पर्यटन बोर्डमा मेरा १२ वर्ष
वरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड
तस्बिरः श्रीधर पौडेल
सुभाष निरौला
वरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड
म सन् २००० मा खुला प्रतिस्पर्धाबाट
पर्यटन बोर्डमा प्रवेश गरेको हुँ । २००१ देखि २००७ सम्म नेपाल सरकारको
नेतृत्व तथा युएनडिपी, एसएनभी र डिएफआइडीलगायतका दातृ संस्थाको वित्तीय
सहयोगमा सञ्चालित ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम
(टिआरपिएपी) मा वर्किङ कमिटी र एक्स्पर्ट ग्रुपको सदस्य भएर काम गरेँ ।
२००२-००३ मा मैले गन्तव्य नेपाल अभियानको सदस्यसचिवको जिम्मेवारी सम्हालेँ
।
२००७ मार्चदेखि आठ महिना बोर्डमा निमित्त
कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेँ । त्यतिबेला सबैलाई मिलाएर काम
गर्नु निकै चुनौतीपूर्ण थियो । मेरै पहलमा बोर्डमा पर्यटन सम्पदा तथा
संसाधन विकास महाशाखाको गठन भयो । अहिले म त्यो महाशाखाको प्रमुख छु ।
बोर्डमा आउनुअघिदेखि नै व्यावसायिक रूपमा म पर्यटन क्षेत्रमा नै संलग्न
थिएँ । विराटनगरमा हाम्रो पारिवारिक लगानीमा तीन तारेस्तरको होटल रारा
सञ्चालनमा थियो । त्यहाँ मैले एक वर्षभन्दा बढी काम गरेँ । अहिले त्यो
ठाउँमा नेपाल औद्योगिक विकास निगम बसेको छ ।
०००
सन् १९८१ तिर मैले सिद्धार्थ वनस्थली
इन्स्िटच्युटमा पढाएँ । पछि, सार्क सचिवालयमा काम गरेँ । ट्राभल कम्पनीमा
कन्सल्ट्यान्ट पनि भएँ । मैले १९९५ मा झण्डै ६ करोड रुपैयाँको लगानीमा
स्थापना गरिएको सिद्धार्थ ट्याक्सी सर्भिस प्रालिको संस्थापक सञ्चालक र
प्रबन्ध-निर्देशक भई काम गरेँ । तत्कालीन सरकारले काठमाडौंमा सार्वजनिक
यातायातलाई सर्वसुलभ बनाउन ल्याएको नीतिको सदुपयोग गर्दै त्यो कम्पनीको
स्थापना भएको थियो ।
पुख्र्यौली घर तेह्रथुम भए पनि म
विराटनगरमा जन्मिएको हुँ । बिराटनगरबाट प्राथमिक शिक्षा सुरुवात भयो । पछि
काठमाडौंको सेन्ट जोसेफ स्कुलमा चार वर्ष पढेँ । एसएलसीचाहिँ ०३२ सालमा
पब्लिक मावि रंगेली मोरङबाट गरेँ । म त्यतिवेलाको ब्याचटपर हुँ । आइएस्सी
बनारसबाट र बिएस्सी त्रिचन्द्र कलेजबाट गरेँ ।
सन् १९९८ मा बेलेभ्यू युनिभर्सिटी
नेब्रास्का अमेरिकाबाट लिडरसिप विषयमा स्नातकोत्तर गरेँ । त्यतिवेला
नेपालमा नेपाल भ्रमण वर्ष मनाइँदै थियो । अमेरिकाकै युनिभर्सिटी अफ हवाईबाट
२००८ मा इक्ज्युकेटिभ डेभलपमेन्ट इन्स्िटच्युट अफ टुरिजममा पनि स्नातक
गरेँ ।
केही समयपछि पर्यटन बोर्डमा प्रमुख
कार्यकारी अधिकृत -सिइओ) पद खाली हुँदै छ । नयाँ सिइओ छनोट गर्ने प्रक्रिया
पनि सुरु भइसकेको छ । सिइओ छनोट प्रतिस्पर्धात्मक हुनुपर्छ भन्ने मेरो
मान्यता छ । म 'मेरिट सिस्टम'मा विश्वास गर्छु । अमेरिकामा पढेका वेला मैले
त्यहाँ यस्ता धेरै कुरा देखेको छु । त्यहाँको राष्ट्रपतीय निर्वाचनमा
जस्तै यहाँ पनि बोर्डको सिइओका लागि सार्वजनिक बहस हुनुपर्छ । उम्मेदवारलाई
एकै ठाउँमा राखेर उनीहरूका योजना र भिजनको मूल्यांकन गर्नुपर्छ ।
