Thursday, September 29, 2011

तीन लाख पर्यटकको लक्ष्य


नयाँ पत्रिका
नगरकोट, ११ असोज
स्थापित पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोटले पर्यटन वर्ष २०११ मा ३ लाख आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने लक्ष्य लिएको छ । यसका लागि यहाँका होटल व्यवसायीले पूर्वाधार तथा क्षमता विस्तारमा लगानी थप गरेका छन् । दैनिक करिब १ हजार आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरिरहेको नगरकोटको आतिथ्य सत्कार व्यवसाय पर्यटन वर्षसँगै विस्तार हुन थालेको छ । 
वर्षैभरि आन्तरिक र बाह्य पर्यटकले खाली नहुने नगरकोटमा होटलको अकुपेन्सी पर्यटकीय सिजन सुरु भएसँगै ह्वात्तै बढेको छ । व्यवसायीका अनुसार नगरकोटका एक दर्जन होटलको अकुपेन्सी अहिले ८० प्रतिशत छ । यहाँ सिजनमा कोठा पाउनै गाह्रो छ । नगरकोटमा ३५ पर्यटक स्तरका होटल छन्, सात स्तरीय होटल छन् । यहाँका होटलले एक रातको न्यूनतम १५ सयदेखि ५ हजार रुपैयाँसम्म लिन्छन् । क्लब हिमालय, होटल कन्ट्री भिल्ला, निभालगायत ८ होटलले काठमाडौंमा नै कोठा बुक गराउँछन् । 
नगरकोटमा विदेशी पर्यटकको मुख्य सिजन अक्टोबर र नोभेम्बर महिना हो । अन्य समयमा यहाँको होटल व्यवसाय आन्तरिक पर्यटकले धानेको छ । 'पर्यटन वर्षको सुरुवातसँगै होटल व्यवसायीको अपेक्षा निकै बढेको छ,' नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष तथा होटल व्यवसायी श्याम कायस्थले भने । पर्यटक बढ्ने अपेक्षाका साथ होटल व्यवसायीले कोठा थपेको उनले बताए । 'होटलले पूर्वाधार विस्तार, कोठा थप तथा पर्यटकका लागि नयाँ गतिविधि थप्न लगानी गरेका छन्,' उनले भने । नगरकोटको सबैभन्दा स्तरीय होटल क्लब हिमालयले यस वर्ष ३० कोठा थपिएको जनाएको छ । त्यस्तै, होट निभा, होटल स्पेस माउन्ेटनलगायत होटलले पनि क्षमता विस्तार गरेका छन् ।  
होटलले आम्दानी बढ्ने अपेक्षाका साथ क्षमता विस्तार गरे पनि त्यसअनुसारको प्रतिफल भने प्राप्त नभइरहेको व्यवसायी स्वयं बताउँछन् । 'यहाँका व्यवसायीको अपेक्षा निकै बढेको छ तर त्यसअनुसारको प्रतिफल प्राप्त हुन सकिरहेको छैन,' कायस्थले भने । नगरकोटमा खर्च गर्ने पर्यटन घटेको उनको अनुभव छ । कायस्थका अनुसार पछिल्लो समय नगरकोटमा चिनियाँ पर्यटकको संख्या बढेको छ । नगरकोटको होटल व्यवसाय अहिले चिनियाँ पर्यटकले नै धानेको बताइएको छ । 
चिनियाँ पर्यटक कम खर्च गर्ने पर्यटक हुन् । 'अधिकांश चिनियाँ पर्यटक प्याकेजमा आउँछन् । यहाँ धेरै खर्च गर्दैनन्,' कायस्थले भने । चीनसँग नेपालको प्रत्यक्ष हवाई सम्पर्क भएकोले यो वर्षको सुरुवातदेखि नै नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढिरहेको छ । चीनका दुई वायुसेवा कम्पनी चाइना इस्टर्न र चाइना साउदर्नले चीनका विभिन्न गन्तव्यबाट काठमाडौं उडान गर्छन् । 
नगरकोटमा वाषिर्क कति पर्यटक पुग्छन् भन्ने आधिकारिक तथ्यांक कुनै निकायसँग नभएपनि करिब डेढ लाख पर्यटक नगरकोट पुग्ने गरेको अनुमान व्यवसायीको छ । 
