Tuesday, September 6, 2011

मुसाले पनि हेप्यो राष्ट्रिय ध्वजाबाहकलाइ

नयाँ पत्रिका
काठमाडौं, १९ भदौ
सोमबार बिहान नेपाल वायुसेवा निगमको बोइङ ७५७९ एनएसी बी जहाज बैंकक उड्ने तयारीमा थियो, १ सय २३ जना यात्रुले बोर्डिङ पास लिइसकेका थिए । 
जहाजका सामान चेक गर्ने क्रममा चालक दलका सदस्यले अचानक जहाजभित्र मुसा देखे । विमान क्याप्टेनद्वय रवीन्द्रकुमार शेरचन र युवराज भट्टराईले उडाउन लागेका थिए । मुसा भेटिएपछि सम्पूर्ण कर्मचारी मुसा खोज्नतिर लागे । उडान रद्द गरियो । निगम व्यवस्थापनले आफ्ना यात्रुलाई थाइ एयरवेजको जहाजमा पठायो । अहिले निगमको एउटा मात्र बोइङ सञ्चालनमा छ । निगमको अर्को बोइङ सी चेकका लागि इजरायल पुगेको छ । जहाज आइपुग्न तीन साता लाग्ने बताइएको छ । 
निगम कर्मचारीहरू दिनभर मुसा खोज्न व्यस्त रहे । विमानलाई ह्यांङगरमा राखेर मुसा पक्रिन पासो थापिएको थियो । जहाजभित्र मुसा मार्ने विष प्रयोग गर्न भने पाइँदैन । तालिकाअनुसार यो जहाज बैंककबाट फर्किएर आजै साँझ मलेसिया जानुपर्ने थियो । बैंककका यात्रु पठाएपछि साँझ क्वलालम्पुरको उडान गरिने निगमका विमानस्थल म्यानेजर प्रदिप कार्कीले बताए । तर, मुसा नभेटिएमा क्वलालम्पुर उडानसमेत रद्द हुने भएको छ । राति साढे ११ बजे क्वलालम्पुरको तालिका छ । 
विमानभित्र चिया, कफी, पिनट आदिको ओसार्ने ट्रेमार्फत मुसा छिरेको हुन सक्ने कर्मचारीको अनुमान छ । 'ट्रली ढोकाकै लेभलसम्म पुग्ने भएकाले त्यतिवेलै छिरेको हुनुपर्छ,' कार्कीले भने । जहाजका चारवटा ढोका खुलै हुने भएकोले कुनै पनि ढोकाबाट भागेको पनि हुनसक्ने उनको अनुमान छ । 
चालक दलका अनुसार मुसा बाहिर निस्केको यकिन नभएसम्म जहाज उडाउन मिल्दैन । जहाजमा मुसाले काट्न सक्ने खुला तार नभए पनि खतरामुक्त नहुने प्राविधिकहरूको भनाइ छ । बिहान आठ बजे बैंकक उड्नुपर्ने जहाज मौसमका कारण डिले भएको थियो । 
निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले साँझसम्ममा मुसा फेला नपरेको बताए । मुसा फेला पार्न लनिे औषधि राखेर तीन/चार घन्टाका लागि जहाज बन्द गरिएको थियो । त्यो औषधि खाएपछि मुसा बेहोस हुन्छ । जहाजमा सानो खालको मुसा 
छिरेको हो । यसलाई 'डुहुरे' भनिन्छ । गत असार १३ गते भोजपुरबाट १९ यात्रु बोकेर काठमाडौं आइरहेको निगमकै टि्वनअटर जहाजमा पनि चरा ठोकिएको थियो । त्यस्तै दुई वर्षअघि पनि टि्वनअटर जहाजमा बनेपामाथि आइपुग्दा पखेटामा गिद्ध ठोक्किएको थियो । 
यसअघि जहाजमा मुसा भने पसेको थिएन । विमानस्थल वरपर फोहोर र झाडी बढेकोलेे मुसाको बिगबिगी बढेको भन्दै विमानस्थल प्रशासनले यसको रोकथाम गरिने बताएको छ । वरपरको जंगलका कारण विमानस्थल रनवेसम्म बाँदरसमेत पुग्ने गरेका छन् । 
जहाजभित्र मुसा छिरेको घटना नेपालमा मात्र होइन । अन्य मुलुकमा समेत यस्ता घटना हुने गरेका छन् । गत अगस्टमा स्विडेनको स्टकहोमबाट अमेरिकाको सिकागो जान लागेको जहाजमा मुसा देखिएपछि एसएएस एयरलाइन्सको विमान ३६ घन्टासम्म रोकिएको थियो । विमानमा यात्रु चढ्नुअघि मुसो कुदेको थियो । 
त्यस्तै, स्पेनमा मुसा छिर्दा तीन दिन उडान रोकिएको थियो भने न्युयोर्कमा आठ घन्टा लगाएर निकालिएको थियो । अस्ट्रेलियाको सिड्नीमा पनि उड्न लागेको एउटा जहाज मुसाले गर्दा रोकिनुपरेको थियो । सिड्नीबाट बि्रस्वेन उड्न लागेको जहाजको इमरजेन्सी मेडिकल इक्विपमेन्टमा चारवटा मुसा भेटिएका थिए ।

No comments:

Post a Comment