Friday, October 12, 2012

क्यानोनिङका नायक

साहस धेरैसँग हुन्छ तर त्यो साहसलाई व्यावसायिक प्रयोजनमा रूपान्तर गर्ने सिर्जनशीलता कमैसँग मात्र हुन्छ । तिनै कम व्यक्तिमध्ये पर्छन् युवा हुन् कवीन्द्र लामा, जसले पानीका अग्ला छहरामा डोरी समातेर झर्दै खेलिने साहसिक खेल क्यानोनिङ नेपाल भित्र्याए । उनी अहिले पनि क्यानोनिङको विकासका लागी युवाहरूलाई प्रशिक्षण दिने र यसका लागि उपयुक्त झरनाको खोजी गर्ने काम गरिरहेका छन् ।
३३ बर्षअघि काभ्रेमा जन्मिएका लामा स्कुल पढ्दापढ्दै गाउँका युवाहरूसँग पर्यटकको भारी बोक्न हिँडे । पर्यटनबारे केही थाहा पाए । ट्रेकिङ गाइडको तालिम पनि लिए । गाइड बनेर पर्यटकसँग हिड्ने क्रममा लामाको थुपै्र विदेशीसँग हिमचिम भयो । यसमध्येका एक थिए, फ्रेन्च नागरिक मोरसी दुसेन । फ्रान्सका क्यानोनिङ अग्रणी दुसेनले लामालाई त्यहाँ लगेर गाइड बनाए । उनले फ्रान्सको इएफसी क्यानोनिङ स्कुलबाट उच्चस्तरको रक क्लाइम्बिङ तालिम लिने अवसर पनि पाए ।
तीनमहिने युरोप बसाइपछि लामाले नेपाल फर्किएर झरना खोज्न थाले । अन्नपूर्ण सर्किटमा ट्ेरकिङ गर्न जाँदा देखिने झरना हेर्दै क्यानोनिङका लागि उपयुक्त छ/छैन भनेर जाँच्न थाले । दुई वर्षको अध्ययनपछि ०६१ सालमा पहिलोपटक लमजुङको १ सय २० मिटर अग्लो बुलबुले झरनामा क्यानोनिङ गरे । क्यानोनिङका लागि उपयुक्त मानिएकामध्ये यो निकै कठिन झरना मानिन्छ । त्यसै साल लामाको नेतृत्वमा पाँच फ्रेन्च नागरिकसमेत मिलेर लमजुङमा क्यानोनिङका लागि ६ वटा झरना पत्ता लगाए ।
उनको सम्मानस्वरूप फ्रेन्चहरूले मस्र्याङ्दी उपत्यकाको एउटा झरनालाई ‘कवीन्द्र झरना’ नामकरण गरिदिए । उनको पहलमा लमजुङको बुलबुले र चाम्चे खोला, मनाङको ताल तथा नार र फू, सिन्धुपाल्चोकको जम्बु तथा भोटेकोशी, काभ्रेको सुनकोशी, नुवाकोटको ककनी, ओखलढुंगाको पोकलीलगायत झरनामा खोज–अनुसन्धान भई क्यानोनिङ साइट खुलिसकेको छ ।
व्यक्तिगत पहलमा लामाले क्यानोनिङका लागी झरना पत्ता लगाए पनि व्यावसायिक विकासका लागि गाइड थिएनन् । त्यसैले उनले केही युवालाई तालिम दिए । ‘युवा पनि डराउँथे । मानिसहरूमा हामीप्रति विश्वास नै थिएन,’ लामा सम्झन्छन् । तर, अहिले यो एडभेन्चर भईकन पनि सुरक्षित खेल हो भन्नेमा धेरैलाई विश्वास लाग्न थालिसकेकोमा उनी सन्तुष्ट छन् । क्यानोनिङप्रति युवाको आकर्षण बढ्दो छ ।
क्यानोनिङ खेललाई संंस्थागत विकास गर्न पाँच वर्षअघि नेपाल क्यानोनिङ एसोसिएसनको स्थापना भयो । एसोसिएसनले गाइडलाई तालिम दिनुका साथै यसको व्यावसायिक विकासका लागि काम गरिरहेको छ । क्यानोनिङमा पर्यटकको आकर्षण बढ्न थालेपछि गाइडको संख्या पनि बढेको छ । लामा सबैका गुरु हुन् ।
लामा अहिले नेपाल, फ्रान्स र अमेरिकामा क्यानोनिङको विकासका लागी प्रचारप्रसार गरिरहेका छन् । नेपाल पर्यटन बर्षको अवसरमा गत बर्ष नेपालमा भएको अन्तर्राष्ट्रिय क्यानोनिङ सम्मेलनमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए । नेपाली झरना धेरैजसो ठाडो भएकोले यहाँको क्यानोनिङ बढी साहसिक मानिन्छ । क्यानोनिङ अहिले दक्षिण एसियामै लोकप्रिय भइसकेको छ । नेपाल पहिलो नम्बरमा आउँछ ।
पोखराको ९० फिट लामो सेती खोँचमा तीन वर्षअघि साढे दुई वर्षे बालिका आराधना प्रधान खस्दा पनि लामाकै नेतृत्वको टोलीले उद्धार गरेको थियो । उनी नेपाल पर्वतारोहण संघको उद्धार समिति सदस्य समेत हुन् ।

