Tuesday, November 15, 2011

पर्यटन वर्षको बजेट खर्च गर्न स्वीकृति

लक्ष्मीप्रसाद खतिवडा
image
यो निर्णयसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी र सिएनएनसहित सबै अन्तर्राष्ट्रिय प्रचार-प्रसारका कामले निरन्तरता पाउने भएका छन् ।

नयाँ पत्रिका
काठमाडौं, २८ कात्तिक
सरकारले पर्यटन वर्ष २०११ का लागि छुट्याएको बजेट खर्च गर्न स्वीकृति दिएको छ । पर्यटन वर्ष मूल आयोजक समितिका अध्यक्ष पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्रविष्ट मगरको अध्यक्षतामा सोमबार बसेको बैठकले पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचार-प्रसारका कार्यक्रमअगाडि बढाउने निर्णय गरेको हो । 
यो निर्णयसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी र सिएनएनसहित सबै अन्तर्राष्ट्रिय प्रचार-प्रसारका कामले निरन्तरता पाउने भएका छन् । त्यस्तै, बैठकले पर्यटन वर्षको समापन कार्यक्रम लुम्बिनीमा गर्ने निर्णय गरेको छ । 
संस्कृति मन्त्रालयसँग समन्वय गरेर लुम्बिनी भ्रमण वर्षको घोषणा तथा पर्यटन वर्षको समापन कार्यक्रम एकैसाथ गर्ने योजना पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिको छ । सरकारले हालै मात्र सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने निर्णय गरेको थियो । 
सो अवसरमा पर्यटन भिजन २०२० को पनि घोषणा गरिनेछ । सन् २०२० सम्ममा वाषिर्क २० लाख पर्यटक ल्याउने लक्ष्यसहित माओवादी नेतृ हिसिला यमी पर्यटनमन्त्री हुँदा भिजन २०२० तयार भएको थियो । लुम्बिनीमा हुने कार्यक्रमका लागि संयुक्त राष्ट्र संघका महासचिव बान की मुनलाई ल्याउन पहल गर्ने निर्णयसमेत समितिले गरेको छ । हालै अमेरिका भ्रमणमा गएका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग महासचिव मुनले लुम्बिनी विकासका लागि गठन भएको उच्चस्तरीय समितिको नेतृत्व गर्न सहमति जनाएका थिए । 
पर्यटन मन्त्रालयका प्रवक्ता हरिप्रसाद बस्यालका अनुसार मूल समितिको बैठकले सिएनएन तथा बिबिसीसँग वार्ता गरी प्रचार-प्रसार गर्न कार्यक्रम कार्यान्वयन समितिअन्तर्गत रहेको प्रचार-प्रसार उपसमितिलाई स्वीकृति दिएको छ । उपसमितिले नै भारत तथा चीनमा गर्ने प्रचार-प्रसारको प्रक्रिया पनि टुंगो लगाउनेछ । 'पुरानोलाई निरन्तरता दिने वा नयाँ सुरु गर्ने भन्ने निर्णय उपसमितिले नै गर्नेछ,' बस्यालले भने । २०११ मा हुनुपर्ने सबै काम अब २०१२ मा मात्र हुने उनले बताए । 
