Monday, September 26, 2011

बुद्ध एयरको जहाज दुर्घटना



image
चालक दलका तीन सदस्यसहित १९ जनाको मृत्यु, मृत्यु हुनेमा ६ नेपाली, १० भारतीय, दुई अमेरिकी र एक जापानी | नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन
माउन्टेन पलाइटका लागि काठमाडौं विमानस्थलबाट उडे पनि खराब मौसमका कारण हिमालयनजिक पुग्न नसकेपछि काठमाडौं र्फकंदै गर्दा ललितपुरको लामाटार कोटडाँडामा दुर्घटनाग्रस्त बुद्ध एयरको विमान । घटनास्थलमै मारिएका १८ जनाको शव लिन खटिएका सेना, प्रहरी र सर्वसाधारण । दुर्घटनामा मारिएका क्याप्टेन जेबी ताम्रकारकी भावविह्वल आमालाई सान्त्वना दिँदै आफन्तजन । तस्बिरः ज्ञानेन्द्र कार्की


तीनैजनाको करियरः बुद्ध एयर 
दुर्घटनामा मृत्यु भएका तीनैजना 'क्रु मेम्बर’ले बुद्ध एयरलाइन्सबाटै करियर सुरु गरेका थिए । क्याप्टेन जेबी कांग्रेस नेता रामकृण ताम्रकारका कान्छा छोरा हुन् । ३२ वर्षीय अविवाहित जेबीले विगत सात वर्षदेखि विमान उडाउँदै आएका थिए । भैरहवाको बुद्धज्योति स्कुलबाट स्कुले जीवन सुरु गरेका उनी अमेरिकाको टेक्सासमा पाइलट कोर्स पूरा गरी नेपाल फर्किएका थिए । लामो समय 'माउन्टेन फ्लाइट’को अनुभवपछि जेबीले विभिन्न शहरमा विमान उडाउन थालेका थिए । तर, व्यवस्थापनले उनलाई आइतबार ँमाउन्टेन फ्लाइट’मा पठाएको थियो । यो नै उनको अन्तिम उडान हुनपुग्यो । 

