Wednesday, October 31, 2012

टेलिफोन र इन्टरनेटमा वार्षिक ४६ अर्ब

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १४ कात्तिक । उपभोक्ताले टेलिफोन तथा इन्टरनेटमा बढी खर्च गर्न थालेका छन् । सेवाप्रदायक कम्पनीको बजार विस्तार तथा घट्दो शुल्कका कारण उपभोक्ताले गर्ने खर्च बढेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०६८/६९ मा ल्यान्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेटका लागि ४६ अर्ब रुपियाँ खर्च गरेका छन् । अघिल्लो आवको तुलनामा यो करिब १० अर्ब रुपियाँले बढी हो । आव ०६७/६८ मा उपभोक्ताले दूरसञ्चार सेवामा ३६ अर्ब रुपियाँ खर्च गरेका थिए । चालु आव ०६९/७० को अन्त्यसम्म उपभोक्ताले ५० अर्ब रुपियाँभन्दा बढी दूरसञ्चार सेवाको उपभोग गर्ने प्राधिरकणको अनुमान छ । अहिले मुलुकभर मोबाइल तथा टेलिफोनका ग्राहक एक करोड ७२ लाख पुगेका छन् । मासिक करिब पाँच लाखका दरले दूरसञ्चार उपभोक्ता बढिरहेको तथ्यांक छ ।
गत आवमा सरकारी सेवाप्रदायक नेपाल टेलिकमको नेटवर्कमा उपभोक्ताले २६ अर्ब ४० करोड ९५ लाख रुपियाँको सेवा उपभोग गरेको तथ्यांक छ । त्यस्तै एनसेलमा १७ अर्ब ५३ करोड ४९ लाख रुपियाँको कारोबार भएको छ । उपभोक्ताले युटिएलमा एक अर्ब १६ करोड ४० लाख र नेपाल स्याटेलाइटमा १३ करोड नौ लाख रुपियाँ खर्चिएका छन् । इन्टरनेट सेवा प्रदायक (आइएसपी) र नेटवर्क सेवाप्रदायकले ७६ करोड ४० लाख रुपियाँको कारोबार गरेको प्राधिकरणको तथ्यांक छ । कुल कारोबार रकममध्ये ८० प्रतिशत मोबाइलको हिस्सा भएको सेवाप्रदायक कम्पनीको भनाइ छ । कुल दूरसञ्चार उपभोक्तामध्ये ५८ प्रतिशत मोबाइलका छन् । पछिल्लो समय मोबाइल र जिपिआरएस इन्टरनेटमा बढेको आकर्षणका कारण उपभोक्ताले गर्ने खर्च बढेको छ ।
हालसम्म नेपाल टेलिकम, एनसेल, युटिएल, एसटिएम, स्मार्ट र नेपाल स्याटेलाइट (हेलो नेपाल) गरी ६ वटा भ्वाइस सेवा प्रदायक र ४१ वटा इन्टरटेनट सेवाप्रदायक कम्पनीले लाइसेन्स लिएका छन् । अघिल्लो आवको अन्त्यसम्म ४६ प्रतिशत जनसंख्यामा दूरसञ्चार सेवाको पहुँच पुगेकामा एक वर्षको अवधिमा १२ प्रतिशतले बढेको छ । गत वर्षको जनगणनाअनुसार मुलुकको कुल जनसंख्या दुई करोड ६६ लाख २० हजार आठ सय नौ छ ।

कोषमा साढे ५ अर्ब
काठमाडौ : ग्रामीण दूरसञ्चार कोषमा गत आवमा ९२ करोड रुपियाँ थपिएको छ । दूरसञ्चार सेवाप्रदायकले आम्दानीको २ प्रतिशत रकम यो कोषमा जम्मा गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । गत वर्ष चार कम्पनी नेपाल टेलिकम, एनसेल, युटिएल र हेलो नेपाल तथा इन्टरनेट/नेटवर्क सेवाप्रदायकले कोषमा रकम जम्मा गरेका थिए । प्राधिकरणका अनुसार हालसम्म कोषमा पाँच अर्ब ६६ करोड रुपियाँ जम्मा भइसकेको छ ।
कोषबाट प्राधिकरणले मुलुकका सरकारी तथा सामुदायिक विद्यालयलाई इन्टरनेट सञ्जालमा जोड्ने योजना बनाएको छ । यसका लागि शिक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरिसकेको प्राधिकरणले बताएको छ । योजनाअनुसार काम भए चालु आवको अन्त्यसम्म मुलुकभरका दुई सयभन्दा बढी विद्यालयमा इन्टरनेट पुग्नेछ । कोषको रकम परिचालन गर्न प्राधिकरणले सूचना तथा सञ्चार मन्त्रालयबाट नीतिगत स्विकृति लिनुपर्छ । लामो समयदेखि कोषको रकम निष्क्रिय बसेको छ । दूरसञ्चार नीतिमा कोषको रकम ग्रामीण भेगमा टेलिफोन विस्तारका लागि मात्र खर्च गर्न पाउने उल्लेख छ । (सौस)

