Wednesday, February 20, 2013

इन्टरनेट पहुँचमा उच्च वृद्धि

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, ९ फागुन । एक वर्षको अवधिमा साढे १७ लाखभन्दा बढी इन्टरनेट उपभोक्ता थपिएका छन् । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गएको दुई–तीन वर्षमा इन्टरनेट सेवा प्रयोगकर्ता ह्वात्तै बढेका हुन् ।

internet-logoपछिल्लो समय पुरानो प्रविधिमा आधारित इन्टरनेट प्रयोगकर्ता घटिरहेका छन् भने नयाँ प्रविधिमा आधारित ब्रोडब्यान्ड र वाइफाईमा आधारित उपभोक्ताको वृद्धि भइरहेको छ । इन्टरनेट उपभोक्ताको वृद्धिदर ६ दशमलव ७७ प्रतिशत पुगेको छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार अहिले कुल जनसंख्याको २१ दशमलव ५० प्रतिशतले इन्टरनेट प्रयोग गर्छन् । विभिन्न प्रविधिको इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको संख्या ५६ लाख ९३ हजार नौ सय १३ पुगेको छ ।
सहज उपलब्धता र विभिन्न प्रकारको सेवा उपलब्ध भएकाले बर्सेनि तीव्र गतिमा इन्टरनेट सेवा प्रयोग गर्ने उपभोक्ता बढिरहेका छन् । पछिल्लो समय वाइफाई इन्टरनेट उपलब्ध गराउने कम्पनीको संख्या बढेको छ । विभिन्न कम्पनीले सस्तो दरमा तीव्र गतिको इन्टरनेट दिने दाबी गर्दै अफर ल्याएका छन् । वेबसर्फर नेपाल कम्युनिकेसनले रात्रि प्याकेज तथा आवरली बेस प्याकेज लिने ग्राहकका लागि एक वर्षको सेवा लिँदा जडान खर्च नलिने बताएको छ । कम्पनीले मासिक चार सय ९५ रुपियाँमा अनलिमिटेड सेवा दिने जनाएको छ । वेबसर्फरका बिक्री प्रबन्धक सन्दीप शर्माका अनुसार अनलिमिटेड प्याकेज लिने ग्राहकले ६ महिनाको सेवा लिँदा जडान खर्च शतप्रतिशत र आठ जिबीको पेनड्राइभ पाउनेछन् । कम्पनीले सेयरिङ रेसियोका आधारमा अनलिमिटेड, भोल्युम बेस प्याकेज तथा आवरली बेस र रात्रि प्याकेज उपलब्ध गराउँदै आएको छ ।
अर्को सेवा प्रदायक क्लासिकटेक प्रालिले ‘सिटी ४५ फाइबर टु योर होम’ नामक योजना ल्याएको छ । एक हजार पाँच सय रुपियाँमा १५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउने कम्पनीले बताएको छ । त्यसैगरी सुविसु केबलनेट प्रालिले दोब्बर गतिमा इन्टरनेट सेवा चलाउन सकिने ‘डबल ब्यान्डविथ अफर’ ल्याएको छ । दुई सय ५६ किलोबाइट प्रतिसेकेन्डको इन्टरनेट सेवा लिने ग्राहकले पाँच सय १२ किलोबाइट प्रतिसेकेन्ड चलाउन सकिने कम्पनीले जनाएको छ ।
इन्टरनेट सेवा प्रदायकबीचको बढ्दो प्रतिस्पर्धाले ग्राहकलाई भने फाइदा पुर्‍याएको छ । प्रतिस्पर्धाले गर्दा कम्पनी सस्तोमा इन्टरनेट प्रदान गर्न आक्रामक रूपमा उत्रेका छन् । यसले ग्राहकको संख्या बढाउन पनि भूमिका खेलेको छ । प्राधिकरणका अनुसार अहिलेसम्म मुलुकभर ४२ कम्पनीले इन्टरनेट सेवा चलाउने अनुमति पाएका छन् । यसैगरी ६ वटा कम्पनीले ग्रामीण क्षेत्रमा इन्टरनेट चलाउने अनुमति लिएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार मोबाइलमै र मोबाइल एवं डाटा कार्डमार्फत प्रयोग गर्न मिल्ने जिपिआरएस, इजिजिई, डब्लुसिडिएमए र इभिडियो जस्ता सेवा प्रयोग गर्ने उपभोक्ता सबैभन्दा बढी छन् । सहज उपलब्धता र सस्तो भएका कारण यस्ता उपभोक्ता बढिरहेका छन् । जिपिआरएस, इजिजिइ र डब्लुसिडिएमएका ग्राहक मात्रै ५२ लाख ८५ हजार छन् ।
पछिल्ला वर्षमा टेलिफोनमा आधारित सेवा विस्तार गर्ने दूरसञ्चार कम्पनीसमेत इन्टरनेटमा केन्द्रित बन्दै गएका छन् । ०६५ सालमा नेपाल टेलिकमले फोन र इन्टरनेट एकैपटक प्रयोग गर्न मिल्ने एडिएसएल सेवा सुरु गरेको थियो पहिलोपटक । अहिले टेलिकमले थ्रिजी, इभिडियो, सिडिएमए तथा पछिल्लो पुस्ताको मानिने वाइम्याक्स इन्टरनेट समेत सुरु गरिसकेको छ । हाललाई वाइम्याक्स कर्पोरेट ग्राहकलाई मात्र उपलब्ध छ । सेवा विस्तारका दृष्टिले टेलिकमको इन्टरनेट सेवा लगभग देशभर नै फैलिएको छ । यसको एडिएसएल इन्टरनेट सेवा सबैभन्दा बढी रुचाइएको छ । यसका लागि ल्यान्डलाइन टेलिफोन आवश्यक पर्छ, तर इन्टरनेट प्रयोग गर्दा फोन अबरुद्ध हुँदैन । भोल्युम र मासिक दुवै आधारमा इन्टरनेट सेवा किन्न पाइन्छ । एक सय २८ देखि पाँच सय १२ एमबिपिएस गतिको इन्टरनेट टेलिकमले बेचिरहेको छ । एनसेलले थ्रिजीमार्फत इन्टरनेट सेवा प्रवद्र्धन गरिरहेको छ भने युनाइटेड टेलिकम (युटिएल) ले पनि सिडिएमएमा आधारित बेतारे इन्टरनेट चलाइरहेको छ ।
डेढ दशक अगाडि नेपाल भित्रिएको इन्टरेनट सेवा डायलअप प्रविधिबाट उच्च गतिको ब्रोडब्यान्डसम्म आइपुगेको छ । सन् १९९५ मा मर्कन्टाइल कम्युनिकेसनले डायलअप प्रविधिबाट नेपालमा इन्टरनेट सेवाको थालनी गरेको थियो । अहिले इन्टरनेट सञ्जाल कुनै न कुनै रूपमा देशभर फैलिसकेको छ ।

2 comments: