Thursday, September 29, 2011

तीन लाख पर्यटकको लक्ष्य


नयाँ पत्रिका
नगरकोट, ११ असोज
स्थापित पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोटले पर्यटन वर्ष २०११ मा ३ लाख आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने लक्ष्य लिएको छ । यसका लागि यहाँका होटल व्यवसायीले पूर्वाधार तथा क्षमता विस्तारमा लगानी थप गरेका छन् । दैनिक करिब १ हजार आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरिरहेको नगरकोटको आतिथ्य सत्कार व्यवसाय पर्यटन वर्षसँगै विस्तार हुन थालेको छ । 
वर्षैभरि आन्तरिक र बाह्य पर्यटकले खाली नहुने नगरकोटमा होटलको अकुपेन्सी पर्यटकीय सिजन सुरु भएसँगै ह्वात्तै बढेको छ । व्यवसायीका अनुसार नगरकोटका एक दर्जन होटलको अकुपेन्सी अहिले ८० प्रतिशत छ । यहाँ सिजनमा कोठा पाउनै गाह्रो छ । नगरकोटमा ३५ पर्यटक स्तरका होटल छन्, सात स्तरीय होटल छन् । यहाँका होटलले एक रातको न्यूनतम १५ सयदेखि ५ हजार रुपैयाँसम्म लिन्छन् । क्लब हिमालय, होटल कन्ट्री भिल्ला, निभालगायत ८ होटलले काठमाडौंमा नै कोठा बुक गराउँछन् । 
नगरकोटमा विदेशी पर्यटकको मुख्य सिजन अक्टोबर र नोभेम्बर महिना हो । अन्य समयमा यहाँको होटल व्यवसाय आन्तरिक पर्यटकले धानेको छ । 'पर्यटन वर्षको सुरुवातसँगै होटल व्यवसायीको अपेक्षा निकै बढेको छ,' नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष तथा होटल व्यवसायी श्याम कायस्थले भने । पर्यटक बढ्ने अपेक्षाका साथ होटल व्यवसायीले कोठा थपेको उनले बताए । 'होटलले पूर्वाधार विस्तार, कोठा थप तथा पर्यटकका लागि नयाँ गतिविधि थप्न लगानी गरेका छन्,' उनले भने । नगरकोटको सबैभन्दा स्तरीय होटल क्लब हिमालयले यस वर्ष ३० कोठा थपिएको जनाएको छ । त्यस्तै, होट निभा, होटल स्पेस माउन्ेटनलगायत होटलले पनि क्षमता विस्तार गरेका छन् ।  
होटलले आम्दानी बढ्ने अपेक्षाका साथ क्षमता विस्तार गरे पनि त्यसअनुसारको प्रतिफल भने प्राप्त नभइरहेको व्यवसायी स्वयं बताउँछन् । 'यहाँका व्यवसायीको अपेक्षा निकै बढेको छ तर त्यसअनुसारको प्रतिफल प्राप्त हुन सकिरहेको छैन,' कायस्थले भने । नगरकोटमा खर्च गर्ने पर्यटन घटेको उनको अनुभव छ । कायस्थका अनुसार पछिल्लो समय नगरकोटमा चिनियाँ पर्यटकको संख्या बढेको छ । नगरकोटको होटल व्यवसाय अहिले चिनियाँ पर्यटकले नै धानेको बताइएको छ । 
चिनियाँ पर्यटक कम खर्च गर्ने पर्यटक हुन् । 'अधिकांश चिनियाँ पर्यटक प्याकेजमा आउँछन् । यहाँ धेरै खर्च गर्दैनन्,' कायस्थले भने । चीनसँग नेपालको प्रत्यक्ष हवाई सम्पर्क भएकोले यो वर्षको सुरुवातदेखि नै नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढिरहेको छ । चीनका दुई वायुसेवा कम्पनी चाइना इस्टर्न र चाइना साउदर्नले चीनका विभिन्न गन्तव्यबाट काठमाडौं उडान गर्छन् । 
नगरकोटमा वाषिर्क कति पर्यटक पुग्छन् भन्ने आधिकारिक तथ्यांक कुनै निकायसँग नभएपनि करिब डेढ लाख पर्यटक नगरकोट पुग्ने गरेको अनुमान व्यवसायीको छ । 
यस वर्ष यो संख्यालाई दोब्बर बनाउने उनीहरूको लक्ष्य छ । भक्तपुर जिल्लामा पर्ने नगरकोट प्राकृतिक सुन्दरता, सूर्योदय, सूर्यास्त तथा हिमाली दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । काठमाडौंबाट ३२ किलोमिटर टाढा २ हजार मिटर उचाइमा रहेको नगरकोटमा एक रात बिताउने आन्तरिक पर्यटक बढी जाने गरेको होटल व्यवसायी बताउँछन् । यहाँका होटलको क्षमता दैनिक करिब १ हजार छ । नगरकोटमा हालै सुरु भएको होमस्टेमा पर्यटकले स्थानीय संस्कृति र रहन-सहन हेर्न सक्छन् । होमस्टेका लागि एक रातको १ हजार रुपैयाँ शुल्क तोकिएको छ । नगरकोटमा तामाङ तथा नेवार जातिको बाहुल्य छ । 

क्लब हिमालयमा चंगा चेट
नगरकोट/ नगरकोटस्थित होटल क्लब हिमालयको आयोजनामा बुधबार चंगा उडाउने प्रतियोगिता 'चंगा चेट २०६८' सुरु भएको छ । प्रतियोगितामा २६ विभिन्न कर्पोरेट हाउस सहभागी छन् । समाजसेवी, कलाकार तथा पर्यटन व्यवसायीले विभिन्न सन्देश लेखिएका चंगा उडाएर संयुक्त रूपमा प्रतियोगिता उद्घाटन गरेका थिए । 
समाजसेवी तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले युवावर्गले सामाजिक विषयलाई प्राथमिकता दिनुपर्ने सन्देश लेखिएको चंगा उडाइन् । त्यस्तै, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्ने सन्देश युक्त चंगा उडाएकी थिइन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले राष्ट्रलाई उठाउने दुई खुट्टा, युवा र पर्यटन भएको सन्देश लेखिएको चंगा उडाउँदै पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । नगरकोटका होटल व्यवसायी श्याम कायस्थले राजनीतिक क्रान्ति सकिएकोले आर्थिक क्रान्तिको सुरुवात गर्नुपर्नेमा जोड दिँदै गरिखान पाऊँ लेखिएको चंगा उडाए । 
४ समूहमा विभाजन गरेर प्रतियोगिता गराइएको छ । कार्यक्रम संयोजक तथा होटल क्लब हिमालयकी मार्केटिङ म्यानेजर प्रमिता शाक्यले परम्परा बचाइराख्न र कर्पोरेट हाउसहरूसँग राम्रो सम्बन्ध कायम गर्न प्रतियोगिता आयोजना गरेको बताइन् । 'चंगाको लागि दसैं सबैभन्दा उपयुक्त समय हो । यसलाई हामीले व्यावसायिक प्रयोजनमा उपयोग गर्‍यौं,' उनले भनिन् । एस होटल एन्ड रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्र शाक्यले २०६० सालमा चंगा प्रतियोगिताको सुरुवात गरेका थिए । राजनीतिक र औद्योगिक वातावरण राम्रो नभएको भन्दै ४ वर्षदेखि प्रतियोगता आयोजना भएको थिएन । परिस्थिति सहज भएपछि परम्परालाई निरन्तरता दिँदै पुनः सुरु गरिएको संयोजक शाक्यले बताइन् । आगामी वर्ष अझ वृहत रूपमा कार्यक्रम आयोजन गर्ने लक्ष्य रहेको उनले सुनाइन् । सामाजिक संघसंस्थाले पनि चासो राखेकाले आगामी वर्षदेखि सबैलाई समेट्ने उनले जानकारी दिइन् ।
प्रतियोगितामा विजयी टिमले ५ रात ६ दिनको मलेसिया भ्रमण प्याकेज पुरस्कार पाउनेछ । हवाई टिकटसहितको सो पुरस्कार मार्कोपोलो ट्राभल्सले प्रायोजन गरेको छ । त्यस्तै, सान्त्वना पुरस्कारहरू पोखरा, बन्दिपुर, चितवनलगायत प्याकेज राखिएको बताइएको छ । प्रतियोगितामा भाग लिन १२ हजार रुपैयाँ शुल्क तोकिएको थियो । नेपालीपनको झल्को दिन प्रतियोगितामा नेपाली चंगा मात्र प्रयोग गरिएको आयोजकले जानकारी दिएको छ । 'पर्यटकलाई नेपाली संस्कृतिबारे जानकारी गराउने हाम्रो एउटा उद्देश्य हो । विदेशीले नेपाली संस्कृतिमा निकै चासो राख्छन्,' संयोजक शाक्यले भनिन् । नगरकोट पुगेका विदेशी पर्यटकले पनि कार्यक्रम चाख मानेर अवलोकन गरेका थिए । 'संस्कृतिलाई जोड्दै पर्यटन' भन्ने नाराका साथ नेपालले साताव्यापी रूपमा विश्व पर्यटन दिवस मनाइरहेको छ । 'चंगा चेट' पर्यटन दिवसकै एउटा महत्त्वपूर्ण कार्यक्रम हो,' नेपाल पर्यटन बोर्डका अधिकृत सुमन घिमिरेले भने । विदेशी पर्यटकलाई नेपाली संस्कृतिसँग साक्षात्कार गराउन यस्ता कार्यक्रम उपयोगी हुने उनले बताए । 
प्रतियोगिताका लागि करिब २० लाख रुपयाँ खर्च हुने आयोजकको दाबी छ । प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगिताका साथै खानाका स्टल, सांस्कृतिक कार्यक्रम, कन्सर्टलगायत गतिविधि कार्यक्रममा समावेश छन् । दुई दिनको अवधिमा ५ हजार दर्शकले कार्यक्रम अवलोकन गर्ने आयोजकको अपेक्षा छ । सर्वसाधारणका लागि प्रवेश शुल्क २ सय ५० रुपैयाँ तेाकिएको छ ।

Tuesday, September 27, 2011

संस्कृति जोड्दै पर्यटन

 