यस वर्ष यो संख्यालाई दोब्बर बनाउने उनीहरूको लक्ष्य छ । भक्तपुर जिल्लामा पर्ने नगरकोट प्राकृतिक सुन्दरता, सूर्योदय, सूर्यास्त तथा हिमाली दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । काठमाडौंबाट ३२ किलोमिटर टाढा २ हजार मिटर उचाइमा रहेको नगरकोटमा एक रात बिताउने आन्तरिक पर्यटक बढी जाने गरेको होटल व्यवसायी बताउँछन् । यहाँका होटलको क्षमता दैनिक करिब १ हजार छ । नगरकोटमा हालै सुरु भएको होमस्टेमा पर्यटकले स्थानीय संस्कृति र रहन-सहन हेर्न सक्छन् । होमस्टेका लागि एक रातको १ हजार रुपैयाँ शुल्क तोकिएको छ । नगरकोटमा तामाङ तथा नेवार जातिको बाहुल्य छ । 

क्लब हिमालयमा चंगा चेट
नगरकोट/ नगरकोटस्थित होटल क्लब हिमालयको आयोजनामा बुधबार चंगा उडाउने प्रतियोगिता 'चंगा चेट २०६८' सुरु भएको छ । प्रतियोगितामा २६ विभिन्न कर्पोरेट हाउस सहभागी छन् । समाजसेवी, कलाकार तथा पर्यटन व्यवसायीले विभिन्न सन्देश लेखिएका चंगा उडाएर संयुक्त रूपमा प्रतियोगिता उद्घाटन गरेका थिए । 
समाजसेवी तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले युवावर्गले सामाजिक विषयलाई प्राथमिकता दिनुपर्ने सन्देश लेखिएको चंगा उडाइन् । त्यस्तै, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्ने सन्देश युक्त चंगा उडाएकी थिइन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले राष्ट्रलाई उठाउने दुई खुट्टा, युवा र पर्यटन भएको सन्देश लेखिएको चंगा उडाउँदै पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । नगरकोटका होटल व्यवसायी श्याम कायस्थले राजनीतिक क्रान्ति सकिएकोले आर्थिक क्रान्तिको सुरुवात गर्नुपर्नेमा जोड दिँदै गरिखान पाऊँ लेखिएको चंगा उडाए । 
४ समूहमा विभाजन गरेर प्रतियोगिता गराइएको छ । कार्यक्रम संयोजक तथा होटल क्लब हिमालयकी मार्केटिङ म्यानेजर प्रमिता शाक्यले परम्परा बचाइराख्न र कर्पोरेट हाउसहरूसँग राम्रो सम्बन्ध कायम गर्न प्रतियोगिता आयोजना गरेको बताइन् । 'चंगाको लागि दसैं सबैभन्दा उपयुक्त समय हो । यसलाई हामीले व्यावसायिक प्रयोजनमा उपयोग गर्‍यौं,' उनले भनिन् । एस होटल एन्ड रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्र शाक्यले २०६० सालमा चंगा प्रतियोगिताको सुरुवात गरेका थिए । राजनीतिक र औद्योगिक वातावरण राम्रो नभएको भन्दै ४ वर्षदेखि प्रतियोगता आयोजना भएको थिएन । परिस्थिति सहज भएपछि परम्परालाई निरन्तरता दिँदै पुनः सुरु गरिएको संयोजक शाक्यले बताइन् । आगामी वर्ष अझ वृहत रूपमा कार्यक्रम आयोजन गर्ने लक्ष्य रहेको उनले सुनाइन् । सामाजिक संघसंस्थाले पनि चासो राखेकाले आगामी वर्षदेखि सबैलाई समेट्ने उनले जानकारी दिइन् ।
