Wednesday, February 20, 2013

इन्टरनेट पहुँचमा उच्च वृद्धि

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, ९ फागुन । एक वर्षको अवधिमा साढे १७ लाखभन्दा बढी इन्टरनेट उपभोक्ता थपिएका छन् । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गएको दुई–तीन वर्षमा इन्टरनेट सेवा प्रयोगकर्ता ह्वात्तै बढेका हुन् ।

internet-logoपछिल्लो समय पुरानो प्रविधिमा आधारित इन्टरनेट प्रयोगकर्ता घटिरहेका छन् भने नयाँ प्रविधिमा आधारित ब्रोडब्यान्ड र वाइफाईमा आधारित उपभोक्ताको वृद्धि भइरहेको छ । इन्टरनेट उपभोक्ताको वृद्धिदर ६ दशमलव ७७ प्रतिशत पुगेको छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार अहिले कुल जनसंख्याको २१ दशमलव ५० प्रतिशतले इन्टरनेट प्रयोग गर्छन् । विभिन्न प्रविधिको इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको संख्या ५६ लाख ९३ हजार नौ सय १३ पुगेको छ ।
सहज उपलब्धता र विभिन्न प्रकारको सेवा उपलब्ध भएकाले बर्सेनि तीव्र गतिमा इन्टरनेट सेवा प्रयोग गर्ने उपभोक्ता बढिरहेका छन् । पछिल्लो समय वाइफाई इन्टरनेट उपलब्ध गराउने कम्पनीको संख्या बढेको छ । विभिन्न कम्पनीले सस्तो दरमा तीव्र गतिको इन्टरनेट दिने दाबी गर्दै अफर ल्याएका छन् । वेबसर्फर नेपाल कम्युनिकेसनले रात्रि प्याकेज तथा आवरली बेस प्याकेज लिने ग्राहकका लागि एक वर्षको सेवा लिँदा जडान खर्च नलिने बताएको छ । कम्पनीले मासिक चार सय ९५ रुपियाँमा अनलिमिटेड सेवा दिने जनाएको छ । वेबसर्फरका बिक्री प्रबन्धक सन्दीप शर्माका अनुसार अनलिमिटेड प्याकेज लिने ग्राहकले ६ महिनाको सेवा लिँदा जडान खर्च शतप्रतिशत र आठ जिबीको पेनड्राइभ पाउनेछन् । कम्पनीले सेयरिङ रेसियोका आधारमा अनलिमिटेड, भोल्युम बेस प्याकेज तथा आवरली बेस र रात्रि प्याकेज उपलब्ध गराउँदै आएको छ ।
अर्को सेवा प्रदायक क्लासिकटेक प्रालिले ‘सिटी ४५ फाइबर टु योर होम’ नामक योजना ल्याएको छ । एक हजार पाँच सय रुपियाँमा १५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउने कम्पनीले बताएको छ । त्यसैगरी सुविसु केबलनेट प्रालिले दोब्बर गतिमा इन्टरनेट सेवा चलाउन सकिने ‘डबल ब्यान्डविथ अफर’ ल्याएको छ । दुई सय ५६ किलोबाइट प्रतिसेकेन्डको इन्टरनेट सेवा लिने ग्राहकले पाँच सय १२ किलोबाइट प्रतिसेकेन्ड चलाउन सकिने कम्पनीले जनाएको छ ।
इन्टरनेट सेवा प्रदायकबीचको बढ्दो प्रतिस्पर्धाले ग्राहकलाई भने फाइदा पुर्‍याएको छ । प्रतिस्पर्धाले गर्दा कम्पनी सस्तोमा इन्टरनेट प्रदान गर्न आक्रामक रूपमा उत्रेका छन् । यसले ग्राहकको संख्या बढाउन पनि भूमिका खेलेको छ । प्राधिकरणका अनुसार अहिलेसम्म मुलुकभर ४२ कम्पनीले इन्टरनेट सेवा चलाउने अनुमति पाएका छन् । यसैगरी ६ वटा कम्पनीले ग्रामीण क्षेत्रमा इन्टरनेट चलाउने अनुमति लिएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार मोबाइलमै र मोबाइल एवं डाटा कार्डमार्फत प्रयोग गर्न मिल्ने जिपिआरएस, इजिजिई, डब्लुसिडिएमए र इभिडियो जस्ता सेवा प्रयोग गर्ने उपभोक्ता सबैभन्दा बढी छन् । सहज उपलब्धता र सस्तो भएका कारण यस्ता उपभोक्ता बढिरहेका छन् । जिपिआरएस, इजिजिइ र डब्लुसिडिएमएका ग्राहक मात्रै ५२ लाख ८५ हजार छन् ।
पछिल्ला वर्षमा टेलिफोनमा आधारित सेवा विस्तार गर्ने दूरसञ्चार कम्पनीसमेत इन्टरनेटमा केन्द्रित बन्दै गएका छन् । ०६५ सालमा नेपाल टेलिकमले फोन र इन्टरनेट एकैपटक प्रयोग गर्न मिल्ने एडिएसएल सेवा सुरु गरेको थियो पहिलोपटक । अहिले टेलिकमले थ्रिजी, इभिडियो, सिडिएमए तथा पछिल्लो पुस्ताको मानिने वाइम्याक्स इन्टरनेट समेत सुरु गरिसकेको छ । हाललाई वाइम्याक्स कर्पोरेट ग्राहकलाई मात्र उपलब्ध छ । सेवा विस्तारका दृष्टिले टेलिकमको इन्टरनेट सेवा लगभग देशभर नै फैलिएको छ । यसको एडिएसएल इन्टरनेट सेवा सबैभन्दा बढी रुचाइएको छ । यसका लागि ल्यान्डलाइन टेलिफोन आवश्यक पर्छ, तर इन्टरनेट प्रयोग गर्दा फोन अबरुद्ध हुँदैन । भोल्युम र मासिक दुवै आधारमा इन्टरनेट सेवा किन्न पाइन्छ । एक सय २८ देखि पाँच सय १२ एमबिपिएस गतिको इन्टरनेट टेलिकमले बेचिरहेको छ । एनसेलले थ्रिजीमार्फत इन्टरनेट सेवा प्रवद्र्धन गरिरहेको छ भने युनाइटेड टेलिकम (युटिएल) ले पनि सिडिएमएमा आधारित बेतारे इन्टरनेट चलाइरहेको छ ।
डेढ दशक अगाडि नेपाल भित्रिएको इन्टरेनट सेवा डायलअप प्रविधिबाट उच्च गतिको ब्रोडब्यान्डसम्म आइपुगेको छ । सन् १९९५ मा मर्कन्टाइल कम्युनिकेसनले डायलअप प्रविधिबाट नेपालमा इन्टरनेट सेवाको थालनी गरेको थियो । अहिले इन्टरनेट सञ्जाल कुनै न कुनै रूपमा देशभर फैलिसकेको छ ।

