Friday, March 16, 2012

दुइ बर्षदेखि नागरिक खोज्दै अमेरिकी दुतावास

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १ चैत
काठमाडौंस्थित अमेरिकी राजदुतावास विगत करिव २ बर्ष देखि हराइरहेकी एक युवतिको खोजी गरिरहेको छ । दुतावास बारम्बार प्रहरी तथा सेनालाइ पत्र पठाउँछ र खोजी कार्यमा भइरहेको प्रगति बारे विवरण माग्छ । राजधानीको महाराजगन्ज स्थित अमेरिकी दूतावासका भित्ताहरुमा उनी हराएको जानकारी सहितको तस्बिर राखिएको छ । 
हराइरहेकी युवति स्याक्को
२२ अप्रिल २०१० देखि नेपालमा वेपत्ता भएकी यि युवति हुन् अमेरिकाको कोलोराडो राज्यकी ओव्री क्यारोलिन स्याक्को । टे«किङका लागी हिडेकी स्याक्को रसुवाको लामा होटलमा अन्तिम पटक देखिएकी थिइन् । टे«किङ गाइडहरुका अनुसार रसुवाका गाउँगाउँमा उनका खुइलिएका तस्विर अझै भेटिन्छन् । पर्यटक बढि पुग्ने ठमेलका होटल र खाजाघरहरुमा पनि उनको तस्विर टाँसिएको छ । 
२० अप्रिल २०१० मा नेपाल पर्यटन बोर्डबाट १०३३९२ नम्बरको टे«किङ परमिट कार्ड (टिम्स) लिएर काठमाडौंबाट स्याफ्रुबेसी हुँदै लाङटाङ क्षेत्रको पदयात्रामा हिडेकी स्याक्को त्यसको २ दिनमै हराइन् । टिम्स कार्ड अनुसार उनी मे १ सम्ममा काठमाडौं फर्किनुपर्ने थियो । 
स्याक्को परिवारले मृत्युको प्रमाण फेला नपरेसम्म खोजी कार्य जारी राखिने बताएको छ । ‘६ सय ९२ दिन भयो हामी राम्ररी सुत्न नसकेको । उनी कतै हुनुपर्छ भनेर आशा मारेका छैनौं ।’ छोरीको खोजीमा चौथो पटक नेपाल आएकी आमा कोन्नी स्याक्कोले भनिन् । उनले नेपाल प्रहरीका महानिरिक्षक रविन्द्र प्रताप शाह र प्रहरीका अन्य उच्च अधिकारीलाइ भेटिन् । भौगोलिक कठिनाइका कारण खोजी कार्य प्रभावकारी हुन नसकेको तर प्रयास जारी राख्ने आश्वासन पाएको उनले बताइन् । स्याक्कोको खोजीका लागी अमेरिकी सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको तर यहाँको गृह मन्त्रालयले यो स्विकार नगरेको दावी उनको छ । उनी प्रधानमन्त्री डा. बाबुराम भट्राइलाइ भेट्ने प्रयास गरिरहेकी छिन् । 
खोजि कार्यमा एक करोड रुपैयाँ भन्दा बढि खर्च भइसकेको स्याक्को परिवारले बताएको छ । ‘हाम्रो लागी पैसा ठूलो कुरा होइन, उनी भेट्टिनुप¥यो ।’ कोन्नीले भनिन् । स्याक्कोको सूचना दिने व्यक्तिलाइ २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । 
