Thursday, October 13, 2011

आतिथ्य, संस्कृति र पर्यटन

लक्ष्मीप्रसाद खतिवडा

असल मुङ्ग्रे केरा कि त महि हवस् बेस अमिलो
कि त सेता मूला कि त बरु हवस् साग उसको ।
असल हुन्थ्यो धुप्मा नत्र कसरी खानु यसरी ?
भुटी ल्यायौ थाल्मा मकइ तिमीले क्यान यसरी ??

झन्डै एक सय ६० वर्षअगाडि आदिकवि भानुभक्त आचार्यले कतै घुम्न गएको वेला एउटा घरमा भुटेको मकै खान दिँदा माथिको श्लोक रचेका रहेछन् । कामविशेषले वा यत्तिकै घुम्न जाँदा नचिनेका मानिसका घरमा पाहुना लाग्ने नेपाली चलन पुरानै हो । साँझमा आउने पाहुना देउतासरह मानिने भएकाले राम्रो स्वागत सत्कार गर्नुपर्छ भन्ने हाम्रो सांस्कृतिक मान्यतालाई संसारमै उत्कृष्ट मानिँदै आएको छ । 
विशेषगरी नेपालमा माओवादी द्वन्द्व सुरु हुनु अघिसम्म अधिकांश गाउँघरमा जो जुन घरको दैलोमा पुगे पनि स्वागत पाउँथ्यो आतिथेय घरपरिवारकोे आत्मीय व्यवहार पाउँथ्यो । तर, माओवादी र राज्यबीच द्वन्द्व सुरु भएपछि यो संस्कार नै संकटमा पर्‍यो । कसैका घरमा पाहुना लाग्नु वा बास माग्नु असम्भवजस्तै भयो । पाहुनालाई पनि शंकाको दृष्टिले हेर्नुपर्ने स्थिति उत्पन्न भयो । 
०६३ सालमा राज्य र द्वन्द्वरत पक्षबीच शान्ति-सम्झौतापछि भने मुलुकभर आवतजावत सहज भयो । द्वन्द्वका कारण बन्द भएका गाउँघरका दैला अतिथि र आतिथ्यका लागि पुनः खुल्न थाले । आफ्नो दैलोमा पाहुनाको स्वागत गर्न यतिखेरको पुस्ता जुर्मुराएको छ । स्थानीय युवा तथा महिलाको सक्रियतामा मुलुकभर होम स्टेको लहर सुरु भएको छ । तर, फरक के छ भने पाहुना अब पर्यटक भएका छन् । आन्तरिक पर्यटक । गोरो छालालाई मात्र पर्यटक मान्ने धारणा कम गर्न अबको पुस्ता लागिपरेको छ । केचनाका नेपालीले पनि पर्यटक बनेर कालापानीको भ्रमण गर्न थालेका छन् । महेन्द्रनगरका नेपाली इलाम पुग्न थालेका छन् । आफ्नै नागरिकलाई पराई ठान्नुपर्ने अवस्था अन्त्य भएपछि आन्तरिक पर्यटकलाई स्वागत गर्न गाउँवासी आतुर छन् । पर्यटकका लागि गाउँगाउँमा पूर्वाधार बन्न थालेका छन् र त्यसमा स्थानीय जनताको सक्रियता बढेको छ । 
गाउँहरू पर्यटकमैत्री बन्न थालेका छन् र नयाँ-नयाँ पर्यटकीय गन्तव्यको पनि पहिचान हुन थालेको छ । पर्यटकलाई आफ्नो संस्कृति देखाउन युवाहरू ल्ाागिपरेका छन् । ग्रामीण भेगमा पुग्ने पर्यटकले स्थानीय संस्कृतिको आनन्द लिन सक्छन् । 
त्यसो त १२ वर्षअघि सन् १९९८ मा मनाइएको नेपाल भ्रमण वर्षदेखि नै नेपालमा आन्तरिक पर्यटनको लहर सुरु भएको थियो । विदेशी पर्यटकका लागि गाइड तथा 'पोर्टर'भन्दा भिन्दै घुम्नकै लागि निस्कने नेपाली पनि बढेका थिए । विभिन्न ठाउँमा हुने महोत्सवले पनि आन्तरिक पर्यटनलाई सघाएका थिए । तर, द्वन्द्वको सुरुवातसँगै आन्तरिक पर्यटकको चहलपहल स्वात्तै घट्यो ।
पहिले नेपालीले नै आफ्नो देश चिन्नुपर्छ, त्यसपछि मात्र अरूलाई चिनाउन सकिन्छ भन्ने मान्यता आन्तरिक पर्यटनको हो । कुनै व्यक्ति आफू बसेको ठाउँभन्दा आफ्नै देशभित्रको अर्को कुनै ठाउँमा गएर रात बिताउँछ र त्यहाँको संस्कृति, प्रकृति र रहनसहन अवलोकन गर्छ भने त्यो नै आन्तरिक पर्यटक हो । यो एउटा सांस्कृतिक आदानप्रदानको प्रक्रिया पनि हो । 
नेपालमा आन्तरिक पर्यटनको अवधारणा नआइसकेको भए पनि एक ठाउँका मानिस अर्को ठाउँमा जाने निकै पुरानो चलन हो । उहिले हिमाली भेगका बासिन्दा जाडो महिनामा हिउँ छल्न र जडीबुटी बेच्न तराई झर्थे । त्यस्तै, तराईका मानिस पनि व्यापारका लागि वेलामौकामा पहाड चढ्थे । यसले संस्कृति तथा भेषभूषा आदानप्रदान गर्ने र फरक-फरक संस्कृतिका मानिसलाई जोडेर राख्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको थियो । एक ठाउँको उत्पादन अर्को ठाउँको उत्पादनसँग साट्ने चलन ग्रामीण भेगमा अहिले पनि छँदै छ । 