लक्ष्मीप्रसाद खतिवडा

यस वर्षको विश्व पर्यटन दिवस पर्यटनमार्फत विभिन्न संस्कृतिलाई जोड्नका लागि मनाइँदै छ । गत वर्ष दिगो पर्यटनलाई वातावरण संरक्षण र जलवायु परिवर्तनसँग जोडिएको थियो । विश्वभरिको पर्यटन क्षेत्रको छाता संगठन विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले गत महिना यसपालिका लागि 'टुरिजम लिङकिङ कल्चर' नारा सार्वजनिक गरेको थियो । संगठनको आगामी महिना हुने महासभाले अर्को दुइ वर्षका लागी पर्यटन दिवसको नारा तय गर्नेछ । 
पर्यटनले विश्व एकतामा महत्वपूण भूमिका निर्वाह गर्ने भएकाले यस वर्ष टुरिजम लिङकिङ कल्चर नारालाई अगाडि बढाइएको संगठनले बताएको छ । संगठनको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पर्यटनले आर्थिक तथा सामाजिक अवसर प्रदान गर्ने र धनी-गरिबबीचको अन्तर कम गर्न पनि उत्तिकै सघाउने भएकाले यो क्षेत्र एकताको प्रतीक भएको बताएका छन् । पर्यटनले विश्वभरिका समुदायलाई जोडेर शान्ति कायम गराउने बानले बताएका छन् ।
पर्यटन दिवसको अवसरमा सन्देश दिँदै युएनडब्लुटिओका महासचिव तालेव रिफाइले प्रत्येक व्यक्ति र हरेक राष्ट्रको आफ्नो अद्वितीय संस्कृति हुने भएकाले पर्यटन प्रवर्द्धनबाटै अन्तर्राष्ट्रिय समझदारी, भाइचारा, शान्ति र आर्थिक विकास सम्भव हुने बताएका छन् । विश्व पर्यटन संगठनले आह्वान गरेदेखि नै नेपालले पनि हरेक वर्ष सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ  एजेन्सिज एसोसिएसन, ट्राभल एजेन्ट्स एसोसिएसनलगायत संघसंस्थाले विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइरहेका छन् । 
सन् २०१० मा विश्वभरिका अन्तर्राष्ट्रिय पर्यटकको संख्या ९४ करोड पुगेको युएनडब्लुटिओको तथ्यांक छ । यसरी पर्यटनको माध्यमबाट प्रत्येक दिन विविध धर्म, संस्कृति, सभ्यता र रहनसहन भएका लाखौँ व्यक्ति एक-अर्कासँग साक्षात्कार गरिरहेका छन् । यो संख्या सन् २००९ भन्दा ७ प्रतिशत बढी हो । यी पाहुनाको माध्यमबाट पर्यटन क्षेत्रले वर्षभरिमा ९ खर्ब १९ अर्ब अमेरिकी डलर आम्दानी गरेको संगठनको अनुमान छ । संगठनले सन् २०११ मा विश्वभर पर्यटक आगमनको संख्या ५ प्रतिशतसम्म बढ्ने अनुमान गरेको छ । आर्थिक सर्वेक्षणअनुसार नेपालले पनि पर्यटन क्षेत्रबाट आर्थिक वर्ष ०६७/६८ मा २७ अर्ब रूपैयाँ आर्जन गरेको छ । 
अगस्ट २०११ सम्म नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या २४ दशमलव ३ प्रतिशतले बढेको छ । मुलुकले यो वर्ष हवाईमार्गबाट ७ लाख र स्थलमार्गबाट ३ लाख गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस अर्थमा पनि नेपालका लागि यस वर्षको विश्व पर्यटन दिवस विशेष महत्त्वपूर्ण छ । हालसम्मको पर्यटक आगमन वृद्धिदर हेर्दा १० लाखको लक्ष्य भेट्न मुस्किल देखिन्छ । पर्यटन व्यवसाय विश्वमै ६ दशमलव ७ प्रतिशतले वृद्धि भइरहेको र कुल पर्यटक संख्याको ४३ प्रतिशतले एसिया महादेशको भ्रमण गर्ने गरेको अवस्थामा पनि नेपालमा १० लाख पर्यटक फलामको च्युरासरह भएको छ । तर, सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने 'भिजन २०२०' को लक्ष्यलाई केन्दि्रत गरी योजना बनाए नेपालको आर्थिकस्तर निकै माथि पुग्नसक्ने सम्भावना छ । 
विश्वमा पर्यटनको विकास र विस्तार गर्न सन् १९७० मा विश्व पर्यटन संगठनको औपचारिक रूपमा स्थापना भएको थियो । संगठनको सन् १९७९ मा स्पेनमा भएको तेस्रो साधारणसभाको बैठकले सन् १९८० देखि सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसैवेलादेखि विश्वमा छरिएर रहेका विविध किसिमका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक महत्त्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरी पर्यटन विकासका लागि जागरुक बनाउने अभिप्रायले यसलाई एउटा उत्सवका रूपमा मनाउन थालियो । पहिलो विश्व पर्यटन दिवसको नारा सांस्कृतिक सम्पदाको संरक्षण, शान्ति र आपसी समझदारीका लागि पर्यटनको योगदान रहेको थियो । 
नेपालले पनि लामो समयदेखि विश्व पर्यटन दिवस मनाउँदै आए पनि केही व्यक्ति र संस्थाका लागि यो एउटा उत्सवका रूपमा सीमित भएको छ । पर्यटन आममानिसको चासोको विषय बन्न सकेको छैन । पर्यटनलाई संस्कृतिसँग जोड्ने पर्यटन दिवसको नाराको उद्देश्य गहिरो भए पनि त्यसबमोजिमको प्रभाव पार्ने किसिमको कार्यक्रम हामीकहाँ हुन सकेको छैन । पर्यटनसँग सम्बन्धित निजी व्यवसायी तथा गैरसरकारी संस्थाले पनि जनचेतनामूलक कार्यक्रम गर्नेेभन्दा पनि उत्सवका रूपमा मनाउने गरेकाले पर्यटन प्रवर्द्धनमा यसले खासै कुनै प्रभाव पार्ने गरेको छैन । 
विविध संस्कृतिलाई विश्व पर्यटनको आकर्षणको स्रोत बनाउने लक्ष्यसहित तय भएको नाराले आशा गरेअनुसार सांस्कृतिक विविधताको खानी रहेको नेपाली सांस्कृतिक पर्यटनलाई थप उचाइमा पुर्‍याउन मद्दत पुग्ने कार्यक्रम गरिनुपर्छ । सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालका पर्यटनका लागि यस्तो नारा तय हुनु राम्रो हो । हामीसँग भएको अथाह सम्पदाको सदुपयोग नभएकै कारण अहिले नेपाली पर्यटन बजारले आशा गरेअनुरूप गति लिन सकेको छैन । 
नेपालमा हुने सबैजसो पर्यटकीय गतिविधि संस्कृतिसँग जोडिएका छन् । संस्कृतिसँग बढी सम्बन्ध ट्रेकिङको छ । टे्रकिङको एउटा उद्देश्य संस्कृतिको अवलोकन पनि हो । तर, अहिलेसम्म पनि टे्रकिङ पहाड र हिमाली भेगमा सीमित छ । यसको अर्थ तराईमा संस्कृति छैन भन्ने होइन । संस्कृतिलाई पर्यटनसँग जोडेर तराईमा पनि पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । संस्कृतिलाई पर्यटकीय प्रयोजनमा उपयोग गरेर आयआर्जन गर्न सकिन्छ । अहिले पनि विदेशीले पैसा तिरेर नेपाली संस्कतिको अवलोकन गरिरहेका छन् । संस्कृति बचाउन पर्यटन चाहिएको छ न कि पर्यटनका लागि संस्कृति । संस्कृतिको व्यवसायीकरण गर्ने वेला भइसकेको छ । 
सांस्कृतिक मूल्य-मान्यतालाई पर्यटकीय प्रयोजनमा लगाउन हामी तयार छौँ कि छैनौँ भन्ने कुरा अर्कै बहसको विषय हुन सक्छ । कुनै विशेष दिनमा मात्र मनाइने जात्रा वा पर्व अन्य समयमा पर्यटकले हेर्न चाहेमा देखाउने कि नदेखाउने यो महत्त्वपूर्ण पक्ष हो । केही वर्षअघि एउटा पाँचतारे होटलमा कुमारीको प्रतिविम्ब बनाएर रिसेप्सनमा राख्दा उपत्यकाका शाक्य समुदायले कडा विरोध गरेका थिए । हामीकहाँ यस्ता थुप्रै सांस्कृतिक गतिविधि छन् जुन निश्चित दिन वा अवसरमा मात्र गरिन्छ । संस्कृतिको महत्त्व घट्नेगरी यसको व्यावसायीकरण गर्नु आफैँमा घातक हो, तर पर्यटकीय प्रयोजनबाट आयआर्जन गर्न सकिन्छ र यसबाट संस्कृति जगेर्नाका लागि सहयोग पुग्छ भने यसलाई अन्यथा लिन मिल्दैन । 
पर्यटक भएर कुनै ठाउँमा पुग्नु त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन प्राप्त गर्नु हो । पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न चितवनमा हजारौं खर्च गर्ने पर्यटकले गोरखाका मगरको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ ।
नेपाली पर्यटनको इतिहास ५० वर्षभन्दा लामो भइसके पनि छिमेकी मुलुकको तुलनामा यो उद्योगको अपेक्षित विकास हुन सकिरहेको छैन । छिमेकी मुलुक चीनमा वाषिर्क १० करोड पर्यटक घुम्न जान्छन् । करिब ५ करोड चिनियाँ पर्यटक भ्रमणका लागि विदेश जाने गरेको तथ्यांक छ । त्यस्तै वाषिर्क ६ करोड भारतीय विदेश भ्रमणमा निस्कन्छन् । त्यही संख्यामा अन्य विदेशी पर्यटक भारत भ्रमणमा आउँछन् । पर्यटनमा उल्लेख्य विकास गरिसकेका यी दुई ठूला छिमेकी मुलुकको बीचमा रहेर पनि त्यसबाट हामीले फाइदा लिन सकिरहेका छैनौं  । संसारमै सबैभन्दा बढी बुद्धमार्गी भएको मुलुक चीन र हिन्दू बढी भएको मुलुक भारतको प्रमुख धार्मिक गन्तव्य नेपाल हुन सकेको छैन । जब कि यी दुवै धर्मका प्रख्यात आस्थाको केन्द्र लुम्बिनी र पशुपतिनाथ नेपालमा छन् । 
विश्व पर्यटन दिवसका हालसम्मका नारा
१९८० सांस्कृतिक सम्पदाको संरक्षण, शान्ति र आपसी समझदारीका लागि पर्यटनको योगदान
१९८१ पर्यटन र जीवनको गुणस्तर
१९८२  पर्यटनको गर्व  ः राम्रा पाहुनाहरू र राम्रो आतिथ्य
१९८३  जिम्मेवार भएर घुमफिर गरौँ
१९८४  अन्तर्राष्ट्रिय समझदारी, शान्ति र सहयोगका लागि
१९८५  युवा, पर्यटन, सांस्कृतिक र ऐतिहासिक सम्पदा ः शान्ति र मित्रताका लागि
१९८६  पर्यटन विश्वशान्तिका लागि ठूलो शक्ति
१९८७   विकासका लागि पर्यटन
१९८८   पर्यटन सबैका लागि शिक्षा
१९८९  पर्यटकको स्वतन्त्र हिँडडुलले एउटै विश्व बनाउँछ
१९९०   पर्यटन  ः एउटा मान्यता नपाएको  उद्योग
१९९१   सञ्चार, सूचना र शिक्षा पर्यटन विकासका लागि शान्ति केन्द्र
१९९२  पर्यटन बढ्दो सामाजिक र आर्थिक समन्वयको माध्यम
१९९३  पर्यटन विकास र वातावरणीय संरक्षण
१९९४  योग्य कर्मचारी, योग्य पर्यटन
१९९५  युएनडब्लुटिओ बीस वर्षदेखि विश्व पर्यटनमा सेवारत
१९९६  पर्यटन शान्ति र सहिष्णुताको माध्यम
१९९७  पर्यटन रोजगार निर्माण र वातावरण संरक्षणका लागि एक्काइसौँ शताब्दीको अग्रणी कार्य
१९९८  व्यक्तिगत र सार्वजनिक साझेदारी पर्यटन विकासको साँचो      
१९९९  पर्यटन नयाँ सहस्राब्दीका लागि विश्वसम्पदा संरक्षण
२०००  प्रविधि र प्रकृति पर्यटनका दुई चनौती
२००१  पर्यटन सभ्यतामाझ शान्ति र बहस
२००२  इको टुरिजम दिगो विकासको साँचो     
२००३  पर्यटन सामाजिक मातृत्व, रोजगार निर्माण र गरिबी निवारणका लागि बलियो माध्यम   
२००४  खेल र पर्यटन 
२००५  यात्रा र यातायात 
२००६  पर्यटनलाई बल  
२००७  महिलाका लागि पर्यटन 
२००८  मौसम परिवर्तन तथा सन्तुलनका लागि पर्यटन 
२००९  पर्यटन विविधताको बीचमा 
२०१०  जैविक विविधता र पर्यटन 
२०११ संस्कृति जोड्दै पर्यटन
khatiwadalp@gmail.com

अन्तर्राष्ट्रिय एयरलाइन्समा एउटै मात्र प्रस्ताव


नयाँ पत्रिका
काठमाडौं, ९ असोज
सरकारले अन्तर्राष्ट्रिय हवाई सेवामा निजी क्षेत्रले लगानी गर्ने अपेक्षाका साथ अन्तर्राष्ट्रिय एयरलाइन्सको प्रस्ताव आह्वान गरे पनि यसमा चासो देखिएको छैन । एउटा मात्र निजी कम्पनीले अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ । मन्त्रालयले गत साउन २६ मा ४५ दिनको म्याद दिएर अन्तर्राष्ट्रिय हवाईर् सेवाका लागि सार्वजनिक आह्वान गरेको हो । 
४५ दिनको अवधिमा एउटा मात्र कम्पनीले अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ । म्याद सकिने अन्तिम दिन बिबी एयरवेज प्रालिले आवेदन दिएको हवाईर् महाशाखाका अधिकृत प्रमोद नेपालले जानकारी दिए । यसका प्रमुख लगानीकर्ता शिशिर भट्ट, भवन भट्टलगायत गैरआवासीय नेपाली हुन् । हवाईर् नीति ०६३ अनुसार अन्तर्राष्ट्रिय हवाईर् सेवामा ८० प्रतिशतसम्म विदेशी लगानी स्वीकार्य छ ।
यसअघि अनुमति लिएका कुनै पनि कम्पनीले सफलतापूर्वक सेवा सुचारु गर्न सकेका छैनन् । गत वर्षदेखि बुद्ध एयरले भारतको लखनउमा उडान गरिरहे पनि व्यावसायिक फाइदा नदेखेपछि उसले भुटानको पारो उडान भने बन्द गरिसकेको छ । 
बिबी एयरवेजले 'क' वर्गको एयरलाइन्सका लागि आवेदन दिएको हो । लाइसेन्स पाए उसले साढे दुई घन्टाभन्दा बढीको हवाईर् दूरीमा उडान गर्न पाउँछ । कम्पनीले बोइङ ७६७ जहाजबाट सेवा सञ्चालन गर्ने योजना मन्त्रालयमा पेस गरेको छ । यो बोइङको ३ सय सिरिजको जहाज हो । अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीसँग कम्तीमा दुई जेट विमान हुनुपर्ने प्रावधान छ । आवेदन दिएको कम्पनीले दोहा, हङकङ, मलेसिया, जापानलगायत सेक्टरमा उडान गर्ने व्यावसायिक योजना पेस गरेको छ । उडान सुरु गर्नुअघि प्रतिसेक्टर ५ लाख रुपैयाँ रुट रोयल्टी बुझाउनुपर्छ । 
निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाईर् कम्पनी स्थापना भई उडान प्रतिस्पर्धा हुने विश्वास मन्त्रालयको थियो । हाल सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले आधा दर्जन सेक्टरमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । 
अन्तर्राष्ट्रिय उडानका लागि निश्चित सर्तर् तोकिएको छ । मन्त्रिपरिषद्ले ०६६ मंसिरमा पारित गरेको सर्तअनुसार ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका निजी क्षेत्रका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान अनुमति माग्न पाउँछन् । त्यस्तै ५० करोड रुपैयाँ चुक्ता पुँजीसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता भएर आउनेले पनि अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव हाल्न सक्ने व्यवस्था छ । 
मुलुककै निजी क्षेत्रका ५ वटा आन्तरिक वायुसेवा कम्पनीले लामो समयदेखि संयुक्त रूपमा अन्तर्राष्ट्रिय विमानसेवा सञ्चालनको प्रयास गरिरहेको बताइए पनि उनीहरूको आवेदन मन्त्रालयमा परेको छैन । बुद्ध एयर यो समूहबाट बाहिरिएपछि सो योजना तुहिएको बताइएको छ । 
अन्तर्राष्ट्रिय उडान अनुमति पाउने कम्पनीले ५० लाख रुपैयाँ सुरक्षा धरौटी राख्नुपर्छ जुन उडान सुरु गरेपछि फिर्ता हुन्छ । अनुमति माग्ने सबै कम्पनीको मूल्यांकन सरकारी अधिकारी सम्मिलित समितिले गर्ने व्यवस्था छ । सरकारी मूल्यांकन समितिमा पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण्ाका पाँच अधिकारी सदस्य रहने गरेका छन् । अन्तर्राष्ट्रिय उडान गर्न चाहने कम्पनीले विश्वका कुन-कुन सेक्टरमा उडान गर्ने हो त्यसको विस्तृत व्यापारिक योजनालगायत सम्पूर्ण कागजपत्र मन्त्रालयमा पेस गर्नुपर्छ । समितिले कागजपत्र अध्ययन गरेर मूल्यांकन गर्छ ।
तीन वर्षअघि गरिएको आह्वानमा बुद्ध युनिटी र डाइनामिक र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएका थिए । त्यसअघि निजी क्षेत्रका कस्मिक एयर, नेपाल यती एयर इन्टरनेसनललगायत कम्पनीले केही वर्ष अन्तर्राष्ट्रिय उडान गरेर सेवा बन्द गरेका थिए ।

