सौर्य समाचार
काठमाडौं, २० असार । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियाको सस्तो सेवा दिने ‘बजेट’ एयरलाइन्स एयर एसिया एक्सले मंगलबारदेखि क्वालालम्पुर–काठमाडौं सिधा उडान सुरु गरेको छ । यससँगै यो सेक्टरमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको एकाधिकार पनि तोडिएको छ ।
पहिलो उडानबाट काठमाडौं आएका कम्पनीका उच्च अधिकारी तथा यात्रुलाई स्वागत गर्न विमानस्थलमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशराज जोशी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धर तथा त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमन विमानस्थल पुगेका थिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा एअर एसियाका फ्लाइट अपरेसन डाइरेक्टर क्याप्टेन अजानुदिनले कम्पनीका लागि नेपाल साहसिक गन्तव्य भएको बताए ।
एअर एसियाको नेपालस्थित आधिकारिक प्रतिनिधि इन्सेन्टिभ टुर्स एन्ड ट्राभलका कार्यकारी अध्यक्ष हरिमान लामाले एयर एसियाको उडानले मलेसिया–नेपाल आवतजावत गर्ने नेपाली श्रमिक तथा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने बताए । उडान सुरुवातसँगै मलेसिया तथा आसिएन क्षेत्रबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुने लामाले दाबी गरे । उनका अनुसार काठमाडौं–क्वालालम्पुरको सुरुवाती भाडादर ११ देखि १७ हजार रुपियाँ तोकिएको छ । यसमा कर समावेश गरिएको छैन । यो दर यात्रु चापअनुसार घटबढ हुनसक्ने उनले बताए ।
एयर एसिया एक्स सस्तो तर लामो दूरीमा उडान गर्ने बजेट एयरलाइन्स हो । बजेट एयरलाइन्स भए पनि उडानमा खाना र पानी उपलब्ध गराइने कम्पनीले दाबी गरेको छ ।
नेपाल वायुसेवाको काठमाडौं–क्वालालम्पुर एकतर्फी भाडा २३ हजार ८ सय रुपियाँ छ । निगम काठमाडौंबाट सिधै क्वालालम्पुर जाने एकमात्र विमान सेवा हो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजाबाहक एयर अरेवियाले फिÏथ फ्रिडम राइटको प्रयोग गरी काठमाडौं–क्वाललम्पुर सिधा उडान गर्ने अनुमति पाएको भए पनि विवादका कारण उाडन सुरु गर्न सकेको छैन । काठमाडौंबाट क्वालालम्पुर एकतर्फी चार घन्टा १५ मिनेटदेखि साढे चार घन्टा उडान दूरीमा पर्छ ।
एयर एसियाले तीन सय ७७ यात्रु क्षमताको एयरबस ए ३३०–३०० जहाजबाट उडान सुरु गरेपछि निगमलाई प्रतिस्पर्धा गर्न गाह्रो हुने देखिएको छ । निगमले अहिले क्वालालम्पुरमा साताको तीन उडान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा जाने र मलेसियाली पर्यटक तथा मलेसिया हुँदै आउने विदेशी पर्यटकलाई लक्षित गरेर उडान सुरु गरेको कम्पनीले जनाएको छ । जुलाईभरिका लागि म्यानपावर कम्पनीबाट टिकट बुक भइसकेको बताइएको छ । मलेसियामा हाल साढे चार लाखभन्दा बढी नेपाली रोजगारीका लागि गएका छन् । दैनिक करिब चार सय नेपाली रोजगारीका लागि मलेसिया गइरहेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।
No comments:
Post a Comment