Friday, September 16, 2011

Politics Began in NTB CEO Selection




लक्ष्मीप्रसाद खतिवडा
नयाँ पत्रिका
काठमाडौं, २९ भदौ
तीन महिनापछि रिक्त हुने नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत -सिइओ छनोट गर्न समिति गठन गरिएको छ । पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशी अध्यक्ष रहेको सञ्चालक समितिको बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । 
समितिका सदस्यमा बोर्डका सञ्चालक  गणेश सिम्खडा, निमी शेर्पिनी र धु्रवनारायण श्रेष्ठ छन् । सिम्खडा प्रधानमन्त्री बाबुराम भट्टराई पत्नी हिसिला यमी पर्यटनमन्त्री हँदा बोर्ड सञ्चालकमा नियुक्त भएका थिए । आफूलाई भट्टराई निकट दाबी गर्ने सिम्खडा गत वर्षदेखि नै बोर्डमा सक्रिय छन् । उनीसँगै बोर्ड सदस्य नियुक्त भएकी शेर्पिनी टे्रकिङ व्यवसायी हुन् । बोर्ड सञ्चालक बन्न सिंखडा र शेर्पिनीलेे पेस गरेको बायोडाटामा पर्यटनसम्बन्धी कार्यअनुभव उल्लेख गरिएको छैन भने शेर्पिनीको बायोडाटामा शैक्षिक योग्यता पनि छैन । तर, उनी पूर्वरानी कोमलको जन्मोत्सव मनाउने समितिको कोषाध्यक्ष बनेको बायोडाटामा उल्लेख छ । 
त्यस्तै, सिम्खडाको १ पेजको बायोडाटामा सामान्य व्यक्तिगत विवरण मात्र उल्लेख छ । शैक्षिक योग्यता स्नातक उल्लेख भने पनि अन्य कुनै विवरण छैन । श्रेष्ठको बायोडाटामा भने त्रिभुवन विश्वविद्यालयबाट मानविकीमा स्नातक गरेको उल्लेख छ । निजी क्षेत्रले समर्थन गरेका श्रेष्ठ नाट्टाका पूर्वअध्यक्ष हुन् । श्रेष्ठ शरदसिंह भण्डारीको पालामा सदस्य भएका हुन् । त्यतिखेर भण्डारीले सिम्खडा र शेर्पिनी दुवैलाई हटाए पनि सर्वोच्च अदालतले पुनःस्थापना गर्न पर्यटन मन्त्रालयलाई आदेश दिएको थियो । उनीहरूको पदावधि आगामी मंसिरसम्म बाँकी छ । सरकार परिवर्तन हुनासाथ प्रसिद्धबहादुर पाण्डे र राजन शाक्यले भने राजीनामा दिइसकेका छन् । 
सिइओ छान्ने समितिमा अयोग्य सदस्य नियुक्त भएको भन्दै बोर्डका पदाधिकारी तथा सरोकारवालाले विरोध गरेका छन् । 'कार्यकारी प्रमुखका लागि एमए पास र दश वर्षको अनुभव आवश्यक पर्छ तर उसलाई छान्नेको कुनै योग्यता आवश्यक छैन,' बोर्डका एक अधिकारीले भने । बोर्ड सदस्यको अधिकारबारे ऐन मौन रहे पनि उनीहरूले अनावश्यक दबाब दिने गरेको उनको भनाइ छ । 
हिसिला यमीकै दबाबमा हतारमा समिति गठन भएको दाबी बोर्ड  अधिकारीहरूको छ । विगतमा कार्यकाल सकिन केही दिनअघि वा कार्यकाल सकिएपछि मात्र समिति गठन गर्ने प्रचलन थियो । यसअघि यमीकै पालामा पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका संयोजक बनाइएका ज्ञानेन्द्र रत्न तुलाधरलाई कार्यकारी प्रमुख बनाउने प्रयास भएको बताइएको छ । यसअघि शरदसिंह भण्डारीले उनलाई हटाएर योगेन्द्र शाक्यलाई संयोजक बनाएका थिए । 
बोर्ड सदस्य अयोग्य भएको भन्दै बोर्ड नै अलमलमा परेको सरोकारवालाहरू बताउँछन् । पर्यटन क्षेत्रमा विशेष योग्यता हासिल गरेका व्यक्तिबाट बोर्डको गठन र त्यसका सदस्यको नियुक्ति हुनुपर्नेमा राजनीतिक आस्थाका आधारमा सदस्य नियुक्ति हुने गरेको उनीहरूको भनाइ छ । बोर्डमा पाँचजना पर्यटन विशेषज्ञ सदस्यको रूपमा रहने व्यवस्था छ । बोर्ड सदस्य बन्न पर्यटनसम्बन्धी दक्षता हासिल गरेको विशेषज्ञ हुनुपर्ने व्यवस्था पनि नियमावलीमा छ । 
पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न खोलिएको बोर्डमा होटल संघ, ट्राभल र ट्रेकिङ एजेन्ट्स एसोसिएसनजस्ता संस्थाले तोकेका प्र्रतिनिधिको साटो सरकारले गठन गरेको छनोट समितिले छानेका सदस्य राख्ने व्यवस्था उपयुक्त नभएको व्यवसायीले बताउँदै आएका छन् । बोर्डलाइ सार्वजनिक निजी साझेदारीको नमुना संस्था मानिए पनि पछिल्लो समयमा राजनीतिक प्रभाव निकै बढेको कर्मचारी बताउँछन् । हालका प्रमुख कार्यकारी प्रचण्डमान श्रेष्ठ केही दिनका लागि भन्दै बिदामा बसेका छन् । समितिले केही दिनमै सिइओका लागि ३५ दिने विज्ञापन प्रकाशित गर्ने बताइएको छ । 
सदस्य-सचिवद्वारा राजीनामा
पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका सदस्य सचिव नन्दिनीलाहे थापाले राजीनामा दिएकी छिन् । लामो समयदेखि स्वास्थ्यको कारण देखाएर बिदामा बसेकी थापाले बिहीबार राजीनामा दिएकी हुन् । 
यसअघिका सदस्य-सचिव आदित्य बरालले पनि दुई महिना नबित्दै राजाीनामा दिएका थिए । राजनीतिक दबाबका कारण काम गर्न नसकेर थापाले राजीनामा दिएको बताइएको छ । स्रोतअनुसार बोर्डका अर्का निर्देशक काशीराज भण्डारीलाई सदस्य-सचिव बनाउने तयारी भइरहेको छ । 
गत जेठ ४ मा बोर्डका वरिष्ठ निर्देशक सुवास निरौलालाई सदस्य-सचिवबाट हटाएर निर्देशक आदित्य बराललाई नियुक्त गरिएको थियो । उनले पनि राजीनामा दिएपछि थापा सदस्य-सचिवमा नियुक्त भएकी थिइन् ।

No comments:

Post a Comment