Monday, February 18, 2013

पर्यटक–पाहुना

लक्ष्मीप्रसाद खतिवडा
असल मुंग्रे केरा कि त मही हवस् बेस अमिलो
कि त सेता मूला कि त बरु हवस् साग उसको ।
असल हुन्थ्यो धुपमा नतर कसरी खानु यसरी
भुटी ल्यायौ थालमा मकइ तिमीले क्यान यसरी ।।
करिब एक सय ६० वर्षअगाडि आदिकवि भानुभक्त आचार्यले कतै घुम्न गएको बेला एउटा घरमा भुटेको मकै खान दिँदा यो श्लोक रचेका रहेछन् । काम विशेषले वा यत्तिकै घुम्न जाँदा नचिनेका मानिसका घरमा पाहुना लाग्ने नेपाली चलन पुरानै हो । साँझका पाहुना देउता समान हुन्छन् भन्ने हाम्रो सांस्कृतिक मान्यतालाई संसारमै उत्कृष्ट मानिन्छ ।
tourism
विशेषगरी ०५२ अघिसम्म नेपालका अधिकांश ठाउँमा जो जुन घरको दैलोमा पुगे पनि स्वागत पाउँथ्यो । घरबेटीको आत्मीय व्यवहार पाउँथ्यो । तर, माओवादी र राज्यको द्वन्द्व सुरु भएपछि यो संस्कार नै संकटमा पर्‍यो । कसैको घरमा पाहुना लाग्नु वा बास माग्नु असम्भवजस्तै भयो ।
द्वन्द्वको अन्त्यपछि बन्द भएका दैला अतिथि र आतिथ्यताका लागि पुन: खुल्न थालेका छन् । आफ्नो दैलोमा पाहुनाको स्वागत गर्न वर्तमान पुस्बता जुर्मुराएको छ । तर, फरक के छ भने पाहुना अब पर्यटक भएका छन्, आन्तरिक पर्यटक । गोरो छालालाई मात्र पर्यटक मान्ने धारणा कम गर्न अबको पुस्ता लागिपरेको छ । केचनाका नेपालीले पनि पर्यटक बनेर कालापानीको भ्रमण गर्न थालेका छन् । आफ्नै नागरिकलाई पराइ ठान्नुपर्ने अवस्थाको अन्त्य भएपछि आन्तरिक पर्यटकलाई स्वागत गर्न गाउँबासी आतुर छन् ।
पर्यटकका लागि गाउँ–गाउँमा पूर्वाधार बन्न थालेका छन् र त्यसमा स्थानीय जनताको सक्रियता बढेको छ । जिल्ला–जिल्ला र गाउँ–गाउँमा पर्यटन विकास समिति गठन हुने क्रम बढ्न थालेको छ । गाउँहरू पर्यटकमैत्री बन्न थालेका छन् ।
आफू बसेकै घरलाई पर्यटकीय प्रयोजनमा लगाएर केही आम्दानी गर्ने उद्देश्यसहित देशैभर होमस्टेको लहर चलेको छ । यसले पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढाएको छ । होमस्टेका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निश्चित मापदण्ड तोकेको छ । यसअनुसार सफा ओढ्ने/ओछ्याउने, पलङ, कुर्सी, टेबुल, डाइनिङ आदिको बन्दोबस्त गरेर आफ्नै घरमा होमस्टे चलाउन सकिन्छ । होमस्टेले गाउँघरमा पर्यटन पूर्वाधार बढाउनुका साथै स्थानीय रोजगारी, अर्थतन्त्र, कृषि र उद्यमलाई प्रवद्र्धन गर्ने तथा तथा नेपाली घरपरिवार, रहन–सहन, खानपान र आतिथ्यलाई चिनाउनुका साथै सांस्कृतिक, साहसिक, पर्यावरणीय आदि विभिन्न पर्यटकीय क्रियाकलापलाई एकै ठाउँमा जोड्न सक्छ । होमस्टेसँगै पर्यटकले स्थानीय संस्कृतिको आनन्द लिन सक्छन् । यसबाट आन्तरिक पर्यटक आकर्षित हुने सम्भावना त छ नै स्थानीयलाई पनि फाइदा पुगेको छ ।
त्यसो त सन् १९९८ मा मनाइएको नेपाल भ्रमण वर्षदेखि नै आन्तरिक पर्यटनको लहर सुरु भएको थियो । विदेशी पर्यटकको गाइड, पोर्टरभन्दा भिन्दै घुम्नकै लागि निस्कने नेपाली पनि बढेका थिए । देशैभर भएका महोत्सवले पनि आन्तरिक पर्यटनलाई सघाएका थिए । तर, द्वन्द्वसँगै आन्तरिक पर्यटकको चहलपहल स्वात्तै घट्यो ।
सबैभन्दा पहिले नेपालीले नै आफ्नो देश चिन्नुपर्छ, त्यसपछि मात्र अरूलाई चिनाउन सकिन्छ । विदेशीको मात्र भर परेर मात्र पर्यटन विकास हुँदैन’ भन्ने तथ्य बुझ्न थालेका छन् पर्यटन व्यवसायीले पनि । त्यसैले त उनीहरू आन्तरिक पर्यटक बढाउन लागिपरेका छन् । आन्तरिक पर्यटकलाई नै लक्षित गरेर प्याकेज बन्न थालेका छन् ।
पर्यटनको अवधारणा नआइसकेको भए पनि एक ठाउँका मानिस अर्को ठाउँमा जाने निकै पुरानो चलन हो । खुम्बुका बासिन्दा जाडो महिनामा हिउँ छल्न र जडीबुटी बेच्न तराई झर्थे । त्यस्तै, तराईका मानिस पनि व्यापारका लागि पहाड चढ्थे । रेस्टुरेन्टमा गएर खाने सहरिया जमात गाउँको संस्कृतिमा रमाउन होमस्टे बस्न चाहन्छ । संस्कृतिको पनि व्यवसायीकरण हुनथालेको छ ।
पाहुना देउता हुन् उनीहरूसँग पैसा लिनुहँुदैन भनेर आन्तरिक पर्यटन हँुदैन । पर्यटन सित्तैमा हुने कुरा होइन । कुनै आन्तरिक पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न चितवनमा हजाराँै खर्च गर्ने पर्यटकले गोरखाका मगरको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ ।
पर्यटक भएर कुनै ठाउँमा पुग्नु त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन प्राप्त गर्नु हो । घुम्न चाहने आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्न र आन्तरिक पर्यटन व्यवसाय गरेर पनि आम्दानी गर्न सकिन्छ भनेर बुझाउन अझै बाँकी छ । यसका लागि पर्याप्त प्रचार–प्रसारको खाँचो छ ।
पर्यटनमैत्री वातावरण बनाउने दिशामा होटल तथा आतिथ्य सत्कार क्षेत्रको गुणस्तरीय भौतिक पूर्वाधार तथा व्यवस्थापकीय क्षमताले पनि महत्त्वपूर्ण भूमिका खेल्छ । सँगसँगै ग्रामीण क्षेत्रमा स्थानीयको सक्रियता पनि आवश्यक छ । आतिथ्यता नेपालीको विशेषता हो । यसैलाई मन पराएर विदेशी आउँछन् । एक अनौपचारिक तथ्यांकअनुसार ७० प्रतिशतभन्दा बढी विदेशी पर्यटक नेपालको आतिथ्यता मन पराएर पुन: नेपाल घुम्न आउँछन् ।