Friday, October 5, 2012

पोखरा विमानस्थल निर्माण पुरानै प्रक्रियाबाट

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १९ असोज । पोखरामा निर्माण गर्ने भनिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टेन्डर प्रक्रिया विवादित भएका कारण अर्को टेन्डर गर्नुपर्ने सरोकारवालाको मागविपरीत नागरिक उड्डयन प्राधिकरण पुरानै प्रक्रियाबाट अघि बढ्ने भएको छ । विमानस्थल निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउने दातृनिकाय र निर्माण कम्पनी पुरानै प्रक्रियाबाट अघि बढ्न सहमत भएको भन्दै प्राधिकरणले पुरानै प्रक्रिया अगाडि बढाउन लागेको हो ।
विमानस्थल निर्माणको टेन्डरका विषयमा तीव्र विवाद उत्पन्न भएपछि गत साता पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा एक टोली चीन गएको थियो । टोलीमा सहभागी एक सदस्यका अनुसार विमानस्थल निर्माणका लागि लगानी गर्न चिनियाँ एक्जिम बैंक अहिले पनि तयार छ । टेन्डरमा अनुमानित बजेटभन्दा दोब्बर बढी बजेट लगानी दाबी गरेको कम्पनीले समेत टेन्डर बजेटमै काम गर्न तयार रहेको पत्र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ ।
एक्जिम बैंकको सहुलियत ऋण पाउनका लागि २० अक्टोबरसम्म सहमति गरिसक्नुपर्ने कुनै सर्त नरहेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । यसअघि एक्जिम बैंकले २० अक्टोबरसम्म लगानीका लागि दुई देशबीच सहमति भइसक्नुपर्ने सर्त राखेको थियो । वार्ताका क्रममा एक्जिम बैंकले पोखरा विमानस्थलमा लगानी गर्न आफू जुनसुकै बेला तयार रहेको जानकारी दिएको उनको भनाइ छ । टेन्डर प्रक्रिया विवादित भए पनि ऋण दिने बैंक र लगानी गर्ने कम्पनीले लचकता देखाएका छन् ।
चिनियाँ सिएएमसी कम्पनीले विमानस्थल निर्माणका लागि प्राधिकरणले गरेको टेन्डर बजेटकै आधारमा काम गर्न पत्र पठाएको बताएको छ । प्राधिकरणले गरेको टेन्डरको वित्तीय बजेट एक सय ७० मिलियन भए पनि प्रतिस्पर्धी तीनवटा कम्पनीमध्ये सिएएमसीले सबैभन्दा कम तीन सय पाँच मिलियन डलर प्रस्ताव गरेको थियो । त्यस्तै प्रतिस्पर्धामा उत्रेका अन्य दुई कम्पनी सिनो हाइड्रो र चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले योभन्दा बढी रकम प्रस्ताव गरेका थिए । टेन्डरमा चिनियाँ कम्पनीले मात्र भाग लिन पाउने सर्त एक्जिम बैंकको छ । अनुमानितभन्दा दोब्बर बजेट प्रस्ताव भएपछि विमानस्थल निर्माण प्रक्रिया अन्यौलमा परेको थियो ।
एक्जिम बैंक र सिएएमसी इच्छुक भएमा पुरानै प्रक्रियाबाट अगाडि बढ्न सकिने प्राधिकरणको निष्कर्ष छ । ‘यति ठूलो निर्णय प्राधिकरण एक्लैले गर्न सक्दैन । यसका लागि राजनीतिक सहमतिका आधारमा निर्णय हुनुपर्छ ।’ प्राधिकरणका एक अधिकारीले भने । पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोस्टबहादुर बोगटी पनि विवाद नआउने गरी पारदर्शी रूपमा काम हुनुपर्ने पक्षमा रहेको उनको भनाइ छ ।
विमानस्थल इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्सट्रक्सन (इपिसी) मोडलबाट बनाउनुपर्ने व्यवस्था प्राधिकरणको छ । ०३१ सालमा नै पोखराको छिन्नेडाँडामा तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको थियो । तर, सरकारी बजेट अभाव र दातृनिकाय फेला नपर्दा विमानस्थल निर्माण अलपत्र पर्दै आएको छ । प्राधिकरणले यसअघि जापानी दातृनिकाय जाइकाको सहयोगमा १२ अर्ब ७७ करोड ५० लाख रुपियाँमा फोर डी स्तरको विमानस्थल निर्माणको प्रस्ताव हाले पनि त्यो पास हुन सकेन ।
पछि चीन सरकारले त्यहाँको एक्जिम बैंकमार्फत सहुलियत ऋणमा विमानस्थल बनाउने भएपछि नागरिक उड्डयन प्राधिकरणले निर्माण कम्पनी छनोटका लागि टेन्डर आह्वान गरेको थियो । विमानस्थलका लागि जग्गा अधिग्रहण गरेको लामो समय भइसक्दा पनि उल्लेख्य रूपमा काम हुन सकेको छैन । आर्थिक सर्वेक्षण ०६८/६९ का अनुसार विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गामा गतवर्ष आली तथा कान्ला सम्याई ग्रेडिङ गर्ने र पर्खाल लगाउने काम मात्र भएको छ । चालू आव ०६९/७० मा रनवे स्ट्रिपका लागि आंशिक रूपमा माटोको काम गर्न ठेकेदार छनोट गर्नेे र विमानस्थल निर्माणका लागि थप चार सय रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको योजना छ । सरकारले ल्याएको एक तृतीयांश बजेटमा पनि पोखरा विमानस्थल निर्माणलाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा प्राथमिकताका साथ सञ्चालन गर्ने उल्लेख छ ।