प्रतियोगितामा विजयी टिमले ५ रात ६ दिनको मलेसिया भ्रमण प्याकेज पुरस्कार पाउनेछ । हवाई टिकटसहितको सो पुरस्कार मार्कोपोलो ट्राभल्सले प्रायोजन गरेको छ । त्यस्तै, सान्त्वना पुरस्कारहरू पोखरा, बन्दिपुर, चितवनलगायत प्याकेज राखिएको बताइएको छ । प्रतियोगितामा भाग लिन १२ हजार रुपैयाँ शुल्क तोकिएको थियो । नेपालीपनको झल्को दिन प्रतियोगितामा नेपाली चंगा मात्र प्रयोग गरिएको आयोजकले जानकारी दिएको छ । 'पर्यटकलाई नेपाली संस्कृतिबारे जानकारी गराउने हाम्रो एउटा उद्देश्य हो । विदेशीले नेपाली संस्कृतिमा निकै चासो राख्छन्,' संयोजक शाक्यले भनिन् । नगरकोट पुगेका विदेशी पर्यटकले पनि कार्यक्रम चाख मानेर अवलोकन गरेका थिए । 'संस्कृतिलाई जोड्दै पर्यटन' भन्ने नाराका साथ नेपालले साताव्यापी रूपमा विश्व पर्यटन दिवस मनाइरहेको छ । 'चंगा चेट' पर्यटन दिवसकै एउटा महत्त्वपूर्ण कार्यक्रम हो,' नेपाल पर्यटन बोर्डका अधिकृत सुमन घिमिरेले भने । विदेशी पर्यटकलाई नेपाली संस्कृतिसँग साक्षात्कार गराउन यस्ता कार्यक्रम उपयोगी हुने उनले बताए । 
प्रतियोगिताका लागि करिब २० लाख रुपयाँ खर्च हुने आयोजकको दाबी छ । प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगिताका साथै खानाका स्टल, सांस्कृतिक कार्यक्रम, कन्सर्टलगायत गतिविधि कार्यक्रममा समावेश छन् । दुई दिनको अवधिमा ५ हजार दर्शकले कार्यक्रम अवलोकन गर्ने आयोजकको अपेक्षा छ । सर्वसाधारणका लागि प्रवेश शुल्क २ सय ५० रुपैयाँ तेाकिएको छ ।

Tuesday, September 27, 2011

संस्कृति जोड्दै पर्यटन

 












लक्ष्मीप्रसाद खतिवडा

यस वर्षको विश्व पर्यटन दिवस पर्यटनमार्फत विभिन्न संस्कृतिलाई जोड्नका लागि मनाइँदै छ । गत वर्ष दिगो पर्यटनलाई वातावरण संरक्षण र जलवायु परिवर्तनसँग जोडिएको थियो । विश्वभरिको पर्यटन क्षेत्रको छाता संगठन विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले गत महिना यसपालिका लागि 'टुरिजम लिङकिङ कल्चर' नारा सार्वजनिक गरेको थियो । संगठनको आगामी महिना हुने महासभाले अर्को दुइ वर्षका लागी पर्यटन दिवसको नारा तय गर्नेछ । 
पर्यटनले विश्व एकतामा महत्वपूण भूमिका निर्वाह गर्ने भएकाले यस वर्ष टुरिजम लिङकिङ कल्चर नारालाई अगाडि बढाइएको संगठनले बताएको छ । संगठनको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पर्यटनले आर्थिक तथा सामाजिक अवसर प्रदान गर्ने र धनी-गरिबबीचको अन्तर कम गर्न पनि उत्तिकै सघाउने भएकाले यो क्षेत्र एकताको प्रतीक भएको बताएका छन् । पर्यटनले विश्वभरिका समुदायलाई जोडेर शान्ति कायम गराउने बानले बताएका छन् ।
पर्यटन दिवसको अवसरमा सन्देश दिँदै युएनडब्लुटिओका महासचिव तालेव रिफाइले प्रत्येक व्यक्ति र हरेक राष्ट्रको आफ्नो अद्वितीय संस्कृति हुने भएकाले पर्यटन प्रवर्द्धनबाटै अन्तर्राष्ट्रिय समझदारी, भाइचारा, शान्ति र आर्थिक विकास सम्भव हुने बताएका छन् । विश्व पर्यटन संगठनले आह्वान गरेदेखि नै नेपालले पनि हरेक वर्ष सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ  एजेन्सिज एसोसिएसन, ट्राभल एजेन्ट्स एसोसिएसनलगायत संघसंस्थाले विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइरहेका छन् । 
