Sunday, July 22, 2012

कमजोर बन्दै नेपाल टेलिकम

काठमाडौं : लामो समयसम्म दुरसञ्चार बजारमा अधिपत्य जमाएको सरकारी कम्पनि नेपाल टेलिकमको बजार हिस्सा क्रमशः घट्दो क्रममा छ । बजारमा प्रतिस्पर्धा बढेगै कम्पनिले आफ्नो पकड गुमाउन थालेको हो ।
सरकारीसग प्रतिस्पर्धामा उत्रिएको निजी कम्पनि एनसेलको तुलनामा टेलिकमको सेवा विस्तार निकै सुस्त छ । टेलिकम अधिकारीहरु भने सरकारी निती नियम र प्रक्रियागत झन्झटका कारण चाडो निर्णय गर्न नसक्दा सेवा विस्तार द्रुत रुपमा हुने नसकेको बताउछन् ।
नियामक निकाय दुरसञ्चार प्राधिकरणले हालै जारी गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार वैशाख मसान्तसम्ममा टेलिकमको ग्राहक संख्या ७६ लाख ३३ हजार छ भने एनसेलको ग्राहक संख्या ७८ लाख ८८ हजार छ । टेलिकमका ६ लाख २६ हजार साधारण टेलिफोन, एक लाख ४५ हजार ताररहित, ६० लाख जिएसएम मोबाइल, आठ लाख ५१ हजार सिडिएमए टेलिफोनका ग्राहक छन् । टेलिकमले आर्थिक बर्ष २०६९/७० मा २० लाख जिएसएम ग्राहक थप्ने लक्ष्य राखेको छ । एनसेलका सबै ग्राहक जिएसएम मोबाइलका हुन् ।
टेलिफोन सेवामा मात्र नभएर एनसेलले इन्टरनेट ग्राहक संख्यामा पनि टेलिकमलाई पछि पारेको छ । टेलिकमका १९ लाख ४० हजार इन्टरनेट प्रयोगकर्ता छन् भने एनसेलका २७ लाख ९३ हजार ग्राहकले इन्टरनेट प्रयोग गर्छन् ।
ग्राहक संख्याको आधारमा बजार हिस्सा टेलिकमको ४६ प्रतिशत छ एनसेलको ४७ प्रतिशत छ । इन्टरनेट प्रयोगकर्ताको बजार हिस्सा पनि क्रमश ४० र ५७ प्रतिशत छ । एनसेलले ३ महिना अघि नै टेलिकमलाई उछिनेको थियो । यस्तै अवस्था रहे ९० प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहेको ३६ बर्ष पुरानो टेलिकमलाई सात बर्षअघि मात्रै सञ्चालनमा आएको निजी कम्पनी एनसेलले जित्ने विज्ञहरु बताउछन् ।
निजि कम्पनि सबल भएपछि सरकारी कम्पनि कमजोर हुन थालेको थालेको जानकारहरुको भनाई छ । टेलिकममा महाप्रवन्धक भएर काम गरिसकेका सुगतरत्न कंसाकार निजी कम्पनि ठूलो लगानी र आक्रामक बजार विस्तारको रणनितिका साथ आएपछि टेलिकम कमजोर हुनु स्वभाविक भएको. बताउछन् । संसारमै नाम कमाएको मल्टिनेसनल कम्पनिसग सरकारी ढाचामा चलिरहेको सरकारी स्वामित्वको कम्पनिले प्रतिस्पर्धा गर्नु कम चुनौतिपूर्ण नहुने उनको भनाइ छ । ‘निर्णय प्रक्रिया ढिलो हु“दा टेलिकमको सेवा प्रभावकारी हुन सकेको छैन । एनसेलले एक घण्टामा गर्न सक्ने निर्णय गर्न टेलिकमलाइ कहिलेकाहि ६ महिना लाग्छ ।’ कंसाकार भन्छन् । 
टेलिकमले गत आर्थिक बर्ष २०६८/६९ मा ४.१७ प्रतिशतले आम्दानी बढाउने लक्ष्य राखेको थियो । उसको वित्तिय विवरण आइसकेको छैन । एनसेलको लगानीकर्ता कम्पनी टेलियासोनेराले भने युरो–एशियामा गरेको लगानीमध्ये नेपालमा सबैभन्दा बढी फलदायी भएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार एनसेलले सन् २०१२ को जनवरी देखि मार्च सम्मको तिन महिनाको अवधिमा ७ अर्ब ८८ करोड रुपैयाको कारोबार गरेको छ । टेलिकमको तिन महिनाको कारोबार भने आठ अर्ब ८९ करोड रुपैया छ ।
आर्थिक बर्ष २०६७/६८ मा टेलिकमले सरकारलाई १६ अर्ब २७ करोड रुपैया राजस्व बुझाएको थियो । गत आवको विवरण आइसकेको छैन । त्यस्तै टेलिकमले माथिल्लो तामाकोसी जलविद्युत् अयोजनालाई ६ अर्ब रुपैया“ ऋण दिएको छ । यही आयोजनामा ६० करोड रुपिया सेयर लगानी गरेको छ । टेलिकमले माथिल्लो त्रिशूली तेश्रो–बी मा नेपाल विद्युत् प्राधिकरण सरह आधा लगानी गरेर बनाउने सहमति गरेको छ ।
निजी क्षेत्रसग प्रतिस्पर्धा गर्नुपर्ने सेवा प्रदायक निकाय भएकाले सुधारका लागि खरिद ऐनमा संशोधन गरेर महगो भए पनि गुणस्तरीय सामान किन्न पाउने अधिकार दिनुपर्ने र रणनितिक साझेदार भित्र्याउने प्रक्रिया तत्काल अगाडी बढाउनु पर्ने सुझाव विज्ञहरुको छ ।