Monday, September 26, 2011

बुद्ध एयरको जहाज दुर्घटना



image
चालक दलका तीन सदस्यसहित १९ जनाको मृत्यु, मृत्यु हुनेमा ६ नेपाली, १० भारतीय, दुई अमेरिकी र एक जापानी | नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन
माउन्टेन पलाइटका लागि काठमाडौं विमानस्थलबाट उडे पनि खराब मौसमका कारण हिमालयनजिक पुग्न नसकेपछि काठमाडौं र्फकंदै गर्दा ललितपुरको लामाटार कोटडाँडामा दुर्घटनाग्रस्त बुद्ध एयरको विमान । घटनास्थलमै मारिएका १८ जनाको शव लिन खटिएका सेना, प्रहरी र सर्वसाधारण । दुर्घटनामा मारिएका क्याप्टेन जेबी ताम्रकारकी भावविह्वल आमालाई सान्त्वना दिँदै आफन्तजन । तस्बिरः ज्ञानेन्द्र कार्की


तीनैजनाको करियरः बुद्ध एयर 
दुर्घटनामा मृत्यु भएका तीनैजना 'क्रु मेम्बर’ले बुद्ध एयरलाइन्सबाटै करियर सुरु गरेका थिए । क्याप्टेन जेबी कांग्रेस नेता रामकृण ताम्रकारका कान्छा छोरा हुन् । ३२ वर्षीय अविवाहित जेबीले विगत सात वर्षदेखि विमान उडाउँदै आएका थिए । भैरहवाको बुद्धज्योति स्कुलबाट स्कुले जीवन सुरु गरेका उनी अमेरिकाको टेक्सासमा पाइलट कोर्स पूरा गरी नेपाल फर्किएका थिए । लामो समय 'माउन्टेन फ्लाइट’को अनुभवपछि जेबीले विभिन्न शहरमा विमान उडाउन थालेका थिए । तर, व्यवस्थापनले उनलाई आइतबार ँमाउन्टेन फ्लाइट’मा पठाएको थियो । यो नै उनको अन्तिम उडान हुनपुग्यो । 

'राजनीति’ हेर्ने इच्छा अधूरो 
जेबीको मृत्युले कुलेश्वरस्थित ताम्रकारनिवास शोकमा डुबेको छ ।  पूर्वपर्यटनमन्त्री तथा कांग्रेस नेता रामकृष्ण ताम्रकारका अनुसार उनका छोरा जेबी दिउँसो ४ बजे र्फकन्छु भन्दै बिहानै घरबाट निस्केका थिए । राजनीतिज्ञ बाबुसँगै बसेर प्रकाश झाको हिन्दी फिल्म 'राजनीति’ हेर्ने उनको योजना थियो । 'उताबाट फर्किएपछि सागै बसेर हिन्दी फिल्म राजनीति हेर्नुपर्छ भनेको थियो,’ उनले भने । जनमतसंग्रहको वर्षमा जन्मिएकाले उनको नाम जनबुद्ध (जेबी) राखिएको रामकृष्णले बताए । 
पाइलटको योग्यता, को-पाइलटको भूमिका
को-पाइलट पद्मा अधिकारीले दक्षिण अफ्रिकाको केपटाउनमा पाइलट प्रशिक्षण लिएकी हुन् । मैजुबहालको आइडियल बोर्डिङमा स्कुले जीवन बिताएकी उनले निष्ट कलेजबाट आइएस्सी पूरा गरेकी थिइन् । अमेरिकाबाट एटिपिएल कोर्स गरेर उनले दुई महिनाअघि मात्र क्याप्टेन भएकी थिइन् । तर, उनले हालसम्म सहायकका रूपमा मात्र विमान उडाइरहेकी थिइन् । उनका दाइ प्रदीप मकालु एयरका क्याप्टेन हुन् । उनी सुर्खेतबाट आइतबार साँझ फर्किएका छन् । परिचारिका १९ र्वषीया अस्मिता श्रेष्ठले करिब ६ महिनाअघिमात्र जागिर सुरु गरेकी थिइन् ।
एकै परिवारका तीनजना 
विमानमा यात्रा गर्ने यात्रुमा नीराजन कर्माचार्य, श्रीमती शारदा कर्माचार्य र जगजन कर्माचार्य मात्रै नेपाली थिए । उनीहरू पनि एकै परिवारका थिए । नीराजन र शारदा श्रीमान्-श्रीमती हुन भने जगजन नीराजनका दाजु हुन् । आठ वर्षअघि अमेरिका गएका नीराजनदम्पतीले उतैको नागरिकता लिइसकेको र दुवैजना दसैँ बिदामा नेपाल आएका वेला दाजु जगजनले घुमाउने योजना बनाएका थिए । एक अमेरिकी महिला साथी लिएर नेपाल आएका उनी छिट्टै अमेरिका र्फकने तयारीमा थिए, तर उनकी अमेरिकी साथी पनि यतै मारिएकी छिन् ।
भारतीयदम्पतीको अधूरो सपना
दुर्घटनामा मृत्यु भएका पंकज मेहता र डा. छाया मेहता श्रीमान् श्रीमती हुन् । पंकज युनिसेफ नेपालमा 'हेल्थ’ विभागका प्रमुख थिए । उनको हालै फिलिपिन्स सरुवा भएको थियो । ३० सेप्टेम्बरमा उनी फिलिपिन्स जाने तयारीमा थिए । कार्यालयले उनलाई गत शनिबार विदाइ पार्टीसमेत दिइसकेको थियो । उनकी श्रीमती डा. छाया किष्ट अस्पतालमा कार्यरत थिइन् भने एक छोरा धरानमा पढ्दै छन् । भारतको बैंगलोरका स्थायी निवासी उनीहरू फिलिपिन्स फर्कुनअघि घुम्न 'माउन्टेन फ्लाइट’मा गएका थिए ।
पशुपतिअघि हिमाल दर्शन
दुर्घटनामा पर्ने आठजना भारतीय पर्यटक सोल्टीमोडस्थित ग्रान्ड होटलमा बसेका थिए । शनिबार स्पाइस जेटको उडानबाट दिल्ली हुँदै काठमाडौं आइपुगेका उनीहरूले शनिबार साँझ ५ बजे होटलमा 'चेक इन’ गरेका थिए । होटल व्यवस्थापनका अनुसार उनीहरूले शनिबारदेखि मंगलबारसम्मका लागि कोठा बुक गरेका थिए । आइतबार बिहान पौने ६ बजे चिया खाएर उनीहरू एयरपोर्टका लागि निस्केका थिए । फर्केपछि ब्रेकफास्ट खाएर पशुपति र स्वयम्भू घुम्ने उनीहरूको कार्यक्रम थियो ।
नयाँ पत्रिका
काठमाडौं, ८ असोज 
बुद्ध एयरको विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । गत वर्षको भदौयता नेपालमा भएको यो तेस्रो विमान दुर्घटना हो । 'माउन्टेन फ्लाइट'मा गएको बुद्ध एयरको विमान प्रतिकूल मौसमले दृश्यावलोकन नगरी काठमाडौं विमानस्थल र्फकने क्रममा आइतबार बिहान ललितपुरको लामाटार-कोटडाँडामा ठोक्किएको छ । 
जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना थिए, १८ जनाको घटनास्थलमा मृत्यु भएको थियो । एकजनालाई जीवितै बिएन्डबी अस्पताल ल्याइएको थियो, तर गेटमा ल्याउनासाथ बेहोस भएका उनको अस्तपालमै तत्कालै निधन भयो । 
मृत्यु हुनेमा चालक दलका तीन सदस्यसहित ६ नेपाली, १० भारतीय, दुई अमेरिकी र एक जापानी नागरिक छन् । विमानका चालक क्याप्टेन जनबुद्ध (जेबी) ताम्रकार, सहचालक पद्मा अधिकारी र विमान परिचालिका अस्मिता श्रेष्ठ छन् । मृत्यु हुने यात्रुमा निरञ्जन कर्माचार्य, उनकी श्रीमती शारदा कर्माचार्य र जगजन कर्माचार्य छन् । 
त्यसैगरी भारतीय नागरिक पंकज मेहता, उनकी श्रीमती चाया मेहता, एचडी नागराजा, एस नागराजा, आई नागराजा, एल नागराजा, डि टेलोसुबि्रमसम, डिपी टेलोसुबि्रमसम, पि टेलोसुबि्रमसम, एल नागराजाको पनि विमान दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुने अमेरिकनहरूमा एन्ड्रयु वडे, नातालिया नेइलान र जापानी नागरिक जेजिमा तोसिन्द्री छन् । मेहतादम्पती नेपालमै कार्यरत थिए भने अन्य आठ भारतीय, दुई अमेरिकन र एक जापानी पर्यटक हुन् । 
दुर्घटनामा घाइते अवस्थामा फेलापरेका निरञ्जन कर्माचार्यको बिएन्डबी अस्पताल ललितपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । स्थानीयवासीका अनुसार दुर्घटनापछि उनले आफूलाई अस्पताल लैजान भन्दै चिच्याएका थिए । तर, तत्काल एम्बुलेन्स नपुगेको र प्रहरीको गाडीले घाइते बोक्न नमानेकाले उनको उद्धारमा ढिलाइ भएको थियो । 
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका निमित्त महाप्रबन्धकका अनुसार बिहान ६ बजेर ४९ मिनेटमा हिमाल दृश्यावलोकनका लागि उडेको विमान ४० मिनेटपछि अर्थात ७ बजेर ३१ मिनेटमा सम्पर्कविहीन भएको थियो । उनका अनुसार माउन्टेन फ्लाइट ५० मिनेटदेखि एक घन्टासम्मको हुन्छ । दृश्यावलोकनपछि विमानस्थल र्फकन अन्तिम संकेत पाएपछि विमान सम्पर्कविहीन भएको उनले बताए । 
विमान ललितपुर विशंखुनारायण गाविस वडा नम्बर २ स्थित चुनडाँडा भन्ने स्थानको बस्तीमा खसेको थियो । स्थानीयवासी हरि थापाका अनुसार विमान माथिबाट हल्लँदै आएर उनको घरमा पखेटाले छोएर बारीमा ठोकिएको थियो । अर्का स्थानीयवासी रमेश पुरीका अनुसार सुरुमा ठूलो आवाज आएको र पछि धुवाँ देखेपछि सबै गाउँले डराएका थिए । पछि सबै गाउँले गएर उद्धारमा खटिएका थिए ।
दुर्घटनाको केही छिनपछि प्रहरी आएको थियो । विमानमा सवार १९ जना मध्ये १८ जनाको मृत्यु भइसकेकोमा नीराजन कर्माचार्य भने छटपटाइरहेका थिए । 'हामीले स्ट्रेचरमा राखेर गाडीमा लैजाँदै गर्दा उनको मृत्यु भयो । अस्पतालको गेटमा पुर्‍याउँदा उनी बेहोस भए, पछि मृत्यु भयो,' उद्धारकर्मीले भने । 
सेना, नेपाल प्रहरी, विमान उद्धार टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले शव संकलन गरी सेनाको विमानमार्फत विमानस्थलमा ल्याई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो । शव विमानस्थलमा ल्याएपछि कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार, रक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव माधव घिमिरेलगायत विमानस्थल पुगेका थिए । पोस्टमार्टममा धेरै समय लाग्ने भएकाले सोमबार दिउँसोबाट मात्र शव आफन्तलाई बुझाउन सकिने अस्पतालले जनाएको छ । 
दुर्घटनामा मृत्यु भएका तीनैजना 'क्रु मेम्बर'ले बुद्ध एयरलाइन्सबाटै आफ्नो करियर सुरु गरेको थिए । क्याम्पेटन जेबी कांग्रेस नेता रामकृण ताम्रकारका कान्छो छोरा हुन् । ३२ वर्षीय जेबीले विगत सात वर्षदेखि विमान उडाउँदै आएका थिए ।

सरकार र कांग्रेसको समवेदना 

आइतबार बिहानको विमान दुर्घटनामा मृत्यु भएकाप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनमा शोक व्यक्त गरेको छ । कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारद्वारा जारी विज्ञप्तिमा मृतकका परिवार र आफन्तमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरिएको छ । त्यसैगरी कांग्रेस सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेलले ललितपुरको विशंखुनारायण गाविस चुनडाँडामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 
कोइराला र पौडेलले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै बुद्ध एयरको जहाज दुर्घटनामा परी यात्रु तथा चालक दलका सदस्यहरूको निधन भएको खबरले आफूलाई दुखी बनाएको उल्लेख गरेका छन् । दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् । दुर्घटनामा परी आफन्तजन गुमाएका शोकसन्तप्त परिवार एवं आफन्तहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन् । 
कल साइन ९ एन एइके रहेको बुद्ध एयरको सो बिच क्र्याफ्ट जहाज बिहान ६ बजेर ४९ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयले ७ बजेर ३१ मिनेटमा जहाजसँग टावरको सम्पर्क टुटेको जानकारी दिएको छ । बिहान ७ बजेर ५० मिनेटमा जहाज दुर्घटना भएको थियो । 
उपत्यकाबाट देख्न सकिने घटनास्थल पाँच हजार सात सय फिट उचाइमा पर्छ । विमानस्थलमा आइतबार कार्यरत एयर ट्राफिक कन्ट्रोलर -एटिसी) हरूका अनुसार चालकले दोहोरो सम्पर्क गरी रनवे-२ मा 'ल्यान्ड' गर्ने अनुमति लिइसकेका थिए । चालक दलको टावरसँग पनि सम्पर्क भइसकेको थियो । राडारले पनि जहाजसँग सम्पर्क गरिसकेको थियो । घटनास्थल विमानस्थलबाट पाँच नर्टिकल माइलमा पर्छ । एटिसीका अनुसार दुर्घटनास्थलबाट जहाजलाई विमानस्थल आइपुग्न करिब दुई मिनेट मात्र लाग्छ । 
विमानस्थल कर्मचारीले जहाज आउँदै गरेको देखेको दाबी गरेका छन् । 'आउँदा आउँदै जहाज बिलाउँदा हामीले त विश्वास नै गर्न सकेनौँ,' विमानस्थलमा कार्यरत कर्मचारी नीरज केसीले भने । दुर्घटनाग्रस्त जहाजको पछाडि आइरहेको बुद्ध एयरकै अर्को जहाजले आफूअघिको जहाज हराएको देखेपछि एक चक्कर लगाएर खोजेको थियो र नदेखेपछि विमानस्थललाई सूचना दिएको थियो ।
जहाजलाई क्याप्टेन जेबी ताम्रकार र सहचालक पद्मा अधिकारीले उडाइरहेका थिए । विमान परिचारिका भने अस्मिता श्रेष्ठ थिइन् । त्यस्तै कोपाइलट अधिकारी चार वर्षदेखि बुद्ध एयरमा कार्यरत थिइन् । नेपालका विभिन्न एयरलाइन्समा २० जना महिला पाइलट कार्यरत छन् । यसमध्ये चारजना पाइलट हुन् भने बाँकी सबै कोपाइलट । पहिलोपटक नेपाल वायुसेवा निगममार्फत क्याप्टेन सोनी राणाले सन् १९९१ बाट नेपालमा जहाज उडाउन सुरु गरेकी थिइन् । यसअघिका विमान दुर्घटनाहरूमा दुईजना महिला पाइलटको निधन भएको छ । 