सन् २०१० मा विश्वभरिका अन्तर्राष्ट्रिय पर्यटकको संख्या ९४ करोड पुगेको युएनडब्लुटिओको तथ्यांक छ । यसरी पर्यटनको माध्यमबाट प्रत्येक दिन विविध धर्म, संस्कृति, सभ्यता र रहनसहन भएका लाखौँ व्यक्ति एक-अर्कासँग साक्षात्कार गरिरहेका छन् । यो संख्या सन् २००९ भन्दा ७ प्रतिशत बढी हो । यी पाहुनाको माध्यमबाट पर्यटन क्षेत्रले वर्षभरिमा ९ खर्ब १९ अर्ब अमेरिकी डलर आम्दानी गरेको संगठनको अनुमान छ । संगठनले सन् २०११ मा विश्वभर पर्यटक आगमनको संख्या ५ प्रतिशतसम्म बढ्ने अनुमान गरेको छ । आर्थिक सर्वेक्षणअनुसार नेपालले पनि पर्यटन क्षेत्रबाट आर्थिक वर्ष ०६७/६८ मा २७ अर्ब रूपैयाँ आर्जन गरेको छ । 
अगस्ट २०११ सम्म नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या २४ दशमलव ३ प्रतिशतले बढेको छ । मुलुकले यो वर्ष हवाईमार्गबाट ७ लाख र स्थलमार्गबाट ३ लाख गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस अर्थमा पनि नेपालका लागि यस वर्षको विश्व पर्यटन दिवस विशेष महत्त्वपूर्ण छ । हालसम्मको पर्यटक आगमन वृद्धिदर हेर्दा १० लाखको लक्ष्य भेट्न मुस्किल देखिन्छ । पर्यटन व्यवसाय विश्वमै ६ दशमलव ७ प्रतिशतले वृद्धि भइरहेको र कुल पर्यटक संख्याको ४३ प्रतिशतले एसिया महादेशको भ्रमण गर्ने गरेको अवस्थामा पनि नेपालमा १० लाख पर्यटक फलामको च्युरासरह भएको छ । तर, सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने 'भिजन २०२०' को लक्ष्यलाई केन्दि्रत गरी योजना बनाए नेपालको आर्थिकस्तर निकै माथि पुग्नसक्ने सम्भावना छ । 
विश्वमा पर्यटनको विकास र विस्तार गर्न सन् १९७० मा विश्व पर्यटन संगठनको औपचारिक रूपमा स्थापना भएको थियो । संगठनको सन् १९७९ मा स्पेनमा भएको तेस्रो साधारणसभाको बैठकले सन् १९८० देखि सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसैवेलादेखि विश्वमा छरिएर रहेका विविध किसिमका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक महत्त्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरी पर्यटन विकासका लागि जागरुक बनाउने अभिप्रायले यसलाई एउटा उत्सवका रूपमा मनाउन थालियो । पहिलो विश्व पर्यटन दिवसको नारा सांस्कृतिक सम्पदाको संरक्षण, शान्ति र आपसी समझदारीका लागि पर्यटनको योगदान रहेको थियो । 
नेपालले पनि लामो समयदेखि विश्व पर्यटन दिवस मनाउँदै आए पनि केही व्यक्ति र संस्थाका लागि यो एउटा उत्सवका रूपमा सीमित भएको छ । पर्यटन आममानिसको चासोको विषय बन्न सकेको छैन । पर्यटनलाई संस्कृतिसँग जोड्ने पर्यटन दिवसको नाराको उद्देश्य गहिरो भए पनि त्यसबमोजिमको प्रभाव पार्ने किसिमको कार्यक्रम हामीकहाँ हुन सकेको छैन । पर्यटनसँग सम्बन्धित निजी व्यवसायी तथा गैरसरकारी संस्थाले पनि जनचेतनामूलक कार्यक्रम गर्नेेभन्दा पनि उत्सवका रूपमा मनाउने गरेकाले पर्यटन प्रवर्द्धनमा यसले खासै कुनै प्रभाव पार्ने गरेको छैन । 
