Tuesday, July 10, 2012

गुपचुपमा सेयर किनबेच

सौर्य दैनिक
काठमाडौं, २६ असार । निजी क्षेत्रका दुईवटा दूरसञ्चार कम्पनीले नियामक निकायलाई जानकारी नै नगराई सेयर किनबेच गरेका छन् । एनसेल र नेपाल स्याटलाइट टेलिकम (हेल्लो नेपाल) ले दूरसञ्चार प्राधिकरणलाई जानकारी नगराई सेयर किनबेच गरेका हुन् ।
गत चैत अन्तिम साता फिनल्यान्डको दूरसञ्चार प्रदायक कम्पनी टेलियासोनेराले हेलो नेपालको सेयर किनेको थियो । तर, यसको औपचारिक जानकारी अहिलेसम्म सम्बन्धित कम्पनीले प्राधिकरणलाई गराएका छैनन् । ‘सेयर किनबेचको औपचारिक जानकारी प्राधिकरणलाई छैन,’ प्राधिकरण सञ्चालक समिति सदस्य गिरेन्द्र अधिकारीले भने । यसबारे कम्पनी रजिस्ट्रारको कार्यालयसँग पनि जानकारी मागिएको तर कुनै जानकारी प्राप्त नभएको उनले बताए ।
सेवाप्रदायकको सेयर कारोबार पारदर्शी हुनुपर्छ भन्नेमा प्राधिकरणको जोड रहेको अधिकारीको भनाइ छ । ‘सबै कारोबार पारदर्शी हुनुपर्छ, मोनोपोली नहोस् भन्नेमा पनि हामी सचेत छौँ,’ उनले भने । विदेशमा सेयर कारोबार हुनु आपत्तिजनक भएको उनको भनाइ छ । एनसेल र हेलो नेपालको सेयर कारोबार विदेशमा भएको बताइएको छ । ‘ऐनमा भएका छिद्र समातेर विभिन्न कारोबार भइरहेका छन्, ऐनमा नै संशोधन गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।
टेलियासोनेराले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार उसले हेलो नेपालको विदेशी साझेदार साइप्रसको होल्डिङ कम्पनी एअरबेल सर्भिस लिमिटेडको ५१ प्रतिशत सेयर किनेको छ । हेलो नेपालमा एअरबेलको ५० प्रतिशत सेयर छ । कम्पनीमा बाँकी सेयर एकीकृत नेकपा (माओवादी) निकट व्यापारी अजय सुमार्गीको रहेको बताइएको छ ।
एनसेलले आधा सेयर किनेसँगै हेल्लो नेपालले आफ्ना सबैजसो कर्मचारीलाई अनिवार्य अवकाश दिएको छ । स्रोतका अनुसार एनसेलले आफ्नो ५० प्रतिशत सेयर भएको नेपाल स्याटलाइट कम्पनीको सम्पूर्ण जिम्मा लिइसकेको छ । नेपाल स्याटलाइटको सबै काम अहिले एनसेलकै हेडक्वार्टर रहेको कृष्णटावरबाट हुने गरेको बताइएको छ । नेपाल स्याटलाइटमा अहिले कार्यकारी प्रमुखका रूपमा एकजना मात्रै कर्मचारी कार्यरत छन् । अरू सबै कर्मचारीलाई दुई महिनाअघि नै घर पठाइएको थियो । कम्पनी घाटामा गएको भन्दै व्यवस्थापनले कर्मचारीलाई ‘गोल्डेन ह्यान्डसेक’ को अफर गरेको बताएको छ ।
टेलियासोनेराको प्रतिवेदनअनुसार नेपाल स्याटलाइटमा अब उसको १७ करोड ४० लाख स्विडिस क्रोनर लगानी हुनेछ । यो करिब दुई अर्ब १२ करोड १० लाख नेपाली रुपियाँ हो । सेयर किनबेचबारे कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत जानकारी नभएको बताइएको छ । कुनै पनि कम्पनीले सेयर किनबेच गर्दा कम्पनी रजिस्ट्रार कार्यालयमा आवेदन दिएर स्विकृति लिनुपर्छ ।
नेपाल स्याटलाइटले एकीकृत माओवादीका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा सन् २००८ मा ग्रामीण दूरसञ्चार सेवा प्रदायक कम्पनीका रूपमा अनुमति पाएको थियो । यसले मध्यपश्चिमका सबै जिल्लामा दूरसञ्चार सेवा प्रदान गरिरहेको छ । मध्यमश्चिमाञ्चल क्षेत्रमा हेलो नेपाल दूरसञ्चार सेवा विस्तार गरेको नेपाल स्याटलाइट टेलिकम सुरुमा मेरो मोबाइल कम्पनीको सिम बिक्रीका लागि स्थापित आधिकारिक कम्पनी थियो । तत्कालीन समयमा स्पाइस सेल नेपालका प्रबन्ध निर्देशक रहेका अजय सुमार्गीले पत्नी सम्झना अर्याल अर्थात् अस्मिता सुमार्गीका नाममा नेपाल स्याटलाइट टेलिकम स्थापना गरेर देशभर मेरो मोबाइलको सिम वितरणको जिम्मा दिएका थिए । पछि स्पाइस सेलबाट अलग भएका सुमार्गीले यही कम्पनीमार्फत पश्चिम नेपालमा हेलो नेपाल ब्रान्डको सेवा सुरु गर्न अनुमति लिएका हुन् ।
दूरसञ्चार कम्पनीहरूको स्वामित्व अपारदर्शी भएको भन्दै गत वर्ष साउनमा व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको फ्रिक्वेन्सी छानबिन उपसमितिले दूरसञ्चार सेवाप्रदायकको स्वामित्व प्रस्ट पार्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सेवाप्रदायक कम्पनीका लगानीकर्ता को–को हुन्, कसको कति सेयर छ, कति सदस्य छन् लगायतका सम्पूर्ण विवरण दिन उपसमितिले भनेको थियो ।

