Wednesday, October 31, 2012

पाँच केबुलकार सञ्चालन गरिँदै

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १३ कात्तिक । सरकारले देशका पाँच ठाउँमा केबुलकार सञ्चालन गर्ने योजना बनाएको छ । सरकारी योजना पूरा हुने हो भने पूर्वदेखि पश्चिमसम्मका जनताले केबुलकारको सुविधा लिन पाउने छन् ।
सरकारी अध्ययनअनुसार केबुलकार सञ्चालनका लागि मुलुकभर पाँच स्थान उपयुक्त देखिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनअनुसार सुनसरी, धनकुटा, कालिकोट, डोटी र काभ्रे जिल्लामा केबुलकार सञ्चालनको सम्भाव्यता देखिएको छ । प्राविधिक रूपले धरानदेखि भेडेटारसम्म, धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म, कालिकोटदेखि चाल्नासम्म र डोटीदेखि खप्तडसम्म केबुलकारको सम्भावना छ । मन्त्रालयअन्तर्गतको पर्यटन पूर्वाधार विकास आयोजनाका अनुसार यी ठाउँमा केबुलकार सञ्चालन गर्न डेढ अर्ब रुपियाँभन्दा बढी खर्च लाग्छ ।
मन्त्रालयले यसअघि काठमाडौँको चन्द्रागिरि, शिवपुरी, ललितपुरको फूलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुङ्गामा केबुलकार सञ्चालनका सम्भाव्यता अध्ययन गरेको थियो । यसमध्ये थानकोटदेखि चन्द्रागिरिसम्म केबुलकार सञ्चालनका लागि तत्काल काम सुरु गर्ने मन्त्रालयको योजना छ ।
मुलुकभर केबुलकार निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने गरी सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयले बताएको छ । मनकामनामा सञ्चालित केबुलकारको सफल अनुभवले निजी लगानीकर्ता उत्साहित हुने विश्वास लिइएको छ । सम्भाव्यता अध्ययनका लागि मात्र २५ लाख रुपियाँ खर्च भइसकेको छ । मन्त्रालयले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी वातावरणीय प्रभाव मूल्यांकनका लागि वातावरण मन्त्रालयमा पठाएको पनि मन्त्रालय स्रोतले बतायो ।
मन्त्रालयले विभिन्न स्थानमा केबुलकार सञ्चालन गर्न लाग्ने खर्च र प्रतिफलसमेत प्रक्षेपण गरेको छ । यसअनुसार धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म ११ किलोमिटर लामो केबुलकार निर्माण गर्न सकिने छ । यसका लागि ५३ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । अध्ययनअनुसार यहाँ केबुलकार निर्माण गर्न चार वर्ष लाग्छ । प्रतिघन्टा एक सय ८० जना यात्रु आवतजावत गर्न सक्ने पलाञ्चोक केबुलकारले नौ वर्षमै लगानी उठाउने सम्भावना देखिएको छ ।
त्यस्तै कालिकोटमा केबुलकार निर्माणका लागि १२ करोड २६ रुपियाँ लाग्ने देखिएको छ । यसको दूरी दुई किलोमिटर र समय आठ मिनेट रहने अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिघन्टा एक सय २० जनाले आवतजावत गर्नसक्ने सो केबुलकार निर्माण गर्न तीन वर्ष लाग्ने देखिएको छ । यसको लगानी तीन वर्षमै उठ्ने अनुमान छ ।
धरान र भेडेटारबीचमा २.८ किलोमिटर लामो केबुलकार बनाउन सकिने अध्ययनमा देखिएको छ । यसका लागि ३८ करोड रुपियाँ लाग्ने अनुमान छ । तीन वर्षमा निर्माण सम्पन्न हुने सो केबुलकार सञ्चालनमा आएको साढे चार वर्षमा लगानी फिर्ता हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी डोटीमा अध्ययन भएको तीन किलोमिटर लामो दूरीको केबुलकारको अनुमानित लागत ३९ करोड रुपियाँ छ । निर्माणका लागि करिब तीन वर्ष लाग्ने र सञ्चालनमा आएको पाँच वर्षमा लगानी उठ्नसक्ने अध्ययनले देखाएको छ । सरकारले हालसम्म १५ ठाउमा केबुलकार सञ्चालनका लागि अध्ययन गरे पनि कुनै पनि स्थानमा काम अगाडि बढेको छैन । निजी लगानीकर्ताले हालसम्म कुनै पनि परियोजनामा चासो देखाएका छैनन् । मनकामना केबुलकार प्रालिले चितवनको चेरेसदेखि गोर्खाको मनकामना मन्दिरसम्म सञ्चालन गरेको केबुलकार सफल भएपछि सरकारले अन्य ठाउँमा यो सेवा विस्तार गर्ने प्रयास गरिरहेको छ ।