Tuesday, October 2, 2012

पर्यटन श्रमिकद्वारा टानमा तालाबन्दी

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १६ असोज । ट्रेकिङ क्षेत्रमा मजदुर समस्या बढेर गएको छ । तीन ठूला राजनीतिक दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस र एमाओवादी सम्बद्ध ट्रेड युनियन महासंघअन्तर्गतका पर्यटन श्रमिकले ट्रेकिङ एजेन्सीको छाता संगठन टानमा तालाबन्दी गरेपछि समस्या बढेर गएको हो ।
आफूहरूले विगत लामो समयदेखि राख्दै आएका माग पूरा नभएको भन्दै नेपाल पर्यटन श्रमिक संघ, युनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले सोमबार टानको केन्द्रीय कार्यालय र पोखरा च्याप्टरमा तालाबन्दी गरेका छन् । अक्टोबर १ देखि लागू हुनेगरी टानसँग ज्याला वृद्धिको सम्झौता गरिएको भए पनि त्यसको पालना नभएकाले तालाबन्दी गरिएको मजदुर संगठनहरूको भनाइ छ । गत २६ भदौमा मजदुर संगठन र टानबीच ट्रेकिङ मजदुरको ज्याला दुई सय रुपियाँले बढाउने सहमति भएको थियो । सहमतिपत्रमा टानका अध्यक्ष महेन्द्रसिंह थापा, महासचिव मोहन लम्साल र प्रमुख कार्यकारी गंगासागर पन्त र मजदुरका तर्फबाट १० वटा पर्यटन सम्बद्ध मजदुर संगठनका पदाधिकारीले हस्ताक्षर गरेका छन् । ज्याला वृद्धिको निर्णय पुन: सरकारी प्रतिनिधि र सरोकारवालाको रोहवरमा हस्ताक्षर गर्ने सहमति दुई पक्षबीच भएको थियो ।
मजदुर संगठनले भने ज्याला वृद्धिको सहमति लागू गर्ने कुरामा टानले सक्रियता नदेखाएको आरोप लगाएका छन् । ‘भएको सम्झौता पालना गर्नुपर्नेमा टानले सक्रियता देखाएन,’ नेपाल पर्यटन श्रमिक संघका सचिव भागवतश्री न्यौपानेले भने । सरकारी प्रतिनिधिसँगको बैठक बोलाउन पनि टानले पहल नगरेको आरोप उनको छ । आफ्ना सदस्य संस्थालाई समेत टानले ज्याला वृद्धिबारे सर्कुलर नगरेको उनले बताए ।
टान महासचिव मोहन लम्सालले भने सर्वपक्षीय बैठकका लागि ३ असोजमै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखामा पत्र पठाइएको बताए । तर, मन्त्रालयले अहिलेसम्म बैठक आह्वान गरेको छैन । ‘सरकारी निकायले तत्परता नदेखाएका कारण विवाद सिर्जना भएको हो । यसमा मन्त्रालय जिम्मेवार छ ।’ लम्सालले भने । सर्वदलीय बैठकले निर्णय गरेपछि मात्र टानले सदस्य संस्थाहरूलाई सर्कुलर जारी गर्ने उनले बताए ।
