Friday, August 19, 2011

त्रिभुवन विमानस्थल सुधार्न डेढ अर्ब प्रस्ताव


नया पत्रिका
काठमाडौं, १ भदौ
नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको पूर्वाधार विकासका लागि डेढ अर्ब रुपैया प्रस्ताव गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०६८\६९ का लागि सो रकम सञ्चालक समितिमा प्रस्ताव गरेको हो ।
विमानस्थलको प्रशासनिक तथा भौतिक विकासका लागि बजेट प्रस्ताव गरिएको हो । प्राधिकरण व्यवस्थापनले प्रस्ताव गरेको बजेट सञ्चालक समितिले पारित गर्नुपर्छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष पर्यटनमन्त्री रहने व्यवस्था छ । मन्त्री कामचलाउ भएका कारण बजेट पारित हुन नसकेको बताइएको छ ।
चालू आवको बजेटमा हवाई क्षेत्रको पूर्वाधार विकासलाई दृष्टिगत गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुणात्मक सुधार गरिने उल्लेख छ । प्राधिकरणको कुल बजेटमध्ये सबैभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खर्च हुने गरेको छ । प्राधिकरणको करिब ९० प्रतिशत आम्दानीको स्रोत पनि त्रिवि विमानस्थल हो ।
चालू आवमा यात्रु व्यवस्थापनका लागि नया प्रणाली जडान गर्ने योजना त्रिभुवन विमानस्थलको छ । ‘टिआइएका लागि ट्राफिकभन्दा बढी चुनौती यात्रु व्यवस्थापनको हो, त्यसका लागि प्रयास भइरहेका छन्,’ विमानस्थल महाप्रबन्धक रतिश्चन्द्रलाल सुमनले भने । यात्रु व्यवस्थापनका लागि कमन युजर टर्मिनल इक्युपमेन्ट (क्युट) प्रणाली लागू गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
क्युट प्रणालीबाट यात्रुको चेक–इन सहज र छिटो हुने भनाइ उनको छ । क्युट लागू भएपछि यात्रुले जुनसुकै विमान कम्पनीको काउन्टरमा पनि चेक–इन गर्न सक्नेछन् । यात्रुले बोर्डिङ पास चेक गराउन समय खर्चनुपर्ने छैन ।
क्युट प्रणाली लागू गर्न राष्टिय ध्वजावाहक नेवानिबाहेक २६ वटै विमान कम्पनीले सहमति जनाइसकेका छन् । निगमले भने त्यस्तो सेवा ग्राउन्ड ह्यान्डलिङ अन्तर्गत पर्ने भन्दै विरोध गरेको छ । क्युट प्रणालीका लागि १० देखि १५ करोड लगानी हुने बताइएको छ । त्यसका लागि प्राधिकरणले सीता एन्ड कम्युनिकेसनलाई जिम्मेवारी दिएको छ । यात्रु व्यवस्थापनका लागि क्रमशः नया सिस्टम लागू गरिने विमानस्थल व्यवस्थापनले जनाएको छ ।
सहज रूपमा जहाज अवतरणका लागि पनि विमानस्थलले नया प्रविधि प्रयोगमा ल्याउने तयारी गरिरहेको छ । ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स विद अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) नामक प्रविधि पूर्णरुपमा स्याटेलाइटबाट सञ्चालन हुन्छ । प्रविधि लागू भएपछि जहाज अवतरण् गर्न थप सहज भई सुरक्षा बढ्ने उनले जानकारी दिए ।
एयर ट्राफिक कन्ट्रोलरका अनुसार प्रविधिबाट मौसम खराब भएका वेला पनि जहाज अवतरण गराउन सकिन्छ र अवतरण् समय पनि कम लाग्छ । प्राधिकरण् युरोपेली जहाज निर्माता कम्पनी एयरबस र कतार एयरवेजको सहकार्यमा नया प्रविधि प्रयोगमा ल्याउन लागिएको हो ।
आरएनपी–एआर प्रविधि जडान भएपछि राति समयमा पनि जहाज अवतरण गर्न सक्ने भएकाले नेपालमा उडान भर्न चाहने नया विमान कम्पनीलाई रातिको समय दिइने प्राधिकरणले जनाएको छ । धेरैजसो विमान दिउसो आउने भएकाले विमानस्थलमा एकैपटक यात्रुको बढी चाप हुने गर्छ ।
प्राधिकरणले टिआइएसहित मुलुकभरका विमानस्थलका लागि चालू आवमा ५ अर्ब ५९ करोड रुपैयाको बजेट प्रस्ताव गरेको छ । प्राधिकरणले प्रस्ताव गरेको बजेट आव ०६७\६८ कोभन्दा करिब ६० करोड बढी हो । त्यसमा प्रशासनिक खर्चसमेत समावेश गरिएको छ । प्राधिकरणको कुल बजेटमध्ये एक तिहाइ प्रशासनिक काममा खर्च हुने गरेको छ । प्राधिकरण मातहत करिब १ हजार कर्मचारी छन् ।
सरकारले बजेटमार्फत जनकपुर र सुर्खेत विमानस्थललाई पनि क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्ने योजना अघि सारे पनि त्यसका लागि पर्याप्त बजेट छुट्ट्याउन नसकिने प्राधिकरणले जनाएको छ । भैरहवास्थित गौतमबुद्ध र पोखरा विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने सरकारको पुरानै योजना हो । यसअघिका पर्यटनमन्त्री शरतसिंह भण्डारीले आफ्नो गृह जिल्ला नजिक पर्ने जनकपुर विमानस्थललाई क्षेत्रिय बनाउने घोषणा गरेका थिए भने हालका पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माको गृहजिल्ला जाजरकोट भए पनि आफ्नो क्षेत्रमा पर्ने सुर्खेतलाई क्षेत्रिय विमानस्थल बनाउने योजना अघि सारेका छन् ।
विराटनगर, नेपालगन्ज र धनगढी विमानस्थललाई पनि क्षेत्रिय हब विमानस्थलका रूपमा विकास गर्ने सरकारको योजना छ । त्यस्तै, कर्णाली अञ्चललगायत दुर्गम क्षेत्रमा हवाई यातायात नियमित र जनताको पहुचमा पुयाउन ती क्षेत्रका विमानस्थललाई आधुनिक प्रविधियुक्त बनाइने बजेटमा उल्लेख छ । मुलुकभर सञ्चालन भइरहेका र निर्माण्धीन विमानस्थलको क्रमशः स्तरोन्नति र निर्माण् सम्पन्न गर्दै लैजाने सरकारको योजना छ । तर, विमानस्थल निर्माण र सञ्चालन गर्ने प्राधिकरणले सरकारको योजनाअनुसार काम गर्न बजेट अभाव हुने बताउदै आएको छ ।

No comments:

Post a Comment