मोबाइल क्रान्ति

लक्ष्मीप्रसाद खतिवडा
Laxmi-Prashad-Khatiwadaसहरी जनताको दैनिकी मोबाइलबाट सुरु भएर मोबाइलमै समाप्त हुने कुरा अब नयाँ रहेन । प्रविधिको विश्व छोप्ने पखेटा व्यक्तिको मुठीमा कैद हुनलागेको अवस्थामा सञ्चारको बहुप्रचलित माध्यम मोबाइलप्रति मानिसको झुम्याइ थामिनसक्नु छ । बिहान मोबाइलको अलार्मसँगै ब्युंझिने हाम्रो धेरै समय मोबाइलमा नै बित्ने गरेको पाइन्छ । अझ युवामा झन् मोबाइल सबैभन्दा प्यारो वस्तु र चर्चाको विषय बनेको छ । बजारमा आएको नयाँ मोडलको मोबाइल सेटको बखान होस् या भर्खरै प्राप्त एमएमएसको चर्चा आखिर साथीभाइको जमघटमा स्थान पाइनै हाल्छ मोबाइलले ।

हुन पनि पछिल्लो समयमा मोबाइल फोन बोक्नेको सख्या ह्वात्तै बढेको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मुलुकको टेलिघनत्व ७० प्रतिशत नाघिसकेको छ । कुल दूरसञ्चार प्रयोगकर्तामा मोबाइल प्रयोगकर्ताको सख्या सबैभन्दा बढी छ । करिब ६३ प्रतिशत नेपाली अहिले मोबाइल बोक्छन् । सेवाप्रदायक कम्पनीहरूले बेलाबेलामा ल्याउने स्किम र अफरले उपभोक्तालाई अझ हौस्याएको छ ।
मोबाइलमैत्री सरकारी नीति
समय र प्रविधिमा आएको परिवर्तनका कारण कुनै समयमा बिलासिताको साधनका रूपमा व्याख्या हुने मोबाइल फोन अहिले अत्यावश्यक नै बनिसकेको छ । मोबाइल आममानिसको अभिन्न अंग भइसकेकाले नै होला, सरकारले पनि मोबाइलमैत्री नीति लिएको छ– ‘घरघरमा इन्टरनेट हातहातमा मोबाइल’ । यही नीतिको अनुशरण गर्दै दूरसञ्चार कम्पनीहरू रात दुगुना दिन चौगुना ग्राहक थप्ने होडबाजीमा छन् । सेवाप्रदायक कम्पनीबीचको प्रतिस्पर्धा, सेवा शुल्कमा आएको गिरावट, मोबाइल सेटको मूल्यमा आएको गिरावट, सेवा विस्तारलगायत कारण ग्राहकको संख्यामा उच्च वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा दूरसञ्चार उपकरणको मूल्यमा आएको गिरावट तथा दूरसञ्चार कम्पनीले गरेको नेटवर्क विस्तारले पनि मोबाइलका उपभोक्ता वृद्धि हुन सघाएको छ ।
जिएसएमको दबदबा
सञ्चार क्षेत्रमा सबैभन्दा ठूलो स्थान जिएसएम मोबाइलको छ । तथ्यांकअनुसार यसको सञ्चार क्षेत्रमा ८० प्रतिशतभन्दा बढी हिस्सा छ । जिएसएममा सेवा प्रदायकबीच बढेको प्रतिस्पर्धा र आक्रामक बजार रणनीतिका कारण बजारको आकार एक वर्षमै ५० प्रतिशतले बढेको प्राधिकरणको तथ्यांक छ ।
गत वर्ष माघसम्म जिएसएम मोबाइल प्रयोगकर्ताको संख्या एक करोड २४ लाख रहेकोमा यस वर्षको माघमा एक करोड ५७ लाख ७५ हजार पुगेको छ । तीन वर्षभित्रमा सबै जनतामा दूरसञ्चार सेवा पुग्ने दाबी प्राधिकरणको छ ।
एघार वर्षअघि नेपाल टेलिकमले पहिलोपटक जिएसएम मोबाइल सेवा भित्र्याएको थियो । टेलिकमले मोबाइल सेवा सुरु गर्दा सामान्य व्यक्तिले यसलाई आँक्नै नसक्ने अवस्था थियो । टेलिकमबाट मोबाइल लिन ५८ हजार रुपियाँ तिर्नुपथ्र्यो । चाखलाग्दो कुरा त के हो भने ०५८ सालमा सरकारले घोषणा गरेको आयको स्वयंकर घोषणा गर्दा मोबाइल बोक्नेको पनि निगरानी गरेको थियो । त्यतिखेर मोबाइल बोक्ने धनीमा गनिन्थे तर अहिले ६० प्रतिशतभन्दा बढी नेपाली मोबाइल बोक्ने भइसकेका छन् ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रविधिको मोबाइल सेवा सञ्चालन गरिरहेको छ भने निजीक्षेत्रको एनसेलले सुरुदेखि नै जिएसएम प्रविधिमा सेवा विस्तार गरिरहेको छ । अहिले टेलिकमका ७७ लाख र एनसेलका ९० लाख मोबाइल ग्राहक छन् ।