विविध संस्कृतिलाई विश्व पर्यटनको आकर्षणको स्रोत बनाउने लक्ष्यसहित तय भएको नाराले आशा गरेअनुसार सांस्कृतिक विविधताको खानी रहेको नेपाली सांस्कृतिक पर्यटनलाई थप उचाइमा पुर्‍याउन मद्दत पुग्ने कार्यक्रम गरिनुपर्छ । सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालका पर्यटनका लागि यस्तो नारा तय हुनु राम्रो हो । हामीसँग भएको अथाह सम्पदाको सदुपयोग नभएकै कारण अहिले नेपाली पर्यटन बजारले आशा गरेअनुरूप गति लिन सकेको छैन । 
नेपालमा हुने सबैजसो पर्यटकीय गतिविधि संस्कृतिसँग जोडिएका छन् । संस्कृतिसँग बढी सम्बन्ध ट्रेकिङको छ । टे्रकिङको एउटा उद्देश्य संस्कृतिको अवलोकन पनि हो । तर, अहिलेसम्म पनि टे्रकिङ पहाड र हिमाली भेगमा सीमित छ । यसको अर्थ तराईमा संस्कृति छैन भन्ने होइन । संस्कृतिलाई पर्यटनसँग जोडेर तराईमा पनि पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । संस्कृतिलाई पर्यटकीय प्रयोजनमा उपयोग गरेर आयआर्जन गर्न सकिन्छ । अहिले पनि विदेशीले पैसा तिरेर नेपाली संस्कतिको अवलोकन गरिरहेका छन् । संस्कृति बचाउन पर्यटन चाहिएको छ न कि पर्यटनका लागि संस्कृति । संस्कृतिको व्यवसायीकरण गर्ने वेला भइसकेको छ । 
सांस्कृतिक मूल्य-मान्यतालाई पर्यटकीय प्रयोजनमा लगाउन हामी तयार छौँ कि छैनौँ भन्ने कुरा अर्कै बहसको विषय हुन सक्छ । कुनै विशेष दिनमा मात्र मनाइने जात्रा वा पर्व अन्य समयमा पर्यटकले हेर्न चाहेमा देखाउने कि नदेखाउने यो महत्त्वपूर्ण पक्ष हो । केही वर्षअघि एउटा पाँचतारे होटलमा कुमारीको प्रतिविम्ब बनाएर रिसेप्सनमा राख्दा उपत्यकाका शाक्य समुदायले कडा विरोध गरेका थिए । हामीकहाँ यस्ता थुप्रै सांस्कृतिक गतिविधि छन् जुन निश्चित दिन वा अवसरमा मात्र गरिन्छ । संस्कृतिको महत्त्व घट्नेगरी यसको व्यावसायीकरण गर्नु आफैँमा घातक हो, तर पर्यटकीय प्रयोजनबाट आयआर्जन गर्न सकिन्छ र यसबाट संस्कृति जगेर्नाका लागि सहयोग पुग्छ भने यसलाई अन्यथा लिन मिल्दैन । 
पर्यटक भएर कुनै ठाउँमा पुग्नु त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन प्राप्त गर्नु हो । पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न चितवनमा हजारौं खर्च गर्ने पर्यटकले गोरखाका मगरको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ ।
नेपाली पर्यटनको इतिहास ५० वर्षभन्दा लामो भइसके पनि छिमेकी मुलुकको तुलनामा यो उद्योगको अपेक्षित विकास हुन सकिरहेको छैन । छिमेकी मुलुक चीनमा वाषिर्क १० करोड पर्यटक घुम्न जान्छन् । करिब ५ करोड चिनियाँ पर्यटक भ्रमणका लागि विदेश जाने गरेको तथ्यांक छ । त्यस्तै वाषिर्क ६ करोड भारतीय विदेश भ्रमणमा निस्कन्छन् । त्यही संख्यामा अन्य विदेशी पर्यटक भारत भ्रमणमा आउँछन् । पर्यटनमा उल्लेख्य विकास गरिसकेका यी दुई ठूला छिमेकी मुलुकको बीचमा रहेर पनि त्यसबाट हामीले फाइदा लिन सकिरहेका छैनौं  । संसारमै सबैभन्दा बढी बुद्धमार्गी भएको मुलुक चीन र हिन्दू बढी भएको मुलुक भारतको प्रमुख धार्मिक गन्तव्य नेपाल हुन सकेको छैन । जब कि यी दुवै धर्मका प्रख्यात आस्थाको केन्द्र लुम्बिनी र पशुपतिनाथ नेपालमा छन् । 
