Thursday, March 1, 2012

पर्यटनमा ग्रहण


नेपाल प्राकृतिक रुपले विश्वमै सुन्दर मुलुकको सूचीमा पर्छ । यसलाई पर्यटकीय दृष्टिले सहज, सुगम र भयरहित देश भनेर चिनिन्थ्यो । माओवादीले सशस्त्र द्धन्द्धको थालनी गरेपछि पश्चिमाहरुले यस मुलुकलाई पर्यटकीय हिसाबले अति जोखिमपूर्ण देशको सूचीमा दर्ज गरे । शान्ति सम्झौतापछि त्यस अवस्थामा केही सुधार भएको थियो । तर, अहिले आएर फेरि पुरानो मित्रराष्ट्र बेलायतलगायत विभिन्न मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सचेत हुन आग्रह गरेका छन् । यो नेपाल राष्ट्रका लागि दुःखद् विषय हो ।
भर्खरै समाप्त भएको पर्यटन वर्ष २०११ र घोषणा गरिएको लुम्बिनी भ्रमण वर्षको सङघारमा आएर फेरि विदेशीले नेपालमा असुरक्षा महसुस गर्न थालेका छन् । यसले नेपाल भित्रिने सम्पूर्ण पर्यटकलाई भयभीत बनाएको छ । अर्थ सङकलनको मेरुदण्डका रुपमा रहेको पर्यटन व्यवसायमा आँच आउनु  नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नु हो । विदेशीहरु आफ्ना नागरिकप्रति बढी संवेदनशील हुन्छन् । उनीहरुलाई सानो घटनाले पनि भयभीत बनाउछ । जबसम्म नेपाल सरकारले विदेशी पर्यटक सुरक्षित छन् भनेर प्रमाणित गर्न सक्दैन तबसम्म उनीहरु आश्वस्त हुदैनन् । यसले पर्यटक आगमनमा बाधा प¥याउँछ । हाम्रो आर्थिक विकासमा नकारात्मक प्रभाव पार्छ ।
बेलायतले नेपालको राजनीतिक अवस्था अत्यन्त अस्थिर रहेको, बारम्बार बन्द, हड्ताल, विरोध, ¥याली र प्रदर्शन हुने गरेकाले आफ्ना नागरिकलाई सचेत गराउनुपरेको उल्लेख गरेको छ । बेलायतको यो आग्रहले विदेशी पर्यटकमा मनोवैज्ञानिक दबाब सिर्जना गर्छ । र ती पर्यटक नेपालप्रति नकारात्मक धारणा बनाउन बाध्य हुन्छन्, जसले गर्दा नेपाल आएर प्रशस्त खर्च गर्नसक्ने पर्यटकहरु घुम्नका लागि अन्य मुलुक रोज्न बाध्य हुन्छन् । यसले नेपाल भित्रिने पैसा अन्यत्र जाने मात्र होइन, विश्वमा हिमाली सुन्दर मुलुक नेपालको छवि पनि धुमिल हुन्छ ।
२०५३ सालपछि शान्त भूमि नेपालमा अनेक वितण्डा मच्चाइए । लुटपाट, अपहरण, चन्दा असुली, फिरौती, साना हतियारको बिगबिगी, विदेशी पर्यटकमाथि घातक हमला, सुरक्षित ठानिएका स्थानमा दिनदहाडै बम विस्फोटजस्ता अनेक घटनाले पर्यटकलाई त्रस्त बनाउने काम भयो । नेपाल सरकारले कुनै पनि क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन । सुशासन कायम गर्न नसक्दाको परिणाम अपराधी, अराजक समूहहरु बढ्दै गए । काठमाडौका अति संवेदनशील स्थानसमेत सुरक्षित रहेनन् । जसको अध्ययन गरिरहेका विदेशी स्वाभाविक रुपले भयभीत बने । यसले गर्दा हाम्रो पर्यटकीय क्षेत्रमा अविश्वास फैलियो र हाम्रो अर्थतन्त्रको एउटा पाटो भत्किने अवस्थामा पुग्यो ।
यस्ता गम्भीर प्रकृतिका विषयमा सरकार सचेत भएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुप¥यो । सबैलाई सुरक्षाको प्रत्याभूति दिनुप¥यो । नेपाल घुम्न आउने सम्पूर्ण पर्यटकलाई आफू सुरक्षित छु भन्ने महसुस हुने वातावरण सरकारले निर्माण गर्नुप¥यो । त्यसो गरिएन भने हाम्रो पर्यटन क्षेत्र तहसनहस हुनेछ । यस्तो हुन नदिन सरोकारवाला सबै सचेत बन्नैपर्छ ।
सौर्य दैनिक, सम्पादकीय, १८ फागुन