प्रचार-प्रसार उपसमितिले बिबिसी र सिएनएनसँग पटकपटक वार्ता गरी व्यावसायिक 'डिल' गरिसकेको भए पनि मन्त्री नभएका कारण प्रक्रिया रोकिएको थियो । त्यस्तै, भारत र चीनमा टेन्डर गरी प्रक्रिया अगाडि बढाइएकोमा नेपाल तथा भारतका ११ कम्पनीले प्रस्ताव हालेका थिए । तर, पर्यटन वर्ष अभियानलाई विदेशमा प्रचार-प्रसार र प्रवर्द्धन गर्न छनोट गरेका विदेशी कम्पनी सोचेजस्तो सक्षम नभएको भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिले बैठकले गत साउन दोस्रो साता अन्तर्राष्ट्रिय प्रवर्द्धनका सबै काम रोकेको थियो । कानुनी हिसाबमा पनि केही कमी-कमजोरी देखिएको र मौमसअनुसार प्रवर्द्धन कार्यक्रम गर्ने तालिका पनि नमिलेका कारण प्रक्रिया रोकिएको थियो । भारतमा मेदेखि जुलाईभित्र प्रचार-प्रसार गर्नु उपयुक्त मानिन्छ । भारत र चीनका लागि पुनः टेन्डर गरिए पनि राम्रो प्रस्ताव नआएको उपसमितिले जनाएको छ । 
बिबिसीले ४ करोड ५० लाख र सिएनएनले ३ करोड ५० लाख रुपैयाँको विज्ञापन प्याकेजको प्रस्ताव पेस गरेका थिए । बिबिसीले टेलिभिजन, रेडियो, पत्रिका, म्यागाजिन तथा वेबसाइटमा चार महिनासम्म पर्यटन वर्षको प्रचार-प्रसार गर्ने प्रस्ताव गरेको थियो । सिएनएनलाई भने टेलिभिजनमार्फत अमेरिकामा प्रचार गर्न महँगो हुने भएका कारण्ा डिजिटल मिडिया र इन्टरनेट प्रवर्द्धनको प्याकेज मागिएको थियो । अगस्ट अन्तिमदेखि बिबिसी र सिएनएनबाट प्रचार-प्रसार गर्ने समितिको योजना भए पनि यसका लागि २०१२ कुर्नुपर्ने भएको छ । चीनमा भने नोभेम्बरदेखि प्रचार-प्रसार गरेर डिसेम्बर र फेबु्रअरीमा पर्यटक तान्ने लक्ष्य थियो । चीनमा अब २०१२ जनवरी र भारतमा मार्चदेखि अपि्रलभित्र प्रचार-प्रसार सुरु हुने समितिले जनाएको छ । भारत र चीनमा टेलिभिजन, रेडियो, पत्रिका, होर्डिङ बोर्ड, डिजिटल मिडिया, वेबसाइटलगायतबाट तीन महिनासम्म प्रचार-प्रसार गर्ने कार्यक्रम थियो । यसका लागि भारतका इन्डिया टुडे, जागरण्ा, ट्राइटन, सुरिज, ओम टुरिज्मलगायत र नेपालका की एड्भर्टाइजिङ, त्रिकोण्ा, डिजिटेन्मेन्ट, माइस एडलगायत कम्पनीले प्रस्ताव हालेका थिए ।
पर्यटन वर्ष अवधि करिब डेढ महिना मात्र बाँकी छ । यो वर्षभित्र हवाई मार्गबाट ७ लाख र स्थलबाट ३ लाख गरी १० लाख पर्यटक ल्याउने लक्ष्य छ । हालसम्म हवाई मार्गबाट ४ लाख ४३ हजार पर्यटक आएका छन् भने स्थलमार्गबाट आउने पर्यटकको यकिन तथ्यांक आइसकेको छैन । 
गत आर्थिक वर्ष ०६७/६८ मा पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सरकारले विनियोजन गरेको १३ करोड रुपैयाँ खर्च नभए पनि उक्त रकमलाई पुनः चालू आर्थिक वर्ष ०६८/६९ मा रकमान्तर गरिएको थियो । यसपालि थप १२ करोड पनि विनियोजन गरिएको छ । कार्यक्रम कार्यान्वयन समितिले भारत र चीनमा प्रचार-प्रसार गर्न ९ करोड र त्यसबाहेकका देशका लागि ४ करोड रुपैयाँ छुट्याएको छ । पर्यटन वर्षमा हवाई मार्गबाट ७ लाख र स्थलमार्गबाट ३ लाख पर्यटक ल्याउने लक्ष्य छ ।

No comments:

Post a Comment