छानबिन समिति गठन

दुर्घटनाको कारण खुल्न सकेको छैन । विज्ञहरूले छानबिन अगाडि केही बोल्नु उचित नहुने भन्दै मौसमको खराबीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् । विमान दुर्घटनाको छानबिन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेपछि समितिले काम सुरु गर्नेछ । अन्य सदस्य तोकिएका छैनन् । गैरसैनिक हवाई दुर्घटना जाँचबुुझ ऐन तथा अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन -आइकाओ) को अनुसूची-१३ अनुसार समिति गठन भएको हो । अनुसन्धानको सूत्रधार मानिनेे ब्ल्याक बक्स भेटिइसकेको छ । यसमा चालक दलले अन्तिमसम्म बोलेको कुरा रेकर्ड हुने भएकाले यसबाट दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्छ । दुर्घटना भएलगत्तै बुद्ध एयरले आइतबारका सबै उडान बन्द गरेको थियो । कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर आन्तरिक छानबिन समिति गठन गरिएको जनाएको छ । 
मौसम प्रतिकूल थियोः मौसमविद्
मौसमविद्हरूले भने आइतबार बिहान जहाज उडाउन उपयुक्त मौसम नभएको बताएका छन् । वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले कुशल चालकले प्रतिकूल मौसममा पनि जहाज उडाउने गरे पनि त्यो जोखिममुक्त नहुने बताए । तर, बुद्ध एयरको जहाज प्रतिकूल मौसममै टेकअफ गरेको उनले बताए । 'बिहानै विमानस्थलको मौसम खराब थियो । भिजिविलिटी निकै कम थियो । तैपनि जहाज उडेको छ,' उनले भने । ल्यान्ड गर्ने समयमा भने भिजिविलिटी तीन किलोमिटर भएकाले सजिलै ल्यान्ड गर्नसक्ने अवस्था रहेको उनले बताए । साना र मध्यम आकारका जहाजका लागि तीन किलोमिटर भिजिविलिटी पर्याप्त हो । 
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हरेक दिन उड्डयन प्राधिकरणलाई आधा-आधा घन्टाको मौसमको रिपोर्ट दिन्छ । महाशाखा विमानस्थलपरिसरमै छ । 'बिहान ६ देखि बेलुका ६ बजेसम्म रिपोर्ट पठाइरहन्छौँ । आवश्यकताअनुसार अन्य समयमा पनि उपलब्ध गराउँछौँ । चौबिसै घन्टा प्राधिकरणसँग हाम्रो सम्पर्क भइरहेको हुन्छ,' श्रेष्ठले भने । महाशाखाले एयर रुटको आवश्यकताअनुसार पनि मौसम रिपोर्ट प्राधिकरणलाई पठाउँछ । महाशाखाको मौसम रिपोर्टअनुसार एटिसी, पाइलट र विमानस्थल व्यवस्थापनको समन्वयमा उडान हुन्छ । 
वरिष्ठ पाइलटहरूले भने मानवीय गल्तीका कारण नै जहाज दुर्घटना भएको हुनसक्ने बताएका छन् । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईले बिचक्राफ्ट जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्न त्यति टाढाबाट घुम्न नपर्ने बताए । 'भिएफआरमा उडिरहेको जहाज त्यति टाढाबाट घुम्नुपर्दैन र त्यति तल पनि ओर्लनुपर्दैन,' उनले भने । भिएफआरमा उडाउँदा विमानस्थलको रनवे पाइलटले आखाँले देख्ने दूरीमा हुनुपर्ने उनले बताए । अवतरणका लागि ओर्लंदाबाहेक अरूवेला त्यति कम उचाइमा उडाउन नहुने उनको भनाइ छ । स्थानीयवासीले निकै कम उचाइमा जहाज देखेको बताएका छन् । 
१४ वर्षको इतिहासमा पहिलो ठूलो दुर्घटना
१४ वर्षअगाडि स्थापना भएको निजी क्षेत्रको अग्रणी बुद्ध एयर हवाई यात्राका लागि सुरक्षित मानिन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको जहाज दुर्घटनासम्बन्धी विवरणमा बुद्ध एयरको कुनै पनि दुर्घटना उल्लेख छैन । 'रनवेमा सामान्य ठोक्किनेबाहेक कुनै ठूलो दुर्घटना भएको थिएन,' प्राधिकरणका एक अधिकारीले भने । 
बुद्धले बिच एयरक्र्याफ्ट जहाजबाट नै आफ्नो हवाई सेवा सुरु गरेको थियो । ऊसँग अब तीनवटा बिचक्र्याफ्ट बाँकी छन् । बिचक्र्याफ्ट जहाज विश्व बजारमा चलेको जहाज हो । यसमा आधुनिक उडान प्रणाली जडान गरिएको हुन्छ । नेपाली आकाशमा भने यो जहाज एक दशकदेखि उडिरहेको छ । यो पिच रनवेमा मात्र अवतरण गर्न सक्ने आधुनिक जहाज हो । यो जहाजलाई इन्स्टुमेन्टल फ्लाइट रुल्स (आइएफआर) प्रणालीमा पनि उडाउन सकिन्छ र धेरै उचाइ लिन सक्छ । अक्सिजनयुक्त यो जहाजले २१ हजार फिटसम्म उडान गर्न सक्ने पाइलटहरू बताउँछन् । 

धेरै नजिकबाट जहाज देख्यौँ : स्थानीय युवा राज केसी

धेरै नजिकबाट प्लेन हल्लिँदै आएको देखेपछि अचम्म लाग्यो । बाक्लो कुहिरोमा पनि प्लेनको अगाडिको भाग देखियो । केहीबेरमै ठूलो आवाज आयो । गाउँभरि त्रास फैलियो । हामी दौडेर गयौँ । डेढ घन्टाको उकालो सासै नफेरी २० मिनेटमा पुग्यौँ । हामी पुग्दा प्रहरी आइपुगेको थिएन । शवहरू यत्रतत्र छरिएका थिए । स्थिति दर्दनाक थियो । एकजना जीवितै देख्यौँ, तर उद्धार गर्न कोही अघि सरेनन् । उनी बोल्न सक्ने अवस्थामा थिए । खुट्टा भाँच्चिएको थियो र शरीरमा जताततै चोट थियो । प्रहरी उद्धार गर्नुभन्दा पनि सामान के हरायो भनेर खोज्न थाले । चिप्लो बाटोमा मुस्किलले ल्याउँदै थियौँ । दुई-तीनवटा प्रहरीका गाडी ओहोरदोहोर गरिरहेका थिए, तर कसैले रोकेन । प्रहरीले एम्बुलेन्स आउँदैछ भन्यो । आधा घन्टा अगाडि अस्पताल पुर्‍याउन पाएको भए उनी बाँच्थे । 
साढे १० बजेसम्म कुनै हेलिकोप्टर ल्यान्ड हुन सकेन । घटनास्थलभन्दा केही तल रूख काटेर अस्थायी हेलिप्याड बनाई बल्ल सिमि्रक एयरको हेलिकोप्टर ल्यान्ड हुनसक्यो । मौसम ९ बजेसम्म पनि खराब थियो, पानी परिरहेको थियो, बाक्लो कुहिरो थियो । क्यामेरामा दृश्य पनि कैद हुन सकिरहेको थिएन ।

बम हल्लाले आधा घण्टा विमानस्थल ठप्प
भारतीय निजी विमान कम्पनी स्पाइस जेटको विमानमा बम भएको हल्लाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान मध्याह्न आधा घन्टा अवरुद्ध भयो । बिहान ११ बजेदेखि साढे ११ बजेसम्म उडान अवरुद्ध हुँदा थाई एयर, गल्फ एयर, सिल्क एयर, बहराइन एयर, कतार एयर, एयर अरेबिया र ओमान एयरका जहाजलाई दिल्ली, लखनउ र कोलकाता विमानस्थलमा डाइभर्ट गर्नुपरेको विमानस्थल अपरेसन विभागले जनाएको छ । जहाजलाई पार्किङमा राखेर खानतलासी सुरु गरिएलगत्तै विमानस्थलको रनवेसमेत बन्द गरिएको थियो ।
बिहान ११ बजे काठमाडौंबाट दिल्ली उड्न लागेको स्पाइस जेटको जहाजमा अचानक बम भएको हल्ला फैलिएको थियो । तत्काल सबै यात्रु ओरालेर सेनाको बम डिस्पोजल टोलीले खानतलासी गर्दा केही फेला परेन । बुद्ध एयरको दुर्घटना ग्रस्त जहाजका शव त्रिभुवन विमानस्थलमा ल्याउने तयारी भइरहेका वेला यता बमबारे हल्लीखल्ली भएको थियो । आइतबार नै साँझ नेपाल वायुसेवा निगमको टि्वनअटर जहाजको पाङ्ग्रा पंचर भएर जहाज रनवेमा अड्केपछि केहीवेर विमानस्थल अवरुद्ध हुन पुग्यो । जहाज हटाएर रनवे सुचारु भइसकेको छ ।

५६ वर्षमा ४२ ठूला दुर्घटना
सन् एयरलाइन्स दुर्घटनास्थल मृत्यु संख्या
१९५५ कालिंगा एयर सिमरा एयरपोर्ट २ 
१९५६ इन्डियन एयर काठमाडौं १४
१९५८ इन्डियन एयर टीकाभैरव २०
१९६० एनएसी भैरहवा
१९६२ आरएनएससी ढोरपाटन १०
१९६२ आरएनएसी ढोरपाटन
१९६९ आरएनएससी बतासेडाँडा ३५
१९७० आरएनएसी दिल्ली
१९७० रोयल फ्लाइट जोमसोम
१९७२ रोयल फ्लाइट धुलिखेल ३१
१९७५ आरएनएसी बौद्ध काठमाडौं
१९७६ आरएनएसी मेघौली
१९७९ भिभिआइपी लाङ्टाङ
१९८१ आरएनएसी विराटनगर १०
१९८४ आरएनएसी भोजपुर १५
१९८५ नेपाल आर्मी २५
१९९२ थाई एयर घाङ्फेदी ११३
१९९२ पिआइए भट्टेडाँडा १६७
१९९३ एभरेष्ट सिंगापुर १८
१९९५ आरएनएसी काठमाडौं
१९९७ कर्णाली एयर सोलुखुम्बु
.१९९८ एटिएससी लुम्बिनी म्याग्दी १८
१९९८ एसियन एयर सोलुखुम्बु
१९८८ एनएसी सोलुखुम्बु
१९९९ नेकोन एयर जुम्ला
१९९९ लुफ्थासा भसुमासुर डाँडा
१९९९ नेकोन एयर रामकोट १५
१९९९ स्काइलाइन मकवानपुर १०
२००० आरएनएसी डडेल्धुरा  २५
२००१ फिष्टेल एयर रारा ताल
२००२ स्काइलाइन सुर्खेत
२००२ सांगि्रला कास्की १८
२००३ सिमि्रक एभरेष्ट बेसक्याम्प २
२००४ यती एयरलाइन्स लमजुङ
२००५ एयर डाइनेष्टी रामेछाप
२००६ यति एयरलाइन्स जुम्ला
२००६ श्री एयरलाइन्स ताप्लेजुङ २४
२००८ अनमिन रामेछाप १०
२००८ यती एयर लुक्ला १९
२०१० अग्नि एयर मकवानपुर १४
२०१० तारा एयर खोटाङ २२
२०११ बुद्ध एयर लामाटार १९
स्रोतः नागरिक उड्डयन प्राधिकरण 
यो अवधिमा मानवीय क्षति नभएका थप ४३ दुर्घटना भएका छन् । 

