Tuesday, September 27, 2011

संस्कृति जोड्दै पर्यटन

 












लक्ष्मीप्रसाद खतिवडा

यस वर्षको विश्व पर्यटन दिवस पर्यटनमार्फत विभिन्न संस्कृतिलाई जोड्नका लागि मनाइँदै छ । गत वर्ष दिगो पर्यटनलाई वातावरण संरक्षण र जलवायु परिवर्तनसँग जोडिएको थियो । विश्वभरिको पर्यटन क्षेत्रको छाता संगठन विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले गत महिना यसपालिका लागि 'टुरिजम लिङकिङ कल्चर' नारा सार्वजनिक गरेको थियो । संगठनको आगामी महिना हुने महासभाले अर्को दुइ वर्षका लागी पर्यटन दिवसको नारा तय गर्नेछ । 
पर्यटनले विश्व एकतामा महत्वपूण भूमिका निर्वाह गर्ने भएकाले यस वर्ष टुरिजम लिङकिङ कल्चर नारालाई अगाडि बढाइएको संगठनले बताएको छ । संगठनको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पर्यटनले आर्थिक तथा सामाजिक अवसर प्रदान गर्ने र धनी-गरिबबीचको अन्तर कम गर्न पनि उत्तिकै सघाउने भएकाले यो क्षेत्र एकताको प्रतीक भएको बताएका छन् । पर्यटनले विश्वभरिका समुदायलाई जोडेर शान्ति कायम गराउने बानले बताएका छन् ।
पर्यटन दिवसको अवसरमा सन्देश दिँदै युएनडब्लुटिओका महासचिव तालेव रिफाइले प्रत्येक व्यक्ति र हरेक राष्ट्रको आफ्नो अद्वितीय संस्कृति हुने भएकाले पर्यटन प्रवर्द्धनबाटै अन्तर्राष्ट्रिय समझदारी, भाइचारा, शान्ति र आर्थिक विकास सम्भव हुने बताएका छन् । विश्व पर्यटन संगठनले आह्वान गरेदेखि नै नेपालले पनि हरेक वर्ष सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ  एजेन्सिज एसोसिएसन, ट्राभल एजेन्ट्स एसोसिएसनलगायत संघसंस्थाले विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइरहेका छन् । 
सन् २०१० मा विश्वभरिका अन्तर्राष्ट्रिय पर्यटकको संख्या ९४ करोड पुगेको युएनडब्लुटिओको तथ्यांक छ । यसरी पर्यटनको माध्यमबाट प्रत्येक दिन विविध धर्म, संस्कृति, सभ्यता र रहनसहन भएका लाखौँ व्यक्ति एक-अर्कासँग साक्षात्कार गरिरहेका छन् । यो संख्या सन् २००९ भन्दा ७ प्रतिशत बढी हो । यी पाहुनाको माध्यमबाट पर्यटन क्षेत्रले वर्षभरिमा ९ खर्ब १९ अर्ब अमेरिकी डलर आम्दानी गरेको संगठनको अनुमान छ । संगठनले सन् २०११ मा विश्वभर पर्यटक आगमनको संख्या ५ प्रतिशतसम्म बढ्ने अनुमान गरेको छ । आर्थिक सर्वेक्षणअनुसार नेपालले पनि पर्यटन क्षेत्रबाट आर्थिक वर्ष ०६७/६८ मा २७ अर्ब रूपैयाँ आर्जन गरेको छ । 
अगस्ट २०११ सम्म नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या २४ दशमलव ३ प्रतिशतले बढेको छ । मुलुकले यो वर्ष हवाईमार्गबाट ७ लाख र स्थलमार्गबाट ३ लाख गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस अर्थमा पनि नेपालका लागि यस वर्षको विश्व पर्यटन दिवस विशेष महत्त्वपूर्ण छ । हालसम्मको पर्यटक आगमन वृद्धिदर हेर्दा १० लाखको लक्ष्य भेट्न मुस्किल देखिन्छ । पर्यटन व्यवसाय विश्वमै ६ दशमलव ७ प्रतिशतले वृद्धि भइरहेको र कुल पर्यटक संख्याको ४३ प्रतिशतले एसिया महादेशको भ्रमण गर्ने गरेको अवस्थामा पनि नेपालमा १० लाख पर्यटक फलामको च्युरासरह भएको छ । तर, सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने 'भिजन २०२०' को लक्ष्यलाई केन्दि्रत गरी योजना बनाए नेपालको आर्थिकस्तर निकै माथि पुग्नसक्ने सम्भावना छ । 