चम्किदै मोबाइल सेटको व्यापार
पछिल्ला वर्षमा सेवाप्रदायकको आक्रामक बजार विस्तारसँगै मुलुकमा मोबाइल सेटको व्यापार पनि निकै फस्टाएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब साढे तीन अर्ब रुपियाँ बराबरका मोबाइल सेट आयात भइरहेका छन् । यो तथ्यांक वर्षैपिच्छे बढ्दो क्रममा छ । मोबाइलको बजार सरकारी तथ्यांकभन्दा बढी रहेको बिक्रेता बताउँछन् । एकतिहाई मोबाइल सेट भन्सारको दायराभन्दा बाहिरबाट आउने गरेको दाबी उनीहरूको छ ।
नेपाली उपभोक्ताको सोख र आवश्यकताका कारण मोबाइल बजारमा महँगा र अत्याधुनिक ब्रान्डको होड नै चलेको छ । विभिन्न ब्रान्डको बढ्दो उपस्थितिले मूल्यमा प्रतिस्पर्धा बढेको छ र त्यसबाट अन्तत: ग्राहकलाई नै फाइदा पुगेको छ । ग्राहक आकर्षित गर्न आकर्षक सोरुम र सुविधासम्पन्न सर्भिस सेन्टर खुल्ने क्रम पनि त्यत्तिकै छ ।
अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएका मोबाइल सेट केही दिनभित्रै नेपाली उपभोक्तामा आइपुग्छन् । विश्वबजारमा भित्रिने उपकरणमध्ये मोबाइल सेट नै सबैभन्दा छिटो नेपाली बजारमा भित्रिने उपकरण हो । नेपालमा मल्टिनेसनल मोबाइल कम्पनीका करिब डेढदर्जन आधिकारिक बिक्रेता छन् जसले दुई हजारदेखि एक लाख रुपियाँसम्मका मोबाइल सेट नेपाली बजारमा बिक्री गरिरहेका छन् ।
मोबाइलका ठूला ब्रान्ड बेच्ने कम्पनीले नेपालमा वार्षिक एक अर्ब रुपियाँभन्दा बढीको कारोबार गर्ने बताइन्छ । जिएसएम, सिडिएमए, थ्रिजीदेखि आइफोन र ब्ल्याकबेरीसम्म मोबाइल सेट नेपाली बजारमा उपलब्ध छन् । आधुनिक र महँगा मोबाइल भित्रिएसँगै यो बहुउपयोगी वस्तु भएको छ । मोबाइल कुराकानी गर्ने माध्यम मात्र रहेन । रेडियो सुन्न, टेलिभिजन हेर्न, समाचार पढ्न, तस्बिर भिडियो खिच्न तथा हेर्न र इन्टरनेट चलाउन मिल्ने मोबाइल भित्रिएसँगै यो मनोरञ्जनको साधनसमेत भएको छ । कुनैबेला उच्च ब्रान्डको घडी लगाएर सामाजिक प्रतिष्ठा देखाउनेहरू अहिले उच्च ब्रान्डका मल्टिफङ्क्सनयुक्त मोबाइल सेट बोक्छन् ।
सस्ताको सान
मोबाइलको बढ्दो संख्यासँगै चीनमा निर्मित सस्ता तर धेरै सुविधा भएका मोबाइल सेटको बजार पनि फैलिँदो छ । केहीअघिसम्म नोकिया, सामसुङ, मोटोरोला, एलजी, फिलिप्स, सोनी इरिक्सनजस्ता सीमित बहुराष्ट्रिय ब्रान्डको हालिमुहाली रहेको नेपाली बजारमा अहिले यिनलाई चिनियाँ र भारतीय ब्रान्डले चुनौती दिन थालेका छन् । नेपाली ग्राहकमा विकसित हँुदै गएको सस्तो मूल्यमा बढी सुविधा खोज्ने मनोविज्ञान क्यास गर्न नयाँ ब्रान्डहरू सफल पनि भइरहेका छन् । यो बजारलाई लक्षित गरेर तिनले ग्राहकमैत्री प्रवद्र्धन योजना र विज्ञापनमा ध्यान दिएका छन् । कुनै एउटा मात्र सेवाप्रदायकको सेवाको स्तर राम्रो नभएकाले डबल सिम मोबाइलको समेत निकै माग बढेको छ । भारतीय कम्पनीहरूले नेपाली बजारमा ल्याएका अधिकांश ब्रान्डमा डबल सिमको सुविधा छ ।