Sunday, September 25, 2011

परम्परागत किसिमले अब चल्दैन

पर्यटन बोर्डमा मेरा १२ वर्ष

सुभाष निरौला

वरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड

म सन् २००० मा खुला प्रतिस्पर्धाबाट पर्यटन बोर्डमा प्रवेश गरेको हुँ । २००१ देखि २००७ सम्म नेपाल सरकारको नेतृत्व तथा युएनडिपी, एसएनभी र डिएफआइडीलगायतका दातृ संस्थाको वित्तीय सहयोगमा सञ्चालित ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआरपिएपी) मा वर्किङ कमिटी र एक्स्पर्ट ग्रुपको सदस्य भएर काम गरेँ । २००२-००३ मा मैले गन्तव्य नेपाल अभियानको सदस्यसचिवको जिम्मेवारी सम्हालेँ । 
२००७ मार्चदेखि आठ महिना बोर्डमा निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेँ । त्यतिबेला सबैलाई मिलाएर काम गर्नु निकै चुनौतीपूर्ण थियो । मेरै पहलमा बोर्डमा पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखाको गठन भयो । अहिले म त्यो महाशाखाको प्रमुख छु । बोर्डमा आउनुअघिदेखि नै व्यावसायिक रूपमा म पर्यटन क्षेत्रमा नै संलग्न थिएँ । विराटनगरमा हाम्रो पारिवारिक लगानीमा तीन तारेस्तरको होटल रारा सञ्चालनमा थियो । त्यहाँ मैले एक वर्षभन्दा बढी काम गरेँ । अहिले त्यो ठाउँमा नेपाल औद्योगिक विकास निगम बसेको छ ।
०००
सन् १९८१ तिर मैले सिद्धार्थ वनस्थली इन्स्िटच्युटमा पढाएँ । पछि, सार्क सचिवालयमा काम गरेँ । ट्राभल कम्पनीमा कन्सल्ट्यान्ट पनि भएँ । मैले १९९५ मा झण्डै ६ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको सिद्धार्थ ट्याक्सी सर्भिस प्रालिको संस्थापक सञ्चालक र प्रबन्ध-निर्देशक भई काम गरेँ । तत्कालीन सरकारले काठमाडौंमा सार्वजनिक यातायातलाई सर्वसुलभ बनाउन ल्याएको नीतिको सदुपयोग गर्दै त्यो कम्पनीको स्थापना भएको थियो । 
पुख्र्यौली घर तेह्रथुम भए पनि म विराटनगरमा जन्मिएको हुँ । बिराटनगरबाट प्राथमिक शिक्षा सुरुवात भयो । पछि काठमाडौंको सेन्ट जोसेफ स्कुलमा चार वर्ष पढेँ । एसएलसीचाहिँ ०३२ सालमा पब्लिक मावि रंगेली मोरङबाट गरेँ । म त्यतिवेलाको ब्याचटपर हुँ । आइएस्सी बनारसबाट र बिएस्सी त्रिचन्द्र कलेजबाट गरेँ ।
सन् १९९८ मा बेलेभ्यू युनिभर्सिटी नेब्रास्का अमेरिकाबाट लिडरसिप विषयमा स्नातकोत्तर गरेँ । त्यतिवेला नेपालमा नेपाल भ्रमण वर्ष मनाइँदै थियो । अमेरिकाकै युनिभर्सिटी अफ हवाईबाट २००८ मा इक्ज्युकेटिभ डेभलपमेन्ट इन्स्िटच्युट अफ टुरिजममा पनि स्नातक गरेँ ।
केही समयपछि पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत -सिइओ) पद खाली हुँदै छ । नयाँ सिइओ छनोट गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ । सिइओ छनोट प्रतिस्पर्धात्मक हुनुपर्छ भन्ने मेरो मान्यता छ । म 'मेरिट सिस्टम'मा विश्वास गर्छु । अमेरिकामा पढेका वेला मैले त्यहाँ यस्ता धेरै कुरा देखेको छु । त्यहाँको राष्ट्रपतीय निर्वाचनमा जस्तै यहाँ पनि बोर्डको सिइओका लागि सार्वजनिक बहस हुनुपर्छ । उम्मेदवारलाई एकै ठाउँमा राखेर उनीहरूका योजना र भिजनको मूल्यांकन गर्नुपर्छ । मूल्यांकन गर्ने व्यक्ति पनि सक्षम हुनुपर्छ । यो प्रक्रिया विवादित बनाउनुहुँदैन र राजनीतिकरण गर्नुहँुदैन । विवादित सिइओ आएर उसले पनि राम्रोसँग काम गर्न सक्दैन । 
शाहीकालमा पनि सिइओ छनोट विवादित भएको थियो । अहिले त्यस्तै संकेत देखिएको छ । विवाद हुँदा आठ महिना सिइओ पद नै खाली भयो । त्यतिवेला मैले नै कार्यवाहक चलाएको थिएँ । अबको छनोट पूर्ण व्यावसायिक र पर्यटन उद्योगको आवश्यकताअनुसार हुनुपर्छ । योग्य मान्छे जो पनि आउनसक्छ । 
०००
नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बोर्डमा क्लियर भिजन भएको व्यक्ति आउनुपर्छ र त्यसको छनोट प्रक्रिया विवादरहित हुनुपर्छ । म बोर्डलाई सुधार्न चाहन्छु । दुई वर्षमा केही गर्न सकिनँ भने पनि बस्दिनँ । केही गर्छु भनेर अमेरिकाबाट फर्केको हुँ । त्यहाँ थुप्रै अवसर थिए । 
बोर्डलाई राजनीतिमुक्त तथा व्यावसायिक बनाउने र संस्थागत संरचना बढाउने मेरो मुख्य उद्देश्य हो । पर्यटन उद्योग गतिशील भएकोले त्यसैअनुसार मार्केटिङ र प्रमोसन प्लान बनाउनुपर्छ । पर्यटन अभिलेखालय बनाउने तथा बोर्डप्रति सम्भावनाको दृष्टिकोण बनाउने प्रयास मेरो हुनेछ । वास्तविक रूपमै बोर्डलाई सार्वजनिक निजी साझेदारीको मोडल बनाउने योजना छ मेरो  । देशभरिमा विस्तार भएको नेटवर्कलाई सुदृढ बनाउने र विकेन्दि्रत गर्दै लैजाने मेरो प्रयास छ । कार्यालयमा अनुशासनको सिस्टम बसाउँछु । कर्मचारी अनुशासित भएनन् भने अड्डामा अराजकता बढ्छ । अहिले त्यही भइरहेको छ । कर्मचारीमा एकता नहुँदा बोर्डको कार्यक्षमता घटेको छ । 
पर्यटन भनेको डाइनामिक सेक्टर हो । चार वर्षमा धेरै कुरा परिवर्तन भएका छन् । परिवर्तित सन्दर्भमा नयाँ भिजन लिएर आएको छु । मेरोभन्दा राम्रो भिजन लिएर कोही आउँछ भने उसैले पाउनुपर्छ । परम्परागत किसिमले अब बोर्ड चल्दैन । पर्यटनको प्रतिफल ग्रामीण क्षेत्रसम्म पुयाउने नारालाई कार्यान्वयन गर्छु । पर्यटन वर्षको नाममा गफ मात्र भयो । जनतासम्म यसको प्रभाव पुग्नै सकेन । स्थानीय सञ्चारमाध्यमको पनि भूमिका बढाउनुपर्छ । पर्यटन बोर्ड मेरा लागि जागिर खाने अड्डा मात्र होइन । केही गरेर देखाउनु छ मलाई । 
बोर्डमा सिइओ छनोट प्रक्रिया सुरु भइरहेकै वेला मविरुद्ध सार्वजनिक सञ्चारमाध्यममा विभिन्न कुरा प्रकाशित भइरहेका छन् । यो कुराले मलाई गम्भीर बनाएको छ । अझ दुःखलाग्दो कुरा त यसमा बोर्डका जिम्मेवार व्यक्ति नै संलग्न छन् । फुटाएर शासन गर्ने प्रवृत्ति बढेको छ बोर्डमा । 
सबै कुराको आफ्नो पद्धति र प्रक्रिया छ । छानबिन गर्ने निकाय छन् । तिनले पद्धतिसम्मत रूपमा छानबिन गर्लान् । अख्तियार छ, सार्वजनिक लेखा समिति छ । सञ्चालक समिति पनि यो कुरामा स्पष्ट हुनुपर्छ । बोर्डअध्यक्ष राजनीतिक दबाबमा परेको देखिन्छ । यस्तो गम्भीर विषयमा सञ्चालक समिति चुप रहनु आश्चर्यजनक छ । 
०००
केही साताअघि सार्वजनिक बिदाको दिन पारेर बोर्डका महत्त्वपूर्ण कागजात चोरी भएको छ । कागजात फोटोकपी गरिएको छ । कार्यालयको गोपनीयता पनि महत्त्वपूर्ण कुरा हो । ऐन-नियममा पनि गोपनीयताका कुरा छन् । गोपनीयताको शपथ खाने जिम्मेवार व्यक्ति नै यस्तो काममा संलग्न हुनु दुःखको कुरा हो । यो संवेदनशील विषय हो । यदि यो सत्य हो भने अपराध हो । कुनै पनि संस्थामा यस्तो काम गर्ने व्यक्ति सजायको भागीदार हुन्छ । यस विषयमा व्यवस्थापनले आवश्यक कदम चाल्ने विश्वास मलाई छ । कुनै पनि कुरा बाहिर ल्याउने एउटा सिस्टम हुन्छ । केही भएकै भए पनि त्यसलाई सडकमा ल्याउनुअघि धेरैपल्ट विचार गर्नुपर्छ । यसको छानबिन गर्ने निकाय छन् । पर्यटन वर्ष कार्यक्रमको हिसाबकिताब लेखापरीक्षणकै क्रममा छ । प्रक्रियामा रहेको कुरा जसरी सार्वजनिक भएको छ यो आपत्तिजनक छ । 
०००
पर्यटन वर्ष सुरु भएदेखि चारपटक सदस्यसचिव फेरिइसकेका छन् । सबैले केही महिनामै विभिन्न बहानामा राजीनामा दिए । मैले दुई वर्ष चलाएँ । तर। मलाई विनाकारण अपदस्त गरियो । धेरैजसो काम मेरै समयमा भएका छन् । पैसा खर्च गर्ने आफ्नै नीति-नियम छन् । पर्यटन वर्ष सचिवालयको आफ्नै कार्यविधि छ । कार्यविधिभन्दा बाहिर केही भएको छैन । 
०००
०६७ पुस २६ गते बोर्ड कार्यकारीप्रमुखले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदानस्वरूप उपलब्ध गराएको १० करोड रुपैयाँ खर्च गर्ने अख्तियारी मलाई तोकेर दिएका छन् । मूल आयोजक समिति तथा कार्यक्रम कार्यान्वयन समितिले स्वीकृत गरेको बजेट तथा कार्यक्रम कार्यान्वयन गराउने मेरो जिम्मेवारी थियो । कार्यविधिअनुसार अधिकारप्राप्त अधिकारी भनेको कार्यक्रम कार्यान्वयन समितिको सदस्यसचिव पनि हो । 
अहिले शाहीकालकै झल्को आउने गरी कामहरू भइरहेका छन् । त्यही प्रकृतिको घटना भएको छ । ०६२ जेठमा तत्कालीन भ्रष्टाचार नियन्त्रण शाही आयोगमा मविरुद्ध मुद्दा हालिएको थियो । सो मुद्दाका सम्बन्धमा बोर्ड सञ्चालक समितिले गठन गरेको छानबिन समितिले उजुरीमा उठाइएका कुनै पनि विषय प्रमाणित नभएको प्रतिवेदन दिएको थियो । मविरुद्ध यस्ता निराधार हल्ला भइरहेका छन्, त्यसको पछाडि मलाई दौडिनु जरुरी छैन । सम्बन्धित निकायले निष्पक्ष मूल्यांकन गर्नेछन् सबै विषयमाथि । 
बोर्ड सञ्चालक समिति सक्षम हुनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । सञ्चालक समितिमा सबै क्षेत्रको प्रतिनिधित्व छैन । पाँचजना सदस्य क्षेत्रगत रूपमा आउनुपर्छ भन्ने मेरो पुरानै माग हो । पूर्वबाट बल्ल प्रतिनिधित्व भएको छ । मध्य र सुदूरपश्चिमबाट अझै हुन सकेको छैन । 
बोर्ड सदस्यको नियुक्ति ऐनअनुसार हुनुपर्छ । विशुद्ध पर्यटन व्यवसायी र शैक्षिक योग्यता भएकोलाई मात्र बोर्डमा ल्याउनुपर्छ । बोर्ड ऐनमा पर्यटन प्रवर्द्धन गर्ने कार्यमा संलग्न रहेका पर्यटन व्यवसायी तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञ बोर्ड सदस्य हुनसक्ने व्यवस्था छ । त्यसलाई कार्यान्वयन गरेर जानुपर्छ । सक्षम नेतृत्व पाएमा पर्यटन बोर्डले फड्को पार्नेछ । 
प्रस्तुतिः लक्ष्मीप्रसाद खतिवडा 