विश्व पर्यटन दिवसका हालसम्मका नारा
१९८० सांस्कृतिक सम्पदाको संरक्षण, शान्ति र आपसी समझदारीका लागि पर्यटनको योगदान
१९८१ पर्यटन र जीवनको गुणस्तर
१९८२  पर्यटनको गर्व  ः राम्रा पाहुनाहरू र राम्रो आतिथ्य
१९८३  जिम्मेवार भएर घुमफिर गरौँ
१९८४  अन्तर्राष्ट्रिय समझदारी, शान्ति र सहयोगका लागि
१९८५  युवा, पर्यटन, सांस्कृतिक र ऐतिहासिक सम्पदा ः शान्ति र मित्रताका लागि
१९८६  पर्यटन विश्वशान्तिका लागि ठूलो शक्ति
१९८७   विकासका लागि पर्यटन
१९८८   पर्यटन सबैका लागि शिक्षा
१९८९  पर्यटकको स्वतन्त्र हिँडडुलले एउटै विश्व बनाउँछ
१९९०   पर्यटन  ः एउटा मान्यता नपाएको  उद्योग
१९९१   सञ्चार, सूचना र शिक्षा पर्यटन विकासका लागि शान्ति केन्द्र
१९९२  पर्यटन बढ्दो सामाजिक र आर्थिक समन्वयको माध्यम
१९९३  पर्यटन विकास र वातावरणीय संरक्षण
१९९४  योग्य कर्मचारी, योग्य पर्यटन
१९९५  युएनडब्लुटिओ बीस वर्षदेखि विश्व पर्यटनमा सेवारत
१९९६  पर्यटन शान्ति र सहिष्णुताको माध्यम
१९९७  पर्यटन रोजगार निर्माण र वातावरण संरक्षणका लागि एक्काइसौँ शताब्दीको अग्रणी कार्य
१९९८  व्यक्तिगत र सार्वजनिक साझेदारी पर्यटन विकासको साँचो      
१९९९  पर्यटन नयाँ सहस्राब्दीका लागि विश्वसम्पदा संरक्षण
२०००  प्रविधि र प्रकृति पर्यटनका दुई चनौती
२००१  पर्यटन सभ्यतामाझ शान्ति र बहस
२००२  इको टुरिजम दिगो विकासको साँचो     
२००३  पर्यटन सामाजिक मातृत्व, रोजगार निर्माण र गरिबी निवारणका लागि बलियो माध्यम   
२००४  खेल र पर्यटन 
२००५  यात्रा र यातायात 
२००६  पर्यटनलाई बल  
२००७  महिलाका लागि पर्यटन 
२००८  मौसम परिवर्तन तथा सन्तुलनका लागि पर्यटन 
२००९  पर्यटन विविधताको बीचमा 
२०१०  जैविक विविधता र पर्यटन 
२०११ संस्कृति जोड्दै पर्यटन
khatiwadalp@gmail.com

अन्तर्राष्ट्रिय एयरलाइन्समा एउटै मात्र प्रस्ताव


नयाँ पत्रिका
काठमाडौं, ९ असोज
सरकारले अन्तर्राष्ट्रिय हवाई सेवामा निजी क्षेत्रले लगानी गर्ने अपेक्षाका साथ अन्तर्राष्ट्रिय एयरलाइन्सको प्रस्ताव आह्वान गरे पनि यसमा चासो देखिएको छैन । एउटा मात्र निजी कम्पनीले अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ । मन्त्रालयले गत साउन २६ मा ४५ दिनको म्याद दिएर अन्तर्राष्ट्रिय हवाईर् सेवाका लागि सार्वजनिक आह्वान गरेको हो । 
४५ दिनको अवधिमा एउटा मात्र कम्पनीले अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ । म्याद सकिने अन्तिम दिन बिबी एयरवेज प्रालिले आवेदन दिएको हवाईर् महाशाखाका अधिकृत प्रमोद नेपालले जानकारी दिए । यसका प्रमुख लगानीकर्ता शिशिर भट्ट, भवन भट्टलगायत गैरआवासीय नेपाली हुन् । हवाईर् नीति ०६३ अनुसार अन्तर्राष्ट्रिय हवाईर् सेवामा ८० प्रतिशतसम्म विदेशी लगानी स्वीकार्य छ ।