Tuesday, January 15, 2013

उड्डयन प्राधिकरणमा आफन्त भर्ति

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, २८ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देखि अधिकृतसम्मले प्राधिकरणमा आफ्ना मान्छे भर्ना गरेका छन् । महानिर्देशक त्रिरत्न मानन्धर र अन्य तिन जना वरिष्ठ अधिकृतहरुले प्राधिकरणमा आफन्त भर्ना गरेका हुन् । प्राधिकरणमा हालै महानिर्देशककी भतिजि तथा अन्य अधिकृतहरुका श्रीमती, छोरी र भतिजी स्थायी दरबन्दीमा नियुक्त भएका छन् ।
स्रोतका अनुसार मानन्धरले भतिजि लिजा मानन्धरलाई प्राधिकरणमा पाचौ तहको राजश्व अधिकृतमा भर्ना गराएका छन् । यसअघि उनलाई मानन्धरले नै त्रिभुवन विमानस्थलको महाप्रवन्धक हु“दा ज्यालादारीमा एनाउन्सरको जागिर लगाइदिएका थिए । पोखरा विमानस्थल प्रमुख प्रतापबाबु तिवारीकी श्रीमति रेणु रेग्मी पनि राजश्वतर्फ अधिकृत बनेकी छिन् । त्यस्तै प्राधिकरणका अर्का बरिष्ठ अधिकृत चूडाबहादुर खड्काकी श्रीमति मन्दिरा खड्का नायव सुब्बामा नियुक्त भएकी छिन् । परिक्षाको दिन खड्का आफैं गार्ड बसेका थिए । त्यस्तै अधिकृत टेकराज शर्मा वाग्लेकी छोरी सविता वाग्ले पनि प्राधिकरणमा भर्ना भएकी छिन् । 
प्राधिकरण स्रोतका अनुसार महानिर्देशक मानन्धरको निर्देशनमा प्रश्नपत्र निर्माण गर्दादेखि नै आफन्तलाई प्रश्नपत्र बा“ड्ने काम भएको थियो । यसमा प्रशासन प्रमबुख चन्द्रकान्ता पण्डितले मुख्य भूमिका खेलेका थिए । मानन्धर  पदपूर्ति समितिका अध्यक्ष र पण्डित सदस्य सचिव हुन् । प्रश्नपत्र पहिला नै दिएर मात्र प्रतिष्पर्धामा आउन नसकेपछि उत्तरपुस्तिका जाच्न पनि आफू निकटकालाई दिइएको बताइएको छ । 
उत्तरपुस्तिका परिक्षण त्रिभुवन विमानस्थलको महाप्रबन्धक भइसकेका लबेन्द्रमान शाक्य र प्राधिकरणमा उपमहानिर्देशक पदमा कार्यरत बासुदेव लाल श्रेष्ठले गरेका थिए । दुबै महानिर्देशक मानन्धरका निकटतम व्यक्ति रहेको दावी स्रोतको छ । उत्तरपुस्तिकामा पछि फेरि लेख्न लगाएर आफन्तलाई जागिर खुवाएको आरोप प्राधिकरणकै कतिपय कर्मचारीहरुको छ । प्रश्नपत्र बनाउने, परिक्षा गराउने र उत्तरपुस्तिका जा“च्ने सबै काम प्राधिकरण आफैंले गरेको थियो । कतिपय सार्वजनिक संस्थानले स्टाफ कलेज तथा लोकसेवा आयोगमार्फत् परिक्षा गराएर कर्मचारी भर्ना गर्छन् । 
प्राधिकरण अधिकारीहरुले अवैधानिक रुपमा आफन्त नियुक्ति गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । अख्तियारमा उजुरी परेपछि प्राधिकरणमा भएको सो स्थायी नियुक्ति विवादमा परेको छ । परिक्षामा सहभागी भएर अयोग्य हुन पुगेका उम्मेदवारहरुले प्राधिकरणका उच्च अधिकारीहरुले नातावाद भित्र्याएको आरोप लगाएका छन् । छनोट भएका अधिकांश प्राधिकरण कर्मचारीका आफन्त तथा परिवारकै सदस्य भएको भनाई उनीहरुको छ । यससम्बन्धमा राष्ट्रिय सतर्कता केन्दमा पनि उजुरी परेको छ । सतर्कता केन्द्रले छानविन थालेको बताइए पनि अख्तियारले भने कुनै चासो देखाएको छैन ।
चिनसग विवादास्पद सम्झौता
काठमाडौं । नेपाल वायुसेवा निगमका लागी अनुदानमा जहाज ल्याउने प्रक्रियाबारे टुंगो नलाग्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले चिनको नागरिक उड्डयन सम्बन्धि निकायसग ‘एयरवर्दिर्नेस’ सम्झौता गरेको छ । ऋण  सम्झौता नहुदै प्राधिकरणले हतारमा सम्झौता गरेको हो । यसअघि निगमले जहाज ल्याउने बाटो खुला गर्न एभिक इन्टरनेसनल कम्पनीस“ग कमसिर्यल सम्झौता मात्र गरेको छ । कमसिर्यल सम्झौतापछि मात्र दुई देशका सरकारी निकायविच एयरवर्र्दिनेस सम्झौता हुन्छ । 
यो सम्झौता गर्न विभिन्न समयमा निवर्तमान पर्यटन तथा नागरिक उड्डयन सचिव यज्ञप्रसाद गौतम, प्राधिकरण महानिर्देशक त्रिरत्न मानन्धर र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक तथा प्राधिकरण का नायब महानिर्देशक रतिशचन्द्र लाल सुमन चिन गएका थिए । सम्झौतापछि चीनको नागरिक उड्डयन निकायले जहाज सञ्चालनका प्राविधिक पक्ष र जहाजको एयरवर्दिनेस सम्बन्धी जिम्मेवारी लिने छ । चिनिया जहाज ल्याएपछि आवश्यक पर्ने सम्पूण सहयोगका विÈय सम्झौतामा समेटिएको प्राधिकरण को भनाई छ । सम्झौतामा प्राधिकरणको तर्फबाट नायब महानिर्देशक सुमन र चीनको तर्फबाट यी सिजुनले हस्ताक्षर गरेका छन् । जहाजको प्राविधिक पक्ष ठीक भएको र नेपाल उडाउन योग्य देखिएकाले सम्झौता भएको प्राधिरण अधिकारीहरुले बताएका छन् । चीनबाट ल्याइने जहाजमार्फत् निगमले आन्तरिक उडान विस्तार गर्ने योजना बनाएको छ । वाइ १२ इ दुर्गम तथा पहाडी क्षत्रका लागि र एम ए ६० ट्रंक रुटका लागी उपयुक्त जहाज हुन् ।