तस्बिरः श्रीधर पौडेल

Thursday, September 22, 2011

जीवनशैली बन्दै एटिएम

हातमा चेक बोकेर बैंकको काउन्टरमा लामो लाइन लाग्ने दिन अब गइसकेको छ । पैसा झक्िन अटोमेटेड टेलर मेसिन (एटिएम) प्रयोग गर्नेको संख्या बढेपछि अहिले धेरै उपभोक्ता 'क्यास' काउन्टरमा देखिन छाडेका छन् । सहरियाको 'सान' बनेको छ, एटिएम । विशेषगरी यसमा युवा पुस्ताको बाहुल्य छ । पकेटमा विभिन्न बैंकका एटिएम कार्ड बोकेर हिँड्ने युवाहरू सपिङदेखि लिएर रेस्टुरेन्टमा खाएको बिल त्यसैबाट तिर्छन् । केही वर्षअघिसम्म खासै प्रयोगमा नरहेको एटिएम अहिले अधिकांशको आवश्यकताजस्तो भइसकेको छ । 
पछिल्ला केही वर्षमा बैंक तथा वित्तीय संस्थाबीच ग्राहकलाई एटिएम सेवा दिने प्रतिस्पर्धा नै चलेको छ । उपत्यकाबाहिर समेत यो क्रम बढेको छ । बजारभन्दा टाढा खुलेका बैंकले समेत बजार क्षेत्रमा भाडामा कोठा लिएर एटिएम सेवा दिएका छन् । एटिएम प्रयोगले कर्मचारीको चाप कम हुने, बैंकमा चेक साट्न आउने ग्राहकको भीड नहुने र बैंकको आम्दानीसमेत बढ्ने भएकाले एटिएम सेवा अनिवार्यजस्तै भएको छ । एटिएम सेवा नदिने बैंक तथा वित्तीय संस्थामा खातै नखोल्ने प्रवृत्ति देखिन थालेको छ ।
चलाउन सजिलो, छिटो र जुनसुकै समयमा पैसा झक्िन सकिने भएकाले पछिल्लो समय धेरैको ध्यान एटिएमले तानेको छ । प्रयोगकर्ताको संख्या बढेका कारण प्रत्येक वर्ष वाणिज्य बैंकले एटिएम मेसिन थपिरहेका छन् । वाणिज्य मात्र नभई विकास बैंक, फाइनान्स कम्पनी र सहकारीसमेत एटिएम राख्न उत्साहित भएका छन् ।
अहिले मुलुकका सबै मुख्य सहरमा एटिएम विस्तार भएको छ । सबैभन्दा बढी एटिएम भएको बैंक नेपाल इन्भेस्टमेन्ट बैंक हो । यसका मुलुकभरका ६७ स्थानमा एटिएम काउन्टर छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार अहिले मुलुकभर करिब ९ सयवटा एटिएम सञ्चालनमा छन् । यो संख्या ०६७ असार मसान्तसम्ममा सात सय ४१ थियो भने ०६६ असार मसान्तसम्म चार सय ८५ मात्र थियो । 
नेेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागको तथ्यांकअनुसार अहिले मुलुकभर १९ लाख ५० हजार कार्ड प्रयोगकर्ता छन् । यो संख्या ०६७ असार मसान्तमा १५ लाख ४० हजार थियो भने ०६६ असार मसान्तसम्म आठ लाख थियो । कार्ड प्रयोगकर्तामध्ये अधिकांश डेबिटकार्ड प्रयोग गर्नेछन् । १९ लाख एटिएम प्रयोगकर्ताले दैनिक करिब दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने अनुमान छ । सामान्यतया एउटा एटिएममा बढीमा ३० लाख रुपैयाँ हुन्छ । 
नेपालमा पहिलोपटक एटिएम सञ्चालन गर्ने हिमालयन बैंक हो । यसले सन् १९९५ मा एटिएम सेवा सुरु गरेको थियो । बंैकका मुलुकभर ५५ वटा एटिएम छन् । अहिले प्रायः बैंकले खाता खोल्दा सामान्यतया उपभोक्ता डेबिट कार्ड अथवा एटिएम कार्ड दिने गरेका छन् । सामान्यतया खाता खोलेको एक सातामा उपलब्ध हुने एटिएम कार्डका लागि बैंकहरूले दुईदेखि ३ सय रुपैयाँ शुल्क लिन्छन् । वाषिर्क नवीकरणको छुट्टै शुल्क तिर्नुपर्छ । केही बैंकले क्रेडिट कार्ड सेवा पनि प्रदान गरिरहेका छन् । क्रेडिट कार्ड प्रयोगकर्ता भने निकै कम छन् । 
उपभोक्ता र एटिएम काउन्टरको संख्या बढिरहे पनि अहिलेसम्म एटिएम कार्डको बढी प्रयोग पैसा झक्िनका लागि हुने गरेको छ । सामान किन्न तथा अन्य सेवाका लागि पैसा तिर्न एटिएम कार्ड प्रयोग गर्नेको संख्या कम छ । एटिएमले नोटको प्रयोगलाई विस्थापित गर्न सकेको छैन । सहर-बजारका साना-ठूला सुपरमार्केट, होटल, रेस्टुरेन्ट तथा अन्य ठूला पसलले विभिन्न बैंकद्वारा उपलब्ध गराइएका एटिएम कार्डमार्फत रकम लिने व्यवस्था मिलाएका भए पनि डेबिट कार्डबाट सामान खरिद गर्नेको संख्या धेरै छैन । अहिले मोबाइल रिचार्ज गर्ने सुविधासमेत एटिएम कार्डमा छ । बैंकले एटिएमलाई २४ घन्टे सेवा भने पनि कतिपय अवस्थामा यो पूर्णरूपमा भरपर्दो छैन । बिहान खुल्ने र साँझ बन्द हुने एटिएम पनि छन् । कतिपय एटिएममा प्रायः बिग्रेको सूचना टाँसिएको पाइन्छ । बैंकले पुराना मेसिन प्रयोग गर्दा पनि पटक-पटक समस्या आउने गरेको प्राविधिक बताउँछन् । नेटवर्किङ प्रणालीका कारण पनि एटिएममा समस्या आउने गर्छ । 
सावधानीपूर्वक चलाऔँ एटिएम कार्ड
एटिएम कार्ड प्रयोग जति सजिलो र सुरक्षित छ, त्यत्तिकै जोखिमपूर्ण पनि । सावधानी नअपनाए तपाईंकोे खातामा रहेको रकम अर्कैले निकाल्न पनि सक्छ । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रक कार्यालयका नियन्त्रक राजनराज पन्त एटिएम कार्डको पिन नम्बर सबैभन्दा महत्त्वपूर्ण भएकाले सुरक्षित राख्नुपर्ने बताउँछन् । पैसा झक्िदा आफ्नो पिन नम्बर कसैले नदेख्नेगरी प्रयोग गर्न, कार्ड छिराउने ठाउँमा केही चिज राखेको छ/छैन ध्यान दिन र एटिएम बक्सवरिपरि पारदर्शी वस्तु भए/नभएकोबारे अवलोकन गर्न उनको सुझाब छ । 'ठगले मेसिनमा कार्ड अड्काउन कार्ड छिराउने स्थानमा केही वस्तु राखिदिन सक्छ र कार्ड अड्केपछि सहायता गर्ने बहानामा पुनः पिन नम्बर थिच्न लगाउँछ,' उनले भने । कार्ड ननिस्केपछि ग्राहक सम्बन्धित पदाधिकारीलाई खबर गर्न गएको मौकाछोपी उसले पैसा निकाल्न पनि सक्छ । मेसिनभित्र कार्ड अड्केमा बैंक कर्मचारीलाई अनिवार्य जानकारी दिनुपर्ने उनको सुझाब छ । 'विदेशमा यस्तो प्रवृत्ति देखिएको छ, यहाँ पनि त्यस्तै हुन सक्छ,' उनको भनाइ छ । यसलाई कार्ड 'ट्यापिङ' गर्ने भनिन्छ । 
नक्कली एटिएम कार्ड बनाएर अरूको पिन नम्बर प्रयोग गरी खातामा रहेको रकम झक्िन सकिने सम्भावना हुने हँुदा पिन नम्बर छोपेर थिच्न पन्तको सुझाब छ । त्यस्तै नम्बर थिच्ने स्थानमा राखिएको प्लास्टिकको लेयरमा थिचिएका अंकको डोब बस्ने र ठगले पछि त्यही डोबका आधारमा पनि खाताको रकम झक्िन सक्ने सम्भावना रहन्छ । कतिपय अवस्थामा बैंकका कर्मचारीले समेत यस्तो कार्य गर्नसक्ने हुँदा एटिएमबाट निकालेको नगदको रिसिप्टलाई सुरक्षति रूपमा राख्न विज्ञहरूले सुझाब दिएका छन् । 'कुनै समयमा एटिएम कार्डबाट नगद निकाल्न नसके पनि पैसा काटिएको हुन्छ, त्यसो हुँदा रिसिप्टलाई सुरक्षति साथ राख्नुपर्छ,' पन्तको सुझाब छ । 
एटिएम कार्ड प्रयोग गर्दा मेसिनवरिपरि कुनै अनावश्यक मेसिन वा क्यामेरा जडान भएको छ कि भनेर सचेत हुनुपर्ने हुन्छ । पिन नम्बर पत्ता लागेपछि 'क्लोनिङ' गरेर त्यस्तै कार्ड बनाउन सक्ने सम्भावना हुन्छ । एटिएमबाट नगद निकाल्दा वरिपरि मानिस भएको अवस्थामा अरूले देख्न नसक्नेगरी पिन नम्बर टाइप गर्नुपर्छ । बैंकहरूले पनि एटिएम कार्डको पिन नम्बर सुरक्षित राख्न तथा कार्ड हराए तुरुन्त बैंकमा खबर गर्न आग्रह गरेका छन् । यसबाहेक उपभोक्ता आफँ पनि सचेत हुन आवश्यक छ ।  
khatiwadalp@gmail.com

Wednesday, September 21, 2011

सिइओको भर्ना खुल्यो पर्यटन बोर्डमा

लक्ष्मीप्रसाद खतिवडा/नयाँ पत्रिका
काठमाडौं, ३ असोज
आगामी कात्तिक दोस्रो साता रिक्त हुने नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि सार्वजनिक विज्ञापन प्रकाशित भएको छ । सिइओ छनोट समितिले सो पदका लागि ३५ दिने विज्ञापन प्रकाशित गरेको हो ।
सो पदमा आवेदन दिन कुनै पनि संकायमा स्नातकोत्तर गरी दश वर्ष पर्यटन क्षेत्रमा अनुभव हुनुपर्ने विज्ञापनमा उल्लेख छ । त्यस्तै नेपाली तथा अंग्रेजी भाषामा पोख्त हुनुपर्ने, अन्य भाषाको पनि ज्ञान हुनुपर्ने, कम्प्युटर तथा अन्य सूचना प्रविधिको ज्ञान हुनुपर्नेलगायतका योग्यता सो पदका लागि तोकिएको छ ।
बोर्डको सिइओ पदको अवधि ४ वर्षको हुने र तलब तथा सुविधा वार्ताबाट तय गरिने पर्यटन बोर्ड नियमावलीमा उल्लेख छ । बोर्डको वार्षिक अपरेसनल प्लान बनाउने तथा कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवद्र्धन गर्न रणनीति तथा कार्यक्रम बनाउने, नया पर्यटकीय गन्तव्यको खोजी र विकास गर्ने, सरकार तथा अन्य निकायस“ग समन्वय गर्नेलगायत जिम्मेवारी सिइओका हुने नियमावलीमा उल्लेख छ ।
त्यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटनसग सम्बन्धित संघसंस्थाहरू, विकासे संघसंस्थाहरू, कूटनीतिक नियोगहरू तथा अन्य व्यावसायिक संस्थाहरूस“ग सहकार्य गर्ने, बोर्डको तत्कालीन तथा दीर्घकालीन योजना बनाउने र बोर्डको प्रशासनिक र आर्थिक कार्यभार सिइओको जिम्मेवारीभित्र पर्छ । सिइओ छनोटका लागि गत सातामात्र पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशी अध्यक्ष रहेको सञ्चालक समितिको बैठकले तीन सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा बोर्डका सञ्चालक गणेश सिम्खडा, निमी शेर्पिनी र धु्रवनारायण श्रेष्ठ छन् ।
नेपालको पर्यटन विकासमा महŒवपूर्ण भूमिका खेल्ने बोर्डको सिइओ छनोटका लागि नियुक्त भएका सदस्य क्षमतावान् हुनुपर्ने पर्यटन व्यवसायीहरूको जोड छ । राजनीतिक पूर्वाग्रहका आधारमा समिति गठन भएको भन्दै केही व्यवसायीले सिइओ छनोट निष्पक्ष हुनेमा समेत शंका व्यक्त गरेका छन् । छनोट समितिमा नियुक्त भएका सदस्यको योग्यता माथि विगतदेखि नै प्रश्न उठ्दै आएको छ ।
टानका पूर्वअध्यक्ष तथा टेकिङ व्यवसायी ज्योति अधिकारीले छनोट समितिका सदस्य सिइओ छान्न योग्य नभएको स्विकार्दै उनीहरूले विज्ञको सल्लाह लिएर मात्र प्रमुख कार्यकारी छनोट गर्नुपर्ने बताए । ‘प्रक्रियाअनुसार नै समिति गठन भएको हो, यसको विकल्प थिएन । तर, उनीहरूले विज्ञहरू राखेर छुट्टै समिति गठन गर्नुपर्छ,’ अधिकारीले भने । छनोट प्रक्रियामा राजनीतिक दबाब हुन नहुनेमा उनको जोड छ । पर्यटनमन्त्रीसमेत नियुक्त भइनसकेको अवस्थामा हतारमा समिति गठन हुनु गलत भएको भन्दै उनले यस विषयमा बोर्डसमेत विभाजित भएको दाबी गरे । ‘पर्यटन बोर्डले जुन गति लिनुपथ्र्यो सकेको छैन । यसका लागि क्षमतावान् नेतृत्व चाहिएको छ,’ उनले भने । निजी क्षेत्रले बोर्डलाई गति दिनसक्ने क्षमतावान् सिइओ चाहेको बताउ“दै उनले यस प्रक्रियामा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्न नहुनेमा जोड दिए ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी हिसिला यमीको दबाबमा हतारमा छनोट समिति गठन भएको बताइएको छ । यमीले आफूले चाहेको व्यक्तिलाई बोर्डमा ल्याउन मन्त्री नियुक्त हुनुअघि नै समिति गठन गर्न पर्यटन सचिव गणेशराज जोशीलाई दबाब दिएको स्रोतले बतायो । यसअघि यमी पर्यटनमन्त्री भएको वेला पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका संयोजक बनाइएका ज्ञानेन्द्ररत्न तुलाधरलाई कार्यकारी प्रमुख बनाउने प्रयासस्वरूप यमीले सचिवलाई दबाब दिएको पनि स्रोतको दाबी छ । तुलाधर यमीका बहिनी–ज्वाइ हुन् । विगतमा कार्यकाल सकिन केही दिनअघि वा कार्यकाल सकिएपछि मात्र समिति गठन गर्ने प्रचलन थियो ।

