Tuesday, September 27, 2011

अन्तर्राष्ट्रिय एयरलाइन्समा एउटै मात्र प्रस्ताव


नयाँ पत्रिका
काठमाडौं, ९ असोज
सरकारले अन्तर्राष्ट्रिय हवाई सेवामा निजी क्षेत्रले लगानी गर्ने अपेक्षाका साथ अन्तर्राष्ट्रिय एयरलाइन्सको प्रस्ताव आह्वान गरे पनि यसमा चासो देखिएको छैन । एउटा मात्र निजी कम्पनीले अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ । मन्त्रालयले गत साउन २६ मा ४५ दिनको म्याद दिएर अन्तर्राष्ट्रिय हवाईर् सेवाका लागि सार्वजनिक आह्वान गरेको हो । 
४५ दिनको अवधिमा एउटा मात्र कम्पनीले अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ । म्याद सकिने अन्तिम दिन बिबी एयरवेज प्रालिले आवेदन दिएको हवाईर् महाशाखाका अधिकृत प्रमोद नेपालले जानकारी दिए । यसका प्रमुख लगानीकर्ता शिशिर भट्ट, भवन भट्टलगायत गैरआवासीय नेपाली हुन् । हवाईर् नीति ०६३ अनुसार अन्तर्राष्ट्रिय हवाईर् सेवामा ८० प्रतिशतसम्म विदेशी लगानी स्वीकार्य छ ।
यसअघि अनुमति लिएका कुनै पनि कम्पनीले सफलतापूर्वक सेवा सुचारु गर्न सकेका छैनन् । गत वर्षदेखि बुद्ध एयरले भारतको लखनउमा उडान गरिरहे पनि व्यावसायिक फाइदा नदेखेपछि उसले भुटानको पारो उडान भने बन्द गरिसकेको छ । 
बिबी एयरवेजले 'क' वर्गको एयरलाइन्सका लागि आवेदन दिएको हो । लाइसेन्स पाए उसले साढे दुई घन्टाभन्दा बढीको हवाईर् दूरीमा उडान गर्न पाउँछ । कम्पनीले बोइङ ७६७ जहाजबाट सेवा सञ्चालन गर्ने योजना मन्त्रालयमा पेस गरेको छ । यो बोइङको ३ सय सिरिजको जहाज हो । अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीसँग कम्तीमा दुई जेट विमान हुनुपर्ने प्रावधान छ । आवेदन दिएको कम्पनीले दोहा, हङकङ, मलेसिया, जापानलगायत सेक्टरमा उडान गर्ने व्यावसायिक योजना पेस गरेको छ । उडान सुरु गर्नुअघि प्रतिसेक्टर ५ लाख रुपैयाँ रुट रोयल्टी बुझाउनुपर्छ । 
निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाईर् कम्पनी स्थापना भई उडान प्रतिस्पर्धा हुने विश्वास मन्त्रालयको थियो । हाल सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले आधा दर्जन सेक्टरमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । 
अन्तर्राष्ट्रिय उडानका लागि निश्चित सर्तर् तोकिएको छ । मन्त्रिपरिषद्ले ०६६ मंसिरमा पारित गरेको सर्तअनुसार ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका निजी क्षेत्रका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान अनुमति माग्न पाउँछन् । त्यस्तै ५० करोड रुपैयाँ चुक्ता पुँजीसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता भएर आउनेले पनि अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव हाल्न सक्ने व्यवस्था छ । 
मुलुककै निजी क्षेत्रका ५ वटा आन्तरिक वायुसेवा कम्पनीले लामो समयदेखि संयुक्त रूपमा अन्तर्राष्ट्रिय विमानसेवा सञ्चालनको प्रयास गरिरहेको बताइए पनि उनीहरूको आवेदन मन्त्रालयमा परेको छैन । बुद्ध एयर यो समूहबाट बाहिरिएपछि सो योजना तुहिएको बताइएको छ । 
अन्तर्राष्ट्रिय उडान अनुमति पाउने कम्पनीले ५० लाख रुपैयाँ सुरक्षा धरौटी राख्नुपर्छ जुन उडान सुरु गरेपछि फिर्ता हुन्छ । अनुमति माग्ने सबै कम्पनीको मूल्यांकन सरकारी अधिकारी सम्मिलित समितिले गर्ने व्यवस्था छ । सरकारी मूल्यांकन समितिमा पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण्ाका पाँच अधिकारी सदस्य रहने गरेका छन् । अन्तर्राष्ट्रिय उडान गर्न चाहने कम्पनीले विश्वका कुन-कुन सेक्टरमा उडान गर्ने हो त्यसको विस्तृत व्यापारिक योजनालगायत सम्पूर्ण कागजपत्र मन्त्रालयमा पेस गर्नुपर्छ । समितिले कागजपत्र अध्ययन गरेर मूल्यांकन गर्छ ।
तीन वर्षअघि गरिएको आह्वानमा बुद्ध युनिटी र डाइनामिक र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएका थिए । त्यसअघि निजी क्षेत्रका कस्मिक एयर, नेपाल यती एयर इन्टरनेसनललगायत कम्पनीले केही वर्ष अन्तर्राष्ट्रिय उडान गरेर सेवा बन्द गरेका थिए ।

No comments:

Post a Comment