नेपालमा पटक पटक पर्यटकमाथी आक्रमण भइरहेको भन्दै कोन्नीले यसले नेपालको पर्यटनमा नै असर पुग्ने बताइन् । ‘पर्यटकको सुरक्षा गर्नु तपाइहरुको दायित्व हो ।’ उनले भनिन् । सुरक्षा निकायले छोरीको खोजीमा चासो नदेखाएको आरोप लगाउँदै उनले यो विषयलाइ अन्तराष्ट्रियकरण गरेर नेपालको पर्यटन नै धराशायी बनाइदिने चेतावनी समेत दिइन् । परिवारका अनुसार अमेरिकाबाट सन् २००९ डिसेम्बरमा उनी पहिलो पटक एसियाका लागि हिडेकी थिइन् । उनी श्रीलंका, भारत हुँदै नेपाल आइपुगेकी थिइन् ।  
गत डिसेम्बरमा पनि एक अमेरिकी महिला लेना सेसन गोसाइकुण्ड क्षेत्रमा वेपत्ता भएकी थिइन् । तर त्यसको खासै चर्चा भएन । ओब्रीका बुवा पउल स्याक्को कोलोराडो राज्यका न्यायधिश भएकाले दुतावासलाइ अमेरिकाको दवाव रहेको बताइएको छ । अमेरिकी संस्था एफबीआईले पनि उनको खोजीका लागी दवाव दिइरहेको छ । आमा स्याक्कोका अनुसार उनको स्थिति थाहा पाउन ८ हजार भन्दा बढि पत्र अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनलाई बुझाइएको छ ।
टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) अनुसार स्याक्को लाङटाङ राष्ट्रिय निकुञ्ज स्थित सेनाको चेकपोष्टमा ‘इन्ट्री’ भएकि छिन् तर त्यसपछि उनको कुनै रेकर्ड छैन । यो प्रकरणमा अप्रत्यक्ष रुपमा सेना जोडिएपछि स्याक्को खोजी अभियानको संयोजन गरिरहेको टानले सेनासँग केहि विवरण मागेको छ । ‘स्याक्को इन्ट्री भएको दिन को को ड्युटीमा थिए, को बाहिर थियो, कोहि शंकास्पद छ कि भनेर सोधेका छौं तर अहिलेसम्म जवाफ आएको छैन ।’ टानका महासचिव मोहन लम्सालले भने । सेनाले समेत सक्रियतापूर्वक स्याक्कोको खोजी गरिरहेको उनले जानकारी दिए । 
स्याक्को हराए पछि टानको संयोजनमा अमेरिकी दुतावास, सेना, प्रहरी र स्थानिय प्रशासनको सहयोगमा फिस्टेल एयरको हेलिकोप्टरबाट शंका लागेको सबै ठाउँमा खोजिएको थियो । ‘५ पटकसम्म ‘स्टिङ अपरेसन’ गरियो । सेनाले २ पटक छुट्टै हेलिकोप्टरबाट खोज्यो ।’ लम्सालले भने । टानले आफ्नै खर्चमा पनि स्थानिय मानिसहरु खटाएको र महिनौंसम्म काम गर्ने मान्छेको भेषमा विभिन्न व्यक्ति राखिएको उनले जानकारी दिए । 
टे«किङ जाने पर्यटकको सूचना व्यवस्थित गर्न पर्यटन बोर्डले तिन बर्ष अघि टिम्स प्रणाली लागु गरेको थियो । तर यो प्रभावकारी हुन सकेको छैन । काठमाडौंबाट टिम्स लिएर हिडेपनि ठाउठाउमा चेकिङ प्याइन्ट नहुदा समस्या भएको टे«किङ व्यवसायीहरुको भनाइ छ । टिम्स प्रभावकारी बनाउन अनलाइन फर्मको व्यवस्था गरिएको र ठाउठाउमा चेकिङको व्यवस्था गरिएको टानले जनाएको छ । यसबाट कुन पर्यटक कहाँ पुगेको छ थाहा पाउन सकिन्छ । व्यक्तिगत टिम्स कार्ड नदिने र कम्तिमा एक जना सहयोगी लिएरै हिड्नुपर्ने व्यवस्था गर्ने तयारी भइरहेको बताइएको छ ।