उद्योगी–व्यवसायीको पारिवारिक दसैँ

काठमाडौं, ५ कात्तिक । अधिकांश उद्योगी व्यवसायीले नजिकिँदै गरैको दसैँ परिवारसँग बसेर मनाउने भएका छन् ।
सधँैभरि व्यस्त रहने यस्ता व्यवसायीले व्यापार व्यवसायलाई बिर्सेर दसैँको समयभर परिवारजनसँग मनाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले गत वर्ष काठामडौंबाहिर गएर दसैँ मनाएको बताए पनि यो वर्ष यस वर्ष काठमाडौं मनाउने बताए । साथीकोमा जाने र उनीहरूलाई बोलाएर रमाइलो गरी मनाउने उनको योजना छ । ‘वर्षको तीन सय ५८ दिन व्यवसायमा पनि व्यस्त भइन्छ । तर, दसैँंको सात दिन भने परिवारका लागि हो । सात दिनको अधिकांश समय परिवारसँगै बित्छ,’ उनले भने ।
दसैँंका लागि यति नै बजेट भन्ने हुँदैन तर योबेला खुलेरै खर्च गरिन्छ । दसैँकै लागि भनेर किनमेल नगरेको उनी बताउँछन् । शाकाहारी र मदिरा सेवन नगर्ने भएकाले सामान्य खानपिनमा बिताउने उनको योजना छ । मुलुकमा शान्ति आएको भनिए पनि उद्योग क्षेत्रमा अशान्ति नै छ । औद्योगिक सुरक्षा छैन । उनले औद्योगिक वातावरण बन्ने कामना समेत गरे ।
यातायात व्यवासयी योगेन्द्रनाथ कर्माचार्य भने दसैँमा अलि बढी व्यस्त रहने बताउँछन् । दसैँको मुखसम्मै यातायात व्यवस्थापनमा दौडिनुपर्ने उनको भनाइ छ । यो पटकको दसैँ घरमै मनाउने उनको योजना छ । अरूबेला फुर्सद नहुने भएकाले साथीभाइसँग भेटघाट गर्ने उपयुक्त समय नै दसैँ भएको उनको बुझाइ छ । अर्का तेल व्यवसायी एवं नेपाल पेट्रोलियम डिलर्सका निर्वतमान अध्यक्ष सरोज पाण्डे भने अधिकांश समय पूजापाठमै दसैँ बित्ने बताउँछन् । नवरात्रभर अधिकांश समय पूजा गरेरे बित्ने बताउँदै उनले भने, ‘बाँकीको समय साथीभाइसँग भेटघाट गर्ने योजना छ ।’
त्यसैगरी पर्यटन व्यवासयी मोहन लम्साल यो वर्षको दसैँ काठमाडांैमै मनाउने सोचमा छन् । उनले भने, ‘हाम्रा लागि यो पर्यटकीय सिजन हो । कहिले टिकाकै दिन ग्रुप आइपुग्छ, कहिले रेस्क्यु पर्छ । त्यसैले २४ सै घन्टा अलर्ट हुनुपर्छ ।’ उनका अनुसार केही व्यवसायीले दसैँकै लागि भनेर छुट्टै प्याकेज पनि बनाउने गरे पनि यो वर्ष आफूले कुैनै नयाँ कार्यक्रम नराखेको बताए ।
वैदेशिक रोजगार व्यवसायी सुवर्ण श्रेष्ठ भने दसैँको एक साता तनाव भुलेर रिफ्रेस हुने बताउँछिन् । पहिले घुम्न गइन्थ्यो, यसपालि चाहिँ घरमै परिवारसँग मनाउने योजना छ । सामान्य पूजापाठ हुन्छ । नेवार समुदायमा खानाको भेराइटी निकै हुने भएकाले खानामा पनि निकै समय बित्ने उनको बुझाइ छ । दसैँमा पारिवारिक माहोल हुने भएकाले बढी मनपर्नेमा उनले जोड दिए 

