Wednesday, November 16, 2011

विमानस्थल धावनमार्ग निर्माणमा अनियमितता : अख्तियार

नयाँ पत्रिका
काठमाडौं, २९ कात्तिक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेलिप्याड निर्माण तथा धावनमार्ग ओभरलेमा भएको अनियमिततासम्बन्धी छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियारका सचिव भगवतीकुमार काफ्लेले यो जानकारी दिएका हुन् । 
हेलिप्याडको छानबिन अन्तिम चरणमा पुगेको र धावनमार्गको सम्बन्धमा पनि प्रमाण जुटाउने काम भइरहेको उनले बताए । 'दुवै निर्माणमा भ्रष्टाचार भएको आशंका छ, प्रमाण जुटाएर अख्तियारले कारबाही अघि बढाउँछ,' काफ्लेले बैठकमा भने । यस विषयमा अनुसन्धान गरिरहेको अख्तियारले छिट्टै छानबिन पूरा गरी कारबाहीको प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । 
हेलिप्याड निर्माण र धावनमार्ग ओभरलेले गर्दा ठूलो रकम भ्रष्टाचार भएको पुष्टि भइसकेको र थप प्रमाण तथा प्राविधिक परीक्षणको प्रतिवेदन आउन बाँकी रहेको बताइएको छ ।
सडक विभागबाट २६ नमुनाको परीक्षण प्रतिवेदन आउनासाथ दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइने सचिव काफ्लेले प्रतिबद्धता व्यक्त गरे । सभासद्हरूले भने छानबिनको प्रक्रिया लम्ब्याएर दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका थिए । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सभासद् सुरेन्द्र पाण्डेले सरकारी अधिकारी नै अनियमिततामा मुछिएकाले ठेकेदारलाई कालोसूचीमा राख्न नसकेको आरोप लगाए । 
निर्माण प्रक्रियामा संलग्न सबैलाई निलम्बन गरी कारबाही अघि बढाउन उनले अख्तियारको ध्यानाकर्षण गराए । एमालेकै लालबाबु पण्डितले टालटुल गरेर भ्रष्टाचार ढाकछोप गर्ने काम भइरहेको भन्दै गल्ती गर्नेलाई दण्डित गर्ने आँट नगर्ने सरकारी पदाधिकारीले नै त्यसको दोष लिनुपर्ने बताए । छानबिन लम्ब्याएर दोषीलाई उन्मुक्ति नदिन उनले अख्तियारलाई आग्रह गरे । 
लेखा समितिले गत असार १५ गते विमानस्थलको स्थलगत निरीक्षण गरी हेलिप्याड निर्माण तथा धावनमार्ग ओभरलेमा अनियमितता भएको ठहर गरेर संलग्न अधिकारीलाई कारबाही गर्न निर्देशन दिएको थियो । चीनको चाइना रेल्वे इन्जिनियरिङ र नेपालको टुन्ड्री कन्सट्रक्सनले रनवे ओभरले गरेका थिए । त्यस्तै, ११ हजार ८ सय ९४ वर्गमिटर क्षेत्रफलको हेलिप्याड बिरुवा आजाद तथा उमा एन्ड प्रतिमा ठेकेदार कम्पनीले कालोपत्रे गरेका थिए । हेलिप्याडमा १३ साना ठूला हेलिकोप्टर पार्किङ गर्न सकिन्छ । धावनमार्ग ओभरलेले गर्दा २९ करोड ६८ लाख रुपैयाँ खर्च भएको थियो भने हेलिप्याड निर्माणमा २ करोड ७० लाख रुपैयाँ खर्च भएको थियो । अनुमानितभन्दा बढी खर्च गरेर पनि कमसल सामग्री प्रयोग गरेकाले संरचना कमजोर बनेको लेखाको ठहर छ । 
लेखा समितिको मंगलबारको बैठकले छिटो अनुसन्धान टुंग्याएर कारबाहीको प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ । अनुसन्धानको प्रक्रिया टुंगो लगाएर समितिलाई जानकारी गराउन पनि बैठकले आयोगलाई आग्रह अनुरोध गरेको छ । त्यस्तै, समितिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई प्रस्त्ाावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्ययोजना बनाई काम अगाडि बढाउन र सोको प्रगति विवरण मासिक रूपमा समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले छलफलका लागि अख्तियार सचिव, पर्यटन मन्त्रालयका सचिव, प्राधिकरण महानिर्देशक तथा विमानस्थल महाप्रबन्धकलाई बोलाएको थियो । बैठकमा पर्यटनसचिव गणेशराज जोशीले निर्माण कार्यमा संलग्न व्यक्तिलाई जिम्मेवारीबाट हटाइएको बताउँदै मन्त्रालय अख्तियारको निर्णयको पर्खाइमा रहेको बताए । 
लामो समयदेखि हेलिप्याड मर्मत हुन नसक्दा हेलिकोप्टर पार्किङमा समस्या उत्पन्न भएको हेलिकोप्टर कम्पनीहरूले बताउँदै आएका छन् । जीर्ण हेलिप्याडमा हेलिकोप्टर ल्यान्ड तथा पार्किङ गर्दा हावाले गिट्टी उछिट्टनिे तथा जमिन भासिने भएकाले दुर्घटनाको जोखिमसमेत बढेको छ ।  विमानस्थल व्यवस्थापनले भने हेलिप्याड निर्माणमा भएको अनियमितताबारे अख्तियारले छानबिन गरिरहेकाले मर्मत हुन नसकेको बताएको छ ।

No comments:

Post a Comment