Friday, August 26, 2011

४६ प्रतिशतमा दू्रसञ्चारको पहुँच


प्राधिकरणको तथ्यांकअनुसार सेवाप्रदायकमध्ये सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच जिएसएम प्रविधिमा कडा प्रतिस्पर्धा देखिएको छ

काठमाडौं/ नेपालमा दूरसञ्चार सेवाको पहुँच ४६ प्रतिशत पुगेको छ । सेवाप्रदायकबीच बढेको प्र्रतिस्पर्धा, घट्दो शुल्क तथा नेटवर्क विस्तारका कारण टेलिघनत्व बढेको हो ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष ०६७/६८ अन्त्यसम्ममा कुल दूरसञ्चार उपभोक्ता १ करोड ३१ लाख ६३ हजार ६ सय ४९ पुगेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार सेवाप्रदायकमध्ये सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच जिएसएम प्रविधिमा कडा प्रतिस्पर्धा देखिएको छ । असार मसान्तसम्ममा नेपाल टेलिकमका ग्राहक ६७ लाख ४३ हजार ९ सय ७६ पुगेका छन् । त्यस्तै, टेलिकमलाई पछ्याइरहेको एनसेलले ग्राहक संख्या ५६ लाख १९ हजार २ सय २४ पुर्‍याएको छ । गत आवमा टेलिघनत्व १४.२ प्रतिशत बढेको प्राधिकरणले जनाएको छ । कुल उपभोक्तामध्ये मोबाइल उपभोक्ता मात्र ४०.५९ प्रतिशत छन् ।

मोबाइल सेवा विस्तार उत्साहजनक देखिए पनि आधारभूत टेलिफोन विस्तार भने सुस्त छ । ल्यान्डलाइनका उपभोक्ता भने करिब ३ प्रतिशत मात्र छन् । अन्य सेवा प्रयोग गर्ने २.५२ प्रतिशत छन् ।

अन्य सेवाप्रदायकमा युटिएलका ५ लाख ७३ हजार ६ सय २९, एसटिएमका ५ हजार २ सय २४, स्मार्टका १ लाख २८ हजार ३ सय ९८ र नेपाल स्याटेलाइटका ९१ हजार ४ सय ३५ पुगेका छन् । असार मसान्तसम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या १०.८९ प्रतिशत बढेर ३ लाख ११ हजार १ सय ८५ पुगेका छन् ।

०६७ असार मसान्तदेखि ०६८ असार मसान्तसम्मको एकवर्षे अवधिमा सेवाप्रदायकले ४ लाख २३ हजार उपभोक्ता थपेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तो संख्या अघिल्लो आवको तुलनामा ६१ प्रतिशत बढी हो । सोही आवमा २ लाख ६२ हजार दूरसञ्चार उपभोक्ता थपिएका थिए ।

सबैभन्दा ठूलो बजार हिस्सा ओगट्दै आएको नेपाल टेलिकमको गत आवमा ५१ प्रतिशतमा झरेको छ भने एनसेलकोे बजार हिस्सा अहिले ४३ प्रतिशत पुगेको छ । बजार हिस्सा बढाउन टेलिकमले चालू आवमा १० करोड लाइन जिएसएम र थि्रजी लाइन थप्ने योजना सार्वजनिक गरेको छ । योजना सन् २०१५ को अन्त्यसम्ममा पूरा हुने बताइएको छ । त्यस्तै, एनसेलले पनि सन् २०११ मा क्षमता विस्तारमा ७ अर्ब रुपैयाँ लगानीको घोषणा गरेको छ ।

No comments:

Post a Comment