Wednesday, February 29, 2012

असुरक्षाको असर पर्यटनमा


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १६ फागुन


काठमाडौं, १६ फागुन । कमजोर शान्ति सुरक्षाको असर पर्यटन क्षेत्रमा पनि देखिएको छ । काठमाडौको मुटु सिंहदरवार नजिकै बम विष्फोट भएकै दिन वेलायतले आफ्ना नागरिकलाइ नेपाल भ्रमणमा सचेत रहन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । मंगलवार वेलायतले डब्लुडब्लुडब्लु डट एफसिओ डट जिओभी डट युकेमा सूचना जारी गरेको हो । ‘सुरक्षालाइ मध्यनजर गरेर संशोधन सहित यो सूचना जारी गरिएको छ ।’ फरेन एण्ड कमनवेल्थ अफिसले जारी गरेको सूचनामा उल्लेख छ । विशेष गरि काठमाडौंमा यात्रा गर्दा आफ्ना नागरिकलाइ बढि चनाखो हुन वेलायतले आग्रह गरेको छ । 
नेपाल भ्रमण गर्ने नागरिकलाइ वेलायती दुतावास स्थित कन्सुलर सेक्सनमा दर्ता हुन र आफ्नो टाभल आइटिनरीका बारेमा आफ्ना परिवारलाइ जानकारी गराउन वेलायतले अनुरोध गरेको छ । 
नेपालको राजनितिक अवस्था अस्थिर भएको र बारम्बार बन्द हड्ताल, विरोध ¥याली तथा प्रदर्शन हुने गरेको भन्दै वेलायतले नेपाल भ्रमणमा बढि चनाखो हुन आफ्ना नागरिकलाइ सचेत गराएको छ । ‘सरकारी कार्यालय नजिकका स्थानमा जाँदा विशेष सावधानी अपनाउन आग्रह गरिन्छ ।’ सरकारी वेबसाइटमा उल्लेख छ । राजनितिक प्रदर्शनबाट टाढा रहन र आफ्नो टुर अपरेटरसँग नियमित सम्पर्कमा रहन उसले अनुरोध गरेको छ । यसअघि वेलायतले नेपाललाइ सुरक्षित गन्तव्यको रुपमा राख्दै आएको थियो । अप्रिल २०१० देखि मार्च २०११ सम्ममा २८ जना वेलायती नागरिकले नेपालस्थित कन्सुलर कार्यालयको सहयोग लिनुपरेको उसले जनाएको छ । 
वेलायती पर्यटक खर्च गर्ने पर्यटकको रुपमा चिनिन्छन् । सन् २०११ मा ३४ हजार ५ सय वेलायती पर्यटक नेपाल आएको तथ्यांक छ । २०१२ को पहिलो महिना जनवरीमा १ हजार ७ सय ६ वेलायती पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका छन् । यो संख्या गत बर्षको जनवरीको तुलानमा ५ प्रतिशतले बढि हो ।  
यसअघि २२ नोभेम्बर २०११ मा अष्ट्रेलिया सरकारले पनि ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणको क्रममा उच्च स्तरको सावधानी अपनाउन आफ्ना नागरिकलाइ आग्रह गरेको छ । संविधान निर्माणमा भइरहेको अन्यौल र बन्दको श्रंखला बढेको भन्दै अष्ट्रेलियाले नेपाल भ्रमणमा सचेत रहन आग्रह गरेको थियो । उसले अहिलेसम्म यो एडभाइजरी अपडेट गरेको छैन । 
विदेशी पर्यटक सुरक्षाको मामलामा बढि सम्वेदनशिल हुने भएकोले ट्राभल एडभाइजरीको असर पर्यटक आगमनमा देखिन सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् । एउटा मुलुकले जारी गरेको एडभाइजरीले अर्को मुलुकका पर्यटक समेत प्रभावित हुने अनुभव व्यवसायीहरुको छ । ‘असुरक्षाको स्थिति पर्यटन व्यवसायमा तत्काल पर्ने देखिएको छ । नेपाल आउने तयारी गरिरहेको पर्यटकले यसबारे पुनर्विचार गर्छ ।’ टुरिष्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष हरेरराम बरालले भने । टुर अपरेटरहरुका अनुसार सोमबारको विष्फोटका कारण पर्यटकहरु उपत्यका वरपरको दृष्यावलोकन तथा सास्कृतिक प्रदर्शनीमा सहभागी हुन पाएनन् । इन्धन अभावका कारण सवारी साधन चल्न सक्ने स्थिति समेत नभएको वेला शान्ति सुरक्षाको प्रत्याभूति नहुँदा व्यवसाय संकटमा परेको व्यवसायीहरुको भनाइ छ । ‘असुरक्षा भयो भने पर्यटकले बसाइ अवधि छोट्याउन सक्छन् ।’ बरालले भने । 
कडा ट्राभल एडभाइजरी जारी गर्दै आएको अमेरिकाले भने गत मंसिरमा आफ्ना नागरिकलाइ निश्चिन्त भएर नेपालको भ्रमण गर्न आग्रह गरेको छ । यसअघि पर्यटन बर्षको शुरुमा उसले नेपाल भ्रमण गर्दा सावधानी अपनाउन आग्रह गरेको थियो । करिव १६ बर्षअघि माओवादीले सशस्त्र युद्ध थालेदेखि नै अमेरिकाले नेपाल भ्रमण खतरापूर्ण हुने बताउदै आएको छ ।