Friday, September 16, 2011

Politics Began in NTB CEO Selection




लक्ष्मीप्रसाद खतिवडा
नयाँ पत्रिका
काठमाडौं, २९ भदौ
तीन महिनापछि रिक्त हुने नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत -सिइओ छनोट गर्न समिति गठन गरिएको छ । पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशी अध्यक्ष रहेको सञ्चालक समितिको बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । 
समितिका सदस्यमा बोर्डका सञ्चालक  गणेश सिम्खडा, निमी शेर्पिनी र धु्रवनारायण श्रेष्ठ छन् । सिम्खडा प्रधानमन्त्री बाबुराम भट्टराई पत्नी हिसिला यमी पर्यटनमन्त्री हँदा बोर्ड सञ्चालकमा नियुक्त भएका थिए । आफूलाई भट्टराई निकट दाबी गर्ने सिम्खडा गत वर्षदेखि नै बोर्डमा सक्रिय छन् । उनीसँगै बोर्ड सदस्य नियुक्त भएकी शेर्पिनी टे्रकिङ व्यवसायी हुन् । बोर्ड सञ्चालक बन्न सिंखडा र शेर्पिनीलेे पेस गरेको बायोडाटामा पर्यटनसम्बन्धी कार्यअनुभव उल्लेख गरिएको छैन भने शेर्पिनीको बायोडाटामा शैक्षिक योग्यता पनि छैन । तर, उनी पूर्वरानी कोमलको जन्मोत्सव मनाउने समितिको कोषाध्यक्ष बनेको बायोडाटामा उल्लेख छ । 
त्यस्तै, सिम्खडाको १ पेजको बायोडाटामा सामान्य व्यक्तिगत विवरण मात्र उल्लेख छ । शैक्षिक योग्यता स्नातक उल्लेख भने पनि अन्य कुनै विवरण छैन । श्रेष्ठको बायोडाटामा भने त्रिभुवन विश्वविद्यालयबाट मानविकीमा स्नातक गरेको उल्लेख छ । निजी क्षेत्रले समर्थन गरेका श्रेष्ठ नाट्टाका पूर्वअध्यक्ष हुन् । श्रेष्ठ शरदसिंह भण्डारीको पालामा सदस्य भएका हुन् । त्यतिखेर भण्डारीले सिम्खडा र शेर्पिनी दुवैलाई हटाए पनि सर्वोच्च अदालतले पुनःस्थापना गर्न पर्यटन मन्त्रालयलाई आदेश दिएको थियो । उनीहरूको पदावधि आगामी मंसिरसम्म बाँकी छ । सरकार परिवर्तन हुनासाथ प्रसिद्धबहादुर पाण्डे र राजन शाक्यले भने राजीनामा दिइसकेका छन् । 
सिइओ छान्ने समितिमा अयोग्य सदस्य नियुक्त भएको भन्दै बोर्डका पदाधिकारी तथा सरोकारवालाले विरोध गरेका छन् । 'कार्यकारी प्रमुखका लागि एमए पास र दश वर्षको अनुभव आवश्यक पर्छ तर उसलाई छान्नेको कुनै योग्यता आवश्यक छैन,' बोर्डका एक अधिकारीले भने । बोर्ड सदस्यको अधिकारबारे ऐन मौन रहे पनि उनीहरूले अनावश्यक दबाब दिने गरेको उनको भनाइ छ । 
हिसिला यमीकै दबाबमा हतारमा समिति गठन भएको दाबी बोर्ड  अधिकारीहरूको छ । विगतमा कार्यकाल सकिन केही दिनअघि वा कार्यकाल सकिएपछि मात्र समिति गठन गर्ने प्रचलन थियो । यसअघि यमीकै पालामा पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका संयोजक बनाइएका ज्ञानेन्द्र रत्न तुलाधरलाई कार्यकारी प्रमुख बनाउने प्रयास भएको बताइएको छ । यसअघि शरदसिंह भण्डारीले उनलाई हटाएर योगेन्द्र शाक्यलाई संयोजक बनाएका थिए । 
बोर्ड सदस्य अयोग्य भएको भन्दै बोर्ड नै अलमलमा परेको सरोकारवालाहरू बताउँछन् । पर्यटन क्षेत्रमा विशेष योग्यता हासिल गरेका व्यक्तिबाट बोर्डको गठन र त्यसका सदस्यको नियुक्ति हुनुपर्नेमा राजनीतिक आस्थाका आधारमा सदस्य नियुक्ति हुने गरेको उनीहरूको भनाइ छ । बोर्डमा पाँचजना पर्यटन विशेषज्ञ सदस्यको रूपमा रहने व्यवस्था छ । बोर्ड सदस्य बन्न पर्यटनसम्बन्धी दक्षता हासिल गरेको विशेषज्ञ हुनुपर्ने व्यवस्था पनि नियमावलीमा छ । 
पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न खोलिएको बोर्डमा होटल संघ, ट्राभल र ट्रेकिङ एजेन्ट्स एसोसिएसनजस्ता संस्थाले तोकेका प्र्रतिनिधिको साटो सरकारले गठन गरेको छनोट समितिले छानेका सदस्य राख्ने व्यवस्था उपयुक्त नभएको व्यवसायीले बताउँदै आएका छन् । बोर्डलाइ सार्वजनिक निजी साझेदारीको नमुना संस्था मानिए पनि पछिल्लो समयमा राजनीतिक प्रभाव निकै बढेको कर्मचारी बताउँछन् । हालका प्रमुख कार्यकारी प्रचण्डमान श्रेष्ठ केही दिनका लागि भन्दै बिदामा बसेका छन् । समितिले केही दिनमै सिइओका लागि ३५ दिने विज्ञापन प्रकाशित गर्ने बताइएको छ । 
सदस्य-सचिवद्वारा राजीनामा
पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका सदस्य सचिव नन्दिनीलाहे थापाले राजीनामा दिएकी छिन् । लामो समयदेखि स्वास्थ्यको कारण देखाएर बिदामा बसेकी थापाले बिहीबार राजीनामा दिएकी हुन् । 
यसअघिका सदस्य-सचिव आदित्य बरालले पनि दुई महिना नबित्दै राजाीनामा दिएका थिए । राजनीतिक दबाबका कारण काम गर्न नसकेर थापाले राजीनामा दिएको बताइएको छ । स्रोतअनुसार बोर्डका अर्का निर्देशक काशीराज भण्डारीलाई सदस्य-सचिव बनाउने तयारी भइरहेको छ । 
गत जेठ ४ मा बोर्डका वरिष्ठ निर्देशक सुवास निरौलालाई सदस्य-सचिवबाट हटाएर निर्देशक आदित्य बराललाई नियुक्त गरिएको थियो । उनले पनि राजीनामा दिएपछि थापा सदस्य-सचिवमा नियुक्त भएकी थिइन् ।

Monday, September 12, 2011

नेवानिका मुसाहरू

नेपाल वायुसेवा निगमको बोइङ जहाजमा मुसा पसेको खबरले यो साता भर ठूलै चर्चा पायो । पदाधिकारी नियुक्ति तथा कार्यक्षेत्र, जहाज खरिद, भाडा आदि प्रकरणका कारण बारम्बार चर्चामा आउने निगमका लागि यसपटक मुसा प्रवेश चर्चाको कारण बन्न पुग्यो । विभिन्न सञ्चारमाध्यममा आ-आफ्नै हिसाबले फरक-फरक विवरणसहितका समाचार प्रवाहित भए । मुसा फेला परे/नपरेकोबारे पनि अनुमानकै भरमा समाचार छापिए । अन्ततः निगमले विज्ञप्ति जारी गरेरै मुसा फेला परेको जानकारी गराएपछि यो विषयले किनारा पायो । 
बडेमानको हात्तीको सुँडमा सानो भुसुना मात्र छिरे पनि त्यसले उसलाई रुवाउँछ । झन्डै २ सय यात्रु क्षमताको जहाजमा छिरेको सानो 'डुहुरे' मुसाले सबैलाई आच्छुआच्छु पारिदियो । मुसाका कारण निगमलाई करोडौं घाटा भएको समाचारसमेत आइरहेका छन् । 
जहाजमा मुसा पस्ने गरेको विषय नेपालमा मात्र नयाँ हो । यस्ता घटना वेला-वेलामा अन्य मुलुकमा समेत हुने गरेका छन् । सन् २००६ मे मा अमेरिकन एयरलाइन्सको बोइङ ७६७ जहाजमा, सन् २००८ जनवरीमा वासिंगटनबाट बेइजिङ उड्न लागेको युनाइटेड एयरलाइन्सको जहाजमा, २००९ सेप्टेम्बरमा एयर इन्डियाको जहाजमा, सन् २००९ नोभेम्बरमा केनेडी इन्टरनेसनल विमानस्थलबाट लन्डन उड्न लागेको डेल्टा एयरलाइन्सको जहाजमा, गत जनवरीमा दुबईबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा, सन् २०१० को फेब्रुअरीमा एयर इन्डियाको जहाजमा र गत अगस्टमा स्विडेनबाट सिकागो जान लागेको स्क्यानन्डिनेभिएन एयरलाइन्सको जहाजमा मुसा पसेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका थिए । मुसाकै कारण कैयाँै घन्टा उडान प्रभावित भएको थियो र विमान कम्पनीलाई करोडौँ डलर घाटा भएको थियो । 
मुलुकको राष्ट्रिय ध्वजावाहक जहाजमा मुसा छिरेपछि आममानिसमा पनि यसबारे चासो उत्पन्न हुनु स्वाभाविक थियो । निगमको जहाजमा छिरेको सानो मुसो त भेटियो । केही करोडको मात्र क्षति भयो, तर निगमभित्रका थुप्रै ठूला मानवरूपी मुसाले निगमलाई भित्र-भित्रै खोक्रो बनाएका छन् र अझै बनाइरहेका छन् । तिनलाई जालमा पार्न सकिएको छैन । कतिपय मुसा त खानुसम्म खाएर भागिसकेका छन् । 
भर्खरै मात्र सर्वोच्च अदालतले निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र बिगो जरिवानासहित २ करोड ७८ लाख तिर्नुपर्ने फैसला सुनाएको छ । चतुर्वेदीले भ्रष्टाचारकोे रकमबाट बढाएको सबै धनसम्पत्तिसमेत जफत हुने फैसला भएको छ । निगमलाई खोक्रो पार्ने चतुर्वेदीजस्ता थुपै्र 'मुसा' छन्, तर ती जालमा पर्न सकेका छैनन् । 
निगमभित्र अनेकन काण्ड मच्चाएर यसलाई धुजा-धुजा बनाउने मुसा बिरालोको फन्दामा पर्न सकेका छैनन् । दुई दशकअघि उड्दा उड्दैका दुई बोइङ ७२७ जहाज बेचिए । कैयौँपटक भाडामा विदेशी जहाज तथा पाइलट ल्याउँदा करोडौँ नोक्सानी भयो । तर, यसमा संलग्न कोही पनि कारबाहीको दायरामा आएनन् । निगममा आउने जोसुकैको स्वार्थ यसलाई उँभो लगाउनेभन्दा पनि दुहुनो गाई बनाउने हुने गर्छ । कुनै वेला चारवटा बोइङ जर्मनी र प|mान्ससम्म उडाएको निगमले अहिले मुस्किलले भारत र दक्षिण पूर्वी एसियाका आधा दर्जन गन्तव्यमा मात्र उडान भर्छ । 
व्यक्तिगत स्वार्थकै कारण विमान किन्ने प्रयाससमेत बारम्बार असफल हँुदै आएको छ । निगम संसारकै एक मात्र यस्तो वायुसेवा कम्पनी हो, जसले दुई दशकदेखि एउटै जहाज किनेको छैन । कुनै पनि वायुसेवा कम्पनी पर्याप्त जहाज नभएसम्म आम्दानी गरेर नाफा गर्न सक्दैन । निगमभित्रकै कर्मचारीको व्यवहार व्यावसायिक छैन । ट्राभल एजेन्सीको रोजाइमा निगम पर्दैन । टिकट माग्न जाँदा सकियो भनेर जवाफ पाउने, तर जहाज खाली उड्ने अवस्था छ । 
अति राजनीतिक हस्तक्षेप र यसका खरिद तथा टेन्डर प्रक्रियामा राजनीतिक नेतृत्वको संलग्नताले यो संस्थालाई बद्नाम तुल्याएको छ । सत्ता वा मन्त्री परिवर्तनसँगै निगमको अध्यक्ष र व्यवस्थापनमा व्यापक हेरफेर हुने तथा यसलाई आफन्त र कार्यकर्ताको भर्तीकेन्द्र बनाउने प्रवृत्तिका कारण निगम अधोगतितिर लाग्दै गयो । 
निगमको जहाजमा छिरेको सानो मुसो त भेटियो । केही करोडको मात्र क्षति भयो, तर निगमभित्रका थुप्रै ठूला मानवरूपी मुसाले निगमलाई भित्रभित्रै खोक्रो अझै बनाइरहेका छन् । तिनलाई जालमा पार्न सकिएको छैन । कतिपय मुसा त खानुसम्म खाएर भागिसकेका छन् ।
नेता, मन्त्री तथा कर्मचारीलाई सित्तैमा विदेश घुमाउनु निगमको नियति नै हो । विशेषगरी ०४८ पछि यसमा नेताहरूको आँखा लाग्यो । निःशुल्क परिवारसहित विदेश घुम्न थाले । साना-ठूला मुसाले निगमलाई खोक्रो बनाउदै लगे । निगमको निजीकरणका कुरा वेला-वेलामा उठाइन्छन् । कार्यदल बन्छन्, तर तिनका प्रतिवेदन कार्यान्वयन हुदैनन् । निजीकरण हुनेबित्तिकै आफ्नो प्रभाव नहुने भएकाले सरकारी अधिकारी नै यसको विपक्षमा हुन्छन् । 
राजनीतिक नेतृत्वको आँखा जहाज बिगार्ने र नयाँ लिँदा कमिसन खानेमा गयो । चेज एयर लाउडा यसैका उदाहरण्ा हुन्, जसको मूल्य अझै निगम चुकाइरहेको छ । सिंगापुरमा बनाउन लगेको इन्जिनले पनि निगमलाई ठूलै खर्च गरायो । यी सबै घटनामा राजनीतिक नेतृत्वलाई निगमका टाठाबाठा कर्मचारीले साथ दिए । कर्मचारीको मिलेमतोविना यो सम्भव थिएन । पञ्चायत र बहुदलकालमा धेरैपटक विभिन्न कम्पनीका जहाज खरिदका प्रयास भए, तर कहिल्यै त्यसले लक्ष्य भेटेन । बरु जहाज बेचिए, भाडामा ल्याइए । तर, यसले 'मुसा' हरूलाई कमिसन मात्र प्राप्त भयो निगमलाई घाटा मात्र हात लाग्यो ।
राष्ट्रिय ध्वजावाहकलाई जनावर मुसाबाट मात्र जोगाएर पुग्दैन । निगमलाई धराशयी बनाउने मुसाप्रवृत्तिका व्यक्तिबाट जोगाउनु पनि त्यत्तिकै आवश्यक छ । मुलुकको इज्जतका रूपमा निगमलाई बचाइराख्ने हो भने यसलाई खोक्रो बनाएर व्यक्तिगत फाइदा लुट्नेहरूलाई कानुनी दायरामा ल्याउनैपर्छ । 
khatiwadalp@gmail.com

