Thursday, August 4, 2011

अन्तराष्ट्रिय उडानमा निजी क्षेत्रको चासो

नयाँ पत्रिका

काठमाडौं, १८ साउन

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान गर्न निजी क्षेत्रलाई सार्वजनिक प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानका लागि चासो व्यक्त भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव आह्वान गर्न लागेको हो । अन्तर्राष्ट्रिय उडानका लागि प्रतिस्पर्धा गराई छानेर अनुमति दिन प्रस्ताव आह्वान गर्न लागिएको मन्त्रालयले जनाएको छ । सरकारको आह्वानपछि निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाई कम्पनी स्थापना भएर उडानमा प्रतिस्पर्धा हुने विश्वास मन्त्रालयको छ ।

'अन्तर्राष्ट्रिय उडानका लागि निजी क्षेत्रलाई सार्वजनिक आह्वान गर्न छलफल भइरहेको छ,' मन्त्रालयका सहसचिव शुरेश आचार्यले नयाँ पत्रिकासँग भने । केही 'पार्टी' ले चासो राखेपछि प्रस्ताव आह्वान गर्न लागिएको पनि उनले बताए ।

निश्चित सर्त राखेर अन्तर्राष्ट्रिय उडानका लागि निकट भविष्यमै प्रस्ताव आह्वान गरिने आचार्यले जानकारी दिए । मन्त्रिपरिषद्ले ०६६ मंसिरमा पारित गरेको सर्तअनुसार आन्तरिक उडान सञ्चालनमा पाँच वर्षको अनुभवसहित ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका निजी क्षेत्रका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान अनुमति माग्न पाउँछन् ।

त्यस्तै, ५० करोड रुपैयाँ चुक्ता पुँजीसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता भएर आउनेले पनि अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव हाल्न सक्नेछन् ।

सरकारको आह्वानपछि तोकिएको सर्त पूरा गरेर विभिन्न कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडान अनुमति माग्न सक्ने मन्त्रालयले बताएको छ । 'गैरआवासीय नेपाली -एनआरएन) ले पनि यसमा चासो राखेका छन्,' सहसचिव आचार्यले भने । जापानमा बसोबास गरिरहेका भवन भट्टलगायतका गैरआवासीय नेपालीले अन्तर्राष्ट्रिय हवाई सेवाका लागि चासो राखेको बताइएको छ । यसका लागि उनीहरूले मन्त्रालयमा निवेदनसमेत दिइसकेका छन् ।

एनआरएनले जापानी लगानीकर्तासँगको सहकार्यमा 'भगवान बुद्ध एयरवेज' को नाममा अन्तर्राष्ट्रिय विमान सेवा सञ्चालन गर्न प्रस्ताव राखेको मन्त्रालय स्रोतले बताएको छ । हवाई नीति २०६३ अनुसार अन्तर्राष्ट्रिय हवाई सेवामा ८० प्रतिशतसम्म विदेशी लगानी स्वीकार्य छ ।

अन्तर्राष्ट्रिय उडान अनुमति पाउने कम्पनीले ५० लाख रुपैयाँ सुरक्षा धरौटी राख्नुपर्छ जुन उडान सुरु गरेपछि फिर्ता हुन्छ । अनुमति माग्ने सबै कम्पनीको मूल्यांकन सरकारी अधिकारी सम्मिलित समितिले गर्ने व्यवस्था छ । 'जुन कम्पनीको उत्कृष्ट मूल्यांकन हुन्छ, त्यसले अन्तर्राष्ट्रिय उडान गर्न पाउँछ,' आचार्यले भने । उत्कृष्ट मूल्यांकनमा परेका दुई कम्पनीले यात्रुवाहक उडान गर्न पाउँछन् भने एउटा कम्पनीले कार्गो उडान गर्न पाउँछ । अनुमति पाउने कम्पनीले रुट रोयल्टीबापत प्रतिरुट ५ लाख रुपैयाँ बुझाउनुपर्छ ।

सरकारी मूल्यांकन समितिमा पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण्ाका पाँच अधिकारी सदस्य हुन्छन् ।

अन्तर्राष्ट्रिय उडान गर्न चाहने कम्पनीले विश्वका कुन-कुन सेक्टरमा उडान गर्ने हो त्यसको विस्तृत व्यापारिक योजनालगायत सम्पूण्र्ा कागजपत्र मन्त्रालयमा पेस गर्नुपर्छ । समितिले कागजपत्र अध्ययन गरेर मूल्यांकन गर्छ ।

तीन वर्षअघि गरिएको आह्वानमा बुद्ध एयर, श्री एयरलाइन्स, युनिटी एयरलाइन्स र डाइनामिक एयरले अन्तर्राष्ट्रिय उडान अनुमति पाएका थिए । यसमध्ये बुद्ध र श्रीले सेवा सुरु गरिसकेका छन् भने अन्य दुईको सेवा अन्यौलमा छ । त्यसअघि निजी क्षेत्रका कस्मिक एयर, एयर नेपाल, यति एयर इन्टरनेसनललगायत कम्पनीले केही वर्ष अन्तर्राष्ट्रिय उडान गरेर सेवा बन्द गरेका थिए ।

यसैबीच आन्तरिक उडान सेवा सञ्चालन गरिरहेका पाँच विमान कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि संयुक्त रूपमा एयरलाइन्स स्थापना गरी बोइङको वाइड बडी विमान ल्याउने तयारी गरिरहेका वेला सो समूहबाट बुद्ध एयर बाहिरिएको छ ।

नेपाल पर्यटन वर्ष २०११ भित्र जहाज ल्याउनेे लक्ष्यका साथ बुद्ध एयर, यति एयरलाइन्स, अग्नि एयर, गुण्ा एयरलाइन्स र सिमि्रक एयरले गृहकार्य गरिरहेका थिए । पाँच वटै एयरलाइन्सले अमेरिकामा निर्मित बोइङ कम्पनीको वाइड बडी जहाज ल्याउने सहमति गरिसकेका भए पनि पछिल्लो पटक बुद्ध एयर पछि हटेको छ ।

७२ सिट क्षमताका दुई एटिआर जहाज ल्याएपछि बैंकले नयाँ विमान खरिदमा अगाडि नबढ्न वित्तीय संस्थाले सल्लाह दिएको बुद्धले जनाएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले आफैँले नयाँ जहाज किनेका कारण बैंकको सल्लाहअनुसार वाइड बडी जहाज किन्ने प्रक्रियाबाट आफू पछि हटेको बताए ।

विमान खरिदका लागि बस्नेत र यति एयरलाइन्सका समूह कार्यकारी निर्देशक विजय श्रेष्ठलाई दिइएको थियो । पाँच निजी कम्पनीले अन्तर्राष्ट्रिय विमान सेवाको गृहकार्य गरिरहेको बताइए पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे अनभिज्ञता प्रकट गरेको छ ।

No comments:

Post a Comment