Wednesday, March 14, 2012

सुरक्षित छैनन् महत्वपूर्ण सूचना

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौँ, ३० फागुन
मोबाइलको सिमकार्ड लिँदा होस् वा बैंकमा खाता खोल्दा, अथवा अन्य कुनै फाराम भर्दा हामी थुप्रै व्यक्तिगत सूचनाहरू भर्ने गर्छौँ । तर, हामीले उपलब्ध गराएका ती सूचना कतिको सुरक्षित राखिएका छन् हामी हेक्का राख्दैनौँ ।
सूचनाको सुरक्षा लेखाप्रणाली नहुँदा महत्वपूर्ण सूचनाको सुरक्षा कमजोर रहेको विज्ञहरू बताउँछन् । ‘नेपालमा हरेक वर्ष आर्थिक लेखापरीक्षण हुन्छ, तर कुनै पनि क्षेत्रको ‘डाटा’ कति सुरक्षित छ भनेर मूल्याङ्कन हुने गरेको छैन,’ विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयका प्रमुख राजनराज पन्तले भने । महत्वपूर्ण सूचनाको सुरक्षाका लागि लेखाप्रणाली आवश्यक रहेको र आन्तरिकमात्र नभएर स्वतन्त्र रूपमा पनि लेखापरीक्षण गराउनुपर्ने उनको भनाइ छ । सङ्घसंस्थाले प्रयोग गर्ने ‘एप्लिकेसन’ पनि कति भरपर्दो छ त्यसको मूल्याङ्कन हुनुपर्ने पन्तको भनाइ छ । ‘इलेक्ट्रोनिक डाटा बढी संवेदनशील हुन्छ र सुरक्षा गर्न पनि बढी गाह्रो हुन्छ, तर नेपालका कुनै पनि कम्पनीसँग डाटा नष्ट भए कसरी रिकभर गर्ने भन्ने योजना छैन,’ उनले भने । सूचनाको सुरक्षा लेखापरीक्षणका लागि अन्तर्राष्ट्रिय गाइडलाइन तोकिएको र विकसित मुलुकले अनिवार्य रूपमा यस्तो लेखापरीक्षण गराउने गरेको उनले बताए । नेपालमा करिब दर्जनजति सूचना सुरक्षा लेखापरीक्षक रहेको बताइएको छ ।
कुनै पनि कम्पनी तथा संस्थाका लागि सूचना महत्वपूर्ण सम्पत्ति हो । यो मेटिए आर्थिक नोक्सानीका साथै संस्थाको छवि पनि बिग्रिन सक्छ । तर, नेपालमा अहिलेसम्म सूचना राख्ने प्रणाली, सूचना रेकर्डको अवस्था, संस्थाको आइटी नीति, प्राविधिक कर्मचारीको अवस्था आदि बारे लेखापरीक्षण गर्ने प्रचलन सुरु भएकै छैन । विशेषगरी बैंकिङ क्षेत्रमा सूचनाको सुरक्षा कमजोर रहेको विज्ञहरूको टिप्पणी छ । ‘व्यक्तिको लाखाको सम्पत्तिबारे सूचना कति सुरक्षित छ भन्ने कुरा महत्वपूर्ण छ । तर, सूचना सुरक्षाको अवस्थाका बारेमा आन्तरिक तथा स्वतन्त्र लेखापरीक्षण गर्ने प्रचलन छैन’, पन्तले भने । सूचना प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाहरूले मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा दिन थाले पनि यो पूर्ण रूपमा सुरक्षित नभएको विज्ञहरूको भनाइ छ । अनलाइनबाट लिइने सूचनाको दुरुपयोग हुनसक्ने सम्भावना बढी हुने भएकाले अनलाइन फाराम भर्दा व्यक्तिगत सूचना नदिन उनीहरूको सुझाव छ ।
गत पुसमा नक्कली एटिएम कार्डको प्रयोग गरी नबिल बैंकबाट ८० लाख रुपियाँ चोरी भएको थियो । यसमा बैंककै पूर्व कर्मचारीको सम्लग्नता देखिएपछि आन्तरिक रूपमा पनि सूचना सुरक्षाको अवस्था कमजोर रहेको देखिएको छ । ‘बाहिरबाट त खतरा छँदैछ, आन्तरिक रूपमा पनि खतरा छ,’ एक प्रविधि विज्ञले भने । बैंकहरूले अनावश्यक रूपमा व्यक्तिको सूचना लिने गरेको उनको दाबी छ । सूचना प्रविधिको विकाससँगै देखापरिरहेका नयाँनयाँ विषय सम्बोधन गर्न सरकारले कार्ययोजना बनाइरहेको विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव केशव भट्टराई बताउँछन् । विज्ञान र प्रविधिले सबै क्षेत्रलाई छुने भएकाले यसको विकासमा ध्यान दिनुपर्ने तर यसका लागि स्रोत स्–साधनको कमी रहेको उनको भनाइ छ । प्रविधि विकासका लागि मन्त्रालयअन्तर्गत आइटी विभाग स्थापना गर्ने काम अन्तिम चरणमा पुगको जानकारी उनले दिए ।

