Monday, September 12, 2011

नेवानिका मुसाहरू

नेपाल वायुसेवा निगमको बोइङ जहाजमा मुसा पसेको खबरले यो साता भर ठूलै चर्चा पायो । पदाधिकारी नियुक्ति तथा कार्यक्षेत्र, जहाज खरिद, भाडा आदि प्रकरणका कारण बारम्बार चर्चामा आउने निगमका लागि यसपटक मुसा प्रवेश चर्चाको कारण बन्न पुग्यो । विभिन्न सञ्चारमाध्यममा आ-आफ्नै हिसाबले फरक-फरक विवरणसहितका समाचार प्रवाहित भए । मुसा फेला परे/नपरेकोबारे पनि अनुमानकै भरमा समाचार छापिए । अन्ततः निगमले विज्ञप्ति जारी गरेरै मुसा फेला परेको जानकारी गराएपछि यो विषयले किनारा पायो । 
बडेमानको हात्तीको सुँडमा सानो भुसुना मात्र छिरे पनि त्यसले उसलाई रुवाउँछ । झन्डै २ सय यात्रु क्षमताको जहाजमा छिरेको सानो 'डुहुरे' मुसाले सबैलाई आच्छुआच्छु पारिदियो । मुसाका कारण निगमलाई करोडौं घाटा भएको समाचारसमेत आइरहेका छन् । 
जहाजमा मुसा पस्ने गरेको विषय नेपालमा मात्र नयाँ हो । यस्ता घटना वेला-वेलामा अन्य मुलुकमा समेत हुने गरेका छन् । सन् २००६ मे मा अमेरिकन एयरलाइन्सको बोइङ ७६७ जहाजमा, सन् २००८ जनवरीमा वासिंगटनबाट बेइजिङ उड्न लागेको युनाइटेड एयरलाइन्सको जहाजमा, २००९ सेप्टेम्बरमा एयर इन्डियाको जहाजमा, सन् २००९ नोभेम्बरमा केनेडी इन्टरनेसनल विमानस्थलबाट लन्डन उड्न लागेको डेल्टा एयरलाइन्सको जहाजमा, गत जनवरीमा दुबईबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा, सन् २०१० को फेब्रुअरीमा एयर इन्डियाको जहाजमा र गत अगस्टमा स्विडेनबाट सिकागो जान लागेको स्क्यानन्डिनेभिएन एयरलाइन्सको जहाजमा मुसा पसेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका थिए । मुसाकै कारण कैयाँै घन्टा उडान प्रभावित भएको थियो र विमान कम्पनीलाई करोडौँ डलर घाटा भएको थियो । 
मुलुकको राष्ट्रिय ध्वजावाहक जहाजमा मुसा छिरेपछि आममानिसमा पनि यसबारे चासो उत्पन्न हुनु स्वाभाविक थियो । निगमको जहाजमा छिरेको सानो मुसो त भेटियो । केही करोडको मात्र क्षति भयो, तर निगमभित्रका थुप्रै ठूला मानवरूपी मुसाले निगमलाई भित्र-भित्रै खोक्रो बनाएका छन् र अझै बनाइरहेका छन् । तिनलाई जालमा पार्न सकिएको छैन । कतिपय मुसा त खानुसम्म खाएर भागिसकेका छन् । 
भर्खरै मात्र सर्वोच्च अदालतले निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र बिगो जरिवानासहित २ करोड ७८ लाख तिर्नुपर्ने फैसला सुनाएको छ । चतुर्वेदीले भ्रष्टाचारकोे रकमबाट बढाएको सबै धनसम्पत्तिसमेत जफत हुने फैसला भएको छ । निगमलाई खोक्रो पार्ने चतुर्वेदीजस्ता थुपै्र 'मुसा' छन्, तर ती जालमा पर्न सकेका छैनन् । 
निगमभित्र अनेकन काण्ड मच्चाएर यसलाई धुजा-धुजा बनाउने मुसा बिरालोको फन्दामा पर्न सकेका छैनन् । दुई दशकअघि उड्दा उड्दैका दुई बोइङ ७२७ जहाज बेचिए । कैयौँपटक भाडामा विदेशी जहाज तथा पाइलट ल्याउँदा करोडौँ नोक्सानी भयो । तर, यसमा संलग्न कोही पनि कारबाहीको दायरामा आएनन् । निगममा आउने जोसुकैको स्वार्थ यसलाई उँभो लगाउनेभन्दा पनि दुहुनो गाई बनाउने हुने गर्छ । कुनै वेला चारवटा बोइङ जर्मनी र प|mान्ससम्म उडाएको निगमले अहिले मुस्किलले भारत र दक्षिण पूर्वी एसियाका आधा दर्जन गन्तव्यमा मात्र उडान भर्छ । 