'राजनीति’ हेर्ने इच्छा अधूरो 
जेबीको मृत्युले कुलेश्वरस्थित ताम्रकारनिवास शोकमा डुबेको छ ।  पूर्वपर्यटनमन्त्री तथा कांग्रेस नेता रामकृष्ण ताम्रकारका अनुसार उनका छोरा जेबी दिउँसो ४ बजे र्फकन्छु भन्दै बिहानै घरबाट निस्केका थिए । राजनीतिज्ञ बाबुसँगै बसेर प्रकाश झाको हिन्दी फिल्म 'राजनीति’ हेर्ने उनको योजना थियो । 'उताबाट फर्किएपछि सागै बसेर हिन्दी फिल्म राजनीति हेर्नुपर्छ भनेको थियो,’ उनले भने । जनमतसंग्रहको वर्षमा जन्मिएकाले उनको नाम जनबुद्ध (जेबी) राखिएको रामकृष्णले बताए । 
पाइलटको योग्यता, को-पाइलटको भूमिका
को-पाइलट पद्मा अधिकारीले दक्षिण अफ्रिकाको केपटाउनमा पाइलट प्रशिक्षण लिएकी हुन् । मैजुबहालको आइडियल बोर्डिङमा स्कुले जीवन बिताएकी उनले निष्ट कलेजबाट आइएस्सी पूरा गरेकी थिइन् । अमेरिकाबाट एटिपिएल कोर्स गरेर उनले दुई महिनाअघि मात्र क्याप्टेन भएकी थिइन् । तर, उनले हालसम्म सहायकका रूपमा मात्र विमान उडाइरहेकी थिइन् । उनका दाइ प्रदीप मकालु एयरका क्याप्टेन हुन् । उनी सुर्खेतबाट आइतबार साँझ फर्किएका छन् । परिचारिका १९ र्वषीया अस्मिता श्रेष्ठले करिब ६ महिनाअघिमात्र जागिर सुरु गरेकी थिइन् ।
एकै परिवारका तीनजना 
विमानमा यात्रा गर्ने यात्रुमा नीराजन कर्माचार्य, श्रीमती शारदा कर्माचार्य र जगजन कर्माचार्य मात्रै नेपाली थिए । उनीहरू पनि एकै परिवारका थिए । नीराजन र शारदा श्रीमान्-श्रीमती हुन भने जगजन नीराजनका दाजु हुन् । आठ वर्षअघि अमेरिका गएका नीराजनदम्पतीले उतैको नागरिकता लिइसकेको र दुवैजना दसैँ बिदामा नेपाल आएका वेला दाजु जगजनले घुमाउने योजना बनाएका थिए । एक अमेरिकी महिला साथी लिएर नेपाल आएका उनी छिट्टै अमेरिका र्फकने तयारीमा थिए, तर उनकी अमेरिकी साथी पनि यतै मारिएकी छिन् ।
भारतीयदम्पतीको अधूरो सपना
दुर्घटनामा मृत्यु भएका पंकज मेहता र डा. छाया मेहता श्रीमान् श्रीमती हुन् । पंकज युनिसेफ नेपालमा 'हेल्थ’ विभागका प्रमुख थिए । उनको हालै फिलिपिन्स सरुवा भएको थियो । ३० सेप्टेम्बरमा उनी फिलिपिन्स जाने तयारीमा थिए । कार्यालयले उनलाई गत शनिबार विदाइ पार्टीसमेत दिइसकेको थियो । उनकी श्रीमती डा. छाया किष्ट अस्पतालमा कार्यरत थिइन् भने एक छोरा धरानमा पढ्दै छन् । भारतको बैंगलोरका स्थायी निवासी उनीहरू फिलिपिन्स फर्कुनअघि घुम्न 'माउन्टेन फ्लाइट’मा गएका थिए ।
पशुपतिअघि हिमाल दर्शन
दुर्घटनामा पर्ने आठजना भारतीय पर्यटक सोल्टीमोडस्थित ग्रान्ड होटलमा बसेका थिए । शनिबार स्पाइस जेटको उडानबाट दिल्ली हुँदै काठमाडौं आइपुगेका उनीहरूले शनिबार साँझ ५ बजे होटलमा 'चेक इन’ गरेका थिए । होटल व्यवस्थापनका अनुसार उनीहरूले शनिबारदेखि मंगलबारसम्मका लागि कोठा बुक गरेका थिए । आइतबार बिहान पौने ६ बजे चिया खाएर उनीहरू एयरपोर्टका लागि निस्केका थिए । फर्केपछि ब्रेकफास्ट खाएर पशुपति र स्वयम्भू घुम्ने उनीहरूको कार्यक्रम थियो ।
नयाँ पत्रिका
काठमाडौं, ८ असोज 
बुद्ध एयरको विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । गत वर्षको भदौयता नेपालमा भएको यो तेस्रो विमान दुर्घटना हो । 'माउन्टेन फ्लाइट'मा गएको बुद्ध एयरको विमान प्रतिकूल मौसमले दृश्यावलोकन नगरी काठमाडौं विमानस्थल र्फकने क्रममा आइतबार बिहान ललितपुरको लामाटार-कोटडाँडामा ठोक्किएको छ । 
जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना थिए, १८ जनाको घटनास्थलमा मृत्यु भएको थियो । एकजनालाई जीवितै बिएन्डबी अस्पताल ल्याइएको थियो, तर गेटमा ल्याउनासाथ बेहोस भएका उनको अस्तपालमै तत्कालै निधन भयो । 
मृत्यु हुनेमा चालक दलका तीन सदस्यसहित ६ नेपाली, १० भारतीय, दुई अमेरिकी र एक जापानी नागरिक छन् । विमानका चालक क्याप्टेन जनबुद्ध (जेबी) ताम्रकार, सहचालक पद्मा अधिकारी र विमान परिचालिका अस्मिता श्रेष्ठ छन् । मृत्यु हुने यात्रुमा निरञ्जन कर्माचार्य, उनकी श्रीमती शारदा कर्माचार्य र जगजन कर्माचार्य छन् । 
त्यसैगरी भारतीय नागरिक पंकज मेहता, उनकी श्रीमती चाया मेहता, एचडी नागराजा, एस नागराजा, आई नागराजा, एल नागराजा, डि टेलोसुबि्रमसम, डिपी टेलोसुबि्रमसम, पि टेलोसुबि्रमसम, एल नागराजाको पनि विमान दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुने अमेरिकनहरूमा एन्ड्रयु वडे, नातालिया नेइलान र जापानी नागरिक जेजिमा तोसिन्द्री छन् । मेहतादम्पती नेपालमै कार्यरत थिए भने अन्य आठ भारतीय, दुई अमेरिकन र एक जापानी पर्यटक हुन् । 
दुर्घटनामा घाइते अवस्थामा फेलापरेका निरञ्जन कर्माचार्यको बिएन्डबी अस्पताल ललितपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । स्थानीयवासीका अनुसार दुर्घटनापछि उनले आफूलाई अस्पताल लैजान भन्दै चिच्याएका थिए । तर, तत्काल एम्बुलेन्स नपुगेको र प्रहरीको गाडीले घाइते बोक्न नमानेकाले उनको उद्धारमा ढिलाइ भएको थियो । 
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका निमित्त महाप्रबन्धकका अनुसार बिहान ६ बजेर ४९ मिनेटमा हिमाल दृश्यावलोकनका लागि उडेको विमान ४० मिनेटपछि अर्थात ७ बजेर ३१ मिनेटमा सम्पर्कविहीन भएको थियो । उनका अनुसार माउन्टेन फ्लाइट ५० मिनेटदेखि एक घन्टासम्मको हुन्छ । दृश्यावलोकनपछि विमानस्थल र्फकन अन्तिम संकेत पाएपछि विमान सम्पर्कविहीन भएको उनले बताए । 
विमान ललितपुर विशंखुनारायण गाविस वडा नम्बर २ स्थित चुनडाँडा भन्ने स्थानको बस्तीमा खसेको थियो । स्थानीयवासी हरि थापाका अनुसार विमान माथिबाट हल्लँदै आएर उनको घरमा पखेटाले छोएर बारीमा ठोकिएको थियो । अर्का स्थानीयवासी रमेश पुरीका अनुसार सुरुमा ठूलो आवाज आएको र पछि धुवाँ देखेपछि सबै गाउँले डराएका थिए । पछि सबै गाउँले गएर उद्धारमा खटिएका थिए ।
दुर्घटनाको केही छिनपछि प्रहरी आएको थियो । विमानमा सवार १९ जना मध्ये १८ जनाको मृत्यु भइसकेकोमा नीराजन कर्माचार्य भने छटपटाइरहेका थिए । 'हामीले स्ट्रेचरमा राखेर गाडीमा लैजाँदै गर्दा उनको मृत्यु भयो । अस्पतालको गेटमा पुर्‍याउँदा उनी बेहोस भए, पछि मृत्यु भयो,' उद्धारकर्मीले भने । 
सेना, नेपाल प्रहरी, विमान उद्धार टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले शव संकलन गरी सेनाको विमानमार्फत विमानस्थलमा ल्याई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो । शव विमानस्थलमा ल्याएपछि कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार, रक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव माधव घिमिरेलगायत विमानस्थल पुगेका थिए । पोस्टमार्टममा धेरै समय लाग्ने भएकाले सोमबार दिउँसोबाट मात्र शव आफन्तलाई बुझाउन सकिने अस्पतालले जनाएको छ । 
दुर्घटनामा मृत्यु भएका तीनैजना 'क्रु मेम्बर'ले बुद्ध एयरलाइन्सबाटै आफ्नो करियर सुरु गरेको थिए । क्याम्पेटन जेबी कांग्रेस नेता रामकृण ताम्रकारका कान्छो छोरा हुन् । ३२ वर्षीय जेबीले विगत सात वर्षदेखि विमान उडाउँदै आएका थिए ।

