Sunday, November 27, 2011

पर्यटन बर्ष : अपेक्षा र उपलब्धि

लक्ष्मीप्रसाद खतिवडा
khatiwadalp@gmail.com

अन्तराष्ट्रिय जगतमा मुलुकको छवि विगि्रएको र मुलुकभित्र पनि राजनितीक अस्थिरताले गाँजेको बेला सरकारले घोषणा गरेको महत्वाकांक्षी राष्ट्रिय अभियान पर्यटन बर्ष समापनको सँघारमा छ । राजनीतिक अन्योल हटेको र सरकार व्यवसायीबीचको सहकार्य राम्रो भएको भए नेपालको पर्यटन इतिहासमा पर्यटन बर्ष अभियान ऐतिहासिक हुने थियो । पर्यटन बर्षको सफलता असफलताका बारेमा मुल्यांकनहरु भइरहेका छन् । पर्यटनमार्फत नेपालको अर्थतन्त्रले कोल्टे फेर्न सक्ने विश्वास गरिएको यो अभियान एउटा कोणबाट हेर्दा सफल नदेखिए पनि एउटा सकारात्मक वेभ भने पर्यटन बर्षले ल्याएको छ । 
पर्यटन बर्षको माध्यमबाट यस क्षेत्रलाइ अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा स्थापित गराउने सरकारको योजना थियो । सिमित भौतिक पूर्वाधार पर्यटक मैत्री वातावरण तथा पर्यटकका लागी खर्च गर्ने ठाउँको अपर्याप्तताका कारण पर्यटनलाइ ग्रामिण तहसम्म पुर् याएर आमजनताको आयको माध्यम बनाउने सरकारी लक्ष्य आफैंमा चुनौतिपूर्ण हो । यद्यपी लामो समयसम्म गति लिन नसकेको र काठमाडौं पोखरा चितवन लगायत केही गन्तब्यमा खुम्चिएको पर्यटनको बजारलाइ विस्तार गर्न केहि हदसम्म भए पनि पर्यटन बर्ष अभियानले सहयोग पुर् याएको छ । पर्यटन नेपालको एउटा यस्तो उद्योग हो जसले सारा मुलुकवासीलाई नै पाल्न सक्छ । यो कुरा बुझाउन लामो समय लाग्नेछ र त्यो बाटोको प्रस्थानविन्दुका रुपमा पर्यटन बर्षलाइ लिन सकिन्छ ।
पर्यटन बर्षको घोषणा ४ वटा सी का लागी गरिएको थियो । पहिलो सी हो कमिटमेन्ट अर्थात् प्रतिबद्धता । पर्यटनप्रति राष्ट्र र सम्पूर्ण निजी क्षेत्रको प्रतिबद्धता छ भन्ने सन्देश दिन पर्यटन बर्ष घोषणा कार्यक्रममा सबैले प्रतिबद्धता जाहेर गरे । राजनीतिक प्रतिबद्धताविना अभियान सफल हुन नसक्ने ठहर गरेर व्यवसायीहरुले यसलाई पर्यटन बर्ष सुरुवातको पूर्वसर्तका रुपमा लिएका थिए । पर्यटन बर्षको बहानामा सबै राजनीतिक दल एकै ठाउँमा आए । दोश्रो सी हो कन्फिडेन्स विल्डिङ अर्थात् आत्मविश्वास अभिवृद्धि । विगत दस बर्षमा पर्यटन क्षेत्र निकै सुस्तायो । पर्यटकलाई र पर्यटक ल्याउने अपरेटरलाई नेपाल सुरक्षित गन्तव्य हो भनेर आत्मविश्वास दिलाउन एउटा अभियानको आवश्यकता भयो । 