दसैँले सडकपेटीमा मौसमी व्यापार

काठमाडौ, ३ कात्तिक । दसैँ सुरुवातसँगै मौसमी व्यापारका लागि काँठ तथा सीमावर्ती जिल्लाबाट राजधानी झर्ने व्यक्तिका कारण काठमाडौंका साँघुरा सडकमा चाप बढेको छ । राजधानीको फुटपाथ मौसमी व्यापारीले भरिएको छ ।
विशेषगरी खासाबाट रेडिमेड कपडा ल्याएर बेच्ने त्यस्ता मौसमी व्यापारीका कारण रत्नपार्क, सुन्धारा, न्युरोड, असन तथा पुरानो बसपार्क क्षेत्र अस्तव्यस्त छन् । दसैँ आगमनको सूचक मौसमी सडक व्यापारले गर्दा ट्राफिक व्यवस्थासमेत प्रभावित भएको छ ।
मौसमी व्यापारबाट हुने फाइदाबाट रमाइलोसँग दसैँ मनाउन राजधानी छिरेका पनौतीका अनिल तामाङ बताउँछन् । ‘सिलाइको दाममा सर्ट’ भन्दै रत्नपार्कमा उनी सामान बिक्री गर्छन् । ‘राम्रै फाइदा हुन्छ, कम्तीमा दसैँ त राम्ररी टर्छ,’ कराउँदा कराउँदै उनले भने । उनीजस्ता थुप्रै युवा राजधानी छिरेर फुटपाथमा जमेका छन, जो दसैँको समयमा १०/१५ दिन व्यापार गरेर ४०/५० हजार रुपियाँ कमाउँछन् । मौसमी व्यापार कपडाले मात्र धानेको छैन, गाउँमा वर्षभरि सगालेको घ्यू, महदेखि हाँस, कुखुरा तथा दैनिक उपभोग्य वस्तु र क्यामेरा, टेप रेकर्डरसमेत अहिले फुटपाथमा पाइन्छन् ।
फुटपाथबाहेक सानातिना खाली ठाउँमा अस्थायी प्रकृतिका मेला सञ्चालन गर्ने चलन समेत बढ्दो छ । भृकुटीमण्डपस्थित एक्जिबिसन हलमा लाइफस्टाइल एक्सपो केही दिनअघि मात्रै सकिएको छ । यो मेला दसैँलाई नै लक्षित गरिएको उपभोक्तामुखी मेला हो । केही उपभोक्ताको भने यस्ता मेलाले डबल मूल्य राखेर छुटको आडम्बर देखाउने गरेको गुनासो छ । दसैँ बजार पर्खेर सस्तो मूल्यमा सामान किन्ने बानी परेका उपभोक्ता यस मामलामा ठगिन्छन् पनि । तर, सडक व्यापार र यस्ता अस्थायी मेला फस्टाएकै छन् । मध्यम वर्गका उपभोक्ताको यही बानीका कारण आकर्षक सोकेसयुक्त सपिङ कम्प्लेक्सका पसलेसमेत सडकमा ओर्लिन बाध्य छन् ।
पशुपति प्लाजास्थित एक पसलले त थप १० जना बिक्रेता नियुक्त गरी राजधानीका विभिन्न चोकमा सडकस्टल राखेका छन् । यो काम अरू सपिङ कम्प्लेक्सका पसलले पनि गरेका छन् । दसैँजस्ता चाडपर्वमा देखापर्ने मौसमी व्यापारीले आम उपभोक्तालाई सस्तो मूल्यमा सामान उपलब्ध गराएका मात्र छैनन्, ठूला पसलको व्यापारलाई समेत प्रभावित पारेका छन् ।
दसैँका अधिकांश उपभोक्ता ग्रामीण क्षेत्रबाट झरेका हुन् र उनीहरू स्तरीय पसलमा महँगो हुने विश्वासका कारण ठूला सपिङ कम्प्लेक्स र डिपार्टमेन्ट स्टोरमा छिर्दैनन् । छिरिहाले भने पनि किन्दैनन् । मौसमी व्यापारीको उत्साहले विशाल बजार, पशुपति प्लाजा, काठमाडांै मल जस्ता व्यापारिक केन्द्रसमेत प्रभावित भएको व्यापारी बताउँछन् ।
यो वर्ष काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारमा कडाइ गरेको छ । फुटपाथ व्यापारले ट्राफिक तथा मानिसको आवतजावतमा प्रभावित हुने भन्दै खुलामञ्चमा व्यापार गर्न छुट दिएको छ । अरूबेला राजनीतिक दलका सभासम्मेलनले भरिभराउ हुने राजधानीको खुलामञ्च अहिले व्यापारी र उपभोक्ताले खचाखच भएको छ । महानगरपालिकाले फुटपाथको सट्टा खुलामञ्चमा व्यापार गर्न व्यापारीलाई निर्देशन दिइसकेको छ ।