सरकार र कांग्रेसको समवेदना 

आइतबार बिहानको विमान दुर्घटनामा मृत्यु भएकाप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनमा शोक व्यक्त गरेको छ । कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारद्वारा जारी विज्ञप्तिमा मृतकका परिवार र आफन्तमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरिएको छ । त्यसैगरी कांग्रेस सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेलले ललितपुरको विशंखुनारायण गाविस चुनडाँडामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 
कोइराला र पौडेलले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै बुद्ध एयरको जहाज दुर्घटनामा परी यात्रु तथा चालक दलका सदस्यहरूको निधन भएको खबरले आफूलाई दुखी बनाएको उल्लेख गरेका छन् । दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् । दुर्घटनामा परी आफन्तजन गुमाएका शोकसन्तप्त परिवार एवं आफन्तहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन् । 
कल साइन ९ एन एइके रहेको बुद्ध एयरको सो बिच क्र्याफ्ट जहाज बिहान ६ बजेर ४९ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयले ७ बजेर ३१ मिनेटमा जहाजसँग टावरको सम्पर्क टुटेको जानकारी दिएको छ । बिहान ७ बजेर ५० मिनेटमा जहाज दुर्घटना भएको थियो । 
उपत्यकाबाट देख्न सकिने घटनास्थल पाँच हजार सात सय फिट उचाइमा पर्छ । विमानस्थलमा आइतबार कार्यरत एयर ट्राफिक कन्ट्रोलर -एटिसी) हरूका अनुसार चालकले दोहोरो सम्पर्क गरी रनवे-२ मा 'ल्यान्ड' गर्ने अनुमति लिइसकेका थिए । चालक दलको टावरसँग पनि सम्पर्क भइसकेको थियो । राडारले पनि जहाजसँग सम्पर्क गरिसकेको थियो । घटनास्थल विमानस्थलबाट पाँच नर्टिकल माइलमा पर्छ । एटिसीका अनुसार दुर्घटनास्थलबाट जहाजलाई विमानस्थल आइपुग्न करिब दुई मिनेट मात्र लाग्छ । 
विमानस्थल कर्मचारीले जहाज आउँदै गरेको देखेको दाबी गरेका छन् । 'आउँदा आउँदै जहाज बिलाउँदा हामीले त विश्वास नै गर्न सकेनौँ,' विमानस्थलमा कार्यरत कर्मचारी नीरज केसीले भने । दुर्घटनाग्रस्त जहाजको पछाडि आइरहेको बुद्ध एयरकै अर्को जहाजले आफूअघिको जहाज हराएको देखेपछि एक चक्कर लगाएर खोजेको थियो र नदेखेपछि विमानस्थललाई सूचना दिएको थियो ।
जहाजलाई क्याप्टेन जेबी ताम्रकार र सहचालक पद्मा अधिकारीले उडाइरहेका थिए । विमान परिचारिका भने अस्मिता श्रेष्ठ थिइन् । त्यस्तै कोपाइलट अधिकारी चार वर्षदेखि बुद्ध एयरमा कार्यरत थिइन् । नेपालका विभिन्न एयरलाइन्समा २० जना महिला पाइलट कार्यरत छन् । यसमध्ये चारजना पाइलट हुन् भने बाँकी सबै कोपाइलट । पहिलोपटक नेपाल वायुसेवा निगममार्फत क्याप्टेन सोनी राणाले सन् १९९१ बाट नेपालमा जहाज उडाउन सुरु गरेकी थिइन् । यसअघिका विमान दुर्घटनाहरूमा दुईजना महिला पाइलटको निधन भएको छ । 