मूल्यांकन गर्ने व्यक्ति पनि सक्षम हुनुपर्छ । यो प्रक्रिया विवादित
बनाउनुहुँदैन र राजनीतिकरण गर्नुहँुदैन । विवादित सिइओ आएर उसले पनि
राम्रोसँग काम गर्न सक्दैन ।
शाहीकालमा पनि सिइओ छनोट विवादित भएको
थियो । अहिले त्यस्तै संकेत देखिएको छ । विवाद हुँदा आठ महिना सिइओ पद नै
खाली भयो । त्यतिवेला मैले नै कार्यवाहक चलाएको थिएँ । अबको छनोट पूर्ण
व्यावसायिक र पर्यटन उद्योगको आवश्यकताअनुसार हुनुपर्छ । योग्य मान्छे जो
पनि आउनसक्छ ।
०००
नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा
रहेको पर्यटनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बोर्डमा क्लियर भिजन
भएको व्यक्ति आउनुपर्छ र त्यसको छनोट प्रक्रिया विवादरहित हुनुपर्छ । म
बोर्डलाई सुधार्न चाहन्छु । दुई वर्षमा केही गर्न सकिनँ भने पनि बस्दिनँ ।
केही गर्छु भनेर अमेरिकाबाट फर्केको हुँ । त्यहाँ थुप्रै अवसर थिए ।
बोर्डलाई राजनीतिमुक्त तथा व्यावसायिक
बनाउने र संस्थागत संरचना बढाउने मेरो मुख्य उद्देश्य हो । पर्यटन उद्योग
गतिशील भएकोले त्यसैअनुसार मार्केटिङ र प्रमोसन प्लान बनाउनुपर्छ । पर्यटन
अभिलेखालय बनाउने तथा बोर्डप्रति सम्भावनाको दृष्टिकोण बनाउने प्रयास मेरो
हुनेछ । वास्तविक रूपमै बोर्डलाई सार्वजनिक निजी साझेदारीको मोडल बनाउने
योजना छ मेरो । देशभरिमा विस्तार भएको नेटवर्कलाई सुदृढ बनाउने र
विकेन्दि्रत गर्दै लैजाने मेरो प्रयास छ । कार्यालयमा अनुशासनको सिस्टम
बसाउँछु । कर्मचारी अनुशासित भएनन् भने अड्डामा अराजकता बढ्छ । अहिले त्यही
भइरहेको छ । कर्मचारीमा एकता नहुँदा बोर्डको कार्यक्षमता घटेको छ ।
पर्यटन भनेको डाइनामिक सेक्टर हो । चार
वर्षमा धेरै कुरा परिवर्तन भएका छन् । परिवर्तित सन्दर्भमा नयाँ भिजन लिएर
आएको छु । मेरोभन्दा राम्रो भिजन लिएर कोही आउँछ भने उसैले पाउनुपर्छ ।
परम्परागत किसिमले अब बोर्ड चल्दैन । पर्यटनको प्रतिफल ग्रामीण क्षेत्रसम्म
पुयाउने नारालाई कार्यान्वयन गर्छु । पर्यटन वर्षको नाममा गफ मात्र भयो ।
जनतासम्म यसको प्रभाव पुग्नै सकेन । स्थानीय सञ्चारमाध्यमको पनि भूमिका
बढाउनुपर्छ । पर्यटन बोर्ड मेरा लागि जागिर खाने अड्डा मात्र होइन । केही
गरेर देखाउनु छ मलाई ।
बोर्डमा सिइओ छनोट प्रक्रिया सुरु भइरहेकै
वेला मविरुद्ध सार्वजनिक सञ्चारमाध्यममा विभिन्न कुरा प्रकाशित भइरहेका
छन् । यो कुराले मलाई गम्भीर बनाएको छ । अझ दुःखलाग्दो कुरा त यसमा बोर्डका
जिम्मेवार व्यक्ति नै संलग्न छन् । फुटाएर शासन गर्ने प्रवृत्ति बढेको छ
बोर्डमा ।
सबै कुराको आफ्नो पद्धति र प्रक्रिया छ ।
छानबिन गर्ने निकाय छन् । तिनले पद्धतिसम्मत रूपमा छानबिन गर्लान् ।
अख्तियार छ, सार्वजनिक लेखा समिति छ । सञ्चालक समिति पनि यो कुरामा स्पष्ट
हुनुपर्छ । बोर्डअध्यक्ष राजनीतिक दबाबमा परेको देखिन्छ । यस्तो गम्भीर
विषयमा सञ्चालक समिति चुप रहनु आश्चर्यजनक छ ।
०००
केही साताअघि सार्वजनिक बिदाको दिन पारेर
बोर्डका महत्त्वपूर्ण कागजात चोरी भएको छ । कागजात फोटोकपी गरिएको छ ।