पाहुना देवतासमान हुने भएकोले उनीहरूसँग पैसा लिनु हुँदैन भन्ने संस्कृति हामीकहाँ छ । तर, पर्यटनले यो कुरा मान्दैन । पर्यटनमा आतिथ्य निःशुल्क हुँदैन । पाहुनालाई पर्यटकका रूपमा स्वागत-सत्कार गरेबापत यथोचित शुल्क लिनु नै आन्तरिक पर्यटनको अवधारणा हो । यसका लागि हाम्रो संस्कृतिको पनि व्यवसायीकरण गर्नु आवश्यक भएको छ । तारेहोटलमा आतिथ्यका लागि दैनिक हजारौँ शुल्क तिर्न तयार पर्यटकले कुनै ग्रामीण घरमा पाएको आतिथ्यका लागि केही शुल्क तिर्न तयार हुनैपर्छ । यसका लागि हामीले पाहुनासँग पैसा लिनु हुँदैन, मान्यता पनि परिमार्जन गर्नुपर्छ । 
लामो समयदेखि दैनिक जीवनको अभिन्न अंगका रूपमा रहेको हाम्रो संस्कृतिलाई पर्यटनको एउटा तत्त्वका रूपमा प्रयोग गर्न सकिन्छ । संस्कृति र जीवनशैलीलाई पर्यटकीय उपजका रूपमा प्रयोग गर्न सकिने हो भने त्यसबाट आर्थिक उपार्जन गर्न सकिन्छ । वन्यजन्तु हेर्न हजारौँ खर्च गर्ने पर्यटकले सांस्कृतिक अवलोकनका लागि पनि अवश्यै केही खर्च गर्न सक्छ । यसबाट सांस्कृतिक आदानप्रदान पनि हुन्छ र आर्थिक उपार्जन पनि हुन्छ । 
सरकारले राष्ट्रिय प्राथमिकतासाथ सन् २०११ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको छ । यो घुमफिर वर्ष पनि हो । कुनै ठाउँमा पर्यटकका रूपमा घुम्नु मनोरञ्जन गर्नु मात्र होइन, त्यस ठाउँको रहनसहन र संस्कृतिसँग आबद्ध हुनु पनि हो । सांस्कृतिक आदानप्रदान गर्नु पनि हो । 
संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व पर्यटन संगठन युएनडब्लुटिओ) ले सन् २०११ का लागि विश्व पर्यटन दिवसको नारा 'टुरिजम लिङकिङ कल्चर' तय गरेको छ । पर्यटनले विश्वका विविध संस्कृतिलाई एक-आपसमा जोड्छ भन्ने मान्यताका आधारमा संगठनले यो नारा तय गरेको हो । नेपालजस्तो सांस्कृतिक विविधतायुक्त मुलुकका लागि यो नारा सबैभन्दा उपयुक्त छ । नेपालकै आग्रहमा यस वर्ष 'टुरिजम लिङकिङ कल्चर' नारा तय गरिएको हो । विविध संस्कृतिलाई एक-आपसमा जोड्दै पर्यटनबाट आर्थिक उपार्जन गर्न सकिने सम्भावना नेपालमा प्रशस्त छ । 
आतिथ्य र सांस्कृतिक विविधता नेपालको विशेषता हो । यसैलाई मन पराएर विदेशी पर्यटक यहाँ आउँछन् । यहाँको प्रकृति, संस्कृति र रहनसहन अवलोकन गरेर जान्छन् । नेपाली संस्कृतिसितको सामीप्यपछि थुपै्र विदेशीले नेपाली संस्कृति नै अँगालेका पनि छन् । अनौपचारिक तथ्यांकअनुसार ७० प्रतिशतभन्दा बढी विदेशी पर्यटक नेपालको आतिथ्य र प्राकृतिक/सांस्कृतिक विविधता मन पराएर पुनः नेपाल घुम्न आउँछन् ।
सन् १९६० को दशकदेखि पर्यटन संस्कृतिसँग जोडिन थालेको हो । यसैबीच युनेस्कोले विश्वका विभिन्न प्राचीन स्मारक, मन्दिर तथा सांस्कृतिक सम्पदाको अध्ययन गरेर महत्त्वपूर्ण सम्पदाको सूचीकृत गर्‍यो । यसै क्रममा नेपालका १० वटा स्मारक विश्व सम्पदामा सूचीकृत भए । यीमध्ये आठवटा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा छन् भने दुइटा प्राकृतिक सम्पदा छन् । विश्वका कैयौँ पर्यटक युनेस्कोले सूचीकृत गरेका सांस्कृतिक सम्पदा हेर्न मात्रै पनि नेपाल आउँछन् । यी अनमोल सांस्कृतिक सम्पदा अवलोकन गरेबापत अवलोकनकर्ताले निश्चित शुल्क तिर्नैपर्छ । त्यसैले पनि संस्कृतिले पर्यटन प्रवर्द्धनलाई विशेष बढावा दिने विश्वास गरेरै संसारभर सांस्कृतिक पर्यटनको लहर चलाएको पाइन्छ । अवसरको सदुपयोग गर्न जाने नेपालले पनि त्यसबाट भरपूर फाइदा उठाउन सक्छ । 
khatiwadalp@gmail.com

No comments:

Post a Comment