छानबिन समिति गठन

दुर्घटनाको कारण खुल्न सकेको छैन । विज्ञहरूले छानबिन अगाडि केही बोल्नु उचित नहुने भन्दै मौसमको खराबीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् । विमान दुर्घटनाको छानबिन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेपछि समितिले काम सुरु गर्नेछ । अन्य सदस्य तोकिएका छैनन् । गैरसैनिक हवाई दुर्घटना जाँचबुुझ ऐन तथा अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन -आइकाओ) को अनुसूची-१३ अनुसार समिति गठन भएको हो । अनुसन्धानको सूत्रधार मानिनेे ब्ल्याक बक्स भेटिइसकेको छ । यसमा चालक दलले अन्तिमसम्म बोलेको कुरा रेकर्ड हुने भएकाले यसबाट दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्छ । दुर्घटना भएलगत्तै बुद्ध एयरले आइतबारका सबै उडान बन्द गरेको थियो । कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर आन्तरिक छानबिन समिति गठन गरिएको जनाएको छ । 
मौसम प्रतिकूल थियोः मौसमविद्
मौसमविद्हरूले भने आइतबार बिहान जहाज उडाउन उपयुक्त मौसम नभएको बताएका छन् । वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले कुशल चालकले प्रतिकूल मौसममा पनि जहाज उडाउने गरे पनि त्यो जोखिममुक्त नहुने बताए । तर, बुद्ध एयरको जहाज प्रतिकूल मौसममै टेकअफ गरेको उनले बताए । 'बिहानै विमानस्थलको मौसम खराब थियो । भिजिविलिटी निकै कम थियो । तैपनि जहाज उडेको छ,' उनले भने । ल्यान्ड गर्ने समयमा भने भिजिविलिटी तीन किलोमिटर भएकाले सजिलै ल्यान्ड गर्नसक्ने अवस्था रहेको उनले बताए । साना र मध्यम आकारका जहाजका लागि तीन किलोमिटर भिजिविलिटी पर्याप्त हो । 
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हरेक दिन उड्डयन प्राधिकरणलाई आधा-आधा घन्टाको मौसमको रिपोर्ट दिन्छ । महाशाखा विमानस्थलपरिसरमै छ । 'बिहान ६ देखि बेलुका ६ बजेसम्म रिपोर्ट पठाइरहन्छौँ । आवश्यकताअनुसार अन्य समयमा पनि उपलब्ध गराउँछौँ । चौबिसै घन्टा प्राधिकरणसँग हाम्रो सम्पर्क भइरहेको हुन्छ,' श्रेष्ठले भने । महाशाखाले एयर रुटको आवश्यकताअनुसार पनि मौसम रिपोर्ट प्राधिकरणलाई पठाउँछ । महाशाखाको मौसम रिपोर्टअनुसार एटिसी, पाइलट र विमानस्थल व्यवस्थापनको समन्वयमा उडान हुन्छ । 
वरिष्ठ पाइलटहरूले भने मानवीय गल्तीका कारण नै जहाज दुर्घटना भएको हुनसक्ने बताएका छन् । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईले बिचक्राफ्ट जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्न त्यति टाढाबाट घुम्न नपर्ने बताए । 'भिएफआरमा उडिरहेको जहाज त्यति टाढाबाट घुम्नुपर्दैन र त्यति तल पनि ओर्लनुपर्दैन,' उनले भने । भिएफआरमा उडाउँदा विमानस्थलको रनवे पाइलटले आखाँले देख्ने दूरीमा हुनुपर्ने उनले बताए । अवतरणका लागि ओर्लंदाबाहेक अरूवेला त्यति कम उचाइमा उडाउन नहुने उनको भनाइ छ । स्थानीयवासीले निकै कम उचाइमा जहाज देखेको बताएका छन् । 
१४ वर्षको इतिहासमा पहिलो ठूलो दुर्घटना
१४ वर्षअगाडि स्थापना भएको निजी क्षेत्रको अग्रणी बुद्ध एयर हवाई यात्राका लागि सुरक्षित मानिन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको जहाज दुर्घटनासम्बन्धी विवरणमा बुद्ध एयरको कुनै पनि दुर्घटना उल्लेख छैन । 'रनवेमा सामान्य ठोक्किनेबाहेक कुनै ठूलो दुर्घटना भएको थिएन,' प्राधिकरणका एक अधिकारीले भने । 
बुद्धले बिच एयरक्र्याफ्ट जहाजबाट नै आफ्नो हवाई सेवा सुरु गरेको थियो । ऊसँग अब तीनवटा बिचक्र्याफ्ट बाँकी छन् । बिचक्र्याफ्ट जहाज विश्व बजारमा चलेको जहाज हो । यसमा आधुनिक उडान प्रणाली जडान गरिएको हुन्छ । नेपाली आकाशमा भने यो जहाज एक दशकदेखि उडिरहेको छ । यो पिच रनवेमा मात्र अवतरण गर्न सक्ने आधुनिक जहाज हो । यो जहाजलाई इन्स्टुमेन्टल फ्लाइट रुल्स (आइएफआर) प्रणालीमा पनि उडाउन सकिन्छ र धेरै उचाइ लिन सक्छ । अक्सिजनयुक्त यो जहाजले २१ हजार फिटसम्म उडान गर्न सक्ने पाइलटहरू बताउँछन् । 

