ने समूह युनिसेफकै रहेछ । केही विदेशीसहितको सो टोली बिरामी उद्धार गर्न तयार भएन । बरु हामीलाई पनि नलैजाने अड्डी कस्न थाल्यो । लामो वादविवादपछि हामी पाँच सञ्चारकर्मीचाहिँ जहाज चढ्न पाउने भयौँ । जिल्ला प्रशासनको सिफारिस हातमा बोकेका आधा दर्जन बिरामी त्यहीँ अलपत्र परे ।
मकालु, गोमा र एयर काष्ठमण्डपका सिङ्गल इन्जिन र वायुसेवा निगम तथा तारा एयरका जहाजले उडान भर्ने ताल्चा विमानस्थलमा जहाज चढ्न पनि ठूलै सङ्घर्ष गर्नुपर्ने रहेछ । त्यहाँ कम्पनीका स्थानीय एजेन्ट र युवाले गठन गरेको समितिको मनोमानी चल्दो रहेछ । कच्ची विमानस्थल भएकाले १९ सिट क्षमताको जहाज भए पनि १५ जनाभन्दा बोक्न नसक्ने रहेछ । तर, लोकल बसजस्तो तँछाडमछाड गर्दै यात्रु चढ्दा रहेछन् । कर्णालीमा हवाई सेवा नियमित नहुँदा वर्षौंदेखि यात्रुले यो नियति भोग्दै आएका छन् ।
नेपाल वायुसेवाका सेलिब्रेटी पाइलट विजय लामाले युनिसेफका मान्छे र सञ्चारकर्मीबाहेक सबैलाई जहाजबाट ओर्लिन आदेश दिएपछि बिरामी त्यहीँ छाडिए । युनिसेफका खैरेहरूले पनि बिरामीप्रति कुनै मानवीय संवेदना देखाएनन् । हामीले चाहेर पनि बिरामी ल्याउन सकेनौँ । उनीहरूको उद्धार गर्न नसकेकामा नरमाइलो लाग्यो । ‘पत्रकार आपूm गइजान्या, हामीलाई छोडिजान्या’ । एकजना बिरामीका आफन्तको यो भनाइ सम्झँदा अहिले पनि नरमाइलो लाग्छ  !

Sunday, March 4, 2012

जहाज मार्केटिङ गर्न जर्मन कम्पनी काठमाडौमा


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौँ, २० फागुन
युरोपको एउटा जहाज निर्माता कम्पनी जहाज मार्केटिङका लागि काठमाडाँ आएको छ । जर्मनीको ‘आरयुएजी’ कम्पनीका प्रतिनिधि मण्डल जहाजसहित मार्केटिङका लागि नेपाल आएका हुन् ।
कम्पनीद्वारा निर्मित डोर्नियर ‘डीओ २२८’ न्युजेनेरेसन जहाज व्यावसायिक प्रवद्र्धनका लागि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा राखिएको छ । निजी वायुसेवा कम्पनी सीता एयरको सहयोगमा जहाज नेपाल ल्याइएको हो । सीता एयरका मार्केटिङ डाइरेक्टर सुनिल बिस्टले नेपाली भूगोल सुहाउने भएकाले कम्पनीको विशेष अनुरोधमा जहाज नेपाल ल्याइएको बताए ।
कम्पनीले यसअघि सिङ्गापुर, मलेसिया, थाइल्यान्ड तथा श्रीलंकामा जहाजको मार्केटिङ गरेको र कतिपय मुलुकले अर्डरसमेत गरिसकेको बिस्टले जानकारी दिए । कम्पनीले सीता एयरलाई नेपालका लागि एजेन्ट तोकेको छ ।
जहाज अवलोकनका लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र बिस्ट तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए । १९ सिट क्षमताको सो जहाजबारे मन्त्री र प्राधिकरण अधिकारीहरूले विस्तृत विवरण लिएका थिए । प्राधिकरणले विभिन्न विमानस्थलमा परीक्षण उडान गर्न, दैवी विपत्तिमा उद्धार गर्न तथा व्यापारिक प्रयोजनका लागि जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । मन्त्री बिस्ट प्राधिकरण सञ्चालक समिति अध्यक्ष हुन् ।
नेपाल एयरलाइन्स तथा नेपाली सेनाका उच्च अधिकारीहरूले समेत जहाज अवलोकन गरेको कम्पनीले जनाएको छ । त्यस्तै निजी वायुसेवा कम्पनीहरूले पनि जहाजमा चासो देखाएका छन् ।
हाल नेपालमा उडिरहेका डोर्नियर जहाजको तुलनामा यसमा आधुनिक प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ  । यो जहाज पूर्णरूपमा ग्लास ककपिटसँगै ‘एफएमएस’ प्रविधिमा उडाउन सकिने सीता एयरका प्राविधिकले बताएका छन् । हाल सीताले डोर्नियर जहाजमात्र उडाइरहको छ ।
६ दशमलव पाँच मिलियन युरो अर्थात् करिब ६८ करोड २५ लाख नेरु. पर्ने जहाज इच्छुक ग्राहकलाई सहुलियत ऋणमार्फत किस्ताबन्दीमा समेत बेच्न सकिने कम्पनीले जानकारी दिएको छ । आरयुएजीका नेपाल तथा भारत हेर्ने निर्देशक अशोक मारबाहले ‘डेमो’का लागि जहाज नेपाल ल्याइएको हो भन्दै कुनै ‘पार्टी’ खरिदका लागि इच्छुक भए तत्कालै बेच्न सकिने बताए ।
गत साता काठमाडौँ ल्याइएको जहाज सोमबार जर्मनी फर्कँदै छ । कम्पनीकै पाइलटले जर्मनीबाट भारतहुँदै जहाज काठमाडौँ ल्याइपुयाएका हुन् । डेढ वर्षअघि पनि कम्पनीका अधिकारी जहाजको मार्केटिङका लागि नेपाल आएका थिए । तर त्यतिखेर जहाज ल्याइएको थिएन । पुरानो मोडलको तुलनामा नयाँ मोडलले राम्रो पर्फमेन्स दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो जहाजको पङ्खामा पाँच ‘ब्लड’ छन् जसले गर्दा आवाज कम हुन्छ, गति बढी हुन्छ, इन्धन कम खपत गर्छ र कम थर्किन्छ । सानो दूरीमा रोक्न र उडाउन सकिने भएकाले नेपालका ‘स्टल’ एयरपोर्टका लागिसमेत जहाज उपयुक्त हुने प्राविधिकको भनाइ छ ...