कार्यालयको गोपनीयता पनि महत्त्वपूर्ण कुरा हो । ऐन-नियममा पनि गोपनीयताका
कुरा छन् । गोपनीयताको शपथ खाने जिम्मेवार व्यक्ति नै यस्तो काममा संलग्न
हुनु दुःखको कुरा हो । यो संवेदनशील विषय हो । यदि यो सत्य हो भने अपराध हो
। कुनै पनि संस्थामा यस्तो काम गर्ने व्यक्ति सजायको भागीदार हुन्छ । यस
विषयमा व्यवस्थापनले आवश्यक कदम चाल्ने विश्वास मलाई छ । कुनै पनि कुरा
बाहिर ल्याउने एउटा सिस्टम हुन्छ । केही भएकै भए पनि त्यसलाई सडकमा
ल्याउनुअघि धेरैपल्ट विचार गर्नुपर्छ । यसको छानबिन गर्ने निकाय छन् ।
पर्यटन वर्ष कार्यक्रमको हिसाबकिताब लेखापरीक्षणकै क्रममा छ । प्रक्रियामा
रहेको कुरा जसरी सार्वजनिक भएको छ यो आपत्तिजनक छ ।
०००
पर्यटन वर्ष सुरु भएदेखि चारपटक सदस्यसचिव
फेरिइसकेका छन् । सबैले केही महिनामै विभिन्न बहानामा राजीनामा दिए । मैले
दुई वर्ष चलाएँ । तर। मलाई विनाकारण अपदस्त गरियो । धेरैजसो काम मेरै
समयमा भएका छन् । पैसा खर्च गर्ने आफ्नै नीति-नियम छन् । पर्यटन वर्ष
सचिवालयको आफ्नै कार्यविधि छ । कार्यविधिभन्दा बाहिर केही भएको छैन ।
०००
०६७ पुस २६ गते बोर्ड कार्यकारीप्रमुखले
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदानस्वरूप उपलब्ध गराएको १० करोड
रुपैयाँ खर्च गर्ने अख्तियारी मलाई तोकेर दिएका छन् । मूल आयोजक समिति तथा
कार्यक्रम कार्यान्वयन समितिले स्वीकृत गरेको बजेट तथा कार्यक्रम
कार्यान्वयन गराउने मेरो जिम्मेवारी थियो । कार्यविधिअनुसार अधिकारप्राप्त
अधिकारी भनेको कार्यक्रम कार्यान्वयन समितिको सदस्यसचिव पनि हो ।
अहिले शाहीकालकै झल्को आउने गरी कामहरू
भइरहेका छन् । त्यही प्रकृतिको घटना भएको छ । ०६२ जेठमा तत्कालीन
भ्रष्टाचार नियन्त्रण शाही आयोगमा मविरुद्ध मुद्दा हालिएको थियो । सो
मुद्दाका सम्बन्धमा बोर्ड सञ्चालक समितिले गठन गरेको छानबिन समितिले
उजुरीमा उठाइएका कुनै पनि विषय प्रमाणित नभएको प्रतिवेदन दिएको थियो ।
मविरुद्ध यस्ता निराधार हल्ला भइरहेका छन्, त्यसको पछाडि मलाई दौडिनु जरुरी
छैन । सम्बन्धित निकायले निष्पक्ष मूल्यांकन गर्नेछन् सबै विषयमाथि ।
बोर्ड सञ्चालक समिति सक्षम हुनुपर्छ
भन्नेमा कसैको दुईमत नहोला । सञ्चालक समितिमा सबै क्षेत्रको प्रतिनिधित्व
छैन । पाँचजना सदस्य क्षेत्रगत रूपमा आउनुपर्छ भन्ने मेरो पुरानै माग हो ।
पूर्वबाट बल्ल प्रतिनिधित्व भएको छ । मध्य र सुदूरपश्चिमबाट अझै हुन सकेको
छैन ।
बोर्ड सदस्यको नियुक्ति ऐनअनुसार हुनुपर्छ
। विशुद्ध पर्यटन व्यवसायी र शैक्षिक योग्यता भएकोलाई मात्र बोर्डमा
ल्याउनुपर्छ । बोर्ड ऐनमा पर्यटन प्रवर्द्धन गर्ने कार्यमा संलग्न रहेका
पर्यटन व्यवसायी तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित
विशेषज्ञ बोर्ड सदस्य हुनसक्ने व्यवस्था छ । त्यसलाई कार्यान्वयन गरेर
जानुपर्छ । सक्षम नेतृत्व पाएमा पर्यटन बोर्डले फड्को पार्नेछ ।
प्रस्तुतिः लक्ष्मीप्रसाद खतिवडा
तस्बिरः श्रीधर पौडेल
No comments:
Post a Comment