धेरै नजिकबाट जहाज देख्यौँ : स्थानीय युवा राज केसी

धेरै नजिकबाट प्लेन हल्लिँदै आएको देखेपछि अचम्म लाग्यो । बाक्लो कुहिरोमा पनि प्लेनको अगाडिको भाग देखियो । केहीबेरमै ठूलो आवाज आयो । गाउँभरि त्रास फैलियो । हामी दौडेर गयौँ । डेढ घन्टाको उकालो सासै नफेरी २० मिनेटमा पुग्यौँ । हामी पुग्दा प्रहरी आइपुगेको थिएन । शवहरू यत्रतत्र छरिएका थिए । स्थिति दर्दनाक थियो । एकजना जीवितै देख्यौँ, तर उद्धार गर्न कोही अघि सरेनन् । उनी बोल्न सक्ने अवस्थामा थिए । खुट्टा भाँच्चिएको थियो र शरीरमा जताततै चोट थियो । प्रहरी उद्धार गर्नुभन्दा पनि सामान के हरायो भनेर खोज्न थाले । चिप्लो बाटोमा मुस्किलले ल्याउँदै थियौँ । दुई-तीनवटा प्रहरीका गाडी ओहोरदोहोर गरिरहेका थिए, तर कसैले रोकेन । प्रहरीले एम्बुलेन्स आउँदैछ भन्यो । आधा घन्टा अगाडि अस्पताल पुर्‍याउन पाएको भए उनी बाँच्थे । 
साढे १० बजेसम्म कुनै हेलिकोप्टर ल्यान्ड हुन सकेन । घटनास्थलभन्दा केही तल रूख काटेर अस्थायी हेलिप्याड बनाई बल्ल सिमि्रक एयरको हेलिकोप्टर ल्यान्ड हुनसक्यो । मौसम ९ बजेसम्म पनि खराब थियो, पानी परिरहेको थियो, बाक्लो कुहिरो थियो । क्यामेरामा दृश्य पनि कैद हुन सकिरहेको थिएन ।