थाइल्याण्ड र कोरियामा नेपाल प्रवद्र्धन 

नेपाल पर्यटन बोर्ड सहित ३ वटा वटा टाभल तथा टुर कम्पनिले थाल्याण्डमा सम्पन्न थाइ इन्टरनेसनल टाभल फेयरमा नेपालको पर्यटन प्रवद्र्धन गरेका छन् । २३ देखि २६ फेब्रुअरीसम्म बैंककमा भएको फेयरमा नेपालका पर्यटकीय उत्पादनहरुको प्रवद्र्धन गरिएको बोर्डले जनाएको छ । थाइ टुर अपरेटरहरुले काठमाडौं, पोखरा, चितवन र लुम्बिनिका भ्रमण प्याकेज बेचिरहेका छन् । फेयरमा लुम्बिनि तथा अन्य सांस्कृतिक क्षेत्रको प्याकेजका बारेमा बढि जिज्ञासा आएको बोर्डको भनाइ छ । निजि क्षेत्रबाट सहभागी कम्पनिहरुले लुम्बिनि भ्रमण बर्ष २०१२ लाइ लक्षित गरेर प्याकेज बुक गराएका थिए । थाइ एयरवेजले बैंकक काठमाडौं दैनिक र नेपाल एयरलाइन्सले काठमाडौंबाट साताको दुइ उडान गर्दै आएका छन् । 
यसैविच दक्षिण कोरिया स्थित नेपाली दुतावासले ‘संस्कृित र  प्रकृतिको मुलुक नेपाल विषयक सेमिनारको आयोजना गरेको छ । कोरियामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको दुतावासले जनाएको छ । कार्यक्रममा टाभल टुर अपरेटर, विमान कम्पनि तथा पर्यटन व्यवसायीहरु सहभागि थिए ।

