Wednesday, August 17, 2011

त्रिभुवन विमानस्थलको वाषिर्क आम्दानी २ अर्ब ६३ करोड


नयाँ पत्रिका

काठमाडौं, ३१ साउन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष ०६७/६८ मा २ अर्ब ६३ करोड ४३ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ । विमानस्थलले एरोनेटिकल र नन्एरोनेटिकलमा सो आम्दानी गरेको हो ।

यो आम्दानी अघिल्लो आवको तुलनामा २३ करोड ५३ लाख रुपैयाँले बढी हो । आव ०६६/६७ मा विमानस्थलले २ अर्ब ३९ करोड ९० लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको थियो । यात्रुको चापसँगै नेपाल आउने विदेशी विमान कम्पनीको संख्या बढ्नु तथा तथा बाँकी बक्यौता असुल हुनुजस्ता कारणले आम्दानी बढेको विमानस्थल व्यवस्थापनले जनाएको छ । 'एरोनेटिकल र नन्एरोनेटिकल दुवैको आम्दानी बढेको छ,' विमानस्थल महाप्रवन्धक रतिश चन्द्रलाल सुमनले भने । यात्रु सेवा शुल्क, नेभिगेसन, पार्किङ शुल्क तथा ग्राउन्ड हयान्डलिङबाट हुने आम्दानी बढेको उनले बताए ।

अवतरण दस्तुर, सुरक्षा दस्तुर, कार्गो आदिबाट हुने आम्दानी भने घटेको छ । विदेशी उडान संख्या बढे पनि साना जहाज आउने गरेकाले आम्दानी बढ्न नसकेको महाप्रबन्धक सुमनको भनाइ छ । विमानस्थलले तौलको आधारमा विमान कम्पनीसँग अवतरण शुल्क लिन्छ । सुक्खा बन्दरगाह निर्माण भएका कारण एयर कार्गोमा समेत कमी आएको छ । विगत ३/४ वर्षदेखि एयर कार्गोबाट हुने आम्दानी घटिरहेको विमानस्थलले जनाएको छ ।

ग्राउन्ड हयान्डलिङबाट गत आवमा १८ करोड ५० लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको विमानस्थलले जनाएको छ । नेपाल वायुसेवा निगमले ग्राउन्ड हयान्डलिङबाट हुने कुल आम्दानीको १० प्रतिशत रकम विमानस्थललाई बुझाउनुपर्छ । यसअघि नाफाको १० प्रतिशत पाउने गरेकोमा आव ०६७/६८ देखि कुल कारोबारको १० प्रतिशत पाउने सहमति भएको महाप्रबन्धक सुमनले बताए । आव ०६६/६७ मा विमानस्थलले ग्राउन्ड हयान्डलिङबाट ५ करोड ७७ लाख १६ हजार आम्दानी गरेको थियो । नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड हयान्डलिङको जिम्मेवारी आफैँले पाउनुपर्ने माग गर्दै आएको छ ।

विमानस्थलले यात्रु सेवा शुल्कबाट हुने आम्दानीसमेत बढेको जनाएको छ । विमानस्थल प्रशासनले गत साउन १ गते देखि लागू हुने गरी आन्तरिक सेवामा ३० रुपैयाँ बढाएर यात्रु सेवा शुल्क २ सय रुपैयाँ बनाएको छ । यसअघि यो शुल्क १ सय ७० रुपैयाँ थियो । शुल्क वृद्धिबाट एक वर्षमा ३ करोड रुपैयाँ बढी आम्दानी हुने अनुमान विमानस्थलको छ । यात्रुहरूले भने सेवा सुविधा नबढाई शुल्क मात्र बढाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

अन्तर्राष्ट्रियतर्फ भने सार्क मुलुकका लागि ७ सय ९१ र तेस्रो मुलुकका लागि ११ सय रुपैयाँ यात्रु सेवा शुल्क तिर्नुपर्छ । सरकारको अनुरोधमा अन्तर्राष्ट्रियतर्फको सेवा शुल्क भने बढाइएको छैन । विमानस्थलको तथ्यांकअनुसार सन् २०१० मा आन्तरिकतर्फ १३ लाख र अन्तर्राष्ट्रियतर्फ २७ लाख यात्रुको आवत-जावत भएको छ ।

विमान पार्किङबाट विमानस्थलले गत आवमा ७ करोड ६ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको थियो । आव ०६६/६७ मा यो आम्दानी १ करोड १७ लाख रुपैयाँ थियो । विमानस्थलले दैनिक सरदर ७२ लाख १७ हजार रुपैयाँ आम्दानी गर्छ । सरदरमा एउटा जहाज एकपटक विमानस्थलमा उत्रिँदा १ लाख ३२ हजार रुपैयाँ आम्दानी हुन्छ । 'बढी आम्दानी एरोनेटिकलमा छ,' महाप्रबन्धक सुमनले भने । विमानस्थलले एरोनेटिकलतर्फ नेभिगेसन, ल्यान्डिङ पार्किङलगायतको सेवा शुल्क उठाउँछ भने नन्एरोनेटिकलतर्फ पसल तथा जग्गा भाडा, विज्ञापन शुल्क, आदिबाट आम्दानी गर्छ ।

सन् २०१० को तुलनामा २०१२ मा १ अर्ब आम्दानी बढाउने लक्ष्य विमानस्थलको छ । नयाँ जहाज आउने र आइरहेकाले उडान संख्या थप्ने भएकोेले यो आम्दानी प्रक्षेपण गरिएको हो । उडान संख्या थपिए पनि व्यवस्थापन गर्न सकिने दाबी व्यवस्थापनको छ ।

अन्तर्राष्ट्रिय उडान संख्या बढेसँगै आन्तरिकमा पनि वृद्धि हुने भएकोले लक्ष्य हासिल गर्न सकिने दाबी व्यवस्थापनको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकभर ३ दर्जन विमानस्थल सञ्चालन गरिरहेको छ । यसमध्ये चन्द्रगढी, विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र लुक्ला गरी सातवटा मात्र नाफामा छन् । सबै विमानस्थलको घाटालाई त्रिभुवन विमानस्थलले कभर गरिरहेको छ ।

No comments:

Post a Comment