बम हल्लाले आधा घण्टा विमानस्थल ठप्प
भारतीय निजी विमान कम्पनी स्पाइस जेटको विमानमा बम भएको हल्लाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान मध्याह्न आधा घन्टा अवरुद्ध भयो । बिहान ११ बजेदेखि साढे ११ बजेसम्म उडान अवरुद्ध हुँदा थाई एयर, गल्फ एयर, सिल्क एयर, बहराइन एयर, कतार एयर, एयर अरेबिया र ओमान एयरका जहाजलाई दिल्ली, लखनउ र कोलकाता विमानस्थलमा डाइभर्ट गर्नुपरेको विमानस्थल अपरेसन विभागले जनाएको छ । जहाजलाई पार्किङमा राखेर खानतलासी सुरु गरिएलगत्तै विमानस्थलको रनवेसमेत बन्द गरिएको थियो ।
बिहान ११ बजे काठमाडौंबाट दिल्ली उड्न लागेको स्पाइस जेटको जहाजमा अचानक बम भएको हल्ला फैलिएको थियो । तत्काल सबै यात्रु ओरालेर सेनाको बम डिस्पोजल टोलीले खानतलासी गर्दा केही फेला परेन । बुद्ध एयरको दुर्घटना ग्रस्त जहाजका शव त्रिभुवन विमानस्थलमा ल्याउने तयारी भइरहेका वेला यता बमबारे हल्लीखल्ली भएको थियो । आइतबार नै साँझ नेपाल वायुसेवा निगमको टि्वनअटर जहाजको पाङ्ग्रा पंचर भएर जहाज रनवेमा अड्केपछि केहीवेर विमानस्थल अवरुद्ध हुन पुग्यो । जहाज हटाएर रनवे सुचारु भइसकेको छ ।

५६ वर्षमा ४२ ठूला दुर्घटना
सन् एयरलाइन्स दुर्घटनास्थल मृत्यु संख्या
१९५५ कालिंगा एयर सिमरा एयरपोर्ट २ 
१९५६ इन्डियन एयर काठमाडौं १४
१९५८ इन्डियन एयर टीकाभैरव २०
१९६० एनएसी भैरहवा
१९६२ आरएनएससी ढोरपाटन १०
१९६२ आरएनएसी ढोरपाटन
१९६९ आरएनएससी बतासेडाँडा ३५
१९७० आरएनएसी दिल्ली
१९७० रोयल फ्लाइट जोमसोम
१९७२ रोयल फ्लाइट धुलिखेल ३१
१९७५ आरएनएसी बौद्ध काठमाडौं
१९७६ आरएनएसी मेघौली
१९७९ भिभिआइपी लाङ्टाङ
१९८१ आरएनएसी विराटनगर १०
१९८४ आरएनएसी भोजपुर १५
१९८५ नेपाल आर्मी २५
१९९२ थाई एयर घाङ्फेदी ११३
१९९२ पिआइए भट्टेडाँडा १६७
१९९३ एभरेष्ट सिंगापुर १८
१९९५ आरएनएसी काठमाडौं
१९९७ कर्णाली एयर सोलुखुम्बु
.१९९८ एटिएससी लुम्बिनी म्याग्दी १८
१९९८ एसियन एयर सोलुखुम्बु
१९८८ एनएसी सोलुखुम्बु
१९९९ नेकोन एयर जुम्ला
१९९९ लुफ्थासा भसुमासुर डाँडा
१९९९ नेकोन एयर रामकोट १५
१९९९ स्काइलाइन मकवानपुर १०
२००० आरएनएसी डडेल्धुरा  २५
२००१ फिष्टेल एयर रारा ताल
२००२ स्काइलाइन सुर्खेत
२००२ सांगि्रला कास्की १८
२००३ सिमि्रक एभरेष्ट बेसक्याम्प २
२००४ यती एयरलाइन्स लमजुङ
२००५ एयर डाइनेष्टी रामेछाप
२००६ यति एयरलाइन्स जुम्ला
२००६ श्री एयरलाइन्स ताप्लेजुङ २४
२००८ अनमिन रामेछाप १०
२००८ यती एयर लुक्ला १९
२०१० अग्नि एयर मकवानपुर १४
२०१० तारा एयर खोटाङ २२
२०११ बुद्ध एयर लामाटार १९
स्रोतः नागरिक उड्डयन प्राधिकरण 
यो अवधिमा मानवीय क्षति नभएका थप ४३ दुर्घटना भएका छन् । 

No comments:

Post a Comment