Tuesday, February 28, 2012

व्यवसायमा नयाँ प्रयोग


उद्यम त्यस्तो क्षेत्र हो, जसमा विभिन्न समूहका मान्छेसँग संगत गर्नुपर्छ । फरक फरक किसिमका मान्छेसँग ‘डिल’ गर्नुपर्छ । भनिन्छ, व्यापार गर्न सबै कुरा जान्नुपर्दैन । मात्र केही गर्छु भन्ने इच्छाशक्ति र आँट चाहिन्छ । मनभित्र एउटा ‘जुनुन’ चाहिन्छ । त्यही ‘जुनुन’ र इच्छाशक्तिले उसलाइ व्यापारको बाटोमा हिडाउँछ, दौडाउँछ, लडाउँछ र उठाउँछ पनि । 
यसैगरि लड्दै उठ्दै हिडेका उद्यमी हुन् श्यामसुन्दर लाल कक्षपति । सानेपा हाइटको ‘पाल्पाली छें’ उनको उद्यमको केन्द्र हो । नेवारीमा छेंको अर्थ घर हुन्छ । यही घरबाट उनले आफ्ना सबै बिजनेस सञ्चालन गरेका छन् नाङलो बेकरीका दर्जन बढि आउटलेट, कुरिनटारस्थित रिभरसाइड स्प्रिङस रिसोर्ट र अज्जवको आइसक्रिम । 
रोजगारीको खडेरी परेको मुलुकमा कक्षपतिले १ हजारभन्दा बढीलाइ रोजगारी दिएका छन् । नाङलो बेकरीले मात्र ३ सय २५ जनाको परिवार पालेको छ । आफ्नो लागि शुरु गरेको व्यापारबाट यति धेरैले रोजगारी पाउलान् भनेर उनी आफैंले पनि सोचेका थिएनन् । 
पुख्र्यौली थलो पाल्पामा श्यामका बुबा कपडा व्यापार गर्थे । तर, श्यामलाई भने त्योभन्दा फरक केही गरौं भन्ने लाग्यो । बुबाले सुरु गरेकोे कपडा पसलमा उनको मन अडिएन । पढ्न भनेर काठमाडौं आएका श्यामले १९ बर्षको उमेरमा आफ्नो छुट्टै व्यवसाय सुरु गरे । सुरुमा भाइबहिनी पाल्न ग्रोसरी खोले । अझ नयाँ र च्यालेन्जिङ केही गरौं भन्ने रहर लाग्यो । यही अभिलासाले उनी रेष्टुरेन्ट व्यवसायतिर हान्निए । यो व्यवसायमा रुची भएका कारण दिल्ली गएर कुक, काँटाचम्चा र कफी बनाउने मेसिन ल्याए । कुकिङ पनि सिके । 
सन् १९७३ मा रत्नपार्कमा ‘क्याफे द पार्क’ खोले । नयाँ काम चुनौतीपूर्ण हुन्छ नै । उनले पनि निकै चुनौती र हन्डरको सामना गर्नुप¥यो । रेष्टुरेन्ट कल्चर नै शुरु भएको थिएन काठमाडौंमा । फास्ट फुड त परको कुरा । रेष्टुरेन्ट जाने निकै थोरै थिए । रेष्टुरेन्टमा गएर खानुलाई राम्रो पनि मानिदैनथ्यो त्यतिखेर ।   
रत्नपार्कको क्याफे विस्तार गरेर सन् १९७६ मा अर्को रेष्टुरेन्ट खोले । सानो नाङलोमा खानेकुरा सजाएर बर्गर, स्यान्डविच सर्भिस हुन्थ्यो उनको रेष्टुरेन्टमा । नयाँ खानेकुरा र सेवामा नयाँपन भएकाले उनको रेष्टुरेन्टमा मानिस जान थाले । पछि त्यहि नाङलो क्याफेको नाम बन्यो र विस्तारै ‘ब्रान्डनेम’ बन्यो । 