Saturday, September 10, 2011

अवको प्राथमिकता धार्मिक पर्यटन




लक्ष्मीप्रसाद खतिवडा

पर्यटनको माध्यमबाट मुलुकको आर्थिक कायापलट गर्ने महत्वाकांक्षी लक्ष्यका साथ घोषणा भएको पर्यटन बर्ष २०११ शुरु भएको पनि ५ महिना वितिसकेको छ । दश लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ शुरु भएको पर्यटन बर्षको सफलता असफलतालाइ लिएर निकै बहस हरु भइरहेका छन् । मुलुकमा भएका पर्यटकीय सम्भावनाहरुको कुरा गर्ने हो भने घोषित दश लाख पर्यटकको लक्ष्य टाढा छैन । सम्भावनाहरु अथाह छन् खाँचो छ त पहिचान र प्रमोसनको । हिमाल आरोहण, पदयात्रा, राफ्टिङ, एडभेन्चर गतिविधि लगायतका लागी त नेपाल परिचित भइसकेको छ । यसबाहेक धार्मिक कृषि तथा खेलकुद पर्यटनको पनि उत्तिकै सम्भावना छ ।
धार्मिक पर्यटनमा नेपालको पर्याप्त सम्भावना छ । भारतिय पर्यटकको पहिलो प्राथमिकतामा पर्दै आएको पशुपतिनाथ क्षेत्रको व्यवस्थापन, सुधार र प्रवद्र्धनलाइ सरकारले प्राथमिकतामा राख्नु पर्छ । यसका लागी लामो भिजन चाहिन्छ । पशुपति मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको पशुपति क्षेत्र विकास कोषले पर्यटन बर्ष २०११ मा दश लाख विदेशी भक्तजनलाइ पशुपति भित्र्याउने घोषणा गरेको छ । यो उत्साहजनक कुरा हो । तर पशुपतिनाथ क्षेत्रमा दुरदर्शिताका साथ लगानी गर्ने हो भने वार्षिक कम्तिमा १ करोड विदेशी पर्यटकलाइ पशुपति क्षेत्रमा ल्याउन सकिन्छ ।
विश्वभर करिव एक अर्व हिन्दु छन् । भारतमा मात्र कुल जनसंख्याको करिव ८० प्रतिशत हिन्दु धर्मावलम्बी रहेको अनुमान छ । यो संख्याको ५ प्रतिशतलाइ मात्र नेपाल ल्याउन सके पनि पर्याप्त हुन्छ । यसका लागी पशुपति क्षेत्रलाइ विश्वकै नमुना मन्दिरको रुपमा विकास गर्नुपर्छ । कोषले आफ्नै सम्पतिको प्रयोग गरेर पनि धेरै काम गर्न सक्छ । सरकारले पनि यसमा लगानी गर्नुपर्छ । विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रमा पाच सय भन्दा बढी मठमन्दिर रहेको बताइन्छ । तिनको संरक्षण हुन सकेको छैन । भएका मठ मन्दिरको संरक्षण गर्नुका साथै अन्य संरचना थप्न सकिन्छ ।
पशुपति क्षेत्रमा १ करोड शिवलिंग स्थापना गरेर ति सबैको जल एकै ठाउबाट आउने व्यवस्था गर्न सक्ने हो भने करोडौं आम्दानी गर्न सकिन्छ । यो जल सिन्चन गर्न लाखौं हिन्दु आउछन् । जल वेचेर नै करोडौं आम्दानी गर्न सकिन्छ । भारतका मन्दिरहरुमा नियमित रुपमा धार्मिक सांस्कृतिक प्रदर्शनीहरु हुन्छन् । हजारौं मानिस टिकट काटेर यस्ता शो हेर्न जान्छन् । हामीकहा यस्ता कार्यक्रम भएको पाइदैन । धार्मिक पर्यटकका लागी राम्रा होटल छैनन् । धर्मशालाहरु स्तरिय छैनन् । यसले गर्दा स्तरिय पर्यटक आउन सकिरहेका छैनन् । तारे स्तरका धार्मिक गेष्टहाउस बनाएर स्तरिय धार्मिक पर्यटकको आकर्षण बढाउन सकिन्छ ।
पशुपतिनाथलाइ पञ्चधामका रूपमा मान्यता दिन भारत सरकारलाई पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । सरकारले पनि यसका लागी चासो देखाउनु पर्छ । हिन्दू धर्मका चारधाम यमुनोत्री, गंगोत्री, बद्रिनाथ र केदारनाथ सबै भारतमा छन् । पशुपति नाथ पाचौं धामको रुपमा स्थापित भएमा हिन्दुहरुको यहा ओइरो लाग्छ । बलिउड अभिनेता अमिताभ बच्चन तिरुपतिमा बार्षिक ५ करोड भन्दा बढि चढाउछन् । यस्ता थुप्रै दानी छन् जसलाइ पशुपतिनाथ ल्याउन सके नेपालले राम्रो आम्दानी गर्न सक्छ । यो आम्दानी परोपकारी काममा खर्च गर्ने हो अरु पनि उत्प्रेरित हुन्छन् । भारतले वागमती सफाई परियोजनामा पनि चासो देखाएको छ । लाखौं हिन्दुको सेन्टिमेन्ट जोडिएको वागमती लाइ सफा र स्वच्छ बनाउन सक्ने हो पर्यटकीय आकर्षण बढ्ने निश्चिित छ ।
पशुपतिनाथका साथै लुम्बिनि र जकनपुरको विकासमा पनि जोड दिन आवश्यक छ । यि दुवै ठाउका विमानस्थलको सुधार गर्नुपर्छ । भैरहवा विमानस्थललाइ क्षेत्रिय अन्तराष्टिय विमानस्थलको रुपमा विकास गर्न एडिविको सहयोगमा काम भइरहेको छ । यसलाइ तिव्रता दिनुपर्छ । जनकपुरलाइ पनि भारतका प्रमुख शहरहरुसम्म उडान गर्न सकिने गरि सुधार गर्नुपर्छ । यसो गदा त्रिभुवन अन्तरािष्टय विमानस्थलको चाप पनि घट्छ भने तराइमा पनि पर्यटनको विकास हुन्छ । बौद्धमार्गीको बाहुल्यता भएको श्रीलंकाका पर्यटकलाइ लुम्बिनिमा बढाउन सकिन्छ । लुम्बिनिलाइ बौद्धमार्गीले जिवनमा एकपटक पुग्नैपर्ने स्थानका रुपमा लिन्छन् । यो कुराको प्रचारप्रसार व्यापकरुपमा गर्नुपर्छ । सन् २०११ मा नै श्रीलंकाले पनि पर्यटन बर्ष मनाइरहेको छ । नेपालले सहकार्य गर्न सक्छ । धार्मिक पर्यटकको खर्च र बसाइ अवधि बढाउन आकर्षक धार्मिक प्याकेजको आवश्यकता छ ।
आसियान मुलुकहरुले वौद्ध दर्शन, धर्म र सांस्कृतिक आदानप्रदानका लागि भारतसग नजिकको सम्पर्क स्थापित गरेका छन् । वौद्ध धार्मिक पर्यटक र वौद्ध दर्शन तथा संस्कृतिको अध्ययन अनुसन्धान गर्ने अध्येताहरु भारतलाई तथ्यहरूको स्रोत मान्छन् । नेपालमा पनि बौद्ध धर्मसम्बन्धि अध्ययनका लागी थुपै्र विषयवस्तु र सामग्रीहरु छन् तर हामीले वौद्ध दर्शन, धर्म र संस्कृतिको केन्द्र नेपाल हुन सक्छ भत्रे सन्देश विश्व सामु पुयाउन सकिरहेका छैनौ । त्यसका लागि नेपालमा आन्तरिक अध्ययन अनुसन्धानको अभाव छ । वौद्ध पर्यटक र अनुसन्धानकर्तालाई भारत आउदा मात्रै पनि नेपाल भ्रमण र अनुसन्धानका लागि आकर्षण गर्न सकिन्छ ।
धार्मिक पर्यटकीय गन्तव्यको रुपमा तिव्वतको मानसरोवरालाइ प्रमोसन गरिरहेका टाभल टुर कम्पनिहरुले मुलुककै मुक्तिनाथ, गोसाइँकुण्ड, पाथीभरा, हलेसी जस्ता गन्तव्यलाइ प्राथमिकता दिनुपर्छ । यसका लागी भारतिय पर्यटकलाइ लक्षित गरेर विशेष प्याकेज सञ्चालन गर्न सकिन्छ । सन् २०१० मा भारतीय धार्मिक पर्यटक करिब १५ प्रतिशत बढेको अनुमान छ । यो संख्यालाइ पर्यटन बर्षमा २५ प्रतिशत सम्म पुयाउन सकिन्छ ।
बुद्ध जन्मेको देश भएर पनि लुम्बिनी बुद्धमार्गीको गन्तव्य बन्न सकिरहेको छैन । हिन्दुको सबैभन्दा प्रमुख तिर्थस्थल पशुपतिनाथमा १ अर्ब भन्दा बढी हिन्दुहरु आकर्षित हुन सकेका छैनन् । बैष्णवको तीर्थस्थल मुक्तिनाथको उचित प्रमोसन भएको छैन । धार्मिक पर्यटनको विकासका लागी थुपै्र सम्भावना छन् जसको विकास गर्नु आवश्यक छ । पर्यटन बर्ष अभियान यसका लागी राम्रो अवसर पनि हो ।

Wednesday, September 7, 2011

पर्यटन प्रवर्द्धनमा नयाँ अभियान प्रस्ताव

नयाँ पत्रिका
काठमाडौं, २० भदौ
निजी क्षेत्रले पर्यटन वर्ष २०११ पछि अर्को प्रवर्द्धनात्मक पर्यटन अभियानको प्रस्ताव ल्याएको छ । नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न अभियानलाई जारी राख्नुपर्ने भन्दै पर्यटन व्यवसायीले नयाँ अभियानको प्रस्ताव ल्याएका हुन् । 
पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिको बैठकमा व्यवसायीले पर्यटन प्रवर्द्धनका लागि अभियान आवश्यक भएको भन्दै पर्यटन प्रवर्द्धन निरन्तर हुनुपर्नेमा जोड दिएका थिए । 'पर्यटन वर्षपछि अर्को पर्यटन अभियानको तयारी भइरहेको छ,' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष तथा पर्यटन वर्ष समितिका सदस्य अर्जुनप्रसाद शर्माले भने । आगामी डिसेम्बरमा पर्यटन वर्ष सकिएसँगै सन् २०२० सम्मलाई लक्षित गरेर अर्को अभियानका लागि सरकारलाई आग्रह गरिएको उनले बताए । अभियानका लागि 'आरम्भ—२०२०' नाम प्रस्ताव गरिएको छ । 
पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिले डिसेम्बर १० मा लुम्बिनीमा पर्यटन वर्ष समापन कार्यक्रम गर्ने योजना बनाएको छ । यससँगै नयाँ अभियानको पनि घोषणा हुनेछ । सन् २०१२ देखि २०२० सम्ममा वाषिर्क २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित अभियानको घोषणा गर्न लागिएको समितिले बताएको छ । 
'पर्यटनको प्रवर्द्धन र यसलाई राष्ट्रिय प्राथमिकतामा ल्याउने यो अर्को प्रयास हुनेछ,' नाट्टा अध्यक्ष शर्माले भने । निजी क्षेत्रको प्रस्तावमा सरकार पनि सकारात्मक रहेको बताइएको छ । पर्यटन वर्षमा पर्यटक आगमन केही बढे पनि अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावकारी हुन नसको भन्दै व्यवसायीले असन्तुष्टि जनाउँदै आएका छन् । यसका लागि अझै केही वर्ष अभियानलाई निरन्तरता दिनुपर्ने माग उनीहरूको छ । 
पर्यटन वर्षका लागि गत आर्थिक वर्ष २३ करोड रुपैयाँ छुटयाइएकोमा समयमा टेन्डर प्रक्रिया पूरा नहुँदा आधा रकम पि|mज भएको थियो । भारत र चीनमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न टेन्डर आह्वान गरिएको थियो भने तेस्रो मुलुकका लागि सिएनएन र बिबिसीले प्रस्ताव हालेका थिए । चालू आर्थिक वर्षमा भने पर्यटन वर्षका लागि १२ करोड रुपैयाँ छुटयाइएको छ । यसमा सचिवालय खर्च र आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन खर्च समावेश छ ।
निजी क्षेत्रको प्रस्तावमा सरकार सकारात्मक रहेको व्यवसायीले बताएका छन् । पर्यटन मन्त्रालयका प्रवक्ता हरिप्रसाद बस्यालले निजी क्षेत्रकै आग्रहमा पर्यटन वर्ष घोषणा गरिएको र आगामी कार्यक्रममा पनि सहकार्य गर्न सरकार तयार रहेको बताए । अभियानको नाम र उद्देश्यबारेमा छलफल भइरहेकोले टुंगो लागिनसकेको उनले जानकारी दिए । 
'हालसम्म सञ्चालित सबै अभियानको उद्देश्य नेपाललाई अन्तर्राष्ट्रिय बजारमा एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्नु हो,' उनले भने । २०११ लाई सुरुवात बिन्दु मानेर प्रवर्द्धनका कार्यक्रमा अगाडि बढाउने सरकारको योजना रहेको बस्यालले बताए । यसअघि सन् १९९८ मा ५ लाख पर्यटकको लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको थियो । 
पर्यटन वर्ष सुरुवात मात्र भएकोले अभियानलाई निरन्तरता दिनुपर्ने तर्क व्यवसायीको छ । सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा पर्यटन वर्षलाई निरन्तरता दिने घोषणा गरिसकेको छ । सरकारले गत असारमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १५ वर्षभित्रमा नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गरी विश्वको नमुना पर्यटन बनाउने लक्ष्यसहित 'नेपाल पर्यटन वर्ष'लाई अभियानकै रूपमा निरन्तरता दिने उल्लेख छ । देशका पर्यटकीय सम्भावना उजागर गर्न पूर्वदेखि पश्चिमसम्मका १७ वटा पर्यटकीय क्षेत्रको स्थापना गरी ती क्षेत्रमा भौतिक पूर्वाधार र पर्यटन सेवाको विकास गर्ने अवधारण्ाा सरकारले अगाडि सारेको छ । पर्यटन क्षेत्रको जनशक्ति विकास, रोजगारी सिर्जना र ग्रामीण स्वास्थ्य पर्यटनको प्रवर्द्धनका लागि एकीकृत पर्यटन सेवा केन्द्र स्थापना र सञ्चालन गर्दै जाने सरकारको नीति छ ।
दुइ वर्षअघि नै सरकारले पर्यटन क्षेत्रको विकासका लागि 'भिजन—२०२०' को घोषणा गरेको थियो । हालका प्रधानमन्त्री डा.बाबुराम भट्टराई अर्थमन्त्री र उनकी पत्नी हिसिला यमी पर्यटनमन्त्री हँुदा ल्याइएको 'भिजन—२०२०' कार्यान्वयन गर्न यसकै आधारमा निजी क्षेत्रले 'आरम्भ—२०२०' पर्यटन अभियानको प्रस्ताव गरेको हो । 
भिजन २०२० मा सन् २०२० सम्ममा वाषिर्क २० लाख पर्यटक भित्र्याउने उल्लेख छ । हालको अभियानलाई निरन्तरता दिने हो भने २०२० भन्दा अघि नै २० लाख पर्यटकको लक्ष्य हासिल गर्न सकिने दाबी व्यवसायीको छ । भिजनमा ग्रामीण पर्यटनमा जोड दिँदै नेपाली जनताको जीवनस्तर उकास्ने तथा पिछडिएका समुदायको पर्यटन क्षेत्रमा सहभागिता गराइने उल्लेख छ । नेपालको विभिन्न भागमा पर्यटक केन्द्रहरू स्थापना गर्ने, पर्वतारोहण, र्‍याफ्टिङ, मठ मन्दिर तथा विभिन्न क्षेत्रमा पर्यटक आर्कषति गर्ने भिजनको उद्देश्य रहेको छ