Thursday, September 29, 2011

तीन लाख पर्यटकको लक्ष्य


नयाँ पत्रिका
नगरकोट, ११ असोज
स्थापित पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोटले पर्यटन वर्ष २०११ मा ३ लाख आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने लक्ष्य लिएको छ । यसका लागि यहाँका होटल व्यवसायीले पूर्वाधार तथा क्षमता विस्तारमा लगानी थप गरेका छन् । दैनिक करिब १ हजार आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरिरहेको नगरकोटको आतिथ्य सत्कार व्यवसाय पर्यटन वर्षसँगै विस्तार हुन थालेको छ । 
वर्षैभरि आन्तरिक र बाह्य पर्यटकले खाली नहुने नगरकोटमा होटलको अकुपेन्सी पर्यटकीय सिजन सुरु भएसँगै ह्वात्तै बढेको छ । व्यवसायीका अनुसार नगरकोटका एक दर्जन होटलको अकुपेन्सी अहिले ८० प्रतिशत छ । यहाँ सिजनमा कोठा पाउनै गाह्रो छ । नगरकोटमा ३५ पर्यटक स्तरका होटल छन्, सात स्तरीय होटल छन् । यहाँका होटलले एक रातको न्यूनतम १५ सयदेखि ५ हजार रुपैयाँसम्म लिन्छन् । क्लब हिमालय, होटल कन्ट्री भिल्ला, निभालगायत ८ होटलले काठमाडौंमा नै कोठा बुक गराउँछन् । 
नगरकोटमा विदेशी पर्यटकको मुख्य सिजन अक्टोबर र नोभेम्बर महिना हो । अन्य समयमा यहाँको होटल व्यवसाय आन्तरिक पर्यटकले धानेको छ । 'पर्यटन वर्षको सुरुवातसँगै होटल व्यवसायीको अपेक्षा निकै बढेको छ,' नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष तथा होटल व्यवसायी श्याम कायस्थले भने । पर्यटक बढ्ने अपेक्षाका साथ होटल व्यवसायीले कोठा थपेको उनले बताए । 'होटलले पूर्वाधार विस्तार, कोठा थप तथा पर्यटकका लागि नयाँ गतिविधि थप्न लगानी गरेका छन्,' उनले भने । नगरकोटको सबैभन्दा स्तरीय होटल क्लब हिमालयले यस वर्ष ३० कोठा थपिएको जनाएको छ । त्यस्तै, होट निभा, होटल स्पेस माउन्ेटनलगायत होटलले पनि क्षमता विस्तार गरेका छन् ।  
होटलले आम्दानी बढ्ने अपेक्षाका साथ क्षमता विस्तार गरे पनि त्यसअनुसारको प्रतिफल भने प्राप्त नभइरहेको व्यवसायी स्वयं बताउँछन् । 'यहाँका व्यवसायीको अपेक्षा निकै बढेको छ तर त्यसअनुसारको प्रतिफल प्राप्त हुन सकिरहेको छैन,' कायस्थले भने । नगरकोटमा खर्च गर्ने पर्यटन घटेको उनको अनुभव छ । कायस्थका अनुसार पछिल्लो समय नगरकोटमा चिनियाँ पर्यटकको संख्या बढेको छ । नगरकोटको होटल व्यवसाय अहिले चिनियाँ पर्यटकले नै धानेको बताइएको छ । 
चिनियाँ पर्यटक कम खर्च गर्ने पर्यटक हुन् । 'अधिकांश चिनियाँ पर्यटक प्याकेजमा आउँछन् । यहाँ धेरै खर्च गर्दैनन्,' कायस्थले भने । चीनसँग नेपालको प्रत्यक्ष हवाई सम्पर्क भएकोले यो वर्षको सुरुवातदेखि नै नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढिरहेको छ । चीनका दुई वायुसेवा कम्पनी चाइना इस्टर्न र चाइना साउदर्नले चीनका विभिन्न गन्तव्यबाट काठमाडौं उडान गर्छन् । 
नगरकोटमा वाषिर्क कति पर्यटक पुग्छन् भन्ने आधिकारिक तथ्यांक कुनै निकायसँग नभएपनि करिब डेढ लाख पर्यटक नगरकोट पुग्ने गरेको अनुमान व्यवसायीको छ । 
यस वर्ष यो संख्यालाई दोब्बर बनाउने उनीहरूको लक्ष्य छ । भक्तपुर जिल्लामा पर्ने नगरकोट प्राकृतिक सुन्दरता, सूर्योदय, सूर्यास्त तथा हिमाली दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । काठमाडौंबाट ३२ किलोमिटर टाढा २ हजार मिटर उचाइमा रहेको नगरकोटमा एक रात बिताउने आन्तरिक पर्यटक बढी जाने गरेको होटल व्यवसायी बताउँछन् । यहाँका होटलको क्षमता दैनिक करिब १ हजार छ । नगरकोटमा हालै सुरु भएको होमस्टेमा पर्यटकले स्थानीय संस्कृति र रहन-सहन हेर्न सक्छन् । होमस्टेका लागि एक रातको १ हजार रुपैयाँ शुल्क तोकिएको छ । नगरकोटमा तामाङ तथा नेवार जातिको बाहुल्य छ । 