Thursday, July 19, 2012

बुद्ध एयरलाई हवाई सम्पर्क बढाउन ऋण

काठमाडौं, ४ साउन । विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा हवाई यात्राको स्थिति सुधारका लागि बुद्ध एयरलाई ऋण प्रदान गरेको बताएको छ । आइएफसीको नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै बुद्ध एयरलाई प्रदान गरिएको ऋणले नेपालमा हवाई यातायातको सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
‘आइएफसीको ऋणले कम्पनीलाई दोस्रो एटिआर ७२ जहाज खरिद गर्न र कम्पनी सञ्चालनमा सहयोग पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ । हवाई सेवाको सुधारसँगै पर्यटकका लागि बढी विकल्प प्राप्त हुने र नेपाली जनताका लागि हवाई सम्पर्क विस्तार हुने आइएफसीले दाबी गरेको छ । बुद्ध एयरले सुगम क्षेत्रका १० वटा गन्तव्यमा उाडन गरिरहेको छ ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आइएफसीको दोस्रो लगानीले कम्पनीलाई यस क्षेत्रमा आफ्नो सेवा एकीकृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालजस्तो पहाडी भूगोल भएको मुलुकका लागि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा राम्रो बनाउनु अत्यावश्यक रहेको उनको भनाइ छ । आइएफसीले हालै बुद्ध एयरलाई ६१ करोड ४१ लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ । थप नयाँ एटिआर ७२ जहाज खरिदका लागि बुद्ध एयर र आइएफसीबीच ऋण सम्झौता भइसकेको छ । आगामी महिना जहाज आइपुग्ने बुद्ध एयरले जनाएको छ । फ्रेन्च–इटालियन उत्पादनको एटिआर ७२–५०० मोडलको जहाज डबल इन्जिन टर्बोप्रोप हो । हाल बुद्ध एयरले सोही मोडलका दुईवटा एटिआर ७२ र तीनवटा एटिआर ४२–३२० तथा दुईवटा डी १९०० बिचक्राफ्ट मोडलका जहाज सञ्चालन गरिरहेको छ । यसअघि सन् २००८ मा आइएफसीले दुईवटा एटिआर ७२ जहाज किन्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द ढोका ह्यांगर निर्माण गर्न १० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । हाल कम्पनीका दुवै एटिआर सञ्चालनमा छन् भने अत्याधुनिक सुविधासहितको ह्यांगरसमेत सञ्चालनमा आइसकेको छ ।
आइएफसीका पूर्वाधार र प्राकृतिक स्रोत साधनका लागि एसियाका निर्देशक अनिता जर्जले आइएफसीका लागि नेपालमा बढिरहेको पूर्वाधारको माग सम्बोधन गर्नु रणनीतिक प्राथमिकता रहेको बताएकी छिन् । ‘हामीले बुद्ध एयरमा गरिरहेको लगातारको लगानीले कम्पनीलाई हवाई यात्राका लागि बढी विकल्प दिन र नेपालीका लागि यात्राको समय घटाउन मद्दत पुग्नेछ,’ जर्जले भनेकी छन् । आइएफसी निजी क्षेत्रमा लगानी गर्ने विश्व बैंकअन्तर्गतको सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था हो ।
कम्पनीले चार दशमलव १५ देखि चार दशमलव २५ सम्म ब्याजदरमा आइएफसीसँग ऋणसम्झौता गरेको हो । गत बर्ष बुद्ध एयर, यती एयरलाइन्स अग्नि एयर, गुण एयर र सिम्रिक एयरको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनका लागि प्रक्रियाअगाडि बढ्दा आइएफसीले आफ्नो ऋण चुक्ता नगरी यसमा लगानी नगर्न सुझाब दिएपछि बुद्ध एयर यसबाट पछि हटेको थियो