Tuesday, March 13, 2012

इन्टरनेट प्रयोगकर्ता ४० लाख


काठमाडौँ, २९ फागुन । सूचना प्रविधिको अभिन्न अङ्ग मानिने इन्टरनेटका प्रयोगकर्ता नेपालमा ४० लाख ४७ हजार पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको व्यवस्थापन सूचना प्रणाली (एमआइएस) को आधारमा यो तथ्याङ्क बाहिर आएको हो ।
प्राधिकरणका अनुसार १५.२० प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेको छ । सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता निजी कम्पनी एनसेलका छन् । उसका २३ लाख १३ हजार इन्टरनेट ग्राहक रहेको प्राधिकरणको तथ्याङ्क छ । तर, एनसेलका सबै प्रयोगकर्ता जिपिआरएसका हुन् । नेपाल टेलिकमका भने १६ लाख ५ हजार इन्टरनेट ग्राहक छन् । टेलिकमले डायलअप, एडिएसएल, जिपिआरएस र सिडिएमए आइएक्स प्रविधिमा इन्टरनेट सेवा प्रदान गरिरहेको छ । टेलिकमका ७८ हजार तीन सय ९० ग्राहक एडिएसएलका छन् भने १४ लाख १३ हजार जिपिआरएस प्रयोगकर्ता छन् । सिडिएमए इन्टरनेट प्रयोगकर्ता एक लाख आठ हजार छन् । युटिएलका भने ६६ हजार तीन सय ७० इन्टरनेट ग्राहक छन् ।
सेवा महङ्गो भएका कारण निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) का ग्राहक भने बढ्न सकेका छैनन् । आइएसपीका ६२ हजार चार सय ग्राहक छन् । यीमध्ये वायरलेस इन्टरनेटका ग्राहक ३१ हजार र केवुलबाट इन्टरनेट चलाउने १७ हजार छन् । त्यस्तै १४ हजारले डायलअप इन्टरनेट चलाइरहेका छन् । प्राधिकरणले हालसम्म ४६ वटा कम्पनीलाई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स दिएको छ ।
कुल इन्टरनेट प्रयोगकर्तामध्ये सबैभन्दा बढी ५७ प्रतिशत एनसेलका छन् । त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्ता ४० प्रतिशत छन् भने युटिएल र अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको हिस्सा क्रमशः दुई र एक प्रतिशत छ । पछिल्लो समय इन्टरनेट मोबाइल टेलिफोनमा समेत चल्ने भएपछि यसका ग्राहक ह्वात्तै बढेका हुन् । एक महिनामा सरदर एक लाख ७० हजार जिपिआरएसका ग्राहक थपिने गरेको तथ्याङ्क छ । एडिएसएल र डायलअपका ग्राहक भने उल्लेख्य रूपमा बढ्न सकेका छैनन् ।
इन्टरनेट प्रयोगकर्तालाई मुलुकको आर्थिक विकासको एक महत्वपूर्ण सूचकाङ्कका रूपमा लिइन्छ । तर, प्रयोगकर्ता बढे पनि कुल गार्हस्थ उत्पादनमा यसको सकारात्मक प्रभाव देखिएको छैन । मोबाइलमा इन्टरनेट चलाउनेको सङ्ख्या बढी भएकाले आर्थिक प्रभाव नपरेको विज्ञहरू बताउँछन् । दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनाल तीव्र गतिको ब्रोडब्यान्ड इन्टनेट महङ्गो भएकाले उपभोक्ता बढ्न नसकेको बताउँछन् । ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको सवा पाँच अर्ब रुपियाँ ग्रामीण क्षेत्रमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गर्ने, सेवा प्रदायकलाई अनुदान दिने योजना रहेको निर्देशक खनालले जानकारी दिए । पुस मसान्तसम्ममा टेलिफोन प्रयोगकर्ता नेपालीको सङ्ख्या भने १५ करोड ३२ लाख २७ हजार पुगेको छ । यो कुल जनसङ्ख्याको करिब ५८ प्रतिशत हो । दूरसञ्चार क्षेत्रको वार्षिक वृद्धिदर ४४ प्रतिशत रहेको र यही अवस्था कायम रहे दुई वर्षमा शतप्रतिशत टेलिघनत्व पुग्ने प्राधिकरणले जनाएको छ ।
मोबाइल प्रयोगकर्ताको सङ्ख्या १३ करोड ६० लाख नाघेको छ । पछिल्लो तीन वर्षमा मोबाइल प्रयोगकर्ता तीन गुणाले बढेका छन् भने मासिक दुई लाख ५० हजार मोबाइल प्रयोगकर्ता थपिइरहेका छन् ।  टेलिकम क्षेत्रमा गत आर्थिक वर्षमा ४६ अर्ब रुपियाँको कारोबार भएको थियो भने सरकारलाई २० अर्ब रुपियाँ राजस्व प्राप्त भएको थियो । यो क्षेत्रले ५० हजारलाई प्रत्यक्ष रोजगारी दिएको बताइएको छ ।  अन्तर्राष्ट्रिय अनलाइन पपुलेसन फोरकास्टको दाबीअनुसार सन् २०१३ सम्ममा विश्वभर इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या दुई अर्ब २० करोड पुग्नेछ । एसियामा ४३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट पुग्ने वेबसाइटको दाबी रहेको छ ।  हाल सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता चीनमा छन् । विकसित मुलुकका तुलनामा नेपालजस्तो विकासोन्मुख मुलुकमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या तीव्र रूपमा बढ्ने प्रक्षेपण गरिएको छ ...