तालाबन्दी गर्ने क्रममा सोमबार बिहान मजदुर संगठनबीच झडपको स्थिति उत्पन्न भएको थियो । सम्झौतामा आफूहरू पनि सहभागी भएको तर तालाबन्दी गर्ने क्रममा तीनवटा संगठन मात्र अगाडि आएको भन्दै नेकपा–माओवादी सम्बद्ध मजदुर संगठनले विवाद गरेको थियो । विवादकै क्रममा नेकपा–माओवादी समर्थित मजदुरले अन्य दल समर्थित मजदुरलाई आक्रमण गरे । आक्रमणबाट अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव रामचन्द्र ढुंगाना घाइते भएका छन् । ढुंगानाले आक्रमणकारीविरुद्ध हनुमानढोका प्रहरीमा उजुरी दिएका छन् । उजुरीमा टान तथा यसका अध्यक्ष र महासचिवलाई पनि विपक्षी बनाइएको छ । टान पदाधिकारीले नै मजदुर भिडाउन आक्रमण गराएको आरोप उनको छ ।
टान महासचिव लम्साल भने मजदुर भिडन्तलाई जुँगाको लडाइँ मात्र बताउँछन् । सहमति पालना गर्न टान प्रतिबद्ध रहेको बताउँदै उनले अनावश्यक विवाद नगरी वार्तामा आउन मजदुर संगठनहरूलाई आग्रह गरे । प्रक्रिया पूरा भएपछि सम्झौता लागू हुने उनले बताए । ‘श्रमको मूल्य निर्धारण गर्ने आधिकारिक निकाय टान होइन । यसका लागि सरकारी पक्षको पनि सहमति चाहिन्छ,’ उनले भने । पर्यटन मन्त्रालय, ट्रेड युनियन प्रतिनिधि, टान र श्रम विभागको सहमतिपछि मात्र ज्याला वृद्धिको सहमति लागू हुने उनले बताए । यसअघि पनि यही प्रक्रियाबाट ज्याला वृद्धि भएको उनले जानकारी दिए ।
मुख्य कार्यालयमा तालाबन्दी भएपछि टान पदाधिकारीले मजदुर संगठनलाई वार्तामा बोलाए पनि उनीहरू वार्तामा गएनन् । युनिट्राभका महासचिव सुमन पराजुलीले आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने बताए । वार्ताको वातावरण बनाउन आक्रमणकारीलाई कारबाही गर्नुपर्ने माग मजदुर संगठनको छ । पर्यटकीय सिजनमा भएको तालाबन्दीका कारण पर्यटकलाई असर परेको टान महासचिव लम्सालले बताए । तालाबन्दीका कारण सोमबार ट्रेकिङ एजेन्सीहरुले टिम्स कार्ड लिन पाएनन् । सिजनमा टानबाट दैनिक दुई हजारसम्म टिम्स कार्ड वितरण हुन्छ ।