साढे ४ अर्बको दूरसञ्चार उपकरण आयात

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १५ कात्तिक । वार्षिक साढे चार अर्ब रुपियाँभन्दा बढीको दूरसञ्चार उपकरण आयात हुने गरेको छ । दूरसञ्चार सेवाको विस्तार र मर्मतका लागि विभिन्न कम्पनीले यो परिमाणको उपकरण आयात गरेका हुन् ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन ०६९ अनुसार गत आर्थिक वर्ष ०६८/६९ मा दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीले चार अर्ब ५५ करोड ७५ लाख ६६ हजार चार सय ३२ रुपियाँ बराबरका उपकरण आयात गरेका छन् । चारवटा दूरसञ्चार सेवाप्रदायक र चारवटा इन्टरनेट सेवा प्रदायक कम्पनीले गरी सो रकमको सामान आयात गरेको प्राधिकरणको तथ्यांक छ । यो तथ्यांक प्राधिकरणले सामान आयात गर्न प्रदान गरेको सिफारिसका आधारमा निकालिएको हो । सेवाप्रदायकले कुनै पनि सामान आयात गर्न प्राधिकरणको सिफारिस लिनुपर्छ ।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी सामान सरकारी सेवाप्रदायक नेपाल टेलिकमले गरेको छ । गत आवमा टेलिकमले दुई अर्ब ४० करोड ८७ लाख १२ हजार रुपियाँको उपकरण आयातका लागि प्राधिकरणबाट सिफारिस लिएको थियो । त्यस्तै एनसेलले एक वर्षमा दुई अर्ब पाँच करोड रुपियाँको सामान आयात गरेको देखिएको छ ।
नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) ले गत आवमा ६० लाख २९ हजार रुपियाँको उपकरण आयात गरेको छ । त्यस्तै स्मार्ट टेलिकमले पाँच करोड ८३ लाख रुपियाँको दूरसञ्चार उपकरण आयात गरेको देखिएको छ । अन्य दूरसञ्चार सेवाप्रदायकमा युटिएल र एसटिएम सञ्चार प्रालिले कति रकमको उपकरण आयात गरे भन्ने तथ्यांक प्राधिकरणको प्रतिवेदनमा छैन । सम्भवत: यी दुई कम्पनीले गत वर्ष कुनै पनि दूरसञ्चार उपकरण भित्र्याएनन् ।
गत वर्ष केही आइएसपी कम्पनीले पनि उपकरण आयातको अनुमति लिएका थिए । प्राधिकरणका अनुसार गत वर्ष मर्कन्टाइल कम्युनिकेसनले ६३ लाख ८० हजार रुपियाँको उपकरण आयात गरेको थियो भने आई फोर टेक्नोलोजीले तीन लाख ७१ हजार रुपियाँको उपकरण आयातका लागि अनुमति लिएको थियो । वेब सर्फर नेपालले एक करोड ७४ लाख दुई हजार र कन्स्टलेसन प्रालिले ३९ लाख नौ हजार रुपियाँको उपकरण आयात गरेको प्राधिकरणको तथ्यांक छ । हालसम्म ४० वटा इन्टरनेट सेवाप्रदायकले लाइसेन्स पाएको भए पनि अन्य कम्पनीले प्राधिकरणबाट उपकरण आयातका लागि सिफारिस लिएका थिएनन् ।
दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढेका कारण सेवा विस्तारमा जोड दिनुपर्ने भएकाले यस्ता उपकरणको आयात बर्सेनि बढिरहेको छ । प्राधिकरणले कम्पनीबीच पूर्वाधार साझेदारीको प्रयास गरेको लामो समय भइसके पनि यो प्रयास सफल हुन सकेको छैन । दूरसञ्चार सेवामा बिटिएस टावर, अप्टिकल फाइबरजस्ता केही उपकरणको साझा प्रयोग गर्न मिल्छ । पूर्वाधार साझेदारीका लागि नीतिगत आधार तयार भइनसकेको सेवाप्रदायकको भनाइ छ ।

साढे दुई अर्बको विदेशी मुद्रा कारोबार
काठमाडौं : गत आवमा दूरसञ्चार कम्पनीहरूले ब्यान्डविथ र अन्य सेवाका लागि दुई अर्ब ५८ करोड २७ लाख ५९ हजार रुपियाँ बराबरका विदेशी मुद्रा सटही गरेका छन् । नेपाल टेलिकमले १२ करोड ९९ लाख रुपियाँको सटही सुविधा लिएको छ । त्यस्तै युटिएलले तीन करोड २२ लाख, एसटिएमले दुई करोड ६७ लाख, नेपाल स्याटलाइटले तीन करोड २८ लाख र स्मार्ट टेलिकमले चार करोड दुई लाख रुपियाँ बराबरका विदेशी मुद्रा सटहीका लागि सिफारिस लिएका थिए । इन्टरनेट सेवाप्रदायकतर्फ कम्युनिकेसन एन्ड कम्युनिकेट प्रालिले तीन करोड ७७ लाख, बल्र्ड लिंक कम्युनिकेसनले तीन करोड ९८ लाख, मर्कन्टाइल कम्युनिकेसनले ६ करोड ५८ लाख, आई फोर टेक्नोलोजीले चार लाख र कन्स्टलेसन प्रालिले ३५ लाख रुपियाँ बराबर विदेशी मुद्राको सटही सुविधा लिएको प्राधिकरणको तथ्यांक छ । गत वर्ष ११ वटा कम्पनीले विदेशी मुद्रा सटहीका लागि सिफारिस लिएका थिए ।