Tuesday, July 17, 2012

पर्यटकको बसाइ अवधि बढ्यो

सौर्य दैनिक
काठमाडौं, २ साउन । आर्थिक वर्ष ०६८/६९ को आठ महिनामा नेपाल आउने पर्यटकको बसाइ अवधि बढेको छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणले यो अवधिमा पर्यटकको औसत नेपाल बसाइ अवधि अघिल्लो आवको सोही अवधिका तुलनामा बढेको देखाएको हो ।
सर्वेक्षण प्रतिवेदनअनुसार विदेशी पर्यटकको बसाइ अवधि १२.६७ दिनबाट बढेर १३.१२ दिन पुगेको छ । पर्यटन वर्ष ०११ मा सरकारले पर्यटकको बसाइ अवधि १३ दिन पुर्‍याउने लक्ष्य थियो । गत आवमा पर्यटकबाट हुने आम्दानी पनि बढेको सर्वेक्षणले देखाएको छ । प्रतिपर्यटक आम्दानी तीन हजार ६७ रुपियाँ र पर्यटकले नोलमा प्रतिदिन गर्ने खर्च तीन हजार एक सय १२ रुपियाँ पुगेको सर्वेक्षणमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार ५३.७ प्रतिशत पर्यटक सामान्य भ्रमणका लागि नेपाल आएका छन् । त्यस्तै ११.७ प्रतिशत ट्रेकिङ तथा पर्वतारोहणका लागि र ८.७ प्रतिशत धार्मिक उद्देश्यका लागि नेपाल आएको तथ्यांकले देखाएको छ । ४.१ प्रतिशत पर्यटक मनोरन्जनका लागि, २.४ प्रतिशत व्यापारिक प्रयोजनका लागि, ३.३ प्रतिशत अफिसियल कामका लागि, १.५ प्रतिशत सभा–सम्मेलनका लागि, ०.३ प्रतिशत र्‍याºिटङका लागि र ४.१ प्रतिशत अन्य प्रयोजनका लागि नेपाल आएका छन् । ९.५ प्रतिशतले भने नोपल आउनुको उद्देश्य खुलाएका छैनन् ।
गत आवमा नेपाल आउने पर्यटक २२.१ प्रतिशतले बढेको सरकारी तथ्यांक छ । अन्तर्राष्ट्रिय स्तरमा भएको नेपालको प्रचारप्रसार र पर्यटन वर्ष राष्ट्रिय अभियानका कारण यो संख्यामा पर्यटक बढेका हुन् ।
अन्तर्राष्ट्रि्रय बजारमा नेपाल पर्यटकीय गन्तव्यका रूपमा पुनस्र्थापित हुन सफल भएको सरकारको दाबी छ । पर्यटन वर्ष अभियानसँगै नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थुप्रै अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यक्रम भएका थिए । यो अवधिमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएन र बिबिसीमा विज्ञापन गरिएको थियो । 
कन्जुमर मार्केटलाई लक्षित गरेर नेपाली पर्यटनको प्रवद्र्धन गरिएको यो पहिलो पटक हो । गत आवमा नेपाल पर्यटन बोर्ड तथा निजी पर्यटन व्यवसायीले थुप्रै पर्यटन मेला तथा बिटुबी कार्यक्रममा भाग लिए भने नेपालमा करिब एक दर्जन अन्तर्राष्ट्रिय स्तरमा सम्मेलनहरू भए । पर्यटन वर्ष ०११ मा सरकारले दश लाख पर्यटकको लक्ष्य राखेको भए पनि करिब सात लाख पर्यटक नेपाल भित्रिएका थिए । बढी पर्यटक नेपाल आउने प्रमुख पाँच मुलुकको सूचीमा भारत २० प्रतिशत, चीन ८.४ प्रतिशत, श्रीलंका ८.१ प्रतिशत, अमेरिका ५.७ प्रतिशत र बेलायत ५ प्रतिशत छन् । सर्वेक्षणअनुसार पर्यटन पूर्वाधारमा भने उल्लेख्य प्रगति देखिएको छैन । सरकारले पर्यटन वर्षसँगै पर्यटन पूर्वाधारमा पनि विस्तार गर्ने घोषणा गरेको थियो । गत आवमा नै सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरे पनि होटल क्षेत्रमा लगानी बढ्न सकेको छैन ।
सर्वेक्षणअनुसार अहिले देशभरका एक सय ६ तारे होटलले नौ हजार तीन सय २३ बेड उपलब्ध गराइरहेका छन् । गैरतारे होटल भने गत आवको पहिलो आठ महिनामा ३५ वटा थपिएको उल्लेख छ । पर्यटकीय गतिविधि र पर्यटन क्षेत्रको आम्दानी बढे पनि कुल गार्हस्थ उत्पादन (जिडिपी) मा भने पर्यटन क्षेत्रको योगदान बढ्न नसकेको सर्वेक्षणले देखाएको छ । जिडिपीमा पर्यटनको योगदान तीन प्रतिशत पुर्‍याउने सरकारी लक्ष्य भए पनि यो प्रतिशत १.८ प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ ।