Thursday, November 3, 2011

पर्यटक आगमनमा नया रेकर्ड



नया पत्रिका
काठमाडौं, १७ कात्तिक

सन् २०११ को १०औ महिना अक्टोबरमा नेपाल आउने विदेशी पर्यटकको संख्याले नया  रेकर्ड कायम गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार अक्टोबर महिनामा ७३ हजार २ सय ६४ पर्यटक हवाई मार्ग हुदै नेपाल भित्रिएका छन् । यो संख्या नेपालको पर्यटन इतिहासमै सबैभन्दा बढी हो । यसअघि सबैभन्दा बढी ७० हजार पर्यटक एक महिनामा नेपाल आएको तथ्यांक छ ।
गत महिनाको पर्यटक आगमन सन् २०१० को अक्टोबर महिनाको तुलनामा भने १६.८ प्रतिशतले बढी हो । सो महिना ६२ हजार ७ सय १२ विदेशी पर्यटक हवाई मार्ग हुदै नेपाल आएका थिए । अक्टोबर महिनामा सार्क मुलुकबाट आउने हवाई पर्यटक १९.४ प्रतिशतले बढेको तथ्यांक छ । अक्टोबर महिनामा सार्क मुलुकबाट कुल ११ हजार ६ सय २२ पर्यटक हवाई मार्ग हु“दै नेपाल भित्रिएका छन् । गत वर्षको अक्टोबरमा यो संख्या ९ हजार ७ सय ३० थियो ।
मुख्य बजार भारतबाट आउने पर्यटक २६.२ प्रतिशतले बढेका छन् । अक्टोबरमा ७ हजार ७ सय ८ भारतीय पर्यटक हवाई मार्गबाट नेपाल आएको अध्यागमन कार्यालयको तथ्यांक छ । त्यस्तै, पाकिस्तानी पर्यटक ११.३ प्रतिशतले बढेका छन् । बंगलादेश र श्रीलंकाबाट आउने पर्यटक भने यो महिना केही घटेका छन् । पर्यटन वर्ष २०११ को पहिलो दश महिनामा सार्क मुलुकबाट आउने पर्यटक गत वर्षको सोही अवधिको तुलनामा ३३.७ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
सार्कबाहेक अन्य एसियाली मुलुकको पर्यटक आगमन पनि सकारात्मक छ । समग्रमा यो क्षेत्रबाट आउने पर्यटक अक्टोबरमा ४० प्रतिशतले बढेका छन् । एसियाली मुलुकबाट अक्टोबर महिनामा कुल १२ हजार १ सय ६३ पर्यटक हवाई मार्ग हुदै नेपाल आएका छन् । गत वर्षको अक्टोबरमा यो संख्या ८ हजार ६ सय ९० थियो ।
दोस्रो ठूलो बजार चीनबाट आउने पर्यटक दोब्बरभन्दा बढीले बढेको तथ्यांक छ । गत वर्षको अक्टोबरमा २ हजार ६ सय २० चिनिया पर्यटक हवाई मार्ग हुदै नेपाल भित्रिएकोमा यस वर्षको अक्टोबरमा यो संख्या ५ हजार ३ सय ९४ पुगेको छ । वर्षको सुरुवातदेखि नै चिनिया पर्यटकको संख्या बढ्दो क्रममा छ । त्यस्तै, जापानी, सिंगापुरे, दक्षिण कोरियाली र थाई पर्यटक अक्टोबर महिनामा क्रमशः ७.३, ५.७, २९.४ र २३.६ प्रतिशतले बढेका छन् ।
‘लङ हल’ बजारतर्फ युरोपेली पर्यटकको सरदर आगमन वृद्धिदर १५.२ प्रतिशत छ । गत वर्षको अक्टोबरमा २९ हजार ६ सय ८१ युरोपेली पर्यटक हवाई मार्ग हुदै नेपाल भित्रिएकोमा यस वर्षको अक्टोबरमा यो संख्या ३४ हजार १ सय ६६ पुगेको छ । बेल्जियम, डेनमार्क, जर्मनी, इटाली, इजरायल, स्पेन, स्विट्जरल्यान्ड र बेलायतबाट आउने पर्यटक क्रमशः १८.२, ४८.८, १९.३, २५.५, ८८.३, २०.७, १५.८ र ७.३ प्रतिशतले बढेको अध्यागमनको तथ्यांक छ । फ्रान्स र नेदरल्यान्डबाट आउने पर्यटक भने कही घटेका छन् । त्यस्तै अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानाडाबाट आउने पर्यटक पनि गत वर्षको तुलनामा केही घटेका छन् । अमेरिकी पर्यटक भने ५.४ प्रतिशतले बढेका छन् ।
सन् २०११ को जनवरीदेखि अक्टोबरसम्मको १० महिनामा भारतीय पर्यटकको वृद्धिदर ४२.४ प्रतिशत रहेको पर्यटन बोर्डले जनाएको छ । त्यस्तै, चिनिया पर्यटक ६६.७ प्रतिशतले बढेका छन् । जर्मन पर्यटक ११.२ प्रतिशतले बढेका छन् भने फ्रान्सेली, बेलायती र अमेरिकी पर्यटक आगमन वृद्धिदर क्रमशः ३.८, ६.६ र १४.३ प्रतिशत छ । अक्टोबरमा सबैभन्दा बढी ७३ हजार २ सय ६४ पर्यटक आएका छन् । यसअघि अप्रिलमा ५१ हजार ९ सय ६९, मार्चमा ४६ हजार ४ सय ९१, सेप्टेम्बरमा ४५ हजार ७ सय ८२ र मेमा ३९ हजार १ सय ७९ पर्यटक नेपाल आएको तथ्यांक छ । वर्षको पहिलो दश महिनामा कुल ४ लाख ४३ हजार १ सय ८ विदेशी पर्यटक हवाई मार्ग हुदै नेपाल आएको तथ्यांक छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २१.७ प्रतिशतले बढी हो । पर्यटन वर्ष २०११ मा सरकारले हवाई मार्गबाट ७ लाख पर्यटक भियाउने लक्ष्य राखेको छ ।

No comments:

Post a Comment