तेश्रो सी हो कोअडिर्नेसन अर्थात् समन्वय । पर्यटनको विकासका लागि सबै निकायबीच समन्वय जरुरी हुन्छ । बाटो बनाउने एउटा निकाय छ फोहोर उठाउने अर्कै निकाय छ । अरु पूर्वाधार तयार गर्ने अरु नै निकाय छन् । यी सबैको समन्वयबाट मात्र पर्यटकमैत्री वातावरण सम्भव छ । चौथो सी हो क्यापासिटी विल्डिङ अर्थात् क्षमता अभिवृद्धि । पर्यटन उद्योग र सामान्य जनताको पनि पर्यटनका लागि क्षमता अभिवृद्धि गर्नु पर्यटन बर्षको अर्को महत्वपूर्ण उद्धेश्य हो । दस बर्षसम्म यो उद्योगले गति लिन सकेन । होटलले लगानी थप गर्न आँट गरेनन् । तर पर्यटन बर्षको बहानामा होटलले क्षमता बढाएका छन् । माग बढेपछि क्षमता पनि बढेको छ ।
पाँचौँ सी पनि छ जुन सरकार र निजी क्षेत्रले गर्न सकिरहेको छैन । त्यो हो कन्जुमर पब्लिसिटी । १३ बर्षदेखि पर्यटन बोर्डले टे्रड पब्लिसिटी मात्र गरिरहेको छ । पर्यटन बर्षसँगै सरकारले पहिलोपटक कन्जुमर पब्लिसिटीका लागि रकम छुट्याएको थियो । तर विभिन्न कारणले यो खर्च हुन सकेको छैन । पर्यटन बर्ष सकिन लाग्दा पनि यसको अन्तराष्ट्रिय प्रचार प्रसार हुन सकेको छैन ।
सरकारले पर्यटन बर्षमार्फत् पर्यटन क्षेत्रको मोडल परिवर्तन गर्ने प्रयास गरेको छ तर गोल्डेन ट्रांयगलमा सिमित पर्यटन व्यवसायलाई अन्य क्षेत्रमा विस्तार गर्ने प्रयास सार्थक पार्न पर्यटन बर्षमा आउने १० लाख पर्यटकमध्ये ४० प्रतिशतलाई वैकल्पिक गन्तव्यमा पुर् याउने सरकारी योजना योजनामै सिमित रह्यो । 
कृषिप्रधान मुलुकमा एकैपटक पर्यटनले तल्लो तहका जनतासम्म आर्थिक क्रान्ति ल्याउने कुराको पर्याप्त आधार छैनन् । ८० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको मुलुकमा पर्यटनलाई कृषि जीवनसँग नजोडी ग्रामिण क्षेत्रसम्म यसको लाभ पुग्नै सक्दैन । किसानको उत्पादन होटल रेष्टुरेन्टले किन्दैमा तिनको जीवनमा आर्थिक क्रान्ति भइहाल्दैन । यसका लागि वास्तविक रुपमै उनीहरु पर्यटन व्यवसायमा आवद्ध हुनुपर्छ । 
पर्यटक आगमनले देशको अर्थतन्त्रमा पर्ने प्रभावबारे जनतालाई बुझाउने र त्यसबाट हुने आम्दानीको हिस्सा उनीहरुसम्म पुर् याउने सबैभन्दा उपयुक्त माध्यमका रुपमा सरकारले होमस्टेलाई लिएको छ । अव्यवस्थित रुपमा साचालित होमस्टे व्यवस्थित र नियमित बनाउन होमस्टे कार्यविधि ल्याइएको छ । होमस्टेका पनि आफ्नै चुनौती छन् । स्थानीय बासिन्दालाई विश्वासमा लिन सकिएन भने होमस्टेको अवधारणा सफल नहुने र संस्कृतिमा समेत अतिक्रमण हुन सक्ने खतरा उत्तिकै छ । 