विश्वमा पर्यटनको विकास र विस्तार गर्न सन् १९७० मा विश्व पर्यटन संगठनको औपचारिक रूपमा स्थापना भएको थियो । संगठनको सन् १९७९ मा स्पेनमा भएको तेस्रो साधारणसभाको बैठकले सन् १९८० देखि सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसैवेलादेखि विश्वमा छरिएर रहेका विविध किसिमका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक महत्त्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरी पर्यटन विकासका लागि जागरुक बनाउने अभिप्रायले यसलाई एउटा उत्सवका रूपमा मनाउन थालियो । पहिलो विश्व पर्यटन दिवसको नारा सांस्कृतिक सम्पदाको संरक्षण, शान्ति र आपसी समझदारीका लागि पर्यटनको योगदान रहेको थियो । 
नेपालले पनि लामो समयदेखि विश्व पर्यटन दिवस मनाउँदै आए पनि केही व्यक्ति र संस्थाका लागि यो एउटा उत्सवका रूपमा सीमित भएको छ । पर्यटन आममानिसको चासोको विषय बन्न सकेको छैन । पर्यटनलाई संस्कृतिसँग जोड्ने पर्यटन दिवसको नाराको उद्देश्य गहिरो भए पनि त्यसबमोजिमको प्रभाव पार्ने किसिमको कार्यक्रम हामीकहाँ हुन सकेको छैन । पर्यटनसँग सम्बन्धित निजी व्यवसायी तथा गैरसरकारी संस्थाले पनि जनचेतनामूलक कार्यक्रम गर्नेेभन्दा पनि उत्सवका रूपमा मनाउने गरेकाले पर्यटन प्रवर्द्धनमा यसले खासै कुनै प्रभाव पार्ने गरेको छैन । 
विविध संस्कृतिलाई विश्व पर्यटनको आकर्षणको स्रोत बनाउने लक्ष्यसहित तय भएको नाराले आशा गरेअनुसार सांस्कृतिक विविधताको खानी रहेको नेपाली सांस्कृतिक पर्यटनलाई थप उचाइमा पुर्‍याउन मद्दत पुग्ने कार्यक्रम गरिनुपर्छ । सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालका पर्यटनका लागि यस्तो नारा तय हुनु राम्रो हो । हामीसँग भएको अथाह सम्पदाको सदुपयोग नभएकै कारण अहिले नेपाली पर्यटन बजारले आशा गरेअनुरूप गति लिन सकेको छैन । 
नेपालमा हुने सबैजसो पर्यटकीय गतिविधि संस्कृतिसँग जोडिएका छन् । संस्कृतिसँग बढी सम्बन्ध ट्रेकिङको छ । टे्रकिङको एउटा उद्देश्य संस्कृतिको अवलोकन पनि हो । तर, अहिलेसम्म पनि टे्रकिङ पहाड र हिमाली भेगमा सीमित छ । यसको अर्थ तराईमा संस्कृति छैन भन्ने होइन । संस्कृतिलाई पर्यटनसँग जोडेर तराईमा पनि पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । संस्कृतिलाई पर्यटकीय प्रयोजनमा उपयोग गरेर आयआर्जन गर्न सकिन्छ । अहिले पनि विदेशीले पैसा तिरेर नेपाली संस्कतिको अवलोकन गरिरहेका छन् । संस्कृति बचाउन पर्यटन चाहिएको छ न कि पर्यटनका लागि संस्कृति । संस्कृतिको व्यवसायीकरण गर्ने वेला भइसकेको छ । 
सांस्कृतिक मूल्य-मान्यतालाई पर्यटकीय प्रयोजनमा लगाउन हामी तयार छौँ कि छैनौँ भन्ने कुरा अर्कै बहसको विषय हुन सक्छ । कुनै विशेष दिनमा मात्र मनाइने जात्रा वा पर्व अन्य समयमा पर्यटकले हेर्न चाहेमा देखाउने कि नदेखाउने यो महत्त्वपूर्ण पक्ष हो । केही वर्षअघि एउटा पाँचतारे होटलमा कुमारीको प्रतिविम्ब बनाएर रिसेप्सनमा राख्दा उपत्यकाका शाक्य समुदायले कडा विरोध गरेका थिए । हामीकहाँ यस्ता थुप्रै सांस्कृतिक गतिविधि छन् जुन निश्चित दिन वा अवसरमा मात्र गरिन्छ । संस्कृतिको महत्त्व घट्नेगरी यसको व्यावसायीकरण गर्नु आफैँमा घातक हो, तर पर्यटकीय प्रयोजनबाट आयआर्जन गर्न सकिन्छ र यसबाट संस्कृति जगेर्नाका लागि सहयोग पुग्छ भने यसलाई अन्यथा लिन मिल्दैन । 