सुरुमा विभिन्न किसिमका प्रतिक्रिया आए । पिज्जा, वर्गर र हट डग खाने मान्छे निकै थोरै थिए । अहिले जस्तो परिवारै गएर रेस्टुरेन्टमा खाने चलन थिएन । केही थाहा नभएको व्यवसाय सुरु गर्दा धेरैले असफल हुन्छ भने । तर उनको रेष्टुरेन्ट नयाँ भएकोले मान्छे त्यतातिर तानिए । उनको रेष्टुरेन्टले शहरियाहरुलाइ ह्याम्बर्गर, पिज्जा, हट डग, आइस क्रिम जस्ता पश्चिमी आइटम खान सिकायो । केही खर्च गर्ने वर्ग पनि तयार भइसकेको थियो । खाली खर्च गर्ने पर्याप्त ठाउँ थिएन । 
विस्तारै नाङलो बेकरी एउटा ब्रान्ड बन्यो । रेस्टुरेन्ट तथा फाष्टफुड चेनको रुपमा स्थापित नाङलोका हाल १३ आउटलेट छन् । सन् १९९८ तिर नयाँ सोच आयो, सुन्न नसक्नेलाई जागिर दिने । उनीहरु इमान्दार हुन्छन् भन्ने लाग्यो उनलाई । यस्ताले पनि रेष्टुरेन्टमा काम गर्न सक्छन् भनी धेरैले उनलाई उडाए पनि । तर कार्यक्रममा टिकट चेक गर्न कान सुन्न नसक्ने लाइ राख्दा प्रभावकारी भएको देखेका थिए उनले । त्यसैले राम्रै हुन्छ भन्ने थियो । सुरुमा १२ जनालाई तालिम दिए । तिनले राम्रो काम गरेपछि अरुलाई पनि लगाउँदै गए । अहिले नाङलोका ६ वटा आउटलेटमा ६० जना कान सुन्न नसक्नेले रोजगारी पाएका छन् । 
शुरुमा त उनी आफैंलाई पनि शंका थियो ग्राहकको कस्तो प्रतिक्रिया आउला भन्नेमा । तर अहिले वाहीवाही पाएका छन् । ग्राहकले पनि उनको आइडियालाई मन पराएका छन् । अहिले त उनको व्यापारलाई समाजसेवा पनि भन्दा रहेछन् कतिले । कान सुन्न नसक्नेसँगै होचा पुड्कालाई पनि रोजगारी दिन थालेका छन् । उनकै रेष्टुरेन्टको बच्चा खेल्ने ठाउँमा होचा पुड्काको काम प्रभावकारी भएको छ । 
हरेक बर्ष एउटा रेष्टुरेन्ट थप्ने उनको योजना भए पनि त्यसले मूर्तरुप भने पाउन सकेको छैन । श्रम समस्या, व्यावसायिक असुरक्षा आदिले आँट गर्न नसकिरहेको उनी बताउँछन् । ३९ वर्ष व्यापार गरिसकेको बताउने श्याम आफैं ३९ वर्षका जति देखिन्छन् । निकै लामो सलक्क परेको कपाल । जेल लगाएर पछाडि फर्काएको, हाइटी शरीर । उमेरभन्दा निकै जवान देखिन्छन् उनी । सकारात्मक सोचाइ, चिन्तामुक्त जीवन अनि थोरै व्यायाम उनको जवानीको राज हो रे । 
नाङलो ग्रुप अफ कम्पनिजका अध्यक्ष कक्षपती हालै होटल व्यवसायीहरुको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) को ४१ औं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि अध्यक्ष चुनिएका छन् । यसअघि उनी संघका महासचिव थिए । आफ्नो कार्यकालमा होटल व्यवसायीले भोग्नु परिरहेका समस्या समाधान गर्न सहकार्य गरेर अगाडी बढ्ने उनको योजना छ ।