Friday, September 2, 2011

पर्यटक आगमनमा २६ प्रतिशत वृद्धि


नया पत्रिका
काठमाडौं, १५ भदौ
हवाई मार्ग हुदै नेपाल भित्रिने पर्यटकको संख्या अगस्टमा २६.४ प्रतिशतले वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत अगस्टमा हवाई मार्गबाट ४३ हजार ४ सय ८७ पर्यटक नेपाल भित्रिएकामा यो संख्या सन् २०१० को अगस्टमा ३४ हजार ४ सय १५ थियो ।
अगस्टमा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटक ३८.७ प्रतिशतले बढेको अध्यागमन कार्यालयको तथ्यांक छ । भारतीय पर्यटक ५० प्रतिशतले बढेका छन् । गत वर्ष अगस्टमा ९ हजार ६ सय ५१ भारतीय पर्यटक हवाई मार्ग हुदै नेपाल आएकोमा यो संख्या यस वर्षको अगस्टमा १४ हजार ४ सय ७४ पुगेको छ । तर, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट आउने पर्यटक भने केही घटेका छन् ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटक ५७.२ प्रतिशतले बढेका छन् । जसमध्ये चिनिया पर्यटकको वृद्धिदर उल्लेख्य छ । गत वर्षको अगस्टमा १७ सय ३५ चिनिया पर्यटक हवाई मार्गबाट नेपाल आएकोमा यो वर्ष सो संख्या १ सय ५७.६ प्रतिशतले बढेर ४ हजार ४ सय ७० पुगेको छ । त्यस्तै, जापान, मलेसिया, सिंगापुर र थाइल्यान्डबाट आउने पर्यटक पनि बढेका छन् । यद्यपि दक्षिण कोरियाली पर्यटक भने केही घटेका छन् ।
युरोपियन बजारतर्फ अगस्टमा ९ प्रतिशतले पर्यटक बढेका छन् । बेल्जियम, डेनमार्क, जर्मनी, इटाली, स्विडेन र बेलायतबाट आउने पर्यटक गत वर्षको अगस्ट महिनाको तुलनामा बढेको तथ्यांक छ । फ्रान्स, नेदरल्यान्ड, रसिया र स्पेनबाट आउने पर्यटक भने केही घटेका छन् । अमेरिकी र क्यानाडेली पर्यटक क्रमशः १७ र ३३ प्रतिशतले बढेका छन् ।
यस वर्षको जनवरीदेखि नै पर्यटक आगमनको वृद्धिदर सकारात्मक रहेको पर्यटन बोर्डले जनाएको छ । समग्रमा वर्षको पहिलो आठ महिनाको पर्यटक आगमन वृद्धिदर २४.६ प्रतिशत छ । वर्षको पहिलो आठ महिनामा कुल ३ लाख २४ हजार ६२ पर्यटक हवाई मार्ग हदै नेपाल भित्रिएका छन् । यो संख्यालाई २०११ को अन्तसम्मका ७ लाख पु¥याउने सरकारको लक्ष्य छ ।

No comments:

Post a Comment