Sunday, October 16, 2011

उडान संख्या थप्दै विदेशी विमान कम्पनी

नयाँ पत्रिका
काठमाडौं, २३ असोज
पर्यटकीय सिजनको सुरुवातसँगै नेपाल आउने विदेशी विमान कम्पनीहरूले उडान संख्या थपेका छन् । व्यावसायिक फाइदा हुने देखेपछि माग बढेको भन्दै विमान कम्पनीले उडान थप गरेका हुन् । 
थाई, कतार एयरवेज, गल्फ एयर, ड्रागन एयर, एयर चाइना, चाइना साउदर्न र फ्लाई दुबईले उडान संख्या थप्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेका छन् । हाल यी कम्पनीले अस्थायी अनुमतिका आधारमा अतिरिक्त उडान गरिरहेका छन् । अस्थायी उडान अनुमति सन् २०११ को अन्तिमसम्मका लागि मात्र हो । 
इसियाड एयरवेज र सिल्क एयरले पनि उडान संख्या थप्ने तयारी गरेका छन् । सरकारले गत वर्ष नै पर्यटन वर्षलाई मध्यनजर गरेर नेपालमा सेवा सञ्चालन गरिरहेका विमान कम्पनीलाई उडान संख्या थप्न औपचारिक आग्रह गरेको थियो । 
भुटानको राष्ट्रिय ध्वजाबाहक डुक एयरले सेप्टेम्बर २९ देखि काठमाडौं पारो साताको ६ वटा उडान थप गरेको छ । यसअघि उसले यो रुटमा दैनिक एउटा उडान गर्दै आएको थियो । प्राधिकरणले एयर चाइना र चाइना साउदर्न एयरलाइन्सलाई साताको क्रमशः तीन र चार उडान थप्ने स्वीकृति दिइसकेको छ । अब यी दुवै कम्पनीको साप्ताहिक उडान संख्या सात पुगेको छ । त्यस्तै, फ्लाई दुबईले साताको सात वटा अतिरिक्त उडान गर्ने अनुमति पाएको छ । हाल उसले दैनिक एउटा उडान गर्दै आएको छ । 
कतार एयरवेजले दोहा काठमाडौं रुटमा अक्टोबर १ देखि उडान संख्या थपेको छ । काठमाडौं दोहा रुटमा दैनिक चार उडान गरेर कतार एयरवेज नेपालमा सबैभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनी बनेको छ । एयर बस ए३२० जहाजबाट उडान गर्दै आएको कम्पनीले पिक सिजनमा ए३३० जहाजबाट उडान सुरु गर्ने बताएको छ । 
बहराइनको राष्ट्रिय ध्वजावाहक गल्फ एयरले नोभेम्बर १ देखि काठमाडौं उडान साताको १४ वटा पुर्‍याउने जानकारी दिएको छ । हाल कम्पनीले साताको १२ वटा उडान गर्दै आएको छ । गल्फ एयरले जहाजको अकुपेन्सी ८० प्रतिशतभन्दा बढी रहेको बताएको छ । सुरुमा एयर बस ए३२० बाट सेवा प्रदान गरिरहेको गल्फले बढी माग हुने डिसेम्बर र जनवरीमा ए३३० जहाजबाट उडान गर्ने जनाएको छ । 
व्यावसायिक फाइदा नभएको भन्दै गत जेठदेखि नेपाल उडान स्थगित गरेको बहराइन एयरले पनि गत सातादेखि पुुनः काठमाडौं उडान सुरु गरेको छ । बहराइन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट -जिएसए) जेनिथ ट्राभल्सका अनुसार कम्पनीले बहराइन काठमाडौं दैनिक एक उडान गर्नेछ । बहराइन एयरले सातामा ५ हजार ६ सय सिट क्षमता प्रयोग गर्न पाउने अनुमति प्राधिकरणबाट पाएको छ ।
विमान कम्पनीहरूले उडान संख्या थप गरे पनि आगामी पर्यटकीय मौसममा नेपाल आउने विदेशी पाहुनाले आफूले चाहने बित्तिकै टिकट पाउन सक्ने अवस्था भने छैन । 
विमान कम्पनीका नेपालस्थित एजेन्टका अनुसार अधिकांश विमान कम्पनीका अक्टोबरदेखि डिसेम्बरसम्मका लागि नेपाल आउने सिट अगि्रम बुकिङ भइसकेका छन् । सबैभन्दा बढी चाप बैंकक, दोहा, ओमन, आबुधावीलगायत गन्तव्यमा छ । विमान कम्पनीहरूले टिकट नभएको जानकारी दिएको ट्राभल एजेन्सी सञ्चालकहरूले बताएका छन् । 
थाई, कतार, गल्फ एयर तथा इतिहाद एयरवेजको बुकिङ करिब ९० प्रतिशत रहेको छ । तर, यो अगि्रम बुकिङ मात्र हो । ट्राभल एजेन्सीका अनुसार वास्तविक बुकिङ संख्या भने सिजन सुरु हुनु १५/२० दिनअघि मात्र निक्र्योल हुन्छ । वैदेशिक रोजगारमा गएका कामदार दसैं मनाउन आउने र मनाएर फर्किने भएका कारण पनि चाप बढेको हो । सबैभन्दा बढी नेपाली कामदार भएको मुलुक मलेसियाबाट दसैं मनाउन फर्किने नेपालीले हवाई टिकट नपाउँदा निकै सास्ती व्यहोर्नुपरेको थियो । हाल नेपाल वायु सेवाले मात्र काठमाडौं क्वालालम्पुर उडान गर्दै आएको छ । 
धेरै विमान कम्पनीले उडान गर्ने नेपाल-भारत रुटमा समेत ७५ प्रतिशत टिकट बुकिङ भइसकेका छन् । नेपाल उडान गर्ने भारतीय विमान कम्पनीको संख्या आधा दर्जन नाघिसकेको छ । ट्राभल एजेन्सीका अनुसार जापान, ताइवान, हङकङ तथा अमेरिकीको बुकिङ बढी छ । कतार, गल्फ र ठूलो सञ्जाल भएको थाई एयरवेजले युरोपका विभिन्न सहरबाट काठमाडौंसम्म 'कनेक्टिङ' उडान गर्छन् ।
हाल नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीको संख्या २७ पुगेको छ । केही नयाँ कम्पनीले नेपाल आउन चासो राखेको पर्यटन मन्त्रालयले जनाएको छ । दुई वर्ष अघिको तुलनामा हवाई सिट संख्या सतप्रतिशत बढेको मन्त्रालयले जानकारी दिएको छ । डेढ वर्षअघि नेपाल आउने विमानको सिट क्षमता १८ हजार रहेकोमा हाल ४२ हजार नाघेको छ ।

No comments:

Post a Comment