Wednesday, August 10, 2011

विकास निर्माणमा बुद्ध एयरको सहयोग


लक्ष्मीप्रसाद खतिवडा\नया पत्रिका
मोरङ, २४ साउन
जिल्लाको मोरङको डागीहाट गाविसका युवा विकास निर्माणमा जुटेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सहयोग गरेपछि विकासमा निर्माणमा युवा सक्रिया बढेको हो ।
गाविसको विकासका लागि उनीहरुले गत वर्ष डागीहाट विकास निर्माण समिति गठन गरेका छन् । समितिमार्फत युवाले विद्यालयमा पुस्तकालय, शौचालय, विज्ञान प्रयोगशाला तथा अन्य आवश्यक सामग्री खरिद गरेका छन् ।
बुद्ध एयरले आव ०६७\६८ मा डागीहाट विकासका लागि १५ लाख रुपैया प्रदान गरेको छ । तीन किस्तामा उपलब्ध रकमबाट शिक्षा, सडक निर्माण तथा अन्य सामाजिक काम गरिएको डागीहाट विकास निर्माण समितिका अध्यक्ष शालिकराम बस्नेतले जानकारी दिए । सहयोगस्वरुप प्राप्त रकम सदुपयोग गरेको दावी गर्दै बस्नेतले स्थानीय उत्साही भई श्रमदान गरिरहेको बताए । गाविसका ९ वटै वडा समेटेर निर्माण समिति गठन गरिएको छ । बुद्ध एयरले उपलब्ध गराउने रकममा स्थानीयले ४० प्रतिशत थप गर्छन् ।
बुद्ध एयरले मानव संशाधन विकास कोषबाट डागिहाटको विकासका लागी रकम उपलब्ध गराउदै आएको कोषका प्रमुख खगेन्द्र बस्नेतले जानकारी दिए । सरकारको मात्र मुख नताकी स्थानीय आफै विकास निर्माणमा जुटेको उनले बताए ।
राजनीतिक दलका स्थानीय नेताले पनि विकास निर्माणमा साथ र सहयोग गरेका छन् । एकीकृत नेकपा माओवादीका स्थानीय नेता तोयानाथ गौतमले डागीहाटमा व्यवस्थित विकास सुरु भएकाले उपभोक्ताले कामको मूल्यांकन गरिरहेको बताए । ‘विकास निर्माणमा दलहरु विभाजित छैनन्’ सापकोटाले भने ।
बुद्ध एयरको सहयोगबाट स्थानीय विद्यालय सञ्चालक पनि सन्तुष्ट छन् । लक्ष्मी उच्चमावि लक्ष्मीमार्गका प्रिन्सिपल हरिनारायण चौधरीले डागीहाट विकास निर्माण समिति यस क्षेत्रकै नमुना भएकाले शिक्षाको विकासलाई महत्व दिनुपर्ने बताए । निर्माण समितिबाट भएका काम प्रभावकारी भएको अनुभव उनले सुनाए । डा“गीहाट गाविसमा २१ विद्यालय छन् ।
बुद्ध एयरले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डागीहाट गाविसलाई सहयोग गर्दै आएको छ । कम्पनीले गरेको सहयोग कार्यान्वयन अवलोकन गर्न मंगलवार डागीहाट पुगेका बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले निर्माण समितिको काम मूल्यांकन गरी सहयोग रकम थप्नेबारे निर्णय गरिने बताए । चालू आव ०६८\६९ मा पनि डागीहाटको विकासका लागी १५ लाख रुपैया प्रदान गरिने घोषणा बस्नेतले गरे ।
प्रबन्ध निर्देशक बस्नेत तथा पत्रकारको टोलीले सिएसआरमार्फत गरिएका कामको अवलोकन गरेको थियो । कम्पनीले गरेको सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोग रकमबाट पारदर्शी काम भए नभएको अवलोकन गर्न पत्रकारलाई स्थानीय क्षेत्रमै पु¥याइएको बस्नेतले बताए । ‘हाम्रो सहयोगको उचित कार्यान्वयन होस् भन्ने कम्पनीको उद्देश्य हो’, उनले भने ।
निर्माण समितिले गत आवमा काली उच्चमाविमा पुस्तकालय तथा विज्ञान प्रयोगशाला, एकता प्राविका लागि जग्गा खरिद, ज्ञानोपार्जन प्राविका लागि कम्पाउन्ड निर्माण, रणपान निमाविका लागि गेट निर्माण, तथा लक्ष्मी उच्चमाविका लागि पुस्तकालय निर्माण गरेको छ ।
त्यस्तै, समितिले गाविसका विभिन्न वडामा १७ वटा सार्वजनिक शौचालय निर्माण गरेको निर्माण समितिले जानकारी दिएको छ । त्यसका लागि स्थानीयले २ लाख १५ हजार रुपैया जनश्रमदान गरेका छन् । स्थानीय रोजगारी अभावमा विदेशिने परम्परा रहेको डागीहाटमा रहेका बेरोजगार युवालाई स्थानीय प्राकृतिक सम्पदाको संरक्षण तथा विकासमा सहयोग पुग्नुका साथै बेरोजगारी तथा अर्धबेरोजगार स्थानीय युवाको काम थप प्रभावकारी बनाउन बुद्ध एयरले सहयोग गरेको हो । त्यस्तो सहयोगले युवा विदेसिने क्रम रोकिनुका साथै गाउ“को विकासमा समेत टेवा पुग्ने अपेक्षा कम्पनीले लिएको छ । अन्य विमान कम्पनीले सिएसआरअन्तर्गत विभिन्न संघसंस्थालाई रकम उपलब्ध गराए पनि त्यसको कार्यान्वयनको अनुगमन गर्दैनन् ।

No comments:

Post a Comment