Monday, January 7, 2013

पर्यटक बढे, खर्च बढेन

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, २३ पुस । सन् ०१२ मा नेपाल आउने पर्यटक बढे पनि तिनले गर्ने खर्च भने बढ्न नसकेको व्यवसायीले बताएका छन् । पछिल्लो समय खर्च कटौती गर्ने पर्यटक मात्रै बढी आएकोमा उनीहरूको चिन्ता छ ।
तीन वर्षदेखि नेपाल आउने पर्यटकको संख्याले नयाँ रेकर्ड कायम गरे पनि आम्दानी भने बढ्न नसक्दा पर्यटनकर्मी सन्तुष्ट छैनन् । पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डले पर्यटक आगमन बढेकामा खुसी व्यक्त गरे पनि पर्यटन व्यवसायीले भने यसलाई उत्साहजनक रूपमा लिएका छैनन् ।
नेपाल आउने पर्यटकको बसाइ अवधि र तिनले गर्ने खर्चबारे आधिकारिक तथ्यांक आउन बाँकी छ तर पर्यटक आगमन वृद्धिको तुलनामा यो क्षेत्रबाट हुने आम्दानी भने नबढेको व्यवसायीले बताएका छन् । ट्ेरकिङ व्यवसायी मोहन लम्साल पर्यटकको संख्या बढे पनि खर्च बढी गर्ने गुणस्तरीय पर्यटक भने बढ्न नसकेको अनुभव सुनाउँछन् । ‘तुलनात्मक रूपमा बढी खर्च गर्ने युरोपियन तथा अमेरिकी पर्यटकको आगमन दर उत्साहजनक छैन,’ लम्सालले भने । नेपालको प्याकेज महँगो हुँदै गइरहेका कारण पर्यटकले विकल्प खोज्न थालेको उनको निष्कर्ष छ । भारत, चीन, भुटान, श्रीलंकालगायत मुलुकको तुलनामा नेपाली प्याकेज महँगो भएको व्यवसायीले बताउँदै आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपाल आउने कुल पर्यटकमध्ये २७ प्रतिशत युरोपियन र अमेरिकी ७ प्रतिशत छन् ।
सन् ०१२ मा विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै करिब ६ लाख पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । यो संख्या गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो । सन् ०११ मा साढे ५ लाख पर्यटक नेपाल आएका थिए ।
मुख्य बजार भारतबाट ०१२ मा एक लाख ६४ हजार ६ सय ८० पर्यटक आएका छन् । यो संख्या गत वर्षका तुलनामा १३ दशमलव ३ प्रतिशतले बढी हो । नेपाल आउने कुल पर्यटकमध्ये २७ दशमलव ५ प्रतिशत भारतीयले ओगटेका छन् । १६ हजार ३ सय बंगलादेशी पर्यटक आएका छन् भने पाकिस्तानबाट ४ हजार ८ सय आएका छन् । श्रीलंकाली पर्यटक भने एक हजार ९ सय मात्र आएका छन् । नेपाल आउने अधिकांश श्रीलंकाली पर्यटक स्थल मार्गबाट आउँछन् ।
पर्याप्त पूर्वतयारीविना मनाइएको पर्यटन वर्षले उत्साहजनक प्रतिफल दिन नसकेको सरोकारवालाको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचार–प्रसार नै हुन सकेन । पर्यटकको उद्गमस्थलसम्म नेपालको प्रचार–प्रसार गर्न बिबिसी, सिएनएनजस्ता प्रभावकारी सञ्चारमाध्यममा विज्ञापन गर्न सक्नुपथ्र्यो तर त्यो हुन सकेन,’ टानका महासचिवसमेत रहेका लम्सालले भने ।
सरकारले पर्यटकको संख्या बढाउने कुरामा मात्र जोड दिइरहेकामा व्यवसायी असहमत छन् । ‘पर्यटन बोर्ड पर्यटकको टाउको गन्नमै मक्ख छ, तिनले यहाँ आएर कति खर्च गर्छन् भन्नेमा कसैको ध्यान पुगेको छैन,’ एक ट्राभल व्यवसायीले भने । सन् ०११ मा राष्ट्रिय महत्त्वका साथ मनाइएको नेपाल पर्यटन वर्ष अभियानपछि पनि गुणस्तरीय पर्यटक बढ्न नसकेको उनको भनाइ छ ।
ठमेलका व्यापारी पनि धेरै ‘बार्गेनिङ’ गर्ने पर्यटक बढेको बताउँछन् । ‘हेर्ने पर्यटक मात्र बढेका छन्, किन्ने छैनन्,’ ठमेलमा क्युरियो पसल चलाउने अमृत श्रेष्ठले भने । अघिल्ला वर्षमा थोरै पर्यटक आए पनि कमाइ बढी भएको तर यो वर्ष पर्यटक बढेर पनि आम्दानी नबढेको उनको अनुभव छ ।
युरोप अमेरिकासम्म सिधा हवाई सम्पर्क नहुँदा त्यो क्षेत्रका पर्यटक बढ्न नसकेको नेपाल वायुसेवा निगमका वरिष्ठ निर्देशक प्रदीप कार्की बताउँछन् । निगमले युरोपका विभिन्न सहर र जापानसम्म उडान गर्दा त्यहाँबाट बढी पर्यटक आएको अनुभव उनको छ । ‘महँगो भाडा तिरेर ट्रान्जिटको झन्झट व्यहोर्दै पर्यटक आउन चाहँदैन,’ कार्कीले भने । नेपाल आउने पर्यटकको सबैभन्दा बढी खर्च हवाई यातायातमै हुनेगर्छ ।

