Wednesday, January 2, 2013

६ लाख पर्यटक भित्रिए

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १८ पुस । सन् ०१२ मा विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै करिब ६ लाख पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो । सन् ०११ मा साढे ५ लाख पर्यटक नेपाल आएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाए अनुसार ०१२ को जनवरीदेखि डिसेम्बरसम्म ५ लाख ९८ हजार दुई सय चार पर्यटक विमानस्थल हुँदै नेपाल भित्रिएका छन् । गत वर्षभन्दा ५३ हजार बढी पर्यटक यो वर्ष नेपाल आएको कार्यालयको तथ्यांक छ ।
०१२ मा दक्षिण एसियाली मुलुकबाट नेपाल आउने पर्यटक १० दशमलव ४ प्रतिशतले बढेका छन् । गत वर्ष १ लाख ७० हजार १ सय ४५ पर्यटक सार्क मुलुकबाट आएकोमा यो वर्ष १ लाख ८७ हजार ८ सय ६५ पर्यटक आएका छन् । यो संख्या नेपाल आउने कुल पर्यटकको ३१ दशमलव ४ प्रतिशत हो ।
मुख्य बजार भारतबाट ०१२ मा १ लाख ६४ हजार ६ सय ८० पर्यटक आएका छन् । यो संख्या गत वर्षको तुलनामा १३ दशमलव ३ प्रतिशतले बढी हो । नेपाल आउने कुल पर्यटकमध्ये २७ दशमलव ५ प्रतिशत भारतीयले ओगटेका छन् । १६ हजार ३ सय बंगलादेशी पर्यटक आएका छन् भने पाकिस्तानबाट ४ हजार ८ सय आएका छन् । श्रीलंकाली पर्यटक भने १ हजार ९ सय मात्र आएका छन् । नेपाल आउने अधिकांश श्रीलंकाली पर्यटक स्थल मार्गबाट आउँछन् ।
सार्कबाहेक अन्य एसियाली मुलुकबाट वर्षभरिमा एक लाख २६ हजार नौ सय ४५ पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । गत वर्ष एसियाली मुलुकबाट १ लाख १० हजार दुई सय ८० पर्यटक नेपाल आएका थिए । नेपाल आउने पर्यटकमध्ये २१ प्रतिशत एसियाली मुलुकका छन् ।
एसियाली मुलुकमध्ये चीनबाट ५३ हजार तीन सय पर्यटक आएको तथ्यांक छ । यो संख्या ०११ को भन्दा १७.६ प्रतिशतले बढी हो । जापानबाट २४ हजार तीन सय, दक्षिण कोरियाबाट २८ हजार ५ सय र मलेसियाबाट १० हजार ४ सय पर्यटक नेपाल आएको तथ्यांक छ ।
त्यस्तै, युरोपियन मुलुकबाट एक लाख ६१ हजार पर्यटक आएका छन् । यो संख्या गत वर्षभन्दा ४ दशमलव ५ प्रतिशतले बढी हो । गत वर्ष युरोपबाट एक लाख ५४ हजार पर्यटक नेपाल आएका थिए । नेपाल आउने पर्यटकमध्ये २७ प्रतिशत युरोपियन छन् । युरोपियन मुलुकमध्ये बेलायतबाट ३५ हजार पाँच सय, जर्मनीबाट २४ हजार ५ सय, फ्रान्सबाट २४ हजार तथा इटलीबाट १२ हजार पर्यटक आएका छन् ।
उता अस्ट्रेलियाबाट १८ हजार ७ सय ५६ पर्यटक आएको तथ्यांक छ भने न्युजिल्यान्डबाट दुई हजार ८ सय पर्यटक आएका छन् ।
सन् ०१२ मा ४१ हजार नौ सय अमेरिकी पर्यटक आएका छन् । गत वर्ष यो संख्या ३७ हजार आठ सय थियो । यसबाहेक अन्य मुलुकबाट ०१२ मा ४७ हजार ६ सय पर्यटक नेपाल आएका छन् । सन् ०११ मा राष्ट्रिय महत्त्वका साथ मनाइएको नेपाल पर्यटन वर्षका बाबजुद पर्यटक आगमन उत्साहजनक भने नभएको व्यवसायीले बताएका छन् ।
०१२ को अन्तिम महिना डिसेम्बरमा भने विभिन्न मुलुकबाट ४४ हजार सात सय पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षभन्दा २ दशमलव ४ प्रतिशतले बढी हो । डिसेम्बर महिनामा सार्क मुलुकबाट १३ हजार, सार्कबाहेक अन्य एसियाली मुलुकबाट १३ हजार ४ सय, युरोपियन मुलुकबाट ८ हजार ४ सय र अमेरिकाबाट २ हजार नौ सय पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । ०१२ मा त्रिभुवन विमानस्थलबाट कुल ६ लाख ८८ हजार ५ सय ६६ पर्यट क बाहिरिएका छन् ।
विश्वभर एक अर्ब पर्यटकसंयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) का अनुसार अन्तर्राष्ट्रिय पर्यटक आवतजावतको संख्या एक अर्बभन्दा बढी छ । यो संख्या अहिलेसम्मकै बढी हो । विज्ञका अनुसार पर्यटन क्षेत्रले हरेक १२ मध्ये एकजनालाई रोजगारी दिएको युएनडब्लुटिओको दाबी छ । पर्यटन क्षेत्रले विश्वको सेवा क्षेत्र ३० प्रतिशत आगेटेको छ । सन् ०१३ मा २ देखि ४ प्रतिशतसम्म पर्यटक आवतजावत बढ्ने प्रक्षेपण युएनडब्लुटिओले गरेको छ ।

No comments:

Post a Comment