क्लब हिमालयमा चंगा चेट
नगरकोट/ नगरकोटस्थित होटल क्लब हिमालयको आयोजनामा बुधबार चंगा उडाउने प्रतियोगिता 'चंगा चेट २०६८' सुरु भएको छ । प्रतियोगितामा २६ विभिन्न कर्पोरेट हाउस सहभागी छन् । समाजसेवी, कलाकार तथा पर्यटन व्यवसायीले विभिन्न सन्देश लेखिएका चंगा उडाएर संयुक्त रूपमा प्रतियोगिता उद्घाटन गरेका थिए । 
समाजसेवी तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले युवावर्गले सामाजिक विषयलाई प्राथमिकता दिनुपर्ने सन्देश लेखिएको चंगा उडाइन् । त्यस्तै, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्ने सन्देश युक्त चंगा उडाएकी थिइन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले राष्ट्रलाई उठाउने दुई खुट्टा, युवा र पर्यटन भएको सन्देश लेखिएको चंगा उडाउँदै पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । नगरकोटका होटल व्यवसायी श्याम कायस्थले राजनीतिक क्रान्ति सकिएकोले आर्थिक क्रान्तिको सुरुवात गर्नुपर्नेमा जोड दिँदै गरिखान पाऊँ लेखिएको चंगा उडाए । 
४ समूहमा विभाजन गरेर प्रतियोगिता गराइएको छ । कार्यक्रम संयोजक तथा होटल क्लब हिमालयकी मार्केटिङ म्यानेजर प्रमिता शाक्यले परम्परा बचाइराख्न र कर्पोरेट हाउसहरूसँग राम्रो सम्बन्ध कायम गर्न प्रतियोगिता आयोजना गरेको बताइन् । 'चंगाको लागि दसैं सबैभन्दा उपयुक्त समय हो । यसलाई हामीले व्यावसायिक प्रयोजनमा उपयोग गर्‍यौं,' उनले भनिन् । एस होटल एन्ड रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्र शाक्यले २०६० सालमा चंगा प्रतियोगिताको सुरुवात गरेका थिए । राजनीतिक र औद्योगिक वातावरण राम्रो नभएको भन्दै ४ वर्षदेखि प्रतियोगता आयोजना भएको थिएन । परिस्थिति सहज भएपछि परम्परालाई निरन्तरता दिँदै पुनः सुरु गरिएको संयोजक शाक्यले बताइन् । आगामी वर्ष अझ वृहत रूपमा कार्यक्रम आयोजन गर्ने लक्ष्य रहेको उनले सुनाइन् । सामाजिक संघसंस्थाले पनि चासो राखेकाले आगामी वर्षदेखि सबैलाई समेट्ने उनले जानकारी दिइन् ।
प्रतियोगितामा विजयी टिमले ५ रात ६ दिनको मलेसिया भ्रमण प्याकेज पुरस्कार पाउनेछ । हवाई टिकटसहितको सो पुरस्कार मार्कोपोलो ट्राभल्सले प्रायोजन गरेको छ । त्यस्तै, सान्त्वना पुरस्कारहरू पोखरा, बन्दिपुर, चितवनलगायत प्याकेज राखिएको बताइएको छ । प्रतियोगितामा भाग लिन १२ हजार रुपैयाँ शुल्क तोकिएको थियो । नेपालीपनको झल्को दिन प्रतियोगितामा नेपाली चंगा मात्र प्रयोग गरिएको आयोजकले जानकारी दिएको छ । 'पर्यटकलाई नेपाली संस्कृतिबारे जानकारी गराउने हाम्रो एउटा उद्देश्य हो । विदेशीले नेपाली संस्कृतिमा निकै चासो राख्छन्,' संयोजक शाक्यले भनिन् । नगरकोट पुगेका विदेशी पर्यटकले पनि कार्यक्रम चाख मानेर अवलोकन गरेका थिए । 'संस्कृतिलाई जोड्दै पर्यटन' भन्ने नाराका साथ नेपालले साताव्यापी रूपमा विश्व पर्यटन दिवस मनाइरहेको छ । 'चंगा चेट' पर्यटन दिवसकै एउटा महत्त्वपूर्ण कार्यक्रम हो,' नेपाल पर्यटन बोर्डका अधिकृत सुमन घिमिरेले भने । विदेशी पर्यटकलाई नेपाली संस्कृतिसँग साक्षात्कार गराउन यस्ता कार्यक्रम उपयोगी हुने उनले बताए । 
प्रतियोगिताका लागि करिब २० लाख रुपयाँ खर्च हुने आयोजकको दाबी छ । प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगिताका साथै खानाका स्टल, सांस्कृतिक कार्यक्रम, कन्सर्टलगायत गतिविधि कार्यक्रममा समावेश छन् । दुई दिनको अवधिमा ५ हजार दर्शकले कार्यक्रम अवलोकन गर्ने आयोजकको अपेक्षा छ । सर्वसाधारणका लागि प्रवेश शुल्क २ सय ५० रुपैयाँ तेाकिएको छ ।

No comments:

Post a Comment