Wednesday, September 7, 2011

पर्यटन प्रवर्द्धनमा नयाँ अभियान प्रस्ताव

नयाँ पत्रिका
काठमाडौं, २० भदौ
निजी क्षेत्रले पर्यटन वर्ष २०११ पछि अर्को प्रवर्द्धनात्मक पर्यटन अभियानको प्रस्ताव ल्याएको छ । नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न अभियानलाई जारी राख्नुपर्ने भन्दै पर्यटन व्यवसायीले नयाँ अभियानको प्रस्ताव ल्याएका हुन् । 
पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिको बैठकमा व्यवसायीले पर्यटन प्रवर्द्धनका लागि अभियान आवश्यक भएको भन्दै पर्यटन प्रवर्द्धन निरन्तर हुनुपर्नेमा जोड दिएका थिए । 'पर्यटन वर्षपछि अर्को पर्यटन अभियानको तयारी भइरहेको छ,' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष तथा पर्यटन वर्ष समितिका सदस्य अर्जुनप्रसाद शर्माले भने । आगामी डिसेम्बरमा पर्यटन वर्ष सकिएसँगै सन् २०२० सम्मलाई लक्षित गरेर अर्को अभियानका लागि सरकारलाई आग्रह गरिएको उनले बताए । अभियानका लागि 'आरम्भ—२०२०' नाम प्रस्ताव गरिएको छ । 
पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिले डिसेम्बर १० मा लुम्बिनीमा पर्यटन वर्ष समापन कार्यक्रम गर्ने योजना बनाएको छ । यससँगै नयाँ अभियानको पनि घोषणा हुनेछ । सन् २०१२ देखि २०२० सम्ममा वाषिर्क २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित अभियानको घोषणा गर्न लागिएको समितिले बताएको छ । 
'पर्यटनको प्रवर्द्धन र यसलाई राष्ट्रिय प्राथमिकतामा ल्याउने यो अर्को प्रयास हुनेछ,' नाट्टा अध्यक्ष शर्माले भने । निजी क्षेत्रको प्रस्तावमा सरकार पनि सकारात्मक रहेको बताइएको छ । पर्यटन वर्षमा पर्यटक आगमन केही बढे पनि अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावकारी हुन नसको भन्दै व्यवसायीले असन्तुष्टि जनाउँदै आएका छन् । यसका लागि अझै केही वर्ष अभियानलाई निरन्तरता दिनुपर्ने माग उनीहरूको छ । 
पर्यटन वर्षका लागि गत आर्थिक वर्ष २३ करोड रुपैयाँ छुटयाइएकोमा समयमा टेन्डर प्रक्रिया पूरा नहुँदा आधा रकम पि|mज भएको थियो । भारत र चीनमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न टेन्डर आह्वान गरिएको थियो भने तेस्रो मुलुकका लागि सिएनएन र बिबिसीले प्रस्ताव हालेका थिए । चालू आर्थिक वर्षमा भने पर्यटन वर्षका लागि १२ करोड रुपैयाँ छुटयाइएको छ । यसमा सचिवालय खर्च र आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन खर्च समावेश छ ।
निजी क्षेत्रको प्रस्तावमा सरकार सकारात्मक रहेको व्यवसायीले बताएका छन् । पर्यटन मन्त्रालयका प्रवक्ता हरिप्रसाद बस्यालले निजी क्षेत्रकै आग्रहमा पर्यटन वर्ष घोषणा गरिएको र आगामी कार्यक्रममा पनि सहकार्य गर्न सरकार तयार रहेको बताए । अभियानको नाम र उद्देश्यबारेमा छलफल भइरहेकोले टुंगो लागिनसकेको उनले जानकारी दिए । 
'हालसम्म सञ्चालित सबै अभियानको उद्देश्य नेपाललाई अन्तर्राष्ट्रिय बजारमा एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्नु हो,' उनले भने । २०११ लाई सुरुवात बिन्दु मानेर प्रवर्द्धनका कार्यक्रमा अगाडि बढाउने सरकारको योजना रहेको बस्यालले बताए । यसअघि सन् १९९८ मा ५ लाख पर्यटकको लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको थियो । 
पर्यटन वर्ष सुरुवात मात्र भएकोले अभियानलाई निरन्तरता दिनुपर्ने तर्क व्यवसायीको छ । सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा पर्यटन वर्षलाई निरन्तरता दिने घोषणा गरिसकेको छ । सरकारले गत असारमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १५ वर्षभित्रमा नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गरी विश्वको नमुना पर्यटन बनाउने लक्ष्यसहित 'नेपाल पर्यटन वर्ष'लाई अभियानकै रूपमा निरन्तरता दिने उल्लेख छ । देशका पर्यटकीय सम्भावना उजागर गर्न पूर्वदेखि पश्चिमसम्मका १७ वटा पर्यटकीय क्षेत्रको स्थापना गरी ती क्षेत्रमा भौतिक पूर्वाधार र पर्यटन सेवाको विकास गर्ने अवधारण्ाा सरकारले अगाडि सारेको छ । पर्यटन क्षेत्रको जनशक्ति विकास, रोजगारी सिर्जना र ग्रामीण स्वास्थ्य पर्यटनको प्रवर्द्धनका लागि एकीकृत पर्यटन सेवा केन्द्र स्थापना र सञ्चालन गर्दै जाने सरकारको नीति छ ।
दुइ वर्षअघि नै सरकारले पर्यटन क्षेत्रको विकासका लागि 'भिजन—२०२०' को घोषणा गरेको थियो । हालका प्रधानमन्त्री डा.बाबुराम भट्टराई अर्थमन्त्री र उनकी पत्नी हिसिला यमी पर्यटनमन्त्री हँुदा ल्याइएको 'भिजन—२०२०' कार्यान्वयन गर्न यसकै आधारमा निजी क्षेत्रले 'आरम्भ—२०२०' पर्यटन अभियानको प्रस्ताव गरेको हो । 
भिजन २०२० मा सन् २०२० सम्ममा वाषिर्क २० लाख पर्यटक भित्र्याउने उल्लेख छ । हालको अभियानलाई निरन्तरता दिने हो भने २०२० भन्दा अघि नै २० लाख पर्यटकको लक्ष्य हासिल गर्न सकिने दाबी व्यवसायीको छ । भिजनमा ग्रामीण पर्यटनमा जोड दिँदै नेपाली जनताको जीवनस्तर उकास्ने तथा पिछडिएका समुदायको पर्यटन क्षेत्रमा सहभागिता गराइने उल्लेख छ । नेपालको विभिन्न भागमा पर्यटक केन्द्रहरू स्थापना गर्ने, पर्वतारोहण, र्‍याफ्टिङ, मठ मन्दिर तथा विभिन्न क्षेत्रमा पर्यटक आर्कषति गर्ने भिजनको उद्देश्य रहेको छ

No comments:

Post a Comment