Friday, March 2, 2012

घट्यो चिनियाँ पर्यटकको आगमन


काठमाडौं, १८ फागुन 
लामो समयदेखि बढ्दो क्रममा रहँदै आएको चिनियाँ पर्यटकको आगमन वृद्धिदर सन् ०१२ को दास्रो महिना फेब्रुअरीमा घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार फेब्रुअरीमा चिनियाँ पर्यटक गत वर्षको सोही महिनाको तुलनामा २३.१ प्रतिशतले घटेको हो । गत वर्षको फेब्रुअरीमा चार हजार एक सय ९३ चिनियाँ पर्यटक हवाइमार्ग हुँदै नेपाल आएकोमा यो वर्षको फेब्रुअरीमा यो सङ्ख्या तीन हजार दुई सय २६ मा झरेको छ । सन् ०११ मा चिनियाँ पर्यटक ७७.६ प्रतिशतले बढेका थिए । गत वर्ष ४५ हजार चार सय चिनियाँ पर्यटक हवाइमार्ग हुँदै नेपाल आएको तथ्याङ्क छ । यो नेपाल आउने कुल पर्यटकको ८.३ प्रतिशत हिस्सा हो ।

यस वर्षको फेब्रुअरीमा सन् ०११ को सोही महिनाको तुलनामा १३.७ बढी विदेशी पर्यटक हवाइमार्गबाट नेपाल आएका छन् । गत वर्ष फेब्रुअरीमा ३७ हजार पाँच सय ८४ पर्यटक आएकामा यो वर्षको फेब्रुअरीमा यो सङ्ख्या ४२ हजार सात सय १६ पुगेको छ । फेब्रुअरीमा सबै क्षेत्रका पर्यटक आगमन वृद्धि सकारात्मक देखिएको छ ।
भारतबाट आउने पर्यटक २८.८ प्रतिशतले बढेका छन् । यो महिना भारतबाट ११ हजार ९३ पर्यटक हवाइमार्ग हुँदै नेपाल आएका छन् । भारतबाहेक अन्य दक्षिण एसियाली मुलुकहरू बङ्गलादेश, श्रीलंका र पाकिस्तानबाट आउने पर्यटक भने केही घटेका छन् । समग्रमा दक्षिण एसियाली पर्यटकको वृद्धिदर २०.४ प्रतिशत छ । यो महिना सार्क मुलुकबाट १२ हजार आठ सय ८३ पर्यटक नेपाल आएका छन् ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटक ४.३ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । एसियाली मुलुकबाट यो महिना १० हजार दुई सय तीन पर्यटक आएका छन् । गत वर्षको फेब्रुअरीमा यो सङ्ख्या नौ हजार सात सय ७९ थियो । एसियाली मुलुकहरू जापान, मलेसिया, दक्षिण कोरिया र थाइल्यान्डबाट आउने पर्यटक क्रमशः ३३.२, १९.८, ३१.५ र ७.९ प्रतिशतले बढेका छन् । तर चिनियाँ र सिंगापुरे पर्यटक भने यो महिना घटेका छन् ।
युरोपियन बजारतर्फ १७.५ प्रतिशतले पर्यटक बढेका छन। बढी खर्च गर्ने पर्यटक आउने मुलुकहरू बेलायत, फ्रान्स, जर्मनी, इटली, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड तथा रसियाबाट आउने पर्यटक बढेका छन् । यद्यपि नेदरल्यान्ड र नर्वेबाट आउने पर्यटक भने केही घटेको तथ्याङ्कले देखाएको छ ।
अस्ट्रेलियाली र अमेरिकी पर्यटक क्रमशः १८.५ र १०.४ प्रतिशतले बढेका छन् । त्यस्तै क्यानाडा र न्युजिल्यान्डबाट आउने पर्यटक पनि बढेको तथ्याङ्कले देखाएको छ । यो वर्षको पहिलो दुई महिनामा कुल ८४ हजार सात सय ४७ विदेशी पर्यटक हवाइमार्ग हुँदै नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २०.२ प्रतिशतले बढी हो । सन् ०११ को जनवरी र फेब्रुअरीमा गरी ७० हजार चार सय ९८ पर्यटक आएका थिए । सन् २००९ को जुनदेखि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ ...