Monday, February 18, 2013

मोबाइल क्रान्ति

लक्ष्मीप्रसाद खतिवडा
Laxmi-Prashad-Khatiwadaसहरी जनताको दैनिकी मोबाइलबाट सुरु भएर मोबाइलमै समाप्त हुने कुरा अब नयाँ रहेन । प्रविधिको विश्व छोप्ने पखेटा व्यक्तिको मुठीमा कैद हुनलागेको अवस्थामा सञ्चारको बहुप्रचलित माध्यम मोबाइलप्रति मानिसको झुम्याइ थामिनसक्नु छ । बिहान मोबाइलको अलार्मसँगै ब्युंझिने हाम्रो धेरै समय मोबाइलमा नै बित्ने गरेको पाइन्छ । अझ युवामा झन् मोबाइल सबैभन्दा प्यारो वस्तु र चर्चाको विषय बनेको छ । बजारमा आएको नयाँ मोडलको मोबाइल सेटको बखान होस् या भर्खरै प्राप्त एमएमएसको चर्चा आखिर साथीभाइको जमघटमा स्थान पाइनै हाल्छ मोबाइलले ।

हुन पनि पछिल्लो समयमा मोबाइल फोन बोक्नेको सख्या ह्वात्तै बढेको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मुलुकको टेलिघनत्व ७० प्रतिशत नाघिसकेको छ । कुल दूरसञ्चार प्रयोगकर्तामा मोबाइल प्रयोगकर्ताको सख्या सबैभन्दा बढी छ । करिब ६३ प्रतिशत नेपाली अहिले मोबाइल बोक्छन् । सेवाप्रदायक कम्पनीहरूले बेलाबेलामा ल्याउने स्किम र अफरले उपभोक्तालाई अझ हौस्याएको छ ।
मोबाइलमैत्री सरकारी नीति
समय र प्रविधिमा आएको परिवर्तनका कारण कुनै समयमा बिलासिताको साधनका रूपमा व्याख्या हुने मोबाइल फोन अहिले अत्यावश्यक नै बनिसकेको छ । मोबाइल आममानिसको अभिन्न अंग भइसकेकाले नै होला, सरकारले पनि मोबाइलमैत्री नीति लिएको छ– ‘घरघरमा इन्टरनेट हातहातमा मोबाइल’ । यही नीतिको अनुशरण गर्दै दूरसञ्चार कम्पनीहरू रात दुगुना दिन चौगुना ग्राहक थप्ने होडबाजीमा छन् । सेवाप्रदायक कम्पनीबीचको प्रतिस्पर्धा, सेवा शुल्कमा आएको गिरावट, मोबाइल सेटको मूल्यमा आएको गिरावट, सेवा विस्तारलगायत कारण ग्राहकको संख्यामा उच्च वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा दूरसञ्चार उपकरणको मूल्यमा आएको गिरावट तथा दूरसञ्चार कम्पनीले गरेको नेटवर्क विस्तारले पनि मोबाइलका उपभोक्ता वृद्धि हुन सघाएको छ ।
जिएसएमको दबदबा
सञ्चार क्षेत्रमा सबैभन्दा ठूलो स्थान जिएसएम मोबाइलको छ । तथ्यांकअनुसार यसको सञ्चार क्षेत्रमा ८० प्रतिशतभन्दा बढी हिस्सा छ । जिएसएममा सेवा प्रदायकबीच बढेको प्रतिस्पर्धा र आक्रामक बजार रणनीतिका कारण बजारको आकार एक वर्षमै ५० प्रतिशतले बढेको प्राधिकरणको तथ्यांक छ ।
गत वर्ष माघसम्म जिएसएम मोबाइल प्रयोगकर्ताको संख्या एक करोड २४ लाख रहेकोमा यस वर्षको माघमा एक करोड ५७ लाख ७५ हजार पुगेको छ । तीन वर्षभित्रमा सबै जनतामा दूरसञ्चार सेवा पुग्ने दाबी प्राधिकरणको छ ।
एघार वर्षअघि नेपाल टेलिकमले पहिलोपटक जिएसएम मोबाइल सेवा भित्र्याएको थियो । टेलिकमले मोबाइल सेवा सुरु गर्दा सामान्य व्यक्तिले यसलाई आँक्नै नसक्ने अवस्था थियो । टेलिकमबाट मोबाइल लिन ५८ हजार रुपियाँ तिर्नुपथ्र्यो । चाखलाग्दो कुरा त के हो भने ०५८ सालमा सरकारले घोषणा गरेको आयको स्वयंकर घोषणा गर्दा मोबाइल बोक्नेको पनि निगरानी गरेको थियो । त्यतिखेर मोबाइल बोक्ने धनीमा गनिन्थे तर अहिले ६० प्रतिशतभन्दा बढी नेपाली मोबाइल बोक्ने भइसकेका छन् ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रविधिको मोबाइल सेवा सञ्चालन गरिरहेको छ भने निजीक्षेत्रको एनसेलले सुरुदेखि नै जिएसएम प्रविधिमा सेवा विस्तार गरिरहेको छ । अहिले टेलिकमका ७७ लाख र एनसेलका ९० लाख मोबाइल ग्राहक छन् ।
चम्किदै मोबाइल सेटको व्यापार
पछिल्ला वर्षमा सेवाप्रदायकको आक्रामक बजार विस्तारसँगै मुलुकमा मोबाइल सेटको व्यापार पनि निकै फस्टाएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब साढे तीन अर्ब रुपियाँ बराबरका मोबाइल सेट आयात भइरहेका छन् । यो तथ्यांक वर्षैपिच्छे बढ्दो क्रममा छ । मोबाइलको बजार सरकारी तथ्यांकभन्दा बढी रहेको बिक्रेता बताउँछन् । एकतिहाई मोबाइल सेट भन्सारको दायराभन्दा बाहिरबाट आउने गरेको दाबी उनीहरूको छ ।
नेपाली उपभोक्ताको सोख र आवश्यकताका कारण मोबाइल बजारमा महँगा र अत्याधुनिक ब्रान्डको होड नै चलेको छ । विभिन्न ब्रान्डको बढ्दो उपस्थितिले मूल्यमा प्रतिस्पर्धा बढेको छ र त्यसबाट अन्तत: ग्राहकलाई नै फाइदा पुगेको छ । ग्राहक आकर्षित गर्न आकर्षक सोरुम र सुविधासम्पन्न सर्भिस सेन्टर खुल्ने क्रम पनि त्यत्तिकै छ ।
अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएका मोबाइल सेट केही दिनभित्रै नेपाली उपभोक्तामा आइपुग्छन् । विश्वबजारमा भित्रिने उपकरणमध्ये मोबाइल सेट नै सबैभन्दा छिटो नेपाली बजारमा भित्रिने उपकरण हो । नेपालमा मल्टिनेसनल मोबाइल कम्पनीका करिब डेढदर्जन आधिकारिक बिक्रेता छन् जसले दुई हजारदेखि एक लाख रुपियाँसम्मका मोबाइल सेट नेपाली बजारमा बिक्री गरिरहेका छन् ।
मोबाइलका ठूला ब्रान्ड बेच्ने कम्पनीले नेपालमा वार्षिक एक अर्ब रुपियाँभन्दा बढीको कारोबार गर्ने बताइन्छ । जिएसएम, सिडिएमए, थ्रिजीदेखि आइफोन र ब्ल्याकबेरीसम्म मोबाइल सेट नेपाली बजारमा उपलब्ध छन् । आधुनिक र महँगा मोबाइल भित्रिएसँगै यो बहुउपयोगी वस्तु भएको छ । मोबाइल कुराकानी गर्ने माध्यम मात्र रहेन । रेडियो सुन्न, टेलिभिजन हेर्न, समाचार पढ्न, तस्बिर भिडियो खिच्न तथा हेर्न र इन्टरनेट चलाउन मिल्ने मोबाइल भित्रिएसँगै यो मनोरञ्जनको साधनसमेत भएको छ । कुनैबेला उच्च ब्रान्डको घडी लगाएर सामाजिक प्रतिष्ठा देखाउनेहरू अहिले उच्च ब्रान्डका मल्टिफङ्क्सनयुक्त मोबाइल सेट बोक्छन् ।
सस्ताको सान
मोबाइलको बढ्दो संख्यासँगै चीनमा निर्मित सस्ता तर धेरै सुविधा भएका मोबाइल सेटको बजार पनि फैलिँदो छ । केहीअघिसम्म नोकिया, सामसुङ, मोटोरोला, एलजी, फिलिप्स, सोनी इरिक्सनजस्ता सीमित बहुराष्ट्रिय ब्रान्डको हालिमुहाली रहेको नेपाली बजारमा अहिले यिनलाई चिनियाँ र भारतीय ब्रान्डले चुनौती दिन थालेका छन् । नेपाली ग्राहकमा विकसित हँुदै गएको सस्तो मूल्यमा बढी सुविधा खोज्ने मनोविज्ञान क्यास गर्न नयाँ ब्रान्डहरू सफल पनि भइरहेका छन् । यो बजारलाई लक्षित गरेर तिनले ग्राहकमैत्री प्रवद्र्धन योजना र विज्ञापनमा ध्यान दिएका छन् । कुनै एउटा मात्र सेवाप्रदायकको सेवाको स्तर राम्रो नभएकाले डबल सिम मोबाइलको समेत निकै माग बढेको छ । भारतीय कम्पनीहरूले नेपाली बजारमा ल्याएका अधिकांश ब्रान्डमा डबल सिमको सुविधा छ ।

No comments:

Post a Comment