Saturday, July 7, 2012

मनसुनले हवाई सेवा प्रभावित

सौर्य दैनिक
काठमाडौं, २२ असार । मनसुन सुरु भएपछि मुलुकभरका दुर्गम स्थानमा सञ्चालित विमानस्थलको हवाई सेवा प्रभावित भएका छन् । खराब मौसमका कारण दुर्गम गन्तव्यका आधाजसो उडान रद्द हुने गरेका छन् ।
मौसमकै कारण सुगम गन्तव्यमा समेत शतप्रतिशत उडान हुन सकेको छैन । विशेषगरी पूर्वका लुक्ला, फाप्लु, स्याङ्बोचे, लामीडाँडा, भोजपुर, तुम्लिङ्टार, रुम्जाटारलगायतका दुर्गम गन्तव्यमा उडान हुनसकेको छैन । त्यस्तै पश्चिमका हुम्ला, जुम्ला, डोल्पा र मुगुमा पनि हवाई सेवा प्रभावित भएको छ । जुम्लाको खलंगा, डोल्पाको दुने र मुगुको ताल्चा विमानस्थलमा दुई साता अघिदेखि नै हवाई सेवा प्रभावित भएको बताइएको छ । यो क्षेत्रमा खलंगाबाहेक सबै विमानस्थल कच्ची छन् ।
सधैँजसो व्यस्त रहने लुक्ला विमानस्थलमा दैनिक सरदर पाँच उडान मात्र भइरहेको छ । सीता एयरका बजार प्रमुख दीपेन्द्र शाहीका अनुसार लुक्लामा विगत करिब एक महिनादेखि नियमत उडान हुन सकेको छैन । बुधबार चारवटा उडानको सेड्युल भए पनि दुइटा मात्र हुन सकेको उनले बताए । ‘कहिले ३–४ दिनसम्म हुँदैन, कहिले एक दुइटा हुन्छ,’ शाहिले भने । काठमाडौंभन्दा पनि लुक्लाको मौसमका कारण नियमित उडान हुन नसकेको उनले जानकारी दिए । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार दैनिक हुने वर्षाले आन्तरिक उडान प्रभावित भइरहेको छ । सरदरमा दैनिक ४० प्रतिशत उडान रद्द भइरहेको कार्यालयले जनाएको छ । मौसम राम्रो हुँदा विमानस्थलबाट दैनिक दुई सय पचास उडान हुन्छन् ।
काठमाडौंबाट पोखरा तथा लुक्लाको उडान प्रभावित हुँदा पर्यटक आवातजावतमा समस्या परेको छ । नेपाल वायुसेवा निगम, तारा एयर र अग्नि एयरले काठमाडौं–लुक्ला गन्तव्यमा दैनिक उडान भर्ने गर्छन् । त्यस्तै पोखरामा बुद्ध एयर, यती एयरलाइन्स र गुण एयरलाइन्सले उडान गर्छन् । काठमाडांै–लुक्लाका नियमित उडान रद्द हुँदा ट्ेरकिङका लागि सगरमाथा बेस क्याम्प गएका पर्यटकलाई राजधानी फर्किन समस्या परेको छ । उता जोमसोममा समेत खराब मौसमका कारण आंशिक मात्र उडान भइरहेको छ । पोखराबाट दैनिक एक दर्जन बढी उडान जोमसोमका लागि हुने गरेका छन् । नेपाल वायुसेवा निगम, अग्नि र तारा एयरले जोमसोममा उडान गर्छन् ।
काठमाडौंबाट सबैभन्दा नजिकको सिमरा विमानस्थलमा समेत पूर्णरूपमा उडान हुन नसकेको विमान कम्पनीहरूले जनाएका छन् । सिमरामा गुण र बुद्ध एयरले दैनिक एक दर्जन उडान गर्छन् । त्यस्तै बिहान हुने माउन्टेन फ्लाइट पनि मौसमका कारण प्रभावित भएका छन् ।
वायुसेवा सञ्चालक संघ (आयोन) ले मनसुनको सुरुवातसँगै हवाई दुर्घटना बढ्नसक्ने भन्दै पूर्वसचेतना अपनाइने बताएको छ । आयोनका प्रवक्ता सागरकुमार आचार्यले मनसुन सुरु हुनुअघि पाइलटलाई मौसम सचेतनासम्बन्धी कार्यक्रम गरिएको बताए । नागरिक उड्डयन प्राधिकरणले पनि सबै विमान कम्पनीलाई सुरक्षासम्बन्धी पूर्वसचेतनाका लागि सर्कुलर गरिएको उनले जानकारी दिए । नेपालमा अधिकांश हवाई दुर्घटना मनसुनको समयमा र दुर्गममा हुने गरेका छन् ।