टेलिकमले तिर्‍यो ३५ करोड

काठमाडौं, १३ कात्तिक । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ३५ करोड ३६ लाख रुपियाँ फ्रिक्वेन्सी शुल्क तिरेको छ । लामो समयदेखि फ्रिक्वेन्सी शुल्क नतिरेको टेलिकमले गत आर्थिक वर्ष ०६८/६९ मा यो रकम तिरेको हो ।
सरकारी कम्पनी भएकाले टेलिकमले आव ०५६/५७ देखि नै फ्रिक्वेन्सी शुल्क तिरेको थिएन । टेलिकमले ०५६ सालमा मोबाइलको लाइसेन्स पाएको हो । फ्रिक्वेन्सी शुल्कबारे विभिन्न निकायले आवाज उठाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई शुल्क तिर्न निर्देशन दिएको थियो । टेलिकमले पाँच वर्षदेखि प्रयोग गर्दै आइरहेको १० मेगाहर्ज थ्रिजी फ्रिक्वेन्सी शुल्क भने निर्धारण भएको छैन । थ्रिजी शुल्क तोकिने हो भने फ्रिक्वेन्सीबाट मात्र वार्षिक ५० करोड रुपियाँभन्दा बढी उठ्ने प्राधिकरणको अनुमान छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिमा थ्रिजीको टेन्डर गर्नुपर्ने उल्लेख छ । टेन्डरपछि नयाँ कम्पनीले तिर्न प्रतिबद्धता जनाएको शुल्क हाल थ्रिजी प्रयोग गरिरहेका टेलिकम र एनसेलले पनि तिर्नुपर्ने छ ।
गत आवमा एनसेलले ११ करोड ६५ लाख रुपियाँ तिरेको प्राधिकरणको तथ्यांक छ । एनसेलले जिएसएम र थ्रिजी १० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ । गत आवमा भारतीय लगानीको युटिएलले ८४ लाख रुपियाँ फ्रिक्वेन्सी शुल्क बुझाएको छ । युटिएलभन्दा बढी फ्रिक्वेन्सी लिएको हेलो नेपालले भने ४८ लाख रुपियाँ मात्र तिरेको देखिएको छ । हेलो नेपालले १३.४ मेगाहर्ज जिएसएम फ्रिक्वेन्सी पाएको छ । यो कम्पनीलाई सञ्चालनमा नआउँदै फ्रिक्वेन्सी दिइएको विषयमा आलोचना हँुदै आएको छ । एकीकृत नेकपा माओवादी नेता कृष्णबहादुर महरा सञ्चार मन्त्री हुँदा हेलो नेपालले लाइसेन्स पाएको थियो । प्रशस्त फ्रिक्वेन्सी भएकै कारण युरोपको टेलियासोनेराले हेलो नेपालको ७५ प्रतिशत सेयर किनेको छ ।
ग्रामीण दूरसञ्चार सेवा प्रदायकका रूपमा लाइसेन्स पाएका स्मार्ट टेलिकम र एसटिएम टेलिकमले क्रमश: १३ लाख १० हजार र ६६ हजार रुपियाँ फ्रिक्वेन्सी शुल्क तिरेको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले सबै सेवाप्रदायकहरूबाट गत आवमा ५० करोड १८ लाख रुपियाँ फ्रिक्वेन्सी शुल्कबापत संकलन गरेको छ । अघिल्लो आवको तुलनामा यो रकम करिब दोब्बर हो । आव ६७/६८ मा फ्रिक्वेन्सी शुल्कबाट २२ करोड २२ लाख रुपियाँ उठेको थियो ।
बहुमूल्य स्रोत मोबाइल फ्रिक्वेन्सी कौडीको भाउमा कम्पनीहरूलाई प्रयोग गर्न दिएको भन्दै तत्कालीन सार्वजनिक लेखा समितिले अध्ययनका लागि एक उपसमिति गठन गरेको थियो । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित उपसमितिले फ्रिक्वेन्सीबाट उठ्नुपर्ने राजश्व चुहावट भएको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो । लेखा समितिबाहेक महालेखा परीक्षकको कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयले पनि फ्रिक्वेन्सीबाट उठ्ने राजश्व वृद्धि गर्न पहल गरेका थिए । सबैको सक्रियताले फ्रिक्वेन्सी शुल्क दोब्बर उठ्न सकेको ठहर प्राधिकरणको छ ।