पर्यटन बर्षमा घोषित थुप्रै लक्ष्य अधुरा छन् । विमानस्थल अगाडि पर्यटन बर्ष ल्यान्डमार्क बनाउने सरकारको योजना योजनामै सिमित रह्यो । कमजोर राष्ट्रिय ध्वजावाहक तथा युरोप तथा अमेरिकासम्म सिधा हवाई सम्पर्क अभावका कारण २०११ मा १० लाख पर्यटक नेपाल भित्रिने कुरामा स्वयं अभियानकर्ताहरु नै निश्चिन्त थिएनन् । संख्यात्मक हिसावले हेर्दा पर्यटन बर्षको १० महिना वितिसक्दा हवाइ मार्गबाट ४ लाख ४३ हजार १ सय ८ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या अघिल्लो बर्षको तुलनामा २१।७ प्रतिशतले बढि हो । यो वृद्धिदरले १० लाखको लक्ष्य पुरा हुने देखिदैन । 
अन्तराष्ट्रिय प्रवद्र्धनमा ढिलाइ सुस्त गतिको पूर्वाधार निर्माण तथा पर्यटनमैत्री वातावरण निर्माण हुन नसक्नु जस्ता कारणले यही बर्ष ठूलो उपलब्धि नदेखिए पनि आगामी बर्षहरुका लागि अधार तयार हुने निश्चित छ । नेपाल भ्रमण बर्षको क्रममा सन् १९९८ मा भएको प्रचारका कारण १९९९ मा १९९८ मा भन्दा बढी पर्यटक आएका थिए । २०११ को प्रचार प्रसारले २०१२ मा १० लाखभन्दा बढी पर्यटक आउने दाबी सरकारी अधिकारी र पर्यटन व्यवसायीको छ । 
पर्यटन बर्षभरि बन्द हड्ताल नगर्ने राजनीतिक दलको लिखित प्रतिबद्धता अभियानका लागि सकारात्मक पक्ष हो । एकिकृत नेकपा माओवादी नेतृत्वको सरकारले घोषणा गरेको पर्यटन बर्षको सफलताका लागि १९ दलले १४ फागुन २०६६ मा टुँडिखेलमा शान्तिदीप बालेर सन् २०११ भर बन्द हडताल नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए । पर्यटन बर्षमा राजनीतिक दलको भूमिका सपोर्टिभ नदेखिए पनि अभियान सामाजिक रुपमा स्विकृत भइसकेपछि दलहरुलाई नैतिक दबाब भने परेकै हो । त्यसो त राजनीतिक अवस्थाले पर्यटकलाई त्यति धेरै असर गर्दैन भन्ने तर्क गर्नेहरु पनि छन् । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको समय सन् २००३ मा पनि दुई लाख ५० हजार पर्यटक नेपाल आएका थिए । 
हिमाल आरोहण ट्रेकिङ साहसिक पर्यटन जंगल सफारी आदिका लागि नेपाल सबैभन्दा उपयुक्त हो भन्ने विश्वव्यापी प्रचार गर्ने काम भइरहेकै छ । पर्यटन बर्षमा नयाँ उत्पादन तथा गन्तव्यको पहिचान गर्नु आवश्यक थियो । माउन्टेन बाइक बन्जी जम्प रक-क्लाइम्बिङ र् याफ्टिङ एभिएसन स्पोर्टस् कायाकिङ चरा अवलोकन आदिलाई फोकस गरेर पर्यटक आकर्षण गर्न सकिन्थ्यो तर अपेक्षाकृत रुपमा यस्तो हुन सकेन । 