Wednesday, July 4, 2012

एयर एसियाको काठमाडौं उडान सुरु


सौर्य समाचार

काठमाडौं, २० असार । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियाको सस्तो सेवा दिने ‘बजेट’ एयरलाइन्स एयर एसिया एक्सले मंगलबारदेखि क्वालालम्पुर–काठमाडौं सिधा उडान सुरु गरेको छ । यससँगै यो सेक्टरमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको एकाधिकार पनि तोडिएको छ ।

तत्कालका लागि साताको मंगलबार र बिहीबार दुई उडान गरिने पहिलो उडानमा काठमाडौं आएका कम्पनीका अधिकारीहरूले बताएका छन् । सरकारसँग भने एयर एसियाले प्रतिदिन एउटा उडान गर्ने अनुमति लिएको छ । नागरिक उड्डयन प्राधिकरणबाट उसले अपराह्न २ बजे अवतरण र साढे ३ बजे उडानको सेड्युल पाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो अत्यधिक व्यस्त समय हो ।
पहिलो उडानबाट काठमाडौं आएका कम्पनीका उच्च अधिकारी तथा यात्रुलाई स्वागत गर्न विमानस्थलमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशराज जोशी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धर तथा त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमन विमानस्थल पुगेका थिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा एअर एसियाका फ्लाइट अपरेसन डाइरेक्टर क्याप्टेन अजानुदिनले कम्पनीका लागि नेपाल साहसिक गन्तव्य भएको बताए ।
एअर एसियाको नेपालस्थित आधिकारिक प्रतिनिधि इन्सेन्टिभ टुर्स एन्ड ट्राभलका कार्यकारी अध्यक्ष हरिमान लामाले एयर एसियाको उडानले मलेसिया–नेपाल आवतजावत गर्ने नेपाली श्रमिक तथा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने बताए । उडान सुरुवातसँगै मलेसिया तथा आसिएन क्षेत्रबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुने लामाले दाबी गरे । उनका अनुसार काठमाडौं–क्वालालम्पुरको सुरुवाती भाडादर ११ देखि १७ हजार रुपियाँ तोकिएको छ । यसमा कर समावेश गरिएको छैन । यो दर यात्रु चापअनुसार घटबढ हुनसक्ने उनले बताए ।
एयर एसिया एक्स सस्तो तर लामो दूरीमा उडान गर्ने बजेट एयरलाइन्स हो । बजेट एयरलाइन्स भए पनि उडानमा खाना र पानी उपलब्ध गराइने कम्पनीले दाबी गरेको छ ।
नेपाल वायुसेवाको काठमाडौं–क्वालालम्पुर एकतर्फी भाडा २३ हजार ८ सय रुपियाँ छ । निगम काठमाडौंबाट सिधै क्वालालम्पुर जाने एकमात्र विमान सेवा हो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजाबाहक एयर अरेवियाले फिÏथ फ्रिडम राइटको प्रयोग गरी काठमाडौं–क्वाललम्पुर सिधा उडान गर्ने अनुमति पाएको भए पनि विवादका कारण उाडन सुरु गर्न सकेको छैन । काठमाडौंबाट क्वालालम्पुर एकतर्फी चार घन्टा १५ मिनेटदेखि साढे चार घन्टा उडान दूरीमा पर्छ ।
एयर एसियाले तीन सय ७७ यात्रु क्षमताको एयरबस ए ३३०–३०० जहाजबाट उडान सुरु गरेपछि निगमलाई प्रतिस्पर्धा गर्न गाह्रो हुने देखिएको छ । निगमले अहिले क्वालालम्पुरमा साताको तीन उडान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा जाने र मलेसियाली पर्यटक तथा मलेसिया हुँदै आउने विदेशी पर्यटकलाई लक्षित गरेर उडान सुरु गरेको कम्पनीले जनाएको छ । जुलाईभरिका लागि म्यानपावर कम्पनीबाट टिकट बुक भइसकेको बताइएको छ । मलेसियामा हाल साढे चार लाखभन्दा बढी नेपाली रोजगारीका लागि गएका छन् । दैनिक करिब चार सय नेपाली रोजगारीका लागि मलेसिया गइरहेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।