पर्यटक भएर कुनै ठाउँमा पुग्नु त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन प्राप्त गर्नु हो । पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न चितवनमा हजारौं खर्च गर्ने पर्यटकले गोरखाका मगरको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ ।
नेपाली पर्यटनको इतिहास ५० वर्षभन्दा लामो भइसके पनि छिमेकी मुलुकको तुलनामा यो उद्योगको अपेक्षित विकास हुन सकिरहेको छैन । छिमेकी मुलुक चीनमा वाषिर्क १० करोड पर्यटक घुम्न जान्छन् । करिब ५ करोड चिनियाँ पर्यटक भ्रमणका लागि विदेश जाने गरेको तथ्यांक छ । त्यस्तै वाषिर्क ६ करोड भारतीय विदेश भ्रमणमा निस्कन्छन् । त्यही संख्यामा अन्य विदेशी पर्यटक भारत भ्रमणमा आउँछन् । पर्यटनमा उल्लेख्य विकास गरिसकेका यी दुई ठूला छिमेकी मुलुकको बीचमा रहेर पनि त्यसबाट हामीले फाइदा लिन सकिरहेका छैनौं  । संसारमै सबैभन्दा बढी बुद्धमार्गी भएको मुलुक चीन र हिन्दू बढी भएको मुलुक भारतको प्रमुख धार्मिक गन्तव्य नेपाल हुन सकेको छैन । जब कि यी दुवै धर्मका प्रख्यात आस्थाको केन्द्र लुम्बिनी र पशुपतिनाथ नेपालमा छन् । 
विश्व पर्यटन दिवसका हालसम्मका नारा
१९८० सांस्कृतिक सम्पदाको संरक्षण, शान्ति र आपसी समझदारीका लागि पर्यटनको योगदान
१९८१ पर्यटन र जीवनको गुणस्तर
१९८२  पर्यटनको गर्व  ः राम्रा पाहुनाहरू र राम्रो आतिथ्य
१९८३  जिम्मेवार भएर घुमफिर गरौँ
१९८४  अन्तर्राष्ट्रिय समझदारी, शान्ति र सहयोगका लागि
१९८५  युवा, पर्यटन, सांस्कृतिक र ऐतिहासिक सम्पदा ः शान्ति र मित्रताका लागि
१९८६  पर्यटन विश्वशान्तिका लागि ठूलो शक्ति
१९८७   विकासका लागि पर्यटन
१९८८   पर्यटन सबैका लागि शिक्षा
१९८९  पर्यटकको स्वतन्त्र हिँडडुलले एउटै विश्व बनाउँछ
१९९०   पर्यटन  ः एउटा मान्यता नपाएको  उद्योग
१९९१   सञ्चार, सूचना र शिक्षा पर्यटन विकासका लागि शान्ति केन्द्र
१९९२  पर्यटन बढ्दो सामाजिक र आर्थिक समन्वयको माध्यम
१९९३  पर्यटन विकास र वातावरणीय संरक्षण
१९९४  योग्य कर्मचारी, योग्य पर्यटन
१९९५  युएनडब्लुटिओ बीस वर्षदेखि विश्व पर्यटनमा सेवारत
१९९६  पर्यटन शान्ति र सहिष्णुताको माध्यम
१९९७  पर्यटन रोजगार निर्माण र वातावरण संरक्षणका लागि एक्काइसौँ शताब्दीको अग्रणी कार्य
१९९८  व्यक्तिगत र सार्वजनिक साझेदारी पर्यटन विकासको साँचो      
१९९९  पर्यटन नयाँ सहस्राब्दीका लागि विश्वसम्पदा संरक्षण
२०००  प्रविधि र प्रकृति पर्यटनका दुई चनौती
२००१  पर्यटन सभ्यतामाझ शान्ति र बहस
२००२  इको टुरिजम दिगो विकासको साँचो     
२००३  पर्यटन सामाजिक मातृत्व, रोजगार निर्माण र गरिबी निवारणका लागि बलियो माध्यम   
२००४  खेल र पर्यटन 
२००५  यात्रा र यातायात 
२००६  पर्यटनलाई बल  
२००७  महिलाका लागि पर्यटन 
२००८  मौसम परिवर्तन तथा सन्तुलनका लागि पर्यटन 
२००९  पर्यटन विविधताको बीचमा 
२०१०  जैविक विविधता र पर्यटन 
२०११ संस्कृति जोड्दै पर्यटन
khatiwadalp@gmail.com

No comments:

Post a Comment