Wednesday, January 2, 2013

६ लाख पर्यटक भित्रिए

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १८ पुस । सन् ०१२ मा विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै करिब ६ लाख पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो । सन् ०११ मा साढे ५ लाख पर्यटक नेपाल आएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाए अनुसार ०१२ को जनवरीदेखि डिसेम्बरसम्म ५ लाख ९८ हजार दुई सय चार पर्यटक विमानस्थल हुँदै नेपाल भित्रिएका छन् । गत वर्षभन्दा ५३ हजार बढी पर्यटक यो वर्ष नेपाल आएको कार्यालयको तथ्यांक छ ।
०१२ मा दक्षिण एसियाली मुलुकबाट नेपाल आउने पर्यटक १० दशमलव ४ प्रतिशतले बढेका छन् । गत वर्ष १ लाख ७० हजार १ सय ४५ पर्यटक सार्क मुलुकबाट आएकोमा यो वर्ष १ लाख ८७ हजार ८ सय ६५ पर्यटक आएका छन् । यो संख्या नेपाल आउने कुल पर्यटकको ३१ दशमलव ४ प्रतिशत हो ।
मुख्य बजार भारतबाट ०१२ मा १ लाख ६४ हजार ६ सय ८० पर्यटक आएका छन् । यो संख्या गत वर्षको तुलनामा १३ दशमलव ३ प्रतिशतले बढी हो । नेपाल आउने कुल पर्यटकमध्ये २७ दशमलव ५ प्रतिशत भारतीयले ओगटेका छन् । १६ हजार ३ सय बंगलादेशी पर्यटक आएका छन् भने पाकिस्तानबाट ४ हजार ८ सय आएका छन् । श्रीलंकाली पर्यटक भने १ हजार ९ सय मात्र आएका छन् । नेपाल आउने अधिकांश श्रीलंकाली पर्यटक स्थल मार्गबाट आउँछन् ।
सार्कबाहेक अन्य एसियाली मुलुकबाट वर्षभरिमा एक लाख २६ हजार नौ सय ४५ पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । गत वर्ष एसियाली मुलुकबाट १ लाख १० हजार दुई सय ८० पर्यटक नेपाल आएका थिए । नेपाल आउने पर्यटकमध्ये २१ प्रतिशत एसियाली मुलुकका छन् ।
एसियाली मुलुकमध्ये चीनबाट ५३ हजार तीन सय पर्यटक आएको तथ्यांक छ । यो संख्या ०११ को भन्दा १७.६ प्रतिशतले बढी हो । जापानबाट २४ हजार तीन सय, दक्षिण कोरियाबाट २८ हजार ५ सय र मलेसियाबाट १० हजार ४ सय पर्यटक नेपाल आएको तथ्यांक छ ।
त्यस्तै, युरोपियन मुलुकबाट एक लाख ६१ हजार पर्यटक आएका छन् । यो संख्या गत वर्षभन्दा ४ दशमलव ५ प्रतिशतले बढी हो । गत वर्ष युरोपबाट एक लाख ५४ हजार पर्यटक नेपाल आएका थिए । नेपाल आउने पर्यटकमध्ये २७ प्रतिशत युरोपियन छन् । युरोपियन मुलुकमध्ये बेलायतबाट ३५ हजार पाँच सय, जर्मनीबाट २४ हजार ५ सय, फ्रान्सबाट २४ हजार तथा इटलीबाट १२ हजार पर्यटक आएका छन् ।
उता अस्ट्रेलियाबाट १८ हजार ७ सय ५६ पर्यटक आएको तथ्यांक छ भने न्युजिल्यान्डबाट दुई हजार ८ सय पर्यटक आएका छन् ।
सन् ०१२ मा ४१ हजार नौ सय अमेरिकी पर्यटक आएका छन् । गत वर्ष यो संख्या ३७ हजार आठ सय थियो । यसबाहेक अन्य मुलुकबाट ०१२ मा ४७ हजार ६ सय पर्यटक नेपाल आएका छन् । सन् ०११ मा राष्ट्रिय महत्त्वका साथ मनाइएको नेपाल पर्यटन वर्षका बाबजुद पर्यटक आगमन उत्साहजनक भने नभएको व्यवसायीले बताएका छन् ।
०१२ को अन्तिम महिना डिसेम्बरमा भने विभिन्न मुलुकबाट ४४ हजार सात सय पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षभन्दा २ दशमलव ४ प्रतिशतले बढी हो । डिसेम्बर महिनामा सार्क मुलुकबाट १३ हजार, सार्कबाहेक अन्य एसियाली मुलुकबाट १३ हजार ४ सय, युरोपियन मुलुकबाट ८ हजार ४ सय र अमेरिकाबाट २ हजार नौ सय पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । ०१२ मा त्रिभुवन विमानस्थलबाट कुल ६ लाख ८८ हजार ५ सय ६६ पर्यट क बाहिरिएका छन् ।
विश्वभर एक अर्ब पर्यटकसंयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) का अनुसार अन्तर्राष्ट्रिय पर्यटक आवतजावतको संख्या एक अर्बभन्दा बढी छ । यो संख्या अहिलेसम्मकै बढी हो । विज्ञका अनुसार पर्यटन क्षेत्रले हरेक १२ मध्ये एकजनालाई रोजगारी दिएको युएनडब्लुटिओको दाबी छ । पर्यटन क्षेत्रले विश्वको सेवा क्षेत्र ३० प्रतिशत आगेटेको छ । सन् ०१३ मा २ देखि ४ प्रतिशतसम्म पर्यटक आवतजावत बढ्ने प्रक्षेपण युएनडब्लुटिओले गरेको छ ।

Tuesday, January 1, 2013

सैँतीस लाखद्वारा हवाई सेवा उपयोग

सौर्य समाचार
काठमाडौ, १७ पुस । सन् ०१२ को पहिलो १० महिनामा करिब ३७ लाखले हवाई सेवाको उपभोग गरेका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी ३६ लाख ८७ हजारले हवाई सेवा उपभोग गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई यातायात प्रयोगकर्ताको गत वर्षका तुलनामा करिब ८ प्रतिशतले वृद्धि भएको छ । गत दश महिनामा करिब २३ लाख ६८ हजार अन्तर्राष्ट्रिय उडानका हवाई यात्रु र १३ लाख १९ हजार आन्तरिक उडानका हवाई यात्रु रहेको प्राधिकरणले जानकारी दिएको छ । सन् ०१२ मा ५.८ प्रतिशतले हवाई यात्रु वृद्धि हुने प्रक्षेपण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय हवाई ट्राफिक आवागमनको स्थिति आइकाओको प्रक्षेपणभन्दा बढी रहेको देखिएको छ । नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको संख्या ३६ पुगेको छ र यसबाट वार्षिक दुईतर्फी ५७ लाख ६ सय ५६ हवाई सिट उपलब्ध भएको छ । हाल सञ्चालनमा रहेका वायुसेवाले कुल उपलब्ध हवाई सिटको ४४.७ प्रतिशत सिट मात्र उपभोग गर्न सकेको अवस्था । यसमध्ये नेपाली वायु सेवा प्रदायक सस्थाले ६.३ प्रतिशत मात्र सिट उपभोग गरेका छन् । तीनवटा स्वदेशी र २६ वटा विदेशी विमान कम्पनीले १९ मुलुकका २४ वटा गन्तव्यमा सेवा सञ्चालन गरिरहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणको चौधौँ वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइएअनुसार हालसम्म ७२ वटा वायुसेवा कम्पनीलाई एयर अपरेटर सर्टिफिकेट (एओसी) प्रदान गरिएकामा ३३ वटाको रद्द भइसकेको छ । ३७ वटा वायुसेवा कम्पनी मात्र हाल सञ्चालनमा छन् । यसमध्ये १० वटा फिक्स्ड विङ, ५ वटा हेलिकोप्टर तथा १८ वटा एभिएसन स्पोर्टस छन् । प्राधिकरण महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार सोमबारदेखि नयाँ हवाई खेलकुद नियमवालीसमेत लागू भएको छ ।
प्राधिकरणले आर्थिक वर्ष ०६७/६८ मा ३ अर्ब १४ लाख रुपियाँ आम्दानी गरेको वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो । यो गत वर्षभन्दा २२.९६ प्रतिशतले बढी हो । आव ०६९/७० का लागि ३ अर्ब २ लाख रुपियाँ आम्दानी प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले नेपालको हवाई क्षेत्रको विकास र विस्तारका लागि सरकारले दीर्घकालीन योजना अगाडि बढाएको बताए । हवाई क्षेत्रको विकास र विस्तारका लागि प्राधिकरणले खेलेको भूमिकाको प्रशंसा मन्त्री बोगटीले गरे । मन्त्रालयका निमित्त सचिव रञ्जनकृष्ण अर्यालले पुराना योजनाभन्दा पनि जनता र व्यवसाय केन्द्रित योजना बनाएर लाग्नुपर्नेमा जोड दिए ।