यसअघि अनुमति लिएका कुनै पनि कम्पनीले सफलतापूर्वक सेवा सुचारु गर्न सकेका छैनन् । गत वर्षदेखि बुद्ध एयरले भारतको लखनउमा उडान गरिरहे पनि व्यावसायिक फाइदा नदेखेपछि उसले भुटानको पारो उडान भने बन्द गरिसकेको छ । 
बिबी एयरवेजले 'क' वर्गको एयरलाइन्सका लागि आवेदन दिएको हो । लाइसेन्स पाए उसले साढे दुई घन्टाभन्दा बढीको हवाईर् दूरीमा उडान गर्न पाउँछ । कम्पनीले बोइङ ७६७ जहाजबाट सेवा सञ्चालन गर्ने योजना मन्त्रालयमा पेस गरेको छ । यो बोइङको ३ सय सिरिजको जहाज हो । अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीसँग कम्तीमा दुई जेट विमान हुनुपर्ने प्रावधान छ । आवेदन दिएको कम्पनीले दोहा, हङकङ, मलेसिया, जापानलगायत सेक्टरमा उडान गर्ने व्यावसायिक योजना पेस गरेको छ । उडान सुरु गर्नुअघि प्रतिसेक्टर ५ लाख रुपैयाँ रुट रोयल्टी बुझाउनुपर्छ । 
निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाईर् कम्पनी स्थापना भई उडान प्रतिस्पर्धा हुने विश्वास मन्त्रालयको थियो । हाल सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले आधा दर्जन सेक्टरमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । 
अन्तर्राष्ट्रिय उडानका लागि निश्चित सर्तर् तोकिएको छ । मन्त्रिपरिषद्ले ०६६ मंसिरमा पारित गरेको सर्तअनुसार ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका निजी क्षेत्रका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान अनुमति माग्न पाउँछन् । त्यस्तै ५० करोड रुपैयाँ चुक्ता पुँजीसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता भएर आउनेले पनि अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव हाल्न सक्ने व्यवस्था छ । 
मुलुककै निजी क्षेत्रका ५ वटा आन्तरिक वायुसेवा कम्पनीले लामो समयदेखि संयुक्त रूपमा अन्तर्राष्ट्रिय विमानसेवा सञ्चालनको प्रयास गरिरहेको बताइए पनि उनीहरूको आवेदन मन्त्रालयमा परेको छैन । बुद्ध एयर यो समूहबाट बाहिरिएपछि सो योजना तुहिएको बताइएको छ । 
अन्तर्राष्ट्रिय उडान अनुमति पाउने कम्पनीले ५० लाख रुपैयाँ सुरक्षा धरौटी राख्नुपर्छ जुन उडान सुरु गरेपछि फिर्ता हुन्छ । अनुमति माग्ने सबै कम्पनीको मूल्यांकन सरकारी अधिकारी सम्मिलित समितिले गर्ने व्यवस्था छ । सरकारी मूल्यांकन समितिमा पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण्ाका पाँच अधिकारी सदस्य रहने गरेका छन् । अन्तर्राष्ट्रिय उडान गर्न चाहने कम्पनीले विश्वका कुन-कुन सेक्टरमा उडान गर्ने हो त्यसको विस्तृत व्यापारिक योजनालगायत सम्पूर्ण कागजपत्र मन्त्रालयमा पेस गर्नुपर्छ । समितिले कागजपत्र अध्ययन गरेर मूल्यांकन गर्छ ।
तीन वर्षअघि गरिएको आह्वानमा बुद्ध युनिटी र डाइनामिक र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएका थिए । त्यसअघि निजी क्षेत्रका कस्मिक एयर, नेपाल यती एयर इन्टरनेसनललगायत कम्पनीले केही वर्ष अन्तर्राष्ट्रिय उडान गरेर सेवा बन्द गरेका थिए ।