११ महिनाको पर्यटक आगमन तथ्यांकले केही उत्साहित बनाए पनि गुणस्तरीय पर्यटक आगमनमा कमी भएकाले पर्यटन क्षेत्रले खासै उपलब्धि हासिल नगरेको जानकारहरु बताउछन् । स्तरिय पर्यटक ल्याउनु र उनीहरुको नेपाल बसाइँको अवधि बढाउन सक्नु पनि पर्यटन विकासको महत्वपूर्ण कडी हो । भारत बंगलादेश र चिनियाँ पर्यटकको संख्यात्मक वृद्धिले नेपाली पर्यटनमा ठूलो असर नपर्ने दाबी केही व्यवसायीको छ । यसको अर्थ युरोप अस्ट्रेलिया तथा अमेरिकी पर्यटकको नेपालतर्फ आकर्षण बढाउनु जरुरी छ तर त्यसका लागि नेपालबाट सम्बन्धित राष्ट्रसम्म सिधा हवाई सम्र्पक नहुनु प्रमुख समस्या बनेको छ ।
राष्ट्रिय अभियानका लागी राष्ट्रिय संकल्प जरुरी हुन्छ । पर्यटन बर्ष देशकै अर्थतन्त्रलाई उठाउने उद्धेश्यसाथ घोषणा भएकाले सरकारका सबै निकायले यसलाई आआफ्नो योजनामा पारी कार्यसम्पादन गर्नुपर्छ । काठमाडौं महानगरपालिकाले नियमित फोहोर नउठाउँदा बढेको दुर्गन्धित वातावरण देखेर न्युजविकले गुडबाई सांगि्रला लेख्यो । अहिले पनि फोहोरको समस्या उस्तै छ । 
पछिल्ला केही बर्षमा मुलुकमा भएका राजनीतिक परिवर्तनबाट जनताले राजनीतिक अधिकार प्राप्त गरे । तर ऐतिहासिक परिवर्तनको दिगोपनका लागी आर्थिक क्रान्ति जरुरी छ । आर्थिक क्रान्तिको माध्यम पर्यटन हुनसक्छ । अन्य क्षेत्रको तुलनामा थोरै लगानी छोटो समय र ग्रामिण तथा सहरी दुवै क्षेत्रमा प्रतिफल पुग्न सक्ने क्षेत्र हो पर्यटन । पर्यटनले जनतालाई आर्थिक विकल्प दिन सक्छ । यहाँ पर्यटनका लागि चाहिने पर्याप्त आकर्षण छन् । पर्यटन विकासबाट आर्थिक क्रान्ति सम्भव छ यसका लागी खाचो छ सार्थक प्रयासको ।  
घोषित उद्धेश्य
आन्तरिक द्धन्द्ध र अस्थिरताले सिथिल बनेको पर्यटन क्षेत्रलाइ पुनजिर्वित गर्नु
एक बर्षमा हवाइ मार्गबाट ७ लाख र स्थलमार्गबाट ३ लाख पर्यटक भित्र्याउनु
पर्यटनलाइ आर्थिक उपार्जनको मुख्य माध्यम बनाउनु
नेपाल आउने पर्यटक मध्ये ४० प्रतिशतलाइ ग्रामिण क्षेत्रमा पुयाउनु
होमस्टेको विकास गर्नु
नाराआर्थिक क्रान्तिका लागी पर्यटन
पर्यटनका लागी संगसंगै
समृद्धिका लागी पर्यटन
समृद्धिका लागी स्थायित्व
पाहुनाको स्वागत सत्कार नेपालीको संस्कार
नेचुरल्ली नेपाल वान्स इज नट इनफ
मुख्य उपलब्धिराष्टिय अभियानको रुप ग्रहण गर्नु
पर्यटन उद्योगमा करोडौंको लगानी थपिनु
ग्रामिण तहसम्म पर्यटन बर्षको सन्देश पुग्नु
नया गन्तव्यको चासो बढ्नु
आन्तरिक पर्यटकका लागी प्याकेजको शुरुवात
राजनितिक दलहरु एउटै माचमा उभिएर पर्यटनको बाधक नबन्ने प्रतिवद्धता व्यक्त
गर्नु
होमस्टे व्यवस्थापनका लागी कार्यवििध
पर्यटक आगमनमा २२ प्रतिशतले वृद्धि
चुनौति
कमजोर राष्टिय ध्वजाबाहक
अव्यवस्थित अन्तराष्टिय विमानस्थल
झन्झटरहित सडक यातायातको अभाव
तेश्रो मुलुकसंग सिधा हवाइ सम्पर्क नहुनु

No comments:

Post a Comment