Sunday, October 23, 2011

व्यस्त बन्दै त्रिभुवन विमानस्थल

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, ४ कात्तिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा विमानको चाप बढ्न थालेको छ । पर्यटकीय सिजन सुरुस“गै विदेशी विमान कम्पनीले उडान संख्या बढाएका कारण टिआइएमा चाप बढेको हो । आन्तरिक सेवामा पनि यात्रु चाप बढेको छ । विमानस्थल व्यवस्थापनका अनुसार टिआइएमा हाल दैनिक अन्तर्राष्ट्रिय ९० र आन्तरिक करिब ३ सय उडान अवतरण हुन्छन् । हाल २७ अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपाल उडान गरिरहेका छन् भने ३ वटा आउने क्रममा छन् । त्यस्तै, आन्तरिकतर्फ करिब दुई दर्जन विमान तथा हेलिकप्टर कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् । विमानस्थलमा ४ वटा ‘टी’ ट्याक्सी, टेलिफोन, ट्रली र ट्वाइलेटले समस्या निम्त्याएको गुनासो रह“दै आएको छ । चारमध्ये तीनवटामा सुधार आइसकेको दाबी व्यवस्थापनको छ । ‘तीन ‘टी’मा अहिले समस्या छैन, ट्याक्सी पनि सुधारको क्रममा छ,’ विमानस्थल महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले भने । चालू आर्थिक वर्षभित्रमा ट्याक्सी सेवालाई स्तरीय बनाइने दाबी उनको छ । ट्याक्सी व्यवस्थित गर्न केही समयअघि आचार–संहिता लागू गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । विमानस्थल सुधारिए मुलुककै छविमा सुधार भई पर्यटन विकास हुने भन्दै सरोकारवालाले सुधारमा जोड दि“दै आएका छन् । विमानस्थलमा मुख्य सात सेवा रहेकामा सबै सुधारको क्रममा रहेको महाप्रबन्धकले जानकारी दिए । ‘यात्रु सेवालाई ध्यानमा राखेर सुधार गरिएको छ, अध्यागमनमा लाइन घटेको छ । सुरक्षा सुधारिएको छ र सामान हराउने क्रम घटेको छ,’ उनले भने । विमानस्थलमा दैनिक ४५ हजारको ‘मुभमेन्ट’ हुने गरेको छ । टिआइए सबैभन्दा बढी राजस्व उठाउने विमानस्थल हो । गत आवमा टिआइएले २ अर्ब ६३ करोड रुपैया“ आम्दानी गरेकामा चालू आवमा २ अर्ब ९३ करोड रुपैया“ पु¥याउने लक्ष्य व्यवस्थापनको छ । प्रतिदिन टिआइएले ७१ लाख ४२ हजार रुपैया“ आम्दानी गर्छ । ‘आम्दानीका साथै खर्च पनि बढिरहेको छ तर घटाउने प्रयास गरिरहेका छौ“,’ महाप्रबन्धकले भने । उनका अनुसार टिआइएमा प्रतिमहिना बिजुलीको बिल मात्र ४७ लाख रुपैया“ उठ्छ जब कि विभिन्न कोठा तथा ठाउ“को भाडाबाट मासिक २ लाख रुपैया“ मात्र प्राप्त हुन्छ । बिजुलीको बिल घटाउन विभिन्न स्थानमा सबमिटर राख्ने काम भइरहेको उनले जानकारी दिए । मुलुकभर निर्माण भएका ५४ विमानस्थलमध्ये ३४ वटा मात्र हाल सञ्चालनमा छन् । १० बाहेक सबै विमानस्थल घाटामा चलिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ९५ प्रतिशत राजस्व टिआइएबाट उठिरहेको छ । निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न कोरियाली कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । सन् २०१५ सम्ममा पहिलो चरणको काम सक्ने कम्पनीको योजना छ । केही महिनादेखि टिआइए २४सै घन्टा सञ्चालन गर्ने चर्चा चले पनि सञ्चालन हुनसकेको छैन । ‘२४सै घन्टा सञ्चालन गरिए टिआइएले प्रतिघन्टा १३ सय ५० यात्रुलाई सेवा दिन सक्छ,’ महाप्रबन्धक सुमनले भने । त्यस्तै, आन्तरिकतर्फको क्षमता प्रतिघन्टा ४ सय ५० पुग्ने उनको भनाइ छ । दैनिक यात्रु क्षमता अन्तर्राष्ट्रिय २४ हजार ३ सय र आन्तरिकतर्फ ५ हजार ४ सय गरी २९ हजार ७ सय पुग्नेछ । पूर्ण क्षमतामा सञ्चालन भए अन्तर्राष्ट्रियतर्फ मासिक ७ लाख २९ हजार र आन्तरिक १ लाख ६२ हजार गरी ८ लाख ९१ हजार यात्रुलाई सेवा दिन सकिने अनुमान व्यवस्थापनको छ । त्यस्तै, वार्षिक यात्रु क्षमता अन्तर्राष्ट्रियतर्फ ४७ लाख ४८ हजार र आन्तरिक १९ लाख ४४ हजार गरी ६६ लाख ९२ हजार पुग्ने महाप्रबन्धक सुमनको दाबी छ । गत वर्ष टिआइएले अन्तराष्ट्रियतर्फ २७ लाख ४८ हजार र आन्तरिक १३ लाख ४४ हजार गरी ४० लाख ९२ हजार यात्रुलाई सेवा पु¥याएको थियो ।

No comments:

Post a Comment