व्यक्तिगत स्वार्थकै कारण विमान किन्ने प्रयाससमेत बारम्बार असफल हँुदै आएको छ । निगम संसारकै एक मात्र यस्तो वायुसेवा कम्पनी हो, जसले दुई दशकदेखि एउटै जहाज किनेको छैन । कुनै पनि वायुसेवा कम्पनी पर्याप्त जहाज नभएसम्म आम्दानी गरेर नाफा गर्न सक्दैन । निगमभित्रकै कर्मचारीको व्यवहार व्यावसायिक छैन । ट्राभल एजेन्सीको रोजाइमा निगम पर्दैन । टिकट माग्न जाँदा सकियो भनेर जवाफ पाउने, तर जहाज खाली उड्ने अवस्था छ । 
अति राजनीतिक हस्तक्षेप र यसका खरिद तथा टेन्डर प्रक्रियामा राजनीतिक नेतृत्वको संलग्नताले यो संस्थालाई बद्नाम तुल्याएको छ । सत्ता वा मन्त्री परिवर्तनसँगै निगमको अध्यक्ष र व्यवस्थापनमा व्यापक हेरफेर हुने तथा यसलाई आफन्त र कार्यकर्ताको भर्तीकेन्द्र बनाउने प्रवृत्तिका कारण निगम अधोगतितिर लाग्दै गयो । 
निगमको जहाजमा छिरेको सानो मुसो त भेटियो । केही करोडको मात्र क्षति भयो, तर निगमभित्रका थुप्रै ठूला मानवरूपी मुसाले निगमलाई भित्रभित्रै खोक्रो अझै बनाइरहेका छन् । तिनलाई जालमा पार्न सकिएको छैन । कतिपय मुसा त खानुसम्म खाएर भागिसकेका छन् ।
नेता, मन्त्री तथा कर्मचारीलाई सित्तैमा विदेश घुमाउनु निगमको नियति नै हो । विशेषगरी ०४८ पछि यसमा नेताहरूको आँखा लाग्यो । निःशुल्क परिवारसहित विदेश घुम्न थाले । साना-ठूला मुसाले निगमलाई खोक्रो बनाउदै लगे । निगमको निजीकरणका कुरा वेला-वेलामा उठाइन्छन् । कार्यदल बन्छन्, तर तिनका प्रतिवेदन कार्यान्वयन हुदैनन् । निजीकरण हुनेबित्तिकै आफ्नो प्रभाव नहुने भएकाले सरकारी अधिकारी नै यसको विपक्षमा हुन्छन् । 
राजनीतिक नेतृत्वको आँखा जहाज बिगार्ने र नयाँ लिँदा कमिसन खानेमा गयो । चेज एयर लाउडा यसैका उदाहरण्ा हुन्, जसको मूल्य अझै निगम चुकाइरहेको छ । सिंगापुरमा बनाउन लगेको इन्जिनले पनि निगमलाई ठूलै खर्च गरायो । यी सबै घटनामा राजनीतिक नेतृत्वलाई निगमका टाठाबाठा कर्मचारीले साथ दिए । कर्मचारीको मिलेमतोविना यो सम्भव थिएन । पञ्चायत र बहुदलकालमा धेरैपटक विभिन्न कम्पनीका जहाज खरिदका प्रयास भए, तर कहिल्यै त्यसले लक्ष्य भेटेन । बरु जहाज बेचिए, भाडामा ल्याइए । तर, यसले 'मुसा' हरूलाई कमिसन मात्र प्राप्त भयो निगमलाई घाटा मात्र हात लाग्यो ।
राष्ट्रिय ध्वजावाहकलाई जनावर मुसाबाट मात्र जोगाएर पुग्दैन । निगमलाई धराशयी बनाउने मुसाप्रवृत्तिका व्यक्तिबाट जोगाउनु पनि त्यत्तिकै आवश्यक छ । मुलुकको इज्जतका रूपमा निगमलाई बचाइराख्ने हो भने यसलाई खोक्रो बनाएर व्यक्तिगत फाइदा लुट्नेहरूलाई कानुनी दायरामा ल्याउनैपर्छ । 
khatiwadalp@gmail.com

No comments:

Post a Comment